तनहुँ:  मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ ।  दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार ले...

काठमाडौं:  अनलाइन न्यूज पोर्टल दर्ता तथा नवीकरण अब पुरानै व्यवस्थाअनुसार सूचना तथा प्रसारण विभागबाट गर्ने व्यवस्था सरकारले गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आजको मन्त्रिपरिषद बैठकबाट सो निर्णय भएको जानकारी दिनुभयो ।  प्रधानमन्त्री सुशीला कार्कीको सम्बोधन लगत्तै पत्रकारमाझ निर्णय सार्वजनिक गर्नुहुँदै मन्त्री खरेलले सो जानकारी गराउनुभएको हो ।  त्यसैगरी सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई तोक्ने निर्णय पनि मन्त्रिपरिषदबाट भएको उहाँले जानकारी दिनुभयो । सरकारले सुरक्षण मुद्रण नियमावली २०८२ लाई स्वीकृत गर्ने निर्णय भएको छ । मन्त्री खरेलले मन्त्रिपरिषदको बाँकी निर्णय शुक्रबार ३ बजे मन्त्रालयमा पत्रकार सम्मेलन गरी जानकारी गराउने बताउनुभयो । प्रधानमन्त्रीको सम्बोधनअघि सिंहदरबारमा मन्त्रिपरिषद बैठक बसेको थियो । 

चितवन:  नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत तुईन खोलामा पहिरोमा फसेका यात्रुहलाई लक्षित गर्दै निःशुल्क बस सेवा थालिएको छ । नेपाल प्रहरीले विगत दुई दिनदेखि पहिरोबाट रोकिएका यात्रुहलाई लक्षित गर्दै निःशुल्क बस सेवा सुरु गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार मङ्गलबारदेखि पहिरोले रोकिएका यात्रुहरुलाई  बस सेवा सुरु गरिएको हो । प्रहरी स्कुल शान्तिपुरका दुईवटा बसले निःशुल्क सेवा दिइरहेको उहाँले जानकारी दिनुभयो । तनहुँतर्फको बाटो हुँदै पाँच किलोको पुलसम्म आएका यात्रुहरुलाई लक्षित गरेर बससेवा सञ्चालनमा ल्याइएको हो । उहाँले भन्नुभयो,“पहिरोका कारण हिँड्दै आएका यात्रुलाई भरतपुरसम्मका लागि निःशुल्क बससेवा सञ्चालनमा ल्याएका हौँ।”  पहिरोका कारण लामो समयसम्म सडक खुल्ने सम्भावना नभएपछि अलपत्र परेका वा हिँड्दै आएका यात्रुलाई निःशुल्क बसको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । पाँच किलोमा यात्रु जम्मा भएपछि प्रहरीले खबर गरेर बस पठाउने गरेको छ । सुरुको दिन पहिरो खसेको स्थानबाटै यात्रुहरु ल्याइएको भए पनि आजदेखि पाँचकिलोबाट यात्रुलाई ल्याउन थालिएको हो। सडक अवरुद्ध भएपछि यात्रुहरूले पैदल हिँडेर वैकल्पिक मार्ग अपनाउनुपरेको छ ।  पहिरो समय समयमा खसेकाले पन्छाउन कठिन भएको हो । शुक्रबारसम्ममा पहिरो पन्छ्याइ सक्ने अनुमान गरिएको छ । गत शुक्रबार खसेको पहिरो पन्छ्याएर सडक सञ्चालनमा ल्याइएको भए पनि पुन मङ्गलबार पहिरो खसेर सडक अवरुद्ध भएको छ । आज पनि बिहानैदेखि पहिरो पन्छ्याउने काम भइरहेको छ ।

गुल्मी:   गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ ।  मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारूले जानकारी दिए ।   उनका अनुसार चट्याङ लागेर नेरसिंह र सुन्तली विक घाइते भएका छन् । घरमा सुतिरहेको अवस्थामा परेको चट्याङ लागेर नेरसिंहको छाती र पेटमा नीलडाम लागेको छ भने श्रीमती सुन्तलीको पेट र दायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । घाइते दम्पतीलाई प्रारम्भिक उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लगिए पनि उपचार हुन नसकेपछि थप उपचारका लागि जिल्ला अस्पताल प्युठान पठाइएको सारुले बताए । घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी निरीक्षक रेवन्त वलीको नेतृत्वमा टोली आज बिहानै घटनास्थल पुगिसकेको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बस्ने र साँझ ६ बजे प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यतालिका तय भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। ‘जेनजी’ आन्दोलनपछि गठित अन्तरिम सरकारको नेतृत्व गरेकी प्रधानमन्त्री कार्कीले पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्न लागेकी हुन्। गत भदौ २७ गते पूर्व प्रधानन्यायाधीश कार्की प्रधानमन्त्री पदमा नियुक्त भएकी हुन्। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको जगमा अन्तरिम सरकार गठन भएको थियो। प्रधानमन्त्री कार्की नेतृत्वको अन्तरिम सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी फागुन २१ गते निर्वाचनको घोषणा गरेको छ। उनको नेतृत्वको वर्तमान सरकारको प्राथमिक कार्यभार छ महिना अर्थात् फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने रहेको छ।

कञ्चनपुर:  प्यालेस्टिनी लडाकु समूह हमासको कब्जामा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइको पहलका लागि आमा पदमा र बहिनी पुष्पा जोशी बुधबार साँझ अमेरिका प्रस्थान गर्नुभएको छ । दाइ विपिनको सकुशल रिहाइका लागि अन्तरराष्ट्रिय दबाब बढाउनका लागि आमालाई लिएर अमेरिका जाने कार्यक्रम तय भएको बहिनी पुष्पाले जानकारी दिनुभयो ।  “यसअघि इजरायल गएझैँ अन्तर्राष्ट्रिय मञ्चमा दाइको सकुशल रिहाइका लागि यसपटक अमेरिका जान लागेका हौँ” उहाँले भन्नुभयो, “दाइको रिहाइको विषय अन्तर्राष्ट्रिय विषय भएकाले अन्य देशका नागरिकलाई पनि यसमा आवाज उठाउन विनम्र अनुरोध गर्छु ।” विपिनको रिहाइका लागि यसअघि इजरायल सरकारले आमा पदमा र बहिनी पुष्पालाई इजरायल लगेको थियो । यसपटक पनि इजरायलले नै संयुक्त राष्ट्रसङ्घसम्म पुगाउने तयारीका साथ अमेरिका जान सहयोग गरेको जनाइएको छ ।    गत शनिबार हमासले नियन्त्रणमा रहेका विपिन जोशीसहित ४८ जना बन्धकको ‘बिदाइ तस्बिर’ भन्दै सार्वजनिक गरेको थियो । विपिनको परिवारले इजरायले आक्रमण बढाएपछि दबाब सिर्जना गर्न उक्त तस्बिर सार्वजनिक गरिएको हुनसक्ने आशङ्का गरेको छ । “सरकारले कतारलगायतका देशसँग पहल गरिदिए रिहाइ हुन्थ्यो कि भन्ने लाग्छ”, विपिनका बुबा महानन्द जोशीले भन्नुभयो, “विपिन फर्किन्छन् कि भनेर आशामै दुई वर्ष बित्यो । अब छोराको सकुशल रिहाइका लागि सरकारले थप पहल गरोस् ।” सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिनसहित अन्य नेपाली विद्यार्थी हमासको आक्रमणमा परेका थिए । आक्रमणमा परी १० नेपाली विद्यार्थीको ज्यान गएको थियो ।

काठमाडौं:  राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन संशोधन गर्न बनेको अध्यादेश जारी गर्नुभएको छ ।  राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार बुधबार राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गर्नुभएको हो ।  सरकारले फागुन २१ गते चुनावको घोषणा गरेसँगै नयाँ मतदाताको नाम सङ्कलनको बाटो खुला गर्न मतदाता नमावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश राष्ट्रपतिसमक्ष पेश गरेको थियो ।  निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार आयोगले नयाँ मतदाता सङ्कलनका लागि कार्ययोजना बनाएर लागू गर्नेछ ।  सोही योजना अनुसार कुन मितिबाट सुरु गरेर कहिलेसम्म सङ्कलन गर्ने भन्ने मिति तय हुनेछ । २०८२ फागुन २० गते १८ वर्ष उमेर पुगेका मतदाताले फागुन २१ मा हुने निर्वाचनमा मतदान गर्न पाउनेछन् । 

काठमाडौं:  राष्ट्रपति रामचन्द्र पौडेल र अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ।  राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा समसामयीक राजनीति, फागुन् २१ म तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी तथा सुरक्षा अवस्थाका बारेमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

काठमाडौं:  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले केहि दिनको लागि अनावश्यक फोन र मेसेज नगर्न आग्रह गरेका छन् ।  उनले सामाजिक सञ्जालमार्फत भनेका छन्– अस्तिदेखि मोबाइलमा, मेसेन्जरमा र ह्वाट्सअपमा हजारौँ कल र मेसेज आई रहेका छन्। म मन्त्रालयमा एउटा गतिलो र सृजनशील टिम बनाउन व्यस्त छु। त्यसैले केहि दिनको लागि अनावश्यक फोन नगर्न र मेसेज नपठाउनु होला।  सोमबार मन्त्री नियुक्त भएका पुन मंगलबारदेखि कार्यकक्षमै शयन कक्ष तयार पारेर काममा जुटेका छन् ।  

काठमाडौं:  गत भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनका कारण मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार जल्यो । न्यायको मन्दिर मानिने सर्वोच्च अदालतको भवन आगोमा दन्कियो । ऐतिहासिक धरोहरका रुपमा रहेको राष्ट्रपति कार्यालय शीतल निवासमाथि आक्रमण भयो, आगजनी गरियो । चीन सरकारको सहयोगमा निर्माण गरिएको र सङ्घीय संसद्ले प्रयोग गरेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पनि आगजनी गरियो । सरकारी संरचना, निजी क्षेत्रका उद्योग प्रतिष्ठानमाथि आक्रमण र आगजनी गरियो । राजनीतिक नेतृत्वका घर तथा आवास पनि उसैगरी आक्रमण र आगजनीको शिकार भए । आन्दोलनकारीले सवारीसाधनमाथि आगो झोसे । लुटपाट भयो । ठुलो क्षतिका बिच सरकारी र निजी क्षेत्र क्रमशः लयमा फर्कने प्रयासमा छ । नयाँ सोच, नयाँ विश्वास र भरोसाका साथ उभिने प्रण सबैले गरेका छन् । सरकारले यी सबै विषयमा अनुसन्धान गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा छानबिन आयोग गठन गरिसकेको छ । सो आयोगले सत्यतथ्य सार्वजनिक गर्ने नै छ । मुलुकको आर्थिक क्षेत्रमा झण्डै ८१ प्रतिशत योगदान गर्ने र रोजगारीमा ८६ प्रतिशत योगदान प्रदान गर्दै आएको निजी क्षेत्रमाथि पनि आन्दोलनका क्रममा आक्रमण भयो । नेपाल उद्योग वाणिज्य महासङ्घलगायतका निजी संस्थाले क्षतिको विवरण सङ्कलन गरिरहेका छन् । यद्यपि, प्रारम्भिक विवरण भने सार्वजनिक गरेको छ । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालका अनुसार हालसम्म उपलब्ध तथ्याङ्क र सूचनाअनुसार निजी क्षेत्रको मात्रै करिब रु ८० अर्ब बराबरको क्षति भएको छ । अध्यक्ष ढकाल निजी सबैभन्दा ठुलो रोजगारदाता भए पनि हरेक आन्दोलनमा निजी क्षेत्र निशानामा पर्नु गम्भीर विषय भएको बताउनुहुन्छ । आन्दोलनका क्रममा निजी क्षेत्रमाथि आक्रमण हुनुले निजी क्षेत्रको महत्व बुझ्न र बुझाउन नसकिएको उहाँको बुझाइ छ । सरकारले छोटो समयमा नै निजी क्षेत्रको धारणाअनुसार राहतका प्याकेज घोषणा गरेर निजी क्षेत्रको मनोबल उकास्ने काम गरेको र यसलाई महासङ्घले सकारात्मक रुपमा लिएको उहाँको भनाइ छ । देशभर चेन निर्माण गरेर व्यापारमा विविधिकरण गर्दै आएको भाटभटेनी सुपरमार्केटमाथि आक्रमण भयो । भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङले रु १० अर्ब ८५ करोड बराबरको क्षति भएको प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा विवरण दिनुभएको छ । सो व्यापारिक प्रतिष्ठानको १२ वटा स्टोर पूर्णरुपमा जलाइएको र नौ वटामा आशिंक क्षति पुगेको छ । कूल २८ स्टोरमध्ये १६ वटा भने पुनःसञ्चालनमा आइसकेको छ । भाटभटेनीले नेपालीको सबैभन्दा ठुलो चाड दसैँको अवसरमा स्टोर बन्द भएकै कारण कुनै पनि कर्मचारीलाई सेवाबाट नहटाउने यसअघि नै स्पष्ट पारिसकेको छ । दसैँ भत्तासमेत दिने उसको घोषणा छ । “रोजगारी कोही कसैको पनि जाँदैन, तलब भत्ता पनि रोकिदैन”, गुरुङले भन्नुभएको छ । भाटभटेनीका स्टोरमा राखिएका रु पाँच अर्ब ९६ करोड तीन लाख ६७ हजार पाँच सय ९३ बराबरको सामग्री पूर्णरुपमा जलेका छन् । यस्तै, झण्डै ५० करोड बराबरको सामग्री तोडफोड र लुटपाट भएको छ ।   त्यस्तै, दूरसञ्चार सेवा प्रदायक एनसेलको लैनचौरस्थित मुख्य कार्यालयमा राखिएका दुई दर्जनभन्दा बढी सवारीमा गत भदौ २४ गते आगजनी गरिएको जनाएको छ । मुख्य कार्यालयको पहिलो तल्ला आगजनीका कारण क्षतिग्रस्त छ । १०औँ तल्लासम्म लुटपाट भएको छ । कर्मचारीका व्यक्तिगत सामानसमेत हराएका छन् । लैनचौरका साथै एनसेलको पोखरा, धनगढी र कञ्चनपुरको महेन्द्रनगरको कार्यालयमा तोडफोड र अगजनी गरिएको छ । सो कम्पनीका करिब चार सय कर्मचारीले हाल घरैबाट सेवा दिइरहेका छन् । आगजनी र लुटपाटमा बाबजूत सो कम्पनीले तीन दिनसम्म आफ्ना सबै सेवा निःशुल्क दिएको थियो । नेपाल टेलिकमले जस्तै भ्वाइस, इन्टरनेट र एसएमएस निःशुल्क प्रदान गरेको सो कम्पनीले जनाएको छ । एनसेलको सिमकार्ड बिक्री गर्नेदेखि त्यससँग जोडिएका झण्डै एक लाख बढीले रोजगारी पाएका छन् । मुलुकमा रोजगारी दिनेदेखि आर्थिक क्रियाकलापमा सहयोग गर्ने सङ्घ संस्था, उद्योग प्रतिष्ठानमाथि भएको आक्रमणले निजी क्षेत्र तस्त्र अवस्थामा रहेको महासङ्घले जनाएको छ । होटल एशोसिएशन अफ नेपाल  (हान) का अनुसार जेनजी आन्दोलनका क्रममा होटल क्षेत्रमा मात्रै झण्डै रु २५ अर्ब बराबरको क्षति पुगेको छ । काठमाडौँमा रहेको अन्तरराष्ट्रिय चेन होटल हिल्टनको मात्रै रु आठ अर्ब बराबरको क्षति भएको छ ।  राजनीतिक व्यक्ति जोडिएको भन्ने हल्ला चलाएर दाङको माला इन, मोरङको नेपालीरिका होटलमाथि आक्रमण भएको सम्वद्ध पक्षले जनाएका छन् । यसैगरी पोखराको सरोवर होटल, बगैँचा रिसोर्ट, गुडबिल होटल, अशुंभरा होटलमाथि आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको छ । यस्तै, काठमाडौँको वर्णवास होटल पनि आक्रमणको शिकार भएको छ । व्यवसायी विनोद चौधरीको गुर्जुधारामा रहेको सिजी पार्कमा आगजनी र तोडफोड भएको छ । त्यहाँ राखिएका सामान लुटपाट भएको छ । चौधरीको निवासमा पनि आक्रमण र आगजनी गरिएको विवरण सार्वजनिक भएको छ । चौधरी समूहमा मात्रै करिब पाँच अर्बको क्षति पुगेको प्रारम्भिक आकलन छ । महासङ्घका अध्यक्षसमेत रहनुभएका ढकाल सम्वद्ध चन्द्रागिरि केवलकारको बेस स्टेशनमा लुटपाट र तोडफोड भएको छ । आगजनीका कारण केवलकार बन्द छ । मौलाकालिका केवलकारमा ठूलो क्षति पुगेको छ । चन्द्रागिरिको केवलकार मर्मतपछि तत्कालै सञ्चालनमा ल्याउन सकिए पनि मौलाकालिकाको सञ्चालन भने अनिश्चित रहेको ढकालको भनाइ छ । ढकालको आइएमई समूहले सातै प्रदेशमा केवलकार निर्माण गर्ने योजना अगाडि सारेको छ । सोही क्रममा पूर्वको पाथीभरामा केवलकार निर्माणका लागि स्थापना गरिएको कार्यालयमा आक्रमण र तोडफोड भएको जनाइएको छ । यस्तै, काठमाडौँको थापाथली, पानीपोखरी, नक्साललगायतका स्थानका गाडी शोरुममा आगजनीका कारण ठूलो धनमालको क्षति भएको छ । विभिन्न प्रदर्शनी तथा मेला आयोजना गरेर अटो व्यवसायमा नयाँ उभार आइरहेको बेला जेनजी आन्दोलनका नाममा भएको आगजनी र तोडफोडले ठूलो क्षति पुगेको व्यवसायीहरुको भनाइ छ । सरकारले यसबिचमा के गर्‍यो जेनजीको प्रदर्शनका क्रममा भएको सार्वजनिक सम्पत्तिको क्षतिको मूल्याङ्कनका निम्ति राष्ट्रिय योजना आयोगको सचिवालयको नेतृत्वमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, विषयगत मन्त्रालय र जेनजीका प्रतिनिधिसहितको समितिले ४५ दिनभित्र क्षतिको मूल्याङ्कनको प्रतिवेदन सरकारलाई प्रस्तुत गर्ने निर्णय गरेको छ । आगजनी तथा तोडफोडबाट सिंहदरबारस्भित्र क्षति भएका भौतिक संरचना, सवारीसाधन, मेसिनरी औजारलगायतको मिनाहा गर्ने र लिलाम बिक्री गर्ने सरकारले निर्णय गरिसकेको छ । जेनजी प्रदर्शनको क्रममा सृजना भएको असामान्य परिस्थितिबाट प्रभावित उद्योग, व्यापारिक तथा व्यावसायिक प्रतिष्ठान र आर्थिक गतिविधिलाई तत्काल सञ्चालन गर्नको निमित्त नेपाल सरकार, नेपाल राष्ट्र बैंक र बिमा कम्पनीहरूले विभिन्न किसिमका राहत सुविधाका कार्यक्रम सुरु गर्ने निर्णय भएको भएको अर्थमन्त्री डा रामेश्वर खनालले जानकारी दिनुभयो । क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि आयात गरिने सामग्रीमा लाग्ने भन्सारमा ५० प्रतिशतसम्म छुट दिने प्रबन्ध गरिएको छ । बिमाबाट अग्रीम रुपमा क्षतिको ५० प्रतिशतसम्म दिनुपर्ने गरी व्यवस्था मिलायएको छ । त्यसैगरी सरकारले आन्दोलनबाट प्रभावित उद्योग र व्यवसायीले तिर्नुपर्ने ऋणको म्याद सार्नुपर्ने निणर्य गरेको छ । जसले कर्जा लिएर भुक्तानी गर्न सक्नेछन् । यस्तै, सहुलियतपूर्ण कर्जा र जसले कर्जा लिएर भुक्तानी गर्न नसक्नेका लागि राष्ट्रियस्तरमा खडा हुने पुनर्निर्माण कोषबाट प्रदान गरिनेछ । त्यस्तै, सरकारले पुनर्निर्माणका लागि पुनर्निर्माण कोण खडा गर्ने निर्णय गरिसकेको छ । कोषमा नेपालभित्र र नेपाल बाहिरबाट नेपालीले इच्छाअनुसार योगदान गर्न पाउने छन् । अर्थमन्त्री खनालका अनुसार बैंक तथा वित्तीय संस्था र औद्योगिक प्रतिष्ठानले कम्पनीहरूले सामाजिक उत्तरदायित्वअन्तर्गतको रकम राख्न पाउने र त्यस्तो रकममा करकट्टी गर्न पाउनेछन् । यस्तै, प्रधानमन्त्री सुशीला कार्कीले निजी क्षेत्रलाई कठिन परिस्थितिबाट दृढताका साथ उठ्न आह्वान गर्दै सरकार पूर्ण साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यही असोज ५ गते निजी क्षेत्रका प्रतिनिधिहरुसँग भएको छलफलमा प्रधानमन्त्री कार्कीले हालैको जेनजी प्रदर्शनका क्रममा व्यापारिक प्रतिष्ठान तथा उद्योगमा ठूलो क्षति पुगेको भन्दै राज्य र निजी क्षेत्र दुवैलाई साझा चुनौती आएको बताउनुभएको थियो । सरकारले अर्थतन्त्रका सुधारका लागि छिट्टै सुधारात्मक प्याकेज घोषणा गर्ने तयारी गरेको छ । बिमा दाबी २२ अर्ब २५ करोड जेनजी पुस्ताको आन्दोलनका क्रममा भएका क्षतिको बिमा दाबी रु २२ अर्ब २५ करोड ६५ लाख बराबर पुगेको छ । नेपाल बिमा प्राधिकरणका अनुसार बिमा दाबी सबैभन्दा बढी बागमती प्रदेशमा रहेको छ । बागमती प्रदेशमा रु १७ अर्ब ९७ करोड ७२ लाख बराबरको बिमा दाबी परेको छ । कूल एक हजार तीन सय ४३ वटा दाबीको आवेदन परेको प्राधिकरणले जनाएको छ । माइक्रो इन्स्योरेन्स कम्पनीसहित कूल १८ वटा बिमा कम्पनीमा दुई हजार चार सय ७८ वटा बिमा दाबीको आवेदन हो । ठूलो मात्रामा भौतिक सम्पत्तिको क्षति भएकाले दाबीको मात्रा अझै बढ्न सक्ने देखिएको छ । यो निजी क्षेत्रको क्षतिको मात्रै दाबी हो । सरकारी संरचनाको भने बिमा नभएका कारण दाबी भुक्तानी हुन सक्दैन । प्राधिकरणले उपलब्ध गराएको विवरणअनुसार, दिन ओरियन्टल इन्स्योरेन्स कम्पनीमा मात्रै रु पाँच अर्ब २२ करोड ९८ लाख बराबरको दाबीको आवेदन परेको छ । यस्तै, सिद्धार्थ इन्स्योरेन्समा रु पाँच अर्ब आठ करोड २८ लाख बराबरको आवेदन प्राप्त भएको छ । सम्पत्ति बिमाको पाँच सय ३८, मोटर बिमा एक हजार सात सय ७८, इञ्जिनियरिङ तथा ठेकेदार जोखिमका एक सय ३२, परिवहन बिमा ११ र अन्य बीमाका १९ वटा आवेदन प्राप्त भएको जनाइएको छ ।