पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

काठमाडौं : पर्वतीय पर्यटनका लागि दोर्दी गाउँपालिकामा नयाँ रूट सार्वजनिक गरिएको छ । दोर्दीको नौथरसेराबाट सुरू गरेर इलमपोखरी, लिपे लेकहुँदै दाम्राबबाट फेरि नौथरसेरा झर्ने ४ दिने ट्रेक गर्न सकिने छ । काठमाडौंबाट पोखराहुँदै दोर्दी गाउँपालिका पुग्न सकिनेछ ।    मानव वस्ती नभएको सो क्षेत्रमा ट्रेकिङ गरिरहेका पर्यटकलाई सहजका लागि  पालिकाले रुटमा पर्ने भेडिगोठहरूलाई सेल्टरको रुपमा विकसित गर्ने कार्य गरिरहेको गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले बताए ।    ‘यस गाउँपालिका अत्यन्त्यै सम्भावना भएको क्षेत्र हो । केही दिनको क्याम्पिङ ट्रेकका लागि अत्यन्तै उपयुक्त गन्तव्यको रुपमा यस गाउँपालिकाभित्र अनेकौं स्थानहरू छन्।’ अधिकारीले बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा भने ।   नौथर शेरा इलमपोखरी,लिपे लेक, नौटांचे, मुल्मचे, उखण्ड ताँजे नौथर शेरापुग्ने ८ दिनको रूट छ । यस्तै, नौथर शेरा ईलमपोखरी, लिपे लेक, नौटांचे, मुल्मचे, उखण्डबाट मेमे पोखरी, कुम्रो डाँडा बाह्र पोखरी हुँदै हिलेटक्सार, पुरानो दुवार वा पिसहिल तर्फबाट बेसीसहर ११ दिनको ट्रेकिङ रुट रहेको बताइएको छ ।   तर,अहिलेलाई ४ दिने रुटलाई गाउँपालिकाले खुल्ला गरेका छ । यस रुटमा ट्रेकिङको क्रममा आवश्वक पर्ने पानी,हिँड्न उपयुक्त बाटोको प्रबन्ध गाउँपालिकाले गरेको छ । पर्यटनका लागि चालु आर्थिक वर्षमा गाउँपालिकाले ५९ लाख रुपैयाँ छुटाएको र आगामी वर्ष थप रकम व्यवस्था गरिने अध्यक्ष अधिकारीले जानकारी दिए ।    लिपेको सिधै अगाडि देखिने मिमालचुलि हिमाल (७८८३ मि.) पनि दोर्दी गाउँपाकिकामा पर्दछ । हिमाल चड्ने सम्भावनाको खोजि गाउँपालिकाले गरिरहेको छ । लिपे लेकबाट नौटाँचे,दूध पोखरी हुँदै गोर्खाको अजिरकोट निस्केर रुबिनाला पास हुँदै लार्केपास छिचोलेर मनाब निस्कन सकिन्छ ।   मानव वस्ती नभएकाले यो रूटमा मोटरबाटो छैन । जसकारण यस रुटमा ट्रेकिङका लागि सवारीसाधनले हुने कुनै अवरोध हुँदैन । पश्चिमतिरको रुट बाह्रपोखरी हुँदै मेमे पोखरी जान सकिन्छ । पूर्वतिरको रुट इलमपोखरीहुँदै लिपे जान सकिन्छ । पूर्वी रुटको लिपे र पश्चिम रुटको मेमेपोखरी जोड्नका लागि अहिले काम भइरहेको बताइएको छ ।    इलमपोखरी–लिपे–दाम्राब छोटो समयको उत्कृष्ट ट्रेकिङ जान रुचाउने व्यक्तिका लागि र हिमाल आरोहण अघिको वार्मअप ट्रेकिङको रुपमा पनि जान सकिन्छ । यी रुटहरूमा ट्रेकिङ गर्दै गर्दा लालिगुराँसको जंगलै जंगल हिँड्न पाइन्छ । गुराँस फुल्ने समयमा विभिन्न रङ्गका गुराँसको जंगल छिचोल्नुको मजा बेग्लै हुन्छ । यहाँको रुटहरू राउण्ड ट्रेक भएकाले यात्रा सकिँदासम्म उत्साह कायम रहन्छ ।    पालिकाको समन्वयमा भेडिगोठका मालिक तथा भेडा गोठालाहरूलाई पर्यटन संस्कृति विकासका साथै अतिथिको स्वागत गर्ने लगायतका विषयमा आवश्यक प्रशिक्षण गराउने काम यस पालिकाले गर्दै आइरहेको छ । यसो हुँदा सो रुटमा ट्रेकिङ गरिरहेका पर्यटकहरू हावाहुरी वा हिमपात भइरहेको अवस्थामा भेडिगोठलाई सेल्टर बनाएर बस्न सक्नेछन् ।    मोटरबाटो विस्तार हुने अवस्था नरहेकोले ट्रेकिङको अर्गानिक स्वाद लिन सकिने यी रुटहरु छोटो ट्रेकका लागि अत्यन्तै उत्तम रुट रहेको छ । यी रुटहरूबाट धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्णदेखि मनास्लुसम्मको हिमशृङ्खलाहरू निकै मनमोहक देखिन्छ । 

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा  हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज विद्यार्थी सङ्गठन  दर्ता गराउँदै छन् ।    बिहान १० बजदेखि दिउँसो ३ बजेसम्म स्ववियु निर्वाचनमा सहभागी हुनका लागि सबै क्याम्पसमा विद्यार्थी सङ्गठनले आ–आफ्नो सङ्गठन दर्ता गराउनुपर्ने छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले आज दर्ता भएका विद्यार्थी सङ्गठनले मात्र निर्वाचनमा भाग लिन पाउने बताए।    यस्तै निर्वाचन कार्यतालिका अनुसार विद्यार्थी सङ्गठनले यही फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गराउने छन् ।    यस्तै स्ववियु निर्वाचनका लागि आगामी चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म समय तोकिएको तोकिएको छ । देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुने छ । 

तनहुँ:  तनहुँको व्यास नगरपालिका–१ स्थित गल्बुवेसी स्थित एक निजी विद्यालयका शिक्षकले कुट्दा विद्यार्थीको कानको जाली फुटेको छ ।     मादी श्री आवासीय माध्यमिक विद्यालयका शिक्षक मनोज राउतले कानको जाली नै फुट्ने गरी कुटेका हुन् । राउतले कक्षा ६ मा पढ्ने १२ वर्षीय रोनिश पराजुलीलाई कुट्दा देब्रे कानको जाली फुटेर दुई वटा प्वाल परेको र कानभित्र रगत समेत जम्न पुगेको छ ।     राउतले आइतबार कक्षा ६ मा पढ्ने रोनिश पराजुलीले गल्ती गरेको भन्दै  कानको जाली नै फुट्ने गरी पिट्नु भएको थियो  । शिक्षक राउतले आफूले विद्यार्थी पराजुलीलाई पिटेको स्वीकार गर्नुभयो । रोनिशको आमा अर्पणा पराजुली छोरा घाइते भएपछि सुरुमा एपोलो हस्पिटल दमौली लागेको र अस्पतालले पोखरा रिफर गरेपछि मङ्गलवार गण्डकी मेडिकल कलेज लगेर जचाएका थिए । त्यसपछि विद्यालयले विश्वास नगरेपछि पुनः पोखराकै पार्कल्याण्ड हस्पिटलमा नाक, कान घाँटी विशेषज्ञ डाक्टर सुधीर गोपाल पराजुलीसँग परीक्षण गरिएको थियो  । परीक्षणका क्रममा कानको जालीमा दुई वटा प्वाल परेको र रगत समेत जमेको डाक्टरको रिर्पोटमा उल्लेख छ ।    कुट्ने शिक्षक माथी कारबाही गर्नुपर्ने माग राख्नु भएको छ ।  शारीरिक र मानसिक यातना दिएको स्थितिमा नकारात्मक असर परेर विगत पाँच दिन देखि विद्यालय जान नसकेकोको बालकका हजुरआमा नानीमाया अधिकारीले बताउनुभयो ।  

पोखरा:   कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ ल्वाङ घलेलमा गएराति ट्याक्टर दुर्घटना हुँदा दुईजना घाइते भएका छन् ।  घलेलबाट कालिमाटी जाँदै गरेको प्रदेश नम्बर १ (०२००३ त ९८३) नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालक २५ वर्षीय मनिराज राई र सहचालक २३ वर्षी सोनम राई घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार वि.कले जानकारी दिए ।  ट्याक्टर दुर्घटनाको जानकारी पाएपछि दुर्घटना स्थलबाट उद्धार गरी घाइतेलाई उपचार लागि गएराति नै पोखरा पठाइएको माछापुच्छ्रे गाउँपालिका ८ का वडाध्यक्ष राम बहादुर गुरुङले जानकारी दिए ।  घाइते दुवै जनाको अहिले पोखराको फिस्टेल हस्पिटलमा उपचार भइरहेको छ ।   

पोखरा:  गण्डकी प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन बहादुर गाहा थापामगरले आफु सुरक्षाकर्मीहरुको मनोबल उच्च बनाउने पक्षमा रहेको बताउनुभएको छ । सशत्र प्रहरी बल नेपाल आश्रित गुल्म बागलुङद्वारा आज (बिहीबार) बागलुङ नगरपालिका २ स्थित कालीगण्डकीमा आयोजित जल दुर्घटना उद्धार नमुना अभ्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गाहामगरले यस्तो अभिव्यक्ति दिनुभएको हो ।   मुलुकले उत्कृष्ट नतिजा पाउनका लागि सुरक्षाकर्मीहरुलाई प्रोत्साहान दिन आवश्यक रहेको उल्लेख गर्नुभयो । ‘मुलुकले रिजल्ट पाउनका लागि लगानी गर्नैपर्छ । त्यसको लागि सुरक्षाकर्मीहरुको मनोबल बढाउनेगरी मैले पनि काम गर्नुपर्छ, उहाँले भन्नुभयो, ‘त्यसैले राष्ट्रसेवकहरुको मनोबल उच्च बनाउने कुरामा म कन्जुस्याई नगरिकन नैतिक रुपमा र आवश्यक साधन र स्रोत जुटाउने कुरामा सकारात्मक छु ।’ उहाँले सुरक्षाकर्मीहरुलाई व्यवस्थित र मर्यादित बनाउनका लागि सधै सकारात्मक रहेको स्पष्ट पार्दै सोही अनुरुपको कार्ययोजना अगाडी बढाउने बताउनुभयो ।    मन्त्री गाहामगरले राष्ट्र र जनताको पक्षमा सिमित स्रोत तथा साधनको प्रयोगमा कार्यसम्पादन गरेको बताउनुहुँदै सुरक्षाकर्मीहरुको योगदानको मूल्याङ्कन हुने बताउनुभयो । ‘स्रोत र साधनको अभावले पनि भुगोलको दर्दनाक परिस्थितिमा पनि तपाइहरुले जाखिम मोलेर काम गर्नुपरेको छ । यसको ढिलो चोडो मुल्याङ्न हुन्छ ।’ उहाँले भन्नुभयो ।    आन्तरिक मामिला मन्त्रालयद्वारा उद्धार अभ्यासका लागि विनियोजित बजेट यथेष्ट नभएको बताउदै आगामी दिनमा विपद् व्यवस्थापन सम्बन्धि थप तालिमको व्यवस्था गर्ने बताउनुभयो ।   मन्त्री गाहामगरले देश र राष्ट्र हितको पक्षमा काम गर्ने कसम खाएको बताउनुहुँदै भन्नुभयो, ‘हामी जस्तो सुकै समय र परिस्थितिमा भएपनि आफ्नो कार्यक्षमता र कर्तव्य पुरा गर्नुपर्छ । फलस्वरुप हामी नेपाली भनेर गर्व गर्न पाउँछौ ।’   सो उद्धार अभ्यास कार्यक्रमपछि आन्तरिक मामिला तथा कानून मन्त्री रोशन गाहामगरको सभापतित्वमा गण्डकी प्रदेश सुरक्षा समितिले विपद् व्यवस्थापन सम्बन्धि छलफल गरेको थियो ।    छलफलमा आगामी वर्षातमा भइपरी हुने बाढी पहिरो तथा प्राकृतिक प्रकोपको जोखिम न्यूनीकरण र आकस्मिक उद्धारबारे छलफल गरिएको थियो । सो बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव बद्रीनाथ अधिकारी, नेपाल प्रहरीका गण्डकी प्रदेश प्रमुख डिआइजी बुद्धिराज गुरुङ, सशत्र प्रहरीका गण्डकी प्रदेश प्रमुख सशत्र प्रहरी नायब महानिरिक्षक शम्भु सुवेदी, नेपाल आर्मीका विजयपुर पृतनापती दिपक कुमार बाँनिया बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी  गोणेश प्रसाद पौडेल लगायतको सहभागिता रहेको थियो ।   

काठमाडौं:     आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले युएईलाई हराउँदै ८ वर्षपछि विश्वकपमा पुगेको छ । युएईलाई ६ रनले हराउँदै नेपाल विश्वकपमा पुगेको हो । योसँगै २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकपको नेपालले स्थान बनाएको छ । जितको लागि १ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको युएईले ४८ ओभरमा १ सय ८५ रनमा अल आउट भयो । दीपेश कँडेलले ४७ औं ओभरमा तीन विकेट लिँदै नेपालको जित पक्का गराएका हुन् । युएईका मध्यक्रमका ब्याटर इथान डी सोल्झाले ६६ बलमा ५ चौकासहित सर्वाधिक ५० रनको योगदान दिए । ओपनर अर्यान्श शर्मा ५० बलमा ४ चौकासहित ३२ रनमा सुवास भण्डारीको बलमा बोल्ड आउट भए । पहिलो विकेटका लागि ओपनर अर्यान सक्सेना र अर्यान्शले १७.२ ओभरमा ६७ रनको साझेदारी गर्दै युएईलाई राम्रो सुरुवात दिलाएका थिए । सुवास भण्डारीले अयान्शलाई आउट गर्दै पहिलो सफलता दिलाएका थिए । त्यसपछि नेपालले पाँच रनको अन्तरमा थप दुई विकेट लिँदै ७२-३ को अवस्थामा पुर्याएको थियो । चौथो विकेटका लागि ध्रुव र सोल्झाले ४२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । दीपेश कँडेलले अर्का ओपनर अर्यान सक्सेनालाई ६५ बलमा ५ चौकासहित ३४ रनमा दीपक डुम्रेबाट क्याच आउट गराए । सुवास भण्डारीले २२ औं ओभरको अन्तिम बलमा कप्तान आयन खानलाई कप्तान देव खनालबाट शून्यमा क्याच गराएपछि नेपाल खेलमा फर्किएको थियो ।  स्पिनर दीपेश कँडेलको बलमा विशाल विक्रम केसीले लङअनमा सानदार क्याच लिदै ध्रुव पराशरलाई १७ रनमा पेभेलिएन फर्काएका थिए । नेपालका सुवास भण्डारीले १० ओभरमा ३९ रन खर्चेर २ विकेट लिए ।

पोखरा:  गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले चालु अधिवेशन अन्त्य भएको सूचना प्रकाशन गरेका हुन् ।   सूचनामा भनिएको छ, ‘प्रदेश सरकार गण्डकी प्रदेश, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट प्रदेश सभाको चालु अधिवेशन ०७९ फागुन १८ गते बिहिबार राति १२ बजेटबाट अन्त्य भएको व्यहोरा सम्बनिधत सबैको जानकारीको लागि अनुरोध छ ।’ बुधबार प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो । प्रदेश प्रमुख पृथ्वीमान गुरुङको सम्बोधनपछि सभा स्थगित गरिएको थियो ।   सभामुख कृष्ण धितालले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरेपनि सरकारको सिफारिसमा बिहीबार चालु अधिवेशन अन्त्य भएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले निकालेको सूचनामा छ ।

काठमाडौं : सेयर कारोबारको साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले ‌ओरालो लागेको छ। नेप्से परिसूचक २६.४७ अंकले घटेर १९६९.०२ विन्‍दुमा अडिएको छ। सन्सेटिभ इण्डेक्स ४.८१ अंकले घटेको छ।   यसदिन १९३ कम्पनीको मूल्य ओरालो लाग्दा १९ को मात्रै मूल्य बढ्यो। २५६ कम्पनीको ३६ लाख ५७ हजार १५४ कित्ता सेयर १ अर्ब ३३ करोड  ६३ लाख ३३ लाख ९६७ रूपैयाँमा खरिदबिक्री भयो।  २८ हजार ५०० पटक कारोबार भयो।   आज कुनै पनि कम्पनीको मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेन। ग्लोबल आईएमई लघुवित्त वित्तीयको सेयर मूल्य ७ प्रतिशतले  घट्यो। कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी अग्रस्थानमा रह्यो। सो कम्पनीको ८ करोड १२ लाख रूपैयाँको सेयर कारोबार भयो।   कारोबारमा आएका १३ वटै समूहको सूचक नकारात्मक देखिएका छन्। माइक्रो फाइनान्स र ट्रेडिङ उपसमूहको सूचक २ प्रतिशत बढिले ओरालो लाग्यो।  

कञ्चनपुर:  कञ्चनपुरमा यस वर्ष कात्तिक महिनामै हुस्सु लाग्यो । आँपमा पुस महिनामै फुल फुल्यो । आँपको फूलमा अघिल्ला वर्षका तुलनामा रोग किराको समस्या अत्यधिक देखियो । यी सबै कार्य जलवायुमा परिवर्तनका कारण भएका जनाइएको छ । जिल्ला वन समन्वय समिति कञ्चनपुरका सहसचिव पुनाराम चौधरी प्राकृतिक सम्पदाको अत्यधिक दोहन, वन विनाश, खेती प्रणालीमा गरिएको परिवर्तन, द्रुत सहरीकरणसँगै प्रदूषणको कारणले जलवायु परिवर्तन आएको बताउनुहुन्छ ।   “जलवायु परिवर्तनले बाली चक्रको पात्रोमै परिवर्तन गरिदिँदा हुस्सु मङ्सिर महिनाको अन्तिम र माघ महिनामा लाग्दथ्यो”, उहाँले भन्नुभयो, “कात्तिक महिनामै हुस्सु लाग्न थालेको छ, आँपमा फागुन, चैत महिनामा फूल लाग्ने गरेकोमा पुस महिनामै फूल लाग्न थालेको छ ।”   ढिलो गरी अत्यधिक वर्षा हुनु, हिउँदमा समयअघि नै चिसो बढ्नु, वन जङ्गल क्षेत्रमा मिचाहा प्रजातिका बिरुवा प्रशस्त रूपमा देखिनु, पशुमा नयाँ रोग देखा पर्नु जलवायु परिवर्तनको असर भएको उहाँले बताउनुभयो । “वर्षा र सुख्खा यामको दुरी बढ्दै गइरहेको छ”, उहाँले भन्नुभयो, “जसले गर्दा विगतको तुनलामँ तापक्रम बढ्दो छ ।   उहाँका अनुसार खेतबारीमा पहिला झारपातको धेरै समस्या हुने गरेको थिएन । हाल झारपातसँगै नयाँ रोग देखिन थालेका छन्, जति विषादीको प्रयोग गरे पनि रोग कीरा नियन्त्रण गर्न गाह्रो भएको छ । धानमा बाला नलाग्ने समस्या बल्झिँदै गएको छ । तापक्रम बढ्दै जाँदा बालीनालीको उत्पादन प्रभावित भएको उहाँको भनाइ छ । यस कार्यले खाद्यान्न सङ्कटलाई निम्त्याउन सक्ने उहाँले उल्लेख गर्नु भयो ।   “वर्षा हुने क्रममा आएको परिवर्तन चुनौतीका रूपमा रहेको छ”, महाकाली सामुदायिक वनका अध्यक्ष वीरबहादुर राजवंशीले भन्नुभयो, “वर्षातका दिन घट्दै जान थालेका छन्, औसत वर्षा कम हुने गरेको छ, एकैपटक धेरै वर्षा हुँदा बाढी, भूक्षय र डुबानको समस्या केही वर्षदेखि जटिल रूपमा देखिन थालेको छ ।” अप्रत्याशित रूपमा हुने वर्षाले बर्सेनि धनजनको क्षतिलाई बढाउँदै लगेको उहाँले बताउनुभयो । वन क्षेत्रमा पहिला देखिने गरेका रैथाने प्रजातिका केही बिरुवा अहिले देखा नपर्ने गरेको उहाँले बताउनुभयो ।   उहाँका अनुसार वन क्षेत्रमा पहिला प्रशस्त रूपमा पाइने सानुन, विजयसाल लोपोन्मुख अवस्थामा पुगेको छ । हर्रो, बर्रोदेखि नै छाडेको छ । वन क्षेत्रमा प्रशस्त रूपमा देखिने जनावर देखिन छाडेका छन् । वन्यजन्तुको वासस्थानमा फेदरवदल भएको छ । डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थी तराईमा तापक्रममा वृद्धि हुँदै जाँदा जीवजन्तुले वासस्थान सार्न थालेको बताउनुहुन्छ ।   “उष्ण हावापानीमा पाइने जनावर अहिले चुरे क्षेत्र र महाभारत क्षेत्रमा पाइन थालेका छन्”, उहाँले भन्नुभयो, “पाटे बाघ महाभारत क्षेत्रमा देखिनु यसको उदाहरण हो ।” तराईमा पाइने बिरुवा अहिले चुरे क्षेत्रमाथि देखिन थालेको उहाँले बताउनुभयो । जलवायुको असर कम गर्न वन क्षेत्र जोगाउने, प्रदूषण कम हुने किसिमका उद्योग धन्दालाई प्रोत्साहित गर्ने, वातावरणमैत्री ऊर्जा र सवारी साधनको प्रयोगमा जोड दिने, वनमा लाग्ने डढेलो कम गर्नका लागि प्रभावकारी कार्यक्रम ल्याउनुपर्ने उहाँले बताउनुभयो ।   जिल्ला वन समन्वय समिति कञ्चनपुरका सहसचिव चौधरी पराल जलाउने कार्य रोक्ने, नदीजन्य पदार्थको व्यवस्थित रूपमा प्रयोग गर्ने, वैकल्पिक ऊर्जाको प्रयोगमा जोड दिने, दाउराको खपत कम गर्ने, प्लास्टिकजन्य पदार्थको प्रयोगलाई निरुत्साहित गर्न सके वातावरणलाई सन्तुलित राख्न सकिने बताउनुहुन्छ ।   जमिनमुनिको पानीको सतह घट्दै गएको छ । हिउँदै वर्षा हुने क्रममा कमी आउन थालेको छ । जसले गर्दा प्राकृतिक स्रोतमा आश्रित समुदाय र सीमान्तकृत समुदायलाई यसले नराम्ररी असर गरेको छ । “मानव स्वास्थ्यमा जलवायु परिवर्तनको अवसर देखिन थालेको छ”, शुक्लाफाँटा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले भन्नुभयो, “स्वास्थ्यको समस्या लिएर आउने बिरामीमा श्वासप्रश्वास, छाला, बेमौसमी ज्वरोका बिरामी रहने गरेका छन्, पहिलेको तुनामा बिरामीको सङ्ख्या बढ्दो रूपमा रहेको छ, बढ्दो प्रदूषण, खानपानमा आएको परिवर्तनले बिरामी हुने क्रमलाई बढाएको छ ।” उहाँ जलवायु परिवर्तनलाई चुनौती मात्रै नभएर भविष्यमा आइपर्ने खतराका रूपमा औँल्याउनुहुन्छ ।