पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा लागूऔषध ब्राउन सुगरसहित २ दुई युवालाई प्रकाउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो पोखरा र कास्की प्रहरीले पोखराका ९ घर भई पोखरा १३ स्थित चिसापानी बस्ने २६ वर्षीय आशिष थकाली र स्याङ्जा घर भई पोखरा १३ बस्ने २७ वर्षीय सुमन गुरुङलाई लागूऔषध ब्राउन सुगरसहित प्रकाउ गरेको हो । पोखरा १३ चिसापानीमा बस्दै आएका उनीहरुको कोठाबाट लागूऔषध खैरो हिरोईन (ब्राउन सुगर) ३० ग्राम, नाईट्रोभ्यान २५ चक्की, डिजिटल तराजु १ थान र २ थान मोवाईल सहित प्रकाउ गरेको कास्की प्रहरीले जनाएको छ । लागूऔषधसहित प्रकाउ परेका दुई युवालाई लागूऔषध सम्बन्धी मुद्धामा म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ ।
चितवन: एक करोड रुपियाँभन्दा बढी मूल्य पर्ने गरगहना र तीन भारतीय नागरिकलाई चितवन प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयद्वारा गरिएको पत्रकार सम्मेलनमा चितवन प्रमुख तथा प्रहरी उपरीक्षक रामेश्वर कार्कीले सोबारे जानकारी गराउनुभएको हो । सुराकीको आधारमा भारतीय डब्लु बी १२ ए–भी ५५६६ नम्बरको टाटा कम्पनीको नेक्सन गाडीमा लुकाई छिपाई ल्याएका ती गहनासहित तिनीहरूलाई प्रहरीले पक्राउमा गरेको थियो । पक्राउ पर्नेमा कार चालक भारत, उत्तर प्रदेश, बलिया जिल्ला, फेफना थाना बस्ने वर्ष ४२ का विनोद प्रसाद, भारत पश्चिम बङ्गाल, हौडा जिल्ला गोलावाडी पुलिस थाना, सल्किया स्कुलरोड कलकत्ता बस्ने वर्ष ५१ का गणपतकुमार तोसावर र सोही स्थानका वर्ष ४२ का नरेश बर्मा छन् । उनीहरूले गाडीको सिट मुनी र विभिन्न स्थानमा लुकाई छिपाई ल्याएका सुनका ६३.८९८ तोला र हिरा जडित २२.८७८ तोला गहना बरामद गरेको प्रहरीले जानकारी दिएको छ । ती गहना सुनचाँदी व्यवसायीसँगको रोहभरमा तौल र गुणस्तर जाँच गर्दा एक करोड १० लाख रुपियाँ बराबरको भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । पक्राउ परेका व्यक्तिहरू, गाडी र गरगहना राजश्व अनुसन्धान विभागमा पठाउने तयारी भएको प्रहरीले जानकारी दिएको छ ।
काठमाडौं: मादक पदार्थ सेवन (मापसे) गरेर स्कुल बस चलाउने चालक पक्राउ परेका छन्। काठमाडौं उपत्यकामा बुधबार बिहान गरिएको विशेष चेकिंङका क्रममा मापसे गरेर स्कुल बस चलाउने एक चालकसहित ८७ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ। ट्राफिक प्रहरीले सवारी जाँचकै क्रममा मापसे गरेका स्कुल बसका चालकलाई नियन्त्रणमा लिएको हो। बुङमति स्थित त्रिरत्न माध्यमिक विद्यालयको बागमती प्रदेश-०१-००६ ख ४६ २९ नम्बरको बसका चालक काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका ११ का २७ वर्षीय बुद्ध लामालाई नियन्त्रणमा लिइएको छ। कोटेश्वरमा भइरहेको चेकिङमा लामाले मदिरा पिएर स्कुल बस चलाएको पाईएपछि उनलाई नियन्त्रणमा लिएर प्रहरी प्रभाग कोटेश्वरमा बुझाइएको छ। त्यस्तै अवस्था ठिक नभएका स्कुल बस चलाउँदै गरेका २ जना चालक पनि कारबाहीमा परेका छन्। विशेष चेकिङकै क्रममा कागजपत्र साथमा नराख्ने, सवारी साधनको अवस्था ठिक नराख्नेलगायत विविध कसुरमा २३ जना पानी ट्याङकरका चालक पनि कारबाहीमा परेका छन्। नयाँसपार्कमा १५, कीर्तिपुरमा ३, कलंकी र काँडाघारीमा २/२ र न्यूरोड क्षेत्रमा १ जना गरी २३ जना ट्याङ्करका चालक कारबाहीमा परेका हुन्। यसका साथै अन्य कसुरमा ६१ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। काठमाडौँ उपत्यकाको ट्राफिक आवागमनलाई सहजीकरण गर्न, सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक नियम पालना गराउने उद्देश्यका साथ ट्राफिक प्रहरीले नियमित तथा विशेष चेकिङ गर्दै आएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्र प्रसाद भट्टले जानकारी दिए। सवारी दुर्घटनामा कमी ल्याउन र नियम कानुनको परिपालना गर्ने कार्यमा ट्राफिक प्रहरीले चालेको अभियानमा सम्बन्धित सबैको सहकार्य आवश्यक रहेको पनि प्रवक्ता भट्टले बताए।
पाँच वर्षसम्म नाम राख्न नसकेर आलोचित भएको प्रदेश १ ले आजबाट कोशी नाम पाएको छ । तर नामाकरण भएपनि यसमा असहमति जनाउँदै नेपाली कांग्रेसले प्रदेशसभा बैठकमा दर्ता भएको प्रस्ताव फिर्ता लिएको छ । प्रस्ताव फिर्ता भएपछि विराटनरको केही स्थानमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ । विराटनगरबाट पत्रकार सुभद्रा प्याकुरेलले सुनगाभा न्यूजसँग भनिन्, ‘प्रतिपक्ष दलले कोशीमा असहमति जनाएपछि अहिले विराटनगरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । ‘यहाँ कोशी, किराँत र सगरमाथाको नाम प्रस्ताव भएको थियो’ पत्रकार प्याकुरेलले भनिन् ‘कोशी राखिएपछि अन्य नाम हुनुपर्छ भन्ने समूह प्रदर्शन गर्ने तयारीमा रहेका छन्, प्रशासनले कफ्र्यु जारी गरेको छ ।’ यसअघि नै प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईद्वारा निषेधाज्ञा सम्बन्धी जारी सूचनामा प्रदेश १ को प्रदेश सभा नामकरणको प्रक्रिया प्रारम्भ भई टुङ्गो नलागेसम्म तथा नामाकरण भएपछि पनि असहमत पक्षबाट सम्भावित विरोध, धर्ना, जुलुस, झडप हुनसक्ने भएकाले निषेधाज्ञा गरेको उल्लेख छ ।
काठमाडौं : सेयर बजार ओरालो लाग्ने क्रम आज पनि जारी रह्यो। नेप्से परिसूचक २४.४४ अंकले घटेर १९९५.४९ विन्दुमा अडिएको छ। अघिल्लो कारोबार दिन मंगलबार नेप्से परिसूचक ३.६१ अंक र सोमबार ३.६५ अंकले घटेको थियो। नेप्से घटेसँगै मंगलबारको तुलनामा कारोबार रकम घटेको छ। यसदिन १ अर्ब २८ करोड ८३ लाख ६३ हजार ४२४ रूपैयाँमा सेयर खरिदबिक्री भयो। २५७ कम्पनीको ३७ लाख २९ हजार ९७६ कित्ता सेयर किनबेच भयो। आज एउटा मात्रै कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो। आदर्श लघुवित्त वित्तीय संस्थाको मूल्य १० प्रतिशतले बढेको हो। बोटलर्स नेपालको सेयर मूल्य ९.६१ प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा अपर तामाकोशी हाइड्रोपावर शीर्षस्थानमा रह्यो। सो कम्पनीको ८ करोड ७२ लाख ३७ हजार८५ रूपैयाँको सेयर खरिदबिक्री भयो। आज कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएका छन्। मनु एन्ड प्रो र माइक्रो फाइनान्स समूहको सूचक २ प्रतिशत बढिले घटेको हो।
विरगन्ज: आन्तरिक राजस्व कार्यालय वीरगञ्ज पर्साले लामो समयदेखि कर नबुझाउने करदातालाई कारबाही गर्ने भएको छ । दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने मूल्यअभिवृद्धि करका चार सय तीन र आयकरका चार सय २९ करदातामाथि कारबाही प्रक्रिया सुरु भएको सो कार्यालयले जनाएको छ । प्रमुख कर अधिकृत ढाकाराम तिवारीले भन्नुभयो,‘‘पहिलो चरणमा चरणमा करदातालाई १५ दिने र सात दिनेपत्र पठाइसकेका छौँ । यसपछि पुनःतीन दिनको पत्र पठाउने छौँ ।” पत्र प्राप्त गरेर पनि बक्यौता नबुझाइए उनीहरुको बैंक खाता रोक्का समेत गरिने उहाँले जानकारी दिनुभयो । जिल्लामा एक लाख २४ हजार तीन सय पाँच करदाता रहेको कार्यालयले जनाएको छ । यसैबीच बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह नगर्दा चालु आर्थिक वर्ष २०७९/८० को छ महिनाको अवधिमा आन्तरिक राजस्व कार्यालय वीरगञ्जको राजस्व सङ्कलनमा कमी आएको छ । सो कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को छ महिनाको अवधिमा रु चार अर्ब ७३ करोड १६ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा ६६ दशमलव ६१ प्रतिशत अर्थात रु तीन अर्ब १५ करोड १६ लाख मात्र राजस्व सङ्कलन भएको छ । चालु आर्थिक वर्षको छ महिनामा अन्तशूल्कतर्फ रु एक अर्ब ३१ करोड ९५ लाख २९ हजार, आयकरतर्फ रु एक अर्ब चार करोड ८८ लाख ६९ हजार, मूल्य अभिवृद्धिकर तर्फ रु ७३ करोड ६७ लाख ६६ हजार, ब्याजकर तर्फ रु दुई करोड ४० लाख २३ हजार र घरबहाल करतर्फ रु दुई करोड २४ लाख ९९ हजार राजस्व सङ्कलन भएको सो कार्यालयका सूचना अधिकारी सञ्जय सरदार क्षेत्रीले जानकारी दिनुभयो । विभिन्न कारण देखाउँदै बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह नगरेको तथा विभिन्न सामानको आयातमा सरकारले गरेको प्रतिबद्ध लगायतका कारणले राजस्व सङ्कल घटेको सूचना अधिकारी क्षेत्रीको भनाइ छ । गत आर्थिक वर्ष २०७८/७९ मा सो कार्यालयले नौ अर्ब ४४ करोड ४५ लाख ७५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा लक्ष्यको ९२ दशमलव ३० प्रतिशत अर्थात् रु आठ अर्ब ७१ करोड ६९ लाख ६० हजार राजस्व सङ्कलन गरेको थियो ।
पोखरा: पोखरामा प्रहरीको भ्यानबाट खसेर एक प्रहरी जवान घाइते भएका छन् । गण्डकी प्रदेश सभामा प्रहरीको भ्यानबाट खसेर प्रहरी जवान पटक बुढा घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार वि.कले जानकारी दिए । आज गण्डकी प्रदेश सभामा आज प्रदेश प्रमुख पृथ्वीमान गुरूङले सम्बोधन गर्ने कार्यक्रमको व्यवस्थापन गर्न थप प्रहरी जाँदै थिए । प्रदेश प्रमुखको सलामीका लागि झन्डा राख्न भ्यानमा लगिएको फलामको पोल बिजुलीको तारमा अल्झिँदा पोलले हुत्याएर बुढा भुइँमा बजारिन पुगेका प्रत्यक्षदर्शीले बताएका छन् । प्रदेश प्रहरी गणका सलामी टोली सदस्य बुढाको टाउकोमा चोट लागेको छ । उनलाई उपचारका लागि गण्डकी मेडिकल कलेजमा लगिएको कास्की प्रहरीले जनाएको छ । प्रदेश सभा प्राङ्गण प्रवेशका क्रममा भ्यानले ल्याइरहेको फलामको पाइप बिजुलीको तारमा अल्झिँदा प्रहरी जवान पटक बुढा भुइँमा बजारिन पुगेका हुन् ।
काठमाडौं: नेपाल क्रिकेट संघ क्यानले आईसीसी विश्वकप लिग टू अन्तर्गत यूएईमा चलिरहेको त्रिकोणत्मक शृंखलाका बाँकी खेल खेल्नका लागि सन्दीप लामिछानेलाई पठाउने तयारी गरेको छ । यूएई र पपुवा न्युगिनीसम्मिलित शृंखला खेलिरहेका एक खेलाडी घाइते भएकाले उनको ठाउँमा सन्दीपलाई पठाउने तयारी गरिरहेको क्यानका कार्यवाहक सचिव दुर्गा पाठकले जानकारी दिए । पाठकका अनुसार सन्दीपको भिजा पनि आइसकेको छ । ‘भिजा आइसकेको छ । एक जना खेलाडी घाइते पनि हुनु भएको छ । हामीले प्रतिस्थापन मागेका छौं,’ उनले भने, ‘त्यहाँको आधिकारिक व्यक्तिबाट जानकारी आएपछि हामीले घाइते खेलाडीको नामसहित जानकारी दिनेछौं ।’ पाठकका अनुसार सन्दीप टिमको अन्तिम १६ मा रहेको र अदालतले उनलाई विदेश जाने अनुमति पनि दिएका कारण उनलाई सिरिजका लागि यूएई पठाउन लागिएको हो । उनले भने, ‘आईसीसीमा हामीले सन्दीपको नाम अन्तिम १६ मा रजिष्टर गराइसकेका थियौं । अदालतले विशेष कारण खेल्न जाने अनुमति दिएको खण्डमा सन्दीपले खेल्न पाउने भन्ने कुरालाई आधार बनाएर हामीले सन्दीपलाई पठाउन लागेका हौं ।’ नाबालिग बलात्कारको आरोप लागेका सन्दीपलाई उच्च अदालतले धरौटीमा छाडे पनि विदेश जाने अनुमति दिएको थिएन । त्यसैले सन्दीप यूएई जान पाएका थिएनन् । तर सर्वोच्च अदालतले गत सोमबार उच्च अदालतको आदेश उल्ट्याउँदै सन्दीपलाई विदेश जान अनुमति दिएपछि क्यानले उनलाई यूएई पठाउन लागेको हो । नेपालले भोलि बिहीबार घरेलु टोली यूएईसँग तथा शुक्रबार र सोमबार पपुवा न्युगिनीसित खेल्दै छ ।
जाजरकोट: नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा जाजरकोटका केन्द्रीय सदस्य सहित तीन जनालाई प्रहरीले गिरफ्तार गरेको छ । मङ्गलबार भेरी नगरपालिका– ११ मा एन.आई सी लघुवित्तका कर्मचारी माथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरिएको जनाएको छ । दुर्व्यवहार तथा आर्थिक लुटपाट गरेको आरोपमा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बलबहादुर मल्ल, सेक्रेटरी विराजन शाही र सचिवालय सदस्य कर्णबहादुर बस्याललाई प्रहरीले गिरफ्तार गरेको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख (डिएसपी) सन्तोष रोकाले मङ्गलबार राती ११ बजे सदरमुकाम खलङ्गाबाट गिरफ्तार गरिएको जानकारी दिनु भयो । कर्मचारी माथि दुर्व्यवहार, केही पैसा लुटपाट भएको भन्दै कार्यालयमा जानकारी आएपछि अनुसन्धानका लागि पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी रोकाले जानकारी दिनुभयो । मङ्गलबार भेरी ११ कटी गाउँका स्थानीयले लघुवित्तका कर्मचारीलाई जनकारबाही गरेको भन्दै नेकपाले एक विज्ञप्ति जारी गर्दै जनकारबाहीको समर्थन जनाएको थियो । उता नेकपा माओवादीले प्रहरीले आफ्ना नेताहरूलाई जनताको आवाज बोलेकै भरमा गिरफ्तार गरेको भन्दै तत्काल रिहाइको माग समेत गरेका छन् ।

