काठमाडौं:  देशका केही भू-भागमा आज  मौसममा आंशिक बदली देखिने र सीमित स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रका केही स्थानमा आज बिहान हुस्स...

काठमाडौं:  नेपाल राष्ट्र बैंकले निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्ने प्रबन्ध मिलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । निर्वाचन आयोगको अनुरोधपछि केन्द्रीय बैंकले एक पत्रमार्फत बैंक खाता खोल्ने व्यवस्था मिलाइदिन आग्रह गरेको हो । आयोगले बैंक खाता बन्द गर्न लगाउँदासम्म सञ्चालन हुने गरी उक्त आयोग मातहतका प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयको सिफारिसमा खाता खोल्न सकिने उल्लेख गरिएको छ । आमनिर्वाचन अभियान समूहका नेपाली मुद्राको आम्दानी खर्च कारोबार गर्नसक्नेगरी खाता खोल्ने व्यस्था गरिएको छ । प्रत्येक राजनीतिक दल तथा ती दलबाट प्रतिनिधित्व गर्ने समानुपातिक एवम् प्रत्यक्ष उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारको छुट्टै खाता खोली सञ्चालनको व्यवस्था मिलाउन केन्द्रीय बैंकले सूचनामार्फत आग्रह गरेको छ ।

रुपन्देही:  रुपन्देहीको सीमा नाका बेलहियानाका हुँदै नेपाल आउने पर्यटकलाई राष्ट्रिय झण्डाबाट स्वागत गरिने भएको छ । यसका लागि बेलहिया गाउँ समाजले आइतबार बेलहियादेखि डण्डा खोला पुलसम्मका पोलहरुमा झण्डा राखेको हो । मुलुकमा प्रवेश गरेपछि नेपाल आइपुगेको अनुभूति होस् भन्ने उद्देश्यले मुख्य प्रवेशद्वारदेखि डण्डाखोला पुलसम्म विद्युतीय पोलमा करिब १०० झण्डा राखिएको छ । भारतबाट नेपाल प्रवेश गर्ने पर्यटकहरुलाई यहाँ प्रवेश गरेको अनुभूति होस् भन्ने उद्देश्यले झण्डा राखिएको कार्यक्रम संयोजक तथा स्थानीयवासी अर्जुनकुमार गिरीले बताए । ‘नेपाल आएका छौँ’ भन्ने पर्यटकलाई जानकारी दिन यो कार्य अगाडि बढाइएको उनको भनाइ छ । यसले बेलहिया नाकाको सौन्दर्यकरणका लागि पनि सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । राष्ट्रियता झल्काउन झण्डा आवश्यक रहेको उनले बताए । आफूहरुले गरेको यो कार्यले नेपालभरी सन्देश पुग्ने गिरीले बताए । झण्डाहरु नेपाल भन्सार एजेण्ट सङ्घ, रुपन्देहीले उपलब्ध गराएको उनको भनाइ छ । बेलहिया गाउँ समाजले ‘हाम्रो बेलहिया, राम्रो बेलहिया’ नाराका साथ नाका क्षेत्रको सौन्दर्यकरण थालेको छ । यसक्रममा सरसफाईसँगै पार्किङ व्यवस्थापनमा पनि जोड दिइएको कार्यक्रम संयोजक गिरीले बताए । बेलहिया गाउँ समाजका अध्यक्ष सुमन शर्माले ‘सफासुग्घर र हराभरा बेलहिया’ बनाउने अभियानमा रहेको बताए । नेपालमा स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक बेलहिया नाकाबाट भित्रिने गरेका छन् ।

चितवन:  चितवन  र पर्सा राष्ट्रिय निकुञ्जमा  गत पुस ३ गतेदेखि सुरु भएको बाघ गणनाको  दोस्रो भागको काम सकिएको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर गाणना गरिँदैछ । यसभित्र तीन भाग बनाइएको थियो । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार दोस्रो भागकोसमेत गणना सकेर क्यामेरा निकाल्ने काम सुरु गरिएको छ । उहाँले भन्नुभयो “आज देखि क्यामेरा उठाउने काम सुरु भएको छ । दुई देखि तीन दिनमा क्यामेरा उठाउने काम सकिने छ ।” उहाँका अनुसार तालिम दिएका १५० गणकहरू गणनामा खटिएका छन् ।  दोस्रो भागमा १३ क्याम्प बनाएर गणक खटिएको निकुञ्जका सूचना अधिकारी मगरले बताउनुभयो । यस भागअन्तर्गत सौराहा, खगेन्द्रमल्ली हुँदै लोथर प्रतापपुर, हुँदै, बोटे सिमारा, स्वमेश्वर, बगइ, अम्बुवा हुँदै सिकारी बाससम्मको क्षेत्रमा क्यामेरा जडान गरेर गणना गरिएको थियो । ती क्यामेरा निकाल्न थालिएको हो ।  सो भागलाई ३३६ ग्रिडमा विभाजन गरेर बाघ गणना गरिएको थियो ।  एउटा ग्रिडमा एक जोडी स्वचालित क्यामेरा राखेर बाघ गाणना गरिएको हो । मगरका अनुसार एउटा भागमा दुई साता क्यामेरा राखेर बाघ गणना गरिने छ । तेस्रो भाग अन्तर्गत पर्सा राष्ट्रिय निकुञ्जमा क्यामेरा रखिने छ । दोस्रो भागमा राखिएका क्यामेरा उठाएर ती क्षेत्रमा राखिने उहाँले जानकारी दिनुभयो ।  चितवन–पर्सा ब्लकमा ९५८ वटा ग्रिड बनाएर बाघ गणना गरिँदै छ । यसको अर्थ दुई वर्ग किलोमिटर क्षेत्रलाई एउटा ग्रिड बनाएर गणना गर्न लागिएको हो । यसँंगै बाघ भएका बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि बाघ गणना गरिँदै छ । तीन महिना लगाएर बाघ गणना गर्न लागिएको सूचना अधिकारी मगरले बताउनुभयो । हरेक चार वर्षमा बाघ गणना गरिँदै आइएको छ । निकुञ्जका कर्मचारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, स्थानीय स्वयंमसेवी, विद्यार्थी र संरक्षणका साझेदार गणनामा सहभागी भएका छन् । ग्रिडहरूको बीचभागमा पर्ने ठाउँमा गणना गर्ने प्राविधिक क्याम्प खडा गरेर बस्ने गरेका छन् ।  गणकहरूले भूगोल अनुसार आठदेखि बाह्रसम्मको ग्रिडमा राखिएका क्यामेरा दैनिक अनुगमन गर्ने सूचना अधिकारी मगरले जानकारी दिनुभयो । “ग्रिडबाट क्यामेरा निकालेपछि अध्ययन थालिने छ । बाघ गणना गर्दा बाघ बढी ओहोरदोहोर गर्ने स्थानमा स्वचालित क्यामेरा राखिने छ । ती क्यामेराले बाघको फोटो खिच्ने गर्दछ”, उहाँले भन्नुभयो । बाघको फोटो हेरेर तिनीहरूको शरीरमा भएका पाटाका आधारमा सङ्ख्या छुट्याइने उहाँले बताउनुभयो । उहाँका अनुसार हरेक बाघको पाटा फरक–फरक हुने गर्दछन् ।  यसअघि सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३५५ वयस्क बाघ रहेका तथ्याङ्क सार्वजनिक भएको थियो । सो गणनामा चितवनमा एक सय २८, बर्दिया निकुञ्जमा एक सय २५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ बाघ भेटिएका थिए ।

काठमाडौं:  गृह मन्त्रालयले राष्ट्रिय झन्डाको प्रयोग गर्दा त्यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानुनबमोजिम मात्र प्रयोग गर्न आग्रह गरेको छ ।  मन्त्रालयले आज विज्ञप्ति जारी गरी भनेको छ, “राष्ट्रको गौरव र स्वाभिमानको प्रतीक राष्ट्रिय झन्डाको प्रयोग गर्दा यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानुनबमोजिम मात्र प्रयोग गर्नु होला, अन्यथा यसको दुरुपयोग भएको पाइएमा कानुनबमोजिम कारबाही हुने व्यहोरा गृह मन्त्रालय सबैमा हार्दिक अनुरोध गर्दछ ।” निर्वाचन आचारसंहिता, २०८२ को परिच्छेद ४, दफा १३ को खण्ड (न) मा दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको र्याली गर्दा बढीमा १० वटा राष्ट्रिय झन्डा प्रयोग गर्नबाहेक निर्वाचन प्रचारप्रसार गर्दा राष्ट्रिय झन्डा प्रयोग गर्न गराउन नहुने व्यवस्था गरिएको मन्त्रालयको भनाइ छ ।    त्यसैगरी, मुलुकी अपराधसंहिता, २०७४ को दफा १५१ मा नेपालको राष्ट्रिय झन्डाको अपमान गर्न वा सार्वजनिक नैतिकता, शिष्टाचार वा सदाचारको दृष्टिकोणले प्रयोग गर्न नहुने ठाउँ वा अवस्थामा नेपालको राष्ट्रिय झन्डा प्रयोग गर्न नहुने व्यवस्था रहेको र सो को उल्लङ्घन भएमा सजायको व्यवस्थासमेत गरिएको छ ।  नेपालको राष्ट्रिय गौरवको प्रतीक राष्ट्रिय झन्डाको प्रयोगलाई व्यवस्थित, मर्यादित र सम्मानजनक बनाउन ‘राष्ट्रिय झन्डा र राष्ट्रिय गीतको प्रयोगसम्बन्धी कार्यविधि, २०६९’ कार्यान्वयनमा रहेको छ । राष्ट्रिय झन्डाको आकार, प्रयोग, प्रयोग गर्ने विधि, राष्ट्रिय झन्डा फहराउने विधि एवम् राष्ट्रिय झन्डाको प्रयोगमा निषेध सहितका प्रावधानहरु रहेका छन् ।  त्यसैगरी प्रमुख जिल्ला अधिकारीलाई आफ्नो क्षेत्रभित्र यस कार्यविधिबमोजिम राष्ट्रिय झन्डाको प्रयोग भए÷नभएको सम्बन्धमा नियमित रूपमा अनुगमन गर्ने प्रावधान छ । मन्त्रालयले भनेको छ, “राष्ट्रिय झन्डाको अपमान हुने किसिमको कुनै पनि कार्य गर्न वा गराउन, राष्ट्रिय झन्डा उल्टो (चन्द्रमा तल पर्नेगरी) राख्न, राष्ट्रिय झन्डा च्यात्न, जलाउन, फ्याँक्न, कुनै सामान पोको पार्न, व्यापारिक प्रयोजनका लागि विज्ञापनको उद्देश्यले राष्ट्रिय झन्डाको दुरूपयोग गर्न, व्यक्तिले आफ्नो शरीरमा राष्ट्रिय झन्डाको प्रतीक टाँस्दा, छाप्दा वा लगाउँदा कम्मरभन्दा माथिको भागबाहेक अन्यत्र लगाउन वा यसरी प्रयोग गर्दा चन्द्रमा तल पर्नेगरी लगाउन, शरीरको छातीभन्दा तलको भागमा लगाइने कुनै पनि भित्री(बाहिरी कपडामा राष्ट्रिय झन्डाको प्रतिक(चित्र राख्न, फहराउने प्रकृतिको (राष्ट्रिय झन्डा ओहालेर राख्दाबाहेक) कार्यमा बाहेक अन्यत्र राष्ट्रिय झन्डाको प्रयोग गर्न निषेध गरिएको छ ।” 

सङ्खुवासभा:  सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा तीन जना घाइते भएका छन् ।   चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १–००१ च ८२४७ नम्बरको जिप चैनपुर–१ नुनढाकी नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिनुभयो । मृतकको पहिचान खुल्न सकेको छैन ।    दुर्घटना लगत्तै सशस्त्र प्रहरी नं ४ गुल्म चैनपुरका प्रहरी नायव उपरीक्षक बाबुराम पौडेल, इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक पर्शुराम राईसहितको टोली घटनास्थल पुगेको छ । घाइते सबैको उद्धार गरेर प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर लगिएको प्रहरीले जनाएको छ ।

तनहुँ: तनहुँको व्यास नगरपालिका–३ बिपी वनवाटिकास्थित कभर्डहल खेलकुद विकास समिति तनहुँमार्फत सञ्चालन गरिने भएको छ । व्यास नगरपालिकाको लगानीमा निर्माण भएको कभर्डहल खेलकुद विकास समितिलाई हस्तान्तरण गर्न लागिएको हो । नगरपालिकाको हालै सम्पन्न कार्यपालिका बैठकले जिल्ला समन्वय समितिसँग समन्वय गरी खेलकुद विकास समितिमार्फत सञ्चालन व्यवस्थापन मिलाउने निर्णय गरेको नगर प्रवक्ता सुरेश थापाले जानकारी दिनुभयो ।  हाल कभर्डहलमा व्याडमिन्टन प्रतियोगिता सञ्चालन हुँदै आएको छ । व्यास नगर व्याडमिन्टन क्लबले रु ९६ लाख ६३ हजार ७४७ को लागतमा कभर्डहल निर्माण गरेको हो । पछिल्लो समय व्याडमिन्टनतर्फ खेलाडीको आकर्षण बढ्दै गएकाले कभर्डहल निर्माण गरी यहाँ व्याडमिन्टनका खेल सञ्चालन गरिएको क्लबका अध्यक्ष जीवन गुरुङले जानकारी दिनुभयो ।  उहाँका अनुसार कभर्डहल निर्माणका लागि व्यास नगरपालिकाले रु ८७ लाख ८५ हजार २३४ सहयोग गरेको छभने लागत नगद सहभागिता रु सात लाख रहेको छ । त्यस्तै रु एक लाख ७८ हजार ५२२ श्रमदान गरी कुल रु ९६ लाख ६३ हजार ७४७ को लागतमा कभर्डहल निर्माण भएको हो । जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको उक्त कभर्डहलको जग्गा व्यास नगरपालिकालाई हस्तान्तरण गरिएको थियो । कभर्डहल निर्माणका लागि आर्थिक वर्ष २०७७÷७८ मा नगरपालिकाले रु ३२ लाख ८४ हजार २९३, आव २०७८÷७९ मा रु ३१ लाख २५ हजार ९३१, आव २०८०÷८१ मा रु १४ लाख २५ हजार र चालु आवमा रु नौ लाख ५० हजार सहयोग गरेको थियो । 

बागलुङ: हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएको छ । लोकमार्गको बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमाना पातीहाल्नेमा हिमपात हुँदा अवरुद्ध भएको थियो । लोकमार्गमा बाक्लो हिउँ जमेपछि यातायातका साधन ठप्प भएका थिए । अहिले पूर्वी रुकुमतर्फबाट जेसिबीको सहायतामा हिउँ पन्छाएपछि यातायातका साधन सञ्चालन भएका इलका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए ।  हिले लोकमार्ग अवरुद्ध हुँदा काठमाडौँबाट रुकुमपूर्व, पश्चिम रुकुम, जाजरकोट, डोल्पालगायत स्थानका लागि छुटेका साना तथा ठूला सवारीसाधान बीचबाटोमै फसेका थिए । हिउँमा गाडी फसेपछि चिसोमा यात्रुहरू बिचल्लीमा परेका थिए । जेसिबीले हिउँ पन्छाएपछि लोकमार्ग सञ्चालनमा आएको उनको भनाइ छ । पातीहाल्नेसहित बागलुङको निसीखोला, ढोरपाटनलगायत माथिल्लो स्थानमा पनि हिमपात भएको छ । हिमपातले स्थानीयको जनजीवन प्रभावित बनेको छ ।

काठमाडौं: निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको उमेदवारका लागि बैंकिङ खाता सञ्चालन गरिदिन नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ । आयोगले केन्द्रीय बैंकलाई पत्राचार गर्दै उमेदवारले निर्वाचनसम्बन्धी खर्च गदौ बैंक खातामार्फत गर्न र  उसको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्ने व्यवस्था भएकाले खाता सञ्चालन गर्ने व्यवस्था मिलाइदिन आग्रह गरेको हो । प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम जारी निर्वाचन आचारसंहिताको दफा १६ मा उमेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट गर्नुपर्ने उल्लेख छ । राजनीतिक दलले पनि निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली दलले तोकेको जिम्मेवार पदाधिकारीद्वारा सोही खाताबाट खर्च गर्नुपर्ने, २५ हजारभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैंक वा वित्तीय संस्थामार्फत गर्नुपर्ने व्यवस्था छ । कुनै व्यक्ति वा संस्थाबाट स्वेच्छिक सहयोगको रुपमा नगद लिएमा सो रकम बुझेको रसिद वा भरपाई दिनुपर्नेछ । राजनीतिक दलका नाममा सहयोग प्राप्त भएको भए दलको र उमेदवारका नाममा प्राप्त भएको भए उमेदवारको बैंक खातामा जम्मा गर्नुपर्नेलगायत प्रावधान छन् । सो व्यवस्थाको प्रभावकारी रूपमा कार्यान्वयन गराई आमनिर्वाचन स्वच्छ, निष्पक्ष, मितव्ययी र पारदर्शी तुल्याउन राजनीतिक दल र ती दलबाट पहिलो हुने निर्वाचित हुने उमेदवारलाई बैंक खाता खोल्न सहजीकरण गरिदिन आयोगले आग्रह गरेको हो । सो व्यवस्था समानुपातिक निर्वाचन प्रणालीतर्फका उमेदवारको हकसमेतमा लागु हुनेछ । दुवै निर्वाचन प्रणालीतर्फका राजनीतिक दल र स्वतन्त्र उमेदवारका लागि बैंकिङ कारोबार गर्ने बैंक तथा वित्तीय संस्थामा आमनिर्वाचन सम्पन्न भई आयोगद्वारा निर्णय गरी बन्द गर्न नलगाउँदासम्म सञ्चालन हुनेछ । निर्वाचनसँग सम्बन्धित आम्दानी खर्चका लागि प्रत्येक राजनीतिक दलका लागि अलग्गै एउटा र हरेक उमेदवारलाई एउटा एउटा बैंक खाता खोली सञ्चालन गर्ने व्यवस्था मिलाई दिन आयोगले केन्द्रीय बैंकलाई पत्राचार गरेको हो । 

तनहुँ: पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आबुँखैरेनी गाउँपालिका–२ नारीघाटमा मिनी ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा नगरपालिका–१४ बस्ने ६० वर्षीय दलबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।  डुम्रेतर्फबाट आबुँखैरेनीतर्फ जाँदै गरेको बा प्र ०३–००१ क ०२६८ नम्बरको मिनी ट्रकको ठक्करबाट गएराति घाइते थापाको चितवनस्थित चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । ठक्करबाट गम्भीर घाइते भएका थापाको टाउकोमा चोट लागेको थियो ।  पैदलयात्रीलाई ठक्कर दिई भागेका चालक मकवानपुर, सरीखेत पलासे गाउँपालिका–१ निवासी २९ वर्षीय बाबुलाल लोलाई नियन्त्रणमा लिएको छ ।