काठमाडौंः मन्त्रिपरिषद्को यही फागुन १२ गतेको बैठकले सोह्रौँ योजना कार्यान्वयन कार्ययोजना (२०८१–२०८६)स्वीकृत गरेको छ । सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश शर्माले बैठकका निर्णय आज सार्वजनिक गर्दै न्याय सेवा परिषद्को सिफारिसबमोजिम दुइजना उपसचिवलाई नेपाल न्याय सेवाको राजपत्राङ्कित प्रथम श्रेणीको पदमा पदोन्नतिसहित पदस्थापन गर्ने निर्णय भएको बताउनुभयो । बैठकले नेपाली सेनाका दुई जना प्रमुख सेनानीलाई महासेनानी र दुई जना महासेनानीलाई सरुवा गर्ने निर्णय गरेको छ । यातायात क्षेत्रसमबन्धी सर्वोच्च अदालतका आदेश जाँचबुझ गर्न गठित आयोगको कार्यावधि एक महिना थप गर्ने निर्णय भएको छ । निर्वाचनका क्रममा सुरक्षाकर्मी तथा निर्वाचन प्रहरी घाइते भएमा उपचार खर्च सरकारले बेहोर्ने तथा मृत्यु भएमा आश्रित परिवारलाई आर्थिक सहायता उपलब्ध गराइने छ । सरकारका प्रवक्ता अर्यालका अनुसार बिमा ऐन, २०७९ को दफा १४० बमोजिमको कसुरसम्बन्धी मुद्दा निरुपण गर्न देशका ७७ वटै जिल्ला अदालतलाई तोक्ने निर्णय भएको छ । । चीन सरकारको अनुदान सहयोगमा निर्माण तथा स्तरोन्नति हुने कलङ्कीदेखि बसुन्धरासम्मको काठमाडौँ चक्रपथ सुधार आयोजनालाई कर छुट दिने निर्णय भएको छ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता प्रतिनिधिसभाको निर्वाचनपछि उपयुक्त समयमा आयोजना गर्ने निर्णय भएको छ ।
बैतडीः आसन्न निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएको बैतडीको सीमानाका झुलाघाट तीन दिन बन्द हुने भएको छ । मतदान हुनुभन्दा ७२ घण्टा पहिलादेखि सीमानाका बन्द हुने प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि भारतसँग सीमा जोडिएको झुलाघाट नाका फागुन १८ गते राति १२ः०० बजेदेखि फागुन २१ गते राति १२ः०० बजेसम्म बन्द गरिने भएको हो । जिल्लाको ३१ किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएकाले सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको र सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरी बलका (बिओपी)मार्फत सुरक्षा निगरानी बढाएको जिल्ला सुरक्षा समितिले जनाएको छ । जिल्लाको तल्लोसोराड क्षेत्रमा महाकाली नदीका विभिन्न घाटहरुमा डुङ्गामार्फत वारपार गर्ने गरिएकाले चुनावका बेला ती सबै घाटहरुबाट आवतजावत बन्द गरिने प्रमुख जिल्ला अधिकारी थापाले बताउनुभयो । गत चुनावका समयमा ७२ घण्टा सीमानाका बन्द गर्ने गरिन्थ्यो । अत्यावश्यक कामका लागि उक्त समयमा नाका खोल्नुपरेमा दुई देशको आपसी समन्वयमा खोल्न सकिने जनाएको छ ।
गोरखाः चट्याङ लागेर गोरखा बुंकोटमा एक जना बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आज दिउँसो ४ बजेतिर परेको चट्याङ लागेर सहिद लखन गाउँपालिका–८ बुंकोटकी १२ बर्षीया दिलिशा घर्ती मगरको मृत्यु भएको आरुघाट आधारभूत अस्पतालले जनाएको छ । साथै चट्याङ लागेर घाइते भएका सोही ठाउँ निवासी १३ वर्षीया दीक्षा घर्तिमगर र भीमसेन थापा गाउँपालिका–६ का २४ वर्षीय वीरेन्द्र थापामगर घाइते भएका छन् । उनीहरुको अवस्था भने सामान्य रहेको अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ । उनीहरु तीनै जनालाई त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानी खुर्सानीटार धादिङमा चट्याङले लागेको थियो । घाइते भएका तीनै जनालाई अस्पताल पु¥याउँदा दिलिशाको मृत्यु भइसकेको अस्पतालले जनाएको छ ।
काठमाडौंः फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए रु दुई लाख बराबरको जरिवाना हुने भएको छ । सङ्घीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट बञ्चित गर्ने उद्देश्यले वाधा अवरोध पु¥याउने वा पु¥याउन लगाउने वा थुनछेक गर्ने वा गराउने कार्य गरेमा रु दुई लाख जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल वा उम्मेदवारको चुनावी प्रचारप्रसारलाई आयोगले विभिन्न माध्यमबाट अनुगमन गरिरहेको उल्लेख छ । कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारको कार्यलाई अन्य कुनै राजनीतिक दल वा उम्मेदवार वा दलका कार्यकर्ता वा आम नागरिकले विभिन्न तरिकाले अवरोध सिर्जना गरेको गुनासो र उजुरी प्राप्त भएको आयोगले जनाएको छ । यस्तै, साथै विभिन्न सञ्चारमाध्यमबाट समेत यस्ता विषयमा जानकारी भएकोमा आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । राजनीतिक दल, उम्मेदवार वा दलको भातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरण सम्बन्धमा निर्वाचन आचारसंहिता जारी भइसकेको छ । सो आचारसंहितामा कुनै राजनीतिक दल, उम्मेदवार वा दलको भातृ सङ्गठनले आयोजना गरेको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा अन्य कार्यक्रम बिथोल्न वा कुनै प्रकारको बाधा अवरोध पुर्याउन नहुने व्यवस्था छ । निर्वाचन (कसुर तथा सजाय) ऐनअनुसार, निर्वाचनको सिलसिलामा कुनै पनि व्यक्तिलाई निर्वाचनमा उम्मेदवारी दिन वा निर्वाचनसम्बन्धी प्रचलित सङ्घीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट बञ्चित गर्ने उद्देश्यले वाधा अवरोध गर्न नपाइने व्यवस्था छ । आसन्न निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष तथा भयमुक्त वातावरणमा सम्पन्न गराउने दायित्व राजनीतिक दल, उम्मेदवार, आम नागरिक तथा सरोकारवाला सबैको भएको आयोगको ठहर छ । निर्वाचनसम्बन्धी प्रचलित सङ्घीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्नबाट बञ्चित गर्ने उद्देश्यले वाधा अवरोध गरे वा गर्न लगाएको अवस्थामा त्यस्तो गर्ने वा गराउने जस्ता कार्य नगर्नका लागि सम्बन्धित सरोकारवाला सबैलाई आयोगले अनुरोध गरेको छ ।
पोखराबाट काठमाडौं आउँदै गरेको यात्रु बस त्रिशूली नदीमा खस्दा ६ महिला र ११ पुरुषको मृत्यु भएको पुष्टि भएको छ । २७ जना घाइतेलाई उद्धार गरेर विभिन्न अस्पताल पठाइएको छ । धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार मृतक र घाइतेहरुको परिचय खुल्न बाँकी छ । दुर्घटनामा विदेशी पर्यटकहरु पनि परेका छन् । एक जना न्यूजील्याण्डका नागरिक छन् । पृथ्वी राजमार्ग अन्तर्गत पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बर बस राति करिब १ बजेतिर धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसेगौडा भन्ने स्थानबाट त्रिशूली नदी किनारमा खसेको थियो । सडकबाट करिब ३ सय मिटर तल खसेर बस क्षतविक्षत अवस्थामा फेला परेको थियो । घटनास्थलबाट डुंगाको सहायताबाट यात्रुहरुलाई करिब एक किलोमिटर तलसम्म पुर्याएर, त्यहाँबाट सडकमा उकालेर, एम्बुलेन्समा राख्दै अस्पताल पठाइएको थियो । घटनास्थलबाट ८ महिला, १८ पुरुष र एक बालिका गरी २७ जनालाई उद्धार गरी विभिन्न अस्पताल पठाइएको छ । ६ महिला र ११ पुरुषको मृत्यु भएको छ ।
पोखरा: ‘स्वास्थ्य र समृद्धिका लागि खेलकुद’ भन्ने मूल नारासहित स्थापित नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सहारा क्लबको प्रवास शाखालाई स्वागत तथा सम्मान गरेको छ । शनिबार पोखरामा आयोजित कार्यक्रममा जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङ र मञ्चका अध्यक्ष एमबी आस्था मगरले खादा र सम्मानपत्रले स्वागत तथा सम्मान गरे । सो अवसरमा बोल्दै खेलकुद विकास समितिका अध्यक्ष गुरुङले खेलकुद विकासमा सहारा युकेले पुर्याएको योगदानको प्रशंसा गरे । उनले आगामी दिनमा पनि खेलको विकासमा सँगै हातेमालो गरेर अघि बढ्ने भनाइ राखे । कार्यक्रममा तमु धिं युकेका अध्यक्ष कमल गुरुङले नेपाली खेलाडीहरूलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउँदै खेलाडीहरू असहज नहोस् भन्ने उद्देश्यले सहकार्यलाई थप मजबुत बनाइने बताए । उनले युकेमा बसोबासदेखि लिएर खेलाडीहरूलाई घुमाउने गरेको स्मरण गर्दै विगतका समयमा पनि तमु धिं युकेले मञ्चले आयोजना गर्दै आएको पोखरा स्पोर्टस् अवार्डलाई सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्ने विश्वास दिलाए । उनले नेपाली खेलाडीलाई खेल्ने अवसर सिर्जना गर्न हातेमालो गर्दै अघि बढ्ने वातावरण तयार गरिने उल्लेख गरे । सहारा युकेका अध्यक्ष शारदा गुरुङ, सहारा अष्ट्रेलियाका अध्यक्ष सिद्धार्थ पौडेल, सहारा युकेका उपाध्यक्ष पिताम्बर गुरुङ, सहारा हङकङका संस्थापक अध्यक्ष दीपक गुरुङलगायतले खेलकुद क्षेत्रको समग्र विकासका लागि सहकार्य र सहयोगलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे ।
धादिङ: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौदी नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँ आउँदै गरेको ग२ ख १४२१ नम्बरको बस त्रिशूली नदी किनारमा खसेको थियो । दुर्घटनामा ११ जना पुरुष र छ जना महिलाको घटनास्थलमै मृत्यु भएको हो । तीमध्ये एक महिला र एक पुरुष विदेशी नागरिक रहेका छन् । बसमा ४४ जना सवार रहेको बताइएको छ । २६ जना घाइतेको उद्धार गरी अस्पताल पठाइएको छ । दुर्घटनास्थलबाट सबै घाइतेको उद्धार गरिसकिएको छ । केही घाइतेलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ भने अधिकांशलाई काठमाडौँ पठाइएको छ । जिल्लाका तीनै सुरक्षा निकाय र स्थानीयले उद्धार गरेका थिए ।
प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सरकारले सम्पूर्ण शक्ति लगाएको बताउनुभएको छ । ७६ औँ राष्ट्रिय प्रजातन्त्र दिवस तथा निर्वाचन दिवसका अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री कार्कीले वि.सं. २०१५ फागुन ७ गतेदेखि सुरु भएको नेपालको निर्वाचन इतिहासको स्मरण गर्दै वर्तमान सरकारले निर्वाचनमार्फत मुलुकलाई दिगो लोकतान्त्रिक स्थायित्वको नयाँ युगमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले तोकिएकै मितिमा भयरहित र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न हुने सुनिश्चित भएको दाबी समेत गर्नुभयो । "निर्वाचनबाट आउने संसद् र सरकारले लोकतन्त्रलाई अझ जीवन्त, नतिजामुखी र जनउत्तरदायी प्रणालीका रूपमा अघि बढाउने विश्वास लिएकी छु," प्रधानमन्त्रीले भन्नुभयो, "संस्कारयुक्त राजनीति, जवाफदेही शासनशैली र सामाजिक न्यायसहितको समृद्धिका लागि सबै एकजुट हुन आवश्यक छ ।" प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ गते भएको 'जेन–जी' युवाहरूको आन्दोलनलाई राज्यले गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै युवाको ऊर्जा र नैतिक क्रोधलाई दमन गरेर नभई सम्बोधन गरेर मात्र राष्ट्र अघि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, "हाम्रा युवा अभाव सहन तयार छन् तर अन्याय, अपमान र तिरस्कार सहन तयार छैनन् ।" सम्बोधनका क्रममा उहाँले जहानियाँ राणा शासन विरुद्ध ज्यान उत्सर्ग गर्ने शहीदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो । उहाँले बुद्धिजीवी, नागरिक समाज र युवा समुदायलाई समुन्नत र न्यायपूर्ण नेपाल निर्माणका लागि हातेमालो गर्न अपील गर्नुभएको छ ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमबीच अध्यक्ष यादवले पार्टीको घोषणापत्र सार्वजनिक गर्नुभएको हो। सार्वजनिक घोषणापत्रमा निःशुल्क स्वास्थ्य सेवा, निःशुल्क शिक्षा, भ्रष्टाचारमुक्त राज्य, वैज्ञानिक कृषि आधुनिकीकरण, पूर्वाधार विकास र सामाजिक न्यायलाई प्राथमिकताका साथ अघि सारिएको छ। पार्टीले संविधान संशोधन गरी पहिचान र सामर्थ्यमा आधारित सङ्घीयता कार्यान्वयन गर्ने, जनलोकपाल गठन गर्ने र नगदरहित अर्थतन्त्र लागू गर्ने प्रतिबद्धता जनाएको छ। शिक्षा र स्वास्थ्य सेवा निःशुल्क पार्टीले घोषणापत्रमा स्वास्थ्य र शिक्षालाई मौलिक अधिकार बनाउने ठोस योजना अघि सारेको छ। प्रत्येक प्रदेशमा एउटा विशिष्टीकृत (सुपर स्पेसियालिटी) अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान, हरेक स्थानीय तहमा सुविधासम्पन्न अस्पताल स्थापना गर्ने, सबै नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने र शिशु कक्षादेखि विश्वविद्यालयसम्म निःशुल्क तथा गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। भ्रष्टाचार नियन्त्रणका लागि जनलोकपाल पार्टीले भ्रष्टाचार नियन्त्रणलाई मुख्य कार्यसूची (एजेन्डा) बनाएको छ। भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अपनाउने, जनलोकपाल गठन गर्ने, वि.सं. २०४७ यताका सबै प्रधानमन्त्री, मन्त्री, सांसद र उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्ने तथा पूर्ण नगदरहित कारोबार लागू गर्ने प्रतिबद्धता जनाइएको छ। यसका साथै सहकारीको बचत रकम ठगीमा परेका पीडितलाई न्याय दिलाउने वाचा पनि जसपाले गरेको छ। पाँच वर्षमा ५० लाख रोजगारी जसपा नेपालले कृषिलाई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड बनाउने योजना अघि सारेको छ। वैज्ञानिक चक्लाबन्दी, सहकारी खेती, यान्त्रीकरण र ‘भर्टिकल फार्मिङ’ मार्फत आगामी पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ। यस्तै, न्यूनतम समर्थन मूल्य र बजार सुनिश्चितता, बाली बिमा तथा सस्तो कृषि ऋण उपलब्ध गराउने प्रतिबद्धता गरिएको छ। चुरे संरक्षण, जलवायु अनुकूल कृषि र खाद्य सुरक्षा पनि पार्टीको प्राथमिकतामा छन्। आरक्षण र समावेशिता घोषणापत्रमा दलित र महिलाका लागि छुट्टै निर्वाचन क्षेत्र आरक्षण, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र अपाङ्गता भएका व्यक्तिका लागि समान अधिकारको सुनिश्चितता गरिएको छ। युवा रोजगारी, सीप विकास र खेलकुद पूर्वाधारअन्तर्गत प्रत्येक प्रदेशमा अन्तर्राष्ट्रिय क्रिकेट तथा फुटबल रङ्गशाला निर्माण गर्ने प्रतिबद्धता समेत जनाइएको छ।

