कास्की: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडान सफल भएको छ । विमानस्थलमा बुधबार राति सौर्य एयरलाइन्सको जहाज काठमाडौँदेखि पोखरा अवतरण गरेको हो । उक्त जहाज राति ८ बजेर ४५ मिनेट पोखरा विमानस्थलमा अवतरण भएको हो । पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमका अनुसार काठमाडौंदेखि ३३ जना यात्रु लिएर आएको जहाज पोखराबाट ४६ यात्रु लिएर फर्केको हो । सौर्य चढेर पोखरा उत्रिएका यात्रु मोहन भण्डारीले सफल अवतरण गरेको भन्दै फेसबुकमा व्यक्त गर्नुभएको छ । उहाँले लेख्नुभएको छ, ‘‘‘खराब मौसमका कारण ढिलाइ भए पनि सौर्य एयरलाइन्सले पोखरा विमानस्थलमा पहिलो आइएफआर उडान सफलतापूर्वक सम्पन्न गरेको छ । सौर्य एयरलाइन्सको समर्पित टोलीले कडा मिहिनेत गरेर यो सम्भव बनायो । यस ऐतिहासिक क्षणको एक हिस्सा हुन पाउँदा रोमाञ्चित छु ।’’ फागुन ११ गतेदेखि पोखरा विमानस्थलमा आइएफआर प्रणाली लागू भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले बुद्ध एयरलाई रात्रिकालीन उडानको लागि अनुमति दिइसकेको छ । आगामी २५ फागुनमा रात्रिकालीन उडान गर्ने बुद्धको तयारी रहेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरका ४ जहाज रात्रिकालीन समयमा विमानस्थलमा हुनेछन् । ती विमानले बिहान ४ स्थानमा उडान भर्नेछन् । काठमाडौ, भैरहवा, नेपालगञ्ज नियमित उडान भइरहेका छन् । बुद्धले फागुन २५ गतेदेखि नै पोखरा भद्रपुर उडानको तयारी समेत गरेको छ । पोखराबाट बिहान ६ः१५ मा जहाज भद्रपुरका लागि उड्नेछ । भद्रपुरबाट पोखराका लागि भने बेलुकी ६ः५५ मा उडान हुने जनाइएको छ । हवाई उडान दूरी १ घण्टा १० मिनेटको हुनेछ ।
कालीकोट: कालीकोट पलाँता गाउँपालिकाबाट दुई जना सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमको सहयोगमा पलाँता अस्पतालमा सुत्केरी हुन नसकेका दुई महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको छ । कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी सरोज अधिकारीले पलाँता गाउँपालिका– २ का ३० वर्षीया सुनखुट्का न्यौपाने र वडा नम्बर ३ का २० वर्षीया सुबिस्ता विकको हेलिकोप्टरमार्फत उद्धार गरिएको जानकारी दिनुभयो । प्रजिअ अधिकारीका अनुसार फागुन १६ गते दुवै जना अस्पताल आउनुभएको थियो । उहाँहरूमा समस्या देखिएका कारण हेलिकोप्टरको व्यवस्था गरी उद्धार गरिएको बताउनुभयो । पलाँता अस्पतालमा दुवै जनाले बच्चा जन्माउन नसक्ने अस्पतालका डा. बिज कुमार महतले जानकारी दिनुभएपछि जिल्ला प्रशासन कार्यालय कालीकोटको अनुरोधमा राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत सुर्खेत लगिएको छ । पलाँता गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष तथा पलाँता सरकारका प्रवक्ता तिलक बुढाले गाउँपालिका, चिकित्सक र जिल्ला प्रशासन कार्यालयको पहलमा दुई जना सुत्केरी हुन नसकेका महिलाको उद्धार भएको जानकारी दिनुभयो । उहाँले सहयोग गर्ने सबै प्रति धन्यावाद दिनुहुँदै आगामी दिनमा पनि राष्ट्रपति महिला उत्पादन कार्यक्रम अर्थात् सुत्केरी बचाउने राष्ट्रपति कार्यालयको कार्यक्रमलाई थप प्रभावकारी बनाउन सरकारलाई आग्रह गर्नुभयो । स्वास्थ्य सेवा कार्यालय कालीकोटका प्रमुख डा. रत्नवीर सुनारले हेलिकोप्टरमार्फत उद्धार भएलगतै प्रदेश अस्पतालमा अप्रेसन गरिएको जानकारी दिनुभयो । उहाँले साल पाठेघरको मुखमा अगाडि आएका कारणले गर्भवतीको ज्यान जाने खतरालाई मध्यनजर गरेर सुर्खेत पठाएको बताउनुभयो । सुर्खेत प्रदेश अस्पतालमा अप्रेसनपछि पेटमै परेका बच्चा निकालिएको छ । अप्रेसनपछि महिलाको अवस्था खतरा मुक्त रहेको आफूले जानकारी पाएको प्रमुख सुनारले जानकारी दिनुभयो । गत माघ २७ गते जिल्लाको तिलागुफा नगरपालिका वडा नं. ७ की ३४ वर्षीया नन्दा विष्ट रावतको पनि हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो । अप्रेसनपछि पनि रक्तश्राप नरोकिएपछि प्रदेश अस्पताल सुर्खेतमा नौ दिनपछि उहाँको यही फागुन ६ गते निधन भएको थियो । कालीकोटा पछिल्लो समस्या गर्भवतीमा महिलाको बच्चाभन्दा पहिला साल निस्कने वा पाठेघरको मुखमा आएर बस्ने समस्या बढिरहेका छन् ।
तनहुँ: पृथ्वी राजमार्गअन्तर्गतको याम्पाफाँट–घाँसीकुवा खण्ड आज (बिहीबार)देखि दैनिक चार घण्टा बन्द गरिने भएको छ । मुग्लिङ–पोखरा सडकखण्ड चार लेनमा विस्तार गर्ने कामलाई तीव्रता दिन रातिको समयमा बन्द गर्ने निर्णय गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिनुभयो । उक्त सडकखण्ड आजदेखि फागुन २७ गतेसम्म गरी १० दिन राति १२ बजेदेखि बिहान ४ बजेसम्म गरी पाँच बन्द गरिने गैरेले जानकारी दिनुभयो । निमित्त प्रजिअ गैरेका अनुसार काम छिटोछरितो गर्नका लागि मुग्लिङ–पोखरा खण्ड योजना (पूर्वी खण्ड)बाट अनुरोध भई आएको विषयमा छलफल गरी दैनिक रूपमा अत्यावश्यक सवारी बाहेक अन्य सवारी साधनहरू पूर्णरुपमा रोकी काम गर्ने निर्णय भएकाले बन्द गरिने भएको हो । ‘‘चार लेन सडक विस्तारका क्रममा यस खण्डमा भित्ता काट्ने काम गर्नुपर्ने भएकाले रातको समयमा सो खण्ड बन्द गर्ने निर्णय भएको छ,’’ उहाँले भन्नुभयो । यात्रुलाई यात्रा सहज बनाउन दिउँसो बन्द नगरी रातिको समय बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । चाइना कम्पनीले पृथ्वी राजमार्गअन्तर्गतको पोखरा–मुग्लिङ सडकलाई तीन चरणमा विस्तार गर्ने क्रममा भित्ता काट्ने र खाल्टो पुर्ने कार्य भइरहेको छ । हाल पृथ्वीराजमार्ग दुई लेनको रहेको छ । चाइना एण्ड कम्युनिकेशनले उक्त सडक तीन चरणमा पुरा हुने गरी योजना बनाएको छ । आँबुखैरेनीदेखि जामुनेसम्म, जामुनेदेखि पोखरा र आँबुखैरेनीबाट मुग्लिङसम्म गरी तीन चरणमा सडक फराकिलो गरिरहेको छ मुग्लिङदेखि पोखरासम्मका सडक फराकिलो पार्न चिनियाँ कम्पनीले ठेक्का पाएर निर्माण कार्य सुरु भइरहेको छ । सो कम्पनीले सडक फराकिलो गर्न छ अर्ब १४ करोड रुपियाँको ठेक्का पाएको छ ।
काठमाडौं: विश्वकप क्रिकेट लिग–२ मा नेपालले यूएईविरुद्ध टस जितेर पहिले फिल्डिङ गरिरहेको छ। यूएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले दोस्रो सफलता हात पारेको छ। नेपालका लागि सन्दीप लामिछानेले विकेट लिएका हुन्। युएईका लागि ३८ बलमा १ चौकासहित १८ रन बनाएर खेलिरहेका वृत्य अर्विन्दलाई लामिछानेले कुशल भुर्तेलको हातबाट क्याच आउट गरेका हुन्। यसअघि पहिलो ओभरमै करण केसीले सफलता दिलाएका थिए। केसीले मोहम्मद वासिमलाई शुन्य रनमा बोल्ड गरे। पहिलो ओभरमा करणले मेडन ओभर फाल्दै १ विकेट लिएका थिए। यो समाचार तयार पार्दासम्म युएईले २ विकेट गुमाएर १४ ओभरमा ५३ रन बनाएर खेलिरहेको छ। नेपाली कप्तान रोहित पौडेलले टस जितेर घरेलु टोलीविरुद्ध फिल्डिङ गर्ने निर्णय गरेका हुन्। रोहितले लगातार छैठौं पटक टस जितेका हुन्। आज नेपाली टोलीमा राष्ट्रिय टोलीका पूर्वकप्तान सन्दीप लामिछाने पनि खेल्दैछन्। मौसम ढकाल (श्याम) घाइते भएपछि सन्दीप उनको स्थानमा खेल्न लागेका हुन्। अभ्यासको क्रममा काँधमा चोट लागेका कारण मौसमको स्थान सन्दीपले लिएका हुन्। सर्वोच्च अदालतले नाबालिग बलात्कारको आरोप लागेका सन्दीपलाई विदेश जान अनुमति दिएपछि उनी युएई पुगेका हुन्। बिहीबार नै आईसीसीले सन्दीपलाई टोलीमा खेल्न स्वीकृतिसमेत दिएको थियो।
ताप्लेजुङ: ताप्लेजुङमा बिहीबार बिहान एक महिला मृत फेला परेकी छन् । सदरमुकाम फुङ्लिङ बजारको न्यूरोड लाइनमा डेरा गरी बस्दै आएकी महिला मृत फेला परेकी हुन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कुशराम कार्कीका अनुसार मृत भेटिएकी महिला अन्दाजी ३५ वर्षीया शर्मिला तामाङ भएको खुलेको छ । फुङ्लिङ नगरपालिकाको दोखु घर भई हाल आफ्ना दुई छोरी पढाउनलाई तामाङ फुङ्लिङ बजारमा बस्दै आउनुभएको बुझिएको प्रहरी निरीक्षक कार्कीले बताउनुभयो । मृतक महिलाका घर र मैवाखोला माइती गाउँका आफन्त आइपुगेपछि कानुनी प्रक्रियाको कार्य अघि बढाइने भएकाले त्यसपछि मात्र बाँकी विस्तृत विवरण आउने उहाँले जानकारी दिनुभयो । डेरा गरी बसेको कोठामा ओछ्यानमै ती महिलाको शव फेला परेको छ । मृतक महिलाकी श्रीमान् वैदेशिक रोजगारीमा रहनुभएको बुझिएको पनि प्रहरीले जानकारी दिएको छ ।
काठमाडौं: बिहीबार छापावाल सुन प्रतितोला तीन सय रूपैयाँले बढेको छ। बुधबार एक लाख दुई हजार तीन सय रूपैयाँमा कारोबार सुन बिहीबार एक लाख दुई हजार ६ सय रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। संघका अनुसार आज चाँदीको मूल्य भने स्थिर छ। बुधबार १२ सय ७० रूपैयाँमा कारोबार भएको सुन बिहीबार पनि सोही मूल्य कायम भएको छ। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ३४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
काठमाडौं : आज प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल मुलुकमा पश्चिमी वायुको सामान्य प्रभाव रहनुका साथै स्थानीय वायुको आंशिक प्रभाव छ । आज राति पनि प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
गण्डकी: गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुलुकमा सङ्घीयताको जग तयार भएको बताउनुभएको छ । गण्डकी प्रदेशसभा बैठकलाई बुधबार सम्बोधन गर्नुहुँदै उहाँले प्रदेश संरचना सुनिने अवस्थाबाट देखिने अवस्थामा आइपुगेको उल्लेख गर्नुभयो । पाँच वर्षअघि शूल्य संरचनाबाट सुरु भएको गण्डकी प्रदेश भौतिक, प्रशासनिक र कानुनी पूर्वाधार खडा गर्न सफल भएको प्रदेश प्रमुख गुरुङले बताउनुभयो । प्रदेशलाई स्थापित गर्न सरकार र प्रदेशसभाले खेलेको भूमिकाको उहाँले प्रशंसा गर्नुभयो । “प्रदेशसभाको प्रथम कार्यकालमा सरकार निर्माण गर्न, कानुन निर्माण गर्न, बजेट तथा योजना निर्माण गर्न यहाँहरूले पु¥याउनुभएको योगदानका लागि धन्यवाद ज्ञापन गर्दछु”, प्रदेश प्रमुख गुरुङले भन्नभयो । प्रदेशको पञ्चवर्षीय योजनाको कार्यान्वयन, प्रदेश लोकसेवा आयोग गठन, गण्डकी प्रदेश प्रशिक्षणको स्थापनाजस्ता कार्यलाई उपलब्धिको रुपमा लिनुपर्ने उहाँले बताउनुभयो । प्रदेश प्रमुख गुरुङले अहिलेको प्रदेश सरकारले मन्त्रालय सङ्ख्या घटाएर प्रदेशवासीमा सकारात्मक सन्देश दिएको उल्लेख गर्नुभयो । ऐन, कानुन निर्माणदेखि विकास आयोजनालाई गति दिन प्रदेश सरकारले सक्रियता लिइरहेको उहाँको भनाइ छ । “प्रदेशलाई बलियो बनाई प्रदेश सरकारको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन मुख्यमन्त्रीबाट पटकपटक प्रधानमन्त्रीलाई भेट गरी प्रदेशका समस्या र समाधानका उपायका सम्बन्धमा जानकारी गराउने काम भएको छ”, प्रदेश प्रमुख गुरुङले भन्नुभयो । जनअपेक्षाअनुरुप विकास, सुशासन र सेवा प्रवाहलाई चुस्त पार्न प्रदेश सरकारले थप प्रयत्न गर्नुपर्ने उहाँले बताउनुभयो । “संविधानमा व्यवस्था गरिएको सबै मौलिक हकअधिकारको व्यवहारमा अवलम्बन गर्नरगराउन बाँकी नै छ, सेवा प्रवाहलाई सहज र सरल बनाउनु जरुरी छ”, प्रदेश प्रमुख गुरुङले भन्नुभयो । उहाँले ‘समृद्ध प्रदेश, सुखी नागरिक’को लक्ष्य प्राप्तिका लागि वर्तमान गण्डकी सरकार प्रतिबद्ध रहेको बताउनुभयो । विकास र समृद्धि कुनै राजनीतिक दल वा समूह विशेषको निजी विषय नभई नागरिकको साझा विषय भएको प्रदेश प्रमुख गुरुङले उल्लेख गर्नुभयो । गण्डकी प्रदेशको समृद्धिका लागि पर्यटन, ऊर्जा, कृषि, उद्योग, भौतिक पूर्वाधार, मानव संशाधन र सुशासनलाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको उहाँले बताउनुभयो । प्रदेश प्रमुख गुरुङले सबैको संयुक्त प्रयासबाट गण्डकीले समृद्धि हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।
पोखरा: ८ दलीय गठबन्धनको तर्फबाट राष्ट्रपतिमा उम्मेद्वारी दिएका कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेललाई जिताउनका लागि पोखरामा कांग्रेस र माओवादीको संयुक्त बैठक बसेको छ । राष्ट्रपतिमा प्रदेश सांसदहरु पनि मतदाता हुन् । त्यसैले प्रदेश सभामा रहेका कांग्रेसका सांसद र माओवादीका सांसदहरुलाई पौडेलको पक्षमा मतदान गर्ने गरी बैठकको आयोजना गरिएको हो । कांग्रेस संसदीय दलको कार्यालयमा भएको बैठकमा दुवै पार्टीका प्रदेश प्रमुखहरु पनि उपस्थित थिए । कांग्रेस सभापति शुक्रराज शर्मा र माओवादीको गण्डकी अध्यक्ष गायत्री गुरुङ समेतको उपस्थितिमा पौडेललाई विजयी गराउनका लागि ऐक्यवद्धता जनाइएको छ । संसदीय दलका नेता सुरेन्द्र राज पाण्डेको सक्रियतामा बैठक आह्वान गरिएको हो । ‘राष्ट्रपति निर्वाचनका लागि ८ दलको नयाँ गठबन्धन बनेको छ । सोही गठबन्धनको साझा उम्मेद्वार रामचन्द्र पौडेल हुनुहुन्छ,’ पाण्डेले भने, ‘उहाँलाई निर्वाचित गराउन हामी सबै एकजुट भएका हौं ।’ गठबन्धनका सबै सांसदहरु समेतको उपस्थितिमा १९ गते बृहत बैठक डाक्ने निर्णय समेत भएको पाण्डेले बताए । ‘अब १९ गते सबै सांसदहरु समेतको उपस्थितिमा बैठक हुन्छ । पोखरामा नै बैठक गरेर मतदानका लागि जाने योजना छ,’ पाण्डेले अघि भने, ‘दलका नेताहरुबीच औपचारिक भेटघाट गरिएको हो । सांसद ज्यूहरुसँग पुनः बस्छौं ।’ बैठकमा सहभागी माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले सांसदहरुसँगको बैठकको तयारी भैरहेको बताए । ‘यो बैठक अर्को बैठकको तयारी हो । सबै माननीय ज्यूहरुलाई एकै ठाउँमा राखेर बैठक बस्ने तयारी भैरहेको छ,’ उनी भन्छन् ।

