काठमाडौं: सेयर बजारमा तीव्र उतारचढावबीच एकल अंकको सामान्य वृद्धि भएर बन्द भएको छ । नेपाल राष्ट्र बैंकले लघुवित्तलाई अनियन्त्रित कर्जा लगानीमा कडाइ गरेपछि गत बिहीबार अधिकांश लघुवित्तको सेयरमूल्यमा गिरावट भएर नकारात्मक सर्किट मूल्यमा बन्द भएको थियो भने सेयर बजार परिसूचक नेप्से ५७ अंकले घटेको थियो । आइतबार सुरुवाती समयमा ६१ अंकको उच्च गिरावट भएको सेयर बजारमा तीव्र उताचढावबीच अन्तिम समयमा सामान्य बढेर बन्द भएको छ । आइतबार नेप्से ४.५५ अंक (०.२२ प्रतिशत) ले वृद्धि भएर २०२७.१९ अंकमा बन्द भएको छ । बैंकिङ, जीवन बीमा, उत्पादनमूलक र व्यापार उपसूचकमा गिरावट हुँदा लघुवित्त उपसूचक भने करिब ३ प्रतिशतले बढेको छ । बैंकिङ उपसूचक ०.८९ प्रतिशत, जीवन बीमा उपसूचक ०.१४ प्रतिशत, उत्पादनमूलक उपसूचक ०.३० प्रतिशत र व्यापार उपसूचक १.४० प्रतिशतले गिरावट भएको छ । लघुवित्त उपसूचक सर्वाधिक २.७८ प्रतिशतले वृद्धि हुँदा होटल तथा पर्यटन उपसूचक २.३४ प्रतिशतले बढेको छ । आइतबार बजारमा साढे २ अर्ब भन्दा माथिको कारोबार भएको छ । ५० हजार ५३२ वटा कारोबारमा ६५ लाख १५ हजार ८५२ कित्ता धितोपत्र किनबेच हुँदा २ अर्ब ५२ करोड ५० लाख ७२ हजारको कारोबार भएको छ । जसमध्ये हिमालयन डिष्टिलरीको सर्वाधिक १० करोड ७९ लाखको कारोबार हुँदा एनआईसी एशिया बैंकको ७ करोड ८७ लाख र छिमेक लघुवित्तको ७ करोड १७ लाखको कारोबार भएको छ । आइतबार बजारमा कुल २१७ कम्पनीको सेयर कारोबार भएकोमा १४६ कम्पनीको सेयरमूल्य बढेको छ । ६२ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ९ कम्पनीको सेयरमूल्य भने स्थिर छ । विजय लघुवित्तको सेयरमूल्य सर्वाधिक ७.९४ प्रतिशतले वृद्धि हुँदा ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्य ७.६० प्रतिशत र अभियान लघुवित्तको सेयरमूल्य ७.२६ प्रतिशतले बढेको छ । जनउत्थान सामुदायिक लघुवित्तको सेयरमूल्य ५.२६ प्रतिशतले गिरावट हुँदा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सेयरमूल्य ३.९४ प्रतिशत र नेस्डो समृद्धि लघुवित्तको सेयरमूल्य ३.२७ प्रतिशतले गिरावट भएको छ ।
काठमाडौंं : चालक अनुमतिपत्रका लागि लिइने प्रयोगात्मक परीक्षा (ट्रायल) मा ७० प्रतिशत ल्याउँदा पास हुने व्यवस्था लागू भएसँगै चालक अनुमतिपत्र पास हुनेको सङ्ख्या १० देखि २० प्रतिशतसम्म बढेको छ। बागमती प्रदेश सरकारले गरेको निर्णयका आधारमा काठमाडौं उपत्यकाका चार वटै यातायात व्यवस्था कार्यालयले यो महिनाको सुरुदेखि नै ७० प्रतिशत ल्याउँदा पास हुने नियम लागू गराएका हुन्। नियम लागू भए पनि दुई पाङ्ग्रे सवारीसाधनमा २० प्रतिशतसम्म र चार पाङ्ग्रेमा १० प्रतिशतसम्म पास हुने दर बढेको एकान्तकुनास्थित कार्यालयले जानकारी दिएको छ। कार्यालयको चाप व्यवस्थापन गरेर अनलाइन फाराम भर्नेको परीक्षा लिइरहेको कार्यालयका प्रमुख राजकुमार कपालीले बताए। सुरूमा चाप बढी भए पनि पुनःट्रायल दिने कम हुने उनको भनाइ छ। लिखित परीक्षा पास गरेका सेवाग्राहीले एक पटक प्रयोगात्मक परीक्षा पास नहुँदा पुनःदुई पटक मौका पाउने गरेका छन्। उनले भने, ‘एकै पटकमा धेरै पास भएपछि दोहोर्याएर र तेहेर्याएर दिने घट्ने भए।’ प्रयोगात्मक परीक्षामा ७० प्रतिशत ल्याउँदा नै पास हुने नियम अरु प्रदेशले विगतका वर्षमा नै लागू गरिसकेका थिए। सबैभन्दा बढी सेवाग्राहीको चाप रहेको बागमती प्रदेशले भने विभिन्न कारण देखाएर ढिला मात्रै सुरु गरेको थियो। अरू प्रदेशमा चाप अतिन्यून रहेको र उपत्यका बाहिरका जिल्लास्थित कार्यालयको एक सातामा आउनेभन्दा उपत्यकामा एक दिनमा चाप बढी रहेको प्रमुख कपालीले बताए। विगतमा शतप्रतिशत ल्याउँदा मात्रै पास हुने नियम लागू हुँदा दुईपाङ्ग्रे सवारीसाधनमा ३५ देखि ४० प्रतिशत हाराहारीमा सेवाग्राही पास हुने गरेकामा अहिले ६० प्रतिशत पुगेको पाइन्छ। हलुका सवारी चालकको परीक्षामा सहभागीमध्ये पहिले २० पास हुने गरेकामा अहिले ३५ देखि ४० प्रतिशतसम्म पुगेको कार्यालयले जनाएको छ।
पोखरा: गण्डकी प्रदेश सभा सदस्य जीतबहादुुर शेरचनले अहिले सांसद तथा मन्त्रीहरुले सरकारी कर्मचारी तथा प्रहरीको सरुवा गर्ने काम मात्र गरेको बताएका छन् । गण्डकी प्रदेश सभाको पहिलो अधिवेशनको १४औं बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘अहिले सांसद तथा मन्त्रीहरुको अरु काम देखिएको छैन्, सरकारी कर्मचारी र प्रहरीको सरुवा गर्ने मात्र भएको छ, शेरचनले भने, ‘अहिलेबागलुङको बुर्तिबाङ मालपोत कार्यालयमा कर्मचारी छैन्, जान मान्दैन, मालपोत पठाएको कर्मचारी मन्त्री सांसदको फोर्स लगाएर नगरपालिकामा बसेको छ ।’ प्रदेश सभामा सांसद शेरचनले सुगम र दुर्गममा भएका आफु नजिकको सरकारी कार्यालयमा सरुवा गर्ने परिपाटी रहेको बताए । ‘सांसद मन्त्रीहरुले अहिले पनि दुर्गम जिल्लामा भएका आफु नजिक कर्मचारीहरुलाई सुगम जिल्लातिर सरुवा गर्ने गरेका छन्, उनले भने, ‘आज मन्त्रालयमा एउटा फाइल लिएर जाने हो भने, १५/२० ठाउँ हस्ताक्षर गर्न पर्छ, आवश्यक रहेको क्षेत्रमा पूर्वाधार निर्माण गर्न ४/५ ठाउँमा हस्ताक्षर गरे हुँदैन ।’ आज गण्डकी प्रदेश सभामा गण्डकी प्रदेश निजामति सेवाको गठन,सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशमा छलफल भएको थियो ।
काठमाडौं: ललितपुर महानगरपालिकाले आफ्नो मातहतमा रहेका १० वटा सहकारी संस्थाको इजाजत खारेज गरेको छ । महानगरको सहकारी ऐन, २०७५ अनुसार ५ वर्ष भन्दा बढी अवधिदेखि लेखा परीक्षण तथा साधारण सभा नगर्ने र विवरण नबुझाउने सहकारी संस्था खारेजीमा परेको हो । महानगरपालिकाले २०७९ असार १५ मा एक सूचना निकाल्दै सम्पर्कका लागि बोलावट भएका सहकारीहरुबाट सम्बन्धित पक्ष सम्पर्कमा नआएकोले २९ माघको बैठकले उक्त सहकारी संस्थाहरु खारेज गर्ने निर्णय भएको महानगरले जनाएको छ । खारेज भएका १० वटा सहकारी संस्थाहरुले तिर्नु बुझाउनु पर्ने कुनै दायित्व भए सम्बन्धित व्यक्तिले प्रमाण सहित साविकका सञ्चालक समितिका पदाधिकारीहरुसँग सम्पर्क गरी फरफारक गर्न पनि महानगरले भनेको छ । महानगरको सूचनामा भनिएको छ, ‘अव उप्रान्त उक्त संस्थाहरुको नामबाट कुनै पनि कारोवार नगर्न/नगराउनु हुन समेत जानकारी गराइन्छ । ’ हेर्नुहोस् खारेजीको सूचीः
काठमाडौं: साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार तोलामा एक सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला चार सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख दुई हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख एक हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला एक लाख दुई हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख एक हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भएको थियो। शुक्रबारको तुलनामा आइतबार चाँदी प्रतितोला १५ रुपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय १२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
पोखरा: पोखरा महानगरपालिका वडा नम्बर ४ का वडा सदस्य सञ्जय कुमार श्रेष्ठको निधनमा महानगरले आज (आइतबार) १ बजेपछि महानगर तथा सबै वडामा शोक सभा गर्दै कार्यालय बन्द रहने जनाएको छ । वडा सदस्य श्रेष्ठको निधनपछि महानगरले एक सूचना प्रकाशित गर्दै पोखरा महानगरपालिका वडा नम्बर ४ को कार्यालय पूर्णरुपमा बन्द गर्ने र १ बजेपछि महानगरपालिकाको कार्यालय, महाशाखा, शाखा कार्यालय र सबै वडा कार्यालयमा १ बजेपछि शोक सभा गर्दै कार्यालय बन्द रहने जनाएको हो । वडा सदस्य श्रेष्ठको आइतबार बिहान फिस्टेल हस्पिटलमा उपचारको क्रममा निधन भएको थियो ।
काठमाडौं: राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ११ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७१ पैसा कायम गरिएको छ। शुक्रबार डलर एकको खरिददर १३२ रूपैयाँ ८ पैसा र बिक्रीदर १३२ रूपैयाँ ६८ पैसा तोकिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ३ पैसा बढेको हो। त्यस्तै, युरोपियन युरो एकको खरिदमा भने १३९ रुपैयाँ ८५ पैसा र बिक्रीमा १४० रुपैयाँ ४९ पैसा पाइन्छ। त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५८ रुपैयाँ ९२ पैसा र बिक्रीदर १५९ रुपैयाँ ६४ पैसा तोकिएको छ। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८९ रुपैयाँ ६३ पैसा र बिक्रीमा ९० रुपैयाँ ४ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ३८ पैसा र बिक्रीमा ९७ रुपैयाँ ८२ पैसा पाइन्छ। यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ २० पैसा र बिक्रीमा ३६ रुपैयाँ ३६ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ २१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३७ पैसा तोकेको छ। युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ९७ पैसा र बिक्रीमा ३६ रुपैयाँ १३ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २९ रुपैयाँ ७८ पैसा र बिक्रीमा २९ रुपैयाँ ९२ पैसा पाइन्छ। आइतबार कुवेती दिनार एकको खरिदमा ४३० रुपैयाँ ४४ पैसा र बिक्रीमा ४३२ रुपैयाँ ३९ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ४७ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ६ पैसा तोकिएको छ।
बुटवल: बुटवलका पत्रकार मनोज हितंगाको सवारी दुर्घटनामा परि मृत्यु भएको छ । गए राती करिब ११ बजे बुटवलको नयाँ बसपार्क नजिक हितंगा सवार मोटरसाइकलाई बसले ठक्कर दिएको थियो । बुटवलको मिलन चोकबाट अस्पताललाईन तर्फ गईरहेका हितंगा सवार लु ८ प ९०६८ नम्बरको मोटरसाइकल र मिलन चोक तर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०७–०२–००१ ख १२२६ नम्बरको यात्रु बाहक बस बसपार्क नजिकै ठक्कर खाँदा उक्त दुर्घटना भएको थियो । दुर्घटनाबाट गम्भीर घाइते हितंगालाई स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगेकोमा उपचारकै क्रममा निधन भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । लामो समयदेखि टेलिभिजन क्यामेरा पर्सनको रूपमा कार्यरत हितंगा पछिल्लो समय एनटिभीको लुम्बिनी प्रदेश कार्यालयमा कार्यरत हुनुहुन्थ्यो । पाल्पाको तानसेनका स्थायी बासिन्दा हितंगा करिब १५ वर्ष देखि बुटवलको बुद्ध नगरमा बस्दै आउनु भएको थियो ।
सर्लाही: सर्लाहीको हरिवनस्थित चतुर्भुजेश्वर जनता बहुमुखी (चजब) क्याम्पसले स्ववियु निर्वाचन स्थगित गर्ने निर्णय गरेपछि विद्यार्थीहरु आन्दोलित भएका छन् । उनीहरुले निर्धारित मिति चैत ५ गते नै स्ववियु निर्वाचन गराउनुपर्ने माग गर्दै आज बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुखेपोखरीमा टायर बालेर प्रदर्शन गरे । उनीहरुले क्याम्पस प्रमुखको कार्यकक्ष र प्रशासन शाखामा तालाबन्दीसमेत गरेका छन् । अखिल क्रान्तिकारीका नेता विवेक मैनालीले क्याम्पस प्रमुख र व्यवस्थापन प्रमुखले विद्यार्थीहरुसँग समन्वय नगरी शुक्रबार राति एकलौटी ढंगले स्ववियु निर्वाचन स्थगित गर्ने निर्णय गरेकाले विरोध प्रदर्शन गरेको बताए । क्याम्पस प्रमुख गंगा बहादुर भुजेलले भने विद्यार्थी भर्नाको विषयमा सामान्य विवाद रहेकाले त्यसलाई समाधान गरेर मात्र स्ववियु निर्वाचन गराउने भनेर स्थगित गरिएको बताए । ‘भर्नाको विषयमा विवाद भएकाले स्ववियु निर्वाचन अहिले स्थगित गर्ने निर्णय गरेका हौं,’ क्याम्पस प्रमुख भुजेलले भने, ‘विवाद समाधानका लागि आज सर्वपक्षीय भेला पनि बोलाएका छौं ।’ विवाद के हो ? क्याम्पस प्रमुख भुजेलका अनुसार स्ववियु निर्वाचनका लागि फागुन ५ गते ४ बजेसम्म विद्यार्थी भर्नाको समय तोकिएको थियो । तर केही विद्यार्थीहरुको भर्ना फारम ४ बजेभित्रै आए पनि भर्ना फारममा टाँस्नुपर्ने फोटो ५ मिनेट ढिला आएकाले विवाद भएको उनले बताए । ‘केहीले फारम चार बजेभित्रै आएको हो, फोटो मात्र ५ मिनेट पछि आएको त हो नि, त्यही भएर भर्ना लिनुपर्छ भन्नुभयो । केहीले फेरि ४ बजेपछि आएकोलाई किन स्वीकार गर्ने भन्नुभयो, त्यही भएर विवाद भयो,’ क्याम्पस प्रमुख भुजेलले भने । तर अखिल क्रान्तिकारीका नेता मैनालीले भने ५ मिनेटमात्रै ढिलो फोटो आएको भन्ने क्याम्पस प्रमुखको भनाइ सत्य नभएको बताए । ‘त्यो दिन म क्याम्पसमै थिएँ, ५ मिनेट ढिलो होइन, पाँच बजेसम्म पनि फोटो आएको छैन,’ उनले भने । भर्ना बन्द गरेर निस्किने बेला क्याम्पस प्रमुखले के गर्ने भनेर ‘भोलि सन्चालक समितिलाई सोध्छु’ भनेको बताउँदै मैनालीले भने, ‘झगडाको बिउ उहाँले नै रोप्नुभयो ।’ स्ववियु निर्वाचन स्थगित गर्न नपाइने भन्दै नेकपा एमाले बाहेकका राजनीतिक दल निकट विद्यार्थी संगठनहरुले संयुक्त विज्ञप्ति जारी गरेका छन् । उनीहरुले स्ववियु निर्वाचन स्थगित गर्ने निर्णय खारेज नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनीहरुले क्याम्पस प्रमुखको मिलेमतोमा एमाले निकट अनेरास्ववियुका एक सय जनाभन्दा बढी विद्यार्थीहरुलाई पूर्वनिर्धारित भर्ना तालिकामा तोकिएको समयभन्दा पछि भर्ना गर्न खोजिएकाले ती फारम रद्द हुनुपर्ने मागसमेत गरेका छन् ।

