तनहुँ: कृषि ज्ञान केन्द्र तनहुँले समूहमा आबद्ध भएका कृषकलाई एक सय ५३ मौरीसहितको घार वितरण गरेको छ । आँबुखैरेनी, म्याग्दे, बन्दीपुर गाउँपालिकामा ४६ वटाका दरले र ऋषिङमा १५ वटा गरी कृषकलाई मौरीसहितको घार वितरण गरेको हो । आँबुखैरेनी–४ खस्राङ गाउँका कृषक समूहमा आबद्ध २६ कृषकलाई ९० प्रतिशत अनुदानमा ४६ वटा मौरीसहितको घार प्रदान गरेको हो । कृषकलाई मौरीसहित घार, स्ट्याण्ड, पन्जा, धुवादानी, टोपी, महदानीलगायतका आवश्यक पर्ने सामग्री प्रदान गरेको कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख कुलप्रसाद तिवारी जानकारी दिनुभयो । त्यसैगरी म्याग्दे गाउँपालिका–४ स्थित छिम्लीस्वाँरा कृषक समूहमा आबद्ध भएका कृषकलाई ४६ वटा मौरीसहितको घार वितरण गरिसकेको सो कार्यालयले जनाएको छ । ग्रामीण पोषण सुरक्षा कार्यक्रमअन्तर्गत उक्त क्षेत्रका कृषकलाई ९० प्रतिशत अनुदानमा मौरीसहितको घार वितरण गरिएको उहाँले बताउनुभयो । त्यसैगरी बन्दीपुर गाउँपालिका–२ हलथुम्काका विपन्न, गरिब र न्यून आएका भएका ४६ परिवारलाई मौरीसहितको घार वितरण गरेको छ । विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रमअन्तर्गत ऋषिङ गाउँपालिका–४ भीरकोटमा १५ वटा मौरीसहितको घार वितरण गरेको केन्द्रले जनाएको छ । कृषकलाई मौरीपालनतर्फ आकर्षित गर्दै उनीहरुलाई आयआर्जनमुखी बनाउने उद्देश्यले सरकारले कृषकलाई अनुदानमा मौरीसहितको घार वितरण कार्य गर्दै आएको आएको उहाँले बताउनुभयो । मह उत्पादन गरी कृषकको आयआर्जनमा सहयोग पु¥याउन मौरीसहितको घार वितरण कार्यलाई प्राथमिकता दिएको केन्द्रले जनाएको छ । –––
काठमाण्डौ: लगातार बढ्दै गएको सुनको भाउले दिनहुँ नयाँ रेकर्ड राख्न थालेको छ । अस्तिभन्दा हिजो र हिजो भन्दा आज भाउ बढेर सुन अहिलेसम्मकै महँगो भएको छ । सुन आज तोलाको एक लाख १३ हजार ३ सय रुपैयाँमा पुगेको छ । यो हिजोको भाउभन्दा तोलामा आठ सय रुपैयाँले धेरै हो । हिजो पनि तोलामा ५ सय रुपैयाँले बढेर एक लाख १२ हजार ५ सय रुपैयाँमा पुगेको थियो । अस्ति, तोलामा एक लाख १२ हजार रुपैयाँ पुगेको थियो । आज फेरि भाउले नयाँ रेकर्ड बनाएको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार सुनको भाउ अझै बढ्ने सम्भावना छ । उहाँका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढिरहेको र सुनको आयातमा लाग्ने भन्सार दर समेत सरकारले बढाएकाले भाउ अझै बढ्ने सम्भावना छ । गएको १५ गते सार्वजनिक भएको बजेटमा सरकारले सुनचाँदीको आयातमा लाग्ने भन्सार दर बढाएको थियो । बजेट अघि नेपालमा प्रतिकिलो सुनमा ८ लाख ५० हजार रुपैयाँ र प्रतिकिलो चाँदीमा ८ हजार ५ सय भन्सार लाग्दै आएको छ। यसैबीच, आज चाँदीको पनि भाउ बढेको छ । तोलामा २५ रुपैयाँले बढेर चाँदी आज एक हजार चार सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
काठमाडौं: सुनको मूल्यमा बिहीबार पनि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य हालसम्मकै उच्च एक लाख १२ हजार ५ सय रुपैयाँ पुगेको छ । बुधबार हालसम्मकै उच्च मूल्य एक लाख १२ हजार रुपैयाँ प्रतितोलामा सुनको खरिद बिक्री भएको थियो । आज तेजावी सुनको मूल्य एक लाख ११ हजार ९५० र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर एक हजार ४ सय १० रुपैयाँ कायम भएको छ । बिहीबार तेजावी सुन एक लाख ११ हजार ४५० र चाँदी १३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।
ढोरपाटन: हरिचौर बजार बागलुङको पुरानो जिल्ला सदरमुकाम हो । साँघुरा ठाउँमा अव्यवस्थित बस्ती । त्यसले गर्दा बजारको सौन्दर्यता हराउँदै गएको छ । तर गलकोट नगरपालिकाले बजारको सौन्दर्यलाई जोगाइराख्न व्यवस्थित बजारका रुपमा विकास गरिरहेको छ । बजार क्षेत्रमा आवश्यकपर्ने पूर्वाधारसमेत निर्माण गर्न थालेको छ । सार्वजनिकस्थलमा खानेपानी, शौचालय, बालउद्यानलगायतका संरचना निर्माणमा नगरपालिकाले ध्यान दिएको छ । नगरपालिले चालु आर्थिक वर्षमा बालबालिका र वृद्धवृद्धालाई लक्षित गरी वडा नं ६ हरिचौरमा बालउद्यान निर्माण गर्न थालेको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु छ लाखले उद्यान निर्माणको सुरुआत गरेको छ । नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्नका लागि हरेक वडामा बालउद्यानलगायतका संरचना आवश्यक हुनेहुँदा हरिचौरमा यस वर्ष उद्यान निर्माण गर्न थालिएको वडाध्यक्ष पवन हमालले बताउनुभयो । उहाँले बजार नजिकैको दुई रोपनी सार्वजनिक जग्गामा बालउद्यान निर्माण गर्न थालेको जानकारी दिनुभयो । बालउद्यानसँगै ढल व्यवस्थापनलगायतका कामसमेत गरिरहेको छ । बालउद्यानका लागि यस वर्ष जग्गा व्यवस्थापन गरी सम्याएर संरचना निर्माण गर्न थालिएको अध्यक्ष हमालको भनाइ छ । उद्यानसँगै बगैँचासमेत व्यवस्थापन गरिनेछ । अहिले उद्यानमा बालबालिकाका लागि खेल्ने सामग्री राखिएको उहाँले बताउनुभयो । अहिलेसम्म बजार क्षेत्रमा कुनै पनि तनाव व्यवस्थापन गर्ने स्थल नभएको भन्दै वडा कार्यालयले छोटो समय भए पनि भुल्ने स्थान बनाउन थालेको अध्यक्ष हमाल बताउनुहुन्छ । आफूहरुले हरिचौर बजारलाई समेत थप व्यवस्थित र बालमैत्री बजारका रुपमा विकास गर्न थालिएको उहाँको भनाइ छ । “यस वर्षदेखि हामीले बजार व्यवस्थापन गर्नुका साथै बालउद्यान निर्माण गर्न थालेका छौँ, बजार तीव्ररुपमा विस्तार हुँदैछ, दिनदिनै भिडभाड हुने हुँदा शान्त हुने ठाउँको अभाव पनि छ, त्यसले गर्दा मान्छेलाई एकैछिन भए पनि ‘फ्रेस’ हुन र मनलाई शान्त पार्नका लागि बालउद्यान निर्माण गरेका हौँ”, अध्यक्ष हमालले भन्नुभयो, “खासगरी बालबालिका र वृद्धवृद्धालाई लक्षित गरी यो निर्माण गरेका हौँ, यस वर्ष केही काम भएको छ, आगामी वर्षको बजेटले पूर्णता दिनेछौँ, उद्यानमा फूलबारी हुनेछ, बालबालिका खेल्ने सामग्री अहिले नै राखेका छौँ थप सामग्री व्यवस्थापन गर्दै जानेछौँ ।” अध्यक्ष हमालले हरिचौर बजार क्षेत्र अव्यवस्थित हुँदा आगन्तुक तथा स्थानीयलाई समस्या हुने गरेको भन्दै अब बन्ने सबै संरचना मापदण्डअनुसार निर्माण हुने र हरिचौरलाई जिल्लाकै उत्कृष्ट बजारका रुपमा विकास गर्ने अध्यक्ष हमालले बताउनुभयो । यहाँ रहेका साँघुरो र अप्ठ्यारो सडकमा बेलाबेला दुर्घटना हुने गरेको भन्दै अहिले ढलान गरेको उहाँ बताउनुहुन्छ । गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले हरिचौर बजारको सौन्दर्यकरण गरी व्यवस्थित बजार बनाउन नगरपालिकाले मापदण्ड बनाएको बताउनुभयो । बजारमा तीव्ररुपमा भवनहरु बनिरहेको भन्दै अब निर्माण हुने सबै संरचना नगरपालिकाले बनाएको मापदण्डअनुसार बनाउनुपर्ने प्रवक्ता भण्डारी बताउनुहुन्छ । यहाँ ऐतिहासिक गलकोट दरबार छ । हरिचौर हुँदै पर्यटकीयस्थल टेउवाको मूर्तिकला पुगिने हुँदा बजारमा विभिन्न संरचना बनाउन थालिएको उहाँको भनाइ छ । प्रवक्ता भण्डारी भन्नुहुन्छ, “हरिचौर बजार पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको ठाउँ हो, यहाँ दैनिक आन्तरिक पर्यटक घुम्न आउने गर्छन्, यहाँको गलकोट दरबार र टेउवाको मूर्तिकला हेर्न आउने पर्यटकले एकैछिन थकान मेटाउनका लागि र बालबालिकालाई ‘रिफ्रेसमेन्ट’ गराउनका लागि पार्क निर्माण भएको छ, अहिले सामान्यरुपमा निर्माण भए पनि यसलाई थप व्यवस्थित बनाउने योजना छ ।”
काठमाडौं: लगातार छैटौँ दिन आज मङ्गलबार पनि शेयर बजार बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५१ दशमलव ३२ अङ्कले बढेर एक हजार नौ सय ४२ दशमलव ६३ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर उकालो लागेकोमा बीमा, माइक्रोफाइनान्स, विकास बैंक र जलविद्युत् समूहको शेयर उच्च अङ्कले बढेको छ । बजारसँगै कारोबार रकममा पनि निकै सुधार आएको छ । दुई सय ७१ वटा कम्पनीका ६० लाख ६७ हजार कित्ता शेयर दुई अर्ब २० करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको १० करोड रुपैयाँको शेयर किनबेच भयो । आज खप्तड लघुवित्त, कालिका लघुवित्त, आत्मनिर्भर लघुवित्त र सामुदायिक लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । आज जम्मा दुई वटा कम्पनीको शेयरमात्रै सामान्य घटेको छ ।
काठमाडौं: निजी व्यवसायीहरूको छाता सङ्गठन नेपाल चेम्बर अफ कमर्सको आयोजनामा छैटौँ चेम्बर एक्स्पो हुने भएको छ । चेम्बर अफ कमर्सले काठमाडौंमा पत्रकार सम्मेलन गरी भोलिदेखि जेठ ८ गतेसम्म काठमाडौँको भृकुटीमण्डमा एक्स्पो आयोजना गर्न लागेको हो । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले एक्स्पोमा स्वदेशी उत्पादनसँगै विभिन्न अन्तर्राष्ट्रिय वस्तु राखिने जानकारी दिनुभयो । एक्स्पोमा व्यापारिक अन्तक्र्रिया, आयात–निर्यातको सूचना आदान–प्रदान एवं नेपाली वस्तुको बजारीकरणमा जोड दिइने उहाँको भनाइ छ । मुलुकभित्र आयोजना हुने अन्तर्राष्ट्रिय स्तरका व्यापार मेला तथा प्रदर्शनीले उत्पादन, उपभोक्ताको चाहना एवं बजारीकरण तथा व्यापारिक गतिविधि प्रत्यक्ष अवलोकन गर्न सकिने अध्यक्ष मल्ल बताउनुहुन्छ । “बाह्य व्यापारिक समुदायसँग सहकार्य गरी स्वदेशी उद्यमी व्यवसायीमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न एक्स्पो प्रभावकारी हुनेछ”, उहाँले भन्नुभयो । एक्स्पोमा नेपाली हस्तकलाका उत्पादन, घरेलु तथा खाद्यान्न सामग्री, जडीबुटीजन्य वस्तु प्रदर्शनी गरिने छ । यस्तै अटोमोबाइल, विद्युतीय सामग्री, फेसन वेयर, छालाजन्य वस्तुसमेत प्रदर्शनीमा राखिनेछन् । मेलामा नेपाललगायत भारत, पाकिस्तान, बङ्गलादेश तथा अन्य विभिन्न मुलुकमा उत्पादित सामग्रीको कक्ष राखिने छ । मुलुकको अर्थतन्त्र चलायमान बनाउन एवं गुणस्तरीय वस्तु प्रयोगमा जोड दिन र उपभोक्तालाई सचेत गराउने उद्देश्यले मेला आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।
काठमाडौं: सुनको मूल्य प्रतितोला एक हजार दुई सय रुपियाँले बढेर नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज (बिहीबार) छापावाल सुनको मूल्य प्रतितोला एक हजार दुई सय रुपियाँले बढेर एक लाख ११ हजार आठ सय कायम भएको छ । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार २५० पुगेको छ । साथै चाँदीको मूल्य प्रतितोला एक हजार ४४५ पुगेको छ ।
पोखरा: पोखरा उद्योग वाणिज्य संघले व्यवसायीहरुलाई धैर्य नगुमाउन तथा घरधनीहरुलाई घरभाडामा सक्दो छुट दिन अनुरोध गरेको छ । पोखराको मुख्य बजार क्षेत्रकै सटर तथा कवलहरु खाली हुन थालेपछि संघले। सो आग्रह गरेको हो । संघका महासचिव बलराम आचार्यद्धारा बुधबार जारी विज्ञप्तिमा बैंकको चर्को ब्याजदर,आर्थिक मन्दीका कारण व्यवसायमा आएको सिथिलताले पलायनको अवस्था ल्याएको र यो परिस्थितिबाट व्यवसायीहरुलाई जोगाउन राज्यले विशेष ध्यान दिनुपर्ने माग गरिएको छ । महासचिव आचार्यले यो विषयमा नेपाल घरभाडा सरोकार समितिसँग परामर्श गरेको जानकारी दिँदै भनेका छन्,‘माहुरीलाई पोलेपछि अर्को पटक मह प्राप्त हुँदैन । माहुरीलाई पालेर मह लिने हो । तसर्थ संकटको यो बेला साबिकको घर भाडामा सम्भव भएसम्म छुट दिन,स्थिति सहज नहुँदासम्म बहाल नबढाउने सुनिश्चितता गर्न हामी घरधनीसँग आग्रह गर्दछौं ।’ संघको विज्ञप्तिमा नियमित भाडा बुझाउनेलाई प्रोत्साहित गर्नुपर्ने तथा घरधनीसँग मित्रवत् व्यवहार गर्न,सम्झौता अनुरुपको भाडा तिर्नुपर्छ र नतिरे कानुन आकर्षित हुन्छ भन्ने मनन गर्न व्यवसायीहरुसँग आग्रह पनि गरिएको छ ।
काठमाडौं: शेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले गिरावट आएको छ। बुधबार नेप्से परिसूचक ९.१८ अंकले घटेर १८५७.२३ बिन्दुमा झरेको हो। पछिल्लो एक सातादेखि नेप्से परिसूचक निरन्तर रुपमा घट्दै आएको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.१९ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.७० अंक र सेन्सेटिभ इण्डेक्स ०.३५ अंकले घटेको छ। बुधवार कारोबारमा आएका २६५ कम्पनीको २१ लाख ५५ हजर कित्ता शेयर ६२ करोड १ लाख ९४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। मंगलबारको तुलनामा बुधबार कारोबार रकम पनि गिरावट आएको छ। अघिल्लो कारोबार दिन करिब ७० करोडको शेयर कारोबार भएको थियो। बुधबार नेप्सेका १३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। जसमा उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक बढेको छ। तर यता जलविद्युत, होटल तथा पर्यटन लगायत अन्य उपसमूहको परिसूचक घटेको छन्। नेप्से परिसूचक सामान्य गिरावट भए पनि आत्मनिर्भर लघुवित्तको शेयरमूल्य ६.०९ प्रतिशत बढेको छ। त्यस्तै, श्वेत गंगा हाइड्रोपावरको शेयरमूल्य ५.६६ प्रतिशत बढेको छ। तर यता एनआईबिएल ग्रोथ फण्डको इकाई मूल्य ५ प्रतिशतभन्दा बढीले घटेको छ। बुधवारको कारोबारमा शिवम सिमेन्ट्स कम्पनीको तीन करोड ५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।