काठमाडौं: प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होछार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ । नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५०औँ ग्याल्पो ल्होछार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन ९मेघ०, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ । ग्याल्पो ल्होछार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्यरुपमा मनाइन्छ । ग्याल्पो ल्होछार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरिएको हो । समय क्रममा ग्याल्पो ल्होसार नामकरण भएको अनुसन्धानदाता टीका शेर्पाको भनाइ छ । उनका अनुसार ल्होसारलाई कसैले ग्याल्पो र कसैले ग्याल्बो उच्चारण गर्ने गर्छन् । विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइँ सराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो । पुस १५ मा गुरुङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होसारका नाममा यो पर्व मनाइसकेका छन् । ग्याल्बो ल्होछारको अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।
पोखरा: गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले कालीगण्डकी डाइभर्सनको विरोध गर्ने र प्रदेश बलियो बनाउनुपर्छ भन्ने मान्यता राख्दै आएको बताएका छन् । उनले निजी क्षेत्रसँग मिलेर,पूँजीगत खर्च बढाएर र ठूला परियोजना निर्माण गरेर गण्डकीलाई समृद्ध बनाउने उद्घोष पनि गरे । कालीगण्डकी डाइभर्सनको विरोध गर्ने र प्रदेश बलियो बनाउनुपर्छ भन्ने मान्यता राख्ने पहिलो व्यक्ति नै आफू भएको जिकिर गर्दै उनले भने,‘कालीगण्डकी डाइभर्सन भन्ने कुरा कुनै ठूला नेताले बोलेर हुन्छ ?उत्तरगंगा परियोजना सुनको अण्डा पार्ने प्रोजेक्ट हो, किन हामीलाई गर्न नदिने? हामी यसलाई आफ्नै स्रोतबाट बनाउन सक्छौँ ।’ उनले संघ सरकारका विभिन्न कानूनी अवरोधका कारण काम गर्न अप्ठेरो परेको पनि सुनाए । जग्गा प्राप्ति र भौतिक निर्माणमा वनले रोक्दा अप्ठेरो परेको उनले प्रष्ट पारे । ‘त्रिवेणीसम्म त हामी आफैं जान पाउनुप¥यो नि,यस्तो अवरोध छ कि, कहिले वातावरणीय मूल्याङ्कन गर्ने,कहिले के भनेर राजमार्ग रोकिएको छ,’उनले भने । उनले प्रदेशको राजश्व बढाउनु आफ्नो पहिलो काम भएको पनि बताए । उनले प्रदेशलाई बलियो बनाउनु आफ्नो एकमात्र लक्ष्य भएको बताए। ‘प्रदेश सरकारलाई तपाईंले बलियो बनाउन सक्नुहुन्न भने,साझा अधिकारको विषयमा कानून नबनाउनु भनेको यो (प्रदेश संरचना) नै फालौं भनेजस्तो हुन्छ भनेर मैले प्रधानमन्त्रीलाई भनेको छु,’,पोखरा उद्योग वाणिज्य संघले सोमबार उनको सम्मानमा आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्रीले भने,‘अधिकार नदिने हो भने प्रदेश सरकार हिजोको जिल्ला विकास समिति र जिसस जिल्ला समन्वय समितिजस्तो हुन्छ ।’ उनले कर्मचारी समायोजनमा अझै समस्या रहेको पनि खुलासा गरे । ‘यहाँ तीन हजार कर्मचारी आएको भनियो तर को कहाँ छन्, थाहा छैन,’,उनले भने । उनले संघ सरकारले सयौं टुक्रे योजनाहरु आफूखुसी प्रदेशमा दिएको र ठेक्का प्रक्रियामा गइसकेपछि रकम फिर्ता लगेर नचाहिँदो काम गरेको आरोप पनि लगाए । ‘संघको यस्तो कामले पूँजीगत खर्च बढ्छ ?’उनले प्रश्न गरे । कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघ तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले अर्थतन्त्र चलायमान बनाउन पूूँजीको लागत कम गर्नुपर्नेमा जोड दिए ।‘पूँजीको लागत कम गर्न घुसखोरी होस् कि, सिण्डिकेट होस् कि चर्को ब्याजदर नै किन नहोस्,त्यो रोकिनुपर्छ,’,उनले भने,‘राज्यले चाहे यी सबै कुरा सल्ट्याउन सक्छ,राज्य मौन बसे अवाञ्छित तत्वले लाभ लिन्छन् ।’ उनले गण्डकी प्रदेशबासीको क्रयशक्ति घटेको र प्रदेशको सामथ्र्य सुदूरपश्चिमभन्दा तल पुग्ने अवस्था आएको बताउँदै लगानी भित्र्याउन वातावरण निर्माण र ठूला परियोजनाको खाका कोर्नुपर्ने बताए । कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले मुख्यमन्त्रीसँग निजी क्षेत्र मैत्री व्यावसायिक वातावरण निर्माणको लागि पहल गर्न आग्रह गरे । उनले बैंक तथा वित्तीय संस्थाहरुले बढाएको ब्याजका कारण व्यवसायीहरु मर्कामा परेको उल्लेख गर्दैव्यवसायीहरुमाथिको धरपकड अन्त्यको माग गरे । अध्यक्ष प्रजापतिले पूँजीगत खर्च बढाउन,भौतिक पूर्वाधार निर्माणलाई गति दिन,पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट छिटो अन्तर्राष्ट्रिय उडान भर्ने वातावरण निर्माण गर्न र औद्योगिक क्षेत्र स्थापनाको पनि माग गरे । उनले प्रदेश सरकार भएर पनि सानो कामको लागि काठमाडौं जाने प्रवृत्तिको अन्त्य हुनुपर्ने पनि बताए ।‘हामीसँग नजिकको प्रदेश सरकार छ तर उद्योग दर्ता, नवीकरणदेखि, राजश्व बुझाउन पनि काठमाडौं जानुपर्नेै बाध्यता छ,’,उनले भने, हामीले कम्पनी रजिष्टारको कार्यालय पोखरामा हुनुपर्छ भन्ने आवाज उठाउँदै आएको धेरै भयो । त्यस्तै सामाजिक सुरक्षा कोषको कार्यालय पनि पोखरामा होस् भन्ने हाम्रो माग छ ।’ उनले सुनचाँदीदेखि साना ढुवानीका समस्याको पनि उठान गरे । त्रिवेणी–कोरला तथा मध्यपहाडी राजमार्गबाट गण्डकीले कसरी फाइदा लिने भन्नेबारेमा सोच्नु्पर्ने बेला आइसकेको पनि उनको भनाइ थियो । पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले पोखराको पर्यटन प्रवद्र्धनको लागि काम गर्न मुख्यमन्त्रीसँग आग्रह गरे । उनले बिहार र उत्तरप्रदेशका मुख्यमन्त्रीलाई पोखरा र मुक्तिनाथ भ्रमण गराउन तथा चिनियाँ पर्यटकलाई नेपाल भित्र्याउनेतर्फ तत्काल काम गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा भौतिक पूर्वाधारमन्त्री हरिबहादुर चुमान,आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन गाहा मगर, गण्डकी नीति तया योनजा आयोगका उपाध्यक्ष डा। गिरिधारी शर्मा पौडेलको समेत उपस्थिति रहेको कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीको धन्यवाद र महासचिव बलराज आचार्यको संचालन रहेको थियो ।
पोखरा: पोखरा विश्वविद्यालयको १८औँ दीक्षान्त समारोहमा छ हजार नौ सय ९९ विद्यार्थी दीक्षित भएका छन् । पोखराको ढुङ्गेपाटनस्थित पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालयमा सोमबार आयोजित दीक्षान्त समारोहमा उक्त सङ्ख्यामा विद्यार्थी दीक्षित भएका हुन् । विसं २०७९ माघ २० गतेसम्म ट्रान्सक्रिप्ट लिएका विभिन्न शैक्षिक कार्यक्रममा उत्तीर्ण विद्यार्थीलाई उक्त विश्वविद्यालयका कूलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दीक्षित गर्नुभएको हो । पोखरा विश्वविद्यालयले यस वर्ष व्यवस्थापन सङ्कायबाट विद्यावारिधि गर्ने एक विद्यार्थीलाई कुलपति पदक, स्नातकोत्तर तहका विभिन्न कार्यक्रममा सर्वोकृष्ट अङ्क प्राप्त गर्ने ११ विद्यार्थीलाई कुलपति पदक र स्नातक तहमा सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने एक विद्यार्थीलाई उपकुलपति पदकबाट विभूषित गरिएको थियो । उक्त अवसरमा विभिन्न विधाका पाँच सय ७२ विद्यार्थीलाई डीन लिष्टको उपाधिबाट सम्मानित गरिएको थियो । व्यवस्थापन सङ्कायअन्तर्गत आङ्गिक महाविद्यालयबाट स्नातकोत्तर तहमा एमबिए प्रोग्राममा सर्वोकृष्ट नतिजा हासिल गर्ने एक विद्यार्थीलाई लक्ष्मी स्वर्ण विद्या पदक, २०७९ बाट सम्मान गरिएको छ । विज्ञान तथा प्रविधि सङ्कायअन्तर्गत स्नातक तहमा बिसिए प्रोग्राममा सर्वोकृष्ट नतिजा हासिल गर्ने एक विद्यार्थीलाई असिम गोल्ड मेडल, २०७९ बाट सम्मान गरिएको छ । पोखरा विश्वविद्यालयका ६६ महाविद्यालयमा विभिन्न प्राविधिक एवं साधारण विषयमा स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि तहका पठनपाठनका साथै विश्वविद्यालयमा ६४ कार्यक्रम सञ्चालनमा रहेको विश्वविद्यालयका उपकुलपति प्रा डा प्रेमनारायण अर्यालले जानकारी दिनुभयो । यी कार्यक्रममा शैक्षिक सत्र २०७९ मा ३७ हजार छ सय ४५ विद्यार्थी अध्ययनरत छन् । पोखरा विश्वविद्यालयमा हाल व्यवस्थापन, विज्ञान तथा प्रविधि, स्वास्थ्य विज्ञान र मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत शैक्षिक कार्यक्रम सञ्चालनमा छन् । पोखरा विश्वविद्यालयका देशैभरि चार आङ्गिक, चार संयुक्त आङ्गिक र ५८ सम्बन्धनप्राप्त महाविद्यालय सञ्चालनमा रहेको जानकारी सो अवसरमा दिइएको थियो । आङ्गिक महाविद्यालयमा स्नातक तहमा १७, स्नातकोत्तर तहमा १७, एमफिल तहमा एक र विद्यावारिधि तहमा तीनसहित ३८ कार्यक्रम सञ्चालनमा रहेको जानकारी पनि उक्त अवसरमा दिइएको थियो । पोखरा विश्वविद्यालयले एक वर्षयता शिक्षण अस्पताल सञ्चालनमा ल्याएको छ । दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको राजनीतिक, आर्थिक, सामाजिक एवं शैक्षिक रूपान्तरणका लागि आवश्यक जनशक्ति पोखरा विश्वविद्यालयले उत्पादन गर्ने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले राष्ट्रिय शिक्षा नीति, २०७६ को उद्देश्यअनुरूप ज्ञानमा आधारित समाज र अर्थतन्त्र निर्माणका लागि उच्च शिक्षाको पहुँच र गुणस्तर अभिवृद्धि गरी विभिन्न क्षेत्रमा सक्षम नेतृत्व प्रदान गर्न योग्य, दक्ष, वैज्ञानिक, नवप्रवर्तनात्मक, अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी र अनुसन्धानमुखी मानव संशाधन विकास गर्ने दिशामा विश्वविद्यालय अगाडि बढ्नुपर्नेमा उहाँको जोड थियो । प्रधानमन्त्री दाहालले नेपालको संविधानले व्यवस्था गरेबमोजिम निःशुल्क शिक्षाको हकलाई व्यवहारमा कार्यान्वयन गर्न सङ्घीय शिक्षा ऐनको अन्तिम तयारी भइरहेको जानकारी पनि दिनुभयो । भारतको नोएडा अन्तर्राष्ट्रिय विश्वविद्यालय ९एनआइयू० का उपकुलपति प्रा डा उमा भारद्वाजले गुणस्तरीय शिक्षाबाट विश्व बजारमा प्रतिस्पर्धी उच्चस्तरीय जनशक्ति उत्पादन गरी देशको विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो । उच्तस्तरीय जनशक्ति उत्पादन गर्नका लागि अध्ययन, अध्यापन, अनुसन्धान तथा अन्य पक्षलाई अगाडि बढाउँदै लानुपर्नेमा उहाँको जोड थियो । विश्वविद्यालयका उपकुलपति प्रा डा अर्यालले विश्वविद्यालयले विद्यार्थी अध्ययनका लागि विदेश जानबाट रोक्न आकर्षक छात्रवृत्तिको व्यवस्था गरेको जानकारी दिनुभयो ।
काठमाडौं: धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३ दशमलव ६० अङ्कले ओरालो लागेर दुई हजार ४६ दशमलव ८१ मा सीमित भएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ९१ अङ्कले ओरालो लागेर तीन सय ९१ दशमलव ५३ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्य उकालो लाग्दा ११ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । कारोबार भएका कूल कम्पनीमध्ये ३२ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ । यस्तै, एक सय ७७ कम्पनीको शेयर मूल्यमा गिरावट आउँदा सात कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन । कूल ६० लाख ९१ हजार तीन सय ५३ कित्ता शेयर रु एक अर्ब ९४ करोड ७६ लाख २३ हजार नौ सय ९३ मूल्यमा खरिद बिक्री भए । सोमबारको कारोबारपछि बजार पुँजीकरण रु २९ खर्ब ५३ अर्ब ४२ करोड ४० लाख सात हजार सात सय ५४ बराबर रहेको छ । कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । सो कम्पनीको रु २० करोड ८२ लाख ५६ हजार सात सय ४० बराबरको कारोबार भयो । यस्तै साल्टट्रेडिङ कर्पोरेसन रु ११ करोड ४८ लाख ४७ हजार नौ सय ४७, जीवन विकास लघुवित्त रु छ करोड ५५ लाख ५५ हजार तीन सय, एनआइसी एसिया बैङ्क रु पाँच करोड ५५ लाख ९१ हजार दुई सय एक र सानिमा बैङ्क रु चार करोड ६५ लाख ७६ हजार चार सय ६९ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् । नेप्सेका अनुसार राप्ती हाइड्रोको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । दोर्दी खोला जलविद्युत् कम्पनी चार दशमलव १७, एनएमबी हाइब्रिड फण्ड एक तीन दशमलव ९६, कालिका पावर कम्पनी दुई दशमलव शून्य चार र एनएमबी–५० का लगानीकर्ताले दुई दशमलव शून्य दुई प्रतिशतले कमाएका छन् । यस्तै, जीवन विकास लघुवित्त नौ दशमलव १५, उपकार लघुवित्त सात दशमलव ४२, हिमालयन डिस्टिलरी पाँच दशमलव ३१, वीन नेपाल लघुवित्त पाँच र समिट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले चार दशमलव ९६ प्रतिशतले गुमाएका छन् ।
विराटनगर: विराटनगर महानगरपालिका–१९ कि २८ वर्षीया प्रियंका सुनार हत्या आरोपमा प्रहरीले ३ जना पक्राउ गरेको छ । यसअघि प्रहरीले प्रियंकाका श्रीमान रमेश साह र कटहरी गाउँपालिका–५ का रमानन्द रामलाई पक्राउ गरेको थियो । सोमबार दिउँसो कटहरी गाउँपालिका–५ का उमेश सरदारलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीले जानकारी दिए । यीबाहेक अन्य व्यक्तिलाई पनि सोधपुछका लागि बोलाइएको उनले बताए । प्रारम्भिक अनुसन्धानका क्रममा रमानन्द शव व्यवस्थापनमा संलग्न भएको देखिएको र त्यस क्रममा उमेशको गाडी प्रयोग भएको पाइएको डीएसपी कार्कीको भनाइ छ । घटनाको विभिन्न कोणबाट अनुसन्धान भइरहेको भन्दै उनले वास्तविकता पत्ता लाग्न समय लाग्ने बताए । प्रियंकाको शव मोरङको बूढीगंगा गाउँपालिका–२ अमाहीस्थित नरसिंह चौधरीको ग्वालीमा बोराभित्र फेला परेको थियो । आइतबार दिउँसो १२ बजेतिर शरीरभरि चोटपटक रहेको शव भेटिएपछि नरसिंहमाथि पनि प्रहरीले सोधपुछ गरिरहेको छ । शव व्यवस्थापनका लागि उपयुक्त स्थलको खोजी गर्दै नरसिंहको घरसम्म प्रियंकाको शव लगेको देखिएको प्रहरीले बताएको छ । प्रहरीले शव पोस्टमार्टमका लागि कोसी अस्पतालमा राखिएको छ ।
काठमाडौं: सडक निर्माणका क्रममा रकम हिनामिना गरेको आरोपमा दुई इन्जिनियरविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तरगत २०७६/०७७ मा दैलेखको गुराँस गाउँपालिका वडा नं ६ स्थित निगालपानी रेग बगौरा सडक निर्माणका क्रममा रकम हिनामिना गरेको आरोपमा तत्कालिन इञ्जिनियर सरोज कुमार दाहाल र सब इञ्जिनियर नविन कुमार विसीविरूद्ध मुद्दा दायर गरेको हो। अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले अनुसन्धानका क्रममा सडक निर्माणका क्रममा रकम हिनामिना गरेको पाइएकोले दुवैजनाविरूद्ध आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको जानकारी दिए। दुवैजनाले आपसी मिलेमतो गरी सडक निर्माणका योजना सम्झौतामा निर्धारित शर्त र मापदण्ड विपरीत झुट्टा विवरण पेश गरी प्रतिवेदन समेत तयारी गरी मापदण्ड अनुसार सडक निमार्ण भएको भनी बदनियतपूर्वक काम गरेको पाइएको अख्तियारको ठम्याइ छ। पक्राउ परेका दुवैजनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको सजाय मागदावी गरिएको अख्तियारले जनाएको छ।
गुल्मी: गुल्मीमा १३ प्रजातिका नयाँ चराहरू भेटिएका छन् । चरा सर्वेक्षणको क्रममा जिल्लाको रेसुङ्गा र मदाने वन संरक्षण क्षेत्रमा नयाँ प्रजातिका चराहरू भेटिएका नेपाल पक्षी संरक्षण सङ्घ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले जानकारी दिनुभयो । १९ हजार २८१.६५ हेक्टर क्षेत्रफलमा फैलिएको रेसुङ्गा वन संरक्षण क्षेत्रमा पाँच प्रजातिका नयाँ चराहरू भेटिएका छन् । जसमा कोटेरो मुनियाँ, तिलहरी चरा, चखेवाचखेवी, चञ्चले सुड्सुडिया र टुइँसी सुगा प्रजातिका चराहरू रहेका छन् । १३ हजार ७६१ हेक्टर क्षेत्रफलमा फैलिएको मदाने वन संरक्षण क्षेत्रमा भने आठ प्रजातिका नयाँ चराहरू भेटिएका छन् । जसमा हिमाली मलेवा, खरलाहाँचे, लामोठुँडे चाँचर, लघु बगेडी, कण्ठे सुगा, खोले टिकटिके, फुस्रो टिकटिके र ठूलो छिरबिरे माटीकोरे प्रजातिका चराहरू भेटिएका हुन् । यहाँ बर्सेनि चराहरूको सङ्ख्या बढिरहेको छ । हालको सर्वेक्षणसम्म रेसुङ्गा वन संरक्षण क्षेत्रमा २५८ प्रजातिका चरा छन् । यता, मदाने वन संरक्षण क्षेत्रमा २७२ प्रजातिका चरा छन् । दुवै क्षेत्रमा २१८ प्रजातिका चराहरू छन् । अहिलेसम्म यस जिल्लामा ३१२ प्रजातिका चरा छन् । रेसुङ्गा र मदाने वन संरक्षण क्षेत्रमा यस अघिको सर्वेक्षणमा ३०५ प्रजातिका चराहरू रहेका थिए । हालसम्म नेपालमा पाइएका ८९२ प्रजातिका चरामध्ये करिब ३५ प्रतिशत प्रजातिका चराहरू यहाँ फेला परेको सङ्घले जनाएको छ । गुल्मी जिल्लामा विश्वकै दुर्लभ छ प्रजातिका चराहरू पाइन्छ । जसमा रेसुङ्गा वन संरक्षण क्षेत्रमा चिर, रणमत्त महाचील, सेतो गिद्ध, सुन गिद्ध, गोमायु महाचील, डंगर गिद्ध छन् । मदाने वन संरक्षण क्षेत्रमा चिर, सेतो गिद्ध, सुन गिद्ध, गोमायु महाचील छन् । यहाँ रहेका दुर्लभ चराहरूको संरक्षणका लागि विभिन्न चुनौती देखिएको परियोजना अधिकृत पन्थीले बताउनुभयो । बेला–बेलामा हुने वन डढेलो, वासस्थान परिवर्तन, चोरी सिकारी, बढ्दो रासायनिक पदार्थको प्रयोग, अव्यवस्थित ग्रामीण सडक जस्ता समस्याहरू चरा संरक्षणका लागि चुनौती बनेको उल्लेख गर्नुभयो । सङ्घले रेसुङ्गा र मदाने वन संरक्षण क्षेत्रमा चराहरूको अनुसन्धान र गणना गर्दै आएको परियोजना अधिकृत पन्थीले बताउनुभयो । चराचुरुङ्गीको संरक्षणका लागि परियोजनाका माध्यमबाट विभिन्न संरक्षण पोखरी निर्माण, स्थानीयको जनचेतना अभिवृद्धि गर्ने तथा वनमा आश्रित जनताहरूलाई विभिन्न खालका जीविका पार्जनसँग सम्बन्धित कार्यक्रमहरूलाई जोड दिएको उहाँले उल्लेख गर्नुभयो ।
काठमाडौं: भारत सरकारले दुई सय वटा मिर्गौला डायलाईसिस मेसिन नेपाल सरकारलाई सहयोग स्वरुप उपलब्ध गराएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक समारोहका बीच स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीलाई नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले सो मेसिन हस्तान्तरण गरेका हुन् । करिब एक वर्षअघि नेपाल सरकारले भारत सरकारसमक्ष सो मेसिन उपलब्ध गराउन अनुरोध गरेको थियो । समारोहमा बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री गिरीले सो मेसिन उपलब्ध गराएकोमा भारत सरकारप्रति आभार व्यक्त गरे । उक्त अवसरमा उनले २०७२ सालमा गएको विनाशकारी भूकम्प र कोभिड संकटका बेला पनि भारत सरकारले गरेको मानवीय सहयोग नेपाल राष्ट्र र नेपाली जनताले सदास्मरण गरिरहने उल्लेख गरे । मन्त्री गिरीले नेपाल–भारतबीचको सम्बन्ध आर्थिक तथा सामाजिक रुपले घनिष्ट रहँदै आएको ऐतिहासिक तथ्यलाई भूल्न नसकिने पनि बताए । उनले भने, ‘दुई मुलुकबीच आर्थिक, सामाजिक सबै रुपले घनिष्ट सम्बन्ध छ । यो हाम्रो ऐतिहासिक पक्ष हो । भूकम्प र भोभिडको समयमा पनि भारत सरकारबाट जुन खालको सहयोग भयो । त्यो अत्यन्तै उल्लेखनीय छ । महत्वपूर्ण छ । यो कुरा नेपाली जनताले सधैंभरी सम्झनयोग्य छ । म यसका लागि भारतीय राजदुतावासमार्फत् भारत सरकार र भारतीय जनतालाई धन्यवाद दिन चाहन्छु । कृतज्ञता पनि व्यक्त गर्न चाहन्छु । स्वास्थ्य क्षेत्रमा पनि थप सहकार्य गरेर अघि बढने विश्वास दिलाउन चाहन्छु ।’ नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले नेपाली जनताको स्वास्थ्य अवस्थामा सुधार ल्याउने गरी नेपाल सरकारलाई सो मेसिन हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताए । उनले नेपालसँगको मित्रतापूर्ण सम्बन्ध र विकास साझेदारीको कामलाई तीव्रताका साथ अघि बढाउन भारत सरकार सदैव अग्रसर रहेको र रहिरहने प्रतिवद्धता समेत व्यक्त गरे । नेपालको स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासमा पनि भारतले सक्दो सहयोग गर्ने उनको भनाई थियो । राजदूत श्रीवास्तवले भने, ‘करिव एक वर्ष अघि नेपाल सरकारको तर्फबाट २ सय मृर्गौला डायलाईसिस मेशिनका लागि भारत सरकारलाई अनुरोध गरिएको थियो । सोही अनुसार मेसिन हस्तान्तरण गर्न पाउँदा खुशी लागेको छ । हामी नेपालको स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासमा पनि सहयोग गर्नेछौं ।’ नेपालको विकासको सबै क्षेत्रमा भारत सरकार सदैव मिलेर काम गर्दै आएको छ । नेपालको ट्रमा सेन्टर निर्माण, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणमा सहयोग भारत सरकारले गरेको छ । भूकम्पका बेला १३२ वटा हेल्थ पोष्ट निर्माणमा पनि भारतले सहयोग गरेको छ । कोभिड भ्याक्सिनमा पनि भारतले नेपाललाई सहयोग गरेको छ । भारत सरकारको तर्फबाट एक असल छिमेकीको तर्फबाट नेपालसँगको मित्रतापूर्ण सम्बन्ध र विकासका लागि सधैं अग्रसर रहनेछ ।’ भारतले कोभिड संकटका बेला मात्रै पनि १३२ वटा हेल्थ पोष्ट निर्माणमा आर्थिक सहयोग तथा कोभिड भ्याक्सिनसहितका स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको थियो ।
चितवन : पूर्वी चितवनबाट ५३ किलो गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१६ बस्ने ३० वर्षीय अर्जुन दर्जी र एकजना नाबालक रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आज बिहान १ बजे राप्ती नगरपालिका–१ लोथरमा जाँचका क्रममा पिप्लेबाट लोथरतर्फ जाँदै गरेको वा३च २५०४ नम्बरको गाडीमा लुकाइछिपाइ लैजाँदै गरेको समयमा गाँजा बरामद गरिएको हो । पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको रहेको जिल्ला प्रही कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।

