पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । घान्द्रुकमा सोमबार भएको घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रु...

पोखरा:  फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी तय गरेका कास्कीमा क्रियाशील राजनीतिक दलहरू आज हुने प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ताका लागि तयारी गरेका छन् । तीनवटा निर्वाचन क्षेत्र रहेका जिल्लामा स्थापित निर्वाचन अधिकृतका कार्यालयहरूमा मनोनयनका लागि जम्मा भएर जान दलहरूले सार्वजनिक सूचना जारी गर्दै त्यसको तयारीमा जुटेका हुन् । उम्मेदवार छनोटका लागि सोमबार दिनभर नै आन्तरिक छलफल गरी दलहरूले उम्मेदवारी तय गरेका हुन् । दलहरूले कास्की क्षेत्र नं १ मा पशुपन्छी अनुसन्धान, विकास तथा परीक्षण केन्द्र रामघाटमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गर्नेछन् भने क्षेत्र नं २ का लागि सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाको कार्यालय ड्यामसाइडमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्नेछन् । त्यस्तै क्षेत्र नं ३ का लागि कृषि, भूमि व्यवस्था तथा सहकारी विकास मन्त्रालयमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता हुनेछ । उम्मेदवारी मनोनयन दर्ताका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । उनका अनुुसार दलहरूले उम्मेदवारी दर्ता गर्न आउने समयबारे पनि जानकारी गराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले आज १०.०० देखि ११.०० बजेसम्म, राष्ट्रिय प्रजातन्त्र पार्टीले दिउँसो १.०० बजे उम्मेदवारी दर्ता गर्न आउने जानकारी गराएको उनले बताए । नेकपा (एमाले)ले १.०० देखि २.०० बजेसम्म उम्मेदवारी दर्ताका लागि आउने जानकारी गराएको र अन्य दलबाट जानकारी आउने क्रममा रहेको उनले बताए । जिल्लामा निर्वाचनका लागि एक सय ५३ मतदानस्थल र तीन सय ६३ मतदान केन्द्र निर्धारण गरिएको छ । कास्कीका तीन निर्वाचन क्षेत्रमा कुल तीन लाख आठ हजार ५७२ जना मतदाता रहेका छन् । कास्की क्षेत्र नं १ मा एक लाख १६ हजार ८७८, क्षेत्र नं २ मा ८४ हजार १३४ मतदाता रहेका छन् । त्यस्तै, क्षेत्र नं ३ मा एक लाख सात हजार ५६० मतदाता रहेको सूचना अधिकारी न्यौपानेले जानकारी दिए । 

काठमाडौं:  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ ।  निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवार दर्ताका लागि आवश्यक तयारी पूरा भइसकेको जनाएको हो । आयोगले उम्मेदवारी दर्ता गर्न जाँदा कुनै पनि तडकभडक नगर्न, शान्तपूर्वक र मर्यादित भएर निर्वाचन कार्यालय पुग्न सबै राजनीतिक दल तथा सम्बद्ध उम्मेदवारहरूलाई आग्रह गरेको छ । उम्मेदवार मनोनयन दर्ताका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि अनिवार्य रहेको छ । यस्तै, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पनि जरुरी छ । उम्मेदवारी दिँदा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहमा तथा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थाबाट पारिश्रमिक पाउने गरी बहाल रहेको भए त्यस्तो पदबाट राजीनामा दिएको निस्सा पनि आवश्यक पर्दछ । सम्बन्धित अनुसूचीबमोजिमका प्रतिनिधि मुकरर गरेको फाराम पनि आवश्यक पर्नेछ । प्रचलित कानुनबमोजिम योग्यता पुगेको व्यक्तिले मनोनयनपत्र दर्ता गर्दा वा गराउँदा प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम ८ बमोजिम सोही निर्वाचन क्षेत्रको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका एक जना प्रस्तावक र अर्को एक जना समर्थक भई विवरण भरी सहिछाप गरेको मनोनयन पत्र आवश्यक पर्नेछ । दलको तर्फबाट उम्मेदवारी दिएको भए उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्न अधिकार पाएको त्यस्तो दलको केन्द्रीय कार्यकारिणी समिति वा सोसरहको समितिको पदाधिकारीले प्रदान गरेको प्रतिनिधिसभा सदस्य उम्मेदवार मनोनयनको औपचारिक पत्र आवश्यक पर्नेछ । यस्तै, एकल चुनाव चिह्न लिई संयुक्त रूपमा निर्वाचनमा सहभागी दलहरूको हकमा प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को बमोजिमको उम्मेदवार मनोनयनको औपचारिक पत्र पनि उपलब्ध गराउनुपर्नेछ । प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारका लागि रु १० हजार सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा धरौटी जम्मा गरेको रसिद वा भौचर पनि आवश्यक पर्नेछ । महिला र दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुने व्यवस्था गरिएको छ । आर्थिक विपन्न भएकाको हकमा सम्बन्धित स्थानीय तहले आर्थिक रूपमा विपन्न भनी सिफारिस गरेको पत्र पनि जरुरी पर्ने आयोगले जनाएको छ । उम्मेदवार हुने व्यक्तिले प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ बमोजिमको स्वघोषणा पत्र पनि उपलब्ध गराउनुपर्नेछ । यस्तै, आफ्नो चल, अचल सम्पत्ति, बैंक तथा वित्तीय संस्थामा रहेको खाता, धितोपत्र सेयर, ऋणपत्र, कसैलाई ऋण दिएको वा लिएको भए त्यसको सम्पूर्ण विवरण उल्लेख गरी सिलबन्दी रूपमा पेस गरेको सम्पत्ति विवरण पनि उपलब्ध गराउनुपर्नेछ । वैयक्तिक विवरण फाराम भर्नुपर्नेछ । उम्मेदवार हुने व्यक्तिले आफू निर्वाचित, मनोनीत वा नियुक्त भएको निकायबाट कुनै पनि प्रकारको पेस्की लिएको भए सो पेस्की फर्छ्योट भएको ब्यहोराको निस्सा पनि उपलब्ध गराउनुपर्नेछ । लेखा परीक्षणबाट कुनै पनि उम्मेदवारका नाममा किटानी साथ असुल उपर गर्नुपर्ने भनी कायम भएको बेरुजु भए सो बेरुजु फर्छ्योट गरेको निस्सा पनि जरुरी पर्ने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

पोखरा:   गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले तामाङ समुदायको महान् पर्व ‘२८६२ औं सोनाम ल्होसार’ का अवसरमा शुभकामना प्रदान गर्नुभएको छ । सोमबार शुभकामना सन्देश जारी गर्दै भट्टले आपसी सद्भाव, प्रेम, भातृत्व, सहिष्णुता र एकताको पर्वको रुपमा लिइने सोनाम ल्होसारले नेपालको मौलिक संस्कृतिको संरक्षण तथा सम्बर्द्धनमा योगदान पुर्‍याएको उल्लेख गर्नुभएको छ ।    सोनाम ल्होसार पर्वले नेपाली–नेपालीबीच आपसी बन्धुत्वको भावना विकास गर्दै सामाजिक–सांस्कृतिक ऐक्यबद्धता, आर्थिक रुपले समृद्ध मुलुक निर्माण गर्नका लागि अघि बढ्न सबैलाई उर्जा प्रदान गरोस् भन्ने कामना पनि गर्नुभएको छ ।   सोनाम ल्होसार पर्व प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइन्छ । आजबाट सर्प वर्ष पूरा भई घोडा वर्ष सुरु भएको छ । ल्होसारका १२ वटै वर्ष पशुपन्छीका नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धानदाताको भनाई छ ।  मुलुकका विभिन्न स्थानमा बसोबास गर्ने तामाङका साथै ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिहरूले पनि आ–आफ्नै शैली र परम्परा अनुसार यस पर्व मनाउँदै आएको पाइन्छ । यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नुका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गर्ने गर्दछन् ।  

पोखरा:   तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम गरी मनाउँदै छन् । मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष सुरु भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।  पर्वका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी मनाउने जनाएको छ । यसैगरी नेपाल तामाङ घेदुङले यस पर्वका अवसरमा टुँडिखेलमा शनिबारदेखि तीन दिनसम्म विविध कार्यक्रम सुरु गरेको छ । यसैगरी राजधानीको स्वयम्भू क्षेत्रमा पनि विविध कार्यक्रम गरी सोनाम ल्होसार मनाउन लागिएको जनाइएको छ । करिब चार हजार ७०० वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ । नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्दछन् । यस अवसरमा आइतबारदेखि नै राजधानीको टुँडिखेलमा ल्होसार महोत्सव आयोजना गरिएको छ । महोत्सवअन्तर्गत तामाङ समुदायका ताम्बा, बोन्बो र लामाहरूको विशेष सांस्कृतिक झाँकी, परम्परागत गीत तथा नृत्य प्रस्तुत गरिनेछ । साथै राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा ख्याती प्राप्त कलाकारहरूको प्रस्तुति रहने मूल समारोह समितिले जनाएको छ ।

काठमाडौं:  निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची सार्वजनिक गरेको छ ।    आइतबार आयोगले समानुपातिक उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरेको हो ।  सार्वजनिक भएको विवरणमा ५७ निर्वाचन चिह्नमा ६३ राजनीतिक दलबाट पेस भएका ३ हजार २१३ जना उम्मेदवारको बन्दसूची प्रकाशन गरिएको आयोगका प्रवक्ता रामप्रसाद भट्टराईले बताए । 

पोखरा:  दिनेश राउतको निर्देशनमा तयार भएको नेपाली सिनेमा ‘कुमारी’ को प्रचार–प्रसारका क्रममा पोखरामा आयोजित भव्य कन्सर्ट उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ ।  पोखराको इभेण्ट म्यानेजमेन्ट कम्पनी प्रचारले व्यवस्थापन गरेको उक्त कन्सर्टमा कलाकार, संगीत र दर्शकबीचको ऊर्जाशील सहभागिताले कार्यक्रमलाई विशेष बनायो। कन्सर्टका क्रममा सिनेमाका मुख्य कलाकार अभिषेक खड्का र आकृति राजभण्डारी ले पोखरेली दर्शकसँग प्रत्यक्ष संवाद गर्दै चलचित्र निर्माणका अनुभव, पात्रको यात्रा र ‘कुमारी’ले बोकेको भावनात्मक सन्देशबारे खुलेर चर्चा गरे । पछिल्लो समय टिकटकमा भाइरल बनेको कुमारीको गीत “डोको बुन्ने” मा झुम्दै उनीहरुले दर्शकसँग साक्षत्कार गरेका हुन् ।  कलाकारसँग प्रत्यक्ष भेटघाट र संवादको अवसर पाउँदा दर्शकहरू उत्साहित देखिन्थे। कार्यक्रमलाई थप उचाइमा पु¥याउँदै केयर लिम्बू एण्ड द लुंगा ब्याण्डले दिएको सशक्त प्रस्तुतीले पोखराका दर्शकहरूलाई झूमायो। लाइभ संगीत, नृत्य र दर्शकको सहभागिताले कन्सर्टलाई स्मरणीय बनाएको थियो। कुमारी मार्फत डेभ्यु गरेका अभिषेक खड्काले पोखरेली दर्शकको माया र उत्साहप्रति आभार व्यक्त गर्दै भने, “पोखरामा दर्शकको यस्तो ऊर्जा पाउँदा निकै खुशी लाग्यो। ‘कुमारी’ हाम्रो लागि केवल सिनेमा होइन, भावनाको कथा हो। यहाँबाट पाएको समर्थनले हामीलाई अझ आत्मविश्वासी बनाएको छ।”  आफु पनि जेनजी उमेर समूहको भन्दै जेनजी पुस्ताबाट कुमारीलाई सहयोग मिल्ने विश्वास उनको छ । त्यसैगरी नायिका आकृति राजभण्डारीले पनि दर्शकसँगको आत्मीयताले आफूलाई भावुक बनाएको बताइन्। “पोखरेली दर्शकको प्रतिक्रिया असाध्यै सकारात्मक छ। ‘कुमारी’ले उठाएका विषय दर्शकले आत्मसात् गर्नुहुनेछ”, उनले भनिन् ।  चलचित्रका निर्देशक दिनेश राउतले पोखरामा देखिएको उत्साहले ‘कुमारी’ प्रति दर्शकको अपेक्षा प्रस्ट भएको बताए । “पोखराको यो माहोलले ‘कुमारी’ सही दिशामा अघि बढिरहेको संकेत गरेको छ। दर्शकको साथ र विश्वास नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो,” उनले भने ।  आगामी माघ २३ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको ‘कुमारी’ प्रति पोखरेली दर्शकको उत्साहले चलचित्रको सफलताको संकेत दिएको छ । निर्माण टिमले नेपाली सिनेमालाई साथ दिन सबै दर्शकलाई नजिकैको हलमा पुगेर ‘कुमारी’ हेर्न आग्रह गरेको छ । नेपाली समाजका संवेदनशील पक्षलाई कलात्मक ढंगले प्रस्तुत गर्ने प्रयास गरिएको ‘कुमारी’ ले प्रदर्शनसँगै दर्शकको मन जित्ने अपेक्षा गरिएको छ।

पोखरा:    पोखराका पत्रकार धन बस्नेत र सागरराज तिमिल्सिनालाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । नेपाल पत्रकार महासंघ कास्कीले प्रदान गर्ने उक्त पुरस्कार २०८१ बाट बस्नेत र २०८२ बाट तिमिल्सिना सम्मानीत हुन लागेका हुन् ।  नारायण कार्की संयोजक रहेको प्रतिक्षा छनोट समितिले छनोट गरेको नाम महासंघ कास्कीको आइतबार बसेको कार्यसमिति बैठकले अनुमोदन गरेको हो ।  समितिका सदस्यमा राजेन्द्र अधिकारी, मोतिसागर अधिकारी, माधवप्रसाद बराल र भूपाल गुरुङ थिए । टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कारको राशी नगद २५ हजार १११ रहेको छ । सम्मानीत हुन लागेका बस्नेत खेलाडीन्यूज डटकम र टक्सार म्यागाजिनमा आवद्ध छन् । २०६० सालमा नेपाल समाचारपत्रबाट पत्रकारिता सुरु गरेका उनले नागरिक दैनिकमा काम गरेको अनुभव छ ।   बस्नेतले यसअघि सहारा खेलकुद पुरस्कार २०६४ र जिल्ला खेलकुद विकास समिति, कास्कीले प्रदान गर्ने उत्कृष्ट खेल पत्रकार पुरस्कार प्राप्त गरिसकेका छन् । अर्का सम्मानीत पत्रकार तिमिल्सिना एपिवान टिभी र क्लिक गण्डकीमा आवद्ध छन् । २०५९ सालदेखि  समाधान राष्ट्रिय दैनिकबाट पत्रकारिता सुरु गरेका तिमिल्सिनाले पोखरा एफएम, रेडियो तरङ्ग, उज्यालो रेडियो नेटवर्क, विग एफएम, एभिन्यूज, सेतोपाटी, गनथन डटकममा काम गरिसकेका छन् । तिमिल्सिनाले यसअघि सहारा पत्रकारिता पुरस्कार, जिल्ला खेलकुद विकास समिति, कास्कीले प्रदान गर्ने खेलकुद अवार्ड र रेवान पोखराले प्रदान गर्ने पर्यटन पत्रकारिता पुरस्कार प्राप्त गरिसकेका छन् ।

काठमाडौं: निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा भाग लिने प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलसँग निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयन गर्ने सम्बन्धमा आयोगले छलफलको समेत आयोजना गरेको थियो। छलफल आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र आयुक्तद्वय डा जानकीकुमारी तुलाधर र सगुनशम्शेर जबरा तथा आयोगका सचिव कृष्णबहादुर राउतको उपस्थितिमा सम्पन्न भएको थियो। कार्यक्रममा उपस्थित राजनीतिक दलले आसन्न निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गर्न÷गराउन प्रतिबद्ध रहेको बताएका थिए। उनीहरूले नेपालको संविधान निर्वाचन आयोग ऐन, २०७३, राजनीतिक दलसम्बन्धी ऐन, २०७३, निर्वाचन ९कसुर तथा सजाय० ऐन, २०७३, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४, राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ र निर्वाचन आचारसंहिता, २०८२ समेतका निर्वाचनसम्बन्धी कानुनको इमान्दारिताका साथ पालना गर्ने÷गराउने उल्लेख गरेका छन्। यस्तै, निर्वाचनका सन्दर्भमा आयोग, निर्वाचन आचारसंहिता अनुगमन समिति र उपसमिति, निर्वाचन अधिकृत तथा मतदान अधिकृतले बोलाएको बखत उपस्थित हुने प्रतिबद्धता व्यक्त भएको थियो। आचारसंहिता कार्यान्वयनका सिलसिलामा अनुगमन प्रभावकारी हुनुपर्ने, सामाजिक सञ्जालबाट प्रवाह हुने मिथ्या सूचना, दुष्प्रचार तथा द्वेषपूर्ण अभिव्यक्ति नियन्त्रण र नियमनका लागि आयोग सचेत हुनुपर्ने लगायतका सुझाव प्राप्त भएको आयोगले जनाएको छ। छलफलमा उपस्थित राजनीतिक दलका प्रतिनिधिहरूबाट निर्वाचन आचारसंहिता, २०८२ को कार्यान्वयनका सम्बन्धमा उठेका प्रश्न तथा जिज्ञासामाथि कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निषेधको राजनीति नगर्न र कानुनको परिपालना गरेर निर्वाचनमा सहभागी हुन सबै दलका प्रतिनिधिलाई आग्रह गरेका छन्। केन्द्रीय आचारसंहिता अनुगमन समितिका संयोजकसमेत रहेका निर्वाचन आयुक्त सगुनशम्शेर जबराले सामाजिक सञ्जाल नियमनका लागि आयोगले सामाजिक सञ्जाल अनुगमन प्रणाली (सोसियल मिडिया मनिटोरिङ टुल्स) उपयोग गर्नेबारे जानकारी दिए।  आसन्न निर्वाचनमा भाग लिने प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलका तर्फबाट प्रचलित निर्वाचन कानुन र निर्वाचन आचारसंहिताको कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त भएसँगै सबै दलहरूसँगको सहकार्यबाट निर्वाचन आचारसंहिताको इमान्दार र सफलतापूर्वक कार्यान्वयन हुने विषयमा आयोग विश्वस्त रहेको उल्लेख गरिएको छ। यस्तै, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीस्वरुप पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

पोखरा:  राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गण्डकी प्रदेश प्रमुखसमक्ष आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गरेको छ ।   आयोगका कार्यवाहक अध्यक्ष जुद्ध बहादुर गुरूङले शुक्रबार प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष प्रतिवेदन पेश गर्नुभएको हो । नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम प्रदेश प्रमुख भट्ट समक्ष गुरूङले प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो ।   प्रदेश प्रमुख भट्टले यस आयोग मुलुकमा वित्तीय संघीयता लागू गर्ने आर्थिक पाटोतर्फको मेरुदण्ड भएको उल्लेख गर्नुृहुँदै पर्याप्त प्राकृतिक श्रोतले पूर्ण भएप्नि देशले पर्याप्त लाभ लिन नसकिएको चिन्ता व्यक्त गर्नुभयो ।   ‘नेपाल सानो क्षेत्रफलमा पर्याप्त प्राकृतिक श्रोत भएको देश भएपनि यसको उपयोगिताका सन्दर्भमा उचित नीति र योजना नहुँदा उपभोग गरी लाभ लिन नसकिरहेको अवस्था छ ।’ उहाँले भन्नुभयो – ‘मुलुकका प्रबुद्ध वर्गहरु, पूर्वप्रशासक, अर्थशास्त्री, वित्तसँग राम्रो अनुभव भएका व्यक्ति सम्मिलित आयोगले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्दछ ।’   आयोगका कार्यवाहक अध्यक्ष गुरुङले आर्थिक वर्ष २०८२/०८३ का लागि गण्डकी प्रदेश सरकारलाई ७ अर्ब ७३ करोड ८९ लाख र प्रदेश भित्रका स्थानीय सरकारलाई ९ अर्ब २२ करोड ९३ लाख वित्तीय समानीकरण अनुदान उपलब्ध गराउन सिफारिस गरिएकोमा नेपाल सरकारले सोहि बमोजिम बजेट विनियोजन गरेको बताउनुभयो ।   यद्यपी, नेपाल सरकारले सिफारिस बमोजिम बजेट विनियोजन गरेपनि प्रदेश तथा स्थानीय तहलाई पूरै रकम हस्तान्तरण नहुँदा प्रदेश र स्थानीय सरकारको बजेट कार्यान्वयन प्रभावित भएका देखिएको उहाँले बताउनुभयो ।   कार्यवाहक अध्यक्ष गुरुङले आर्थिक वर्ष २०८१/८२ को अवधिमा आयोगले गण्डकी प्रदेश तथा प्रदेशभित्रका स्थानीय सरकारसँग सम्बन्धित विषयमा सम्पादन गरेका काम–कारबाहीहरू उक्त वार्षिक प्रतिवेदनमा समेटिएकोे जानकारी दिनुभयो । उहाँले संक्षिप्त विवरणसहित प्रतिवेदन पेस गर्दै आयोगका गतिविधि र सिफारिसबारे प्रदेश प्रमुखलाई अवगत गराउनुभएको थियो ।   संघीय सञ्चित कोषबाट संघ, प्रदेश र स्थानीय तहबीच राजस्व बाँडफाँड गर्ने, मानक र पूर्वाधारको आधारमा प्रदेश र स्थानीय तह सशर्त अनुदानको आधार तय गर्ने, प्रदेश सञ्चित कोषबाट प्रदेश सरकार र स्थानीय तहबीच राजस्व बाँडफाँड गर्ने, संघ, प्रदेश र स्थानीय तहले लिन सक्ने आन्तरिक ऋणको सीमा सिफारिस गर्ने, प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी बाँडफाँडको हिस्सा निर्धारणको आधार तय गरी सिफारिस गर्ने जस्ता अधिकार आयोगलाई छ ।