पोखरा : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा सञ्चालित प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखे स्मृति पत्रकारिता सम्मान–२०७८ वितरण समारोहमा उहाँले भन्नुभयो, “संविधानले परिकल्पना गरेको अभिव्यक्ति स्वतन्त्रता र व्यक्तिगत स्वतन्त्रतालाई सरकार अक्षुण्ण राख्न चाहन्छ, अझ समृद्ध गर्न चाहन्छ ।” कुनै पनि पत्रकारले विचार व्यक्त गरेको आधारमा यो सरकारले दण्डित नगरेको र नगर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । दक्षिण एसियामा नै स्वतन्त्र प्रेसको नमूना देशका रूपमा नेपाललाई विकास गर्नका लागि सरकार कानुनी, संरचनागत व्यवस्था गर्न सधँै तयार रहेको मन्त्री कार्कीले बताउनुभयो । महँगी केवल सरकारको हातमा मात्र नरहेको र हाल पेट्रोलको मूल्य वृद्धि भएको बताउँदै उहाँले पेट्रोललाई विस्थापित गर्न भइरहेको ऊर्जाको विकासलाई व्यवस्थित गरिने उल्लेख गर्नुभयो । मन्त्री कार्कीले देशमा उत्पादित ऊर्जा खेर नजाने गरी यसको खपत बढाउनेतर्फ ध्यान दिइने बताउनुभयो । शासन पद्धतिमा परिवर्तनसँगै जनताको जीवनस्तरमा पनि परिवर्तन आउनु जरुरी हुने बताउँदै उहाँले आगामी दिनमा नेपालीलाई सम्पन्न बनाउनेतर्फ राज्यको जोड रहने स्पष्ट गर्नुभयो । आगामी पुस्तालाई समृद्धपुस्ता बनाउने गरी लाग्नुपर्ने बताउँदै मन्त्री कार्कीले पूँजी निर्माणका लागि लगानीमैत्री वातावरण बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै उहाँले अपार जलस्रोतको उपयोग गर्न सके मात्रै पनि त्यसले यहाँको समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो । अन्य राष्ट्रबीच पनि सुसम्बन्ध कायम गर्दै अघि बढ्नुको विकल्प नभएको बताउँदै साञ्चारमन्त्री कार्कीले नेपाल पञ्चशीलको सिद्धान्तलाई आत्मसात् गर्दै अन्य राष्ट्रसँग सम्बन्ध विस्तार गर्दै अघि बढ्ने धारणा राख्नुभयो । अमेरिकन स्टेट पार्टनरशिप प्रोग्रामलाई अघि नबढाउने सरकारले निर्णय गरिसकेको उहाँले जानकारी दिनुभयो । एक्लै हिँडेर कहीँ पुग्न नसकिने र सबैको सहयोगमा अघि बढेमा यो मुलुकको भविष्य सुन्दर रहेको उल्लेख गर्दै मन्त्री कार्कीले भाषणमा मात्र नभई व्यवहारमा आउने निर्वाचनबाट लोकतान्त्रिक स्थिरता दिन सकेको अवस्थामा १० वर्षमा नेपाल दक्षिण एसियाको धनी मुलुक बन्ने दाबी गर्नुभयो । सो अवसरमा दयाशङ्कर पालिखे स्मृति पत्रकारिता सम्मान–२०७८ बाट मन्त्री कार्कीले पत्रकार बबिता बस्नेतलाई सम्मानपत्रसहित रु एक लाख एक हजार १११ ले सम्मान प्रदान गर्नुभयो । नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारीले पत्रकारिताका माध्यमबाट सचेतना, महिला जागरण आदिमा महत्वपूर्ण योगदान गरेका कारण बबिता बस्नेतलाई सम्मान गरिएको बताउनुभयो । प्रतिभा छनोट समितिका संयोजक एवम् नेपाल पत्रकार महासङ्घ कास्कीका पूर्वअध्यक्ष रवीन्द्र बास्तोलाले समाजको रुपान्तरणका साथै प्रजातन्त्रको स्थापनामा महत्वपूर्ण योगदान गरेका दयाशङ्कर पालिखेको स्मृतिमा स्थापित पुरस्कार तथा सम्मान आफैँमा महत्वपूर्ण रहेको बताउनुभयो । पत्रकारितामा निर्भिक रुपमा कलम चलाउने बबिता बस्नेतको सक्रियता, योगदान आदिका आधारमा उहाँलाई सम्मान गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो । कार्यक्रममा सम्मानित व्यक्तित्व बबिता बस्नेत, पुरस्कार संस्थापक परिवारका तर्फबाट विश्वशङ्कर पालिखे, नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल, नेकपा (माओवादी केन्द्र)का जिल्ला अध्यक्ष राजकाजी गुरुङ, नेकपा (एमाले) का जिल्ला अध्यक्ष मनबहादुर गुरुङ, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य त्रिभुवन पौडेल लगायतले पत्रकारिताबारे आ–आफ्ना विचार प्रस्तुत गर्नुभएको थियो ।
बागलुङ : स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा बाग्लुङको हरिया गाउँपालिका बस्ने ३४ वर्षीय विनोद थापा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार भरतपुर महानगरपालिका–४ अनुपम चोकस्थित डेरिचोकबाट यज्ञपुरी चोकतर्फ आउँदै गरेको ना१क ३५९६ नंको होलिभिजन पब्लिक स्कुलको बसले आनन्दपुरतर्फ आउँदै गरेको ना३३प ३६६६ नंको मोटरसाइकललाई आज बिहान ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकल पछाडि सवार घाइते थापाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । मोटरसाइकल चालक बाग्लुङको हरिया गाउँपालिका निवासी ३४ वर्षीय आयुस बोहोरा गम्भीर घाइते हुनुभएको छ । उहाँको सोही अस्पतालमा उपचार भइरहेको छ ।
काठमाण्डौँ : युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले योगलाई खेलकुदसँग जोडेर हेर्नुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री गहतराजले योगलाई खेलकुदकै प्रमुख अङ्गका रुपमा विकास गर्नुपर्ने बताउनुभयो । पछिल्लो समय विश्वभर योग संस्कृतिले व्यापकता पाइरहेको उल्लेख गर्दै मन्त्रीले खेलकुद, शिक्षा र स्वास्थ्यलाई समेत योग संस्कृतिसँग जोड्नुपर्नेमा जोड दिनुभयो । हरेक वर्ष जुन २१ तारिकमा अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयानुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो ।
काठमाण्डौँ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । लगातार ओरालो लागेको नेप्से परिसूचक उकालो लाग्दा खडेरीमा पानी परे जस्तै भएको लगानीकर्ताको टिप्पणी छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार ३९.९३ अङ्कले उकालो लागेर एक हजार ९२४.७४ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक ८.९० अंकले उकालो लागेर ३७५.०९ मा पुगेको छ । कूल २३१ कम्पनीको ३७ लाख ६५ हजार ५१६ कित्ता शेयर रु एक अर्ब २५ करोड ३७ लाख ५७ हजार ७१५ बराबरको कारोबार भयो । कारोबार भएका १३ उपसमूहकै शेयर मूल्यमा वृद्धि भएको छ । बैंकिङ १७.१४, व्यापार ४२.०३, होटल तथा पर्यटन ५०.५७, विकास बैंक ११५.७७, जलविद्युत् ६१.८१, वित्त ४८.९८, निर्जीवन बीमा १५४, उत्पादन ९१.८४, अन्य ३८.२७, लघुवित्त ९१.८८, जीवन बीमा २०३.१८, सामूहिक लगानी कोष ०.१४ र लगानी १.८५ अङ्कले उकालो लागेका छन् । नेप्सेका अनुसार आँधीखोला लघुवित्त, सिवाइसी नेपाल लघुवित्त, सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सामुदायिक लघुवित्त ८.९८ र रिभर फल्स पावरका लगानीकर्ताले ८.८८ प्रतिशतले कमाए । नबिल ब्यालेन्सफ फण्ड २.९३, तेह्रथुम पावर कम्पनी २.८७, एनआइसी एशिया ब्यालेन्स फण्ड २.५९, लक्ष्मी इक्विटी फण्ड २.५० र एनएमबी–५० का लगानीकर्ताले २.०४ प्रतिशतले गुमाए ।
कास्की: पोखरामा महिला विरुद्धका भेदभाव उन्मूलन गर्न प्रदेश स्तरीय संवाद तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आदिवासी जनताति महिला मञ्च र नेपाल आदिवासी जनजाति महासंघको संयुक्त आयोजनामा महिला विरुद्धका सबै प्रकारका भेदभाव उन्मूलन गर्ने सम्बन्धि महासन्धि (सिड) को निष्कर्ष सुझाव कार्यान्वयनको लागि प्रदेश स्तरीय संवाद कार्यक्रम आज (मंगलबार) सम्पन्न भएको हो । उक्त कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले गरे । सो अवसरमा बोल्दै मन्त्री श्रेष्ठले महिला सशक्तिकरण आजको आवश्यकता रहेको धारणा व्यक्त गरे । मन्त्री श्रेष्ठले महिला विरुद्धको भेदभाव उन्मूलन गर्न संविधानले व्यवस्था गरेको अधिकारहरु अक्षरश कार्यान्वयन हुनुपर्ने बताए । पुरुषप्रधान देशको राष्ट्रपति महिलानै भएको बताउदै उनले महिलाले पनि नेतृत्वदायी भुमिका निर्वाह गर्न सक्ने उल्लेख गरे । महिला सशक्तिकरणको लागि आफ्नो मन्त्रालयले विभिन्न कार्यक्रमहरु गर्दै आएको बताउदै आगामी दिनमा समेत सधै सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । एक दिने उक्त संवाद कार्यक्रममा सहजकर्ताका रुपमा अधिवक्ता सुरेन्द्र थापामगर र महिला अधिकारकर्मी सोनी लामाले सहजीकरण गरेका थिए । पोखरा महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको सो कार्यक्रमलाई IWGIA ले सहयोग गरेको आयोजक संस्थाका पूर्व अर्थसचिव श्याममाया राना पुनले जानकारी दिएकी थिइन् । ‘विदेशी संस्थाले सहयोग गरेको हाम्रो कार्यक्रममा पोखरा महानगरपालिकाको विभिन्न वडामा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई लक्षित गरेर कार्यक्रम आयोजना गरेका हौं, उनले भनिनन्, ‘यसको उद्देश्य भनेकै महिलाहरुलाई धेरै क्षेत्रमा भेदभाव गरिन्छ । अब समान अवसर दिइनुपर्छ र भेदभाव हटाइनुपर्छ भन्ने हो ।’ उक्त कार्यक्रमले महिलाहरुको क्षमता अभिवृद्धि गर्न सघाउ पुग्ने बताउदै विगत लामो समयदेखि अभिमुखिकरण तथा सचेतनामुलक कार्यक्रमहरु आयोजना गर्दै आएको जानकारी दिएकी थिइन् ।
झापा : दक्षिण झापाको कचनकवल गाउँपालिकाले गत वर्षदेखि सञ्चालन गरेको सर्पदंश उपचार केन्द्र स्थानीयवासीका लागि अकाल मृत्युबाट बचाउन वरदान साबित भएको छ । गोमन, करेत लगायतका अति विषालु सर्पले डसेमा तत्काल उपचार नपाए बिरामीको ज्यानै गुम्ने गर्दछ । तर, भौगोलिक विकटताका कारण विषालु सर्पले डसेका बिरामीलाई उपचारका लागि ३० किलोमिटर टाढा चारआली सर्पदंश उपचार केन्द्र धाउनुपर्दा बर्सेनि औसत आठजना कचनकवलवासीको बाटैमा मृत्यु हुने गरेको थियो । गाउँमै उपचार केन्द्र सञ्चालनमा आएपछि कसैले पनि अकाल मृत्युवरण गर्नु नपरेको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख जागेश्वरप्रसाद यादवले बताउनुभयो । बर्खासँगै झापामा विषालु सर्पको त्रास बढ्ने गरेको हुँदा छिमेकी पालिकाहरु भद्रपुर र बाह्रदशीसहित भारतको किसनगञ्ज जिल्लाका बिरामीहरु समेत उपचारका लागि कचनकवल आउने गरेको उहाँले जानकारी दिनुभयो । कचनकवल गाउँपालिकाको वडा नं ६ स्थित बनियानी प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा ६ शय्याको सर्पदंश उपचार केन्द्र सञ्चालन गरिएको छ । सो केन्द्रबाट एक वर्षको अवधिमा सर्पले डसेका २४४ जनाले उपचार सेवा लिएका छन् । पालिकाले आन्तरिक स्रोत परिचालन गरेर गत वर्ष असारदेखि रु ३० लाखको लागतमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा ल्याएको गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताउनुभयो । कचनकवलवासीको वर्षांैदेखिको पीडामा मलम लगाउन सफल भएको सर्पदंश उपचार केन्द्रलाई साधन, स्रोत र सुविधा सम्पन्न बनाउन पालिकाले योजना बनाइरहेको उहाँको भनाइ छ । “गाउँबस्तीमा साना भुइँघरहरु हुन्छन्, जहाँ लुकेर बसेको सर्पले मानिसलाई जुनसुकै बेला डस्न सक्छ,” उहाँले भन्नुभयो, “हरेक वर्ष सात आठ जनाले ज्यानै गुमाउनु परेको थियो । अब सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएसँगै कसैले उपचार नपाएर अकालमै मृत्युवरण गर्नुपरेको छै्रन ।” उपचार केन्द्रमा अक्सिजन सिलिन्डर र पेसेन्ट मोनिटरिङ मेसिन जडान गरिएका छन् । स्वास्थ्य केन्द्रका एकजना मेडिकल अधिकृतसहित ६ जना स्वास्थ्यकर्मीले सर्पदंश उपचार केन्द्रमा सेवा प्रदान गरिरहेका छन् । आइसियु र भेन्टिलेटर सुविधा नभएको हुँदा सर्पदंशका सिकिस्त बिरामीलाई रेफर गरेर विर्तामोडका सुविधासम्पन्न अस्पतालमा पठाउनु परेको स्वास्थ्य शाखाका प्रमुख यादव बताउनुहुन्छ । उपचार केन्द्रलाई गत वर्ष नै दाताबाट एउटा भेन्टिलेटर मेसिन प्राप्त भएको छ । तर स्रोत अभावमा त्यसलाई जडान गरेर सञ्चालनमा ल्याउन सकिएको छैन । स्थानीयवासीले स्रोत जुटाएर छिटोभन्दा छिटो भेन्टिलेटर मेसिन जडान गर्नुपर्ने बताउँदै आएका छन् । स्वास्थ्य शाखाका प्रमुख यादवले भेन्टिलेटर सञ्चालनमा आएपछि उपचारमा कुनै समस्या नहुने बताउनुभयो । झापामा कचनकवलको समेत चारवटा सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन् । चारआलीमा नेपाली सेनाले, कनकाई नगरपालिकामा सहारा नेपालले र दमकमा रेडक्रस सोसाइटीले सर्पदंश उपचार केन्द्र सञ्चालन गर्दै आएका छन् ।
चितवन : चितवनको इच्छाकामना गाउँपालिकाले विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । गरिबीका कारण गाउँपालिकाका नागरिकहरु स्वास्थ्य बीमाबाट वञ्चित भएकाले कुनै पनि नागरिक स्वास्थ्य बीमाबाट नछुटोस् भन्ने उदेश्यले निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको हो । आर्थिक अभावका कारणले नै यहाँका नागरिक नेपाल सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रमबाट वञ्चित भएको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताउनुभयो । स्वास्थ्य बीमा नहुँदा यहाँका नागरिकले बिरामी हुँदा उपचारसमेत गराउन नसकेको उहाँको भनाइ थियो । अध्यक्ष गुरुङले भन्नुभयो, “यहाँका कतिपय नागरिक स्वास्थ्य बीमा पनि गर्न सक्ने अवस्थामा छैनन्, बिरामी हुँदा अस्पतालसम्म जान सवारी भाडासमेत हुँदैन, अस्पतालमा भर्ना भएपछि डिस्चार्ज गर्ने रकम नहुँदा समस्यामा पर्ने गरेका छन् ।” अस्पतालमा उपचार खर्च तिर्न नसक्दा धेरै पटक आफूले जिम्मेवारी लिएर डिस्चार्ज गरेको उहाँको भनाइ छ । स्वास्थ्य बीमा नहुँदा उपचारका लागि चन्दा उठाउनुपर्ने बाध्यतासमेत रहेको भन्दै अध्यक्ष गुरुङले विपन्न परिवारको पहिचान गरी निःशुल्क स्वास्थ्य बीमा गर्ने गाउँपालिकाले निर्णय गरेको बताउनुभयो ।
काठमाण्डौँ : प्रतिनिधिसभा बैठकले बिरुवा संरक्षण र बीउबिजनसम्बन्धी विधेयकमाथि राष्ट्रियसभाबाट भएको संशोधन सर्वसम्मतिले स्वीकृत गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा कृषि तथा पशुपन्छीमन्त्री महिन्द्र राय यादवले ‘बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७६’ र ‘बीउबिजन (दोस्रो संशोधन) विधेयक, २०७६ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । ‘बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७६’ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद प्रेम सुवाल, गङ्गा चौधरी सत्गौवा, बिमला विक र सरिताकुमारी गिरी लगायतले रैथाने बिरुवाको संरक्षण गर्नुपर्ने, किसानलाई समयमै मल बीउबिजन उपलब्ध गराउने, निकुञ्ज क्षेत्र आसपासका नागरिकका कृषि उत्पादन जङ्गली जनावरले नष्ट गर्ने गरेको भन्दै त्यस्ता घटना न्यूनीकरण गर्न सरकारले ध्यान दिनुपर्ने बताउनुभएको थियो । ‘बीउबिजन (दोस्रो संशोधन) विधेयक, २०७६ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद गङ्गा चौधरी सत्गौवा र सरिताकुमारी गिरीले स्वदेशमा बीउ उत्पादन गर्ने प्याकेज निर्माण गर्नुपर्ने, हाइब्रिड बीउबिजनको प्रयोगका बढवा दिँदै गर्दा किसानलाई तालिम र प्रविधि पनि उपलब्ध गराउनुपर्ने बताउनुभयो । छलफलमा उठेका जिज्ञासाको जवाफ दिँदै कृषिमन्त्री यादवले रैथाने बिरुवा र बीउबिजनलाई संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले सरकारले उक्त विधेयक संशोधन गर्न लागेको बताउनुभयो । बीउबिजनसम्बन्धी ऐन संशोधन भएपछि बीउले फल नदिएमा किसानले सम्बन्धित कम्पनीबाट क्षतिपूर्ति पाउने उहाँले बताउनुभयो । प्रतिनिधिसभाको अर्को बैठक यही असार ९ गते बिहीबार अपराह्न १ बजे बस्नेछ ।(((
काठमाडौँ : काठमाडौँ उपत्यकाको फोहोरको समस्या सधैको हो । बढ्दो सहरीकरणका कारण खुला स्थान क्रमशः हराउँदै गएपछि फोहोर व्यवस्थापनका लागि थप समस्या निम्तिदै आएको छ । काठमाडौँ उपत्यकाभित्र उत्पादन हुने फोहोर व्यवस्थापनको विषय सहरी विकास, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, काठमाडौँ र ललितपुर महानगरको बढी चासोमा पर्ने गरेको छ । सामान्य अवरोध आउना साथै उपत्यकाका सहरमा फोहोर थुप्रने र त्यसबाट अनेकन समस्या निम्तने गरेको तथ्य आम मानिसको जानकारीमै रहेको छ । पछिल्लो पटक सिसडोल ल्याण्डफिल साइट भरिएका कारण सरकारले बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्ने निर्णय गरेको छ । तीव्र विवाद र चौतर्फी आलोचनाकाबीच सरकार, स्थानीयवासी र महानगरबीच सहमति भएको छ । सहमति पनि अल्पकालीन अवधिका लागि मात्रै छ । फोहोरलाई मोहोर बनाउने विषयमा लामै समयदेखि चर्चा भएपनि त्यसमा खास प्रगति हुन सकेको छैन । कुहिने फोहोर प्रयोग गरेर घरमै कम्पोस्ट मल बनाउन सकिन्छ । नकुहिने फोहोरको व्यवस्थापनको विषय सबैभन्दा गम्भीर रहेको छ । संसारभर फोहोर व्यवस्थापनका आ–आफ्ना मोडल छन् । नेपालले कस्तो उपाय अवलम्बन गर्ने भन्ने विषयमा बढ्ता चासो राख्नु र त्यसलाई कार्यान्वयनमा लैजानु आवश्यक छ । पछिल्लो पटक काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साहले पनि फोहोर व्यवस्थापनको दीर्घकालीन उपायको खोजी गर्ने बताइसक्नु भएको छ । संसारभरका विभिन्न उपायको खोजी भइरहेको बेला नेपालमा नै फोहोर व्यवस्थापनका लागि नागरिकस्तरमा नै प्रभावकारी काम भइरहेको छ भन्ने कुरा आमरुपमा प्रकाशमा आउन सकेको छैन । नेपालमा उत्पादन भएर विदेश समेत निर्यात भइरहेको फोहोरबाट बिजुली उत्पादन गर्ने मेसिनका बारेमा पनि आम मानिसलाई थाहा छैन । सोही क्रममा वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले फोहोरबाट बिजुली र सिमेन्ट बनाउन प्रयोग हुने क्लिङ्कर उत्पादन हुने मेसिनको निरीक्षण गरी त्यसको विस्तारका बारेमा चासो व्यक्त गर्नुभएको छ । सो मेसिनको निरिक्षण गर्दै मुख्यमन्त्री पाण्डेले देशलाई समृद्ध बनाउन यस्ता उपकरण कोसेढुङ्गा सावित हुने बताउनुभएको छ । हेटौँडा उपमहानगरपालिका–८ का कृष्ण खतिवडाले विगत चार वर्षदेखि जापानी प्रविधिको प्रयोग गरेर सो मेसिन निर्माण गरेर विदेश निर्यात गर्दै आउनुभएको छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले उक्त मेसिनको निरीक्षण गर्दै यस्ता कार्यलाई प्रदेश सरकारले प्राथमिकता दिने बताउनुभयो । उहाँले फोहोरमैलाको व्यवस्थापनको जिम्मा स्थानीय सरकारको रहे पनि आफूलाई जिम्मा दिएमा यस्ता मेसिन जडान गरेर समस्याको निराकरण गर्न सकिने उल्लेख गर्नुभयो । मेसिन बनाउने उद्योगको निरीक्षणको क्रममा यस्ता कामको प्रोत्साहनको लागि कार्यविधि बनाउने र कार्यान्वयनमा ल्याउने उहाँको भनाइ छ । फोहोरबाट बिजुली र क्लिङ्कर उत्पादन गर्ने यस्ता मेसिन प्रयोगमा ल्याएमा फोहोर व्यवस्थापन मात्र नभएर फोहोरलाई मोहोरमा परिणत गर्न सकिन्छ । फोहोर व्यवस्थापन गर्न समस्या रहेको सहरी क्षेत्रलाई उक्त मेसिन उपयोगी हुने उहाँको भनाई छ । फोहोरबाट पनि समृद्धि ल्याउन सकिन्छ भन्ने सन्दर्भमा यो राम्रो माध्यम बन्ने मुख्यमन्त्री पाण्डेको भनाइ छ । उहाँले आफूले कृषि औजार कारखाना खोल्नको लागि आगामी आवमा समेत बजेट विनियोजन गरेकोले यस्ता उद्योगलाई प्रोत्साहन गर्ने विश्वास दिलाउनुभयो । उक्त मेसिनले फोहोरमा भएका टिन, फलामलगायतका बस्तु छानेर अलग गरिदिन्छ । कुहिने तथा नकुहिने फोहोर प्रशोधन गरेर ऊर्जा उत्पादन, क्लिङ्कर, पत्थर कोइला र मललगायतका सामग्री उत्पादन हुने खतिवडाले जानकारी दिनुभयो । नेपालमा वातावरणमैत्री छ भनेर प्रमाणपत्र दिन मिल्ने कानुनमा नै व्यवस्था नभएको कारण आफ्नो उत्पादन जापान लगेर जापानको नाम दिएर अन्य मुलुकमा बिक्री गर्नुपरेको दुखेसो खतिवडाको छ । नेपालभित्र व्यापार गर्ने अनुमति भए पनि हालसम्म कुनै पनि निकायले खरिद नगरेको उहाँको भनाइ छ । यद्यपि बनेका मेसिन भने जापान पठाएर बिक्री भइरहेको उहाँले बताउनुभयो । मेसिनले फोहोर परिमार्जन प्रक्रियामा निस्कने ग्यासलाई तापक्रम दिएर निस्क्रिय बनाइदिन्छ । शुद्ध हावामात्र वायुमण्डलमा छोड्छ । सो मेसिनले एक घण्टामा दुई टन फोहोर व्यवस्थापन गर्ने र उक्त प्रक्रियाबाट ०।५ मेगावाट बिजुली उत्पादन हुने खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार कुहिने फोहोरबाट पत्थर कोइला बन्ने र नकुहिने फोहोरबाट भने क्लिङ्कर निस्कन्छ जसबाट सिमेण्ट उत्पादन गर्न सकिन्छ । मेसिनभित्र जडान भएका सिस्टमले फोहोर छान्ने, पिस्ने, सुकाउने र उत्पादन गर्ने कार्य गर्ने हुनाले फोहोर व्यवस्थापन सहजै गर्न सकिने उहाँको भनाइ छ । मेसिनले प्लाष्टिकजन्य फोहोरलाई जलाउने नभएर रासायनिक प्रक्रियाबाट नष्ट गर्ने भएकाले पनि यो वातावरणमैत्री भएको खतिवडाको दाबी छ । अन्य मुलुकबाट ठूलो परिमाणमा मेसिनको माग भएको तर नेपालबाट पठाउनको लागि नेपाल सरकारबाट प्रमाणपत्र दिने प्रावधान नभएकाले जापानमा पार्टपुर्जा लगेर फिट गरेर बेच्नको लागि पार्टपुर्जासहित ५० जना कामदार लिएर आफू जापान जान लागेको उत्पादन कम्पनीका सञ्चालक कृष्ण खतिवडाले जानकारी दिनुभयो । नेपालभित्र बेच्ने अनुमति भए पनि सरकारले प्रमाणपत्र नदिएको कारण विदेश पठाउन समस्या हुने गरेको खतिवडाले बताउनुभयो । यद्यपि नेपालमा प्रयोग गर्नपर्ने अवस्था भए पनि हालसम्म कुनै पनि निकायले प्रयोग नगरेका कारण आफूलाई दुःख लागेको उहाँको भनाइ छ । जिम्मा दिए निःशुल्क व्यवस्थापन गर्ने सहरी क्षेत्रका स्थानीय तहले फोहोर व्यबस्थापनको जिम्मा दिएमा मात्र पनि आफ्नो मेसिन जडान गरेर निःशुल्क व्यवस्थापन गरिदिने खतिवडाको भनाइ छ । मेसिनबाट निस्कने विद्युत् र क्लिङ्करले खर्च उठाउने भएका कारणले पनि आफूले जिम्मा पाएमा उक्त काम गरेर देखाउने उहाँको दाबी छ । मलको साथै जैविक पोषणतत्व उत्पादन गर्नसक्ने खतिवडाले फोहोर नष्ट गर्नेमात्र नभएर मल र बोटबिरुवालाई चाहिने जैविक भिटामिनसमेत उत्पादन गर्ने साना किसिमका मेसिन पनि बनिरहेको जानकारी दिनुभयो । फोहोरमा फोहोरमात्रै हुँदैन । त्यसमा अनेकन खालका अन्य जैविकतत्वसमेत हुने भएकाले त्यसलाई व्यवस्थापन गर्न सकिन्छ । काठमाडौँ उपत्यकामा दैनिक एक हजार ४५ मेट्रिक टन फोहोर उत्पादन हुने गरेको काठमाडौँ महानगरको भनाइ छ । त्यसबाहेक सङ्कलन हुन नसकेको फोहोर र स्रोतमा घटाएको फोहोरको मात्रा पनि त्यसमा जोडिन्छ । एक हजार ४५ मेट्रिक टन फोहोरमध्ये सबैभन्दा धेरै काठमाडौँ महानगरपालिका क्षेत्रबाट दैनिक ५१६ मेट्रिक टन र ललितपुर महानगरबाट १३० मेट्रिक टन फोहोर सङ्कलन गरेर ल्यान्डफिल साइटमा पु¥याउने गरिएको छ । उपत्यकाका १८ वटा नगरपालिकामध्ये भक्तपुर नगर क्षेत्रबाहेक अन्य सबै नगर क्षेत्रमा उत्पादन भएको फोहोर पनि यसअघि सिसडोल लगिन्थ्यो भने अहिले बञ्चरेडाँडा लान थालिएको छ ।

