पोखरा: माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष रामबहादुर गुरुङबाट कुटिएको भन्दै वडाकै सब–इन्जिनियर लक्ष्मण जिसी प्रहरीसमक्ष पुगेका छन् । जिसीले कारवाहीकालागि निवेदन दिएपछि हिजै छलफल भएपनि ठोस निर्णय भएको छैन । यसैबीच, कर्मचारीहरुले गाउँपालिकामा ‘पेनडाउन’सम्मको घोषणा गरेका छन् । वडाध्यक्ष गुरुङ नेपाली कांग्रेसबाट निर्वाचित हुन् भने सबइन्जिनियर जिसी नेकपा एमाले समिर्थित हुन् । जिसीले नेताहरुलाई बधाई एवं शुभकामना दिन ‘हाम्रो गौरवशाली पार्टी नेकपा एमाले’ भनेर सम्बोधन गर्छन् । सम्भवतः राजनीतिक आस्थाकै कारण शुक्रबारको घटना घट्न पुगेको अनुमान गरिन्छ । यद्यपि, वडाध्यक्ष र जिसीबीच यसअघिदेखि नै सम्बन्ध अनुकुल हुन नसकेको स्थानीयको भनाई छ । यस विषयलाई आइतबार गाउँपालिकामा सबै बसेर टुंगोमा पुर्याउने गाउँपालिकाका प्रवक्ता गणेश आचार्य बताउँछन् । ‘हामीले जिसीका परिवासँग पनि भेटघाट गरेका छौं, सम्बन्धलाई सुधार गर्दै जाने वातावरण बन्नेमा आशावादी छौं, यहाँको निष्कर्ष प्रहरीसमक्ष पुर्याई विवाद सल्टाउन लाग्नेछौं’ प्रवक्ता आचार्यले भने । यही प्रकरणमा मुछिएको दुई पात्रका भनाई संक्षेपमाः लक्ष्मण जिसी सब–इन्जिनियर, माछापुच्छ्रे गाउँपालिका मलाई वडाध्यक्ष राम गुरुङले कुटेका हुन् । शुक्रबार म माथि नियतवश कुटपिट भएपछि प्रहरीमा उजुरी दिएको हुँ । मेरो काम प्राविधिक भएकाले फिल्डमा खटिइरहनुपर्छ, त्यसैकारण ठ्याक्कै १० बजे कार्यालय पुग्न सकिँदैन । शुक्रबार पनि यही निहुँमा म कुटिएको हुँ । कुटाइबाट नाकको माथि चोट पुगेको छ । शरिरको अन्य भागमा पनि पीडा भएको छ । प्राविधिक काम भएकाले बिहानै काममा निस्कने गरेको छु, सोही कारण समयमै कार्यालय पुग्न कहिलेकाही भ्याइन्न । त्यसदिन एउटा गाउँको लागत इस्टिमेट दिएर मलाई बिल बनाउन भनिएको थियो तर मैले नापजाँच नगरी बिल बनाउँन मिल्दैन भनेपछि म माथि अध्यक्ष गुरुङ जाइलागे । वडाध्यक्षको स्वार्थविपरित काम नगर्दा म माथि हातपात भएको हो । म ८ नम्बर वडाको प्राविधिक हुँ । त्यसदिन पनि सडकको साइटमा थए । आउँदा थोरै ढिला भएको हो । ल्वाङ सामुदायिक होमस्टेको कार्यक्रमको पूर्वाधार बनाउने स्टिमेट तयार गर्न वडाध्यक्षले भनेका थिए तर वडा कार्यालयमा सेवाग्राहीले कुरेकाले त्यो काम सकेर जान्छु भन्ने थियो तर एक्कासी कुटपिट भयो । म माथि भएको हातपातको विरुद्ध प्रहरीमा उजुरी दिएको छु । छलफल हुँदैछ । भोली गाउँपालिकामा पेनडाउन कार्यक्रम पनि छ । राष्ट्रसेवक कर्मचारीमाथि प्रहार भएको छ । न्याय पाउनेमा आशावादी छु । रामबहादुर गुरुङ, अध्यक्ष, वडा नं.८, माछापुच्छ्रे गाउँपालिका धेरै पहिल्यैदेखि सब–इन्जिनियर लक्ष्मण जिसीले विकासे काममा अवरोध गर्दै आएका छन् । जिसी कहिल्यैपनि समयमा कार्यालय आएका छैनन् । उनको आउने समय सँधै बिहान ११ बजे हो । त्यसदिन १०ः४६ मा आएका थिए । मैले होमस्टेसँग सम्बन्धित विषयमा कुरा गर्दा उनले आनाकानी गर्दै झन् चर्किए । त्यसपछि मैलेपनि ‘यस्तो तरिका ठिक हुन्न, कसैको कारण वडाबासीले दुख पाएको म सहँन्न’ भने । हामीसँग बजेट संकलन हुने आन्तरीक स्रोत छैन । सिंगो गाउँपालिका नै संघ र बजेटको प्रदेशमा निर्भर छ । यसर्थ, बजेट माग्न पोखरा झर्नपर्छ, यसै प्रयोजनार्थ हामी विभिन्न योजना बनाउँछौं तर जिसीले त्यसलाई फाइनल गर्नबाट पन्छिने र ढिलासुस्ती गर्नमै समय खर्चिन्छन् । वडाका दलित महिला सदस्यले पनि नमस्कार गर्दा नफर्काउने र रवाफिलो शैलीमा प्रस्तुत हुने गरेको सुनाउँदै आएका थिए । विशेषतः वडावासीलाई दिनुपर्ने सेवा प्रवाहमा बाराम्बार अवरोध गरिरहेका थिए । त्यसदिन पनि यही विषयमा चर्काचर्की भएको हो । सोहीक्रमा जिसी म भएतिर जोस्सिएर आए, म माथि प्रहार हुने ठानेपछि मैले थोरै हुत्याइदिएको हुँ, त्यसपछि उनी भित्तामा ठोक्किए । उनको नाकबाट केही रगत बगेको थियो । तर मैले कुटपिट गरेको हैन, प्रतिरक्षा गर्ने क्रममा धकेलेको भने स्वीकार्छु । यस विषयमा प्रहरीसँग गाउँपालिका र जिम्मेवार पदाधिकारीहरु छलफलमा छौं । यसलाई इस्यु बनाएर गाउँपालिकाकै काम रोक्ने योजना भइरहेको छ । यो सह्य हुँदैन । जे सुकै होस् तर वडा र क्षेत्रको विकासमा म बाट कुनैपनि किसिमको सम्झौता हुँदैन । यस विषयमा गाउँपालिका र वडामा पनि गएर स्थानीयको भनाई बुझ्न आग्रह गर्दछु ।
काठमाडौं: राष्ट्रपति पदमा नेकपा एमालेको तर्फबाट सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दर्ता गर्नुभएको छ। उहाँको प्रस्तावकमा एमाले अध्यक्ष केपी शर्मा ओली, नेताहरु पृथ्वीसुब्बा गुरूङ, गोकर्णराज विष्ट, रघुबीर महासेठ र छविलाल विक रहनुभएको छ । समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमन कुमार मास्के रहनुभएको सङ्घीय संसद सचिवालयले जनाएको छ।
काठमाडौं: राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनसहित मन्त्रिपरिषदमा सहभागी राप्रपा नेताहरुले शनिबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएको छ । शुक्रबार साँझ नेपाली कांग्रेस, नेकपा माओवादी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादीसहित ८ दलको नयाँ गठबन्धन बनेपछि राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । राप्रपाले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन । राप्रपाबाट मन्त्रिपरिषदमा अध्यक्ष लिङ्देनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, उपाध्यक्ष बिक्रम पाण्डेले शहरी विकास, नेता ध्रुवबहादुर प्रधानले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय सम्हालेका थिए । त्यस्तै नेता दीपकबहादुर सिंह ऊर्जा राज्यमन्त्री थिए ।
नेकपा एमालेको सचिवालयको बैठकपछि प्रचार विभाग प्रमुख तथा प्रवक्ता पृथ्वीसुब्बा गुरुङले पुस २५ गतेसम्म ‘धेरै कुरा पाक्ने’ प्रतिक्रिया जनाएका छन् । राष्ट्रपतिको विषयलाई लिएर नेकपा माओवादी केन्द्रसँग खटपट बढेपछि बिहान बसेको सचिवालय बैठकले पार्टीबाट सुभाषचन्द्र नेम्वाङ्गलाई उम्मेदवार चयन गरेको छ । उम्मेदवार चयनपछि गुरुङले उक्त प्रतिक्रिया दिएका हुन् । गुरुङले भनेका छन्, ‘पुस २५ गते आउन बाँकी छ, त्यतिबेलासम्म धेरै कुरा पाक्नेछ ।’ भनाइको आशयअनुसार त्यतिबेलासम्म नेपालको राजनीतिक डिस्कोर्स पुस १० कै सहमतिअनुसार अघि बढ्नसक्छ भन्ने हो । साथै, उनले गठबन्धन टुटेको छैन भन्दै पुस १० कै सहमतिअनुसार राष्ट्रपतिको .उम्मेदवार तय गरेको बताएका छन् । त्यतिञ्जेलसम्म एमाले सरकारबाट नबाहिरिने गुरुङको भनाई छ ।
काठमाडौं: फागुन २५ गते हुने राष्ट्रपति चुनावमा नेपाली कांग्रेसले पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। शनिबार बिहान कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो। बैठकमा सभापति शेरबहादुर देउवाले पौडेललाई राष्ट्रपति उम्मेदवार बनाउने प्रस्ताव गरेका थिए। कांग्रेसको निर्णयसँगै पौडेल ८ दलीय गठबन्धनका साझा उम्मेदवार बन्ने भएका छन्। पौडेलले दिउँसो २ बजे उम्मेदवारी दर्ता गर्न लागेका छन्। गठबन्धनका सबै नेताहरू पौने १ बजे संसद भवन नयाँ बानेश्वरमा जम्मा हुने र त्यसपछि उम्मेदवारी दर्ता गर्ने तयारी छ।
काठमाडौं: नेकपा एमालेबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार हुने तय भएको छ । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेका तर्फबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार बनाउने तय भएको जानकारी दिए । एमालेको उम्मेदवारले चुनाव जित्ने पनि उनको दाबी छ ।
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएको छ । आज बिहान बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सरकारबाट बाहिरिने र समर्थनसमेत फिर्ता लिने निर्णय गरेको हो । शनिबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको हो । पुस १० मा सात दलबीच प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको थियो। उक्त सहमतिअनुसार बनेका प्रदेश सरकारमा पनि राप्रपाले सहभागिता भएको थियो। प्रचण्ड नेतृत्वको सरकारमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्रीसहित ऊर्जा मन्त्री बनेर सहभागी बनेका थिए। राप्रपाबाट विक्रम पाण्डे सहरी विकास मन्त्री र दीपकबहादुर सिंह ऊर्जा राज्यमन्त्री बनेका थिए।
काठमाडौं: सत्ताको नेतृत्वकर्ता पार्टी नेकपा (माओवादी केन्द्र) सहितका आठ दलले नेपाली कांग्रेसलाई राष्ट्रपति दिने सहमति गरेका छन्। शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आठ दलका शीर्ष नेताको बैठकले यस्तो सहमति गरेको नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव प्रकाश ज्वालाले जानकारी दिनुभयो। ‘बालुवाटारमा बसेको आठ दलको बैठकले राष्ट्रपति नेपाली कांग्रेसलाई दिने सहमति गरेको छ’, नेता ज्वालाले पत्रकारसँग भन्नुभयो। नेता ज्वालाका अनुसार शुक्रबार साँझ बसेको बैठकमा राष्ट्रपति सम्बन्धको एउटा मात्र एजेन्डामा छलफल भएको हो । उहाँले भन्नुभयो, ‘‘यस पटकको निर्वाचनमा नेपाली कांग्रेसलाई सहयोग गर्ने निष्कर्षमा पुग्यौं । गठबन्धनका हिसाबले टर्निङ पोइन्ट जस्तो भएको छ ।’’ प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनता पार्टी, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीका शीर्ष नेता सहभागी थिए।
काठमाडौं: सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश गएर खेल्न पाउने अनुमति दिन अस्वीकार गरेको छ । शुक्रबार सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले क्रिकेटर लामिछानेविरुद्धको अर्को मुद्दा सर्वोच्च अदालतमा नै विचाराधीन रहेकाले दुवै मुद्दालाई लगाउनमा राखेर सुनुवाइका लागि फागुन १४ गते आइतबार संयुक्त इजलासमा पेसी तोक्न आदेश दिएको हो । नाबालिग बलात्कारको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दाको पुर्पक्ष गरिरहेको क्रिकेटर लामिछाने बिहीबार सर्वोच्च पुग्नुभएको थियो । धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशमा प्रतिबन्धात्मक व्यवस्था रहेकाले उक्त आदेशको प्रतिबन्धात्मक व्यवस्था हटाउन माग गर्दै लामिछानेले सर्वोच्चमा मुद्दा दायर गर्नुभएको हो । आदेशमा भनिएको छ, ‘उच्च अदालत पाटनबाट मिति २०७९/९/२८ मा प्रतिवादी सन्दिप लामिछानेबाट रु।२०,००,०००/–(बीस लाख) धरौट वा जमानत लिई तारिखमा राखी मुद्दामा पुर्पक्ष गर्ने गरी भएको आदेश उपर वादी नेपाल सरकारको तर्फवाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३ बमोजिम २०७९-RE-०२५७ को निवेदन परेको देखियो । उक्त निवेदनका सन्दर्भमा पेश भएको २०७९-RE–०१३६ को प्रतिवेदन यस अदालतको संयुक्त इजलासमा विचाराधीन रहेको समेत देखिन्छ। यसपछि उच्च अदालतको उक्त मिति २०७९/९/२८ को आदेशउपर प्रतिवादी सन्दिप लामिछानेको तर्फवाट मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ७३ वमोजिम भनी मिति २०७२/११/११ मा यस अदालतमा निवेदन पर्न आएको देखियो ।’ थप आदेशमा भनिएको छ, ‘यसमा वादी नेपाल सरकारको तर्फबाट परेको निवेदनका सन्दर्भमा कैफियत प्रतिवेदन पेश भैसकेको देखिदा प्रतिवादी सन्दीप लामिछानेको निवेदनका सन्दर्भमा पुनः कैफियत प्रतिवेदन लिइरहन परेन । आगामी हप्तामा नै खेलिने अन्तर्राष्ट्रिय क्रिकेट खेलसँग सम्बन्धित विषय देखिएको र उल्लिखित निवेदन उपर को सुनुवाइमा ढिलाइ हुन गएमा निवेदनको मूल प्रयोजन नै समाप्त हुन जाने समेत देखियो। तसर्थ, प्रस्तुत विषयमा तत्काल सुनुवाइ गर्नु आवश्यक देखिएकाले प्रस्तुत ०७९-RE-०२८१ को निवेदनलाई २०७९-RE-०१३६ को प्रतिवेदनसँग लगाउमा साथै राखी तथा महान्यायाधिवक्ताको कार्यालयलाई पेशीको जनाउ दिई सुनुवाइका लागि अग्राधिकार समेत प्रदान गरी मिति २०७९/११/१४ गते संयुक्त इजलासमा पेश गर्नू ।’

