पाेखरा: चक्रिय अन्नपूर्ण पदमार्गले समेटिएको म्याग्दीको चर्चित पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा गएको साढे चार महिनामा १२ हजारभन्दा बढी विदेशी पर्यटकले भ्रमण गरेका छन्। साउनदेखि मंसिर १० गतेसम्म पुनहिल क्षेत्रमा १२ हजार तीन सय ६१ जना विदेशी पर्यटकले भ्रमण गरेको पर्यटक प्रहरी कार्यालय घोडेपानीले जनाएको छ। घोडेपानी अन्नपूर्ण चक्रिय पदमार्गमा आउने पर्यटकको रोजाइमा पर्ने गरेको छ। साउनमा नौ सय ७६, भदौमा नौ सय ९३, असोजमा तीन हजार एक सय ११, कात्तिकमा पाँच हजार सात सय ७९ र मंसिरमा १० गतेसम्म एक हजार पाँच सय दुई जनाले भ्रमण गरेको कार्यालयका इन्चार्ज प्रहरी सहायक निरीक्षक तारा बुढा मगरले जानकारी दिए। उनका अनुसार, म्याग्दीको पोखरेबगर, चित्रेहुँदै घोडेपानी र कास्कीको उल्लेरी, घान्द्रुक हुँदै आउने पर्यटकको तथ्याङ्क कार्यालयले राख्दै आएको छ। पहिले विदेशी पर्यटकको तथ्यांक मात्रै राख्ने गरिएकोमा पछिल्लो समय पैदलमार्ग हुँदै आउने आन्तरिक पर्यटकको समेत तथ्यांक राख्ने गरिएको छ। घोडेपानीमा पर्यटक याममा मासिक दुईदेखि तीन हजारसम्म आन्तरिक पर्यटकलेसमेत भ्रमण गर्छन्। घोडेपानीमा असोजदेखि मंसिरसम्म र फागुनदेखि जेठसम्म धेरै पर्यटक आउने गर्छन्। विगतका वर्षको तुलनामा यसवर्ष पर्यटकयाममा कम सङ्ख्यामा विदेशी पर्यटक आएको घोडेपानीका होटल व्यवसायी क्याप्टेन डमबहादुर पुनले बताए। ‘अन्नपूर्ण पदमार्गको क्षेत्रमा सडक पुग्न थालेको छ, पुराना पदमार्ग भत्किएका छन्, धुलो, धुँवाको कारण विदेशी पर्यटक आउनेक्रम घट्दो छ, केही मात्रामा आन्तरिक पर्यटकको चहलपहल भए पनि दिगो नहुँदा समस्या भएको छ,’ होटल व्यवसायी गर्वुजाले भने। ४३ घरधुरीको बसोबास रहेको घोडेपानीमा २४ वटा ठूला होटल छन् भने अन्य घरमा पसल र खाजाघर सञ्चालनमा छन्। घोडेपानीका होटलमा दैनिक एक हजार दुई सय जनासम्मलाई राख्न सक्ने क्षमता छ। समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाईमा अवस्थित पुनहिल चक्रिय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा परिचित छ। पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको सुन्दर दृष्यको दृश्यावलोकन गर्न पाइन्छ। यहाँबाट धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाका दर्जनबढी हिमाल र दर्जनौँ हिमचुचुरालाई नजिकबाट अवलोकन गर्न सकिन्छ। मनोरम प्राकृतिक दृष्यको अवलोकन, उच्च हिमाली भूगोल, शान्त र मनोरम वातावरणको कारण पर्यटकले घोडेपानी पुनहिल क्षेत्रलाई आफ्नो रोजाइमा राख्ने गरेका छन्।
म्याग्दी: गण्डकी प्रदेशको भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बजेट कार्यान्वयन सुधार गर्न कार्ययोजना बनाएको छ । प्रदेश सरकारको कुल रु २० अर्ब पुँजीगत बजेटको आधाभन्दा बढी बजेटको हिस्सा ओगटेको यो मन्त्रालयले चालु आर्थिक वर्षमा सडक, मोटेरेबल पुल, भवन र झोलुङ्गे पुलसम्बन्धी एक हजार चार सय योजना कार्यान्वयन गर्दैछ । मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठक र पहिलो चौमासिकको समीक्षा कार्यक्रम चालुु आवमा ८० प्रतिशत पुँजीगत बजेट खर्च हुनेगरी योजना कार्यान्वयन गर्ने कार्यायोजना बनाउँदै शनिबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा सम्पन्न भएको प्रवक्ता टीकाराम पौडेलले जानकारी दिनुभयो । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जाली, आर्थिक मामिलामन्त्री जितप्रकाश आले, प्रदेशसभा सदस्य हरिबहादुुर भण्डारी, प्रदेशको योजना तथा नीति आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटा, भौतिक मन्त्रालयका सचिव शङ्करप्रसाद पण्डित, अर्थसचिव बलराम रिजाल र मुुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव यमुना प्रधानसहित मन्त्रालय मातहतका निर्देशनालय, महाशाखा, ११ वटै जिल्लाका पूर्वाधार विकास र यातायात व्यवस्था कार्यालयका प्रमुखको सहभागितामा कार्यक्रम भएको थियो । मन्त्रालयका सचिव पण्डितले मङ्सिर मसान्तसम्म १०, पुुसमा १५, माघमा २२, फागुनमा ३३, चैतमा ४५, वैशाखमा ५५, जेठमा ७० र असारमा ८० प्रतिशतभन्दा बढी बजेट खर्च गर्नेगरी योजना कार्यान्वयनको कार्ययोजना बनाइएको जानकारी दिनुभयो । “चालु आव २०८०÷८१ का लागि रु १२ अर्ब आठ करोड ९९ लाख २४ हजार बजेट विनियोजन भएकामा मङ्सिर १५ गतेसम्म आठ दशमलव ११ प्रतिशत अथवा रु ९८ करोड नौ लाख तीन हजार खर्च भएको छ”, उहाँले भन्नुभयो, “मन्त्रालयका एक हजार चार सय ६४ योजनामध्ये एक सय १६ वटाको ठेक्का सम्झौता, दुई सय ८१ वटाको बोलपत्र आह्वान, चार सय आठवटाको लागत अनुमान तयार र बहुवर्षीय ठेक्का लगाउने ४१ वटा योजनाको स्रोत सुनिश्चितता भएको छ ।” सचिव पण्डितका अनुुसार थप ६० वटा योजनाको बहुवर्षीय ठेक्का लगाउन स्रोत सुनिश्चितताको तयारी भएको छ । गत आव २०७९÷८० मा कुुल विनियोजन भएकोमध्ये ५८ प्रतिशतमात्र बजेट खर्च गरेको मन्त्रालयले एक सय ७४ किलोमिटर सडक कालोपत्र, १५ वटा सडक पुल र १२ वटा झोलुङ्गे पुल निर्माण गरेको थियो । यस वर्ष थप तीन सय किलोमिटर सडक कालोपत्र, २५ वटा सडक पुल र २० वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री जुग्जालीले निर्वाचन, दुुईपटक भएको सरकार परिवर्तन तथा अन्तरमन्त्रालय समन्वय अभावमा गत आवको बजेट कार्यान्वयन सन्तोषजनक नरहेको बताउनुभयो । उहाँले यसपालि लक्ष्यानुसार बजेट र योजना कार्यान्वयन गर्न सम्भव रहेको दाबी गर्नुभयो । “यसवर्ष योजनाको सङ्ख्या एक हजार आठ सयबाट घटाएर १४ सयको हाराहारीमा झारेका छौँ । भौतिक, अर्थ र मुख्यमन्त्री कार्यालयबीच प्रभावकारी समन्वय भएको छ”, उहाँले भन्नुभयो, “जनशक्ति व्यवस्थापन र समन्वयको जिम्मेवारी मन्त्रालयले लिन्छ । गलत नियतले बजेट र योजना कार्यान्वयन प्रभावित बनाउने गतिविधि सह्य हुँदैन ।” बजेट खर्च बढाउने दबाबमा कामको गुुणस्तरमा भने सम्झौता नगर्न निर्देशन दिनुभयो । कार्यक्रमको उद्घाटन गर्नुुहुँदै मुुख्यमन्त्री पाण्डेले टुुक्रे योजनामा समय र श्रम खर्च नगर्ने आग्रह परिणाम आउने काममा केन्द्रित हुन मन्त्रालय र मातहतका कार्यालय प्रमुखलाई निर्देशन दिनुभएको थियो । आर्थिक मामिलामन्त्री आलेले प्रदेशले प्राथमिकता दिएका योजनालाई बजेट अभाव हुुन र प्रक्रियागत झन्झट हटाउन सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा मन्त्रालय मातहतका यातायात व्यवस्था कार्यालयका प्रमुखले चालु आवको मङ्सिर १५ गतेसम्म रु ५६ करोड ८४ लाख ८६ हजार ८६ हजार तीन सय ४९ राजस्व सङ्कलन भएको जानकारी गराइएको थियो । पूर्वाधार विकास निर्देशनालयका निर्देशक डा महेन्द्र बानियाँले प्रदेश सरकार स्थापना भएको छ वर्षको अवधिमा कुल एक हजार तीन सय दुई सडक स्तरोन्नति र ८१ वटा सडक पुुल निर्माण भएको जानकारी दिनुुभयो । रु ५६ अर्ब ५९ करोड नौ लाख खर्च गरेर पाँच सय ९९ किलोमिटर सडक ग्राभेल, छ सय ६८ किलोमिटर सडक कालोपत्र गरेको निर्देशक बानियाँले बताउनुभयो । कार्यक्रममा सहभागी मन्त्रालयमातहतका कार्यालय प्रमुुखले जनशक्तिको अभाव, समयमा बजेटको रकमान्तर नहुने, सार्वजनिक खरिद ऐन र वन ऐन विकास आयोजनामैत्री नहुुनुु योजना कार्यान्वयनका चुुनौती रहेका बताएका थिए ।
बुटवल: रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ महुवारीमा आज बिहान सिद्धार्थ बोर्डिङ स्कुलको लु १ क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएकाे थियाे । त्यसपछि मोटरसाइकलमा सवार २१ वर्षीय मोहम्मद इर्साद र २१ वर्षीया रुक्सना खातुनको मृत्यु भएको हो । बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी २० वर्षीया अप्सरा खातुन गम्भीर घाइते भएकी छन् । घाइतेको भैरहवामा उपचार भइरहेको छ ।
मुस्ताङ: उपल्लो मुस्ताङको न्हेछुङमा रहेको भन्सार कार्यालयबाट १ सातामै करिब १ लाख ८० हजार रुपैयाँ राजस्व संकलन भएको छ । करिब ४ वर्षपछि खुलेको कोरला नाकाबाट घरायसी समाग्री खरिदगर्न चीन प्रवेश गर्नेको सँख्या बढेसँगै राजस्व संकलनमासमेत वृद्धि भएको हो । जिल्ला प्रशासन कार्यालय मुस्ताङको तथ्याङ्क अनुसार हालसम्म कात्तिक २७ गते यता करिब १ हजार २ सय जना चीन प्रवेश गरेका छन् । कोरला नाका खुलेपनि चीन प्रवेशका लागि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दालाई मात्रै खुला गरिएको थियो । प्रवेश अनुमति पत्र भएकाहरु मात्रै चीन प्रवेश गर्न पाउने प्रावधार रहेको छ । यद्यपी उल्लेखित गाउँपालिका बाहेकका नागरिकलाई भने प्रवेश निषेध छ ।
पोखरा: कास्की प्रहरीले हसियाँ प्रहार गर्ने एक जनालाई पक्राउ गरको छ । पक्राउ पर्नेमा जुमकाजी बिक रहेका छन् । पक्राउ परेका बिकले गत कार्तिक २७ गते बिहान कास्कीको अन्नपूर्ण गाउँपालिका–६, लुम्लेमा श्रीराम देवकोटालाई हँसिया प्रहार गरेका थिए । देवकोटालाई उपचारका लागि पोखराको मेट्रोसिटी अस्पतालमा लगिएको छ भनेबिकलाई ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरी थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पाेखरा: गण्डकी प्रदेश भलिबल टोलीका सदस्य सन्तोष बहादुर थापा मगरको मोटरसाइकल दुर्घटनमा परेर निधन भएको छ । स्थानिय भलिबल प्रतियोगितामा भाग लिएर मंगलबार राती ११ बजेको आसपासमा मोटरसाइलमा स्याङ्जा चापाकोट नगरपालिका २ धुर्कोट फर्कने क्रममा बीच बाटोमा दुर्घटना भएकाे थियाे । उपचारकाे क्रममा २२ वर्षीय थापामगरको मृत्यु भएको बताइएको छ । सन्तोषले गत वर्ष नवौं राष्ट्रिय खेलकुद तथा टाइगर कपको तीनै संस्करण गण्डकी प्रदेशबाट खेलेका थिए । सन्तोषका,बुवा, आमा र श्रीमती छन् ।
काठमाडौं: आजदेखि कोरला नाका दुवैतर्फ सञ्चालनमा आउँदै छ । माथिल्लो मुस्ताङका दुई स्थानीयहरुलाई लक्षित गरी आज विहान १० बजे दुवै देशका अधिकारीहरुले औपचारिक रुपमा नाकाको उद्घाटन गर्ने लागेका हुन् । चीन सरकारले अहिलेलाई माथिल्लो मुस्ताङका स्थानीयलाई मात्र लक्षितगरी नाका सञ्चालन गर्न लागेको हो । चिनियाँ पक्षले कोरला नाकामा निर्यातका लागि सामग्रीहरु ल्याएका छन् । चीन सरकारको सहयोगमा अस्थायी भन्सार कार्यालय र शसस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (विओपी) का लागि आवश्यक पर्ने अस्थायी पूर्वाधार निर्माण गरिएको छ । लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका जनप्रतिनिधिहरुको अनुरोधमा अस्थायी संरचना निर्माणका लागि चीन सरकारले पाँचवटा कन्टेनर उपलब्ध गराएको छ । नाका सञ्चालन गर्न नेपालतर्फ कुनै भौतिक संरचना नभएका कारण चीन सरकारले अस्थायी भवन निर्माणका लागि कन्टेनर उपलब्ध गराएको छ । नाकामा आवतजावतका लागि एक महिनाअघि अनुमतिपत्र वितरण गरिएको छ । अनुमतिपत्रका आधारमा माथिल्लो मुस्ताङका सर्वसाधरणहरु कोरला नाकामा आवतजावत गर्न पाउने छन् । कोरोना महामारीका कारण बन्द भएको नाका चार वर्षपछि खुल्ला हुन लागेको हो । नाका सञ्चालन नहुँदा माथिल्लो मुस्ताङका स्थानीयहरुको जनजीवन प्रभावित हुँदै आएको थियो । यसअघि कोरला नाकामा वर्षमा दुई पटक अन्तरदेशीय व्यापार मेला हुने गरेको थियो ।
पोखरा: नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशको संसदीय दलको तर्फबाट प्रदेश सांसदहरुको एक हप्ताको पारिश्रमिक भूकम्प पीडित राहत कोषमा सहयोग गर्ने भएको छ । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका संसदीय दलका प्रमुख सचेतक कुसुम बुढा पुनले सांसदको एक हप्ताको पारिश्रमिक रकम भूकम्प पीडित राहत कोषमा जम्मा गर्ने निर्णय भएको बताईन् । यस्तै भूकम्प पीडितका लागि नेपाली कांग्रेस गण्डकी प्रदेशका सांसदहरुले १५ दिनको तलव सहयोग गर्ने भएको छ । नेकपा माओवादी केन्द्र र एमालेका सांसदहरुले एक÷एक हप्ताको पारिश्रमिक भूकम्प पीडितलाई सहयोग गर्ने निर्णय गरेका हुन् । ६० सदस्य गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसका २७, नेकपा एमालेको २२, माओवादी केन्द्रको सभामुख बाहेक ७,राप्रपाको २ सांसद र स्वतन्त्र निर्वाचित हाल एकिकृत समाजवादी प्रवेश गरेका एक जना सांसद रहेका छन् । कात्तिक १७ गते शुक्रबार मध्यराति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प जाँदा ठूलो क्षति भएको छ ।