काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ। छलफलमा राष्ट्रपतिको उम्मेदवार चयनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ। प्रधानमन्त्री दाहालका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले उहाँहरूबीच भएको छलफलका बारेमा भने आफूलाई जानकारी नभएको बताउनुभयो। शनिबार राष्ट्रपति चयनका लागि मनोनयन गर्ने समय सीमा भए पनि दलहरूबीच सहमति हुन सकेको छैन। प्रधानमन्त्री दाहालले सहमतिका आधारमा राष्ट्रपति चयन हुनुपर्ने धारणा राख्दै आउनुभएको छ। आज बिहान मात्रै नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) लगायतका दलसँग प्रधानमन्त्रीले छलफल गर्नुभएको थियो।
पोखरा: कास्कीको रुपा गाउँपालिकाको आयोजनामा अध्यक्ष कप खुल्ला (वडास्तरीय) पुरुष भलिबल प्रतियोगिता फागुन २३ गतेदेखि सुरु हुने भएको छ । रुपा गाउँपालिकाले आफ्नो स्थापना दिवसको अवसरमा फागनु २३ देखि २७ गतेसम्म खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता, गाउँपालिका स्तरीय झाँकी प्रदर्शन, माला बुन्ने प्रतियोगिता आयोजना गरेको आज पोखरामा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो । रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाका अनुसार खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगितामा राष्ट्रिय स्तरको एक जना खेलाडी राख्न पाउने बताए । ‘गाउँपालिकाको स्थापना दिवसमा ०७५ देखि खेलकुदको कार्यक्रमलाई अगाडि बढाउँदै आएका छौं, ओझाले भने, ‘स्थापना दिवसमा पुरुष भलिबल, रुपा गाउँपालिका स्तरीय झाँकी प्रदर्शनी, माला प्रतियोगिता र रुपा रत्न पुरस्कार २०७९ आयोजना गरेका छौं ।’ उनका अनुसार खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले १ लाख २५ हजार, दोस्रो हुने समूहले ८० हजार र तेस्रो हुने समूहले ५० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै विधागततर्फ बेस्ट प्लेयरले ३ हजार, उत्कृष्ट सर्भर, ब्लकर, सेटर, लिब्रो, स्पाइकर र अनुशासित टिमले जनही २/२ हजार पुरस्कार प्राप्त गर्नेछन् । गाउँपालिका अन्तर्गत ७ वटै वडाहरुमा लोप हुन लागेका विभिन्न जाजातिहरुको संस्कृति संरक्षण गर्ने उद्देश्यले झाँकी प्रदर्शन प्रतियोगिता समेत आयोजना गरिएको ओझाले बताए । उनका अनुसार झाँकी प्रदर्शन बढीमा ३५ जना सहभागी हुनुपर्ने र ५ जना ३० वर्ष कम उमेर समूहका हुनुपर्ने नियम बनाइएको छ । कला, संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्न ३० वर्ष भन्दा कम उमेरकालाई झाँकी प्रदर्शनमा सहभागी गराउने नियम बनाइएको छ । झाँकी प्रदर्शनीको विजेताले ३० हजार, दोस्रो हुने समूहले २० हजार र तेस्रो हुने समूहले १० हजार र सान्त्वना हुने समूहले ५ हजार पुरस्कार प्राप्त गर्नेछन् । झाँकी प्रदर्शनीमा आउने समूहलाई ५ हजार यातायात र २ हजार खाना खाजा उपलब्ध गराउने भएको छ । यस्तै माला बुन्ने प्रतियोगिताको विजेताले ६ हजार ६ सय ६७, दोस्रो हुने समूहले ४ हजार र तेस्रो हुने समूहले २ हजार ६ सय ६७ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । माला बुन्ने प्रतियोगितामा स्थानीय साम्रागीको प्रयोग गर्नुपर्ने र बाह्य वस्तुहरु जरि फुल लगायतका कुनै पनि सामान प्रयोग गर्न नपाइने नियम बनाएको छ । रुपा गाउँपालिकाले अध्यक्ष स्थापना दिवसका अवसरमा गाउँपालिकालाई सहयोग गर्ने र रुपामा जन्मेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त व्यक्तित्वलाई पनि रुपा रत्नबाट सम्मान गरिने जानकारी दिए । विगतका वर्षहरुमा पनि स्थापना दिवसमा रुपा रत्नबाट विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
काठमाडौं: सुनको मूल्य तोलामा एक सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख दुई हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। अघिल्लो दिन पनि सुन तोलामा ५०० रुपैयाँ घटेको थियो। त्यस्तै आज तेजावी सुनको मूल्य एक लाख एक हजार ९०० रुपैयाँमा कारोबार हुँदैछ। त्यस्तै चाँदी आज प्रतितोला एक हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजोको तुलनामा चाँदी पनि प्रतितोला १० रुपैयाँ घटेको छ।
काठमाडौं: सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी आज (शुक्रबार)का लागि तोकेको छ । लामिछानेले बिहीबार सर्वोच्चमा दायर गर्नुभएको मुद्दाको पेसी न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेको हो । नाबालिग बलात्कारको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दाको पुर्पक्ष गरिरहेको क्रिकेटर लामिछाने बिहीबार सर्वोच्च पुग्नुभएको थियो । धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशमा प्रतिबन्धात्मक व्यवस्था रहेकाले उक्त आदेशको प्रतिबन्धात्मक व्यवस्था हटाउन माग गर्दै लामिछानेले सर्वोच्चमा मुद्दा दायर गरेको हो ।
म्याग्दी: सामाजिक विकृतिविरुद्ध लड्न यहाँका महिला एकजुट भएका छन्। जिल्लाको मालिका गाउँपालिका–५, मगरदाङका महिलाले मदिरा सेवन गरेर होहल्ला, झै–झगडा र सामाजिक सद्भाव बिगार्नेलाई जरिवाना तिराउनेसमेत नियम बनाएका छन्। आमा समूहको अगुवाइमा १५ हजार रुपियाँसम्म जरिवाना तिराउने नियम बनाइएको छ। मगरदाङ आमा समूहले जनप्रतिनिधि र अगुवाहरूको सहभागितामा हिउँदे गाउँसभा गरेर सामाजिक विकृति र हिंसा न्यूनीकरणका लागि नियम बनाउनुका साथै ज्याला र कृषि उपजको मूल्य निर्धारण गरेको हो। समूहकी अध्यक्ष राजमती बुढाले जुवातास खेल्न र आयातीत मदिरा सेवन तथा बिक्री वितरण गर्न रोक लगाइएको बताउनुभयो। “हाम्रो गाउँभित्र आयातीत मदिरा बेचबिखन गर्न रोक लगाएका छौ,” उहाँले भन्नुभयो, “तोकिएको भन्दा अन्य समयमा घरेलु मदिरा सेवन गरेर होहल्ला, झगडा र अशान्ति फैलाउनेलाई जरिवाना तिराउछौँ।” संस्कारगत विवाह, छेवर, किरिया र घरमा साँझको समयमा मात्र गाउँमै उत्पादन भएको मदिरा प्रयोग गर्न छुट दिइएको छ। मगर समुदायको बाहुल्य रहेको मगरदाङमा २५० घरधुरी छन्। तोकिएको भन्दा अन्य समय मदिरा सेवन गर्नेलाई पहिलो पटक पाँच हजार रुपियाँ, दोस्रो पटक दश हजार रुपियाँ र तेस्रो पटक पन्ध्र हजार रुपियाँ जरिवाना तिराएर प्रहरीको जिम्मा लगाइने मगरदाङ आमा समूहकी सचिव सुनिता पुनले बताउनुभयो। समूहले निर्णय कार्यान्वयनका लागि टोलटोलमा महिलाहरूको निगरानी समूह बनाएका छन्। मदिराको अव्यवस्थित सेवन तथा जुवातास र लागूपदार्थ दुव्र्यसनीका कारण उत्पन्न घरेलु हिंसा, सामाजिक सद्भावमा असर र विकृति नियन्त्रणका लागि महिला अग्रसर बनेका हुन्। आमा समूहको प्रयासमा वडाका जनप्रतिनिधि, राजनीतिक दल र देउताभीर युवा क्लबले पनि साथ दिएका छन्। गाउँ सभामार्फत उमेर समूहअनुसार मजदुरको ज्याला र कृषि उपजको मूल्य निर्धारण गरिएको छ। सबैभन्दा कम खेतालाको दैनिक चार सय रुपियाँदेखि अधिकतम हलगोरुसहितका हलीलाई प्रतिदिन एक हजार चार सय रुपियाँ ज्याला तोकिएको छ।
गाईघाट: उदयपुरको बेलका नगरपालिका–९ भचुवाका २७ वर्षीय विनोद खत्रीले २३ वर्षीयाा श्रीमति युनिका पौडेल खत्रीलाई जङ्गलमा लगेर धारीलो हतियार प्रहार गरी हत्या गरेका छन् । ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाका अनुसार बेलका नगरपालिका–६ को जाप्पादेवी रमिते सामुदायिक वन क्षेत्र भित्र बिहीबार दिउँसो दुवै जना घरबाट घाँस काट्न गएकोमा श्रीमति युनिका पौडेल खत्रीको हत्या भएको अवस्थामा जङ्गलमा सव फेला परेको हो । ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट ३ किलोमिटर टाढा घटनास्थल भएकाले बिहीबार साँझ प्रहरीले त्यहाँ कानुनी प्रक्रिया पुरा गरी शव पोष्टमाड्मका लागि बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको बेलका नगरपालिका–९ का वडा अध्यक्ष पदम खड्काले बताउनुभयो । प्रहरीले श्रीमान बिनोद खत्रीलाई नियन्त्रणमा लिएर थप्प अनुसन्धान थालेको छ । विनोदका परिवारमा दुई वर्षको छोरा र आमाबुबा रहेको अध्यक्ष खड्काले बताउनुभयो ।
पोखरा: पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरामा अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि सङ्घ सरकारको ध्यानाकर्षण गराउन जरुरी रहेको बताउनु भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन हवाई सेवा सञ्चालन लगायत समग्र पोखराको पर्यटनका विषयमा आयोजित पत्रकार अन्तरक्रियामा प्रमुख आचार्यले यस्तो बताउनु भएको हो । “समग्रमा पोखरा सबै हिसाबले तयार छ, त्यस कारण केन्द्र सरकारलाई पनि पोखरामा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्नका लागि सकारात्मक दबाब सृजना गर्नु पर्यो, प्रमुख आचार्यले भन्नुभयो, यस विषयमा सरकारको ध्यानाकर्षण गराउनु पर्यो, यसमा मिडियाको पनि तागत हुन्छ ।” प्रमुख आचार्यले आन्तरिक उडानमा कुनै समस्या नभएको भन्दै अन्तर्राष्ट्रिय उडानमा पनि कुनै प्रकारको शङ्का गर्नु पर्ने अवस्था नरहेको बताउनुभयो । समग्र पोखराको पर्यटन प्रवर्द्धनका लागि सरकार र निजी क्षेत्र एकसाथ अगाडी बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो । पोखरा सबै हिसाबले सुरक्षित रहेको जनाउँदै प्रमुख आचार्यले कुनै घट्नालाई जोडेर सधैँ गलत र असुरक्षित भनेर प्रचार गरिरहनु आवश्यक नरहेको बताउनुभयो । नेपालको हवाई क्षेत्रमा कयौँ दुखद दुर्घट्नाहरु भएको स्मरण गर्दै उहाँले कुनै पनि विषयलाई अनावश्यक रूपमा उठाइरहनु उचित नहुने उल्लेख गर्नुभयो । स्थानीय सरकारका नाताले पोखराको समग्र पर्यटन विकासको विषयमा चिन्तन गर्नु आफ्नो प्रमुख दायित्व हुने उहाँले बताउनुभयो । पोखराको पर्यटनलाई चलायमान बनाउने विषय आम सरोकारको विषय भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमले बताउनुभयो । “पोखरालाई कसरी चलायमान बनाउने, कसरी सुरक्षित बनाउने भन्ने कुरा यहाँहरूको पनि जिम्मेवारीको कुरा हो, प्रमुख गौतमले भन्नुभयो, उड्डयन क्षेत्रको प्रभाव केवल एक ठाउँमा मात्र केन्द्रित हुँदैन, यसले समग्र क्षेत्रमा प्रत्यक्ष असर पार्दछ ।” पोखराको आकाश सुरक्षित रहेको बताउँदै उहाँले कुनै प्रकारको शङ्का नपाल्न आग्रह समेत गर्नुभयो । संसार भरिका विमानस्थलहरूमा चराहरूको आवागमन भइरहने भन्दै उहाँले पोखरामा पनि त्यो हुनु सामान्य विषय भएको टिप्पणी गर्नुभयो । पोखरा महानगरपालिका सल्लाहकार परिषद्का संयोजक आनन्दराज मुल्मीले नेपालको आकाश सुरक्षित छैन भनेर बारम्बार गलत प्रचार भइरहेको भन्दै यसको संयुक्त प्रयास मार्फत प्रतिवाद आवश्यक रहेको बताउनुभयो । “नेपालको आकाश असुरक्षित होइन, तर विभिन्न बाहानाबाजीमा पोखराको आकाश समेत असुरक्षित भन्ने गरिएको छ, मुल्मीले भन्नुभयो, हामी यसलाई चुपचाप सह्यौ भने पोखराको एयरपोर्ट चल्न दिँदैनन्, त्यसैले पोखराको एयरपोर्ट चलाउनका लागि संयुक्त प्रयासको जरुरी छ ।” नेपाल उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष समेत रहनुभएका मुल्मीले नेपालका लागि थप हवाई मार्ग दिनका लागि छिमेकी मुलुकले गरेको कन्जुस्याइँ पनि अनौठो भएको टिप्पणी गर्नुभयो । नेपाल जस्तो सानो मुलुकका लागि हवाई रुट उपलब्ध गराउने विषयमा समेत आनाकानी गर्नुको कारणका बारेमा समेत गहन छलफल आवश्यक रहेको उहाँले बताउनुभयो ।
पोखरा: भदौं अन्तिम सातापछि पोखरामा पहिलो पटक पानी परेको छ । हिजो गण्डकी प्रदेशको जोमसोमतिर हल्का वर्षा भएको थियो । पानी परेपछि पोखरा लगायतका क्षेत्रका किसान खुशी भएका छन् । लामो समयसम्म पानी नपर्दा कृषि बालीमा नोक्सानी भोगिरहेका किसानलाई हल्का वर्षा हुँदा तोरी, गहुँलगायत बाली पनि सप्रिने किसानले आशा गरेका छन् ।
काठमाडौं: साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक उच्च अङ्कले गिरावट आएको छ । बुधबार नेपाल राष्ट्र बैंकले लघुवित्तलाई निर्देशन दिएका कारण बिहीबार ५७.७४ अङ्कले गिरावट आएको हो । राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुलाई १५ प्रतिशतभन्दा बढी लाभांश दिएमा बढी दिएको लाभांशको ५० प्रतिशत जगेडामा राख्नुपर्ने र १५ प्रतिशत सिएसआर र ३५ प्रतिशत ग्राहक संरक्षण कोषमा राख्नुपर्ने व्यवस्था गरेको छ । आज ४० भन्दा बढी लघुवित्त कम्पनीहरुको शेयर नकारात्मक सर्किट लागेको छ । नेप्से परिसूचक ५७.७४ अङ्कले घटेर २०२२.६४ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ११.९५ अङ्कले, फ्लोट इण्डेक्स ३.९८ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.९२ अङ्कले घटेको छ । आज कारोबारमा आएका २६० कम्पनीको ६३ लाख २६ हजार कित्ता शेयर दुई अर्ब ५२ करोड २७ लाख १३ हजार रुपियाँ बराबरको खरिद बिक्री भएको छ । बुधवारको तुलनामा नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । आज नेप्सेका १३ उपसमूहमध्ये लघुवित्त कम्पनीहरुको शेयरमूल्य उच्च दरले घटेको छ । लघुवित्त उपसमूहको परिसूचक ९.५४ प्रतिशत घटेको छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ । आज छिमेक लघुवित्त आठ करोड ७० लाख रुपियाँ बराबरको शेयर खरिद बिक्री भएको छ ।

