पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

पोखरा र लेखनाथ क्षेत्रका व्यवसायीहरु बैंक तथा बित्तीय संस्थाहरुको चर्काे ब्याजबाट आहत भएपछि सडक आन्दोलनमा उत्रने तयारीमा छन् ।    दुबै उद्योग वाणिज्य संघका पदाधिकारी सम्मिलित छलफलमा सहभागी सदस्यहरुले चर्काे ब्याजदर घटाउने मागसहित बिहीबारदेखि विरोधका कार्यक्रम सुरु गर्ने भएका हुन् ।      विरोधस्वरुप बिहीबार बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म विपीचोकमा शान्तिपूर्ण प्रदर्शन गरिने भएको छ ।    विरोध कार्यक्रमको संयोजकमा पोखरा उद्योग वाणिज्य संघ र सहसंयोजकमा लेखनाथ उद्योग वाणिज्य संघ रहेको छ ।    यस विषयमा प्रतिक्रिया दिँदै संघका लेखनाथ अध्यक्ष छत्रधर आत्रेयले अवस्था निकै कठिन भइसकेकाले विरोधमा उत्रन बाध्य भएको जनाएका छन् ।    ‘चर्काे ब्याज तिर्न तारान्तार फोनसँगै धितो लिलाम गर्ने धम्कीले व्यवसायी आहत छन्’ अध्यक्ष आत्रेय भन्छन् ‘राष्ट्रबैंक लगायत सम्बन्धित निकायसमक्ष ब्याजदर घटाउन आन्दोलनमार्फत दबाब दिनेछौं ।’     भोलीको कार्यक्रम सांकेतिकरुपमा गरिने विरोध भएको बताउँदै पोखरा अध्यक्ष पवन प्रजापतिले यसपश्चात् व्यवसायीबीच थप छलफल गरी अघि बढ्ने उल्लेख गरे ।    ‘हाम्रो आन्दोलन सुरु भइसक्यो’ अध्यक्ष प्रजापति भन्छन् ‘व्यवसायीलाई बचाइयोस् भन्दै वृद्धि गरिएको ब्याजविरुद्ध हामी अर्थ र प्रधानमन्त्रीसम्म पुग्नेछौं ।’   सात प्रतिशतमा लिएको ब्याज अहिले आएर तीन गुणा बढाइसकेको भन्दै प्रजापतिले व्यवसायीमारा ब्याज विरुद्ध आयोजना गरिएको कार्यक्रममा सहभागी भइ ऐक्यबद्धता जनाइदिन आग्रहसमेत गरेका छन् । 

काठमाडौं: सांसद् दीपक गिरीले सांसद्हरूले संसद्मा उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्ने बताएका छन् ।   गिरीले संसद्मा विषय उठाए पनि सरोकारवाला मन्त्रीबाट जवाफ नआएको भन्दै सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराएका हुन् ।   उनले घोराही तुलसीपुर सडक खण्डको अवस्था विजोग भएको जानकारी गराए।  गिरीले भने,‘घोराही तुलसीपुर सडक–खण्डको अवस्था विजोग छ । सुन्दैछु यो सडक निर्माण कार्यको ठेक्का पनि रद्ध हुँदैछ । सभामुख महोदयमार्फत् ध्यानाकर्षण गराउँछु की शून्य समयमा उठाएको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिनुपर्छ ।’

कावासोती:  गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले नवलपुरबाट नै त्रिवेणी सुस्ता जानेगरी सडक निर्माण गर्ने बताउनुभएको छ । गैँडाकोटमा भएको प्रदेश र स्थानीय तहको समन्वयबारे भएको छलफल कार्यक्रममा मुख्यमन्त्री अधिकारीले आवश्यक कागजात तयार भएको बताउनुहुँदै आवश्यक परे सर्वोच्च अदालत गएर भए पनि समस्या समाधान गरी यसैवर्ष सडक निर्माणको काम सुरु गरिने बताउनुभएको हो ।   नवलपुरका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले एक अर्कालाई आवश्यक पर्दा तीनै तहको सरकारका अधिकारीबीच समन्वय भए सङ्घीयताले सार्थकता पाउने बताउनुभयो । संविधानले सह शासनको परिकल्पना गरेको जनाउनुहुँदै उहाँले सहकारिता, सह अस्तित्व र समन्वय गरेर अघि बढे सफलता पाउने बताउनुभयो ।   कार्यक्रममा आर्थिक मामिला मन्त्रालयका सचिव विष्णुप्रसाद शर्माले प्रदेश र स्थानीय सरकारबीच समन्वय र सहकार्यलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने हेतुले कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले प्रदेश र स्थानीय तहका वित्तीय अन्तरसम्बन्ध, आर्थिक क्षेत्राधिकार, राजस्व बाँडफाँट र अनुदानबारे प्रस्टाउनुभएको थियो ।   कार्यक्रममा गण्डकी प्रदेशका ५ वटा जिल्लाका स्थानीय तह प्रमुख एवम् उपप्रमुख, गाउँपालिकाका अध्यक्ष एवम् उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतले जिल्ला तहको समूहगत छलफलपछि जिल्लाको तर्फबाट राय व्यक्त गर्नुभएको थियो ।   मनाङका ४ वटा पालिका, लमजुङका ८ वटा, तनहुँका १० वटा, नवलपरासी (बर्दघाट सुस्तापूर्व)का ८ वटा र गोरखाका ११ वटा पालिकाका प्रमुख–उपप्रमुख, गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतको उपस्थिति रहेको थियो । उहाँहरूले स्थानीय तहको राजस्व अभिवृद्धिका लागि प्रदेश सरकारबाट अपेक्षा, प्राकृतिक स्रोत शुल्क (ढुङ्गा, गिट्टी, बालुवा) बाँडफाँटको अवधारणा र आर्थिक क्षेत्रसँग सम्बन्धित अन्य विषयमा राय राखेका थिए ।

काठमाडौं:  अस्ट्रेलियामा अब अन्तर्राष्ट्रिय विद्यार्थीले हप्तामा ४८ घण्टासम्म काम गर्न पाउने भएका छन् ।  यसअघि अन्तर्राष्ट्रिय विद्यार्थीले हप्तामा २० घण्टा मात्रै काम गर्न पाउँथे । नयाँ नियम जुलाई १, २०२३ बाट लागू हुनेछ ।   यस्तै, अस्ट्रेलियाले स्नातक र स्नातकोत्तर सकेका अन्तर्राष्ट्रिय विद्यार्थीले पूर्ण रूपमा काम गर्न पाउने भिसाको समयावधि पनि थप गर्ने भएको छ ।    जसमा स्नातक सक्ने विद्यार्थीले दुईदेखि चार वर्षको पोस्ट स्टडी वर्क स्ट्रिम (पिएसडब्ल्यू) भिसा पाउनेछन् भने स्नातकोत्तर विद्यार्थीले तीनदेखि पाँच वर्ष र विद्यावारिधिका विद्यार्थीले चारदेखि ६ वर्षे पिएसडब्ल्यू भिसा पाउने छन् ।

काठमाडौं:  नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य सामान्य बढेको छ।   अघिल्लो कारोबार दिन प्रतितोला दुई सय रुपैयाँ घटेको सुनको मूल्य आज स्थिर रहेको हो।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख तीन हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख दुई हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।   मंगलबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो।   त्यसैगरी, बुधबार चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।    मंगलबार चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा किनबेच भएको थियो। मंगलबारको तुलनामा आज चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो।   आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

बागलुङ:   नेपाल मगर संघको ४१ औं स्थापना दिवसको अवसरमा नेपाल मगर युवा संघ बागलुङले फागुन १२ देखि १५ गतेसम्म दोस्रो लखन कप महिला /पुरुष भलिबलको आयोजना गरेको छ ।  मगर संघको स्थापना दिवसको अवसरमा पालिका स्तरीय महिला भलिबल र खुुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको आयोजना गरिएको नेपाल मगर युवा संघका उपाध्यक्ष प्रकाश थापामगरले जानकारी दिए ।  ‘मगर संघको स्थापना दिवस फागुन १५ गते हो वर्षेनी कार्यक्रम आयोजना हुँदै आएको छ, थापामगरले भने, ‘शहीद लखन थापामगरलाई राष्ट्रले उचित सम्मान दिन सकेको छैन, शहीद थापामगरको सम्मान स्वरुप नै अन्य कार्यक्रम गर्दै आएपनि गतवर्ष देखि लखन कप आयोजना गरेका छौं ।’   दोस्रो लखन कप पालिका स्तरीय महिला भलिब प्रतियोगितामा विजेता हुने समूहले २५ हजार, द्धितीय हुने समूहले १५ हजारसहित ट्रफी मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् ।  यस्तै खुल्ला वडास्तरीय पुरुष भलिबलतर्फ विजेताले ८१ हजार १ सय ८१, द्रोस्रो हुने समूहले ४१ हजार १ सय ४१ र सान्त्वना हुने दुई समूहले क्रमश १०/१० हजार पुरस्कार प्राप्त गर्ने नेपाल मगर युवा संघ बागलुङका उपाध्यक्ष थापामगरले जानकारी दिए ।  उनका अनुसार लखनकप तथा मगर स्थापना दिवसको अवसरमा सामुहिक खुल्ला लोक नृत्य प्रतियोगिता समेत आयोजना गरेको छ । लोक नृत्यतर्फको विजेताले १० हजार, दोस्रो हुने समूहले ७ हजार र तेस्रो हुने समूहले ४ हजार पुरस्कार प्राप्त गर्नेछन् ।  नेपाल मगर युवा संघ बागलुङले आयोजना गरेको प्रथम लखन कप महिला भलिबलतर्फ बागलुङको बडिगाड गाउँपालिका विजेता र ताराखोला गाउँपालिका उपविजेता भएका थिए । यस्तै खुल्ला वडास्तरीय पुरुष भलिबलतर्फ बागलुङको गलकोट नगरपालिका ७ मल्म विजेता र गलकोट नगरपालिका १० पाण्डवखानी उपविजेता भएका थिए ।  भलिबल प्रतियोगिता बागलुङको कालिका भगवती बालउद्यानमा हुने संघले जनाएको छ ।   

नवलपरासी:  पश्चिम नवलपरासीको सुस्ता गाविसको हरकपुरामा दुई नाबालक छोरासहित गण्डक नहरमा हामफालेकी आमा मृत भेटिएको छ । मंगलबार दुई छोरालाई साथै चुन्नीले बाँधेर नहरमा हाम्फालेका तीन जना मृत भेटिएका हुन् ।    सुस्ता गाउँपालिका वार्ड नम्बर २ सुकुम्वासी टोल निवासी २९ वर्षीया प्रतिमा थारुले ९ वर्षीय छोरा कृश र ७ वर्षीय सुमित थारु सहित गण्डक नहरमा हामफालेको प्रहरीले जनाएको छ । नहरमा बेपत्ता भएपछि प्रहरीले नहरको पानी बन्द गरेर खोजी गरी मृत अवस्थामा तीनै जनालाई मंगलबार बेलुकी फेला पारेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव निरीक्षक भोजराज पाण्डेले जानकारी दिनुभयो ।    शवहरूको पोष्टमार्टम गरी घटनाको थप अनुसन्धान गरी रहेको जनाएको छ । 

काठमाडौं : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा युनाइटेड अरब इमिरेटस् (युएई) र कतारमा मोटरसाइकल र ट्याक्सी चालक पदका लागि जान रोक लगाएको छ । विभागले सूचना प्रकाशित गरी यसबारे जानकारी गराएको हो ।    युएई र कतारमा यी पदमा गएका अधिकांश श्रमिक समस्यामा परेको भन्दै वैदेशिक रोजगार विभागले पूर्वस्वीकृति रोक्ने निर्णय गरेको हो । पछिल्लो समय मोटरसाइकल र ट्याक्सी चालक पदमा त्यहाँ जाने श्रमिकले स्वीकृति मागपत्रबमोजिमको न्यूनतम तलब प्राप्त गर्न नसकेको गुनासो बढेको विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले जानकारी दिए।    उनका अनुसार सहजरूपमा लाइसेन्स प्राप्त गर्न नसक्दा लामो समय कामविहीन भइ बस्नुपरेको अवस्था रहेको र अधिकांश श्रमिक धेरैपटक ट्राफिक कारबाहीमा परी ठूलो जरिवाना बुझाउनुपरेको गुनासो आएकाले सम्बन्धित मुलुकको ट्राफिक नियम र सडक अनुशासनसम्बन्धी ज्ञान र अनुभवको कमीले गर्दा दुर्घटना बढेसँगै विभागले उक्त निर्णय लिएको हो ।   युएई र कतारमा मोटरसाइकल र ट्याक्सी चालक पदमा श्रमिक पठाउनु सुरक्षित नदेखिएपछि विभागले पूर्वस्वीकृति रोक्ने निर्णय लिएको हो । विभागका अनुसार अर्को निर्णय नभएसम्म यो नियम कार्यान्वयनमा रहने छ । उक्त पदको मागपत्र प्रमाणीकरण नगर्न कतार र युएईस्थित नेपाली दूतावासलाई समेत अनुरोध गरिएको विभागद्वारा प्रकाशित सूचनामा उल्लेख छ । 

काभ्रेपलाञ्चोक:  काभ्रेपलाञ्चोक जिल्ला र मकवानपुर जिल्लाको सिमाना सिक्रेदोभानस्थित बागमती नदीमा पुल निर्माण सुरु गरिएको छ वर्ष पूरा हुन लाग्दा पनि  निर्माण सम्पन्न हुन सकेको छैन । बागमती नदीमा पक्की पुल निर्माण नहुँदा काभ्रेपलाञ्चोकको खानीखोला र महाभारत गाउँपालिकाका नागरिकले प्रदेश राजधानी हेटौँडा जानका लागि समस्या बेहोर्दै आएका छन् ।    काभ्रेपलाञ्चोक र मकवानपुरलाई सडक सञ्जालबाट जोड्न आर्थिक वर्ष २०७३/७४ मा तत्कालीन जिल्ला विकास समितिको कार्यालय मकवानपुरले बोलपत्र आह्वान गरेको थियो । दुई वर्षभित्र पुल निर्माण गर्न ११ करोड रुपियाँमा महादेव-शिखर-तामाकोसी जेभीसँग ठेक्का सम्झौता भएको थियो ।   काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले सिक्रेदोभानस्थित बागमती नदीमा पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ वर्षसम्म पनि पुल निर्माणको काम सम्पन्न हुन नसकेको बताउनुभयो । उहाँले पुल निर्माणको ठेक्का पाएको कम्पनीले पुल निर्माणको काममा ढिलाइ गरेका कारण प्रदेश राजधानी हेटौँडा जान खानीखोला र महाभारत गाउँपालिकाका बासिन्दाले समस्या भोग्नु परेको बताउनुभयो ।    खानीखोला गाउँपालिका–५ का वडाध्यक्ष बुद्धिबहादुर स्याङ्तानले बागमती नदीमा पुल निर्माणमा ढिलाइ भएका कारण स्थानीय नागरिकले उत्पादन गरेका उपजहरू बिक्रीका लागि बजारसम्म लैजान नसकिएको बताउनुभयो । पुल निर्माणको ठेक्का पाएको महादेव-शिखर-तामाकोसी जेभीका ठेकेदार खड्ग गोपालीले तत्कालीन जिविसले सडक नै नभएको स्थानमा पुल निर्माणको ठेक्का लगाएका कारण पुल निर्माणको काममा ढिलाइ भएको बताउनुभयो ।    “सडक नै नभएको स्थानमा पुल निर्माणको ठेक्का लगाइयो । पुलसम्म पुग्न साढे पाँच किलोमिटर सडक खन्ने काम ग-यौँ । यसले गर्दा हाम्रो पुल बनाउने दुई वर्षको समय सडकको ट्र्याक खन्नमै सकियो र पछि कोभिड–१९ का कारण काम रोकियो,” उहाँले थप्नुभयो । गोपालीले मकवानपुरतर्फको पिल्लरमा पाइलिङको काम (खोलामुनि पिल्लरका लागि रड राख्ने) सकिएको बताउँदै नदीको बीच भागमा रहने पिल्लरको पाइलिङ गर्ने कामसमेत अघि बढेको बताउँदै एक महिनाभित्र तीनवटै पिल्लरको पाइलिङ गर्ने काम सकिने बताउनुभयो । उहाँले आगामी आर्थिक वर्ष २०८०/८१ भित्र पुल निर्माणको काम सकिने बताउनुभयो । ११ करोड रुपियाँमा ठेक्का सम्झौता भएको पुल निर्माणका लागि दुई पटक म्याद थप गरिएको छ ।