मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ । काग खोला र कालीगण्डकीको तटमा अवस्थित कागबेनीमा औँसी तिथि पारेर दिवङ्गत आफन्तको नाममा पिण्डदान गर्नेको बिहानैदेखि घुइँचो लागेको हो । कागबेनीमा पुगेका तिर्थालुले दिवङ्गत पितृको नाममा श्राद्ध, तर्पण र पिण्डदानमा सहज व्यवस्थापन गरिएको कागबेनीस्थित जनशान्ति माविका शिक्षक मनवीर किसानले बताए । तिर्थालुलाई त्रिवेणीधाममा सहज रूपमा पूजाआजाका लागि प्रहरी चौकी कागबेनी, मुक्तिनाथ अन्नदान क्षेत्र सन्त सेवा आश्राम, स्थानीय आमा समुह, यूवा क्लब सहित सङ्घसंस्थाले समेत सघाइरहेका छन्।
गोरखा: मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ । बागमती प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार रहेको बुझिएको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा प्रहरी र स्थानीय उद्धारमा खटिएका छन् । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।
लमजुङमा प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार धर्मराज केसी विजयी हुनुभएको छ । शनिबार सम्पन्न मतगणनामा नेकपा (एमाले) र नेपाली कांग्रेसका उम्मेदवारको भन्दा दोब्बर मत ल्याउँदै केसी विजयी हुनुभएको हो । नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्व सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई १७ हजार २२ मतान्तरले पछि पार्दै रास्वपाका केसीले जित निकाल्नुभएको हो । निर्वाचनमा खसेको कुल ७५ हजार ४६० मतमध्ये ३३ हजार ८९८ मत प्राप्त गर्दै केसीले प्रतिनिधि सभाको यात्रा तय गर्नुभएको हो । केसीले ३३ हजार ८९८ मत पाउँदा नेकपा (एमाले) का उम्मेदवार गुरुङले १६ हजार ८७६ मत र नेपाली कांग्रेसका उम्मेदवार गमप्रसाद गुरुङले १६ हजार ५९६ मत प्राप्त गर्नुभयो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का हरि जङ्ग तामाङले ३ हजार ३७१ मत पाउनुभयो । देशभर रास्वपाको लहर चल्दा लमजुङमा बलियो सङ्गठन रहेका एमाले र कांग्रेसका उम्मेदवारहरूको संसद् यात्रामा ‘ब्रेक’ लाग्न पुगेको छ । २०७९ को निर्वाचनमा एमालेका पृथ्वीसुब्बा गुरुङले तत्कालीन नेपाली कांग्रेस–माओवादी केन्द्र गठबन्धनका साझा उम्मेदवार तथा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई पराजित गर्नुभएको थियो । पृथ्वीसुब्बा गुरुङले ३४ हजार ९६९ मत ल्याउँदा देवप्रसाद गुरुङ ३१ हजार ७८१ मतमा सीमित हुनुभएको थियो । त्यतिबेला मतान्तर ३ हजार १८८ थियो ।
कास्की क्षेत्र नम्बर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की बिना गुरुङ विजयी भएकी छिन्। शुक्रबार राति सम्पन्न मतगणनामा रास्वपाकी गुरुङले प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज गुरुङलाई २० हजार ८ सय ५५ मतान्तरले हराउँदै विजय हासिल गरेकी हुन्। विजयी गुरुङले ३१ हजार १ सय १२ मत प्राप्त गरिन् भने पराजित मनोज गुरुङले ११ हजार २ सय ५७ मत प्राप्त गरे। उनले दोब्बरभन्दा बढी मतको अग्रता बनाएकी हुन्। नेकपा एमालेका उम्मेदवार दामोदर पौडेल बैरागीले ६ हजार ७ सय ५ मत प्राप्त गरे। त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका गोपाल गिरीले १ हजार २ सय ६४, राप्रपाका अर्जुनप्रसाद खनालले १ हजार १ सय ७९, श्रम संस्कृति पार्टीका हितकाजी गुरुङले ५ सय ३३ र उज्यालो नेपाल पार्टीका तर्क बहादुर गुरुङले ४ सय १० मत प्राप्त गरे।
काठमाडौं। प्रतिनिधिसभा सदस्या निर्वाचन सम्पन्न भएको छ । केही स्थानमा आजैबाट मतगणना सुरु हुने बताइएको छ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सम्पन्न भएको सबैलाई धन्यवाद दिएकी छन् । असहज अवस्थामा पनि शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न गराउन सहयोग गर्ने सबैलाई कार्कीले धन्यवाद दिएकी हुन् । निर्वाचन सम्पन्न भएपछि कार्कीले दिएको अन्तरवार्ताको केही अंश प्रस्तुत छ: निकै असहज परिस्थितिमा प्रधानमन्त्रीको जिम्मेवारीमा आउनुभएको थियो। आज निर्वाचन गराउन सफल हुनुभयो। कस्तो लागेको छ? प्राप्त जिम्मेवारी पूरा गर्न सकेकामा खुसी त लाग्ने नै भयो । म खुसी छु । हामीलाई प्राप्त जिम्मेवारी नै त्यही थियो । तर म एक्लैले यो सम्भव भएको होइन । सिंगो मन्त्रिपरिषद्को मेहनत लागेको छ । निर्वाचन आयोग, सुरक्षा निकाय, कर्मचारी, राजनीतिक दल, उम्मेदवार सबैको भूमिका छ । खास गरी हाम्रो आह्वान स्वीकार गरेर निर्वाचनमा सहभागी हुनुहुने नेपाली जनताले नै यसलाई सफल बनाउनुभएको हो । निर्वाचन सम्पन्न गर्नुअघि मुख्य रूपमा के कस्ता चुनौतीको सामना गर्नुभयो? चुनौती र बाधा अवरोधहरू धेरै थिए। मुख्य चुनौती सुरक्षाको थियो। एकीकृत निर्वाचन सुरक्षा योजना ल्याइयो। त्यो प्रभावकारी पनि भयो। सफलतासाथ शान्ति कायम गर्न सम्भव भयो। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र गृह प्रशासन सबैका बीचमा समन्वय पनि राम्रोसँग भयो। सबैले एउटै राष्ट्रिय भावनाका साथ काम गर्नुभयो। उहाँहरू सबै धन्यवादका पात्र हुनुहुन्छ। सहिद परिवार तथा घाइते योद्धाहरूको संयम र समझदारीलाई पनि यहाँनिर बिर्सन मिल्दैन। उहाँहरूप्रति उच्च सम्मान छ। निर्वाचनलाई लिएर सुरुदेखि नै आशंकाहरु गरिएको थियो। निर्वाचन नै हुँदैन, यो सरकारले गर्न सक्दैन भनिएको थियो। कसरी सम्भव तुल्याउनुभयो ? तपाईँहरूलाई थाहै छ, कस्तो असहज र अनिश्चयपूर्ण अवस्थामा हामीले जिम्मेवारी सम्हालेका थियौँ? तर हामीलाई आत्मविश्वास थियो काम गर्न सक्छौँ भन्ने । लगनशीलता भएमा कुनै कुरामा लागिपरे सम्भव हुने रहेछ । चुनौती भए पनि हामी आफ्नो जिम्मेवारी अनुकूलको काम गर्दै गयौँ । हामीमाथि विभिन्न प्रकारले आक्रमण नभएको होइन । बाधा अवरोध नआएको होइन । तर हामी त्यसबाट विचलित भएनौँ। निःस्वार्थ र निष्ठा राखेर काम गरे फत्ते हुन्छ भन्ने विश्वास थियो । जति अवरोध भए पनि बाटो हामीले छाडेनौँ । चुनौतीहरू धेरै सामना गर्नुपर्यो । हामीलाई दलहरूले नै अयोग्य भनेकै हुन् । जेनजीका केही व्यक्तिले पनि औँला उठाएकै हुन् । तर हामीले मुलुकमा शान्ति कायम गर्ने उद्देश्यमा लाग्यौँ । रक्तपात नहोस्, कुनै अप्रिय घटना नहोस्, शान्त र अनुशासित रूपमा निर्वाचन होस् भन्ने लागेको थियो। सभ्य हिसाबमा होस् भन्ने थियो। चुनावमा हिंसा हुनुहुँदैन भन्ने पहिलो दिनबाटै भनेको हो । हाम्रो प्रयास नै त्यसैमा रह्यो। कसले के भन्छ भनेर हामीले त्यस्ता कुरा सुन्दै सुनेनौँ। हामीले काम मात्र सोच्यौँ। हामीले हाम्रा लागि गरेका पनि होइनौँ। मुलुक र जनताका लागि गरेका हौँ। सिंगो मुलुकको साथ पनि पाइयो। निर्वाचन गराउने सन्दर्भमा अझै केही राम्रो गर्न सकेको भए हुन्थ्यो भन्ने लागेको छ ? विदेशमा भएका र अन्तरजिल्ला मतदान गर्न पाएको भए हुन्थ्यो भन्ने लागेको छ। खर्चमा हामीले मितव्ययिता अपनायौँ। अझै कम गर्न सकिन्थ्यो । तर भदौ २३ र २४ को घटनाका कारण धेरै साधन नयाँ किन्नुपर्यो। तैपनि यो निर्वाचन निकै नै सभ्य अनि अनुशासित रूपमा सम्पन्न भएको छ । आगामी जनप्रतिनिधि र सरकारलाई के भन्न चाहनुहुन्छ ? मुलुकका समस्याप्रति सबै जानकार छन्। सबैले समस्या देखेका छन् तर तिनको समाधानमा इमानदार प्रयास आवश्यक छ। जेनजीले उठाएका मागहरू छन्। तिनको सम्बोधन गर्नुपर्छ। जस्तो कि देशमा सुशासन होस्, स्वदेशमै बस्न पाइयोस्। यहीँ काम पाइयोस्। भ्रष्टाचार, विभेद र पक्षपात नहोस्। विदेशमा लास बनेर फर्किनुपर्ने अवस्थाको अन्त्य होस्। देशभित्रै गुणस्तरीय शिक्षा पढ्न पाउन् युवाले। संविधानसम्मत मौलिक हकको अक्षरशः पालना होस्। हामीले के गर्न खोजेका थियौँ, के सम्भव भयो, के अधुरो रह्यो र के काम के कारणले सम्भव हुन सकेन भन्ने विषयमा श्वेतपत्र नै छाडेर जान्छौँ। ताकि आगामी सरकारलाई मार्गदर्शन होस्। गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन के हुन्छ अब? आयोगले प्रतिवेदन बुझाउनासाथ कार्यान्वयनमा जान्छ। मैले भन्दै आएकी छु, मुलुकमा कुनै पनि प्रकारको दण्डहीनताले ठाउँ पाउनुहुँदैन। त्यसैले अहिलेको आयोगको मात्र होइन, अरू पनि त्यस्ता प्रतिवेदन छन् भने ती हेर्छौँ र सार्वजनिक गरिदिन्छौँ। ताकि जनताले थाहा पाउन्।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएको बताएका थिए । ट्रम्पले ट्रुथ सोसलमार्फत् खामेनी मारिएको दाबी गरे पनि इरानबाट पुष्टि हुन सकेको थिएन । इरानका विदेशमन्त्री अब्बास अराघचीले त एनबीसी समाचार संस्थासँगको कुराकानीका क्रममा आफ्ना नेता सुरक्षित र स्वस्थ रहेको दाबी गरेका थिए । तर इरान राज्यको टेलिभिजनका एक प्रस्तोताले भावकु हुँदै सर्वोच्च नेता खामेनीको मृत्यु भएको र ४० दिन शोकको घोषणा भएको जानकारी दिएको बीबीसीले जनाएको छ । अलजजिराका अनुसार इरानको फार्स न्युज एजेन्सीले पनि सर्वोच्च नेता खामेनी शनिबार नै मारिएको जनाएको छ । समाचारअनुसार खामेनी आफ्नो कार्यालयमा ‘आफूलाई तोकिएको जिम्मेवारी पूरा गरिरहँदा’ शनिबार बिहान सबेरै मारिएका थिए । फार्स न्युज एजेन्सीका अनुसार सरकारले ४० दिन शोक र सात दिन सार्वजनिक बिदा समेत घोषणा गरेको छ । इरानकै तस्निम न्युज एजेन्सीले पनि खामेनीको मृत्यु पुष्टि भएको जनाएको छ । को हुन् खामेनी ? ८६ वर्षीय यी इस्लामिक विद्वान नेता खामेनी सन् १९८९ देखि इरानको सर्वोच्च नेताका रूपमा रहँदै आएका छन् । उनले इस्लामिक गणतन्त्र इरानका संस्थापक आयतुल्लाह रुहोल्लाह खोमेनीको उत्तराधिकारीका रूपमा यो पद सम्हालेका हुन् । खोमेनीले निर्वासनबाट फर्केर सन् १९७९ को इस्लामिक क्रान्तिको नेतृत्व गरेका थिए, जसले अमेरिकाका सहयोगी शासक शाह मोहम्मद रेजा पहलवीलाई सत्ताच्युत गरेको थियो । इस्लामिक गणतन्त्र इरानका संस्थापक आयतुल्लाह रुहोल्लाह खोमेनी । उनको ३ जुन १९८९ मा निधन भएको थियो । खामेनीसँग सरकारका सबै निकाय, सेना र न्यायपालिकामाथि अन्तिम अधिकार रहन्छ । यसका साथै उनले देशको सर्वोच्च आध्यात्मिक नेताका रूपमा पनि भूमिका निर्वाह गर्छन् । आफ्नो शासनकालमा खामेनीले पश्चिमा देशहरूसँगको शत्रुतापूर्ण सम्बन्धको सामना गरेका छन्, जसमा कडा आर्थिक प्रतिबन्ध र स्वदेशभित्रै अर्थव्यवस्था तथा अधिकारका विषयमा भएका कैयौँ चरणका विरोध प्रदर्शन समावेश छन् । उनले संयुक्त राज्य अमेरिकालाई इरानको पहिलो शत्रुका रूपमा घोषणा गरेका छन्, जसमा इजरायललाई पनि उस्तै प्रमुख शत्रुको रूपमा हेर्ने गरिन्छ ।
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ गते साँझ पाँच बजेसम्म अत्यावश्यकबाहेकका निजी तथा सार्वजनिक सवारी सञ्चालन बन्द गरेकाले रात्रि बसहरू सञ्चालन नगर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । फागुन २० गते दिउँसो भने यातायात सञ्चालन हुने छन् । २० गते राति १२ बजेसम्म गन्तव्यमा पुग्न सक्ने रुटका बसहरू सञ्चालन हुने महासङ्घका कार्यवाहक अध्यक्ष सरोज सिटौलाले जानकारी दिए। २० गतेका रात्रि बसहरूको टिकट नकाटिएको पनि उहाँले बताए । एम्बुलेन्स, दमकल, शव वाहन, रक्तसञ्चार सेवा, सुरक्षा निकायका सवारी, विद्युत्, खानेपानी, ढल तथा दूरसञ्चार मर्मतका सवारीसाधन भने निर्बाध रूपमा सञ्चालन हुने छन् । सञ्चार गृहलगायत अन्य सवारीसाधन भने निर्वाचन आयोगबाट पास लिएर चल्न पाउने छन् ।
पोखरा । ‘इतिहास, भाषा, संस्कृति संरक्षण सम्बद्र्धन मगरहरुको मूल मन्त्र, जातिय पहिचान र स्वायत्त शासनसहितको संघीय लोकतान्त्रिक गणतन्त्र’ भन्ने नारासहित एकताको सन्देश दिँदैं पोखरामा पनि ४४ औं मगर एकता दिवस मनाएको छ । हरेक वर्षको फागुन १५ गते मनाइदैं आएको मगर एकता दिवस मगर जातिसँग सम्बन्धित बाँजागाजासहित र्याली निकालेर मगर दिवस मनाएको हो । नेपाल मगर संघ कास्कीले आयोजना गरेको सो कार्यक्रमको र्याली मानव अधिकार चोकबाट सुरु भई न्यूरोड, सभागृह हुँदै रंगशालास्थित मगर संघको भवनमा पुगेर सभामा परिणत भएको थियो । र्यालीमा नेपाल मगर संघ कास्कीमा आबद्ध ३० वटा इकाई समितिभन्दा बढी समाजको सहभागी दिए । एकताको सन्देशसहित आज देशका विभिन्न स्थानमा एकसाथ मगर एकता दिवस मनाइदैँछ । थप तस्बिरहरु:-
पोखरा: नेकपा एमालेबाट कास्की–१ मा प्रतिनिधिसभा सदस्य उम्मेद्वार रहेका बैनबहादुर अधिकारी क्षेत्रीले अव्यवस्थित र सुकुम्बासीसम्बन्धी समस्या सधैंका लागि समाधान गर्न आफूले संसद्मा पुगेर पहल गर्ने प्रतिबद्धता जनाएका छन् । पोखरा–३२ मा बुधबार आयोजित घरदैलोमा उनले वर्षौंदेखि भोगचलन गरेको जमिन आफ्नो नाममा हुन नसक्नु दुःखद भएको बताए । ‘अझै पनि सेतो लालपुर्जा हुने, कतिको स्रेस्ता नबनेको अवस्था छ,’ उनले भने, ‘यसलाई समाधान गर्न संसद्मा स्पष्ट कानुन बनाएर यो सदाका लागि हल गर्नुपर्छ भन्ने कुरा ग्राउण्डमा काम गरेको, यस्ता वस्तीमा जाँदा मलाई जानकारी छ ।’ आफू विजयी भएपछि निर्वाचनमा गरेका प्रतिबद्धता क्रमशः पूरा गर्दै जाने उनले सुनाए । गगनगौंडा हुँदै मालमूल आउँदा खुदीखोलामा पुल बनाउन आवश्यक रहेको उनको भनाइ थियो । पक्की र व्यवस्थित पुल बनाउन घोषणापत्रमा योजना समावेश गरिएको अधिकारीले सुनाए । आफूले निर्वाचन जित्ने र ढुक्क भएर सूर्य चिन्हमा मतदान गर्न उनले मतदातालाई आग्रह गरे । अधिकारीसहित एमालेको टोली बिहीबार पोखरा–३१ मा घरदैलोमा जाने तालिका छ ।

