दमक: पछिल्लो समयमा लागूऔषध कारोबारीले अन्डाको खोलभित्र लागूऔषध ब्राउन सुगर ल्याउने गरेको भेटिएको छ । मेचीनगर नगरपालिकाको काँकडभिट्टा नाकाबाट अन्डाको खोलभित्र लुकाएर ब्राउन सुगर ल्याएको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । अर्जुनधारा नगरपालिका–३ का २४ वर्षीय ऐतराज इवा र सोही ठाउँका २७ वर्षीय प्रकाश खातीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । एउटा क्यारेटमा एक दर्जन अन्डा ल्याइरहेका उनीहरूलाई शङ्का लागेर जाँच गर्दा बीचमा एउटा अन्डामा सानो दुलो बनाई त्यहीँभित्र प्लास्टिकमा पोको पारेर ब्राउन सुगर लुकाएर राखेको पाइएको प्रहरीको भनाइ छ । उनीहरूले यसरी लागूऔषध ल्याउँदा प्रहरीले शङ्का नगर्ने ठानेर यो विधि अपनाएको हुन सक्ने बताइन्छ । लागूऔषध कारोबारी तथा प्रयोगकर्ताले अचम्म–अचम्मको उपाय र नयाँ–नयाँ विधि अपनाएर लागूऔषध ल्याउने गरेको पाएका छौँ, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख दुर्गा रेग्मी बताउनुहुन्छ । लागूऔषधको कारोबार गर्नेलाई कडा निगरानीमा राखिएको र जस्तोसुकै अवस्थामा पनि पक्राउ गरेर कारबाही चलाउन मातहतका सबै कार्यालयलाई निर्देशन दिइएको रेग्मीले जनाउनुभएको छ । जिल्लामा प्रमुख समस्यामध्ये एउटा लागूऔषधको कारोबार तथा प्रयोग रहेको बताइने गरिएको छ ।
काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले जनता नै राज्यशक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतामा आधारित रही लोकतान्त्रिक आचरणलाई जीवन पद्धति बनाउन सकेको खण्डमा प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुनसक्ने बताउनुभएको छ । उहाँले राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजु–भाइमा हार्दिक शुभकामना व्यक्त गर्दै वर्तमान शासन व्यवस्थाले दशकौँदेखि व्यक्त हुँदै आएको सहिदको सपना एवं जनताको आकाङ्क्षालाई मूर्तरूप दिन सक्नुपर्ने उल्लेख गर्नुभएको छ । “हामीले हासिल गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जग २००७ सालको जनक्रान्तिबाट नै निर्माण भएको हो, तसर्थ सहिदको सपना एवं जनताको आकाङ्क्षालाई मूर्तरूप दिन सक्नुपर्दछ, त्यसका लागि हामीले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा आर्थिक समृद्धिलाई राष्ट्रको मूल लक्ष्य बनाउनु पर्दछ”, राष्ट्रपतिको सन्देशमा भनिएको छ । प्रजातन्त्र दिवसको पृष्ठभूमिमा २००७ सालभन्दा अघि भएका आन्दोलनहरूको भूमिका अभिन्नरूपले जोडिएको र विसं १९९७ मा प्रजापरिषद्को अगुवाइमा भएको आन्दोलनको क्रममा महान् सहिदहरू गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र दशरथ चन्दको सहादत भएको विषय उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ । नागरिक अधिकार सुनिश्चित गर्दै लोकतान्त्रिक शासन प्रणाली स्थापना गर्नका लागि भएका सङ्घर्षहरूमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै राष्ट्रपति भण्डारीले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौँ आन्दोलनहरूलाई मार्गदर्शन गर्ने अग्रजहरूप्रति हार्दिक सम्मान एवं श्रद्धा प्रकट गर्नुभएको छ । उहाँले सन्देशमा नेपालको राजनीतिक इतिहासमा फागुन ७ गतेको विशिष्ट महत्व रहेको र विसं २००७ सालमा जहानिया निरंकुश शासनविरूद्ध जनताको सङ्घर्षले आजकै दिन विजय हासिल गरेको स्मरण गर्नुभएको छ । “सहिदहरूको उच्च बलिदानले वर्तमान समयसम्मका हाम्रा राजनीतिक एवं सामाजिक सुधारका आन्दोलनहरूलाई प्रेरणा दिएको छ भने भविष्यमा पनि उहाँहरूको सहादतले हामीलाई मार्गदर्शन गरिरहने छ”, राष्ट्रपति भण्डारीको सन्देशमा भनिएको छ, “यस कारण प्रजातन्त्र दिवसले नागरिक अधिकारको महत्व स्थायी बनाउनुका साथै सहिदको अमर गाथा पनि सदैव स्मरण गराउँछ ।”
काठमाडौं: ७३ औँ प्रजातन्त्र दिवसको उपलक्ष्यमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले शुभकामना दिनुभएको छ । आज ऐतिहासिक दिन भएको बताउनुहुँदै उहाँले प्रजातन्त्र स्थापनाका निम्ति जीवनको अमूल्य बलिदान गर्नुहुने महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धा सुमन अर्पण गर्दै प्रजातान्त्रिक आन्दोलनका सम्पूर्ण योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्नुहुँदै शुभकामना दिनुभएको छ । सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अगाडि बढ्दै बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न दृढ प्रतिबद्ध समेत बताउनु भएको छ । नेपालले पाएको उपलब्धिका निम्ति २००७ सालको आन्दोलन, २०४६ सालको आन्दोलन, महान् जनयुद्ध, २०६२।०६३ को ऐतिहासिक जनआन्दोलन लगायत उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायका न्यायपूर्ण आन्दोलनहरूको निर्णायक भूमिका रहिआएको उहाँले बताउनु भएको छ। ।
मनाङ: भौगोलिकरुपमा विकट हिमाली जिल्ला मनाङ । त्यसमाथि पनि विकासको काम सुस्त हुँदा अझ बढी सकस छ । मनाङको मेरुदण्डको सडकखण्ड डुम्रे–बेँसीसहर–चामे मर्मत तथा सम्भारको काम सुस्त हुँदा जोखिम उस्तै छ । यस मार्गको यात्रामा अझ जोखिम बढ्दै गएको छ । कम समय सडक निर्माण तथा मर्मत गर्ने उपयुक्त समय हुने भएकाले बाढी पहिराले क्षति पुर्याएको सडक खण्डमा जोखिम बढ्दै गएको हो । विगतका वर्षमा हिमपात बढी हुँदा मर्मत तथा निर्माणको काम गर्न सकिने अवस्था थिएन तर, यस वर्ष हिमपात नहुँदा पनि मर्मत तथा निर्माणको काम भएको छैन । न हिमपात न वर्षा दुवै नभएको अवस्थामा पनि निर्माण कम्पनी र डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयले निर्माणका कामलाई तीव्रता दिन नसक्दा कहिलेसम्म मनाङवासी तथा यहाँ आउने पर्यटकले जोखिम झेल्नुपर्ने हो भन्न सक्ने अवस्था छैन । निर्माणको काममा ढिलाइ हुँदा अझै कहिलेसम्म यहाँका बासिन्दाले जोखिम खेप्नुपर्ने हो भन्न सक्ने अवस्था नभएको स्थानीय बताउँछन् । हुन त बहुवर्षीय योजनाअन्तर्गत निर्माणका लागि बजेट विनियोजन भएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ । हिमपात र वर्षा नभएको अवस्थामा पनि निर्माणको काम हुन नसक्दा समय लम्बिने देखिएको छ । हिमपात र वर्षा नभएको अवस्थामा पनि चिसोका कारण ढिलो भएको कार्यालयका प्रमुख अच्युत विलास पन्तले बताए । उक्त सडकखण्डमा वैकल्पिक मार्ग नहुँदा पनि मर्मत तथा सम्भारमा ढिलाइ हुँदै आएको छ । सडक मर्मतसम्भारको क्रममा वैकल्पिक सडक नहुँदा मनाङमा सामग्री ढुवानीमा समस्या हुने गरेको छ । भुलभुले, निगालो घारी, बगरछाप, दानाक्यु, एक्लोभट्टीलगायतका बढी जोखिम भएको क्षेत्रमा सडक मर्मतको काम गरिरहेको अवस्थामा वर्षामा समस्या भएको भएको थियो । अब वर्षायाम सुरु हुने अवस्थामा समस्या आउने र अहिले निर्माणका लागि चिसोले समस्या हुँदा अझ सकस भएको उनको भनाइ छ । ‘यस वर्ष हिमपात र वर्षा नभए पनि चिसोका कारण समस्या छ । सुरक्षित तवरबाट सडक मर्मतसम्भार गर्नुपर्छ । सबैभन्दा जोखिम क्षेत्रमा पनि मर्मतसम्भारको काम गर्न सकेका छैनौँ’, उनले भने, ‘काम गर्न मिल्छ कि भनेर अनुगमनलाई ध्यान दिइरहेका छौँ ।’ बेंसीसहर–चामे सडकखण्डको मर्मतसम्भार गर्ने सम्झौताको अवधि बाँकी रहेको पन्तले बताए । उनका अनुसार आगामी असार मसान्तसम्म सडक मर्मतसम्भार गर्ने अवधि रहेको छ । उक्त सडक खण्डको जोखिम क्षेत्रमा सडक मर्मतसम्भारका लागि समयानुकूल अवस्थामा मर्मतको काम भइरहेको छ । यतिबेला सवारी आवागमन कम हुने भए पनि काम गर्न कठिन भएको उनी बताउँ५न् । जोखिमयुक्त सडकको मर्मत गर्न वैकल्पिक बाटो नहुँदा सवारी रोकेर नै काम गर्ने गरेको पन्तको भनाइ छ । उक्त सडकखण्डको जोखिमयुक्त क्षेत्रमा मर्मतसम्भार गर्न नाना कन्सल्टेन्सी प्रालिले ठेक्का पाएको छ । जिल्ला समन्वय समिति मनाङका प्रमुख चिन घलेले उक्त सडकखण्डको जोखिमयुक्त क्षेत्रको सडक मर्मत भए दुर्घटना न्यूनीकरण हुने बताए । सडक सहज बनाउन सडक कार्यालयले समयमा मर्मत तथा सम्भार गर्नुपर्ने उनको भनाइ छ । ‘उक्त सडक खण्डअन्तर्गत स्यागेमा बढी जोखिम छ । त्यही स्थानमा मर्मत तथा सम्भार समयमा नहुँदा दुर्घटना बढेको अभास हुन्छ । यस्ता जोखिमयुक्त क्षेत्रमा सडक कार्यालयले छिटोभन्दा छिटो मर्मत गर्नुपर्छ । मनाङवासीलाई सहज बनाउने कार्यमा सडकले भूमिका खेल्नुपर्छ’, प्रमुख घलेले भने । हुन त नयाँ परियोजनाको रुपमा डुम्रे–बेंसीसहर–चामे सडक खण्ड चार लेन बनाउने योजना रहेको छ । सो सडकखण्ड पक्की र दीर्घकालीन बनाउन सङ्घीय सरकारले रु ६१ करोड २८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । बहुवर्षीयरुपमा मनाङको मेरुदण्डको विकासका लागि बजेट परेको हो । आगामी पाँच वर्षको अवधिमा डुम्रे–बेंसीसहर–चामे सडकखण्डलाई चौडा, कालोपत्र, पक्की नालासहित सुरक्षित बनाउने योजनासहित बजेट विनीयोजन भएको प्रमुख पन्तले बताए । गत वर्ष यस सडकखण्डका अधिकांश भागमा बाढीपहिराले क्षति पुर्याएको थियो । बाढीपहिराले क्षति पुर्याएको सडक खुलाउन समस्या भएपछि हवाई यातायातलाई मात्र सहारा लिनुपर्ने बाध्यता थियो ।
काठमाडौं: आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा नेपालले नामिबियालाई हराएको छ । त्रिवी क्रिकेट मैदानमा भएको खेलमा नामिबियालाई ३ विकेटले हराएको हो । नामिबियाले दिएको २ सय ७५ रनको लक्ष्य नेपालले ४७ ओभर तीन बलमा ७ विकेट गुमाएर भेटायो । नेपालका लागि आशिफ शेखले ८१ र ज्ञानेन्द्र मल्लले ६५ रन बनाए । यस्तै, कुलश मल्लले ४ छक्का र ६ वटा चौकासहित ६२ रन बनाए । रोहित पौडेलले ३९ रन बनाए । यसैबीच, आजको खेलमा ज्ञानेन्द्र मल्ल र आशिफ शेखले एकदिवसीय क्रिकेटमा नेपालको लागि सबैभन्दा धेरै रनको साझेदारीको कीर्तिमान बनाएका छन् । दोस्रो विकेटका लागि ज्ञानेन्द्र र आसिफले १ सय ३९ रनको साझेदारी गरेका हुन । यो नेपालबाट एकदिवसीयमा अहिलेसम्मकै उच्च साझेदारी हो । यसअघि नामिबियासँगको खेलमै कुशल भुर्तेल र रोहित पौडेलले १ सय ३३ रनको साझेदारी गरेका थिए । यस्तै, नेपालले यो शृङ्खलामा दुई सय ७५ रन लक्ष्य भएका दुई वटा र दुई सय ८६ रनको लक्ष्य भएको एउटा खेल जितेको छ । नेपालले सबैभन्दा धेरै लक्ष्य भेटाउने कीर्तिमान पनि यसै शृङ्खलामा बनाएको छ । यसअघि त्रिवी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ रन ७४ रन बनायो । उसका जान ग्रिनले सर्वाधिक ७५ रन बनाए । नेपालका सन्दीप लामिछानेले ३ तथा करण केसीले १ विकेट लिए । हिजो भएको खेलमा नेपालले स्कटल्याण्डलाई तीन विकेटले तथा पहिलो खेलमा नामिबियालाई दुई विकेटले हराएको थियो । यो शृङ्खलामा नेपाल, नामिबिया र स्कटल्यान्ड रहेका छन् । नेपाल २७ खेलमा ११ मा जित र १४ मा हारसहित २४ अंकका साथ छैटौं स्थानमा छ । नामिबिया ३३ खेलमा ३७ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । स्कटल्याण्ड ३४ खेलमा ४८ अंकसहित शीर्ष स्थानमा छ । सात वटा देश सहभागि लिगको शीर्ष पाँचमा पर्न सके नेपालको एकदिवसीय मान्यता जोगिनेछ, यदि शीर्ष पाँचमा पर्न नसकेमा नेपालले क्वालिफायर खेल्नुपर्नेछ । नेपालले यो श्रृंखलाको आफ्नो अन्तिम खेलमा मंगलबार स्कटल्यान्डसँग खेल्नेछ ।
पोखराः १७ औं संस्करणको सफल पोखरा म्याराथन गण्डकी प्रदेशतर्फको उपाधि लमजुङका रामजी बस्नेतले जितेका छन् । उनले ४२.१९५ दुरी २ घण्टा ४१ मिनेट ३१ सेकेण्डमा पूरा गर्दै उपाधि जितेक हुन् । निर्धारित दुरी २ घण्टा ४५ मिनेट १३ सेकेण्डमा पूरा गर्दैै गोर्खाका निरज भट्ट दोस्रो भए भने गोर्खाका नै श्याम मगराति तेस्रो भए । उनले २ घण्टा ५० मिनेट ३ सेकेण्डमा दुरी पूरा गरे । गण्डकी प्रदेशस्तरीय म्याराथनका विजेता बस्नेतले ५० हजार, दोस्रो भएका भट्टले ३० हजार र तेस्रो भएका मगरातिले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । यस्तै पोखरा म्याराथन १० किलोमिटर पोखरा म्याराथन पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका संजय श्रेष्ठले ३६मिनेट २९ सेकेण्डमा दुरी पूरा गर्दै प्रथम भएका छन् । यस्तै आर्मीका नै सुवास कार्कीले ३६मिनेट ५४ सेकेण्डमा दुरी पूरा गर्दै दोस्रो भएका छन् भने ३७ मिनेटमा दुरी पूरा गर्दै दिपक सुहान तेस्रो भएका छन् । यस्तै १० किमी महिलातर्फ नेपाल एपिएफ क्लबका आशा रावतले ५० मिनेट १२ सेकेण्डमा दुरी पूरा गर्दै प्रथम भइन् । नेपाल पुलिस क्लबकी बिर्समा कुमालले ५० मिनेट २९ सेकेण्डमा दुरी पूरा गर्दै दोस्रो भइन भने त्रिभुवन आर्मी क्लबकी कल्पना खड्काले ५१ मिनेट ६सेकेण्डमा दुरी पूरा गर्दै तेस्रो भइन् । १० किमीतर्फ महिला÷पुरुषतर्फ प्रथम, द्धितीय र तृतीय भएका उनीहरुले क्रमशः ३०, २० र १५ हजार पुरस्कार प्राप्त गरे । यस्तै १७ औं संस्करणको अन्र्तराष्ट्रिय म्याराथन अन्र्तगत ह्विल चियर प्रतियोगितामा दान थिन प्रथम, सुरज गौली दोश्रो र जीवन श्रेष्ठ तेश्रो भए यस्तै महिलातर्फ लक्ष्मी सुनार प्रथम, धना मगर दोस्रो र ववित्रा बिक तेस्रो भइन् । दृष्टिविहिन महिला तर्फको दौडमा विनिता पुन प्रथम, सृजना परियार दोस्रो र देवि बराल तेस्रो भइन् भने पुरुषतर्फ विरेन्द्र लामिछाने प्रथम, आसिक खड्गी दोस्रो र प्रेम क्षेत्री तेस्रो भए । ह्विल चियर र दृष्वििहिन प्रतियोगिताका प्रथम, दोस्रो र तेस्रो महिला/पुरुष धावकहरुले क्रमशः १० हजार, ७ हजार र ५ हजार पुरस्कार प्राप्त गरे ।
पोखरा: सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको १७ औं संस्करणको उपाधि केन्या धावक स्टेफेन कोसगेईले लगातार दोस्रो पटक जितेका छन् । आज (शनिबार) पोखरा रंगशालाबाट सुरु भएको दौडमा उनले निर्धारित ४२.१९५ किमी दुरी २ घण्टा २० मिनेट ७ सेकेण्डमा पुरा गर्दै दोस्रो पटक उपाधि जितेका हुन् । केन्याका धावक स्टेफनले अघिल्लो संस्करणमा सो दुरी २ घण्टा १९ मिनेट ४३ सेकेण्डमा पुरा गरेका थिए । यस्तै केन्याका धावक जुलियस ओहोमे दोस्रो भएका छन् । उनले उक्त दूरी २ घण्टा २० मिनेट ३७ सेकेण्ड पूरा गर्दा नेपाल आर्मीका होमलाल श्रेष्ठले २ घण्टा २५ मिनेट १४ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भए । पोखरा म्याराथनमा उपाधि बिजेता स्टेफेनले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । द्धितीय भएका सिमोनले ३ लाख र तृतीय मोहनले २ लाख रुपैयाँ पाएका छन् । हाफ म्याराथनमा नेपाल पुलिसकी राजपुराको ह्याट्रिक यस्तै शनिबार नै सम्पन्न भएको हाफ म्याराथनमा नेपाल पुलिसकी राजपुरा पछाईले ह्याट्रिक गरेकी छिन् । उनले लगातार तेस्रो पटक उपाधि जितेकी हुन् । उनले २१ किमी दुरी १ घण्टा २३ मिनेट ६ सेकेण्डमा पूरा गरिन् । एपिएफकी वृन्दा देसार श्रेष्ठले निर्धारित दूरी १ घण्टा २६ मिनेट २८ सेकेण्डमा पूरा गर्दै दोस्रो भइन । त्रिभुवन आर्मी क्लबका पूर्णलक्ष्मी न्यौपाने तेस्रो बनिन् । उनले १ घण्टा ३१ मिनेट ४ सेकेण्डमा पूरा गरिन । यस्तै नेपाल पुलिसकी रेखा विष्ट सान्त्वना भईन । उनले १ घण्टा ३० मिनेट १४ सेकेण्ड मा पूरा गरिन् । महिला हाफ म्याराथनमा बिजेता राजपुराले १ लाख ५० हजार, द्वितीय वृन्दाले १ लाख तृतीय पूर्णलक्ष्मीले ७५ हजार र सान्त्वना भएकी विष्टले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् ।
बागलुङ: सामान्यतया ६ वर्षमा निवारण भएको हात्तिपाइले बागलुङमा १३ वर्षमा समेत निवारण भएको छैन । हात्तिपाइले रोगबाट बच्न लगातार छ पटक हात्तिपाइले रोगविरुद्धको औषधि खानुपर्छ । बागलुङमा पुनः‘यसै पटक र अन्तिम पटक’ भन्ने नाराका साथ हात्तिपाइले विरुद्धको १४औँ चरणको औषधि सेवन अभियान थालिने भएको छ । लगातार छ पटक औषधि खाएमा मात्र रोगको जोखिमबाट बच्न सकिने भए पनि बागलुङमा १३ औँ पटकसम्म हात्तिपाइलेको औषधि खुवाउँदासमेत हात्तिपाइले निवारण हुन सकेको छैन । रोग निवारणका गर्न बागलुङमा पुन १४ औँ पटक अभियान थालिएको हो । यस पटकको अभियान भने अन्तिम हुनसक्ने तथ्याङ्कले देखाएको छ । तेह्रौँ पटकको अभियान सुरु गर्नुभन्दा पहिला हात्तिपाइले प्रभावित क्षेत्रमा पाँचौं पटक नमुना सङ्कलनको कार्य गर्दा हात्तिपाइले निवारण नभएपछि लगातार दुई वर्ष औषधि खुवाउनुपर्ने स्वास्थ्य कार्यालयका प्रमुख प्रविण शर्माले जानकारी दिए । शर्माका अनुसार १४औँ पटक औषधि सेवन गर्न गरिएको पूर्वनमुना परीक्षणमा भने जम्मा एक जनामा मात्रै हात्तिपाइलेको जिवाणु भेटिएकाले यो पटकको औषधि अन्तिम पटकका लागि हुनसक्ने सम्भावना धेरै रहेको शर्माको भनाइ छ । हात्तिपाइले निवारण हुन १४औँ पटक आम औषधि सेवन अभियान सञ्चालनपछि तीन पटकसम्म गरिने नमुना परीक्षणसमेत सफल हुन आवश्यक रहेको छ । “पाँच वर्ष लगातार औषधि खुवाइसकेपछि नमुना परीक्षण हुन्छ, हामीले पाँचौँ चरणसम्मको नमुना परीक्षणमा दुई प्रतिशतभन्दा माथिको सङ्ख्यामा पोजेटिभ पाएका थियौँ, तर छैटौँ पटकको नमुना सङ्कलनमा हात्तिपाइले निवारणका लागि दुई प्रतिशतभन्दा थोरै पोजेटिभ भेट्टिएको छ”, शर्माले भने । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माका अनुसार बागलुङमा पाँच पटकसम्मको नमुना परीक्षण गर्दा हात्तिपाइले निवारण नभएको तर छैटौँ पटकको नमुना सङ्कलन गर्दा निवारणका लागि आवश्यक दुई प्रतिशतभन्दा कम शून्य दशमलव ३३ प्रतिशत मात्रै हात्तिपाइलेको जिवाणु फेला परेकाले यस वर्षलाई अन्तिम पटक हात्तिपाइलेको आम औषधि सेवन अभियान सञ्चालन गरिएको छ । जिल्लाको बागलुङ नगरपालिका–१४ नारायणस्थानमा हात्तिपाइले निवारण गर्न नसक्दा सिङ्गो जिल्लाभर औषधि खुवाउनुपर्ने अवस्था आइरहेकामा यसपटक सात सय जनामा गरिएको नमुना परीक्षणमा एक जनामा मात्रै जिवाणु फेला परेकाले १४ औँ पटकको अभियान नै अन्तिम हुन सक्ने भन्दै सबैले औषधि सेवन गर्न आवश्यक रहेको शर्माले बताए । सङ्क्रमण दुई प्रतिशतभन्दा कम भएमा जनस्वास्थ्य समस्याका रुपमा नलिने र निवारणको मान्यता दिने प्रचलन रहेको शर्माको भनाइ छ ।
काठमाडौं: वैदेशिक रोजगारलगायत विभिन्न बहानामा मानव बेचबिखनका घटना दिनदिनै बढिरहेका छन्। प्रहरीको निगरानी तथा सचेतना अभियानका बाबजुद पनि बेचबिखनका घटना देखिँदै आएका छन्। नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो काठमाडौंका अनुसार माघमा मात्रै विभिन्न मुलुकमा बेचबिखनमा परेका ३० जनाको उद्धार गरिएको छ। त्यसमध्ये भारतबाट मात्रै १५ महिला र चार बालबालिकाको उद्धार गरिएको तथा कुवेतबाट छ महिला, ओमनबाट दुई महिला, इराकबाट एक महिला र नेपालभित्रै आन्तरिक बेचबिखनमा परेका दुई जनाको उद्धार गरिएको ब्युरोका निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए। आकर्षक वैदेशिक रोजगारीको बहानामा पर्यटक भिसाको दुरुपयोग गरी विभिन्न दलाल तथा म्यानपावर कम्पनीले भ्रमण भिसामा विदेश जाने कागजातको न्यूनतम प्रक्रियासमेत पूरा नगरी नक्कली कागजात बनाइ उनीहरूलाई विदेश पठाएको पाइएको छ। त्यसैगरी विदेश जान लागेको र मानव बेचबिखनको उच्च जोखिममा पर्ने देखिएका दुई सय ५० जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको ब्युरोको प्रहरी टोलीले फिर्ता गराएको पनि उनले बताए। यस्तै माघमा मानव बेचबिखन तथा ओसारपसार कसुर गरेको आरोपमा चार जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान जारी रहेको जनाइएको छ। गएको एक महिनामा एक महिला र पाँच पुरुष गरी छ जनामाथि अनुसन्धान सम्पन्न गरी अदालतमा मुद्दा चलाइएकामा उनीहरू पूर्पक्षका लागि कारागार चलान भएका प्रहरी उपरीक्षक नरहरी रेग्मीले जानकारी दिए।

