काठमाडौं: नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाका दिन बैंकिंग सेवा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । एक निर्देशनामार्फत केन्द्रीय बैंकले होली पर्व र प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन अर्थात् फागुन २१ गते बिहीबारका दिन बैंक तथा वित्तीय संस्थाका कार्यालय संचालनमा रहने व्यवस्था मिलाउन आग्रह गरेको हो । राष्ट्र बैंकले सरकारी कारोबार गर्न तोकिएका वाणिज्य बैंकहरुद्वारा भुक्तानी व्यवस्था र राजस्व दाखिला गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो । निर्वाचन प्रचारप्रसारका लागि बैंक खाता संचालन गर्ने बैंक तथा वित्तीय संस्थाहरुद्वारा राजनीतिक दल तथा उम्मेदवारको नगद वा चेक वा अन्य विनिमय साधनहरुको दाखिला, भुक्तानीलगायतका बैंकिंग सेवा प्रदान गर्ने व्यवस्था मिलाउन भनिएको छ ।
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा चुस्त सुरक्षा व्यवस्थापन र सुदृढीकरणमा जोड दिइएको छ । प्रहरी मुख्यालयमा आज निर्वाचनसम्बन्धी भएको सरोकारवाला प्रतिनिधिहरू सहभागी अन्तरक्रियामा पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचनको समयमा देखा पर्नसक्ने चुनौतीहरूको सामना गर्न उपलब्ध साधनस्रोतको उच्चतम प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सबै सरोकारवाला निकायहरूले आपसी समन्वय र सहकार्य गरी भयरहित वातावरणमा सम्पन्न गराउन सूचना सङ्कलन तथा विश्लेषणलाई विशेष प्राथमिकतामा राखी तर्जुमा गरिएका सुरक्षा रणनीति एवं कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै जानुपर्नेमा उहाँले जोड दिनुभयो । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले निर्वाचनलाई स्वच्छ, भयरहित वातावरणमा सम्पन्न गराउन सरोकारवाला सबै पक्षले जिम्मेवारी बोध गर्दै सुरक्षा संवेदनशीलताअनुसार आपसी समन्वयात्मक ढङ्गबाट कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो । यस अन्तरक्रियाबाट प्राप्त भएका सुझाव, प्रतिक्रिया एवं पृष्ठपोषणले निर्वाचन सुरक्षालाई थप सुदृढ तथा प्रभावकारी बनाउन महत्त्वपूर्ण योगदान पुग्ने उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक कार्कीले विगतमा सम्पन्न भएका निर्वाचनको सुरक्षा व्यवस्थापनको विश्लेषण गरी आसन्न निर्वाचन पूर्व र निर्वाचनपश्चात्को सम्पूर्ण चुनौतीलाई सम्बोधन गर्न यस अन्तरक्रियाबाट प्राप्त रचनात्मक सुझाव सहयोगी हुने बताउनुभयो । कार्यक्रममा गृह मन्त्रालयका प्रवक्ता एवं सुरक्षा तथा समन्वय महाशाखाका सहसचिव आनन्द काफ्लेले निर्वाचनको समयमा देखा पर्नसक्ने जोखिम र चुनौतीलाई सुक्ष्म रूपमा विश्लेषण गर्दै त्यस्ता चुनौतीलाई सम्बोधन गर्न थप क्रियाशील भई कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो । नेपाल प्रहरीलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउनसमेत गृह मन्त्रालय सदैव क्रियाशील रहेको उहाँले बताउनुभयो । नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रहरी वरिष्ठ उपरीक्षक सुवासचन्द्र बोहोराले निर्वाचन सुरक्षा तयारी र आगामी रणनीति, जनशक्ति व्यवस्थापन, भौतिक स्रोतसाधन व्यवस्थापन, सुरक्षा चुनौती÷विश्लेषणलगायत विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
काठमाडौंः मन्त्रिपरिषद्को यही फागुन १२ गतेको बैठकले सोह्रौँ योजना कार्यान्वयन कार्ययोजना (२०८१–२०८६)स्वीकृत गरेको छ । सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश शर्माले बैठकका निर्णय आज सार्वजनिक गर्दै न्याय सेवा परिषद्को सिफारिसबमोजिम दुइजना उपसचिवलाई नेपाल न्याय सेवाको राजपत्राङ्कित प्रथम श्रेणीको पदमा पदोन्नतिसहित पदस्थापन गर्ने निर्णय भएको बताउनुभयो । बैठकले नेपाली सेनाका दुई जना प्रमुख सेनानीलाई महासेनानी र दुई जना महासेनानीलाई सरुवा गर्ने निर्णय गरेको छ । यातायात क्षेत्रसमबन्धी सर्वोच्च अदालतका आदेश जाँचबुझ गर्न गठित आयोगको कार्यावधि एक महिना थप गर्ने निर्णय भएको छ । निर्वाचनका क्रममा सुरक्षाकर्मी तथा निर्वाचन प्रहरी घाइते भएमा उपचार खर्च सरकारले बेहोर्ने तथा मृत्यु भएमा आश्रित परिवारलाई आर्थिक सहायता उपलब्ध गराइने छ । सरकारका प्रवक्ता अर्यालका अनुसार बिमा ऐन, २०७९ को दफा १४० बमोजिमको कसुरसम्बन्धी मुद्दा निरुपण गर्न देशका ७७ वटै जिल्ला अदालतलाई तोक्ने निर्णय भएको छ । । चीन सरकारको अनुदान सहयोगमा निर्माण तथा स्तरोन्नति हुने कलङ्कीदेखि बसुन्धरासम्मको काठमाडौँ चक्रपथ सुधार आयोजनालाई कर छुट दिने निर्णय भएको छ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता प्रतिनिधिसभाको निर्वाचनपछि उपयुक्त समयमा आयोजना गर्ने निर्णय भएको छ ।
बैतडीः आसन्न निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएको बैतडीको सीमानाका झुलाघाट तीन दिन बन्द हुने भएको छ । मतदान हुनुभन्दा ७२ घण्टा पहिलादेखि सीमानाका बन्द हुने प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि भारतसँग सीमा जोडिएको झुलाघाट नाका फागुन १८ गते राति १२ः०० बजेदेखि फागुन २१ गते राति १२ः०० बजेसम्म बन्द गरिने भएको हो । जिल्लाको ३१ किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएकाले सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको र सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरी बलका (बिओपी)मार्फत सुरक्षा निगरानी बढाएको जिल्ला सुरक्षा समितिले जनाएको छ । जिल्लाको तल्लोसोराड क्षेत्रमा महाकाली नदीका विभिन्न घाटहरुमा डुङ्गामार्फत वारपार गर्ने गरिएकाले चुनावका बेला ती सबै घाटहरुबाट आवतजावत बन्द गरिने प्रमुख जिल्ला अधिकारी थापाले बताउनुभयो । गत चुनावका समयमा ७२ घण्टा सीमानाका बन्द गर्ने गरिन्थ्यो । अत्यावश्यक कामका लागि उक्त समयमा नाका खोल्नुपरेमा दुई देशको आपसी समन्वयमा खोल्न सकिने जनाएको छ ।
गोरखाः चट्याङ लागेर गोरखा बुंकोटमा एक जना बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आज दिउँसो ४ बजेतिर परेको चट्याङ लागेर सहिद लखन गाउँपालिका–८ बुंकोटकी १२ बर्षीया दिलिशा घर्ती मगरको मृत्यु भएको आरुघाट आधारभूत अस्पतालले जनाएको छ । साथै चट्याङ लागेर घाइते भएका सोही ठाउँ निवासी १३ वर्षीया दीक्षा घर्तिमगर र भीमसेन थापा गाउँपालिका–६ का २४ वर्षीय वीरेन्द्र थापामगर घाइते भएका छन् । उनीहरुको अवस्था भने सामान्य रहेको अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ । उनीहरु तीनै जनालाई त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानी खुर्सानीटार धादिङमा चट्याङले लागेको थियो । घाइते भएका तीनै जनालाई अस्पताल पु¥याउँदा दिलिशाको मृत्यु भइसकेको अस्पतालले जनाएको छ ।
काठमाडौंः फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए रु दुई लाख बराबरको जरिवाना हुने भएको छ । सङ्घीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट बञ्चित गर्ने उद्देश्यले वाधा अवरोध पु¥याउने वा पु¥याउन लगाउने वा थुनछेक गर्ने वा गराउने कार्य गरेमा रु दुई लाख जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल वा उम्मेदवारको चुनावी प्रचारप्रसारलाई आयोगले विभिन्न माध्यमबाट अनुगमन गरिरहेको उल्लेख छ । कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारको कार्यलाई अन्य कुनै राजनीतिक दल वा उम्मेदवार वा दलका कार्यकर्ता वा आम नागरिकले विभिन्न तरिकाले अवरोध सिर्जना गरेको गुनासो र उजुरी प्राप्त भएको आयोगले जनाएको छ । यस्तै, साथै विभिन्न सञ्चारमाध्यमबाट समेत यस्ता विषयमा जानकारी भएकोमा आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । राजनीतिक दल, उम्मेदवार वा दलको भातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरण सम्बन्धमा निर्वाचन आचारसंहिता जारी भइसकेको छ । सो आचारसंहितामा कुनै राजनीतिक दल, उम्मेदवार वा दलको भातृ सङ्गठनले आयोजना गरेको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा अन्य कार्यक्रम बिथोल्न वा कुनै प्रकारको बाधा अवरोध पुर्याउन नहुने व्यवस्था छ । निर्वाचन (कसुर तथा सजाय) ऐनअनुसार, निर्वाचनको सिलसिलामा कुनै पनि व्यक्तिलाई निर्वाचनमा उम्मेदवारी दिन वा निर्वाचनसम्बन्धी प्रचलित सङ्घीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट बञ्चित गर्ने उद्देश्यले वाधा अवरोध गर्न नपाइने व्यवस्था छ । आसन्न निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष तथा भयमुक्त वातावरणमा सम्पन्न गराउने दायित्व राजनीतिक दल, उम्मेदवार, आम नागरिक तथा सरोकारवाला सबैको भएको आयोगको ठहर छ । निर्वाचनसम्बन्धी प्रचलित सङ्घीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्नबाट बञ्चित गर्ने उद्देश्यले वाधा अवरोध गरे वा गर्न लगाएको अवस्थामा त्यस्तो गर्ने वा गराउने जस्ता कार्य नगर्नका लागि सम्बन्धित सरोकारवाला सबैलाई आयोगले अनुरोध गरेको छ ।
पोखराबाट काठमाडौं आउँदै गरेको यात्रु बस त्रिशूली नदीमा खस्दा ६ महिला र ११ पुरुषको मृत्यु भएको पुष्टि भएको छ । २७ जना घाइतेलाई उद्धार गरेर विभिन्न अस्पताल पठाइएको छ । धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार मृतक र घाइतेहरुको परिचय खुल्न बाँकी छ । दुर्घटनामा विदेशी पर्यटकहरु पनि परेका छन् । एक जना न्यूजील्याण्डका नागरिक छन् । पृथ्वी राजमार्ग अन्तर्गत पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बर बस राति करिब १ बजेतिर धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसेगौडा भन्ने स्थानबाट त्रिशूली नदी किनारमा खसेको थियो । सडकबाट करिब ३ सय मिटर तल खसेर बस क्षतविक्षत अवस्थामा फेला परेको थियो । घटनास्थलबाट डुंगाको सहायताबाट यात्रुहरुलाई करिब एक किलोमिटर तलसम्म पुर्याएर, त्यहाँबाट सडकमा उकालेर, एम्बुलेन्समा राख्दै अस्पताल पठाइएको थियो । घटनास्थलबाट ८ महिला, १८ पुरुष र एक बालिका गरी २७ जनालाई उद्धार गरी विभिन्न अस्पताल पठाइएको छ । ६ महिला र ११ पुरुषको मृत्यु भएको छ ।
पोखरा: ‘स्वास्थ्य र समृद्धिका लागि खेलकुद’ भन्ने मूल नारासहित स्थापित नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सहारा क्लबको प्रवास शाखालाई स्वागत तथा सम्मान गरेको छ । शनिबार पोखरामा आयोजित कार्यक्रममा जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङ र मञ्चका अध्यक्ष एमबी आस्था मगरले खादा र सम्मानपत्रले स्वागत तथा सम्मान गरे । सो अवसरमा बोल्दै खेलकुद विकास समितिका अध्यक्ष गुरुङले खेलकुद विकासमा सहारा युकेले पुर्याएको योगदानको प्रशंसा गरे । उनले आगामी दिनमा पनि खेलको विकासमा सँगै हातेमालो गरेर अघि बढ्ने भनाइ राखे । कार्यक्रममा तमु धिं युकेका अध्यक्ष कमल गुरुङले नेपाली खेलाडीहरूलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउँदै खेलाडीहरू असहज नहोस् भन्ने उद्देश्यले सहकार्यलाई थप मजबुत बनाइने बताए । उनले युकेमा बसोबासदेखि लिएर खेलाडीहरूलाई घुमाउने गरेको स्मरण गर्दै विगतका समयमा पनि तमु धिं युकेले मञ्चले आयोजना गर्दै आएको पोखरा स्पोर्टस् अवार्डलाई सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्ने विश्वास दिलाए । उनले नेपाली खेलाडीलाई खेल्ने अवसर सिर्जना गर्न हातेमालो गर्दै अघि बढ्ने वातावरण तयार गरिने उल्लेख गरे । सहारा युकेका अध्यक्ष शारदा गुरुङ, सहारा अष्ट्रेलियाका अध्यक्ष सिद्धार्थ पौडेल, सहारा युकेका उपाध्यक्ष पिताम्बर गुरुङ, सहारा हङकङका संस्थापक अध्यक्ष दीपक गुरुङलगायतले खेलकुद क्षेत्रको समग्र विकासका लागि सहकार्य र सहयोगलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे ।
धादिङ: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौदी नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँ आउँदै गरेको ग२ ख १४२१ नम्बरको बस त्रिशूली नदी किनारमा खसेको थियो । दुर्घटनामा ११ जना पुरुष र छ जना महिलाको घटनास्थलमै मृत्यु भएको हो । तीमध्ये एक महिला र एक पुरुष विदेशी नागरिक रहेका छन् । बसमा ४४ जना सवार रहेको बताइएको छ । २६ जना घाइतेको उद्धार गरी अस्पताल पठाइएको छ । दुर्घटनास्थलबाट सबै घाइतेको उद्धार गरिसकिएको छ । केही घाइतेलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ भने अधिकांशलाई काठमाडौँ पठाइएको छ । जिल्लाका तीनै सुरक्षा निकाय र स्थानीयले उद्धार गरेका थिए ।

