पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

काठमाडौं: सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले फोरजी सेवा गुणस्तर बनाएर आवश्यक पूर्वाधारको निर्माणपछि मात्रै फाइभ जी लागू गर्न उपयुक्त हुने बताउनुभएको छ । बिहीबार प्रविधि पत्रकार मञ्चले काठमाडौंमा आयोजना गरेको ‘फाइभ जी को चुनौती र आगामी बाटो’ अन्तरक्रिया कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै सञ्चार मन्त्री शर्माले यस्तो बताउनुभएको हो ।   उहाँले मुलुकमा फाइभ जी सेवा परीक्षण गर्दा देशका धेरै स्थानमा सामान्य सूचनाको पहुँच पुग्न नसकेको अवस्था रहेको बताउनुभयो । मन्त्री शर्माले फोर जी सेवा विस्तार भएको लामो समयसम्म काठमाडौं उपत्यकामा समेत प्रभावकारी हुन नसकेको भन्दै फोर जी सेवालाई व्यवस्थित बनाउन आवश्यक रहेको जानकारी दिनुभयो ।   मन्त्री शर्माले फोर जी सेवा लागू गर्दा लागेको लागत अनुसार प्रतिफल भए, नभएको विषयमा अध्ययन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । विश्वमा आउने नयाँ प्रविधिमा अगाडि बढ्दै जाने र त्यसबाट हुने फाइदाको समीक्षा गर्न सकेनौं भने लाभभन्दा नोक्सानी बढ्नसक्ने तर्फ सचेत हुन आवश्यक रहेको पनि बताउनुभयो ।   सञ्चारमन्त्री शर्माले भन्नुभयो, ‘‘नेपालमा फाइभ जी लागू हुँदा धेरै लाभ लिन सकिने भएकाले लागू गर्न आवश्यक छ । हामीले फो जीको स्टाटस थाहा नपाई फाइभजीमा कसरी अगाडि बढ्ने विषय छ । अहिले फोरजीको अवस्था के हो यसबाट कति लाभ लिएका छौं । फोरजी सेवामा कति लागत लगायौं र कति लागत उठ्यो भन्ने वास्तविक लेखाजोखा नगरी विश्वमा आउने नयाँ प्रविधिमा अगाडि बढ्दै जाने र त्यसबाट के भयो भन्ने विषयमा समीक्षा गर्न सकेनौं भने लाभभन्दा पनि नोक्सानी हुने जस्तो लाग्छ ।’’   मन्त्री शर्माले नेपाल भौगोलिक रुपमा कठिन अवस्थामा रहेको भन्दै उच्च हिमाली जिल्लामा समान्य सूचनाको पहुँच नै नपुगेको स्वीकार गर्नुभयो । उहाँले देशका धेरै भूभाग इन्टरनेटको न्यूनतम सेवासमेत नपुगेको बताउनुभयो । विभिन्न निकुञ्ज र जङ्गलको क्षेत्र इन्टरनेट र फोनको पहुँच बाहिर रहेको भन्दै जङ्गलको बाटोमा यात्रा गर्दा जनावरको आक्रमण भएमा सूचना दिन फोन नलाग्ने र नेट नै नचल्ने समस्या रहेको उहाँको भनाइ छ ।   ‘‘फोरजीमा भौगोलिक रुपमा कठिन अवस्थामा छौं । ग्रामीण क्षेत्रमा डाँडामा टेलिफोनको टावर भए पनि खोँचमा रहेको बस्तीमा टावर आउँदैन । गाउँपालिकाको कार्यालयमा फोन लाग्दैन फोरजीको विषय टाढाको कुरा हो । न्यूनतम फोन लाग्ने अवस्था समेत छैन भन्ने गुनासा आएका छन् । अझै पनि कतिपय स्थानमा टेलिफोन सेवा पुग्न सकेको छैन ।,’’ सञ्चारमन्त्री शर्माले भन्नुभयो, ‘‘उच्च हिमाली जिल्लामा समान्य सूचनाको पहुँच नै नपुगेको छैन । निकुञ्ज र जङ्गलको क्षेत्र समेत इन्टरनेटको पहुँचबाहिर छन् । जङ्गलको बाटोमा यात्रा गर्दा जनावरको आक्रमण भएमा सूचना दिन फोन नलाग्ने र नेट नै नचल्ने समस्या छ । पहिला सबै भूभागमा टेलिकमको सामान्य सेवाको पहुँच पु¥याउन आवश्यक छ ।’’   मन्त्री शर्माले सम्बन्धित निकायहरुलाई सबैभन्दा पहिला सबै भूभागमा टेलिकमको सामान्य सेवाको पहुँच पुर्‍याउन निर्देशन दिनुभयो । उहाँले उपत्यकाको धेरै स्थानमा समेत सामान्य सेवा नपुगेको र हाईवेका धेरै ठाउँमा फोन नलाग्ने, टावर नै नआउने अवस्था रहेको बताउनुभयो ।   फाइभ जी अघि सरकारले ठूलो लगानी गरेर फोरजीको पूर्वाधार तयार गरे पनि त्यो लगानी खेर जाने स्थिति रहेको उहाँको भनाइ छ । मन्त्री शर्माले फोरजी राम्रोसँग नचल्दै फेरि फाइभजीमा लगानी गर्दा सरकारी लगानी खेर जाने अवस्था आउनसक्ने बताउनुभयो ।   मन्त्री शर्माले विश्वमा आविष्कार भएको नयाँ–नयाँ प्रविधि आत्मसात गर्दै गर्दा उपभोक्ता र नेपालीको व्यक्तिगत विवरण सुरक्षा ग्यारेन्टीमा समेत ध्यान दिन आवश्यक रहेको बताउनुभयो । उहाँले नयाँ प्रविधि लागू गर्दा देशको अवस्था र विगतको लगानीलाई हेररे गर्नुपर्ने धारणा औंल्याउनुभयो ।   ‘‘काठमाडौं उपत्यकामा समेत फोरजी सेवा गुणस्तर छैन । यसलाई व्यवस्थित गर्ने गरेर मात्रै फाइभ जीमा प्रवेश गर्न उपयुक्त हो । मुलुक सूचना प्रविधिमा फड्को मार्नुपर्छ । त्यसका लागि सरकारले आवश्यक पूर्वाधार निर्माण गरी आधारहरु खडा गर्नुपर्छ । फाइभ जी सेवा लागू गरे पश्चात अर्थतन्त्रलगायत अन्य विषयमा कति लाभ हुन्छ भन्ने विषयको लेखाजोखा गर्न आवश्यक छ ।,’’ उहाँले भन्नुभयो, ‘‘अझै पनि फोन नलाग्ने क्षेत्रहरु धेरै छन् । त्यस्ता क्षेत्रहरुको पहिचान गरेर समस्या हल नगर्ने तर नयाँ नयाँ प्रविधिमा जाने अवस्था हेको छ । भौगोलिक अवस्था, प्रयोग गर्ने जनशक्ति अहिलेका चुनौती हुन् ।’’   त्यस्तै, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालले फाइभ जी सेवा अपेक्षा अनुसार नभएर पनि परीक्षण सुरु भएको बताउनुभयो । उहाँले सरकार, नियमन निकाय र आम उपभोक्ताहरुले सोचेको जस्तो नभएको गुनासो गर्नुभयो । अध्यक्ष खनालले फाइभ जी सेवा परीक्षणको दायरा बढाउन आग्रह गर्नुभयो । खनालले फाइभ जी प्रयोगकर्ताले परीक्षण गर्नुपनि परीक्षणको एउटा पाटो भएको बताउनुभयो ।   उहाँले प्राधिकरणले नेपालमा फाइभ जी ल्याउँदा हुने फाइदाहरुको विषयमा अध्ययन गरिरहेको जानकारी दिनुभयो । अध्यक्ष अनालले राज्यले लगानी गरे अनुसार कस्तो प्रतिफल आउने विषयमा अन्तिम रिपोर्ट आउन बाँकी रहेको बताउनुभयो । उहाँले नियमनकारी निकायले फाइभ जी विषयमा सुक्ष्म रुपमा व्यवस्थापन नगर्ने सोच भए पनि अब सुक्ष्म रुपमा व्यवस्थापन गर्ने सोचमा पुगेको जानकारी दिनुभयो ।

काठमाडौं:  तीन मिनेटभित्र १८४ वटा सेल्फी खिच्दै बलिउड अभिनेता अक्षय कुमारले गिनिज विश्व कीर्तिमान राखेका छन् । मुम्बईमा बुधबार आयोजित समारोहमा अक्षयले कीर्तिमान रचेका हुन् । रेकर्ड राखेसँगै कार्यक्रममा उनलाई गिनिज प्रमाणपत्र पनि प्रदान गरिएको छ ।   आफ्ना खतरनाक स्टन्टको कारण चर्चामा आउने अक्षय यसपटक चाहिं सेल्फीले चर्चामा आएका हुन् । उनको शीर्ष भूमिका रहेको फिल्म ‘सेल्फी’ पनि शुक्रबार विश्वव्यापी प्रदर्शन हुँदैछ । राज मेहता निर्देशित यो फिल्ममा उनले पहिलोपटक इमरान हासमीसँग स्क्रिन सेयर गरेका छन् ।   धेरै सेल्फी खिचेर अक्षयले अमेरिकाका जेम्स स्मिथको १६८ वटा सेल्फीको रेकर्डलाई तोडेका हुन् । हलिउड अभिनेता डाउने जोन्सनले पनि लण्डनमा आयोजित फिल्मको प्रिमियरमा तीन मिनेटभित्र १०५ वटा सेल्फी खिच्दै रेकर्ड राखेका थिए । यो अनौठो कीर्तिमान तोड्न पाउँदा खुसी व्यक्त गर्दै अक्षयले आफू उत्साहित भएको बताए ।   उनले भने, ‘यो अनौठो विश्व कीर्तिमान तोड्न पाउँदा र मेरा फ्यानसँग यो पल साझा गर्न पाउँदा म उत्साहित छु । मैले अहिलेसम्म प्राप्त गरेको सबै कुरा र मेरो जीवनको यो क्षणमा जहाँ छु, त्यो मेरा फ्यानको निःसर्त माया र समर्थनको कारण हो । यो उनीहरुका लागि श्रद्धा व्यक्त गर्ने एक शैली थियो जसले जीवनभर मेरो करिअरमा उभिएर मलाई माया गरे अनि स्वीकार ।’   यसैबीच, ‘सेल्फी’मा डायना पेन्टी र नुसरत भरुचा पनि मुख्य भूमिकामा छन् । फिल्म शुक्रबारदेखि रिलिज हुँदैछ ।

काठमाडौं:  नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको कारण कुनै पनि ठाउँमा चक्रपथ विस्तारमा समस्या नरहेको स्पष्ट पार्नुभएको छ ।   बिहीबार दोस्रो चरणको चक्रपथ विस्तारअन्तर्गत कलंकी–बसुन्धारा सडक खण्डकको अवलोकनका लागि उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत छन सङसँगै अनुगमन एवम् निरीक्षणका लागि त्यहाँ पुग्नुभएका उहाँले यस्तो बताउनुभएको हो ।   निर्देशक घिसिङले कलंकी बसुन्धारा सडक खण्डमा अब १५ वटा पोल जति हटाउन बाँकी रहेको र ति पोलहरु १५ दिन भित्रमा हटाइसक्ने जानकारी दिनुभयो । उहाँले विद्युत प्राधिकरणको कारण कुनैपनि ठाउँमा चक्रपथ विस्तारका लागि समस्या नरहेको स्पष्ट पार्नुभयो ।   निर्देशक घिसिङले भन्नुभयो, ‘‘अब यो रिङरोड विस्तारको कलंकी चाबहिलसम्मको विस्तारमा हामीले पोल सार्ने काम सकिसकेका छौँ । एक, दुई स्थानमा रोडको लेभल मिलाउनुपर्ने भएकाले १५ वटा जति पोल सार्न बाँकी रहेछ, १५ दिनजति लाग्छ । विद्युत प्राधिकरणको पोलको कारणले कुनैपनि ठाउँमा चक्रपथ बिस्तारको लागि समस्या छैन ।’’   त्यस्तै,  काठमाडौं चक्रपथ सुधार योजनाकी योजना प्रमुख सजना अधिकारीले चक्रपथ विस्तारको कलंकीदेखि बसुन्धरासम्म ८.२ किलोमिटर दोस्रो चरणमा सुरु हुन लागेको बताउनुभयो । उहाँले जसअन्तर्गत रहेका करिव तीन सय बिजुलीका पोलहरु हटाइसकेको र अब २२ वटा पोलहरु मात्रै रहेकाले सडक विस्तारका लागि कुनै समस्या नभएको जानकारी दिनुभयो ।   उहाँले सडक छेउमा रहेका १९ वटा मन्दिरहरुमा गोंगबुमा रहेको मन्दिर बाहेक अन्य सबै मन्दिरहरु स्थानान्तरण गरिसकेको पनि बताउनुभयो । उहाँले दोस्रो चरणमा चक्रपथ विस्तार कलंकीदेखि बसुन्धारासम्म मात्रै रहेको प्रमुख अधिकारीको भनाइ छ ।   ‘‘चक्रपथ विस्तारको कलंकीदेखि बसुन्धरासम्म ८.२ किलोमिटर दोस्रो चरणमा सुरु हुँदैछ । यसअन्तर्गत हाम्रा दुई, तीन सय वटा बिजुलीका पोलहरु थिए, अब २२ वटा जति पोलहरु हटाउन बाँकी छ, त्यो पनि प्रोसेसमा छ, १५ दिन भित्र भत्काउने भन्नुभएको छ । १९ वटा मन्दिरहरु थिए, ती पनि सबै भत्काइएका छन् ।,’’ प्रमुख अधिकारीले भन्नुभयो, ‘‘रुख, चौतारोहरु पनि हटाइसकेका छौँ । कलंकीदेखि स्युचाटारसम्मको २२ वटा बिजुलीका पोलहरु सार्नुपर्नेछ । दोश्रो चरण भनेको कलंकीदेखि बसुन्धारासम्मको हो । महाराजगञ्ज तेस्रो चरणको हो ।’’   दोस्रो चरणको चक्रपथ विस्तारअन्तर्गत आज (बिहीबार) बिहान मन्त्री श्रेष्ठसहित नेपालका लागि चिनियाँ राजदुत छन सङ, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलगायतले सडक अनुगमन एवम् निरीक्षण गर्नुभएको थियो ।

पोखरा:   पोखरेली व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाहरुले बढाएको ब्याजदर नघटाए अर्थमन्त्रालय र राष्ट्र बैंक घेर्ने चेतावनी दिएका छन् ।  पोखरा र लेखनाथ क्षेत्रका व्यवसायीहरुले बैंक तथा बित्तीय संस्थाहरुको चर्को ब्याजबाट आहत भएपछि आज पोखरामा सडक आन्दोलन गर्दै यस्तो चेतावनी दिएका हुन् ।  कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका अध्यक्ष सञ्जीव बहादुर कोइरालाले बैंक तथा बित्तीय संस्थाहरुले एकोहोरो रुपमा ब्याजदर वृद्धि गरेको बताए ।  ‘व्यवसायीहरुले  बैंक तथा बित्तीय संस्थाबाट ऋण लिने क्रममा गरिरहेको सम्झौता विपरित ब्याजदर वृद्धि गरिएको छ, कोइरालाले भने, ‘बैंक तथा बित्तीय संस्थाहरुले एकोहोरो रुपमा ब्याजदर वृद्धि गरेर व्यापारीहरुलाई मारमा पारेका छन्, ऋण तिदैनौं भनेका छैनौं तर एकोहोरो रुपमा वृद्धि गरिएको ब्याजदर घटाउनुपर्छ ।’ राजनीतिक दलहरुले हरेक कुरामा राष्ट्रिय सहमति खोज्दै आएपनि व्यवसायीहरुको गुनासोमा चासो नदेखाएको उनले बताए ।‘व्यापारीहरुलाई चर्को ब्याजदरले मारमा पार्नु भनेको अर्थतन्त्र धरायसी बनाउनु हो, राज्यले कुनै किसिमको सहयोग गर्न सकेको छैन, उनले भने, ‘राजनीतिक दलहरुले राष्ट्रिय सहमतिको नारा लगाएपनि व्यापारीको पक्षमा कुनै चासो नदेखाउन दुखद पक्ष हो ।’ उनले व्यवसायीहरुले तिर्न सक्ने कर्जाको कार्ययोजना तयार गरेर नै  बैंक तथा बित्तीय संस्थाहरुबाट कर्जा लिए पनि सम्झौता विपरित एकोहोरो ब्याजदर वृद्धि गर्दा व्यवसायी धरायसी भएको  बताए ।  विरोध कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापतिले बैंक तथा बित्तीय संस्थाहरुले दैनिक फोन गरेर कर्जा चुक्ता गर्न दवाव दिदा व्यवसायीहरुमा नकारात्मक असर परेको बताए ।  ‘बैंक तथा बित्तीय संस्थाहरुले दिनहुँ व्यवसायीहरुलाई ऋण तिर्न दवाव दिदैं आएका छन्, व्यवसायीहरुको घर लिलामी गर्छु भन्छन्, प्रजापतिले भने, ‘बैंक तथा वित्तिय संस्थाबाट सम्झौता भएर ऋण लिएको छ त्यसको विपरित एकोहोरो रुपमा ब्याजदर वृद्धि भएको छ, कसरी तिर्ने ?’ आजबाट सांकेतिक रुपमा विरोधको कार्यक्रम सुरु गरेका छौं, बैंक तथा बित्तीय संस्थाहरु हेरेका बसेका छन्, यसरी नै हेरेर बसे अर्थमन्त्रालय र राष्ट्रबैंक घेर्न व्यवसायी पछि हट्ने छैनन्, त्यसबाट हुने क्षतिको जिम्मा सरकारले लिनुपर्ने व्यवसायीले बताएका छन् ।  पोखरा र लेखनाथ उद्योग वाणिज्य संघका पदाधिकारी तथा व्यवसायीहरुले आज (बुधबार) पोखराको विपीचोकमा चर्को ब्याजदर घटाउने मागसहितकोे ‘उच्च सेवा शुल्क खारेज गर, गरिखाने मर्दै छ सरकारको अर्थतन्त्र घट्दै छ,उद्योग व्यापार नबाचे अर्थतन्त्र बाच्दैन, व्याजदर चर्को भो गरिखान गाह्रो’ भो लगायतका नारासहित विपीचोकमा शान्तिपूर्ण आन्दोलन गरेका हुन् ।         

काठमाडौँ :  वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइत ‘इसा अवार्ड’बाट सम्मानित भएका छन् ।  बहराइनमा मंगलबार आयोजित कार्यक्रममा बहराइनका राजा सेख हमद विन इसा अल खालिफाले उनलाई अवार्ड प्रदान गरेको प्रतिष्ठानका जनसम्पर्क अधिकृत सुनिता केसीले जानकारी दिइन् ।    बहराइनका राजा अल खालिफाले डा. रुइतलाई १० लाख डलरबराबरको अवार्डसहित सम्मानपत्र प्रदान गरेका छन् ।   ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशकसमेत रहेका रुइतलाई आँखा उपचार गरेर अन्धोपन हटाउन खेलेको भूमिकाको योगदान गर्दै अवार्ड प्रदान गरेको हो ।    अवार्डका लागि एक सय ४५ व्यक्ति तथा संस्थाले मनोनयन दर्ता गराएका थिए । अन्तिम ६ व्यक्ति तथा संस्थाको सूचीमा परेर रुइत छनोट भएका थिए ।    बहराइनका राजा सेख हमद विन इसा अल खालिफाले सन् २००९ मा पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापना गरेको ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले अवार्ड प्रदान गर्दै आएको छ ।    डा. रुइतले मोतियाबिन्दु उपचार गर्ने सरल विधि विकास गरेका छन् । उनले प्रतिष्ठानमा अन्धोपन हटाउन आँखामा हाल्ने अन्तर्राष्ट्रियस्तरको लेन्स ‘इन्ट्राअकुलर लेन्स’ उत्पादन गर्दै आएका छन् । 

काठमाडौं:  नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य डा.चन्द्र भण्डारीलाई भोलि (शुक्रबार)बाट ठोस खाना खुवाइने भएको छ ।   कांग्रेस नेता योगराज कँडेलले सांसद भण्डारीलाई भोलीबाट मुखबाट तरल पदार्थ खुवाइँदै आइएकोमा भोलिबाट ठोस खाना दिइने जानकारी दिनुभयो ।    कँडेलले सांसद भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गइरहेको र सबै पारामिटर (मानक)हरु सामान्य रहेको बताउनुभयो ।    भण्डारीलाई कम्तीमा २१ दिनसम्म ब्याण्डेजमा रहनुपर्ने हुँदा इन्फेक्सन हुने सम्भावना भएकाले शुभचिन्तकलाई तत्काल भेटघाट नगर्न उपचारमा संलग्न चिकित्सकको सुझाव रहेकने भनाइ छ ।   नेता भण्डारीको थप उपचार यही फागुन ४ गतेदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा भइरहेको छ ।   फागुन ३ गते राति आफ्नो निवासमा ग्यास सिलिण्डरबाट ग्यास चुहिएर कोठामा आगो लाग्दा सांसद भण्डारीसहित उहाँकी आमा हरिकला भण्डारी गम्भीर घाइते हुनुभएको थियो । घटनालगत्तै उहाँहरू दुवै जनाको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो ।   आमा हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमै निधन भएको थियो । नेता डा.भण्डारीलाई नेपालमा यथोचित उपचार सम्भव नभएपछि फागुन ४ गते श्री एयरलाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा थप उपचारका लागि लगिएको थियो । नेता भण्डारीको दुवै हात र दुवै गोडा गरी २५–३० प्रतिशत जलेको थियो ।

पोखरा:  पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि रात्रिकालीन उडानका लागि तयार भएको छ ।   विमानस्थलमा आजदेखि रात्रिकालीन उडानका लागि इन्स्ट्रमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली आजदेखि लागू भएको विमानस्थलले जनाएको छ ।   ‘यो प्रणाली लागू भएसँगै पोखरा विमानस्थलबाट रातिको समयमा पनि सहज रुपमा उडान र अवतरण गर्न सकिनेछ,’ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमले भने ।   बुद्ध एयरको जहाज आइएफआर प्रणालीबाट बिहानको पहिलो फ्लाइट विमानस्थलमा अवतरण गरिसकेको विमानस्थलले जानकारी दिएको छ । यती एअरलाइन्स स्रोतका अनुसार उक्त प्रणालीबाट यतीले शुक्रबार जहाज उडान र अवतरण गर्ने तयारीमा छ ।   विमानस्थल प्रमुख गौतमका अनुसार मंगलबार र बुधबार आइएफआर प्रणालीको परीक्षण गरिएको थियो । ‘अब विमानस्थल बिहान ६ बजेदेखि राति १२ बजेसम्म गरी १८ घन्टा सेवा दिन तयार छ,’ उनले भने । अहिले दिउँसो ४ बजेसम्ममात्रै उडान हुँदै आएको थियो ।   विमानस्थल सबै उडानका लागि योग्य रहेको भन्दै नेपाल नागरिक उडड्यन प्राधिकरणले ‘एरोनोटिकल इन्फरमेसन पब्लिकेसन (एआइपी) प्रकाशित गरेको थियो । सो एआइपी प्रकाशन भएको ४२ दिनपछि विमानस्थलमा सबै उडान गर्न योग्य भएको मानिने उनले बताए । सूचना प्रकाशन भएको आज ४२ दिन पुगेको छ ।   आइएफआर पूर्ण यान्त्रिक प्रणाली भएकाले भिजुअल फ्लाइट रुल्स (भिएफआर) को तुलनामा निकै सुरक्षित र सहज भएको दाबी नागरिक उड्डयन प्राधिकरणको छ । गत पुस १७ गतेदेखि सञ्चालनमा आएको विमानस्थलबाट अहिले आन्तरिक उडान मात्रै हुँदै आएको छ ।   आजदेखि रात्रिकालीन उडानका लागि तयार भए पनि अन्तर्राष्ट्रिय उडान भने अझै अन्योल छ । केही दिनअघि विमानस्थल अनुगमनमा आएका पर्यटनमन्त्री सुदन किरातीले अन्तर्राष्ट्रियस्तरमा हवाइ सेवा सुरु गर्न कुटनीतिक पहल भइरहेको जानकारी दिएका थिए ।   बुद्धले फागुन २५ गतेदेखि रात्रिकालीन उडान गर्ने   बुद्ध एअर फागुन २५ गतेदेखि व्यवसायिक रात्रिकालीन उडान भर्ने भएको छ । एअरका सूचना अधिकारी दीपेन्द्र कर्णले रात्रिकालीन उडानका लागि ४ वटा जहाज पोखरामा रहने जानकारी दिए ।   ‘बुद्धले पोखराबाट जुन/जुन सहरमा उडान गरिरहेको छ ती सहरमा सम्भव भएसम्म रातिको समयमा उडान गर्ने तयारी छ,’ उनले भने ।   बुद्धले काठमाडौंसहित नेपालगञ्ज, भैरहवा र भरतपुरमा पोखराबाट उडान गरिरहेको छ ।

बागलुङ : गाई काटेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले ४ जनालाई पक्राउ गरेको छ। जैमिनी नगरपालिका वडा नम्बर ५ बिनामारेमा गाई काटेका ४ जनालाई प्रहरीले सोमबार रंगेहात पक्राउ गरेको हो।    पक्राउ पर्नेमा सोही स्थानका २७ वर्षीय डिलबहादुर परियार, ३५ वर्षीय हरिबहादुर सार्की, २४ वर्षीय बिसन दर्जी र ३८ वर्षीय टंकबहादुर सार्की छन्।    डिल बहादुर परियारको गोठमा चार जना मिलेर गाई काटिरहेको सूचनाको आधारमा पुगेको प्रहरीले उनीहरुलाई रंगेहात पक्राउ गरिएको प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिए।    पक्राउ परेकाहरुलाई पशुपंक्षी सम्बन्धी कसूरमा बुधबार मुद्धा दर्ता गरी जिल्ला अदालत बागलुङबाट थप अनुसन्धानको लागि ५ दिनको म्याद थप गरिएको प्रनि खड्काले बताए।

सुर्खेत:  कर्णाली प्रदेश प्रहरी गण सुर्खेतमा कार्यरत एक जवान मृत भेटिएका छन् । बिहीबार बिहान करिब तीन बजेतिर प्रहरी जवान कवीन्द्र राम कामी गोली लागेको अवस्थामा मृत भेटिएका हुन् ।    प्रहरीका अनुसार को दायाँ कन्चटमा गोली लागेको छ । गणको ४ नम्बर प्रहरी पोस्टमा कामीको बिहीबार बिहान एक बजेदेखि तीन बजेसम्मको ड्युटी थियो ।   आफूले प्रयोग गरिरहेको एसएलआर बन्दुकले कन्चटमा गोली हानेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार दार्चुलाको अपि नगरपालिका–६ घर भई कालिकोटको सुकाटिया प्रहरी चौकीमा दरबन्दी भएका कामी केही महिनादेखि गणमा कार्यरत थिए ।    जिल्ला प्रहरी कार्यालय सुर्खेतले घटनाको अनुसन्धान गरिरहेको छ । प्रहरी निरीक्षक मिलन पाण्डेको नेतृत्वमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।