तनहुँ: जिल्ला प्रहरी तनहुँले तीन जनालाई गाँजासहित पक्राउ गरेको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित वेनीटारबाट बुधबार २२ किलो गाँजासहित दुई महिला र एक युवकलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथी थप अनुसन्धान भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।
झापा: इलाम–८ का सन्देश रम्तेल विश्वशान्तिको कामना गर्दै ह्विलचेयरमा मेचीमहाकाली यात्रामा निस्किएका छन् । उनले असोज ३ गते झापाबाट यात्रा सुरु गरेका हुन् । मेची महाकाली यात्रा सकिएपछि पशुपतिनाथ, लारुम्बा र लुम्बिनीको माटो बोकेर विश्वभ्रमणमा निस्कने समेत उनले घोषणा गरेका छन् ।
काठमाडौं: काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–११ लसुनटारमा गए राति भएको आगलागीमा परी मृत्यु हुनेको पहिचान खुलेको छ । मृत्यु हुनेमा ताप्लेजुङका २७ वर्षीय कासाङ तेन्जी शेर्पा, सङ्खुवासभाका ३२ वर्षीय अशोक राई र काठमाडौँको रानीबारी बस्ने २५ वर्षीय छेवाङ शेर्पा रहेका छन् । कपनको लसुनटारस्थित इलाइट हिमालयन एडभेञ्चरमा पोर्टेबल अक्सिजन सिलिण्डर र चुलो बाल्नका लागि प्रयोग हुने पोर्टेबल ग्यास सिलिण्डर विष्फोट हुँदा आगलागी भएको थियो । उक्त घटनामा काठमाडौँको कपनका २८ वर्षीय कुशल बुढाथोकी घाइते भएका छन् । दाँया हात, दुवै खुट्टा र अनुहारको दायाँ भाग जलेका उनको चुनिखेलस्थित करुणा अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले प्रहरी प्रभाग कपन, जिल्ला प्रहरी परिसर काठमाडौँ, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले स्थानीयवासीको सहयोगमा आगो निभाएको जानकारी दिनुभयो । आगो निभाउन दुई सय प्रहरी, ७० नेपाली सेना र ३० सशस्त्र प्रहरी परिचालन गरिएको थियो । आगो निभाउन बौद्ध रामहिटी, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिकाबाट, भक्तपुर नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र त्रिभुवन विमानस्थलको गरी नौवटा दमकल तथा १० पानी ट्याङ्करको प्रयोग गरिएको थियो । आगलागीबारे आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताउनुभयो ।
बागलुङ: बागलुङको गलकोट र ताराखोलाको सङ्गमस्थलमा रहेको गाईघाट झरना पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ । कहिल्यै पनि धमिलो पानी नबग्ने यो झरनाको सौन्दर्य हरेक याममा एउटै देखिन्छ । ताराखोला गाउँपालिकाको प्रवेशद्वारका रुपमा रहको झरनामा पछिल्लो समय आन्तरिक पर्यटकको आगमनमा निकै वृद्धि भएको छ । गत साउनदेखि हालसम्म करिब १२ हजार पर्यटकले यसको भ्रमण गरेको स्थानीयको भनाइ छ । झरनाको तीव्र प्रचारप्रसार र पूर्वाधार विकासले यहाँ पर्यटक आउन थालेको स्थानीय सागर घर्तीले बताउनुभयो । उहाँले गाउँपालिकाले अझै बढी पर्यटक भित्र्याउनका लागि झरना वरपर थप पूर्वाधार निर्माण गर्नुपर्ने बताउनुभयो । घर्तीले चार वर्ष अगाडिसम्म सुनसान रहेको झरनामा अहिले दैनिक दुई बढी पर्यटक आउने गरेको बताउनुहुन्छ । “पहिला यो झरना ओझेलमा थियो, ताराखोला आउने र ताराखोलाबाट बजार झर्नेले मात्रै यो झरना देख्ने गर्थे, बाहिरी मान्छे आउँदैनथे, अहिले धेरै मान्छे आउन थालेका छन्, यसले स्थानीयलाई उत्साहित बनाएको छ ।” वार्षिक करिब २२ हजार बढी पर्यटक भित्रिने गरेको भन्दै यस वर्ष लामो वर्षा हुँदा कम कम आएको उहाँले बताउनुभयो । “यस्तो ठाउँमा पर्यटक आउलान भन्ने त हामीले सोचेका थिएनौँ तर यति धेरै पर्यटक आउन थालेकी, झरनाको फेद त कहिल्यै पनि खाली भएन, सबै भरिभराउ, यहाँ खाजा खाने र आराम गर्ने स्थल निर्माण गर्नसके अझै बढीलाई भित्र्याउन सकिन्थ्यो होला”, घर्तीले भन्नुभयो । गुल्मीको भुवाचिदीबाट घुम्न आउनु भएका आकाश पौडेलले सामाजिक सञ्जालमा गाईघाट झरनाको फोटो देखेको र निकै सुन्दर लागेर घुम्न आएको बताउनुभयो । “यसभन्दा अगाडि मेरा साथीहरु घुम्न आएका थिए, उनीहरुले राम्रो राम्रो फोटो खिचेर लगेका थिए, मैले पनि सामाजिक सञ्जालमा धेरै फोटो देखेको थिएँ, त्यही भएर घुम्न आएको निकै सुन्दर रैछ झरना, निकै आनन्द आयो घुम्न”, उहाँले भन्नुभयो । ताराखोला गाउँपालिका–१ का अध्यक्ष यमबहादुर श्रीसले आगन्तुकलाई आकर्षित गर्नका लागि झरनाको फेदमा पौडिने पोखरी, त्यस वरपर बगैँचा र विश्रामस्थल निर्माण गरेको बताउनुभयो । “झरना आकर्षक छ, जनप्रतिनिधिका रुपमा आएदेखि यसको विकास र प्रवद्र्धनमा लागेका थियौँ, अहिले पनि लागि रहेका छौँ”, अध्यक्ष श्रीसले भन्नुभयो, “झरना वरपर बगैँचा निर्माण गरेका छौँ, फेदमा पौडी खेल्न मिल्ने पोखरी बनाएका छौँ, अन्य संरचना पनि विस्तारै बनाउने तयारीमा छौँ ।” गत साउनमा ताराखोलामा आएको ठूलो बाढीले सडकदेखि झरना पुग्ने पुल बगाउँदा अहिले आगन्तुकलाई समस्या भएको छ । पुल निर्माणका लागि गाउँपालिकाले यस वर्ष रु २० लाख विनियोजन गरेको र प्रदेश सरकारसँग थप बजेट माग गरेर यसै वर्षभित्र पुल निर्माण सम्पन्न गर्ने अध्यक्ष श्रीस बताउनुहुन्छ । “बर्खामा पनि पर्यटकको आगमन उल्लेख्य थियो, साउनमा खोलाले पुल बगाइदियो, त्यसपछि झरना अवलोकन गर्न आउने आगन्तुकलाई समस्या भयो, अहिले फड्के हालेर वारपार गर्ने व्यवस्था त मिलाएका छौँ तर त्यो जोखिमपूर्ण छ”, अध्यक्ष श्रीसले भन्नुभयो, “यहाँ पुल निर्माणका लागि गाउँपालिकाले रु २० लाख विनियोजन गरेको छ, प्रदेश सरकारसँग पनि केही बजेट माग गरेर यसै वर्ष पुल निर्माण गर्ने योजना छ, जति सक्दो पर्यटकलाई भित्र्याउने प्रयासमा हामी छौँ ।”
मनाङ: हिमाली जिल्ला मनाङका अधिकांश विद्यालय बाल विकास कक्षाका भरमा मात्र अडिएका छन् । विद्यालय भए पनि विद्यार्थी न्यून छन् । अभिभावकले बालबालिकालाई अन्यत्र सार्ने गरेका कारण बाल विकास कक्षाबाहेकका विद्यार्थी न्यून भएका हुन् । शिक्षा विकास तथा समन्वय एकाइका अनुसार जिल्लाका २८ मध्ये १४ विद्यालयमा बाल विकास कक्षा मात्रै सञ्चालनमा छन् । नासों गाउँपालिकामा आठ, मनाङ ङिस्याङ गाउँपालिकामा दुई, चामे गाउँपालिकामा दुई र नार्पाभूमि गाउँपालिकामा दुई विद्यालयमा बाल विकास कक्षामा मात्रै विद्यार्थी रहेको शिक्षा विकास तथा समन्वय एकाईका प्रमुख मतिलाल चपाईले जानकारी दिनुभयो । “भवन र शिक्षक भएका ती विद्यालयमा बालविकास कक्षाको पढाए सकिना साथ विद्यालय रित्तिने गरेका छन्”, उहाँले भन्नुभयो । मनाङमा बाढी पहिराको जोखिम र विद्यालय टाढा भएकाले विद्यार्थी घटेको हुनसक्ने अनुमान गरिएको छ । जोखिम अवस्थामा रहेका विद्यालयको अवस्थाले पनि विद्यार्थी अन्यत्र सरेको उहाँको भनाइ छ । शैक्षिक सुधारका विभिन्न कार्यक्रमलाई प्रभावकारीरुपमा कार्यान्वयन गरिए पनि विद्यार्थी भने न्यून रहेको चपाईले बताउनुभयो । विद्यार्थी शून्य हुँदै जानुका विषयमा स्थानीय सरकारसमक्ष विभिन्न तवरबाट छलफल भइरहेको उहाँले बताउनुभयो । जिल्लाका चार पालिकाका विभिन्न विद्यालय विद्यार्थीविहीन भएका छन् । “विद्यालय भवन र शिक्षक छन् । विद्यार्थी छैनन् । यस्तो अवस्थामा विद्यालय बन्द गर्नुबाहेक कुनै विकल्प छैन”, चपाईले भन्नुभयो, “केही विद्यालयमा इसिडीका विद्यार्थी छन् ।” बाढीपहिराको जोखिम, विद्यालय टाढा हुँदा अभिभावकले बालबालिकालाई जिल्ला बाहिर आफन्तकोमा वा छात्रावासमा राखी पठनपाठन गराइरहेको अनुसन्धानका क्रममा पाइएको उहाँले बताउनुभयो । जोखिमरहित तवरबाट बालबालिकालाई पठनपाठनको व्यवस्था भएमा आफूसँगै राखेर पढाउने अभिभावकको भनाइ छ । बाल विकासदेखि कक्षा १२ सम्म कूल पाँच सय ४५ विद्यार्थी तथा एक सय ६१ शिक्षक रहेको शिक्षा विकास तथा समन्वय एकाइ मनाङले जनाएको छ ।
हेमजा: पोखरा २५ हेमजामा रहेको चौरासी नहरको नक्सांकन कार्य भोलि विहिवारदेखि शुरु हुदैछ । जसका लागि प्राविधिकको टोलीले बुधवार स्थलगत अवलोकन गरेको छ । पोखरा २५ का वडाध्यक्ष मोतिराज तिम्सिनाको नेतृत्व र वडा सदस्य सुभास भण्डारीको संयोजकत्वसहितको प्राविधिक टोलीले हेमजाको प्रगतिचोक (चाक्लेकुला)बाट सुईखेत कालिकाचोक (नहरको मुहान)सम्म स्थलगत अवलोकन गरेको हो । पुरानो र जीर्ण अवस्थामा रहेको यो नहर वर्षातको समयमा भत्किएर मानव बस्ती डुवान हुने साथै खेतियोग्य जमिनमा क्षति पुर्याउने भएकोले यसको दीर्घकालिन समाधानको लागि मर्मत सम्भार गर्नुपर्ने भएकोले शुरुवातमा नक्सांकन गरि डिपिआर तयार पारेर काम अगाडि बढाईने वडाध्यक्ष मोतिराज तिम्सिनाले बताए । साथै नहर आसपासको सार्वजनिक जग्गा अतिक्रमण हुनबाट जोगाउन पनि नक्सांकन कार्य महत्वपूर्ण रहेको उनको भनाई छ । यसैगरि चरणबद्व रुपमा डुवान क्षेत्रहरु सुन्दरीपुरी, म्याग्दीचोक लगायतका क्षेत्रमा नक्सांकन गरी तीन/चार ठाउँबाट नाला निर्माण गरेर खोलामा पानी लैजाने योजना रहेको वडाध्यक्ष तिम्सिनाले बताए । स्थलगत अवलोकनपछि पोखरा महानगरपालिकाका अमिन दिवाकर सुवेदीले ७ देखि १० दिन भित्रमा नहरको नक्सांकन सकिने जानकारी दिए । हेमजाको अधिकांश कृषि क्षेत्र तथा विशेष गरी विरुवा फाँट सिञ्चित हुने चौरासी नहर झण्डै चार किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यो नहर पोखरा महानगरपालिका वडा नम्वर २५ मा पर्ने पुरानो नहर हो । नहर निर्माण समितिका सचिव कमलमणि त्रिपाठीले समयमै नहर क्षेत्रको सार्वजनिक जग्गा खोजी नभए अतिक्रमण हुने सम्भावना रहेको बताए । यति नै वर्ष पुरानो नहर भनेर आधिकारिक जानकारी नभएपनि करिव दुई÷ तिन सय वर्ष पुरानो चौरासी नहर सो समयमा ६ वटा गाउँका स्थानियहरुको जनश्रमदानबाट बनेको स्थलगत अवलोकनमा सहभागि ७२ वर्षीय मधुसुदन त्रिपाठी बताउँछन् । नहर खन्नको लागि आधुनिक औंजार नभएको उक्त समयमा कोदालो, गैंचि, गल, कोर्काे, घन लगायतका स्थानिय औजारले नहर निर्माण गरेको हो भन्ने आफ्ना हजुरबुवाहरुले सुनाउने गरेको उनले स्मरण गरे । बुधवार भएको स्थलगत अवलोकनमा जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय कास्कीका अधिकृत मानबहादुर थापा, जलस्रोल तथा सिँचाई विकास डिभिजन कार्यालय कास्कीका इन्जिनियर सिमा के.सी, पोखरा महानगरपालिकाका अमिन गणेश गिरी, प्रकाश सिग्देल र दिवाकर सुवेदी, पोखरा २५ का प्राविधिक प्रतीक्षा अर्याल, अमिन जीवन कठायत, वडासचिव इश्वरीप्रसाद बास्तोलालगायत जनप्रतिनिधिहरु, राजनितिक दलका प्रमुख तथा प्रतिनिधि,नागरिक समाज, नहर निर्माण समितिका पदाधिकारी साथै स्थानियको सहभागिता रहेको थियो । वडाले चाक्लेकुला प्रगतीचोकदेखि चौरासी नहरको मुहान सुईखेतसम्म नक्सांकन गर्नको लागि उक्त क्षेत्रसँग जोडिएका जग्गाधनी तथा सरोकारवाला सबैको जानकारीको लागि सूचना निकालेर नक्सांकनको कार्य अगाडि बढाएको हो ।
कास्की । राष्ट्रिय युवा संघ नेपाल मादी गाउँपालिकाको २ नं. वडा कमिटीद्वारा असोज १ गतेदेखि आयोजना गरेको खुला बास्केटबल प्रतियोगिता मंगलबार सम्पन्न भएको छ । ’न्यायप्रेमी युवाहरु राष्ट्रिय युवा संघमा, सामाजिक परिवर्तन युवाको काँधमा’ भन्ने मुल नाराको साथ पोखरा बाझापाटन स्थित सत्य युवा क्लबको खेलमैदानम आयोजना भएको थियो । प्रतियोगितामा पुरुषतर्फ कास्की बास्केटबल एसोसिएसन विजयी भएको छ । मंगलबार कास्की बास्केटबल एसोसिएसन र ताङतिङ ए बीच भएको भएको फाइनल खेलमा कास्की बास्केटबल एसोसिएसन विजयी भएको हो । विजयी टिमले उपाधिसंगै उसले ८० हजार नगद ट्रफि र मेडल प्राप्त गरेको छ । दोस्रो भएको ताङतिङ ए ले ५० हजार ट्रफि र मेडल प्राप्त गरेको कार्यक्रम राष्ट्रीय युवा संघ मादि –२ कमिटी कास्कीका अध्यक्ष तथा खेल संयोजक क्षेत्रबहादुर गुरुङले जानकारी दिए । महिलातर्फ भएको खेलमा भने मर्दिखोला ए पहिलो हुँदै उसले नगद १५ हजार ट्रफि र मेडल प्राप्त ग¥यो । दोस्रो भएको मर्दिखोला बि ले १० हजार ट्रफि र मेडल प्राप्त गरेको गुरुङले जनाए । त्यस्तै पुरुष तर्फ निकेश मगर र महिला तर्फ छिरिङ छोके शेर्पा सर्वोउत्कृष्ट खेलाडी बन्दै क्रमश ३ हजार र २५ सय नगद र ट्रफि प्राप्त गरे। प्रतियोगितामा पुरुष तर्फ २३ टिम र महिला तर्फ ४ टिम सहभागी भएका थिए । कार्यक्रममा ख्याति प्राप्त कलाकारहरुद्वारा केहि साँस्कृतिक प्रस्तुतिहरु पनि पस्केका थिए। त्यस्तै आयोजकलाई आर्थिक सहयोग गर्ने सहयोगदाताहरुलाई प्रशंसापत्रले सम्मान गरिएको थियो। शनिबार भएको उद्घाटन एमाले गण्डकी प्रदेशका सचिवालय सदस्य वेद बहादुर श्यामले गरेका थिए । गुरुङले उद्घाटन सत्रमा बोल्दै यस्ता खेलकुद प्रतियोगिताहरु आयोजना गर्नले खेलकुदको विकासमा सहायता मिल्ने कुरा बताएका थिए । समापन कार्यक्रममा भने युवा नेता दर्शन लामाले खेलको महत्वको बारेमा बोलेका थिए ।
काठमाडौं । बागमती प्रदेशमा डेँङ्गु सङ्क्रमणबाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको तथ्याङ्क अनुसार उक्त सङ्क्रमणका कारण मकवानपुरसहित अन्य छ जिल्लामा गरी ११ जनाको मृत्यु भएको हो । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका प्रमुख महेश्वर श्रेष्ठले डेँङ्गुबाट काठमाडौँमा चार, ललितपुरमा दुई , सिन्धुपाल्चोकमा दुई, मकवानपुरका एक , सिन्धुलीमा एक जना र धादिङमा एक जनाको मृत्यु भएको जानकारी दिनुभयो । यसैगरी प्रदेशमा हालसम्म १३ हजार तीन सय ७५ जना डेँगुका बिरामी फेला परेको छ । ती सबैभन्दा धेरै ललितपुर जिल्लामा चार हजार आठ सय ७८ मा डेँङ्गुका बिरामी फेला परेका छन् । यसैगरी, काठमाडौँमा चार हजार छ सय ७४, मकवानपुरमा एक हजार आउ सय १०, भक्तपुरमा सात सय १३, चितवनमा चार सय २९ र धादिङमा तीन सय ९९ जना डेँङ्गुको बिरामी फेला परेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
कर्णाली प्रदेशका ५३ प्रतिशत नागरिक परिवार नियोजनका साधनको पहुँचमा रहेको पाइएको छ । परिवार नियोजनका साधनको प्रयोगदर भने ४७ प्रतिशत रहेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका सामुदायिक नर्सिङ अधिकृत कविता खत्रीले नेपालमा छ दशक अघिदेखि परिवार नियोजनसम्बन्धी कार्यक्रमको व्यवस्थित कार्यान्वयनको सुरुआत भए पनि यसको पहुँच र प्रयोग बढ्न नसकेको बताउनुभयो । “कर्णालीमा ९० प्रतिशत नागरिकमा परिवार नियोजनका साधनबारे ज्ञान छ, तर पहुँच र प्रयोगदर कम छ”, उहाँले भन्नुभयो, “अझै कतिपय नागरिक परिवार नियोजनका परम्परागत विधि अपनाउन बाध्य छन् ।” उहाँका अनुसार कर्णालीमा परिवार नियोजनका परम्परागत विधि प्रयोग गर्नेको सङ्ख्या ९.८ प्रतिशत छ । मन्त्रालयले चालु आर्थिक वर्ष २०७९÷८० का लागि रु १७ लाख ५० हजार बजेट विनियोजन गरेको छ । यस वर्ष अघिल्लो आवमा झण्डै रु दुई लाख बजेट कम हुँदा परिवार नियोजनका आधुनिक साधनको पहुँच विस्तार र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न कठिनाइ हुने बताइएको छ । स्वास्थ्यका लागि समक्ष प्रणाली परियोजनाका डा सोनाइ चौधरी गिरीले परिवार नियोजनमा गरिएको लगानीले मातृमृत्यु तथा नवजात शिशुको मृत्युमा उल्लेख्य कमी आउने बताउनुभयो । परिवार नियोजनका साधन प्रयोग गर्ने सङ्ख्याभन्दा पनि बीचमै यसको प्रयोग रोक्नेहरुसँग परामर्श गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

