पोखरा:   थारू आयोग, नेपालले गण्डकी प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगकी सदस्य शान्ति मोदीले बिहीबार एक कार्यक्रमबीच प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो । ...

पोखरा: पोखरा सहित हिमाल पारीका जिल्ला मनाङ मुस्ताङ लगायत  पर्यटकीय गन्तव्यमा बिना रुट परमिट जाने भारतीय निजी तथा सार्वजनिक यातायातका साधनको प्रभावकारी अनुुगमनका लागि पर्यटक यातायात व्यवसायी संघ(एनटिभिए) गण्डकी प्रदेशले आग्रह गरेको छ ।      भारतीय पहेलो नम्बर प्लेट भएका सार्वजनिक सवारी साधनसँगै सेतो नम्वर प्लेट भएका निजी सवारी साधनहरू पोखरा सहित आसपासका पर्यटकीय गन्तव्यमा बिना रुट परमिट सिधै गन्तव्यमा पुग्दा दुर्घटना लगायतका समस्यासँगै स्थानीय पर्यटन तथा यातायात व्यवसायी पनि प्रभावित भएको भन्दै संघले सम्बद्ध निकायको ध्यानाकर्षण गराएको हो ।      नेपालका सिमा नजिकका शहरहरूबाट आउने भाडाका विदेशी सवारी साधनहरूले भारतबाटै यात्रु बोकेर पोखरा, मुस्ताङ, मुक्तिनाथ, मनाङ पुग्दा हाई अल्टिच्युडको कारणले विभिन्न स्वास्थ्य समस्या आउनुुका साथै विदेशी सवारी चालकलाई भौगोलिक अवस्थाको समेत जानकारी नहुँदा दुर्घटना बढेको संघले जनाएको छ । यस्तो अवस्थाको अन्त्यका लागि विदेशबाट आएका सवारी साधनलाई पोखरामा पार्किङ गरी यहाँका स्थानीय सवारी साधन लिएर मात्रै ती गन्तव्यहरूमा जाने व्यवस्था मिलाउनका लागि सहजीकरण गर्न संघबाट यही माघ १२ गते जिल्ला प्रशासन कार्यालय कास्कीमा औपचारिक रूपमा ध्यानाकर्षण पत्र बुझाइएको अध्यक्ष दुर्गादत्त दहालले बताउनुभयो ।      उहाँका अनुुसार संघको ध्यानाकर्षणसँगै जिल्ला प्रशासन कार्यालय कास्कीले विदेशी सवारी साधनको चेकजाँच तथा नियमनका लागि जिल्ला प्रहरी कार्यालय कास्की र यातायात व्यवस्था कार्यालय सवारी, कास्कीलाई पत्राचार गरी प्रभावकारी अनुगमन गर्न निर्देशन समेत दिइसकेको छ ।      प्रशासनको उक्त निर्देशनले यहाँका स्थानीय व्यवसायीलाई ठूलो राहत मिल्ने बताउँदै उहाँले यसको प्रभावकारी कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो । भारतीय सवारीसाधनहरू बिना रुट परमिट तथा भन्सार सिधै हिमाली गन्तव्यहरूमा पुुग्ने गरेको पाइएसँगै संघले संस्थागत रुपमा यही माघ ८ गतेदेखि ११ गतेसम्म पोखरा–१ याम्दीमा गरिएको अनुगमनमा थुप्रै भारतीय सवारीसाधन बिना रुट परमिट र भन्सार हिड्ने गरेको पाइएको उहाँले बताउनुभयो ।           भारतमा करिब २० लाख रुपैयाँ पर्ने सवारी साधन नेपालमा ७०/८० लाख रुपैयाँसम्म खर्च गरेर चलाउनुपर्ने अवस्थामा भारतीय निजी तथा सार्वजनिक सवारी साधनले बिना रुट परमिट सिधै पर्यटकीय गन्तव्यहरूमा पुुग्दा यहाँका स्थानीय पर्यटक यातायात व्यवसायीहरू मर्कामा समेत परिरहेको उहाँको भनाइ छ ।       सिमा वरपर बस्ने नेपाली र पारी बस्ने भारतीय मिलेर नेपालतिर भारतीय सवारीसाधन ल्याएर यातायात व्यवसाय गरिदिँदा समस्या परेको बताउने पर्यटन व्यवसायीहरू नेपाल सरकारको नियमानुसार पनि एउटा गाडी सामान्यतः तीन महिना भन्दा बढी नेपालमा आउन नपाउने भएपनि त्यसको अभिलेख नहुँदा पनि समस्या परेको बताउँछन् ।      भारतीय सवारी साधनबाट आएका पर्यटकहरू तिनै सवारीसाधनबाट सिधै मनाङ, मुस्ताङ लगायतका गन्तव्यमा पुग्दा स्वास्थ्य जोखिमी समेत बढेको संघका पूर्व अध्यक्ष बोबरजंग गुरुङ बताउनुहुन्छ ।      “नेपालका सिमा नजिकका शहरहरूबाट आउने सवारी साधन सिधा जोमसोम, मुक्तिनाथ तथा मनाङ गई हाई अल्टिच्युडको कारणले पर्यटकलाई विभिन्न स्वास्थ्यमा समस्या आउने गरेको छ”, उहाँले भन्नुुभयो, “विदेशी सवारी चालक यहाँको ग्रामिण सडक र भौगोलिक अवस्था जानकारी नहुँदा पनि विभिन्न समस्या तथा दुर्घटनाहरू समेत बढेको छ । ”      विदेशी सवारी साधनहरुलाई पोखरासम्म आई यहीं पार्किङ्ग गरी मुस्ताङ र मनाङ जस्ता गन्तव्यमा यहीँका स्थानीय सार्वजनिक तथा पर्यटक सवारीसाधनको प्रयोग गराउन सकिएमा त्यसबाट दुर्घटनाजन्य समस्याको न्युनीकरणसँगै यहाँका पर्यटन व्यवसायीलाई समेत फाइदा पुग्ने उहाँको भनाइ छ ।      बेलुका भन्सारको टिकट काटेर रातारात दुुई तीन सय मिटर उचाइका युपि विहार लगायतका स्थानबाट प्याकेज नै बनाएर चार हजार दुुई सय मिटरसम्मको उचाइको मुक्तिनाथ जस्ता गन्तव्यमा सिधै पुग्ने क्रमले यहाँको व्यवसायमा असर पर्नुका साथै त्यसले विभिन्न किसिमका दुर्घटना समेत निम्त्याउने गरेको हुँदा यसतर्फ चासो दिदै तत्कालै उचित व्यवस्थापन गर्नु जरुरी रहेको व्यवसायीको तर्क छ ।  

मुस्ताङ:  मङ्गलबार रातिदेखि मुस्ताङका विभिन्न भेगमा भारी हिमपात भएको छ । यहाँका डाँडाकाँडा पूरै सेताम्मे भएका छन् । अधिकांश स्थानमा वर्षा पनि भएको छ । भारी हिमपात कारण कागबेनी–कोरला सडक अवरुद्ध भएको छ । केही स्थानमा दुई फिटभन्दा बढी हिउँ जमेको छ । हिउँ परेसँगै स्याउ, उवा, फापर, जौँ र आलुलगायत बाली सप्रने आशा पलाएको घरपझोङ गाउँपालिकाका कृषि शाखा प्रमुख रोशन थकालीले बताए । त्यसैगरी हुम्ला, मुगु, डोल्पा, जुम्ला, कालिकोटमा मङ्गलबार रातिदेखि नै बाक्लो हिमपात भइरहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख शङ्कर खड्काका अनुसार सदरमुकाम सिमकोटसहित उच्च भेगमा एक फिट हिउँ जमेको छ । हिमपातले हवाई सेवा अवरुद्ध हुनाका साथै लिमी, न्यालु, यारी र हिल्सा सडक बन्द भएका छन् । यसैबीच, बाजुरस्थित राससकर्मीका अनुसार जिल्लाका बडीमालिका, बुढीगङ्गा त्रिवेणी, बुढीनन्दा नगरपालिका, हिमाली, खप्तड छेडेदह, गौमुल, स्वामीकार्तिक, जगन्नाथ गाउँपालिकाका लेकमा बाक्लो हिमपात भएको छ । हिमपातका कारण हिमालीको विच्छ्या, रुगिन, बाँधु, गौमुलको अल्लिस, दहकोट, बुढीनन्दाको कुरु गाउँको जनजीवन प्रभावित भएको छ । वर्षासँगै हिमापात भएपछि गहुँ बाली सप्रने कृषि ज्ञान केन्द्रका प्रमुख जसीराम सहानीले बताए । 

काठमाडौं:   हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बुधबार दिउँसो देशका उच्च पहाडी तथा हिमाली भागमा पूर्णतया बादल लाग्ने र बाँकी भेगका पहाडी तथा तराईमा बादल लाग्नेछ । साथै देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा तथा बागमती, मधेश र कोशी प्रदेशका पहाडी भागका केही स्थान र कोशी प्रदेशको तराईका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति देशका पहाडी र हिमाली भागमा आंशिक बादल लाग्नेछ र बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ । हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्यका साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सतर्कता अपनाउन महाशाखाले सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

काठमाडौं:  युवराज सफल भनिने युवराज पौडेललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले आज निजलाई काठमाडौँबाट पक्राउ गरिएको बताउनुभयो ।  महान्यायाधिवक्ता र महान्यायाधिवक्ता कार्यालयविरुद्ध सामाजिक सञ्जालबाट तथ्यहीन आरोप लगाएको भन्ने विषयमा अनुसन्धानका लागि पौडेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  निजलाई आजै अदालतमा पेस गरी अनुसन्धानका लागि तीन दिनको म्यादसमेत लिइएको प्रवक्ता भट्टराईले बताउनुभयो ।  महान्यायाधिवक्ताको कार्यालयले यही माघ ८ गते नै पौडेलमाथि अनुसन्धान गरी कारबाही गर्न पत्राचार गरेका आधारमा  पक्राउ गरिएको प्रहरीले जनाएको छ । पौडेलविरुद्ध विद्युतीय अपराधको कसुरमा अनुसन्धान सुरु भएको छ ।

गलकोट:  बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको बागलुङ नगरपालिका–९ स्थित ‘ब्लु हिल’मा अहिले पूर्वाधार निर्माणलाई तीव्रता दिइएको छ । आगामी असार मसान्तसम्म दुई करोड ५० लाख बराबरको भौतिक संरचना तयार हुनेगरी तीव्र गतिमा निर्माण भइरहेको हो । यसअघि बागलुङ नगरपालिकाले जग्गा व्यवस्थापन, शौचालय तथा सत्तल निर्माणमा रु ७० लाख खर्च गरिसकेको छ । आँखैअघि देखिने दुई दर्जन हिमशृङ्खला र बागलुङ बजारको दृश्यले बागलुङको डोयलाई पर्यटकीय केन्द्र बनाउनका लागि नगरपालिकाले ‘ब्लु हिल’ नामकरण गरेको थियो ।  ब्लु हिललाई धार्मिक तथा पर्यटकीय गन्तव्य बनाउनका लागि पूर्वाधार निर्माण गत वर्षदेखि थालिएको हो । रु २५ करोडको पूर्वाधार बनाउने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मा उल्लेख गरिएको छ ।   गत वर्ष पहिलो चरणअन्तर्गत रु ७० लाखको र चालु आवमा दोस्रो चरणअन्तर्गत रु दुई करोड ५० लाखको काम भइरहेको बागलुङ–९ तित्याङका वडाध्यक्ष राजु थापाले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले ब्लु हिलमा निर्माण गर्ने २० फिट शिवको मूर्ति राख्नका लागि आवश्यक दुईतला पक्की भवन बनाउने काम भइरहेको छ ।  डोयको निलो पहाडलाई ब्लु हिलका रूपमा परिणत गर्न नगरपालिकाले बजेट विनियोजन गरी लगानी गरिरहेको छ । यस वर्ष रु दुई करोड ५० लाखको पूर्वाधारसहित शिवमूर्ति निर्माण गर्न निर्माण कम्पनी क्वालिसट रिन्युयबल इनर्जीले तीव्रताका साथ काम गरिरहेको छ । प्राकृतिक क्षेत्रमा धार्मिक पूर्वाधार बनाएर पर्यटक भित्र्याउने उद्देश्य राखिएको बागलुङ नगरपालिकाले जनाएको छ ।  पर्यटकीय गन्तव्य बनाउन बागलुङ नगरपालिकाले गत वर्षदेखि नगरकै गौरवको योजनाका रूपमा डोयको पहाडलाई ब्लु हिल नामकरण गरेर पर्यटकीय पूर्वाधार निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० बनाएर काम अघि बढाएको थियो ।  मनोरम प्राकृतिक सौन्दर्यता भएको डोयको डाँडालाई नगरपालिकाले ‘ब्लु हिल’ नामकरण गरेपछि नगरपालिकाले लगानी गरिरहेको बागलुङ–९ का वडाध्यक्ष थापाले जानकारी दिनुभयो । “नगरकै ठूलो लगानीमा पूर्वाधार निर्माण थालिएको छ, हामीले पहाडमाथि शिवमूर्ति बनाएर धार्मिक पर्यटक र प्रकृतिप्रेमी पर्यटक भित्र्याउने उद्देश्य राखेका छौँ, ठूलो पूर्वाधार बने पनि स–साना पूर्वाधार पछि बन्दछन्”, उहाँले भन्नुभयो, “पर्यटकीय गन्तव्य बनेपछि अन्य पूर्वाधारले प्राथमिकता पाउनेछन्, त्यहाँ पुग्ने सडक भने सुधारको आवश्यक छ ।” ब्लु हिल पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न रु २४ करोड ५६ लाख २२ हजारको विस्तृत अध्ययन प्रतिवेदन ९डिपिआर० तयार गरेको थियो । गत वर्ष जग्गा सम्याउने, पर्खाल लगाउने, सत्तल निर्माण गर्ने र शौचालय बनाउने काम सम्पन्न भएको गियो । यस क्षेत्रमा वनभोजस्थल, ध्यानकेन्द्र, दृश्य अवलोकनस्थल, जिमहल, मन्दिर, पार्किङलगायत अतिरिक्त पूर्वाधार निर्माण गर्ने डिपिआरमा उल्लेख छ ।  दृश्यावलोकनका लागि ब्लु हिलमा आन्तरिक पर्यटक पु¥याउन नगरपालिकाको ठूलो लगानी भइरहेको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले बताउनुभयो । नगरपाकिलाको उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्न नगरपालिकाले आन्तरिक बजेटबाट ठूलो लगानी गरिरहेको बताउँदै ब्लु हिलमा थामिनसक्नु धार्मिक पर्यटक भित्रने उहाँले विश्वास व्यक्त गर्नुभयो । “नगरपालिकाभित्रको पर्यटकीय सम्भावना बोकेको डोय प्राकृतिक रूपमा सुन्दर र हरियाली छ । आँखै अगाडि हिमाल र बागलुङ बजार देखिन्छ । प्रकृति र धर्मलाई सँगै जोडेर पर्यटक भित्र्याउनेगरी पक्की संरचना निर्माणले गति लिएको छ । अहिले एकसाथ १६ वटा खम्बा खडा गरिएको छ”, नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “ब्लु हिल स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्नेगरी नामकरण गरेका छौँ । मौसम खुलेको समयमा यहाँ आउने जो–कोहीले हरियाली पहाडबाट धौलागिरि, माछापुच्छे«, नीलगिरि अन्नपूर्णलगायत दुई दर्जन हिमालसँगै बागलुङ बजार देख्न सकिन्छ ।” समुन्द्री सतहबाट करिब दुई हजार २०० मिटरको उचाइमा पर्यटकीय पूर्वाधार निर्माण गर्न थालेपछि ब्लु हिलले चर्चा पाउन थालेको छ । विस्तृत परियोजना प्रतिवेदनका अनुसार योजनाले पूर्णता पाउन भने समय लाग्नेछ ।

काठमाडौं:  हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मङ्गलबार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागी बाँकी भागमा आंशिक बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम  प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थान तथा गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ । साथै, कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी भागका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ । त्यसैगरी आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी हिमाली भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भागमा आंशिक बादल लाग्नेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षा तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ । साथै कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागका केही स्थानमा मध्यम वर्षा तथा तराई भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भागका केही स्थानमा मेघगर्जन र चट्याङको समेत सम्भावना छ ।

काठमाडौं:  नेपाल राष्ट्र बैंकले निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्ने प्रबन्ध मिलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । निर्वाचन आयोगको अनुरोधपछि केन्द्रीय बैंकले एक पत्रमार्फत बैंक खाता खोल्ने व्यवस्था मिलाइदिन आग्रह गरेको हो । आयोगले बैंक खाता बन्द गर्न लगाउँदासम्म सञ्चालन हुने गरी उक्त आयोग मातहतका प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयको सिफारिसमा खाता खोल्न सकिने उल्लेख गरिएको छ । आमनिर्वाचन अभियान समूहका नेपाली मुद्राको आम्दानी खर्च कारोबार गर्नसक्नेगरी खाता खोल्ने व्यस्था गरिएको छ । प्रत्येक राजनीतिक दल तथा ती दलबाट प्रतिनिधित्व गर्ने समानुपातिक एवम् प्रत्यक्ष उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारको छुट्टै खाता खोली सञ्चालनको व्यवस्था मिलाउन केन्द्रीय बैंकले सूचनामार्फत आग्रह गरेको छ ।

रुपन्देही:  रुपन्देहीको सीमा नाका बेलहियानाका हुँदै नेपाल आउने पर्यटकलाई राष्ट्रिय झण्डाबाट स्वागत गरिने भएको छ । यसका लागि बेलहिया गाउँ समाजले आइतबार बेलहियादेखि डण्डा खोला पुलसम्मका पोलहरुमा झण्डा राखेको हो । मुलुकमा प्रवेश गरेपछि नेपाल आइपुगेको अनुभूति होस् भन्ने उद्देश्यले मुख्य प्रवेशद्वारदेखि डण्डाखोला पुलसम्म विद्युतीय पोलमा करिब १०० झण्डा राखिएको छ । भारतबाट नेपाल प्रवेश गर्ने पर्यटकहरुलाई यहाँ प्रवेश गरेको अनुभूति होस् भन्ने उद्देश्यले झण्डा राखिएको कार्यक्रम संयोजक तथा स्थानीयवासी अर्जुनकुमार गिरीले बताए । ‘नेपाल आएका छौँ’ भन्ने पर्यटकलाई जानकारी दिन यो कार्य अगाडि बढाइएको उनको भनाइ छ । यसले बेलहिया नाकाको सौन्दर्यकरणका लागि पनि सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । राष्ट्रियता झल्काउन झण्डा आवश्यक रहेको उनले बताए । आफूहरुले गरेको यो कार्यले नेपालभरी सन्देश पुग्ने गिरीले बताए । झण्डाहरु नेपाल भन्सार एजेण्ट सङ्घ, रुपन्देहीले उपलब्ध गराएको उनको भनाइ छ । बेलहिया गाउँ समाजले ‘हाम्रो बेलहिया, राम्रो बेलहिया’ नाराका साथ नाका क्षेत्रको सौन्दर्यकरण थालेको छ । यसक्रममा सरसफाईसँगै पार्किङ व्यवस्थापनमा पनि जोड दिइएको कार्यक्रम संयोजक गिरीले बताए । बेलहिया गाउँ समाजका अध्यक्ष सुमन शर्माले ‘सफासुग्घर र हराभरा बेलहिया’ बनाउने अभियानमा रहेको बताए । नेपालमा स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक बेलहिया नाकाबाट भित्रिने गरेका छन् ।

चितवन:  चितवन  र पर्सा राष्ट्रिय निकुञ्जमा  गत पुस ३ गतेदेखि सुरु भएको बाघ गणनाको  दोस्रो भागको काम सकिएको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर गाणना गरिँदैछ । यसभित्र तीन भाग बनाइएको थियो । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार दोस्रो भागकोसमेत गणना सकेर क्यामेरा निकाल्ने काम सुरु गरिएको छ । उहाँले भन्नुभयो “आज देखि क्यामेरा उठाउने काम सुरु भएको छ । दुई देखि तीन दिनमा क्यामेरा उठाउने काम सकिने छ ।” उहाँका अनुसार तालिम दिएका १५० गणकहरू गणनामा खटिएका छन् ।  दोस्रो भागमा १३ क्याम्प बनाएर गणक खटिएको निकुञ्जका सूचना अधिकारी मगरले बताउनुभयो । यस भागअन्तर्गत सौराहा, खगेन्द्रमल्ली हुँदै लोथर प्रतापपुर, हुँदै, बोटे सिमारा, स्वमेश्वर, बगइ, अम्बुवा हुँदै सिकारी बाससम्मको क्षेत्रमा क्यामेरा जडान गरेर गणना गरिएको थियो । ती क्यामेरा निकाल्न थालिएको हो ।  सो भागलाई ३३६ ग्रिडमा विभाजन गरेर बाघ गणना गरिएको थियो ।  एउटा ग्रिडमा एक जोडी स्वचालित क्यामेरा राखेर बाघ गाणना गरिएको हो । मगरका अनुसार एउटा भागमा दुई साता क्यामेरा राखेर बाघ गणना गरिने छ । तेस्रो भाग अन्तर्गत पर्सा राष्ट्रिय निकुञ्जमा क्यामेरा रखिने छ । दोस्रो भागमा राखिएका क्यामेरा उठाएर ती क्षेत्रमा राखिने उहाँले जानकारी दिनुभयो ।  चितवन–पर्सा ब्लकमा ९५८ वटा ग्रिड बनाएर बाघ गणना गरिँदै छ । यसको अर्थ दुई वर्ग किलोमिटर क्षेत्रलाई एउटा ग्रिड बनाएर गणना गर्न लागिएको हो । यसँंगै बाघ भएका बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि बाघ गणना गरिँदै छ । तीन महिना लगाएर बाघ गणना गर्न लागिएको सूचना अधिकारी मगरले बताउनुभयो । हरेक चार वर्षमा बाघ गणना गरिँदै आइएको छ । निकुञ्जका कर्मचारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, स्थानीय स्वयंमसेवी, विद्यार्थी र संरक्षणका साझेदार गणनामा सहभागी भएका छन् । ग्रिडहरूको बीचभागमा पर्ने ठाउँमा गणना गर्ने प्राविधिक क्याम्प खडा गरेर बस्ने गरेका छन् ।  गणकहरूले भूगोल अनुसार आठदेखि बाह्रसम्मको ग्रिडमा राखिएका क्यामेरा दैनिक अनुगमन गर्ने सूचना अधिकारी मगरले जानकारी दिनुभयो । “ग्रिडबाट क्यामेरा निकालेपछि अध्ययन थालिने छ । बाघ गणना गर्दा बाघ बढी ओहोरदोहोर गर्ने स्थानमा स्वचालित क्यामेरा राखिने छ । ती क्यामेराले बाघको फोटो खिच्ने गर्दछ”, उहाँले भन्नुभयो । बाघको फोटो हेरेर तिनीहरूको शरीरमा भएका पाटाका आधारमा सङ्ख्या छुट्याइने उहाँले बताउनुभयो । उहाँका अनुसार हरेक बाघको पाटा फरक–फरक हुने गर्दछन् ।  यसअघि सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३५५ वयस्क बाघ रहेका तथ्याङ्क सार्वजनिक भएको थियो । सो गणनामा चितवनमा एक सय २८, बर्दिया निकुञ्जमा एक सय २५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ बाघ भेटिएका थिए ।