काठमाडौं : नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ। बिहीबारदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारी खतरामुक्त रहेका छन्। भण्डारीका सहयोगी योगराज शर्मा कँडेलले भण्डारीलाई धरै नै सुधार देखिएकोले सोमबार भेन्टिलेटरबाट हटाउने योजना रहेको बताए। उनले सामाजिक संजालमार्फत् भनेका छन्, ‘मुख र हातको जलेको भागमा आफ्नै छाला उम्रन सक्ने सम्भावना देखिएकोले हाललाई तुरून्तै अर्को सर्जरी गर्न नपर्ने भएको छ।’ भण्डारीको पहिलो शल्यक्रिया शुक्रबार सफलतापूर्वक सम्पन्न भएको थियो। बुधबार राति आफ्नो निवासमा ग्यास सिलिन्डर चुहिएर सांसद डा भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए। घट्नालगत्तै दुवैजनाको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो। आमा हरिकलाको भने उपचारका क्रममा बिहीबार बिहान निधन भएको थियो। नेता डा भण्डारीलाई नेपालमा यथोचित उपचार सम्भव नभएपछि बिहीबार नै श्री एयरलाइन्सको विमानमार्फत मुम्बइमा थप उपचारका लागि लगिएको थियो।
धनगढी: कञ्चनपुरमा १५ लाख भारतीय रुपैयाँ र गरगहनासहित तीन जना पक्राउ परेका छन् । नेपाल भारत सीमा क्षेत्रमा पर्ने पुनर्वास नगरपालिका-४ को आनन्द बजार नजिकैको कार्गिल डााडाबाट १५ लाख २८ हजार भारतीय रुपैयाँसहित सशस्त्र प्रहरीको गस्ती टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका-८ बस्ने २९ वर्षीय अम्मर भुल, ३९ वर्षीय खड्कसिंह भुल र डडेल्धुराको आलिताल गाउापालिका-४ बस्ने २४ वर्षीय वीरेन्द्र सार्की रहेको सशस्त्र प्रहरी बल नम्बर ३५ गण कञ्चनपुरले जनाएको छ । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल फवार्ड बेस कार्गिल डाँडाको गस्ती टोलीले स्रोत नखुलेको भारतीय रुपैयाा र गरगहनासहित भेटाएको गणका सशस्त्र प्रहरी उपरीक्षक(एसपी) प्रेमबहादुर रावलले जानकारी दिए । उनकाअनुसार उनीहरुको साथबाट चार थान सिक्री, चार वटा औंठी, तीन वटा बाला, १० वटा टप, एउटा पाउजु, एउटा वटन, एउटा झुम्का, एउटा टाउकोमा लगाउने गहना, एउटा जन्तर र चार वटा मोबाइल समेत बरामद गरिएको छ । बरामद गरिएका नगद र गरगहनासहित उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको छ ।
काठमाडौं: महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा शनिबार बिहान ११ बजेसम्म साढे चार लाख भक्तजनले दर्शन गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यस अवसरमा पशुपतिनाथका चार ढोका बिहान ३ बजेदेखि नै खुला गरिएको थियो । ढोका खोल्नुअघिदेखि नै पशुपति क्षेत्रमा भक्तजनको लाम सुरु भएको कोष संस्कृति महाशाखा प्रमुख एवं सूचना अधिकारी गौरीशङ्कर पराजुलीले जानकारी दिनुभयो । बिहान छोटो लाम भए पनि अहिले लाइन बढ्न थालेको छ । उत्तरतर्फको लाम चाबहिल चोकभन्दा माथि पुगेको छ । पश्चिमतिरको लाम गौशाला चोक, दक्षिणतिरको लाम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक र पूर्वतर्फको लाम गौरीघाटसम्म पुगेको छ । घाम लागेसँगै दर्शनार्थीको सङ्ख्या बढ्न थालेको हो । महाशिवरात्रिका अवसरमा कोषको विशिष्ट अतिथिका रूपमा आउनुभएका जगन्नाथपुरीस्थित गोवर्द्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीले अहिले पञ्चामृत स्नानसहितको विशेष पूजा गर्नुहुने कार्यक्रम छ । पशुपतिनाथमा विशेष पूजा सकेर उहाँले पशुपतिमन्दिरको पश्चिम ढोकाअघि रहेको आद्य शङ्कराचार्यको मन्दिर उद्घाटन गर्नुहुनेछ । यो मन्दिर वि.सं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएको थियो । मन्दिर उद्घाटनपछि उहाँले त्यहीँ प्रवचन पनि गर्नुहुनेछ । बेलुकी नेपाल–भारत मैत्री धर्मशालामा शङ्कराचार्यसँग वैदिक सनातन धर्मसँग सम्बन्धित विषयमा जिज्ञासा राख्न सकिने कार्यक्रम रहेको छ । यो कार्यक्रममा जोसुकैले सहभागिता जनाउन सक्ने कोषले जनाएको छ । महाशिवरात्रिकै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बेलुकी पूजा एवम् दर्शन गर्नुहुने कार्यक्रम रहेको छ । यसैगरी, नेपाली सेना दिवसको कार्यक्रममा अतिथिका रूपमा आउनुभएका भारतीय सेनाका चार पूर्वप्रधानसेनापतिले पनि आज पशुपतिनाथ मन्दिरमा दर्शन गर्नुहुने कार्यक्रम रहेको कोषका सूचना अधिकारी पराजुलीले बताउनुभयो । महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा पाँच हजारभन्दा बढी साधुसन्तको आगमन भएको छ । नागाबाबालाई मूल मन्दिरभित्र राखिएको छ । साधुसन्तलाई बिहीबारदेखि नै कोषले भोजन, आवास र धुनीको व्यवस्था गरेको छ । यसमा गुठी संस्थानको पनि सहयोग रहेको छ । महाशिवरात्रिका लागि पशुपति क्षेत्र विशेषरुपमा सिँगारिएको छ । दर्शनार्थीलाई व्यवस्थितरुपमा दर्शन गराउन पाँच हजार सुरक्षाकर्मी र चार हजार स्वयंसेवक खटाइएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो । मूल मन्दिरभित्र भने नेपाली सेना र कोषका कर्मचारीको विशेष सुरक्षा रहेको छ । पशुपति क्षेत्रमा स्वास्थ्य शिविर, निःशुल्क खानेपानी सेवा, भोजन एवम् प्रसाद सेवा, रक्तदानजस्ता सेवामूलक काम गर्ने संस्थाको पनि भीड देखिन्छ । केही मानिसले विभिन्न साम्प्रदायिक पुस्तक वितरण गरेको भन्दै भक्तजनले आपत्ति जनाएका छन् । कोषले यस्ता काममा रोक लगाउने भने व्यवहारमा कार्यान्वयन नभएको गुनासो भक्तजनको छ ।
काठमाडौँ: पशुपतिनाथलगायत मुलुकका सबै शिवालयमा शनिबार महाशिवरात्रि पर्व मनाइँदै छ । आराधना र स्तुतिबाट छिट्टै प्रसन्न हुने आशुतोष स्वभावका भगवान् शिवलाई यस दिन प्रसन्न राख्दा इहलोक र परलोक दुवैमा सुख र शान्ति हुने विश्वास रहेको छ । ज्योतिषी विशाल भण्डारीले आकार निराकार दुवै तवरबाट शिवको आराधना गर्न सकिने पूज्य देवताका रूपमा शिवलाई लिइने जानकारी दिनुभयो । उहाँले बडादशैँअघिको कालरात्रि, कृष्ण जन्माष्टमीको मोहरात्रि, लक्ष्मीपूजाको सुखरात्रि र महाशिवरात्रिको धार्मिक शास्त्रमा उच्चताका साथ महत्व दर्शाइएको बताउनुभयो । जाडोमा जगत् रुवाउँदै रुखका पतझर उजाड गरेका शिवले महाशिवरात्रिमा पालुवा लागेर जगत्को कल्याण गरेको हुँदा यो पर्व धुमधामसाथ मनाउन थालिएको हो भनिन्छ । शिवलाई मन पर्ने पञ्चामृत, बेलपत्र, गाँजा, भाङ, धतुरो अर्पण गरेर खुसी पार्ने प्रयास भक्तजनबाट हुन्छ । धार्मिक आस्थामा यसो भए पनि आयुर्वेद क्षेत्रमा यी पदार्थलाई पाचन प्रणाली सन्तुलन, ज्वरो नाशक, पेटमा कृत्रिम रोग निवारणलगायतका औषधीय महत्व का साथ हेरिन्छ । बझाङको नौलोगाउँ, बाजुराको कैलाशमाडौँ, ओखलढुङ्गाको नर्वदेश्वर, महोत्तरीको जलेश्वर, भक्तपुरको अनन्तलिङ्गेश्वर, काठमाडौँ डिल्लीबजारको वसन्तेश्वर, जयवागेश्वरीको महामृत्युञ्जय, अमालकोट कचहरीको खञ्जनेश्वर, लुभुको गोभ्रातेश्वर, सुनाकोठीको भृङ्गरेश्वरलगायत शिवालयमा विशेष उत्सवका साथ यो रात पूजा आराधना हुन्छ । पशुपति परिसरको पिण्डेश्वरमा अखण्ड दीपसहित सवा लाख बेलपत्र र पञ्चामृत पूजा आयोजना भएको नाथका कोटवाल पूर्णनारायण जोशीले बताउनुभयो । पशुपतिनाथमा चारै प्रहर अतिरुद्री, महादीप प्रज्वलन, अखण्ड दीपसहितको दीपोत्सव, लाख बेलपत्र र प्रशस्त पञ्चामृतद्वारा पशुपतिनाथको पूजा गर्ने तयारी भएको छ । यसैगरी महाशिवरात्रि पर्वमा नेवार समुदायमा ‘सिलाचःह्रे’ मनाइने गरिन्छ । यस दिन बाटो छेक्ने र घरघरमा गएर गीत गाउँदै दाउरा माग्ने चलन पनि छ । यो चलन अहिले लोप भइसकेको छ ।
पोखरा: गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन गाहामगरले जनासँख्याले मात्रै प्रशासनिक र राजनीतिक पहुँच स्थापित गर्न नसक्ने बताएका छन् । त्रिभुवन विश्वविद्यालयको दोस्रो ठुलो आंगिक क्याम्पस पृथ्वीनारायण क्याम्पसमा आदिवासी जनजाति विद्यार्थी संघ पिएन क्याम्पस कमिटीले आयोजना गरेको ‘वृहत खुल्ला सांस्कृतिक तथा मौलिक नृत्य प्रतियोगिता एवं प्रशिक्षण तथा परिचयात्मक कार्यक्रम’ लाई सम्बोधन गर्दै मन्त्री गाहामगरले यस्तो धारणा राखेका हुन् । उनले आदिवासी जनजाति समुदायको जनसँख्या धेरै भएपनि पहुँचको हिसाबले कमजोर रहेको बताए । ‘आदिवासी जनजाति समुदाय संख्याको हिसाबमा धेरै छौं । सँख्याको हिसाबमा धेरै भएपनि विचार, संघर्ष र पहुँचमा पछाडी छौं, मन्त्री गाहामगरले भने, ‘त्यसैले अब आदिवासी जनजातिको मौलिक हकका निम्ति एकढिक्का र गम्भीर हुन जरुरी छ ।’ उनले एकताले मात्रै पहुँच स्थापना हुन नसक्ने बताउदै शैक्षिक सशक्तिकरणको आवश्यकता रहेको उल्लेख गरे । मन्त्री गाहामगरले जनजाति साँस्कृतिक हिसाबले धनी रहेको बताउदै संरक्षणको जरुरी रहेको बताए । ‘हामी कल्चर र नेचरले धनि छौं, यसको संरक्षण हुन नितान्त जरुरी । तपाइहरु विद्यार्थी जीवनबाट नै पढ्दै सिक्दै संस्कृति संरक्षणको विषयमा गम्भीर हुन आवश्यक छ । । किनभने हाम्रो मौलिक तथा ऐतिहासिक संस्कृति र परम्परा बचाउनुपर्ने अवस्था आएको छ ।’ उनले भने । मन्त्री गाहामगरले विद्यार्थी नेताहरुलाई फरक–फरक पार्टीमा आवद्ध भएपनि समुदायको अधिकार प्राप्तिका लागि एकढिक्का भएर लाग्नसमेत सुझाब दिएका थिए । नृत्य प्रतियोगितामा डिडी डान्स स्टुडियो प्रथम आदिवासी जनजाति विद्यार्थी संघ पिएन क्याम्पस कमिटीकाे आयोजना र नेपाल मगर विद्यार्थी पृथ्वीनारायण क्याम्पसको सहआयोजनामा सम्पन्न वृहत खुल्ला सांस्कृतिक तथा नृत्य प्रतियोगितामा सामुहिकतर्फ डिडी डान्स स्टुडियो प्रथम भएको छ । यस्तै न्यू ग्यालेक्सी बोर्डिङ स्कुल द्धितीय, फुलमुन डान्स स्टुडियो तृतीय र दीप मगर समाज र ज्ञानु बाबा बोर्डिङ स्कुलले सान्त्वना स्थान हाँसिल गरे । सामुहिक नृत्य प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना भएका समूहलाई क्रमशः १२ हजार, ८ हजार, ५ हजार रसान्त्वना भएका दुई समूहलाई समान २÷२ हजार नगद राशी प्रदान गरेको आयोजक संस्थाका अध्यक्ष अर्जुन बरामले जानकारी दिए । उनका अनुसार एकल नृत्यतर्फ यसोधा रोका प्रथम, सरु खत्री द्धितीय र डानियाल तृतीय भइन् । उनीहरुले क्रमशः ५ हजार, ३ हजार र २ हजार पुरस्कार प्राप्त गरेका थिए ।
पोखरा: श्रीलंकाको कोलम्बोमा हुने जुनियर डेविस कप तथा बिली जीन किंग कप यु–१६ छात्र तथा छात्रा टेनिस प्रतियोगितामा भाग लिन नेपाली टोली श्रीलंका प्रस्थान गरेको छ । प्रतियोगितामा भाग लिन नेपालबाट ५ जनाको टोली श्रीलंका प्रस्थान गरेको हो । टोलीमा ३ जना छात्र र २ जना छात्रा रहेका छन् । टोलीमा पोखराका सृजन भट्टराई, आयुष्मान हुजुर घले, श्रीयोग अधिकारी, सुनिरा थापा र प्रशंसा मोक्तान रहेका छन् । उनीहरुलाई नेपाल टेनिस संघकी अध्यक्ष ज्योती राणाले विदाई गरिन् । श्रीलंकाको कोलम्बोमा फेब्रअरी २० देखी २५ सम्म संचालन हुनेछ ।
पोखरा: फागुन ७ देखी पोखरामा शुरु हुने प्रथम हिसान गण्डकी प्रदेश फुटसल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ । फागुन ७ गते देखी १० गते सम्म सञ्चालन हुने प्रतियोगितामा गण्डकी प्रदेशका ४ जिल्लाका १३ टिमले भाग लिएका छन् । सार्वजनीक भएको खेल तालिका अनुसार माउन्ट अन्नपुर्ण र कास्की मोडनाइजले उद्घाटन खेलमा प्रतिस्पर्धा गर्ने छन् । त्यसै गरी दोस्रो खेल सृजना स्कुल र जेसिए बिच हुनेछ । पहिलो दिन पाँच खेल हुने प्रतियोगिताका संयोजक सन्तोष पराजुलीले जानकारी दिए । पहिलो दिनको तेस्रो खेल बालविकास र चिल्डेन लाइफ बिच हुने छ भने चौथो खेल सगरमाथा वि र गैडाकोट नमुना स्कुल बिच हुनेछ । पहिलो दिनको अन्तिम खेल लिटिल स्टेप मावि पोखरा र फियुचर ब्राइट स्कुल बाग्लुङका बिच हुने पराजुलीले बताए । सगरमाथा ए, करुणनीधि फाउन्डेसन र द वल्ड क्यापिटलले बाइ पाएका छन् । दोस्रो दिन क्वाटर फाइनलका ४ खेल हुने छन् भने तेस्रो दिन सेमिफाइनलका २ खेल हुनेछ । फागुन १० गते फाइनल हुनेछ । कास्कीबाट ८, बागलुङबाट २, नवलपुरबाट २ र गोरखाबाट १ गरि १३ टिमले प्रतियोगितामा सहभागीता जनाएको प्रतियोगिताका व्यवस्थापन गरिरहेको सबिन ममोरियल क्लबका अध्यक्ष संजय लिगलले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद १ लाख, मेडल, ट्रफि र उपविजेताले नगद ५० हजार, मेडल र ट्रफि प्राप्त गर्ने छन् ।
काठमाडौं: दीपेन्द्र सिंह ऐरी र कुशल मल्लको उत्कृष्ट ब्याटिङ मद्दतमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु मा शुक्रबार शीर्ष स्थानको स्कटल्याण्ड ३ विकेटले पराजित गरेको छ । दीपेन्द्र र कुशलले अर्धशतक प्रहार गरेपछि नेपालले २७५ रनको लक्ष्य ४७ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो । दीपेन्द्रले ११६ बल खेल्दै ८ चौका र १ छक्का मद्दतमा अविजित ८५ रन बनाए । कुशलले ६७ बल खेल्दै ९ चौका र ४ छक्कामा ८१ रन बनाए । दुवैले ओडिआईमा दोस्रो अर्धशतक बनाएका हुन् । दीपेन्द्रको भने लिग टु मा यो पहिलो अर्धशतक हो । नेपालले दोस्रो पटक ओडिआईमा स्कटल्याण्डलाई हराएको हो । यसअघि गत जुलाईमा स्कटल्याण्डलाई लिग टु मा उसैको मैदानमा पराजित गरेको थियो ।
काठमाडौं: नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको नेशनल वर्न सेन्टरमा उपचार भइरहेको छ। भण्डारीको पहिलो सर्जरी सफलतापूर्वक सम्पन्न भएको अस्पतालमा रहेका योगराज कंडेलले जानकारी दिए। भण्डारीको उपचारमा खटिएका मुख्य सर्जन डा़ सुनिल केसवानीका अनुसार भण्डारीको दायाँ खुट्टामा एकदमै डिप ईन्जरी रहेकोले सोचेभन्दा धेरै समय लगाएर सर्जरी गर्नु परेको थियो। दायाँ खुट्टा माईल्ड रहेको डाक्टर केसवानीले बताएको कंडेलले जानकारी दिए। भण्डारीको दुवै खट्टाको सर्जरी सम्पन्न भएको छ। दोस्रो सर्जरी गर्ने वा नगर्ने अव्जरवेसन पछि मात्र निर्णय हुने डाक्टर केसवानीले बताएका छन्। बुधबार राति ग्यास सिलिण्डर विस्फोट हुँदा भण्डारी घाइते भएका हुन्। उनको थप उपचारका लागि बुधबार नै भारतको नेशनल वर्न सेन्टर लगिएको हो। विष्फोटमा गम्भीर घाइते भएकी भण्डारीको आमा हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको छ।

