पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

काठमाडौं:  मंगलबार सेयर बजारमा सामान्य गिरावट आएको छ । यस दिन ३.८१ अंकले घटेको बजार २०१९.७३ बिन्दुमा आएर रोकिएको हो ।   बजार दिनभर जसो नै उतारचढावपूर्ण भने रह्यो । मंगलबार २६२ धितोपत्रको २८ हजार ६८४ वटा कारोबारबाट ३९ लाख ४६ हजार २४ कित्ता सेयर किनबेच भएको छ । मंगलबार १ अर्ब ३८ करोड ७८ लाख रुपैयाँको कारोबार भएको छ । मंगलबार जलविद्युत, इन्भेष्टमेन्ट, म्युचुअल फण्ड र ट्रेडिङबाहेक सबै उपसूचकमा गिरावट आयो । सबैभन्दा धेरै लघुवित्त उपसूचकमा ०.८० प्रतिशतको गिरावट आएको छ ।   यसका बावजुत मंगलबार सबैभन्दा धेरै बढ्नेमा लघुवित्त कम्पनी नै छन् । यस दिन आँधीखोला लघुवित्त, आदर्श लघुवित्त र खप्तड लघुवित्त वित्तीय संस्थाको सकारात्मक सर्किट लेबलमा कारोबार भयो । सिद्धार्थ इन्स्योरेन्स र सर्पोट माइक्रोफाइन्सको समेत मूल्य बढेको छ ।   मंगलबार सबैभन्दा गुमाउने कम्पनीमा प्रिमियर इन्स्योरेन्स रहेको छ । यसको मूल्य ३.८५ प्रतिशतले घट्यो । युनिभर्सल पावर कम्पनी, शिवम् सिमेन्ट, सानिमा माइहाइड्रोपावर लगायतको सबैभन्दा धेरै कारोबार भएको छ ।  

काठमाडौं :जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले  तत्काल सरकार नछोड्ने बताएका छन्। मंगलबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै राउतले अरु पार्टीको विभिन्न कारण रहेपनि जनमत पार्टीका लागि सरकार छाड्ने परिस्थिति नबनेको स्पष्ट पारे।   उनले अहिले  पनि माओवादीकै नेतृत्वमा सरकार रहेकाले सरकार छाड्ने कुनै योजना नरहेको बताए। उनले अबको राष्ट्रपतिले कुनै दलको प्रतिनिधित्व नझल्कने गरि काम गर्न सक्नुपर्ने बताए।   सरकारले गरेको कामकारवाहीलाई सहयोग गर्ने,सरकारले पठाएका विधेयकलाई अघि बढाउने र दलको प्रतिनिधित्व नझल्कने गरि अबको राष्ट्रपतिले काम गर्नुपर्ने उनको भनाइ छ।   यसअघि नागरिकताजस्ता दुवै सदनबाट पारित भइसकेका विधेयकहरू राष्ट्रपति कार्यालयमा अड्काएर राखेकै कारण लाखौं युवाहरु नागरिकताबिहीन हुनपुगेको उनको भनाइ छ ।    राउतले राष्ट्रपति र सभामुख एउटै पार्टीको हुँदा निरंकुशता जन्माउने आधारहरू रहेकाले आफ्नो पार्टीले कांग्रेस उम्मेदवारलाई समर्थन गरेको जानकारी दिए।

काठमाडौं:  नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जलविद्युतमा नेपाल सन् २०२६ सम्म आत्मनिर्भर बन्ने बताउनुभएको छ । मङ्गलबार काठमाडौंमा भएको नेपालमा जलविद्युत क्षेत्रमा वित्तीय लगानी विषयक कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै निर्देशक घिसिङले यस्तो बताउनुभएको हो ।   उहाँले पछिल्लो समय जलविद्युत उत्पादन क्षमता बढ्दै गएकाले सन् २०२६ सम्म सुख्खा याममा समेत आत्मनिर्भर बन्ने अवस्था आउने बताउनु भयो । निर्देशक घिसिङले जलविद्युतमा आत्मनिर्भर भएर पनि त्यो समयमा २५ सय मेगावाट विद्युत बढी हुने उल्लेख गर्नुभयो ।   कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘‘अहिले २५ सय ४४ मेगावाट उत्पादन क्षमता भएको छ । यसमा सोलार ७० मेगावाट छ । प्रत्येक वर्ष आठ सय मेगावाट विद्युत उत्पादन बढ्दै गएको छ । पछिल्लो पाँच वर्षको ७ हजार मेगावाट विद्युत उत्पादन गर्ने अनुमान छ । विद्युत उत्पादन र विद्युत खपतको लागि पनि लगानी गर्नुपर्ने अवस्था छ । त्यसमा निर्यात र स्वदेशमा नै खपत गर्नका लागि पनि ट्रान्समिसन लाइन बनाउनुपर्छ ।’’   कार्यकारी निर्देशक घिसिङले सन् २०३५ सम्ममा नेपालमा आठ हजार मेगावाट विद्युत उत्पादन क्षमता पुग्ने अनुमान प्राधिकरणको रहेको बताउनुभयो । उहाँले नेपालको जलविद्युत उत्पादन क्षमता २५ सय ४४ मेगावाट रहेको भन्दै पछिल्लो समय प्रत्येक वर्ष आठ सय मेगावाट विद्युत उत्पादन बढ्दै गएको जानकारी दिनुभयो ।   निर्देशक घिसिङले सन् २०४२/४३ सम्ममा २० हजार मेगावाट विद्युत उत्पादन क्षमता पुग्ने अनुमान रहेको पनि बताउनुभयो । पछिल्लो समय उद्योगहरूमा जलविद्युतको माग राम्रो रहेको उहाँको भनाइ छ । उहाँले ११ हजार मेगावाट जलविद्युत उत्पादनका लागि पीपीएका लागि पाइपलाइनमा रहेका भन्दै करिब सात हजार मेगावाटको पीपीए भइसकेको बताउनुभयो ।   कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘‘सन् २०४२/४३ सम्ममा २० हजारसम्म आउँछ भन्ने अनुमान हो । सन् २०२६ सम्म नेपाल सुख्खा याममा पनि जलविद्युतमा आत्मनिर्भर हुन्छौँ । नेपालको उद्योग स्थापना वृद्धि भएर उद्योगमा जलविद्युतको माग राम्रो रहेको हुनाले अवधि अघिपछि पनि हुनसक्छ । त्यो समयसम्म जलविद्युतमा आत्मनिर्भर भएर २५ सय मेगावाट विद्युत बढी हुने देखिन्छ ।’’   उहाँले थप्दै भन्नुभयो, ‘‘ऊर्जामा निजी क्षेत्रले लगानी गरिरहेको छ । ११ हजार मेगावाट जलविद्युत उत्पादनका लागि पीपीएका लागि पाइपलाइनमा रहेका छन् । करिब सात हजार मेगावाटको पीपीए भइसकेको छ । यसमा आठ सय मेगावाट विद्युत उत्पादन भएर आइसकेको छ । पाँच हजारको हाराहारीमा पीपीए भएर वित्तीय लगानी भएर अगाडि बढेका र तीन हजार जति वित्तीय लगानीका लागि प्रतीक्षामा रहेका छन् । यसको पनि निजी क्षेत्रबाट लगानी जुटाउनुपर्ने अवस्था छ ।’’   त्यस्तै, निर्देशक घिसिङले जलविद्युत उत्पादनका लागि १.२ मिलियन डलर लगानी प्रतिबद्धता भइसकेको बताउनुभयो । उहाँले एजीम बैङ्कबाट सात सय मिलियन, जाइकाले १४० मिलियन, विश्व बैङ्क र एडिबीले दुई मिलियन लगानी प्रतिबद्धता आएको उल्लेख गर्नुभयो । उहाँले जलविद्युत उत्पादनको लागि नयाँ नयाँ प्रयोजनाहरु बनाउनका लागि अहिले प्राप्त भएको लगानी प्रतिबद्धताले मात्रै अपुग हुने बताउनुभयो ।   उहाँले सरकारले जलविद्युतमा लगानी र बजेट विनियोजन गर्न सम्भव नभएको बताउनुभयो । निर्देशक घिसिङले प्राधिकरण जलविद्युत उत्पादनका लागि लगानी सुनिश्चित कसरी गर्ने भन्ने विषयमा काम गरिरहेको पनि जानकारी दिनुभयो ।

काठमाडौंः    नेपालले आईसीसी १९ वर्षमुनिको विश्व कप एसिया क्षेत्र छनोटमा नेपाल लगातार चौथो खेलमा विजयी भएको छ । मङ्गलवार यूएईमा भएको खेलमा मलेसियालाई हराउँदै नेपालले लगातार चौथो जित निकालेको हो । मलेसियाले दिएको ७३ रनको सामान्य लक्ष्य नेपालले ९ ओभरमा कुनै पनि विकेट नगुमाई भेटायो । नेपालका लागि दीपक बोहराले ३८ र अर्जुन कुमालले २१ रन बनाए । यसअघि टस जितेर ब्याटिङ गरेको मलेसिया ३५ ओभर ३ बलमा ७२ रन बनाउँदा अलआउट भयो । मलेसियाका लागि मुहम्मद मलेकले सर्वाधिक २६ रन बनाए । बलिङतर्फ नेपालका दिपेश कँडेलले १० ओभरमा ११ रन दिएर ४ विकेट लिए । यस्तै आकाश चन्दले ३, मिलन बोहराले २ र सुवास भण्डारीले १ विकेट लिए । नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ९६ रन, दोस्रो खेलमा कुवेतलाई २ सय ४३ रनको फराकिलो अन्तरले र तेस्रो खेलमा हङकङलाई ९ विकेटले हराएको थियो । नेपालले बिहीवार घरेलु टोली यूएईसँग खेल्नेछ । नेपालसहित सिङ्गापुर, कुवेत, हङकङ, मलेसिया र आयोजक यूएई ६ टोली सहभागी प्रतियोगिताको शीर्ष टोलीले आउँदो वर्ष श्रीलङ्कामा हुने १९ वर्षमुनिको विश्व कप खेल्न पाउनेछ ।

काठमाडौं: निवर्तमान स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले काम सुरु गर्ने बेलामा मन्त्री पदबाट हट्नु परेको बताएका छन् ।   ४२ दिन मन्त्री रहँदा मन्त्रालयको समस्या कसरी समाधान गर्ने भनेर अध्ययन गरेको र अब काम सुरु गर्ने बेलामा भने बिदा लिनु परेको उनको गुनासो थियो ।   यो ४२ दिनको अवधिमा मैले स्वास्थ्य क्षेत्रको अध्ययन धेरै घनिभूत ढंगले गरेँ । सम्बन्धित पक्षहरुसँग बस्ने, अन्तर्क्रिया गर्ने, कहाँ के समस्या छन् ? ती समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा मैले धेरै भन्दा धेरै समय खर्च गरेँ भन्ने लाग्छ’ स्वास्थ्य पत्रकार मञ्चले गरेको कार्यक्रमाम उनले भने, ‘अब स्वास्थ्य क्षेत्र बुझेर काम गर्ने बेला आएको थियो । त्यही बेला यहाँबाट विदा लिनुपर्ने अवस्था बन्यो ।’   उनले स्वास्थ्य मन्त्रालयमा धेरै जटिल समस्याहरु छन भन्ने कुरा मन्त्री भएपछि मात्रै आफूले थाहा पाएको समेत टिप्पणी गरे । निवर्तमानमन्त्री गिरीले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्विचार गर्नुपर्ने आवश्यकता देखिएको बताए । त्यसका लागि बीमितलाई दिने सेवाको रकम १ लाखबाट बढाएर ५ लाख रुपैयाँ पुर्‍याउनुपर्ने उनको सुझाव छ ।   उनले स्वास्थ्य सामग्रीहरुको दुरुपयोग हुन नदिने, सबै स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि बजेटको व्यवस्था गर्ने, स्वास्थ्यकर्मीहरुको अभिलेखीकरण गर्ने, सबै प्रदेशमा विशिष्टीकृत खालको स्वास्थ्य सेवा उपलब्ध गराउने कामलाई आफूले प्राथमिकताका साथ अघि बढाएको पनि बताए ।

काठमाडौं:  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालका प्रत्येक जातजाति र धर्मावलम्बीहरूका आ–आफ्नै सांस्कृतिक महत्त्व बोकेका मौलिक चाडपर्वले नयाँ उमङ्ग र उत्साहका साथ एक आपसमा एकता तथा सद्भाव स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभएको छ ।   माझी समुदायको लदी पर्वका अवसरमा शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री प्रचण्डले माझी जाति परम्परागत रूपमा पानीसँग नै रमाउँदै र जिउँदै आएको एक विशिष्ट पहिचान भएको जातिका रुपमा उल्लेख गर्नुभएको छ ।   प्रधानमन्त्रीले फागुन महिनाको साहिँली अर्थात् तेस्रो मङ्गलबार मनाउने नेपालको आदिवासी जनजातिअन्तर्गत अल्पसङ्ख्यक सीमान्तकृत जाति सम्पूर्ण माझी समुदायसहित नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ ।   नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको मुलुकका रुपमा उल्लेख ग​र्दै प्रधानमन्त्री प्रचण्डले विकासका पूर्वाधार, जलविद्युत्, सडक आदिको विकासका कारण यस जातिको परम्परागत पेसा बिस्तारै लोप हुँदै गएको उल्लेख गर्नुभएको छ ।   “माझी जातिले आजको दिनमा विशेष गरेर नदी र पानीको पूजा गरी मनाउन लागेको चाडपर्वले माझी जाति र पानीको सम्बन्धलाई थप उजागर र स्थापित गर्नेछ”, प्रधानमन्त्रीले सन्देशमा भन्नुभएको छ ।    वर्तमान सरकार बदलिएको व्यवस्थाअनुरूप जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउने सङ्कल्पका साथ अवस्था बदल्न दृढ सङ्कल्पित रहेको प्रधानमन्त्री दाहालले सो सन्देशमा भन्नुभएको छ ।   प्रधानमन्त्री प्रचण्डले सम्पूर्ण नेपालीलाई सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा हातेमालो गर्न र यस पर्वलाई माझी जाति र अन्य समुदायका बीचमा एकता, सद्भाव र सहकार्य थप बलियो बनाउने ऐतिहासिक अवसरमा रूपमा मनाउन अपिल गर्नुभएको छ ।

काठमाडौं:  वैदेशिक रोजगारी सम्बन्धी विज्ञापन राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित भएपछि अब म्यानपावर कम्पनीको वेबसाइटमा समेत अनिवार्य राख्नु पर्ने भएको छ ।   वैदेशिक रोजगार विभागले सोमबार एक सूचना प्रकाशित गर्दै यस्तो व्यवस्थाबारे जानकारी गराएको हो । विभागका अनुसार इजाजत प्राप्त संस्थाबाट हुने वैदेशिक रोजगार सम्बन्धी विज्ञापन ‘अटो अप्रुभ’ हुने व्यवस्था गरिएको छ ।   अब इजाजत प्राप्त संस्थाले विभागबाट स्वीकृत बमोजिमको विज्ञापनको पहिलो पटकको हकमा राष्ट्रिय दैनिक र त्यसपछिको विज्ञापन आ–आफ्नो संस्थाको वेवसाइटमा अनिवार्य राख्नु पर्ने भएको छ । यस कामको नियमित अनुगमन समेत हुने भएको छ । त्यसो गरेको नपाइएमा कारवाही गर्ने चेतावनी समेत विभागले दिएको छ ।

 काठमाडौं:  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी चिकित्सकमा प्रा.डा. युवराज शर्मा नियुक्त भएका छन् । गत बिहीबार (११ फागुन) मा बसेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार प्रधानमन्त्री प्रचण्डको निजी चिकित्सकको रुपमा डा. शर्मा नियुक्ति भएका हुन् ।   डा. शर्माले हाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिसिन विभागका प्राध्यापक तथा मेडिकल डाइरेक्टरको पदमा कार्यरत छन् ।   सोमबार साँझ प्रधानमन्त्रीको निजी चिकित्सक नियुक्तिको पत्र बुझेको शर्माले बताए । सरकारी सेवामा रहेको व्यक्तिले दोहोरो सेवा–सुविधा लिन नमिल्ने भएका कारण डा. शर्माले पाटन अस्पतालको मात्रै सेवा–सुविधा लिने बताए ।   ‘पाटन अस्पतालमा भएको साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको निजी चिकित्सकको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नेछु,’ डा. शर्माले भने ।   नेपालमा दुई विषयमा एमडी गरी विदेशबाट फेलोसिप समेत गरेका डा. शर्मा नेपालका अब्बल चिकित्सकमध्येमा गनिन्छन् । डा. शर्माले उच्च विशेषज्ञता इन्टनरल मेडिसिन र पेट तथा कलेजो विषयमा गरेका छन् ।

काठमाडौं : यूकेमा रोजगारी मिलाई दिन्छु भन्दै अनलाईनमार्फत् २३ लाख नगद ठगी गरेको अभियोगमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।    पक्राउ पर्नेहरूमा भारत बिहार मोतिहारी रामपुर ग्राम पञ्चायत थाना दारपा घर भई काठमाडौं कालीमाटी बस्ने २५ वर्षीय सुदिश कुमार साह र काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-११ घर भई काठमाडौं कालीमाटी बस्ने २७ वर्षीया सुनिता परियार रहेका छन् ।    उनीहरूले सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप, ईन्टारग्राम,भाइबर र टिकटकमार्फत साथी बनाई आफू मलेसियाको नागरिक भएको र हाल यूके मा डेन्टिस डाक्टर पेशा गर्छु भनि पीडितहरूसँग मोबाईल नम्बर लिइ ह्वाट्सएपमार्फत् कुराकानी गरी प्रलोभनमा पारेका थिए । त्यसपछि  यूकेमा हेल्थकेयर असिस्टेनटमा नोकरी लगाई दिन्छु भन्दै व्यक्तिगत विवरण पठाउन लगाई कागजात लिएपश्चात विभिन्न व्यक्तिहरूलाई  पार्सल,आकर्षक गिफ्ट, डलरलगायतको सामान पठाएको र त्यसको लागि कस्टम चार्ज,क्लिरियन्स,इन्सुरेन्स, डेलिभरी चार्ज जस्ता प्रयोजनमा रकम तिर्नुपर्छ भन्दै पीडितहरूबाट सुनिताको बैंक खातामा रुपैयाँ पठाउन लगाई ठगी गरेको खुल्न आएपछि उनीहरूई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।    उनीहरूलाई ठगी कसूरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर टकु काठमाडौं पठाइएको  छ ।