रौतहट: रौतहट जिल्लाको गौर नगरपालिका–१, कानुपट्टीस्थित भित्री सडक खण्डमा पानी जमेको खाल्डोमा परी बेपत्ता भएका तीन जनाको शव सशस्त्र प्रहरीले असोज २७ गते फेला पारेको छ । सोही जिल्लाको राजदेवी नगरपालिका–८, लक्ष्मीपुरबाट घाँस काट्न गौरतर्फ आउँदै गरेका सोही ठाउँ बस्ने १३ वर्षीया आस्थाकुमारी बैठा, १५ वर्षीया राधनीकुमारी यादव र १५ वर्षीया मौसमीकुमारी बैठा बाढीको पानी जमेको खाल्डोमा परी बेपत्ता भएका थिए । सशस्त्रका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार, घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा गुल्म गौरबाट खटिएको रबरबोर्टसहितको टोली र नेपाल प्रहरीको संयुक्त टोलीले स्थानीय बासिन्दाहरूको सहयोगमा उनीहरूको शव खाल्डोबाट बाहिर निकालेको हो । उनीहरूसँगै घाँस काट्न गएका सोही ठाउँ बस्ने १५ वर्षीया मुस्कानकुमारी राम, १३ वर्षीया मुस्कानकुमारी बैठा, १० वर्षीया चन्द्रमुखी राम र १५ वर्षीया सुनिताकुमारी बैठालाई भने स्थानीय बासिन्दाहरूले सकुशल उद्धार गरेका छन् ।
पोखरा: दक्षिण कोरियाको छाङवोन शहरमा अक्टोबर २४, २५ र २६ गते २०औं बहुसांस्कृतिक कार्यक्रम भव्य रूपमा आयोजना हुने भएको छ। ख्यानाम इजुमिन सेन्टर छाङवनद्वारा आयोजित यस कार्यक्रममा १६ देशका प्रतिनिधिहरूले आ–आफ्नो मौलिक संस्कृति, भेषभूषा र कलाको झल्को दिनेछन्। नेपालतर्फबाट यसपटक विशेष रूपमा नेवारी समुदायको कुमारी जात्रा (इन्द्र जात्रा) प्रस्तुत गरिनेछ। परेड तथा स्टेज कार्यक्रममार्फत यो सांस्कृतिक सम्पदाको अन्तर्राष्ट्रिय प्रदर्शन गरिने तयारी भइरहेको छ। कार्यक्रममा विशेष अतिथि कलाकारका रूपमा नेपालकी चर्चित गायिका मिलन नेवार सहभागी हुँदैछिन्। उहाँले सांगीतिक प्रस्तुतीमार्फत नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउनेछिन्।
काठमाडौं: इजरायलले अझै जीवित रहेको विश्वास गर्ने २२ जना बन्धकमध्ये एकमात्र गैर–इजरायली नेपाली नागरिक विपीन जोशी पनि रहनुभएको छ । उहाँको कथा अहिले पनि इजरायल र नेपाल दुवै देशमा पीडा र आशाको प्रतीक बनेको छ । सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा इजरायलमा गरिएको विनाशकारी आक्रमणपछि दुई वर्ष लामो युद्ध सुरु भएको थियो । हमासको उक्त आक्रमणमा करिब एक हजार दुई सय जनाको मृत्यु भयो र २५१ जना अपहरणमा परे । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार सो लडाइँले हालसम्म ६७ हजारभन्दा बढी प्यालेस्टिनीहरूको ज्यान लिइसकेको छ । त्यसमा झण्डै आधा महिला र बालबालिका रहेका छन् । हाल गाजाको जनसङ्ख्याको करिब ९० प्रतिशत विस्थापित भइसकेको अनुमान गरिएको छ । गाजामा हाल ४८ जना बन्धकहरू रहेका छन् । तिनमा अघिल्ला युद्धका एक सैनिकको शव पनि समावेश छ । इजरायली अधिकारीहरूले कम्तीमा २५ जना बन्धक मरेको पुष्टि गरेका छन्, तर बाँकी २० जनामध्ये कति जीवित छन् भन्ने अझै स्पष्ट छैन । तिनै बन्धकमध्ये एक जना नेपाली विद्यार्थी विपिन जोशी पनि हुनुहुन्छ । उहाँलाई जीवित रहेको विश्वास गरिएको छ । चौबिस वर्षीय नेपाली युवा विपीन जोशी आक्रमण हुनुभन्दा एक महिनाअघि मात्र आफ्नो जन्मस्थान नेपालबाट इजरायल पुग्नुभएको थियो । उहाँ कृषि अध्ययनका लागि विद्यार्थी आदानप्रदान कार्यक्रममा सहभागी हुन गाजाको सीमामा रहेको किबुट्ज अलुमिममा कार्यरत हुनुहुन्थ्यो । कार्यक्रमका १७ जना नेपाली विद्यार्थीमध्ये १० जनाको हमासको आक्रमणका क्रममा मृत्यु भएको थियो । उनीहरू बम आश्रयमा लुकेका थिए र हमलाको क्रममा फ्याँकिएका जीवित ग्रेनेडहरूबाट बाँच्न सफल भए पनि विपीन जोशी घाइते भएर अपहरणमा पर्नुभएको थियो । विपीनका परिवारका अनुसार उहाँ गाजामा जीवित रहनुभएको हुनसक्छ भन्ने विश्वास अझै बलियो छ । उहाँकी १७ वर्षीया बहिनी पुष्पा जोशीले आफ्ना दाजुको रिहाइका लागि अहोरात्र प्रयास गरिरहनुभएको छ । अधिकारीहरू र कूटनीतिक निकायहरूसँग भेट गरी दाजुको रिहाइका लागि आवाज उठाउन सकियोस् भनेर उहाँ पश्चिम नेपालको आफ्नो गाउँबाट प्रत्येक हप्ता काठमाडौँ आउन आठ–आठ घण्टाको बस यात्रा गर्नुभयो । गत अगस्टमा जोशी परिवारले राष्ट्रपति आइज्याक हर्जोगलाई भेट्न र तेल अभिवको ‘होस्टेज स्क्वायर’ मा बन्धक परिवारहरूले आयोजना गर्ने प्रदर्शनमा सहभागी हुन इजरायल यात्रा पनि गरेको थियो । उनीहरूले नेपाल सरकार र अन्तर्राष्ट्रिय समुदायसँग पनि जोशीको उद्धारका लागि सक्रिय भूमिका खेल्न आग्रह गर्दै आएका छन् । विपीन जोशी अहिले पनि गाजामा जीवित रहेको विश्वास इजरायली अधिकारीहरूले राखेका छन् । उहाँका साथीहरूले विपीन अध्ययनशील, मिलनसार र सहयोगी स्वभावका युवा रहेको बताएका छन् । विपीनले आफ्नो भविष्य कृषि विकासमा योगदान गर्ने सपनासँग इजरायल यात्रा गर्नुभएको थियो । इजरायलले युद्धविराम सुरु भएपछि बाँकी रहेका बन्धकहरूलाई ७२ घण्टाभित्र रिहा गरिने आशा व्यक्त गरेको छ । यसको बदलामा करिब दुई हजार प्यालेस्टिनी कैदीलाई रिहा गर्ने तयारी भइरहेको छ । विपीनको परिवार भने आशाको झिल्को निभ्न नदिई, दाजु–छोरा फर्किने दिनको प्रतीक्षा गर्दै अझै पनि प्रतीक्षामा छ । परिवारका अनुसार ‘विपिन फर्किनुभयो भने त्यो केवल हाम्रो परिवारको जित होइन, यो नेपाल र मानवताकै जित हुनेछ ।’ इजरायलले अझै जीवित रहेको विश्वास गर्ने २२ जना बन्धकहरूको नामावली यस्तो छ ? मातान एङ्ग्रेस्ट (२२), गली बर्मन (२८), जिव बर्मन (२८), एल्काना बोबोट (३६), रोम ब्रास्लावस्की (२१), निम्रोद कोहेन (२१), अरिएल कुनियो (२८), डेविड कुनियो (३५), एव्यातार डेविड (२४), गाइ गिलबोआ–दलाल (२४), मक्सिम हार्किन (३७), इटन होर्न (३८), विपीन जोशी (२४), सेगेव काल्फोन (२७), बार कुपरस्टीन (२३), ओमरी मिरान (४८), एटान मोर (२५), तामिर निमरोदी (२०), योसेफ–चेइम ओहाना (२५), एलोन ओहेल (२४), अविनातन ओर (३२) र मातान जाङ्गाउकर (२५) । रासस/एपी
काठमाडौं: नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् पूर्व सभामुख कृष्णबहादुर महरालाई पक्राउ गरेको छ । महरालाई आइतबार प्रहरीले ललितपुरस्थित निवासबाटै पक्राउ गरिएको नेपाल प्रहरीका सूचना अधिकारी शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो । विज्ञप्तिमा विसं २०७९ पुष १० गते दुबईबाट नेपाल आएका चिनियाँ नागरिक ली हानसोङ्गले दुईवटा सुटकेसभित्र ७३ बट्टामा रहेको ७३० इलेक्टिक सिगरेट अवैध रूपमा त्रिभुवन विमानस्थल हुँदै नेपाल ल्याउँदै गरेको अवस्थामा जफत भएकामा त्यसलाई बेचबिखन गरी महराले लाभ लिएको आरोप छ । “उक्त सुन त्रिभुवन अन्तरराष्ट्रिय भन्सारको स्टोरमा राखिएकामा उक्त कार्यालयका नायब सुब्बा रेवन्त खड्कासमेतले आफ्नो जिम्मा र संरक्षण रहेको नेपाल सरकारको गोदामबाट उक्त सुनसहितको सिगरेटमा रहेको रु आठ करोड ५५ लाख २८ हजार ३७४ बराबरको सुन बेचबिखन गरी आपराधिक समूह बनाई सङ्ठित रूपमा लाभ लिएको देखिएकाले भन्सार ऐन, २०६४ तथा आपराधिक लाभ र सङ्गठित अपराधमा संलग्न महरालाई पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको छ”, विज्ञप्तिमा भनिएको छ ।” चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोप महरामाथि लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान अगाडि बढाएपछि प्रहरीले महरालाई नियन्त्रणमा लिएको हो । विद्युतीय चुरोट (भेप)मा लुकाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ल्याउने गिरोहलाई सहयोग गरेको आरोप महरामाथि छ । महरालाई सुन तस्करी प्रकरणमा बिहीबार मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएको थियो । भेपमा लुकाएर सुन तस्करी गराएको आरोपमा महरा २०७९ मै अनुसन्धानमा तानिएका थिए ।
काठमाडौं: नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको मूल्य तोलामा तीन हजार रुपैयाँले बढेको जनाएको छ । महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुनको मूल्यको मूल्य २ लाख ३५ हजार रुपैयाँ कायम थियो । यस्तै, आज चाँदीको मूल्य पनि ४० रुपैयाँले बढेको छ । महासंघले आज चाँदी प्रतितोला तीन हजार १२५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।
झापा: झापाको दमक नगरपालिका–५ धनेश्वर मन्दिरको पूर्वपट्टि गेटनजिक बेवारिसे अवस्थामा ३०३ वटा राइफल फेला परेको छ। स्थानीयवासीले आज बिहान राइफल फेलापरेको जानकारी इलाका प्रहरी कार्यालय दमकमा गराएका हुन्। स्थानीयको खबरपछि प्रहरी निरीक्षक नवीन राईको कमाण्डमा खटिएको टोली घटनास्थल पुगेको थियो। झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार फेला परेका ती हतियार गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा कार्यालयबाट लुटिएका ३०३ थान राइफल म्यागजिनसहित भएको पुष्टि गरे। उक्त हतियार आवश्यक कानुनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ।
डोटी: डोटीमा आज बिहान गाडी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । घटनामा २१ जना घाइते भएका छन् । अछामबाट धनगढीतर्फ गइरहेको सुपप्र०१००१ ख ३९५६ नम्बरको गाडी भीमदत्त राजमार्गको जोरायल गाउँपालिका– २ मा दुर्घटना अछामको मंगलसेन नगरपालिकाकी २२ वर्षीय हरिना परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेको प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । गाडी अनियन्त्रित भई सडकबाट १०० मिटर तल खसेको थियो । तीव्र गतिमा रहेकाले गाडी अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ भने प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौं: संघीय राजधानी काठमाडौँलाई बाग्मती, मधेश र कोशी प्रदेशका जिल्लालाई जोड्ने बिपी राजमार्ग शुक्रबार दिउँसोबाट सञ्चालनमा आएको छ । असोज १७, १८ र १९ गतेको लगातार भएको वर्षा सँगैको बाढी पहिरोबाट राजमार्गको काभ्रे र सिन्धुलीको विभिन्न १३ ठाउँमा क्षति पुगेको करिब चार किलोमिटर सडकलाई अस्थायी रुपमा मर्मत गरी एकतर्फी रुपमा सञ्चालन गरिएको छ । सडक दुईतर्फी रुपमा भने आइतबारबाट सञ्चालनमा आउने संघीय सडक सुपरीपेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख शुभराज न्यौपानेले जानकारी दिनुभयो । अवरुद्ध भएको सडक खुलाउन रोशीखोलमा डाइसर्भन निर्माण, बगरलाई मिलाउने र खाल्डा पुरिएको छ । क्षति पुगेको सडक सोमबारबाट मर्मत सुरु गरिएको थियो । बाढीपहिरोले काभ्रेको चौकीडाँडामा सडकलाई सबैभन्दा बढी क्षति पुर्याएको थियो । काभ्रेको कटुञ्जे, चारसयबेंसी, चिउरीबास, मङ्गलटार, कालढुङ्गा, पिप्ले (माथिल्लो), पिप्ले (तल्लो), मान्ती (माथिल्लो) र मान्तीमा सडक क्षति पुगेको थियो । यसैगरी, सिन्धुलीको बालुवा, आँपघारी र नेपालथोक ९झोलुङ्गे पुल०मा सडक क्षति पुगेको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बिहीबार बिहान चौकीडाँडा क्षेत्रको अनुगमन गरी सडक मर्मतको जानकारी लिनुभएको थियो । उहाँले उपकरण तथा जनशक्ति थप गर्न र बत्तिको व्यवस्था गरी राति पनि काम गर्न निर्देशन दिनुभएको थियो ।
काठमाडौं: सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै असोज २३ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो । मन्त्रिपरिषद् बैठकले भदौ २३ र २४ गतेको आन्दोलनको क्रममा भएको सार्वजनिक संरचनाको क्षतिको पुनस्निर्माण र मर्मत सम्भार, क्षतिबाट प्रभावितको लागि राहत तथा आर्थिक पुनःउत्थान र सार्वजनिक सेवा सुचारु गर्न, प्रतिनिधि सभाको निर्वाचन गर्न तथा यस आर्थिक वर्षमा भएका विपदबाट उत्पन्न विशेष परिस्थितिको लागि आवश्यक पर्ने रकम व्यवस्थापन गर्न चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमभित्रको आयोजनाका लागि रकमान्तर गरी बजेट थप गर्नुपर्ने भएमा त्यस्तो आयोजनामा रकमान्तरको सीमा कायम नहुने गरी रकमान्तर गर्नेसम्बन्धी आदेश जारी गर्ने निर्णय गरेको छ। नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षकहरु सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ, डम्बरबहादुर विश्वकर्मालाई नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गरी क्रमशः प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग, कार्य विभाग, प्रशासन विभाग र प्रदेश समन्वय विभागमा पदस्थापना गर्ने निर्णय बैठकले गरेको छ । यस्तै, सरकारले तीन महिना अवधिको लागि इलाम जिल्लालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने भएको छ ।

