पाल्पा: माउण्ट एभरेष्ट युवा क्लबले बगनासकाली गाउँपालिका ५ तल्लोकोलडाँडाले ‘स्वस्थ्यका लागि खेलकुद, खेलकुदका लागि माउण्ट एभरेष्ट युवा क्लब’ भन्ने नारासहित आयोजना गरेको बगनासकाली साविक वडास्तरीय भलिबल प्रतियोगितामा जनज्योती युवा क्लब दान्सिंघा (वडा नम्बर ६) च्याम्पियन भएको छ । शहिद केवल गाहा ‘कुँवेर’ स्मृति खेलमैदानमा आज (आइतबार) सम्पन्न फाइनल खेलमा नवप्रभात युवा क्लब गोपाल्दी (वडा नम्बर ९) लाई २५–१९, २५–२१ र २५–१६ को सेटमा पराजिल गर्दै दान्सिंघा च्याम्पियन बनेको हो । च्याम्पियन बनेको दान्सिंघाले नगद रु १५ हजारसहित स्वर्ण पदक तथा प्रमाणपत्र प्राप्त गर्याे र यसैगरि उपविजेता बनेको गोपाल्दीले १० हजारसहित रजत पदक तथा प्रमाणपत्र हात पार्यो । सो प्रतियोगिताबाट सान्त्वना स्थान हाँसिल गरेको बगनासकाली ७ टाकीचौरले ५ हजारसहित कास्य पदक तथा प्रमाणपत्र प्रदान गरेको क्लबका सल्लाहकार विष्णु राना (सजल) ले जानकारी दिए । उनका अनुसार गत १६ गतेदेखि सञ्चालनमा रहेको सो प्रतियोगितामा कुल २४ टिमको सहभागिता रहेको थियो । सो प्रतियोगिता सम्पन्न गर्न प्रथम पुरस्कार जीत बहादुर थापाले सौजन्य गरेका थिए । भने तृतीय पुरस्कार सौजन्य वीर बहादुर आलेले गरेका थिए । यसैगरि बगनासकाली ५ का वडासदस्य प्रकास न्यौपाने, निवर्तमान वडाध्यक्ष इश्वर राना लगायतले आर्थिक सहयोग गरेका थिए । प्रतियोगिताबाट विजेता तथा उपविजेता टोलीलाई पुरस्कार सौजन्यदाता लिला थापामगर, क्लबका अध्यक्ष दान बहादुर राना, समाजसेवी गुन बहादुर आले तथा वडा ५ स्थित तल्लोकोलडाँडाका अग्रजहरुले पुरस्कार वितरण गरेका थिए ।
पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत गण्डकी प्रदेश स्तरिय बुद्धिचाल प्रतियोगीताको पुरुषतर्फ लमजुङका सविनचन्द्र घिमिरे प्रथम भएका छन् । कुल ५ राउण्ड मध्ये ४ राउण्डमा जित र एक राउण्डमा बराबरी गर्दै कुल साढे ४ अंकका साथ उनी प्रथम भएका हुन् । यसैगरी कुल साढे ४ अंकका साथ मुस्ताङका राजन पहाडी द्धितिय भए । उनले पनि कुल ५ राउण्ड मध्ये ४ राउण्डमा जित र एक राउण्डमा बराबरी खेलेका थिए । यसैगरी बागलुङका लेख बहादुर थापा ४ अंकका साथ तृतिय भए । उनले ४ खेलमा जित र एक खेलमा हार बेहोरेका थिए । पुरुषतर्फ २३ जना प्रतियोगिले भाग लिएका थिए । यसैगरी बुद्धिचाल प्रतियोगीताको महिलातर्फ कास्कीकी पुजा भण्डारी प्रथम हुन सफल भइन् । उनले कुल ५ राउण्ड खेलमा ५ वटै खेल जित्दै प्रथम हुन सफल बनेकी हुन् । यसैगरी ४ राउण्डमा प्रथम र एक राउण्डमा पराजय भोगेर कुल ४ अंक जोडेकी लमजुङकी स्तुती खवास द्धितिय बनिन् । ३ राउण्डमा जित एक राउण्डमा हार र एक राउण्डमा बराबरी खेलेकी बागलुङकी झरना थापा तृतिय बनिन् । महिलातर्फ १३ जना खेलाडीले नाम दर्ता गराएपनि १२ जना खेलाडीले प्रतियोगितामा सहभागीता जनाए । बुद्धिचाल प्रतियोगितामा गण्डकी प्रदेशका कास्की, तनहुँ , बागलुङ, लमजुङ, मुस्ताङ, पर्वत, स्याङजा र नवलपुर जिल्लाले सहभागीता जनाएका थिए । मनाङ, गोरखा र म्याग्दि जिल्लाले भने सहभागीता जनाएन । बुद्धिचाल प्रतियोगिताको लागि संयोजकको जिम्मेवारी ओम प्रसाद उपाध्याय र प्रशिक्षकको जिम्मेवारी शुक्र प्रसाद प्रधानलाई दिइएको थियो । प्रदेश स्तरिय बुद्धिचाल प्रतियोगीता पोखरा सिर्जनाचोकस्थित स्टार लाउञ्ज एण्ड बारमा भएको हो । प्रथम, द्धितिय र तृतिय भई छनोट भएका खेलाडी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी बन्नेछन् । उनीहरुले अब केही दिनपछि बन्दप्रशिक्षणमा सहभागिता जनाउने प्रशिक्षक प्रधानले बताए ।
पोखरा : पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पुरुष क्रिकेट छनौंट खेल पोखरा रंगशालामा जारी छ । प्रदेशका विभिन्न ८ जिल्लाका ४८ खेलाडीहरुलाई ४ टिममा विभाजन गरि प्रतिस्पर्धा गराइएको छ । ‘प्रतियोगितामा जिल्ला जिल्ला विच प्रतिस्पर्धा गराइने कार्यक्रम थियो, तर खराब मौसमका कारण ति खेलाडीहरुलाई ४ टिममा विभाजन गराई क्याम्पको शैलिमा प्रतिस्पर्धा गराइएको हो’,गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष देवेन्सन प्रजुले बताए । चारै टिमका प्रतिस्पर्धा सकिएपछि आइतबार साँझसम्म प्रदेशका खेलाडीहरुको चयन गरिने प्रजुले जनाए । शनिबार दुई तथा आइतबार दुई वटा खेल गराइने उनले बताए । यिनै प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी प्रदेश टिममा चयन हुने उनको भनाई छ ।
गोरखा : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गोरखाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र क्षेत्र नम्बर २ मा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ (प्रकाश) सहितको नाम सिफारिस गर्ने निर्णय गरेको छ । दुई निर्वाचन क्षेत्र र प्रदेशतर्फ चार निर्वाचन क्षेत्र रहेको जिल्लामा माओवादीले प्रस्तावित उम्मेदवारको नाम टुङ्गो लगाएर सिफारिस गर्ने निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य लेखबहादुर थापामगरले जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्यक्षतर्फ क्षेत्र १ मा पूर्वप्रधानमन्त्री ‘प्रचण्ड’सहित केन्द्रीय सदस्य हरिराज अधिकारी (कुमार) र नेत्री सुशीला सिङ्खडाको नाम सिफारिस गर्ने निर्णय गरेको हो । त्यस्तै प्रदेशसभातर्फ क्षेत्र नम्बर १ (क) मा केन्द्रीय सदस्य लेखबहादुर थापा, अमरबहादुर गुरुङ र पर्शुराम रम्तेलको नाम सिफारिस गरेको केन्द्रीय सदस्य थापामगरले जानकारी दिनुभयो । सोही क्षेत्र अन्तर्गत प्रदेशसभा (ख) मा केन्द्रीय सदस्य कृष्ण धिताल, जगन्नाथ खनाल र धु्रवकुमार भट्टको नाम सिफारिस गरिएको पार्टीले जनाएको छ । त्यस्तै प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा पूर्वउपप्रधानमन्त्री श्रेष्ठ सहित पार्टीका केन्द्रीय सचिव हितराज पाण्डे र केन्द्रीय सदस्य लेखनाथ न्यौपानेको र सो क्षेत्र अन्तर्गत प्रदेशसभा (क) मा केन्द्रीय सदस्य खोपबहादुर कँडेल, कमला नहर्की र र धना तमुको नाम सिफारिस गर्ने निर्णय गरिएको छ । सो क्षेत्र अन्तर्गत प्रदेशसभा (ख) मा पार्टी केन्द्रीय सदस्य भगवती तिवारी, नरबहादुर गुरुङ र वासु पोखरेलको नाम सिफारिस गरिएको छ । माओवादी केन्द्रले जिल्लाअन्तर्गत सङ्घ र प्रदेशका सबै क्षेत्रका लागि समानुपातिकतर्फका उम्मेद्वारको प्रस्तावित नामावलीको समेत टुङगो लगाएको जनाएको छ ।
पाल्पा : सिद्धार्थ राजमार्गको हिउँदे खोलामा बनाइएको डाइभर्सनमै पहिरो खसेपछि यातायात आवागमन फेरि ठप्प भएको छ । निरन्तरको वर्षाका कारण पाल्पा–बुटवल खण्डको केराबारी नजिक सडक भासिएपछि गएराति पौने १० बजेबाट डाइभर्सन निर्माण सुरु गरिएको थियो । डाइभर्सन निर्माण सकिएलगत्तै गएराति दुई ठाउँमा पहिरो खसेपछि सवारी आवागमन पूर्णरुपमा ठप्प भएको छ । सडक बन्द भएपछि यात्रुहरु अलपत्र परेका छन् । सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी महेश्वर लम्सालले भासिएको सडक निर्माण नभएको र डाइभर्सन बनाइएको सडकसमेत हिलाम्य भएकाले ग्राभेल नगर्दासम्म सवारी साधन पास गर्न सकिने अवस्था नरहेको बताए । अहिले निरन्तर पानी परेकाले पानी रोकिएपछि मात्रै सवारी साधन सन्चालन गर्ने गरी काम गरिने उनले बताए ।
पोखरा : पोखरामा आयोजना हुने नवौँ खेलकुदका लागि आजदेखि पोखरामा खेलाडी छनौट प्रतियोगिता सुरु भएको छ । नवौँ खेलकुदका लागि पोखरामा सुरु भएको छनौट खेल अन्र्तगत महिला भलिबलमा बागलुङ, कास्की, लमजुङ र स्याङ्जा विजयी भएका छन् । पोखरा रंगशाला भलिबल कोर्टमा भएको खेलमा बागलुङले तनहुँलाई सोझो सेटमा पराजित गरेको छ । बागलुङले पहिलो सेट २५–१७ र दोस्रो सेट २५–१७ मा आफ्नो पक्षमा पार्दै विजयी भएको हो । त्यसभन्दा अगाडी पोखरा रंगशालाको बहुुउद्धेश्यीय कवर्ड हलमा भएको खेलमा कास्कीले नवलपुरलाई पराजित गरेको छ । कास्कीले नवलपुरलार्य सोझो सेटमा पराजित गरेको हो । कास्कीले पहिलो सेट २५–१३ र दोस्रो सेट २५–१६ मा नवलपुरलाई पराजित गरेको हो । पर्वत र लमजुङबीचको खेलमा लमजुुङ विजयी भएको छ । लमजुङले पर्वतलाई सोझो सेटमा पराजित गरेको हो । लमजुङले पहिलो सेट २५–२१ र दोस्रो सेट २५–२२ ले पर्वतलाई पराजित गरेको हो । बहुउद्धेश्यीय कवर्ड हलमा भएको खेलमा नै स्याङ्जाले मुस्ताङलाई सोझो सेटमा पराजित गरेको छ । स्याङ्जाले मुस्ताङलाई पहिलो सेटमा २५–०३ र दोस्रो सेट २५–११ मा पराजित गरेको हो । आजबाट सुरु भएको छनौट खेलमा गण्डकी प्रदेशका ११ जिल्लाका विभिन्न खेलका खेलाडी तथा प्रशिक्षकहरु पोखरा आएका छन् । आज पोखरामा रंगशालामा अन्य खेलहरु समेत सञ्चालन भएका छन् ।
पोखरा : गण्डकी प्रदेशले विभागीय टोली नेपाल एपिएफ क्लबमाथि पूनरागमन जित निकाल्दै फाइनल प्रवेश गरेको हो । लामाचौरस्थित इन्द्र राज्यलक्ष्मी माविको भलिबल कोर्टमा मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा गण्डकीले एपिएफलाई ३–२ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । गण्डकीले सुरुवाती दुई सेट गुमाएपनि त्यसपछिको तीनै सेट आफ्नो पक्षमा पार्न सफल भयो । पहिलो सेट २२–२५ ले गुमाएको गण्डकीले दोस्रो सेट पनि २२–२५ ले गुमाएको थियो । विवादित बनेको तेस्रो सेट २५–२३ ले जित्दै गण्डकी खेलमा फर्किएको थियो । २२–२२ को बराबरीको अवस्थापछि खेल विवादित बन्न पुगेको थियो । गण्डकी २२–२३ ले पछि रहँदा विवाद बढ्दै गएपछि खेल झन्डै ३० मिनेट रोकिएको थियो । त्यसपछि शुरु भएको खेलमा गण्डकीले लगातार ३ अंक जोड्दै २५–२३ ले आफ्नो पक्षमा पार्न सफल भयो । चौथो सेटमा एकपक्षीय प्रदर्शन गरेको गण्डकीले २५–१६ ले जित्दै खेललाई पाँचौ सेटमा लम्व्याउँदै फाइनल पुग्ने आशा जीवितै राखेको थियो । निर्णायक तथा पाँचौ सेट प्रतिस्पर्धात्मक बन्दा गण्डकीले १७–१५ ले सेट आफ्नो पक्षमा पार्दै फाइनलमा पुग्न सफल भयो । अब गण्डकीले उपाधिका लागि बुधबार आर्मी र पुलिसबीचको विजेतासँग खेल्नेछ । आर्मी र पुलिसबीचको दोस्रो सेमिफाइनल अहिले भइरहेको छ। महिलातर्फ न्यू डायमन्ड युथ स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब फाइनलमा पुगिसकेका छन् । पुलिसले आर्मीलाई तथा न्यू डायमण्डले गण्डकीलाई हराएर फाइनल प्रवेश गरेको हो । पुरुष र महिला दुवैतर्फको फाइनल बुधबार हुनेछ । नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा भइरहेको प्रतियोगितामा महिलातर्फ चार र पुरुषतर्फ पाँच टिमको सहभागिता रहेको छ । महिलातर्फ एपिएफ अन्तिम समयमा सहभागी नभएको आयोजकले जनाएको छ । महिलातर्फ नेपाल प्रहरी, त्रिभुवन आर्मी क्लब, न्यू डायमण्ड युथ स्पोर्टस् क्लब र गण्डकी प्रदेशको टिमले भाग लिएका छन् । पुरुषतर्फ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लबसहित बुटवलको मणिमुकुन्द भलिबल क्लब र गण्डकी प्रदेशको टिम गरी ५ टिमको सहभागिता रहेको छ । दुवै विधातर्फको विजेताले समान १ लाख ५० हजार १ सय ११, उपविजेताले १ लाख १ सय ११ र तेस्रो हुनेले ५० हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीसहित विधागतरुपमा उत्कृष्टले पनि पुरस्कार प्राप्त गर्नेछ । पोखराको लामाचौरमा जारी तीज महोत्सव–२०७९ अन्तर्गत लामाचौर कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता अन्तरगत पुरुषतर्फको पहिलो सेमिफाइन खेलमा खेलाडी र रेफ्रीमाथि बोतल प्रहार भएको छ । तेस्रो सेटमा रेफ्रीमाथि बोतल प्रहार लामाचौर तीज महोत्सव–२०७९ अन्तर्गत लामाचौर कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता अन्तरगत पुरुषतर्फको सेमिफाइनल खेलमा विभागीय टोली नेपाल एपिएफ र गण्डकी प्रदेशबिच भइरहेको खेलको तेस्रो सेटमा रेफ्रीमाथि बोतल प्रहार भएको हो । खेलको तेस्रो सेटमा गण्डकी प्रदेशका खेलाडीको फल देखाएपछि रुष्ट बनेका दर्शकले रेफ्री र खेलाडीमाथि बोतल प्रहार गरेका हुन् ।
गण्डकी : गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले चाडपर्वको मौलिकता जोगाउनु आजको आवश्यकता भएको बताउनुभएको छ । हरितालिका तीजको पावन अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उहाँले चाडपर्व हाम्रा संस्कृति र पहिचान भएको उल्लेख गर्नुभयो । “मौलिक संस्कृतिको प्रवद्र्धन गदै संस्कारयुक्त सामाजिक वातावरण तयार गर्न यस्ता चाडपर्वको मौलिकता जोगाउनु अहिलेको आवश्यकता हो”, शुभकामना सन्देशमा भनिएको छ । हरितालिका तीजलाई नेपाली महिलाले एक सनातन सांस्कृतिक पर्वको रुपमा मनाउँदै आएको सन्देशमा उल्लेख गरिएको छ । भाद्र शुक्लपक्ष तृतीयाका दिनपर्ने यस पर्वमा महिलाले भगवान् शिवपार्वतीको पूजा आराधना गर्दै आफ्नो सौभाग्य, परिवारको सुख, सुस्वास्थ्य र दीर्घायुको कामनासहित उपवास बस्नाले मनोकामना पूरा हुने विश्वास रहिआएको प्रदेश प्रमुख गुरुङले भन्नुभएको छ । सामाजिक एकताको प्रतीकका रुपमा रहेको यस पर्वले सबैमा खुसी साटासाट गदै सामाजिक, सांस्कृतिक तथा पारिवारिक एकता र सम्बन्धलाई दृढ गर्न सकोस् भन्ने उहाँले कामना गर्नुभएको छ ।
पोखराको लामाचौरमा आयोजित लामाचौर तीज महोत्सव २०७९ लामाचौर कप महिला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता अन्तरगत पुरुषतर्फको विभागीय टोली नेपाल एपिएफ क्लब विजयी भएको छ । आइतबार भएको पहिलो खेलमा विभागीय नेपाल एपिएफ क्लबले मणिमुकुन्द भलिबल क्लब रुपन्देहीलाई ३–१ को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । लगातार दोस्रो हारसँगै मणिमुकुन्द समूह चरणबाटै बाहिरिएको छ । अब यो समूहबाट पुलिस र एपिएफबीच समूह विजेताको लागि प्रतिस्पर्धा हुनेछ । पुलिसले शनिबार मणि मुकुन्दमाथि ३–१ को सेटमै जित निकालेको थियो । लामाचौरस्थित इन्द्र राज्यलक्ष्मी माविको भलिबल कोर्टमा एपिएफले शुरुवाती सेट २०–२५ ले गुमाएपनि त्यसपछिको तीनै सेट २५–१९, २५–२२ र २५–१९ ले जित्न सफल भएको थियो । गण्डकी र आर्मीको खेल पुनः स्थगित लामाचौर तीज महोत्सव–२०७९ अन्तर्गत लामाचौर कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता अन्तरगत पुरुषतर्फको विभागीय टोली त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीचको खेल पुनः स्थगित भएको छ । लाइट प्रोटेस्टका कारण शनिबार पनि स्थगित भएको खेल आइतबार पनि स्थगित हुन पुगेको आयोजक नव आदर्श सामुदायिक विकास समाजले जनाएको छ । पोखरामा लगातार वर्षाका कारण खेल निर्धारित समयमा शुरु हुन सकेको थियो । आइतबार भएको पहिलो सेटमा गण्डकीले आर्मीमाथि २५–१९ को सेटमा जित निकालेको थियो । लाइट प्रोटेस्ट लाग्ने पक्का भएपछि नै दुवै टोलीले नयाँ खेलाडीलाई मौका प्रदान गर्दा गण्डकीले बाजी मारेको हो । अब यो खेल सोमबार शुरुबाटै हुनेछ । यसअघि शनिबार आर्मीले पहिलो सेट ३१–२९ ले जितेपछि खेल स्थगित भएको थियो । वर्षाका कारण महिलातर्फको एक खेल पनि हुन सकेको छैन । नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा चार दिनसम्म चल्ने प्रतियोगितामा महिलातर्फ चार र पुरुषतर्फ पाँच टिमको सहभागिता रहेको छ । महिलातर्फ एपिएफ अन्तिम समयमा सहभागी भएनन् । महिलातर्फ नेपाल प्रहरी, त्रिभुवन आर्मी क्लब, न्यू डायमण्ड युथ स्पोर्टस् क्लब र गण्डकी प्रदेशको टिमले भाग लिएका छन् । पुरुषतर्फ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लबसहित बुटवलको मणिमुकुन्द भलिबल क्लब र गण्डकी प्रदेशको टिम गरी ५ टिमको सहभागिता रहेको छ । दुवै विधातर्फको विजेताले समान १ लाख ५० हजार १ सय ११, उपविजेताले १ लाख १ सय ११ र तेस्रो हुनेले ५० हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीसहित विधागतरुपमा उत्कृष्टले पनि पुरस्कार प्राप्त गर्नेछ ।

