पोखरा: सुन्दा अचम्म लाग्न सक्छ, महँगीको वर्तमान समयमा कास्कीको पोखरा महानगरपालिका–२८ माझठानास्थित रत्नशोभा माध्यमिक विद्यालयले विद्यालयका विद्यार्थीलाई प्रतिछाक खाना रु ३० मा खुवाउँदै आएको छ । विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने लक्ष्यका साथ कक्षा ८, ९ र १० का विद्यार्थीलाई दिवा छात्रावासको अवधारणाअनुसार बिहान ७ः३० बजेबाट कक्षा सञ्चालन गरिरहेको विद्यालयले पूर्वविद्यार्थीहरूको सहयोगमा न्यून शुल्कमा खाना खुवाउने व्यवस्था मिलाएको विद्यालयका प्रधानाध्यापक किरणबाबु न्यौपानेले जानकारी दिनुभयो । विद्यार्थीको सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यका साथ छात्रावास सञ्चालन गरिएको जनाउँदै उहाँले उनीहरूको सहजताका साथै अभिभावकलाई पनि आर्थिक भार कम परोस् भन्ने उद्देश्यले पूर्वविद्यार्थीको सहयोगमा यो कार्यक्रम सञ्चालन गरिएको बताउनुुभयो । गत भदौबाट आफूहरूले दिवा छात्रावास सञ्चालन गरिरहेको उहाँले जानकारी दिनुभयो । “विद्यालयका पूर्वविद्यार्थीहरूको सहयोगमा हामीले यो कार्र्यक्रम अघि बढाएका छौँ”, उहाँले भन्नुुभयो, “कार्यक्रमका लागि पूर्वविद्यार्थीका तर्फबाट दाल, चामल, तरकारीका साथै आर्थिक सहयोग आउने गरेको छ ।” उहाँका अनुसार विद्यालयमा अध्ययन गर्नका लागि झण्डै डेढ घण्टा समय हिँडेर आउने विद्यार्थीसमेत रहेका छन् । विद्यालयमा भगवतीटार, नौरुङ, राम्चे, ओख्लेलगायत टाढाटाढाका स्थानबाट विद्यार्थी आउने गरेको उल्लेख गर्दै उहाँले हालसम्म विद्यालय बसेको सुविधा उपलब्क्ध गराउन नसकिएको बताउनुुभयो । विद्यालय बसका लागि भारतीय राजदुतावासमा प्रस्ताव गरिएको जनाउँदै न्यौपानेले यसै आर्थिक वर्षभित्रमा बस प्राप्त हुने अपेक्षा गरिएको बताउनुभयो । विसं २०१६ मा स्थापित यस विद्यालयले यस क्षेत्रको शैक्षिक उन्नयनमा महत्वपूर्ण योगदान गरेको यहाँका अभिभावक बताउँछन् । विद्यालयले कक्षा ९ देखि १२ सम्म कम्प्युटर विज्ञान विषयको पठनपाठनसमेत गराउँदै आएको प्रधानाध्यापक न्यौपानेले जानकारी दिनुभयो ।
रौतहट: मंङ्गलबार बिहानदेखि अवरुद्ध पूर्वपश्चिम महेन्द्र राजमार्ग २४ घण्टापछि सञ्चालन भएको छ । रौतहटको चन्द्रपुर नगरपालिका–४ लमाह पुल नजिक मंगलबार बिहान ग्यास बुलेट पल्टिँदा राजमार्ग अवरुद्ध भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र थापामगरका अनुसार बुलेटभित्रको २१ टन ग्यास रातभरि बाहिर फ्याँकेर टङ्याकर हटाइएको हो । बाटोबाट बुलेट हटाउन छ वटा क्रेन प्रयोग गरिएको थियो ।
बागलुङ: विश्व बैंकको सहयोगमा बागलुङ नगरपलिकाभित्र ठेक्का लागेका तीन सडकमध्ये मुलपानी–तितौरे नौ किलोमिटर खण्डमा कालोपत्र थालिएको छ । पहिलो चरणमा तितौरेदेखि दानविसौनासम्म कालोपत्र सम्पन्न भइसकेको छ । यसअघि गणेशथान घुम्ती–निरयघाट र ओढारचौर–ढोडेनी सडक कालोपत्र भइसकेको छ । बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठका अनुसार सडक कालोपत्र गर्न विश्व बैंकले बागलुङ नगरपालिकासहित देशका १७ स्थानीय सरकारलाई अनुदान उपलब्ध गराएको थियो । स्तरोन्नतिसँगै सडक कालोपत्रका लागि निर्माण व्यवसायीसँग ४९ करोड २२ लाखमा ठेक्का सम्झौता भएको हो ।
मुस्ताङ: प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर दर्शन गरेर वैकल्पिक मार्ग हुँदै माथिल्लो मुस्ताङ जान सकिने गरी यहाँको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका १, २ र ३ नम्बर वडा जोड्ने (मुक्तिनाथ–तेताङ) चक्रपथ सडक निर्माण जारी छ । चालुआवको पाँचमहिनामा सो सडकको भौतिक प्रगति ३९ प्रतिशत पुर्याइएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालय गण्डकीअन्तर्गत पूर्वाधार विकास कार्यालयद्वारा यहाँको मुक्तिनाथ पुराङ हुँदै झोङदेखि तेताङ जोड्ने १० किलोमिटर चक्रपथ सडक योजना कार्यान्वयनमा ल्याइएको हो । यहाँस्थित मुक्तिनाथ–तेताङ जोड्ने छ मिटर चौडा वैकल्पिक सडकमार्ग विस्तार गर्न रु सात करोड एक लाख ५६ हजार लागतमा निर्माण कम्पनीले २०८१ साल साउन २९ गते यहाँको पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरेको थियो । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित सडक स्तरोन्नति तथा नयाँ ट्रयाक खोल्न कार्यालयले २०८३ साल साउन २९ गतेसम्म निर्माण कम्पनीलाई समयावधि तोकिएको छ । मुक्तिनाथ–तेताङ जोड्ने सडकको ठेक्का सम्झौता मुताविक १० किलोमिटर सडकमध्ये ६.५ किलोमिटर नयाँ खोल्ने र ३.५ किलोमिटर सडक स्तरोन्नति गर्ने योजना रहेको पूर्वाधार विकास कार्यालयका सबइन्जिनियर जगदीशचन्द्र जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँ सडकको नयाँ ट्रयाक खोल्ने कार्य सकिएता पनि गत असोजको वर्षाले आंशिक रूपमा क्षति पुर्याएकाले उक्त स्थानमा सडक मर्मतसम्भार गर्नुपर्ने देखिएको छ । वारागुङ मुक्तिक्षेत्रको वडा १, २, ३ र ४ वडालाई चत्रपथ सडकले जोड्नेगरी मुक्तिनाथ सडक स्तरोन्नति कार्य भइरहेको सबइन्जिनियर जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँको मुक्तिनाथ–तेताङ सडक योजनाको ३९ प्रतिशत भौतिक प्रगति हुँदा वित्तीय प्रगति २८।५८ प्रतिशत छ । हालसम्म निर्माण कम्पनीले रु दुई करोड ५६ हजार भुक्तानी लगिसकेको छ । प्रादेश सरकारद्वारा अघि बढाइएको मुक्तिनाथ–तेताङ सडक स्तरोन्नति पूरा भएमा माथिल्लो मुस्ताङका स्थानीय नागरिक तथा पर्यटक कागबेनी झरेर खिङ्गा हुँदै मुक्तिनाथ जानु नपर्ने जनाइएको छ । छुसाङदेखि माथिल्लो भेगका नागरिक मुक्तिनाथ जानुपरेमा छुसाङबाट तेताङ हुँदै वैकल्पिक चक्रपथ सडक प्रयोग गरेर मुक्तिनाथ जान सजिलो हुने यसबाट माथिल्लो मुस्ताङबाट मुक्तिनाथ जाने पर्यटक तथा स्थानीय नागरिकहरूका लागि दूरीमा छोटिने बताइएको छ । यो सडक सम्पन्न भएपछि वारागुङ मुक्ति क्षेत्रको छेङ्गुर, झोङ, पुडाक र तेताङ गाउँका स्थानीय नागरिकलाई यातायात आवागमनमा निकै सहज हुनेछ ।
काठमाडौं: आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको सीमा तोकिएको छ । निर्वाचन आयोगले सुगम मानिएका जिल्लाका हकमा र दुर्गम मानिएका जिल्लाका हकमा फरकफरक खर्च सीमा निर्धारण गरेको हो । आयोगका अनुसार काठमाडौँका पाँच वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २५ लाख खर्च गर्न पाउनेछन् । त्यसमा काठमाडौँ क्षेत्र नं १, ३, ६, ७ र ८ रहेका छन् । यसैगरी, १७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम रु २७ लाख बराबरको खर्च गर्न पाउने सीमा निर्धारण गरिएको छ । त्यस्तै, ६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम रु २९ लाख बराबर खर्च गर्न पाउनेछन् । आयोगका अनुसार ५२ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम ३१ लाख, २६ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम ३३ लाख बराबरको खर्च गर्न पाउनेगरी सीमा निर्धारण गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार उम्मेदवारले खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट खर्च गर्नुपर्नेछ । त्यसरी खर्च गर्दा निजकोतर्फबाट खर्च गर्ने जिम्मेवार अधिकारी तोकी निजको नाम नामेसीसहितको विवरण भने निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्नुपर्नेछ । उम्मेदवारले तोकेको खर्चको हदभित्र रहेर निर्वाचन खर्च गर्न र प्रतिनिधिसभा सदस्य ऐनबमोजिम निर्वाचन खर्चको विवरण निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र निर्वाचन कार्यालयमा पेस गर्नुपर्नेछ ।
पोखरा: गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले ल्होछार तमु जातिको सामाजिक तथा सांस्कृतिक पक्षको प्रतिनिधित्व गर्ने मुख्य पर्व भएकाले यसको मौलिकता जोगाइराख्नुपर्नेमा जोड दिनुभएको छ । तमु धिं नेपालले महान पर्व तमु ल्होछारको अवसर पारेर पोखरामा आयोजना गरेको तमु ल्होछार महोत्सव २०८२ मा प्रमुख अतिथि भट्टले सर्प वर्ग (सप्री ल्हो) समाप्त भएर घोडा वर्ग (त ल्हो) को आरम्भ भएको अवसरमा सबैमा शुभकामना पनि व्यक्त गर्नुभयो । ‘सांस्कृतिक परम्पराको धनी मानिने नेपालका तमु जातिले सदियौंदेखि आफ्ना रीति, परम्परा र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै आइरहेका छन् । भाषा, संस्कृति, भेषभूषा र संस्कार आआफ्नो जातीय पहिचान र मौलिक सभ्यताका आधार स्तम्भ हुन् । यस्ता विविधताको संरक्षण, प्रवद्र्धन र विकास गर्नु राज्यको दायित्व पनि हो ।’ प्रदेश प्रमुख भट्टले भन्नुभयो । नेपालको ग्रामीण पर्यटन प्रवर्द्धनमार्फत् आर्थिक र सामाजिक रूपमा समृद्ध मुलुक निर्माण गर्न तमु समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । ‘तमु जाती नेपालको गण्डक क्षेत्रमा बसोबास गर्ने एक मुलवासी भूमिपुत्र मंगोल वर्णका समुदाय हुन्। ल्होछार, ट्होंटे जस्ता पर्वको मौलिकता जोगाइराख्नु मुख्य चुनौती रहेको छ । यी महत्वपूर्ण पर्वहरूलाई जोगाउने अबको मुख्य जिम्मेवारी युवाहरूको काँधमा छ ।’ उहाँले भन्नुभयो – ‘र्यालीहरूमा भाङ्ग्रा र कछाड, घलेक गुन्यूचोली लगाउने किशोरकिशोरी युवा युवतीहरु पातालिँदै गएका छन् । अबको पुस्तालाई आफ्नो संस्कृति र धर्म पुस्तान्तरण गर्नु हाम्रो मुख्य जिम्मेवारी हो ।’ भाषा, संस्कृति, भेषभूषा र संस्कार आ–आफ्ना जातीय चिनारी र मौलिक सभ्यताका आधार स्तम्भ रहेको भन्दै उहाँले यस्ता विविधताको संरक्षण र विकास गर्नु हामी सबैकोको दायित्व रहेको बताउनुभयो । ‘जनताको संघर्ष र बीरतापूर्ण बलिदानबाट हामीले समावेशी संघीय लोकतान्त्रिक संविधान निर्माण गरेका छौं । संघीयताको रक्षा गर्दै संविधानको स्वीकार्यता बढाएर त्यसको कार्यान्वयन गर्नु तथा हिमाल, पहाड र तराइका सबै जाति, भाषा, धर्म र समुदायको सुदृढ राष्ट्रिय एकताका बलमा आर्थिक समृद्धिको दिशामा अगाडि बढ्नु आजको राष्ट्रिय आवश्यकता हो ।’ उहाँले भन्नुभयो । तमु धिं नेपालका अध्यक्ष हुमबहादुर तमुको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष कर्म तमु, गण्डकी प्रदेशसभा सदस्य सरस्वती तमु लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन जुनाकुमारी तमुले गर्नुभएको थियो ।
कविराज खनाल, कास्की । लेखनाथस्थित तालचोकमा पुस ३ गतेदेखि सञ्चालन हुँदै आएको २१ औं महोत्सव लक्ष्यभन्दा बढी सफल भएको विश्वास व्यक्त गरिएको छ । महोत्सव अवधिभर १० करोड भन्दा बढी आर्थिक कारोबार भएको र करिब ३ लाख १० हजार दर्शकले महोत्सव प्रत्यक्ष अवलोकन गरेकाले लक्ष्यभन्दा बढी सफलता भएको लेखनाथ उद्योग वाणिज्य संघले जनाएको हो । महोत्सव सोमबार (पुस १४ गते) पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यमा समापन हुँदैछ । ‘महोत्सवको पनि महोत्सव’ का रूपमा परिचित लेखनाथ महोत्सवले यस क्षेत्रको सामाजिक, सांस्कृतिक, आर्थिक तथा शैक्षिक विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । यस वर्षको महोत्सवमा मनोरञ्जनसँगै साहित्य, संस्कृति, कृषि, प्रविधि र शिक्षा क्षेत्रलाई समेट्ने विविध कार्यक्रमहरू सञ्चालन गरिएका थिए । महोत्सव अवधिभर साहित्यिक गोष्ठी, महिला विशेष कार्यक्रम, विद्यालयस्तरीय प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, आदिवासी जनजाति विशेष कार्यक्रम, जैविक विविधता सम्बन्धी प्रदर्शनी, कृषि तथा पशुपंक्षी प्रदर्शनी, सूचना प्रविधि तथा शैक्षिक प्रदर्शनी, हस्तकला तथा स्थानीय उत्पादनहरूको प्रदर्शनी प्रमुख आकर्षणका रूपमा रहेका थिए। यसका साथै विभिन्न जातजातिका लोपोन्मुख रीतिरिवाज, चालचलन तथा सांस्कृतिक पहिचान झल्काउने उत्कृष्ट नृत्य तथा सांस्कृतिक प्रस्तुत गरिएको थियो । महोत्सवमा देशभरबाट ख्यातिप्राप्त हास्यव्यङ्ग्य कलाकारहरूको दैनिक प्रस्तुति, राष्ट्रिय लोकदोहोरी गीत कार्यक्रम, लाइभ म्युजिक कन्सर्ट, बाल उद्यान तथा खाना महोत्सवले दर्शकको उल्लेखनीय सहभागिता र उत्साह बढाएको थियो। विशेषगरी स्थानीय परिकार तथा कृषि उत्पादनको प्रवद्र्धनले स्थानीय व्यवसायी र कृषकहरूलाई प्रत्यक्ष लाभ पुगेको आयोजक समितिले जनाएको छ । २१ औं सस्करणको लेखनाथ महोत्सवले यस क्षेत्रको पहिचानलाई राष्ट्रियस्तरमा चिनाउन सफल भएको र यस्ता महोत्सवले सामाजिक एकता, सांस्कृतिक संरक्षण र आर्थिक विकासमा टेवा पुर्याउने ,स्थानीय तहको तर्फबाट आगामी दिनमा पनि यस्ता सिर्जनात्मक तथा विकासमुखी कार्यक्रमलाई निरन्तर सहयोग हुने महोत्सवकी मूल संयोजक अध्यक्ष जानुका पराजुली अधिकारीले बताइन् । आयोजकका अनुसार महोत्सवले स्थानीय कला, संस्कृति र उत्पादनको प्रचार–प्रसार गर्नुका साथै पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना तथा आर्थिक चलायमानता बढाउन महत्वपूर्ण भूमिका खेलेको छ । महोत्सव अवधिभर लाखौ दर्शकले अवलोकन गरेको र अपेक्षाभन्दा उत्साहजनक सहभागिता देखिएको महोत्सवका संयोजक धु्रवबाबु भटट्राईको दाबी रहेको छ । कार्यक्रममा विभिन्न संघसंस्था, कलाकार, स्वयंसेवक, प्रायोजक तथा सहयोगीलाई सम्मानसमेत गरिने आयोजक समितिले जनाएको छ । सफल आयोजनाका लागि स्थानीयबासी, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा सबै सहयोगीप्रति आयोजकले आभार व्यक्त गरेका छन् । एघौरौ दिनमा २२ हजार दर्शकले महोत्सव प्रत्यक्ष अवलोकन गरेको र आर्थिक कारोबार करिव ९० लाख रुपैयाको आर्थिक कारोवार रहेको संयोजक धुवबाबु भटट्राईले जानकारी दिए । महोत्सव अवधिभर १० करोड भन्दा बढी आर्थिक कारोबार भएको र दर्शक ३ लाख १० हजारले महोत्सव प्रत्यक्ष अवलोकन गरेका छन् ।
पोखराः चलचित्र पत्रकार संघ नेपाल, कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत निर्वाचित भएका छन् । पोखरामा शनिबार सम्पन्न भएको छैटौं जिल्ला अधिवेशन तथा सातौ साधारण सभाबाट बस्यालको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । संघको उपाध्यक्षमा गौरव त्रिपाठी, सचिवमा सुरेश सुनार, सह–सचिवमा सिद्धार्थ गौतम र कोषाध्यक्षमा सुरक्षा श्रेष्ठ सर्वसम्मत भए । यस्तै सदस्यहरुमा प्रेम थापा, राकेश गुरुङ, विनिता सुनार, सुरज थापामगर, सागर ढकाल, सुष्मा नेपाली, अभिनन्दन बजिमय र नारायण पौडेल चयन भए । यस्तै केन्द्रिय महाधिवेशन प्रतिनिधिमा आशिष पुरी र मिलन थापा सर्वसम्मत चयन भए ।
काठमाडौं: देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो तराई भूभागका अधिकांश स्थानमा हुस्सु–कुहिरो रहनेछ । देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति तराई भूभागका अधिकांश स्थानमा हुस्सु रहनेछ । कोशी प्रदेश, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ । गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । तराई भूभागमा हुस्सुरकुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने देखिएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

