पाेखरा: मणिपाल अस्पतालमा उपचाररत बिरामीको मृत्यृ भएपछि शुरु भएको प्रकरणमा प्रहरीको भूमिकासमेत अलोकप्रिय भएपछि वडा प्रहरी कार्यालय, बैदाम प्रमुख डिएसपी वेद जोशीलाई जिम्मेवारीबाट हटाइएको छ । त्यस्तै, घटनाकै दिन उत्पन्न तनावबीच प्रहरी निरीक्षक मदन श्रेष्ठले चिकित्सकमाथि कुटपिट गरेको र त्यसपछि उक्त बखान गरेको भिडियो सार्वजनिक भएपछि उनी पनि यहाँबाट हटाइएको छ । विश्वस्त सुत्रकाअनुसार दुबै प्रहरीलाई काठमाण्डौं सरुवा गरिसकिएको छ । यस विषयमा जिल्ला प्रहरी कार्यालय कास्की प्रवक्ता डिएसपी श्रवणकुमार बिकले ‘ठ्याक्कै थाहा नभएको, काजमा सरुवा भएको हुनसक्ने' प्रतिक्रिया दिएका छन् ।
चितवन: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरूको सुरक्षाको जिम्मा सरकारले लिने बताउनुभएको छ । आज यहाँ पत्रकारहरूसँग कुरा गर्दै उहाँले चिकित्सकमाथि भएको घटना निन्दनीय रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “दिन प्रतिदिन दुःखद घटना भएका छन् । यो खेदजनक छ । यसका बारेमा पटक–पटक उपप्रधानमन्त्री तथा गृहमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबीच छलफल भइरहेको छ ।” गृहमन्त्रालयले शान्ति सुरक्षाको प्रत्याभूति गराउने विषयमा छलफल भइसकेको भन्दै उहाँले चिकित्सकहरूलाई काममा फर्कन अनुरोध गर्नुभयो । उहाँले थप्नुभयो, “हाम्रो ऐनमा उल्लेख भएका स्वास्थ्यसम्बन्धी सुरक्षाका विषयलाई प्रभावकारी ढङ्गबाट कार्यान्वयन गर्ने र आगामी दिनमा यस्ता घटना नहुन् भनेर सबै सक्रिय रहने विषयमा छलफल भयो ।” शान्ति सुरक्षा गृह मन्त्रालयले दिने गरी छलफल भएको उहाँको भनाइ थियो । मन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐन लागू भएसँगै बन्द भएका शैक्षिक संस्थाहरू छ महिनाभित्र सञ्चालनमा ल्याइने बताउनुभयो । यस ऐनले गर्दा दुर्गममा अस्पताल खोल्ने, चिकित्सक पुर्याउने राम्रो देखिएको भए पनि दक्ष जनशक्ति उत्पादनमा भने समस्या देखिएको उहाँले बताउनुभयो । मन्त्री बस्नेतले भन्नुभयो, “यही अवस्था रहे पाँच वर्षमा चिकित्सक, नर्स र स्वास्थ्यकर्मी नभेटिने अवस्था आउन सक्छ ।” यसका लागि चिकित्सा शिक्षा ऐन संशोधन गरेर बन्द भएका संस्था सञ्चालनको तयारीमा सरकार रहेको उहाँको भनाइ थियो । शिक्षामा गुणस्तरीयता कायम गर्दै शुल्क निर्धारण पनि सरकारले गर्ने मापदण्ड बनाएर बन्द भएका संस्था सञ्चालनमा ल्याइने उहाँले बताउनुभयो । फरक प्रसङ्गमा मन्त्री बस्नेतले स्वास्थ्य बीमा बोर्डका कारण केही अस्पतालमा बिरामीको चाप बढ्ने र केही बन्द हुने अवस्थामा पुगेको धारणा राख्नुभयो । यसलाई नियमन गर्नका लागि मन्त्रालय लागिपरेको उहाँको भनाइ छ । पक्षपातपूर्ण तरिकाले काम भएको भन्ने गुनासो बढेपछि आफैंले यसलाई हेरिरहेको उहाँको भनाइ थियो । यसलाई चाँडै नै सहज बनाएर अघि बढ्ने उहाँले बताउनुभयो । ‘आँखा उपचारमा सामुदायिक क्षेत्रको योगदान महत्वपूर्ण’ स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सामुदायिक क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ । नेपाल नेत्रज्योति सङ्घ चितवनले आज भरतपुर आँखा अस्पतालमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले सरकारले आँखा उपचारमा पर्याप्त काम गर्न नसकेको बताउनुभएको हो । मन्त्री बस्नेतले राजधानी बाहिर आँखाको उपचारमा देशले हेर्नलायक र बिरामीले सुविधा पाउने खालको अस्पताल भरतपुरमा स्थापना गरेको भन्दै यसलाई अझै विस्तार गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “७७ जिल्लामा आँखाको क्षेत्रमा राजधानी बाहिरको देशले हेर्नलायक, बिरामीले सुविधा पाउने खालको अस्पतालका रूपमा यो अस्पताल स्थापित गर्नुभएको छ ।” उहाँले थप्नुभयो “आफ्नै मेहनत र परिश्रमले भएको यो प्रगतिमा सरकारको ध्यान जान्छ ।” आँखा उपचार सेवालाई विस्तार गर्न आग्रह गर्दै उहाँले सरकारको तर्फबाट प्रक्रियागतरूपमा सहयोग गर्न आफू तयार रहेको बताउनुभयो । अस्पतालको आफ्नै नाममा जग्गा नहुँदा समस्या भएको भन्ने गुनासोप्रति सम्बोधन गर्दै उहाँले मन्त्रिपरिषदबाट निर्णय भइसकेको र लालपुर्जा धनीका तर्फबाट कुनै अवरोध नभएकाले यो समस्याको समाधान हुनेमा ढुक्क रहन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “लालपुर्जाको विषय मन्त्रालयमा छलफल चलाउँछु, प्रधानमन्त्रीसमक्ष पनि राख्छु ।” सो अवसरमा सङ्घका केन्द्रीय सदस्य चिजकुमार मास्के, जिल्ला सभापति जयराम श्रेष्ठ, सचिव केशव अधिकारी र अस्पताल प्रशासक दयाशङ्कर चौधरीले अस्पतालका गतिविधि र समस्याका बारेमा जानकारी गराउनुभएको थियो । रासस
दमौली: तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा भिमाद नगरपालिका–५ ऋषिङपाटनस्थित दीपक माध्यमिक विद्यालयको भवन निर्माण सुरु गरिएको छ । सामाजिक उत्तरदायित्व विकास कार्यक्रममार्फत उक्त आयोजनाले विद्यालयको सुविधासम्पन्न भवन निर्माणमा सहयोग पुर्य ाएको हो । निर्माणाधीन भवन शिलान्यास गर्दै नगरप्रमुख दधिराज सुवेदीले यस आयोजनाले शैक्षिक क्षेत्रमा पुर्य ाएको योगदानको प्रशंसा गर्नुभयो । आयोजनाबाट असर पर्ने क्षेत्रमा आयोजनाले शिक्षा, स्वास्थ्य, खानेपानीलगायत पूर्वाधार क्षेत्रमा गरेको काम सकारात्मक रहेको उहाँको भनाइ थियो । रु ९४ लाख ५७ हजारको लागतमा निर्माण सुरु गरिएको भवन विसं २०८१ माघ २४ गतेभित्र सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाका निमित्त प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो । उक्त आयोजनाले त्यस क्षेत्रमा आवश्यकताअनुसारको विकास निर्माणमा सहयोग गरेको उहाँले बताउनुभयो । विद्यालयको भवन जीर्ण रहेकाले नयाँ भवनको आवश्यकता खड्किएको बेला आयोजनाको सहयोगले पठनपाठनमा सहयोग पुग्ने विश्वास गरिएको छ । उक्त आयोजनामार्फत् व्यास नगरपालिका–५ बेनीपाटनमा पराशर माध्यमिक विद्यालयको भवन पनि निर्माण भइरहेको छ । नगरपालिकाले उपलब्ध गराएको जग्गामा विद्यालयको दुईतले आठ कोठा भवनको काम भइरहेको हो । भवन निर्माणका लागि आयोजना र निर्माण व्यवसायी ऐञ्जल पारस जेभीबीच रु। एक करोड ३८ लाख २४ हजारको लागतमा ठेक्का सम्झौता भएको थियो । विद्यालय भवन १८ महिनाभित्रमा निर्माण गर्ने लक्ष्य छ । आयोजनाबाट पीडित विभिन्न पालिकामा सामाजिक उत्तरदायित्वअन्तर्गत नाला, तटबन्ध र आमा समूहको भवन निर्माणका साथै सडक बत्ती जडान, नदी नियन्त्रणलगायत काम हुँदै आएको तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिनुभयो । आयोजना निर्माणका लागि समुदायको महत्वपूर्ण भूमिका रहने भएकाले सामाजिक कामलाई प्राथमिकता दिइएको उहाँको भनाइ थियो । प्रबन्ध सञ्चालक श्रेष्ठले भन्नुभयो, “समुदायसँग सहकार्य गर्दै आयोजनालाई सम्पन्न गराउनेतर्फ हामी लागिपरेका छौ, विभिन्न सामाजिक काममा आयोजनाको तर्फबाट सहयोग रहँदै आएको छ ।” रासस
पाेखरा: गण्डकी प्रदेशसभाका सांसदहरुलाई प्रदेश सभाबाट स्वीकृत नियमावलीनुसार नयाँ लोगो दिइने भएको छ । अब प्रयोगमा आउने लोगोमा सुन र चाँदी प्रयोग हुनेछ । नियमावलीको अनुसूची ८ मा सांसदले लगाउने प्रतीक चिन्ह (लोगो)का विषयमा स्पष्ट किटान गरिएको छ । यसअघि प्रदेश सरकारले सार्वजनिक आव्हानमार्फत लोगोको डिजाइन मागेको थियो । २५ हजार रुपैयाँ पुरस्कार राशीसहित गरिएको आव्हानमा प्रदेश सभाकै कर्मचारीद्वारा डिजाइन गरिएको लोगो छनौट भएपछि त्यसैमा सुन र चाँदीको प्रयोग हुने भएको छ । लोगोसम्बन्धी आवश्यक तयारी गर्न प्रदेशसभा नियमावली मस्यौदा समितिका सभापति विन्दुकुमार थापा रहेका छन् भने सदस्य सुधिरकुमार पौडेलको संयोजकत्वमा उपसमिति बनाइएको छ । उपसमितिका अनुसार डिजाइन गरिएको नयाँ लोगोमा देखिने सेतो भाग चाँदी र पहेंलो भागमा सुनको प्रयोग हुनेछ । स्मरणीय छ, सुरुवाति चरणमा सांसदहरुले १ सय ९५ रुपैयाँ पर्ने प्लाष्टिकको लोगो लगाएका थिए । लोगोमा माछापुच्छ्रेलाई सुनौलो र माथिको भाग निलो एवं हिमाल तल सेतो रंग रहेको छ । गण्डक प्रदेशको क्षेत्रलाई खरानी रंग दिइएको छ । सेतो भागमा चाँदी र पहेंलो भागमा सुनको प्रयोग हुनेछ ।
पोखरा: गण्डकी प्रदेश सभाले वनलाई नियमन, तथा व्यवस्थापन गर्न बनेको विधेयक पारित गरेको छ । प्रदेश सभाको चौथो अधिवेशनको ४० औं बैठकले सर्वसम्मतसहित पारित भएको हो । नसम्बन्धि बनेको विधेयक , उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्र थापाले प्रस्तुत गरेका थिए ।
काठमाडौं: नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीले १९ औं एसियाली खेलकुद (एसियाड) को पहिलो खेलमा हार बेहोरेको छ । पुल बी को पहिलो खेलमा बहराइनसँग नेपाल ३-१ ले पराजित भएको हो । पहिलो सेटमा नेपालले २५-२० को जित निकालेपनि त्यसपछि लगातार ३ सेट गुमाएको हो । दोस्रो सेटमा नेपाल २५(२० ले पछि परेको थियो । तेस्रो सेट २५(१८ र चौथो सेटमा २५-१५ को जितसँगै बहराइनले जित हासिल गर्यो । नेपालले अब बुधबार इरानको सामना गर्नेछ र उक्त खेल हारेको खण्डमा नेपाल प्रतियोगिताबाट बाहिरिदै घर फर्कनेछ ।
पोखराः टाइम म्यागजिनलाई विश्वमै बेष्ट मिडिया मानिन्छ । अमेरिकाको यही मिडियाले विश्वका १ सय उदीयमान एवं प्रभावशाली ‘लिडर’मा काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई समेटेको छ । टाइमले सुरुवातमा बालेनको परिचय दिँदै लेखेको छ ‘सन् २०२२ मा बालेनले मेयरको चुनाव जितेपछि उनले लगाउने चारकुने आकारको सुनौलो चस्मा निकै पपुलर भयो, स्ट्रक्चरल इन्जिनियरिङ्मा मास्टर्स डिग्री गरेका बालेनको प्रभाव देशैभर देखियो ।’ त्यसो त सन् २०१५ मा भूकम्पले देशलाई तहसनहस गराएको समय बालेनको कामको समेत टाइमले उल्लेख गरेको छ । टाइमले बालेनलाई विश्वकै १०० औ उदीयमान नेताकारुपमा समेट्दा उनका ४ प्रमुख योजनालाई आधार बनाएको छ । उक्त ४ योजनामा फोहर व्यवस्थापन र सरसफाई, स्वच्छ पिउने पानी, सफा सडक र सहरी योजना एवं सम्पदा संरक्षण रहेका छन् । बालेनले मेयरको निर्वाचनमा नेकपा एमालेका प्रभावशाली उम्मेदवार केशव स्थापितविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएर जीत हासिल गरेका हुन् ।
पोखरा: गण्डकी प्रदेश सरकारले चालु वर्ष दोस्रो पञ्चवर्षीय योजना (२०८०-८१/२०८५-८६) निर्माण गर्दैछ । उक्त योजना निर्माणकालागि आईतवार अवधारणा पत्र पारित भएको छ । प्रदेश नीति तथा योजना आयोगले तयार गरेको अवधारण पत्र मुख्यमन्त्री तथा आयोगका अध्यक्ष सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा बसेको बैठकले पारित गरेको हो । मुख्यमन्त्री पाण्डेले बसाईसराई रोक्ने, उत्पादन र उत्पादकत्व वृद्धी गर्ने, रोजगारीको अवसर सिर्जना गर्ने गरी दोस्रो पञ्चवर्षीय योजना बनाउन सुझाब दिए । ‘कार्यन्वयन हुने खालका योजना मात्रै दोस्रो पञ्चवर्षीय योजनामा समेट्नुपर्छ’ उनले भने ‘गर्नै नसकिने महत्वकांक्षी योजना राख्नका लागि मात्रै उल्लेख नगर्नुहोस् ।’ ‘आत्मनिर्भर र समुन्नत प्रदेशः सम्मानित प्रदेशवासी’ भन्ने सोच र उत्पादकत्व वृद्धी, सामाजिक न्याय र सम्मुन्ति हासिल गर्ने लक्ष्यका साथ दोस्रो पञ्चवर्षीय योजनाको कार्यदिशा तय भएको प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाले बताए । उत्पादन र उत्पादकत्व अभिवृद्धि तथा कृषि क्षेत्रमा रुपान्तरण गर्नु, विकासका पूर्वाधारको सुदृढीकरण, पर्यटन प्रवद्र्धन, औद्योगिक विकास र रोजगारी सिर्जना गर्नु लगायत उद्देश्य अवधारणा पत्रमा उल्लेख छ । विकासका लाभको समन्यायिक वितरण सुनिश्चित गरी सामाजिक न्याय स्थापित गर्नु, गुणस्तरीय सार्वजनिक सेवा र सुशासन अभिवृद्धि गर्नु, मानव पुँजी, उत्थानशील विकास र आर्थिक क्रियाशीलता मार्फत समृद्धि हासिल गर्नु दोस्रो पञ्चवर्षीय योजनाको मुख्य उद्देश्य रहेको छ । प्रदेशको अर्थतन्त्रको सुदृढिकरण, वित्तीय स्रोत पहिचान र व्यवस्थापन, सामाजिक सुरक्षा, संरक्षण, समावेशीकरण र सशक्तिकरण, श्रम रोजगारी, उत्पादन तथा गरिबी न्यूनीकरण, गुणस्तरीय शिक्षा तथा स्वास्थ्य क्षेत्रको सबलीकरण रणनीतिक क्षेत्र समेटिएको प्रदेश योजना आयोगका उपाध्यक्ष देवकोटाले बताए । दिगो पूर्वाधार विकास, पर्यटन र शहरीकरण, वन वातावरण, जैविक विविधता तथा विपद् जोखिम व्यवस्थापन, पुँजी निर्माण र लगानी, विनियोजन कुशलता, पुँजीगत खर्च र संस्थागत क्षमता, सुशासन तथा सार्वजनिक सेवा प्रवाह लगायत क्षेत्रमा केन्द्रित रहेर रणनीति बनेको उनले बताए । दोस्रो पञ्चवर्षीय योजना निर्माण प्रक्रिया सहभागितामूलक हुनेछ । ‘प्रदेशका सामाजिक, आर्थिक र भौतिक पूर्वाधारको क्षेत्रगत तथ्याङ्क, अवस्था, समस्या, चुनौती र अवसरहरु समेटिनेछ’ उपाध्यक्ष देवकोटाले भने । प्रदेश सरकारका विभिन्न पदाधिकारी तथा निकायका प्रतिनिधि, राजनीतिक दल, निजी क्षेत्र, गैर सरकारी क्षेत्र, विकास साझेदार र युवा वर्ग लगायतसँग छलफल तथा अन्तरक्रिया गरिने उनले बताए । जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा र प्रदेश सभाका सांसद, जिल्ला समन्वय समितिका पदाधिकारी, नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ, स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, नागरिक समाजका प्रतिनिधि, गैह्रसरकारी संस्था, प्राज्ञ, निजी क्षेत्र, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, पत्रकार तथा अन्य सरोकारवालासँग पनि छलफल हुने प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष देवकोटाले बताए । छलफल तथा अन्तरक्रियाबाट प्राप्त सुझावका आधारमा योजनाको मस्यौदा दस्ताबेजलाई परिमार्जन गरिँदै लगिने नीति योजना आयोगले जनाएको छ । ‘अन्तिम मस्यौदालाई प्रदेश विकास परिषद्को बैठकमा प्रस्तुत गरी अनुमोदन गराइनेछ’ उपाध्यक्ष देवकोटाले भने । आईतवारको बैठकमा प्रमुख सचिव, प्रदेश नीति योजना आयोगका सदस्यहरु लगायतको उपस्थिती थियो ।