काठमाडौं: नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको गिरावट देखिएको छ । सोमबार नेप्से परिसूचक तीन दशमलव ६५ अङ्कले घटेर दुई हजार २३ दशमलव ५४ को बिन्दुमा कायम भएको हो । आज दुई सय ५९ वटा कम्पनीको ५१ लाख २० हजार आठ सय ८८ कित्ता शेयर ३७ हजार तीन सय ३८ पटक खरिद–बिक्री हुँदा रू एक अर्ब ८९ करोड ३७ लाख ३६ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । होटल तथा पर्यटन, म्युचुअल फन्ड, निर्जीवन बीमा, व्यापार र अन्य समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । होटल तथा पर्यटन समूह ४३ दशमलव ८१, म्युचुअल फन्ड समूह शून्य दशमलव ०७, निर्जीवन बीमा समूह सात दशमलव २७, व्यापार समूह १२ दशमलव ६५ र अन्य समूह ११ दशमलव ८० अङ्कले बढेको छ । त्यस्तै, लघुवित्त समूहको उपसूचक सबैभन्दा धेरै ३९ दशमलव ३८ अङ्कले घटेको छ । त्यस्तै, बैंकिङ समूह एक दशमलव ३८, विकास बैंक समूह १३ दशमलव ०८, वित्त समूह २८ दशमलव ४७ र जलविद्युत् समूह सात दशमलव ४१ अङ्कले घटेको छ । लगानी, जीवन बीमा र उत्पादन समूहको उपसूचकमा क्रमशः शून्य दशमलव ३४, आठ दशमलव ९६ र २३ दशमलव ३७ अङ्कको गिरावट देखिएको पनि नेप्सले जनाएको छ । आजको कारोबारपछि सबैभन्दा धेरै स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य प्रतिकित्ता नौ दशमलव ७३ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गिरावट भने राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको शेयर मूल्य छ दशमलव ४३ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको रू छ करोड ६८ लाख बराबरको शेयर खरिद बिक्री भएको छ ।
डडेल्धुरा: डडेल्धुराको परशुराम नगरपालिकामा आज सोमबार जिप दुर्घटना भएको छ । दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको छ । ११ जना घाइने भएका छन् । कञ्चनपुरको दैजीबाट डडेल्धुराको भागेश्वर गाउँपालिकाको रुपालतर्फ आउँदैगरेको म १ ज २३८ नम्बरको जिप दुर्घटना हुँदा भागेश्वर गाउँपालिका –२ का ५० वर्षीय बाशुदेवी तिरुवाको मृत्यु भएको छ । चालकसहित ११ जना घाइते भएको प्रहरीले जनाएको छ । ग्रामीण कच्चि सडकको परशुराम नगरपालिका –३ मट्यौलामा जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले बताउनुभयो । उहाँका अनुसार जिप सडकमा पल्टिएको थियो । जिपमा चालकसहित ११ जना यात्रु सवार रहेका थिए । जिप पछाडि गर्नेक्रममा दुर्घटना भएको प्रहरीको भनाइ छ । दुर्घटनास्थल परशुराम नगरपालिका मुकाम जोगबुडा लालढुङ्गाबाट करिब २५ किलोमिटरको दूरीमा पर्छ । लालढुङ्गा बजारमा ईलाका प्रहरी कार्यालय रहेको छ । ईलाका प्रहरी कार्यालयबाट उद्धारमा खटिएको टोलीले प्रारम्भिक जानकारी दिएको डिएसपी भट्टले बताउनुभयो । घटनाबारे विस्तृत जानकारी आउन बाँकी छ ।
काठमाडौं: नेकपा (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । साथै एमालेले सरकारबाट पनि फिर्ता हुने निर्णय गरेको छ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुर गर्नुहुँदै नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पुस १० मा भएको सहमतिअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नगएको र प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेलाई सरकारबाट बाहिरिन दबाब दिएको बताउनुभयो । उहाँले प्रधानमन्त्रीले एमाले सरकारबाट नबाहिरिए तत्काल मन्त्रीहरुलाई बर्खास्त गर्ने वा बिना विभागीय मन्त्री बनाउनेसम्मको चेतावनी दिएको आरोप लगाउनुभयो । उहाँले प्रधानमन्त्री प्रचण्डले जेनेभा भ्रमणमा जान लाग्नुभएकी परराष्ट्रमन्त्री डा. विमला राई पौड्याललाई अन्तिम समयमा रोकेर प्रधानमन्त्रीले अपरिपक्वता देखाएको र नेकपा एमालेमाथि प्रतिशाेध साँधेको आरोप लगाउनुभयो । उहाँले अन्तिम समयमा राष्ट्रको प्रतिनिधित्व गर्नबाट रोक्दा राष्ट्रको इज्जतमाथि नै प्रतिकूल असर परेको दाबी गर्नुभयो । ‘‘आजको बैठकले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट अलग हुने निर्णय गरेको छ । हामीले विशिष्ट परिस्थितिमा यो सरकारमा सहभागी भएका थियौँ । राष्ट्रपतिमा भएको सहमति कार्यान्यन गर्नुभएन र अरु दलको समर्थनमा कांग्रेसको उम्मेदवारलाई सघाउने निर्णय गर्नुभयो । तर पनि हामीले मुलुकको अवस्थालाई विश्लेषण गरेर राष्ट्रपतिमा सहमति नभए पनि देशको परिस्थिति हेरेर अघि बढिरहेका थियौँ ।,’’ उपाध्यक्ष पौडेलले भन्नुभयो, ‘‘तर प्रधानमन्त्रीले पछिल्लो समय नेकपा एमालेमाथि जुन किसिमको व्यवहार गर्नुभयो, जेनेभा जान लाग्नुभएकी मन्त्री विमला राई पौड्याललाई रोक्नुभयो, उहाँले एमाले सरकारबाट नहटे बिना विभागीय मन्त्रीको रुपमा राख्ने जस्ता अभिव्यक्ति दिनुभएपछि हामी सरकारमा बस्न सकेनौँ । त्यसैले सरकारबाट फिर्ता हुने निर्णय गरेका छौँ । राष्ट्रको इज्जतमाथि नै यसले प्रतिकूल असर पारेको छ ।’’ उहाँले प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा भएको सहमति कार्यान्वयन नगरेर देशमा राजनीतिक स्थिरता नचाहेको आरोप लगाउनुभयो ।
काठमाडौं: नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ८ दलको गठबन्धन आगामी चुनावसम्मै टिक्ने बताएका छन्। सुर्खेतमा आज पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले आँट भएका र दृष्टिकोण भएकाहरू रहेकोले यो गठबन्धन चुनावसम्म टिक्ने दाबी गरेका हुन्। ‘८ दलीय गठबन्धन चुनावसम्मै टिक्छ। हामीले पहिले गठबन्धन बनाउँदा पनि टिक्दैन भनेका थिए तर चुनावसम्मै रह्यो,’ उनले भने, ‘हामी आँट भएका, आत्मविश्वास र दृष्टिकोण भएका मानिसहरू हौं, गठबन्धन चुनावसम्मै टिक्छ।’ गत शुक्रबार राष्ट्रपतिमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई समर्थन गर्न ८ दलबीच सहमति बनेको थियो।
काठमाडौ: सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको सञ्चार क्षेत्रमा परिवर्तनको अनुभूति गराउन कानुन परिवर्तनमा जोड दिने नीति लिएको बताउनुभएको छ । सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब)को कार्यालय निरीक्षण तथा भेटघाटका क्रममा उहाँले यस्तो धारणा राख्नुभएको हो । ठूलो राजनीतिक परिवर्तनपछि संविधान निर्माण भए पनि सो अनुकूल पर्याप्त कानुन नभएकाले आफू कानुन निर्माणमा केन्द्रित भएको बताउनुभयो । नेपाली समाज धेरै अगाडि बढे पनि कतिपय क्षेत्रमा पञ्चायतकालीन कानुन रहेकाले यसको परिवर्तन गर्न सरकार लागेको पनि उहाँले जानकारी दिनुभयो । नेपालको परिवर्तन र जागरणमा रेडियोहरुको ऐतिहासिक भूमिका रहेको उल्लेख गर्दै उहाँ अब सङ्ख्यामा भन्दा गुणस्तरीय सामग्री निर्माणमा जोड दिन आग्रह गर्नुभयो । अहिले समाजमा पर्याप्त कानुनी चेतनाको अभावमा बहुविवाह, छुवाछुतजस्ता जघन्य अपराधहरु भइरहेको उल्लेख गर्दै उहाँले सञ्चारमाध्यमहरुले कानुन साक्षरतामा सहयोग पुने सामग्री निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो । अकोराबका अध्यक्ष अर्जुन गिरीले सङ्घीय कानुन निर्माण गरी सामुदायिक रेडियोमा सहजीकरण गरिदिन आग्रह गर्दै ध्यानाकर्षणपत्र बुझाउनुभएको थियो । सो क्रममा मन्त्री शर्माले सामुदायिक सूचना नेटवर्क (सिआएन)को पनि निरीक्षण गर्नुभएको थियो ।
काठमाडौं: आज स्वास्थ्य सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसको अवसरमा राष्ट्रिय सभागृहमा विशेष समारोह आयोजना गरिएको छ । स्वास्थ्य सेवा ऐन, २०५३ जारी भएको दिनलाई स्मरण गर्दै हरेक वर्ष फागुन १५ गते स्वास्थ्य सेवा दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले देशमा धेरै राजनीतिक परिवर्तन भए पनि दूरदराजका गरिब जनताले अझै पनि सर्बसुलभ ढंगले स्वास्थ्य सेवा नपाइरहेको बताए । ‘नेपालको स्वास्थ्य क्षेत्रमा युगान्तकारी परिवर्तन ल्याउन ढिलो भइसकेको छ । गरिब जनताले सुलभ ढंगले गुणस्तरीय स्वास्थ्य सेवा पाउने अवस्था आजको दिनमा पनि छैन,’ उनले भने । उनले स्वास्थ्य क्षेत्रमा युगान्तकारी परिवर्तन ल्याउँछौं भनेर सबैले आ–आफ्नो ठाउँबाट अठोट गरेमा मात्रै स्वास्थ्य सेवा दिवस मनाउनुको सार्थकता रहने बताए ।
तनहुँ :नाबालिका बलात्कारसम्बन्धी मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएका कलाकार पूर्णविक्रम (पल) शाह थुनामुक्त भएका छन्। शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले सबै अभियोगबाट पूर्ण सफाइ पाएकाले रिहा भएको जानकारी दिए । शाह जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा थिए । शाहलाई स्वागत गर्न उनका शुभचिन्तकहरू बिहानैदेखि कारागार पुगेका थिए। आइतबार उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले जिल्ला अदालत नवलपुरको आदेश उल्ट्याउँदै शाहमाथिको अभियोग दाबी नपुग्ने ठहर गरेको थियो। शाहलाई थुनामुक्त गर्ने व्यहोराको पत्र उच्च अदालतले जिल्ला कारागार तनहुँलाई पठाएपछि उनी रिहा भएका हुन्। यसअघि जिल्ला अदालत नवलपुरले शाहलाई २५ हजार जरिवानासहित दुई वर्ष ६ महिना कैद र पीडितलाई १० लाख रूपैयाँ क्षतिपूर्ति फैसला गरेको थियो। त्यसविरुद्ध शाहले उच्च अदालतमा पुनरावेदन गरेका थिए। शाहले तनहुँ जिल्ला अदालतमा परेको मुद्दामा सफाइ पाइसकेका छन्। नवलपुर अदालतले बालयौन दुराचारमा सजाय फैसला गरेको थियो। जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतबाट बलात्कारमा दिइएको सफाइविरुद्ध पुनरावेदन गरेको थियो। उच्च अदालतले आइतबार अभियोग दाबी नपुग्ने भन्दै जिल्लाको फैसला उल्ट्याएपछि कलाकार शाह आज रिहा हुने भएका हुन्। प्रक्रिया पूरा गरी उनी आज रिहा हुँदैछन्। पोखराकी एक किशोरीले कलाकार शाहले आफूलाई तनहुँ र नवलपुरको गैंडाकोटमा बलाकात्कार गरेको भनी गत वर्ष तनहुँ जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन्। जाहेरी नवलपुरमा पनि परेको थियो। जिल्ला सरकारी वकिलको कार्यालय तनहुँ र नवलपुर दुवैले जिल्ला अदालतमा शाहविरुद्ध मुद्दा दायर गरेका थिए। त्यसअघि नै शाहले गत फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका थिए।
काठमाडौं : नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दामा सर्वोच्च अदालतमा परेको पुनरावेदनमा आज सुनुवाइ हुँदैछ। न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको इजालसमा आइतबार सुनुवाइ भएको मुद्दा सोमबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो। पाटन उच्च अदालतले सन्दीपलाई २० लाख रूपैयाँ धरौटीमा छाड्ने आदेश दिएपनि उनलाई विदेश भ्रमणको अनुमति दिएको छैन। सन्दीपले आफूलाई विदेश भ्रमणमा लगाइएको प्रतिवन्द फुकुवा गर्न माग गर्दै सर्वोच्चमा पुनरावेदन गरेका थिए। सन्दीपलाई धरौटीमा छोड्ने पाटन उच्च अदालतको आदेशविरूद्ध सरकारी वकिल कार्यालयले सर्वोच्चमा रिट दिएको छ। उनलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने महान्यायाधीवक्ता कार्यालयको माग छ। महान्यायाधिवक्ता कार्यालय र सन्दीपको निवेदन एकैसाथ राखेर आइतबारबाट सुनुवाइ सुरू भएको हो। लामिछानले विश्वकप लिग-२ अन्तर्गतको खेलमा सहभागी हुन पाउँ भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए। नेपाल क्रिकेट संघ (क्यान)ले पनि सन्दीप टिमको महत्पूर्ण खेलाडी रहेको र विदेश लैजाने र ल्याउने जिम्मा आफूहरूले लिने भन्दै गत बिहीबार सर्वोच्च अदालतसमक्ष अपील गरेका थिए। शुक्रबार सो मु्द्दामाथि सुनुवाइ गर्दै सर्वोच्चले सन्दीपलाई युएई भ्रमणमा सहभागी हुन नपाउने आदेश दिएको थियो। उक्त रिटमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले सन्दीपलाई युएई भ्रमणको अनुमति नदिएको हो। नाबालिग बलात्कार अभियोग लागेका सन्दीपलाई जिल्ला अदालत काठमाडौंले विदेश भ्रमणमा रोक लगाउनेगरी धरौटीमा रिहा गरेको थियो।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले ६ महिनामा सवारी दुर्घटनामा ज्यान गुमाउने संंख्या २३ जना रहेको जानकारी दिएको छ । कास्की प्रहरीले अर्धवार्षिक कार्यविवरण सार्जनजिक गर्र्दा सवारी दुर्घटनामा ज्यान गुमाउने संख्या २३ जना रहेको प्रहरी निरीक्षक राम तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार कास्कीमा ६ श्रावण महिनादेखि यता ६४ जना सवारी दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ भने ५७ जना घाइते भएका छन् । प्रहरी निरीक्षक तिमिल्सिनाका अनुसार ३८ हजार ४ सय २२ वटा सवारी कारवाही गर्दा ३ करोड ३० लाख ७५ हजार राजश्व संकलन भएको छ । पोखरामा २९ केजी गाँजा प्रहरीको नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय कास्कीले ६ महिनामा जिल्लाको विभिन्न स्थानबाट २९ केजी बढी गाँजा लागूऔषध नियन्त्रणमा लिएको छ । प्रहरीले चालु आर्थिक वर्षको श्रावण महिना देखि यता जिल्लाको विभिन्न स्थानबाट लागूऔषध नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ । कास्की प्रहरीका अनुसार गाँजा २९ केजी ९ सय ९७ ग्राम, चरेश ३ केजी ३ सय ग्राम, ब्राउन सुगर २०.०७ ग्राम, डाईजापाम, फेनेरागमन नुर्फिन ३ हजार ७ सय ९७ एम्पुल, नाईट्रोभ्याट, ट्रामाडोल ३१ चक्की र ६९ स्थानमा गाँजा फडानी गर्दा ५० हजार बोट नष्ट गरेको हो । कास्कीले प्रहरीले पछिल्लो ६ महिनामा जिल्लाको विभिन्न स्थानमा नदीजन्य पदार्थको अवैध उत्खनन् गर्ने ६२ वटा सवारी साधनलाई नियन्त्रणमा लिएर सम्बन्धित स्थानीय तहमा कारवाहीका लागि पठाएको जनाएको छ । पछिल्लो ६ महिनामा यता १२ वटा ट्याक्टर, ४३ वटा टिप्पर, १ वटा ट्रक, ३ वटा स्क्याभेटर, ३ वटा जेसिबी गरी ६२ वटा सवारीलाई सम्बन्धित स्थानीय तहलाई कारवाही लागि पठाएको हो । ६२ वटा सवारीबाट ८ लाख २२ हजार ६ सय ८० राजश्व संकलन गरेको कास्की प्रहरीले जनाएको छ । यस्तै जिल्ला प्रहरी कार्यालय कास्कीले २० जना प्रहरीलाई कारवाही गरेको छ । पछिल्लो ६ महिना यता कास्कीमा २० जना प्रहरी कारवाहीमा पर्दा ८५ जना प्रहरी भन सम्मानित भएको कास्की प्रहरीले जनाएको छ ।

