पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

पोखरा:   अघिल्लाे शनिबार नेपाल भुतपुर्व खेलाडी मञ्चले आयोजना गरेको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन, १७ औं संस्करण’मा रंगशालामा थिए प्रेमबहादुर पछाइ । सहभागी धावकहरु आयोजकको सिट्ठीपछि दौडन शुरु गरे । तर प्रेम आशा र उत्साह बोकेर त्यही उभिइरहे ।  छट्पटाहट र झिनो आश बोकेर उभिइरहेका प्रेमको पर्खाई १ घण्टा २३ मिनेट ६ सेकेण्डमा पुरा भयो । उक्त समयमा नेपाल प्रहरीको ब्यानरबाट महिला हाफ म्याराथनमा राजपुरा पछाइले स्वर्र्ण जितिन् ।  प्रेम उनै राजपुराका बाबु हुन्, जो जुम्लाबाट छोरीलाई हौस्याउन पोखरा आएका थिए । म्याराथन सुरु भएपछि राजपुरा जति दौडिइरहेकी थिइन् त्यति नै रफ्तारमा कुदिरहेको थियो बाबु प्रेमको मुटुको चाल । र, जब राजपुराको दौडको गति थामियो प्रेमले बल्ल आफुलाई नर्मल पाए ।  राजपुरा पछाईले ५ महिनाको फरकमा पोखरामा स्वर्ण र रजतपदक जित्न सफल भइन् । नेपाल पुलिस क्लबकी म्याराथन धावक पछाइले गएको असोजमा पोखरामै आयोजित नवौं राष्ट्रिय खेलकुदमा ५/१० हजार मिटरमा रजत पदक  जितेकी थिइन् ।  धावक पछाइले नेपाल भुतपुर्व खेलाडी मञ्चले आयोजना गरेको महिला हाफ म्याराथनमा लगातार तीन पटक उपाधि चुम्दै ह्याट्रिक गर्न सफल भएकी हुन् ।  हाफ म्याराथनमा ह्याट्रिक गर्न सफल पछाइले एक हप्ता अघि त्रिभुवन आर्मी क्लबले आयोजना गरेको २६० औं आर्मी म्याराथनको उपाधिसमेत जितेकी थिइन् ।  एक प्रतियोगितामा सहभागितापछि करिव २ देखि ३ महिना आराम गर्नुपर्ने भएपनि उनले ह्याट्रिक गर्ने लक्ष्य अनुसार नै पोखरा आएको सुुनगाभा न्यूजसँग बताइन् ।  ‘मेरो लक्ष्य ह्याट्रिक गर्ने नै थियो सफल भए, पोखराको रुट अहिले अठ्यारो पनि लाग्यो, सुरुमा अलमल परे पनि ह्याट्रिक गर्न सफल भए खुशी छु’ राजपुराले सुनाइन् ।  यसरी भइन् जुम्लेली राजपुरा पुलिसकी धावक २०५४ बैशाख १ गते जुम्लाको कनकासुन्दरीमा जन्मिएकी राजपुराको लक्ष्य नेपाल प्रहरीमा जागिर खाने नै थियो । परिवारले गाउँमै होटल सञ्चालन गर्ने भएकाले घरकी एक्ली छोरी भएपनि उनको उद्धेश्य पुरा गर्न कुनै कञ्जुस्याँइ भएन । परिवारको धोको थियो पछाइलाई पुलिसको बर्दीमा देख्ने ।  अहिले पुलिसको धावककारुपमा पदक हासिल गरेकी पछाईको खेलकुदको यात्रा भने भलिबलबाट भएको हो ।  विद्यालय स्तरीय हुने राष्ट्रपति खेलकुदमा विद्यालयको प्रतिनिधित्व गर्दै २ वर्ष भलिबल खेलेपनि सोचेजस्तो प्रगति हुन नसकेपछि पछाइले आफुलाई धावकमा परिवर्तन गरेकी हुन् ।  कक्षा ८ मा पढ्ने समयमा नै नेपाल प्रहरीमा भर्ती भएकी पछाइ अहिले स्नातक तह पहिलो वर्षमा अध्ययनरत छिन् ।  संयोग नै भन्नुपर्छ, पोखरामा महिला म्याराथनमा ह्याट्रिक गरेकी पछाईले ०७२ मा पोखरामा नै सम्पन्न भएको राष्ट्रपति रनिङ शिल्डमा ५ किलोमिटर म्याराथनमा पहिलो पटक स्वर्ण पदक जित्दै राष्ट्रिय प्रतियोगितामा पहिलो पदक हासिल गरेकी थिइन् ।  ७२ सालमा नेपाल प्रहरीमा भर्ती भएकी पछाईले ९ महिनाको तालिमपछि पुलिस क्लबमा आवद्ध भएकी हुन् ।  ‘प्रहरीमा भर्ती हुने सपना पूरा गर्न बिहान बेलुका तालिम गरिरहे, विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड गाउँमै आयोजना भयो त्यसमा सहभागिता जनाए’ पछाइ भन्छिन् ‘भर्ती हुने लक्ष्यले रनिङ गरेपनि अहिले प्यासन नै रनिङ भएको छ ।’  एसियन र ओलम्पिक गेमसम्मको यात्रा तय गर्ने लक्ष्य लिएकी पछाइले अबको केही समय तालिमलाई निरन्तरता दिने बताइन् ।  छोरा छोरी, बराबरीः  प्रेमबहादुर   प्रेमबहादुर पछाई पेशाले होटल व्यवसायी भएपनि गएको स्थानीय निर्वाचनमा उनी कनकासुन्दरी गाउँपालिका ६ जुम्लाको वडाध्यक्षमा निर्वाचित भए ।   उनी जनप्रतिनिधि नहुँदै पेशाले होटल व्यवसायी हुन् । बेलुका बिहान घरको जेठी छोरी भएपनि राष्ट्रको महत्वपूर्ण क्षेत्रमा देख्ने सपना पूरा गर्न नै घरायसी काममा अल्झाउन नसकेको बुवा प्रेमले बताए ।  ‘घरको जेठी छोरी हुन्, गाउँमा नै होटल सञ्चालन गरेको छु, छोरीलाई राष्ट्रको चिनारीको रुपमा देख्ने सपना थियो, त्यही सपनामा थिइन् छोरी’, पछाईले भने, ‘अहिले विद्यालयस्तरदेखि देशको नै प्रतिनिधित्व गर्ने भएकी छिन्, खुशी छौं ।’ दुई छोरा र एक छोरीका बुवा प्रेम भन्छन्, ‘छोरा र छोरीमा भेदभाव गरिन, एक छोरो काठमाडौं अध्ययनरत छ अर्को गाउँमा व्यवसाय हेर्छ, छोरी खेलकुदमा छिन्, छोराछोरी सबै बराबर ।’ नेपाल प्रहरीका धावक राजपुरालाई बुबाआमासँगै श्रीमानले समेत निरन्तर साथ दिदै आएका छन् । धावक राजपुराले ६ वर्ष अगाडी बिहे गरेकी हुन् ।   

काठमाडौं:   ग्यास सिलिण्डरबाट ग्यास चुहिएर कोठामा आगो लाग्दा जलेर गम्भीर घाइते हुनुभएका नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीको प्लाटिलेट्सको मात्रा बढेको छ ।   नेता भण्डारीको उपचारमा संलग्न चिकित्सक डा. मुकेश मिश्रा र डा. सिद्धार्थ केशवानीले प्लाटिलेट्सको मात्रा बढेको र पिसाबको मात्रा सामान्य रहेको जानकारी दिनुभएको कांग्रेस नेता योगराज कँडेलले बताउनुभयो ।    यसैगरी, एक्सरेकाे तल्लो भागमा हल्का अस्पष्ट रहेको छ भने ज्वरो नरहेको पनि चिकित्सकले जनाएको छ । साथै नेता भण्डारीको सबै अङ्गहरुले सामान्य काम गरिरहेको र कृत्रिम अक्सिजन बन्द गरी परीक्षण गरिएको कांग्रेस नेता कँडेलले बताउनुभयो ।   ग्यास चुहिएर भएको आगलागीबाट घाइते भएका सांसद भण्डारीको भारतको मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा उपचार भइरहेको छ । गत शुक्रबार दिउँसो भण्डारीको दुवै खुट्टाको शल्यक्रिया गरिएको थियो । सांसद भण्डारीलाई गत बिहीबार दिउँसो श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत मुम्बई लगिएको थियो ।   काठमाडौंको बुद्धनगरस्थित घरमा बुधबार राति साढे १० बजे ग्यास सिलिण्डर विस्फोट हुँदा भण्डारी र उहाँकी आमा जलेर घाइते हुनुभएको थियो । उहाँलाई बुधबार राति नै कीर्तिपुर अस्पताल लगिएको थियो । सांसद भण्डारीकी ८६ वर्षीया आमा हरिकला भण्डारीको भने बिहीबार बिहान उपचारका क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको छ ।

वालिङ:  स्याङ्जाको वालिङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जगतभन्ज्याङबाट मिर्दीतर्फ आउँदै गरेको ग १ त ६८८६ नम्बरको ट्याक्टर वालिङ–६ को आम्डालीमा दुर्घटना भएको हो ।   दुर्घटनामा परी गम्भीर घाइते भएका चालक चापाकोट–२ का नविन सुनार र वालिङ–८ का १४ वर्षका सोविन विकको उपचारका क्रममा ज्यान गएको हो ।   आइतबार राति ढुङ्गा बोकेको ट्याक्टर अनियन्त्रित भई सडकबाट १५ मिटर तल झरेर दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायब उपरिक्षक रविन्द्र खनालले जानकारी दिनुभयो । चालक नविनको उपचारका क्रममा वालिङ अस्पतालमा र सहचालक विकको पोखरामा मृत्यु भएको प्रहरीको भनाइ छ ।

पोखरा:    राष्ट्रिय समाचार समिति (रासस) गण्डकी प्रदेशको कार्यालयमा चोरीको प्रयास गर्ने दुई युवक प्रकाउ परेका छन् ।  पोखरा महानगरपालिका ९ नयाँबजारस्थित राससको कार्यालयमा चोरीको प्रयास गरेका पोखराका २ युवकलाई प्रकाउ गरिएको वडा कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक बेदप्रसाद जोशीले जानकारी दिए ।    ‘शनिबार पोखरा रंगशालामा म्याराथन शुरु हुन लागेको थियो, रासस कार्यालयबाट बिहान ६ बजे चोरी भएको खवर आयो, प्रहरी उपरीक्षक जोशीले भने, ‘घटनाको उजुरीपछि अनुसन्धान गर्दै जाँदा २ जनालाई प्रकाउ गरेर अनुसन्धान अगाडी बढाएका छौं।’  प्रहरी उपरिक्षक जोशीका अनुसार कार्यालयमा शुक्रबार राति प्रवेश गरी चोरीको प्रयास गर्ने पोखरा–३ नदीपुर बस्ने १९ वर्षीय राजीव दास र पोखरा–७ चोरसाँघुका २६ वर्षीय रोशन मगरलाई नियन्त्रणमा लिएको हो ।  जोशीका अनुसार प्रकाउ परेका दास तीन पटक प्रकाउ परेर छुटेको देखिन आएको छ । ‘पहिलो पटक चोरी गरेको अभियोगमा प्रकाउ परेका दासलाई बालसुधार गृहमा पठाईको हो, जोशीले भने, ‘बालसुधारबाट आएपछि पटकपटक चोरीमा संग्लन भएको पाएका छौं ।’ प्रहरीका अनुसार राष्ट्रिय समाचार समिति (रासस)को कार्यालयबाट चोरी भएको क्यामेरा सहित प्रकाउ परेका दुई युवकलाई चोरी तथा डाँका कसुरअन्तर्गत अनुसन्धान भइरहेको छ ।  सिसी क्यामेरा फुटेजमा देखिएको हुलियाका आधारमा उनीहरु पक्राउ परेका हुन । शुक्रबार राति १ः३० बजे कार्यालयको ढोका फोडेर चोरी प्रयास भएको थियो । 

गण्डकी प्रदेशको मुख्यमन्त्री खगराज अधिकारीको प्रेस संयोजकमा सुशन घिमिरे नियुक्त भएका छन् ।    अनेरास्ववियुको विद्यार्थी राजनीतिमा ०६३ सालदेखि सक्रिय घिमिरे ०६६ मै जिल्ला कमिटीमा आबद्ध थिए ।    आमसञ्चार तथा पत्रकारितामा स्नातक तह उत्तीर्ण घिमिरेले व्यवस्थापनमासमेत स्नातक गरेका छन् । 

काठमाडौं :विन्ध्यवासिनी म्युजिक प्रालीका सञ्चालक सुवास रेग्मी पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय साइबर व्युरोले उनलाई  त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलबाट पक्राउ गरेको हो। उनी थाइल्याण्डबाट स्वदेश फर्किदै थिए।   साइबर व्युरोका प्रवक्ता पशुपति कुमार रायले रेग्मीलाई पक्राउ गरिएको जानकारी दिए। रायका अनुसार उनीविरूद्ध साइवर व्युरोमा उजुरी परेपछि अनुसन्धान गर्न पक्राउ गरिएको हो।    उनीविरूद्ध गायक प्रमोद खरेलसहित ४ जना कलाकारले उजुरी दिएका छन्।   सामाजिक सञ्जालमामार्फत् विभिन्न कलाकारविरूद्ध अश्लिल गाली गर्ने,अपशब्द प्रयोग गर्ने र कलाकारहरूको चरित्रहत्या गरेको उजुरीमा उल्लेख छ।

काठमाडौं:  नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य एक लाख ३ हजार २ सय, तेजावी सुनको मूल्य एक लाख २ हजार ७ सय र चाँदीको मूल्य १२ सय ९० रुपैयाँ तोकिएको छ ।   यो मूल्य शुक्रबारको कारोबार मूल्यको तुलनामा सुनको मूल्य तोलामा ७ सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो ।   शुक्रबार प्रतितोला एक लाख २ हजार ५ सय रुपैयाँमा छापावल, एक लाख २ हजार रुपैयाँमा तेजावी र १२ सय ७५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

   म्याग्दीः  म्याग्दीको मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरमा ‘मङ्गलाइन्द्रेणी उद्यान’ निर्माण गरिएको छ । मङ्गला–२ बाबियाचौर निवासी समाजसेवी इन्द्रबहादुर अधिकारीको परिवारले निःशुल्क उपलब्ध गराउनुभएको जग्गामा गाउँपालिका, गण्डकी प्रदेश सरकार र डिभिजन वन कार्यालयसमेतको रु एक करोड लागतमा बहुउद्देश्यीय उद्यान निर्माण गरिएको हो ।  आइतबार एक समारोहका बीच उक्त उद्यानको गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष प्रेमकुमारी क्षेत्री र जग्गादाता अधिकारीले शुभारम्भ गर्नुभएको छ । आर्थिक वर्ष २०७५÷०७६ मा सुरु गरिएको उद्यानको निर्माण सकिएपछि औपचारिकरुपमा शुभारम्भ गरिएको हो  । उद्यानमा सङ्ग्रहालय, खानेपानी, गार्डेन, बालउद्यान, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र, शौचालयलगायतका पूर्वाधार निर्माण गरिएको छ । गाउँपालिकाको केन्द्रमा आउने पर्यटकको आकर्षण र स्थानीय बालबालिका, युवायुवती र ज्येष्ठ नागरिकको फुर्सदको समयलाई उचित सदुपयोगका लागि उद्यान सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष रोकाले बताउनुभयो । “बजारमा शान्त वातावरणमा बालबालिकादेखि वृद्धवृद्धासम्मलाई एकै ठाउँमा रमाउने थलोको रुपमा उद्यान बनाएका हौँ, यसलाई अझै सौन्दर्यकरण गर्दै लैजाने हाम्रो योजना छ”, उहाँले भन्नुभयो । उद्यानको विभिन्न भागमा रेलिङ र सिँढी बनाइएको छ । शारीरिक व्यायामका लागि रनिङ स्पट बनाइएको छ । स्थानीय मौलिक संस्कृति र परम्परागत सामग्रीको संरक्षणका लागि सङ्ग्रहालयसमेत स्थापना गरिएको छ । उद्यान बनाउन समाजसेवी इन्द्रबहादुर अधिकारीको परिवारले तीन रोपनी, १५ आना, तीन पैसा दुई दाम क्षेत्रफलको जग्गा निःशुल्क उपलब्ध गराउनुभएको हो ।  त्यसैगरी थप पाँचआना क्षेत्रफलको जग्गा खरिद गर्न गाउँपालिका अध्यक्ष रोकाले रु एक लाख र मङ्गला युवा क्लबले रु दुई लाख आर्थिक सहयोग गर्नुभएको थियो । आइतबार उद्यान शुभारम्भका अवसरमा जग्गा दाता र सहयोग दातालाई सम्मानसमेत गरिएको थियो । बाजागाजासहित बाबियाचौर बजार परिक्रमापश्चात् उद्यानमा आयोजित समारोहमा जग्गदाता अधिकारीको परिवारसँगै जग्गा खरिदमा सहयोग गर्ने गाउँपालिका अध्यक्ष रोका र मङ्गला युवा क्लबका पदाधिकारीलाई दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो । आफू जन्मेर हुर्केको ठाउँमा दीर्घकालीन उपयोगका लागि जग्गाको आवश्यकता परेपछि समग्र मङ्गलाको समृद्धिमा सघाउने उद्देश्यले आर्थिकरुपमा महँगो पर्ने जग्गालाई आफूहरुले निःशुल्क दान गरेको जग्गादाता अधिकारीले बताउनुभयो ।  “हामीले यहाँको विकासका लागि यो जग्गा निःशुल्क दान गरेका हौँ, खोलाको किनारको जग्गामा आज उद्यान स्थापना भएको छ, यसले दीर्घकालीनरुपमा मङ्गला गाउँपालिकाको विकासमा रचनात्मक सहयोग पुग्ने हामीले विश्वास लिएका छौँ”, उहाँले भन्नुभयो । उद्यान निर्माण गर्न डिभिजन वन कार्यालयले रु १८ लाख, गण्डकी प्रदेश सरकारबाट सङ्ग्रहालय भवन बनाउन रु १६ लाख र ज्येष्ठ नागरिक आश्रयस्थलको लागि रु सात लाख बजेट उपलब्ध गराएका थिए । उद्यानको जग्गा व्यवस्थापनदेखि पूर्वाधार निर्माण र सङ्ग्रहालय भवनलाई पूर्णता दिन गाउँपालिकाले करिब रु ६० लाख बढी लगानी गरेको जनाइएको छ ।  उद्यानलाई निःशुल्क जग्गादाता अधिकारीको सम्मानमा उद्यान परिसरमा अर्धकदको सालिक बनाइएको छ भने सङ्ग्रहालयको नाम ‘मङ्गला खड्ग नन्द सङ्ग्रहालय’नामकरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीले जानकारी दिनुभयो । म्याग्दी नदी किनारमा निर्माण भएको उद्यान स्वच्छ र शान्त वातावरणसहित बालबच्चादेखि वृद्धवृद्धासम्म सबैलाई मनोरञ्जन र आनन्दको महसुस हुने गरी निर्माण गरिएको छ ।  उद्यानलाई हरियाली र आकर्षक बनाउन खण्ड खण्ड बनाएर विभिन्न प्रजातिका फूल रोपिएको छ भने बाह्रैमास हरियो हुने दुबो पनि सारिएको छ । उद्यान सञ्चालनमा आएसँगै मङ्गलामा आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी क्षेत्रीले जानकारी दिनुभयो ।

काठमाडौं : पूर्वस्वास्थ्यमन्त्री डाक्टर मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा निधन भएको छ। श्रेष्ठको उपचारका क्रममा आज बिहान सवा ४ बजे अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।   उनी २०४६ सालको आन्दोलन पछाडि बनेको सरकारमा स्वास्थ्यमन्त्री भएका थिए। पछिल्लो समय उनी मानवअधिकार क्षेत्रमा सक्रिय थिए।   पारिवारिक स्रोत अनुसार उनका छोराछोरी विदेशमा रहेकाले मंगलबार ९ बजेपछि पशुपति आर्यघाटमा दाह संस्कार गरिनेछ। उनको पार्थिव शरीरलाई अन्नपूर्ण न्यूरो अस्पतालबाट शिक्षण अस्पतालको शवगृहमा लैजाने तयारी गरिएको छ।