बाँके: बाँकेको कोहलपुरलाई स्वच्छ र सफा राख्ने अभियान अन्तर्गत जथाभाबी फोहर फाल्नेलाई पक्राउ गरी जरिवाना गर्न सुरु गरिएको छ । सुरुवाती चरणमा सम्झाई बुझाई छोडिए पनि अटेर गर्ने प्रवृत्ति देखिएपछि नगर प्रहरीले नगद जरिवाना गर्न थालेको नगर प्रमुख पूर्णप्रसाद आचार्यले जानकारी दिनुभयो । “यो नगर हामी सबैको हो, नगर सफा र सुन्दर बनाउने जिम्मेवारी पनि हामी सबैको हो” नगर प्रमुख आचार्यले भन्नुभयो, “हामी कसैलाई पनि जरिवाना तिराउन नपरोस् र पुरस्कृत गर्नुपरोस् भन्ने चाहना रहेको छ । कोहलपुर नगरलाई सुन्दर बनाउने जिम्मेवारी सम्पूर्ण नगरवासीको रहेको भन्दै उहाँले महिनौँदेखि बारम्बार विनम्रतापुर्बक अनुरोध गर्दा समेत अटेर गर्ने प्रवृत्ति बढे कारबाही गर्न थालिएको बताउनुभयो । जथाभाबी फोहर फाल्ने व्यक्ति, सङ्घ संस्था, व्यावसायिक फर्म, सबैलाई कारबाहीको दायरामा ल्याइने उहाँको भनाइ छ । केही दिनअघि स्कुटरमा राखेर फोहर सडक छेउमा फाल्ने प्रवृत्ति बढेको भन्दै नगर प्रहरीले निगरानी गर्दैआएको छ । केही व्यक्तिलाई पक्राउ गरी जरिवाना पनि तिराएको छ । नगरपालिकाले सार्वजनिक स्थानमा फोहर फाल्न सूचना प्रकाशन गरी निषेध गरेको छ । लुम्बिनीसहित सुदूरपश्चिम र कर्णाली प्रदेशको प्रवेशद्वारको रूपमा कोहलपुर क्षेत्रलाई सुन्दर, सफा र रमणीय बनाउन नगरबासीको साथ र सहयोग चाहिएको भन्दै नगर प्रमुख आचार्यले सार्वजनिक स्थानमा जथाभाबी फोहर गर्ने कामलाई निरुत्साहित गर्न जरुरी भएको बताउनुभयो ।
पोखरा: स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन मिति नतोकेपछि पोखरा स्थित जनप्रिय बहुमुखी क्याम्पसमा तीन विद्यार्थी संगठनले तालाबन्दी गरेका छन् । नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अखिल क्रान्तिकारी जनप्रिय बहुमुखी क्याम्पस कमिटीले सयुक्त रुपमा स्ववियु निर्वाचनको माग गर्दै तालाबन्दी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । तीन विद्यार्थी संगठनका नेताहरुले हस्ताक्षर गरिएको विज्ञप्तीमा भनिएको छ ‘क्याम्पसमा सक्रिय रहेका विद्यार्थी संगठनको बिचार–विमर्श र छलफललाई क्याम्पस प्रशासनले आफ्ना तवरले व्याख्याले गर्दै कुनै अमुक संगठन र विद्यार्थी नेतालाई मात्र हावी गराउने गरी आम–विद्यार्थीको भावना र आस्थालाई कुल्चेर गर्न खोजिएको व्याख्याप्रति घोर आपत्ति छ ।’ विद्यार्थी संगठनले क्याम्पस प्रमुखको कार्यकक्ष, प्रशासनिक कक्ष, लेखा शाखा र भर्ना काउन्टरमा अनिश्चितकालका लागि तालाबन्दी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । अहिले क्याम्पस प्रशासन र विद्यार्थी संगठनबीच वार्ता चलिरहेको छ ।
पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश संग्रहालयको प्रचारप्रसार गर्न नसकेको बताएका छन् । पोखरा महानगरपालिका ९ नयाँबजार स्थित प्रदेश संग्रहालयको प्रशासनिक भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री अधिकारीले यस्तो बताएका हुन् । ‘संग्रहालय अवलोकन गर्न आउने पर्यटक तथा दर्शकहरु समक्ष संग्रहालयको महत्वबारे प्रचारप्रसार गर्न सकेका छैनौं, मुख्यमन्त्री अधिकारीले भने, ‘ संग्रहालय भनेको विश्वविद्यालय हो, लोपउन्मुख अभिलेख, वस्तुहरु भोलिका अनुसन्धानकर्ताहरुका लागि महत्वपूर्ण साम्रागी हो त्यसैले संग्रहालय विश्वविद्यालय हो, यसको प्रचारप्रसार गर्न सरकार र नागरिकको दायित्व भित्र पर्छ ।’ उनले संग्रहालय भनेको संस्कृतिको राजधानी भएकाले लोपउन्मुख विभिन्न जातजातिको भाषाशैली जिवनशैली र लोपउन्मुख संस्कृति लगायत अन्य लोपउन्मुख वस्तुहरुको संरक्षणमा जोड दिए । प्रदेश संग्रहालयको प्रशासनिक भवन प्रदर्शनी केन्द्रसँगै जोदिदा कार्यालय व्यवस्थापनमा असहज भएपछि नयाँ दुईतले भवन निर्माण गरिएको प्रदेश संग्रहालयले जनाएको छ । गण्डकी प्रदेशको आर्थिक सहयोगमा १ करोड ८९ लाख ८६ हजार ६ सय २२ रुपैयाँको लागतमा स्लेट चन्द्रज्योति जेभीले प्रदेश संग्रहालयको प्रशासनिक भवन निर्माण गरेको हो । संग्रहालयको प्रशासनिक भवन निर्माण भएपछि पहिलेको कार्यालयलाई सूचना केन्द्रको रुपमा विस्तार गर्ने लक्ष्य संग्रहालयले लिएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यनजर गर्दै २०४१ सालमा सर्वसाधारणका लागि खुल्ला गरिएको क्षेत्रीय संग्रहालयमा संघीयता कार्यान्वयनसँगै प्रदेश सरकारको सामित्वमा आएको छ ।
बागलुङ: बागलुङको काठेखोला गाउँपालिका–२, भीमापोखरा स्वास्थ्य चौकीको प्रसूति सेवा प्रभावित भएको छ । प्रसूति सेवाका लागि जनशक्ति नहुँदा उक्त सेवा प्रभावित भएको हो । भीमापोखराका गर्भवतीहरू गर्भ परीक्षण तथा प्रसूति सेवाका लागि सदरमुकाम बागलुङ बजार जान बाध्य छन् । स्वास्थ्य चौकीमा दुई जना सिनियर अहेव, दुई जना अनमी, एक जना हेल्थ असिस्टेन्ट र कार्यालय सहयोगी गरी छ जनाको दरबन्दी रहेको छ । तर हाल एक जना हेल्थ असिस्टेन्ट र कार्यालय सहयोगीका भरमा स्वास्थ्य चौकी सञ्चालन भइरहेको छ । दरबन्दीअनुसारका स्वास्थ्यकर्मी नहुँदा सेवा प्रवाहमा गाह्रो भएको भीमापोखरा चौकीका हेल्थ असिस्टेन्ट आशिष सापकोटाले बताउनुभयो । स्वास्थ्य चौकीमा सात महिनादेखि दुई अहेव र एक अनमीको दरबन्दी रिक्त छ । कोभिड सङ्कटको बेला स्वास्थ्य चौकीमा कार्यरत एक सिनियर अहेव गाउँपालिकाले बोलाए पनि फिर्ता गरिएको छ । “साधारण स्वास्थ्य सेवा त म एक्लै गरिरहेको छु,” हेल्थ असिस्टेन्ट सापकोटाले भन्नुभयो, “बर्थिङ सेन्टरको काम अहिले पूर्ण रूपमा प्रभावित छ ।” काठेखोला गाउँपालिका–६ को बिहुँकोट स्वास्थ्य चौकीमा पनि एक जना अनमीका भरमा सञ्चालन हुँदै आएको छ । गाउँनजिकै स्वास्थ्य चौकी रहे पनि सामान्य बिरामी पनि उपचारका लागि सदरमुकाम बागलुङ बजार पुग्नुपर्नेे स्थानीयको गुनासो छ ।
काठमाडौं : कीर्तिपुरबाट प्रहरीले सट्टाबाजीको आंशकामा एक जनालाई पक्राउ गरेको छ। त्रिभुवन विश्वविद्यालय मैदानमा जारी आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजको खेल भइरहेको बेला एक व्यक्तिलाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए। उनका अनुसार उनी सट्टाबाजीमा संलग्न भएको आशंका लागेर मैदानबाट नियन्त्रणमा लिएको हो। 'अहिले उहाँलाई आशंका लागेर नियन्त्रणमा लिएका हौं,' उनले भने, 'अहिले अनुसन्धान गरिरहेका छौं।' त्रिवि मैदानमा आज नेपाल र स्कटल्याण्डबीच खेल भइरहेको छ ।
काठमाडौं: नेपाली सेनाको स्थापना दिवस समारोहमा भाग लिन भारतीय सेनाका चार पूर्व प्रमुख काठमाडौँ आइपुग्नुभएको छ । काठमाडौँ आउनुहुनेमा विश्वनाथ शर्मा, जोगिन्दर जसवन्त सिंह, दीपक कपुर र दलवीरसिंह सुहाग हुनुहुन्छ । नेपाली सेनाले भारतीय वर्तमान सेना प्रमुखसहित १२ जनालाई समारोहमा भाग लिन निम्ता पठाएको थियो । त्यसमध्ये पूर्वप्रमुख मनोजमुकुन्द नरवाने भने शनिबार आउनुहुने बताइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सैनिक मञ्च टुँडिखेलमा शनिबार आयोजना हुने सेना दिवस मुख्य समारोहमा भारतीय सेनाका पूर्व प्रमुखहरूले भाग लिनुहुनेछ । त्यसअघि शनिबार बिहान छाउनीस्थित वीर स्मारकमा आयोजना हुने कार्यक्रममा उहाँहरू सहभागी हुनुहुने सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो । सैनिक मुख्यालय जङ्गी अड्डामा यही फागुन ७ गते प्रधानसेनापति प्रभुराम शर्मासहित समकक्षीसँग उहाँहरूको भेटघाट र छलफल हुनेछ । महाशिवरात्रि तथा सेना दिवसका अवसरमा सोही दिन साँझ जङ्गी अड्डामा आयोजना हुने सांस्कृतिक कार्यक्रममा भारतीय सेनाका पूर्व प्रमुखहरूको सहभागिता रहनेछ । नेपाल र भारतबीच एकअर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने अनुपम परम्परा छ । नेपाली सेनाले यस वर्ष २६०औँ स्थापना दिवस मनाउँदैछ ।
काठमाडौं : सुनको मूल्य घटेको छ। आज सुन तोलामा ५०० सयले घटेको हो। मूल्य घटेसँगै प्रतितोला सुनको मूल्य १ लाख २ हजार ५०० रूपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार तेजाबी सुनको मूल्य १ ला २ हजार रूपैयाँ तोकिएको छ। बिहीबार सुन तोलामा ६०० रूपैयाँले घटेर प्रतितोला १ लाख ३ हजार रूपैयाँले खरिदबिक्री भएको थियो। सुनको मूल्य घटेसँगै चाँदी पनि घटेको छ। तोलामा १० रूपैयाँले घटेर प्रतितोला १ हजार २७५ रूपैयाँले किनबेच भइरहेको छ। अघिल्लो कारोबार दिन बिहीबार प्रतितोला एक हजार २८५ रुपैयाँ तोकिएको थियो।
काठमाडौँ: नेपाल वायुसेवा निगमले यात्रुहरूको सुविधालाई ध्यानमा राखेर आज (फागुन ५ गते) देखि अन्तर्राष्ट्रिय टिकट बिक्री कक्ष साँझ ७ बजेसम्म खुल्ला गर्ने भएको छ । निगमले बिहीबार सूचना जारी गर्दै टिकट काउन्टर बिहान ९ बजे देखि बेलुका ७ बजे सम्म खुल्ला रहने व्यवस्था गरेको जानकारी गराएको छ । साथै शुक्रवार, शनिवार र सार्वजनिक बिदाको दिन पनि बिहान १० बजे देखि बेलुका ५ बजे सम्म बिक्री कक्ष खुल्ला रहने निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो ।
काठमाडौं: अनेरास्ववियुको अध्यक्ष पदमा समिक बडाल विजयी भएका छन् । बडाल ९६५ मतसहित विजयी भएका हुन् । अनेरास्ववियु निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत कुमार खकुरेलका अनुसार उनका निकटतम प्रतिपस्र्धी आरसी लामिछानेले ३५६ मत , अध्यक्ष पदका उम्मेदवार लोकेश निरौलाले ११३ र मोति विकले ७८ मत ल्याए । अनेरास्ववियुको नवनिर्वाचित अध्यक्ष बडाल यसअघि महासचिव थिए । २०६२ को स्ववियु निर्वाचनमा त्रिचन्द्र क्याम्पसमा बडाल स्ववियु सदस्यमा निर्वाचित भएका थिए ।

