काठमाडौं: नेपाल राष्ट्र बैंकले आजदेखि एकसय रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ। साविककै आकार तथा रंगमा एकसय रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा ल्याउन लागिएको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले आज सूचना जारी गरि एकसय दरको नयाँ नोट चलनचल्तीमा ल्याउन लागिएको जानकारी दिएको हो। चलनचल्तीमा ल्याउन लागिएका नयाँ नोटको अग्रभागको बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप, नोटको मध्य भागमा नेपालको नक्सा रहेको छ। त्यसैगरि नयाँ नोटमा तत्कालीन गर्भनर महाप्रसाद अधिकारीको दस्तखत रहेको छ। नयाँ नोट दृष्टिविहीन अनुकूलको रहेको छ। दृष्टिविहीनहरूले छामेरै थाहा पाउनेगरि नयाँ नोट डिजाइन गरिएको राष्ट्र बैंकले जनाएको छ।
काठमाडौं: अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सचिवालय सङ्ख्या घटाउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयद्वारा जारी विज्ञप्तिमा २० सदस्यीय सचिवालयबाट प्रधानमन्त्री कार्कीले १४ जनालाई हटाउनुभएको हो । यससँगै अब उहाँको सचिवालय ६ सदस्यीय भएको छ । ‘‘प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ (एघारौं संशोधन २०८१) बमोजिम प्रधानमन्त्रीको सचिवालयमा विभिन्न पदका कुल ६६ जनाको दरबन्दी कायम भएपनि अनि जरुरी पदमा मात्र नियुक्ति गरी जम्मा २० जनाको मात्र सचिवालय बनाएर मितव्ययी ढङ्गले कामकाज हुँदै आएको थियो ।’’ विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्री कार्यालयका सहसचिव हेमराज अर्यालले यी ६ जना पहिले नियुक्त व्यक्ति नै भएको जानकारी दिनुभयो । अब कार्कीको सचिवालयमा प्रमुख स्वकीय सचिव, मुख्य सल्लाहकार, जनसम्पर्क सल्लाहकार, प्रेस संयोजक, स्वकीय शाखा अधिकृत ९फोटोग्राफर० र जनस्वास्थ्य विज्ञ मात्र रहने छन् ।
सुनसरी: कोशी टप्पु वन्यजन्तु आरक्षमा रहेकी शोभाकली हात्तीले आफ्नो सातौँ सन्तान जन्माएकी छन्। आरक्षका प्रमुख एवं वरिष्ठ संरक्षण अधिकृत भुपेन्द्रप्रसाद यादवका अनुसार शोभाकलीले गत कात्तिक ३० गते आइतबार राति १०ः३० बजे स्वस्थ (छावा) जन्माएकी हुन्। जन्मपछि आमा र छावा दुवैको स्वास्थ्य सामान्य रहेको जनाउँदै उनले चिकित्सक तथा मउते टोलीको निगरानीमा राखिएको जानकारी दिए। छावाको जन्म भएको ११औँ दिन नवजात हात्तीको औपचारिक रूपमा नामकरण कार्यक्रम आयोजना गरिएको आरक्षका प्रमुख यादवले जानकारी दिए। उनले आरक्ष कर्मचारी तथा स्थानीय समुदायको सहभागितामा आयोजित समारोहमार्फत छावाको नाम ‘भुपेन्द्र गज’ राखिएको बताए। ‘शोभाकली करिब दुई दशकदेखि आरक्षमा कार्यरत अभिमुखी हात्तीमध्ये एक हुन्। उनलाई मुख्यतः गस्ती, वन्यजन्तु अनुगमन, तथा अत्यावश्यक उद्धार कार्यमा प्रयोग गरिन्छ’, प्रमुख यादवले भने। यो जन्मसँगै शोभाकलीबाट जन्मिएका छावाको सङ्ख्या सात पुगेको छ। आरक्षका अनुसार उनका अधिकांश सन्तान अहिले पनि विभिन्न संरक्षण क्षेत्र तथा हात्ती प्रजनन केन्द्रमा स्वस्थ रूपमा पालनपोषणमा छन्। नवजात भुपेन्द्र गज हाल प्रतिदिन औसत १०–१२ लिटर दूध सेवन गरिरहेको जनाउँदै उनले जन्मेको तेस्रो दिनदेखि आमा पछ्याउँदै हिँड्न थालेको माहुतेहरूले जनाएका बताए। कोशी टप्पु वन्यजन्तु आरक्ष १७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। हात्ती, गैँडा, हरिण, निलगाईलगायत ४५० भन्दा बढी प्रजातिका चराको महत्वपूर्ण आवासस्थल मानिन्छ। आरक्षभित्र कार्यरत हात्तीले सीमावर्ती क्षेत्रको निगरानी तथा अवैध सिकार नियन्त्रणमा ठूलो योगदान पुर्याउँदै आएको आरक्ष कार्यालयले जनाएको छ।
काठमाडौं: निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने अवधि मंसिर १४ गतेसम्म थप गर्ने निर्णय गरेको छ । आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने कार्यमा देखिएको सेवाग्राहीको चाप र विभिन्न राजनीतिक दल लगायतका सरोकारवालाबाट प्राप्त अनुरोधलाई मध्यनजर गर्दै आयोगको बुधबार बसेको बैठकले सो निर्णय गरेको छ । एक सय ६ दल दर्ता यसअघि आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि मङ्सिर १ देखि मंसिर १० गतेसम्मको अवधि तोकेको थियो । उहाँका अनुसार आयोगमा फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बुधबार अन्तिम दिनसम्म एक सय ६ वटा दलबाट निवेदन प्राप्त भएको छ । यसैगरी, २०८२ साल माघ ११ गते सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिन चाहने दलहरुले सो निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने अवधि मङ्सिरर १ देखि ७ गतेसम्म तोकिएकोमा उक्त अवधिमा १३ वटा दलबाट निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न निवेदन प्राप्त भएको आयोगले जनाएको छ ।
पोखरा: गण्डकी प्रदेशका युवालाई आत्मनिर्भर, उद्यमशील र व्यावसायिक रूपमा सशक्त बनाउन लक्षित ३ महिनाको (३९० कार्यघण्टा) विभिन्न सीपमूलक तालिम कार्यक्रमहरूको आज औपचारिक रूपमा उद्घाटन गरिएको छ । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले कार्यक्रमको उद्घाटन गर्दै युवालाई सीपमार्फत रोजगारी, व्यवसायिक अवसर र आत्मविश्वास जोड्ने यो पहल ऐतिहासिक बन्ने विश्वास व्यक्त गरे । मन्त्री थापाले भने, “सीप सिकेर सानो कोही हुँदैन, सम्मानसाथ सिक्न आवश्यक छ। श्रमको सम्मान गर्दै नेपालमै बसेर उद्यमी बन्न सबैलाई आग्रह गर्दछु ।” उनका अनुसार तालिम लिएर उद्यम सुरु गर्न चाहनेका लागि प्रदेश सरकारले सीड मनी का लागि बजेट व्यवस्था गरेको छ। बैंकसँग समन्वय गरेर ५० प्रतिशत प्रदेश सरकार र ५० प्रतिशत लगानीकर्ताद्वारा उद्यम स्थापना गर्न सकिने भन्दै सरकारले प्रशिक्षार्थीको अवस्थाको निरन्तर अनुगमन गर्ने पनि उनले बताए । कार्यक्रममा गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठानका प्रमुख डा। सोमनाथ सापकोटाले सीपको बढ्दो महत्व र व्यवसायिक शिक्षाको आवश्यकतामाथि जोड दिए । उनले भने, “सीप विकासको तालिम ब्रान्ड बन्दै गएको छ । सरकारले गरेको लगानी सदुपयोग गर्न प्रशिक्षार्थीहरू जिम्मेवार हुनुपर्छ।” व्यावसायिक तथा सीप विकास तालिम केन्द्र कास्कीका प्रमुख अनिल सुवेदीका अनुसार अहिले १३ शीर्षकमा तालिम संचालन हुनेछ । १ हजार ३ सय ५५ जनाले फाराम भरेका मध्ये २९९ जनालाई यसपटक छनोट गरिएको छ । प्रशिक्षार्थीलाई दैनिक ७५ रुपैयाँ खाजा खर्च उपलब्ध गराइने र दैनिक ५ घण्टा तालिम सञ्चालन हुने जानकारी उनले दिए। यसपटक प्रदान गर्न लागिएका तालिमहरूमा कुक, कपाल काट्ने (सैलुन), आधारभूत केश–शृंगार (ब्युटी पार्लर), विद्युत जडान, प्लम्बिङ, मोबाइल मर्मत, आधारभूत कम्प्युटर, कटाइ–सिलाइ, बुटिक डिजाइन, मोटरसाइकल मर्मत, अटोमोबाइल, मन्टेस्वरी शिक्षा लगायतका सीप समावेश छन् । कार्यक्रममा प्रशिक्षार्थी, स्थानीय प्रतिनिधि, संस्थाका पदाधिकारी तथा सरोकारवालाहरूको सक्रिय उपस्थिति रहेको व्यावसायिक तथा सीप विकास तालिम केन्द्रले जनाएको छ। गण्डकी प्रदेश सरकारले युवाको क्षमता विकास, रोजगारी सृजना र उद्यमशीलता प्रवद्र्धनलाई आगामी दिनमा अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता समेत जनाएको छ।
चितवन: आगामी पुस १ गतेदेखि बाघ गणना थालिने भएको छ । पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना गर्न लागिएको हो। तीन महिना लगाएर बाघ गणना गर्न लागिएको हो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार पुस, माघ र फागुन गरी तीन महिना लगाएर बाघ गणना गर्न लागिएको हो । उनी अनुसार सुरुमा चितवन र पर्सालाई एउटा कम्प्लेक्स बनाएर यहाँबाट गणना थालिने छ । यो कम्प्लेक्समा तीन वटा ब्लक रहने छन्। ती ब्लकभित्र दुई वर्गकिलोमिटर क्षेत्रमा एक जोडी क्यामेरा जडान गरीने छ । यसलाई ग्रीड भनिन्छ । यसमा क्यामेरा १५ रात राखेपछि अर्को ग्रीडमा सारिने छ । दोस्रो कम्प्लेक्स बाँके र बर्दीया राष्ट्रिय निकुञ्जलाई बनाईएको छ। त्यहाँ भित्र पनि तीन वटा ब्लक हुने छन् । तेस्रो कम्प्लेक्स शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र लालझण्डी हुने र यो एउटै ब्लक बनाइने उनले जानकारी दिए। निकुञ्ज विभागले सरकारी निकाय र दातृ निकायहरुसँग भएका एक हजार १०० क्यामेरा गणनामा प्रयोग गर्न लागेको आचार्यले जानकारी दिए। क्यामेरा पुरानै प्रयोग गरिने भएकाले गणनामा रु दुई करोड ५० लाख हाराहारी खर्च हुने अनुमान छ । सरकारी र दातृ निकायहरुको सहयोगमा गणना गर्न लागिएको हो। यसअघि, सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३३५ वटा वयस्क बाघ रहेको तथ्याङ्क सार्वजनिक भएको थियो । सो गणनामा चितवनमा १२८, बर्दिया निकुञ्जमा १२५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ भेटिएको थियो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्तका अनुसार बाघ गणना गर्दा बाघ बढी ओहोरदोहोर गर्ने स्थानमा स्वचालित क्यामेराहरु राखिने छ। ती क्यामेराले बाघको फोटो खिच्ने गर्दछ। बाघहरुको फोटो हेरेर तिनीहरुको शरीरमा भएका पाटाका आधारमा सङ्ख्या छुट्याइने उनले जानकारी दिइन् । हरेक बाघको पाटा फरक–फरक हुने गर्दछन्। बाघ गणना सम्पन्न भए पछि गैँडा गणना गर्ने तयारी छ। गत वर्ष गैँडा गणना गर्ने कार्यक्रम बजेट अभावका कारण रोकिएको थियो।
काठमाडौं: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने समय आज सकिँदै छ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि यही मंसिर १ देखि आज (मंसिर १० गते) सम्मको समय दिएको थियो । आयोगका अनुसार मङ्गलबारसम्म नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टीलगायत ८० वटा दलले निर्वाचनका लागि दल दर्ता गरेका छन् । निर्वाचन आयोगमा पुराना र नयाँ गरी १३५ दल दर्ता भएका छन् । यसमध्ये निर्वाचन प्रयोजनका लागि दर्ता भएका दलले मात्रै आगामी फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन पाउने छन् । आयोगले निर्वाचन प्रयोजनका लागि दर्ता भएका दलहरूको मंसिर ११ देखि १८ गतेसम्म छानबिन र रुजु गरी मंसिर २० गते स्वीकृत भएका दलहरूको नामावली प्रकाशन गर्नेछ ।
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले उमेर हदका कारण बुधबारबाट अवकाश पाउन लाग्नुभएका नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याललाई बिदाइ गर्नुभएको छ । मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एक समारोहबिच अर्याललाई बिदाइ गर्नुभएको हो। बिदाइका क्रममा प्रधानमन्त्री कार्कीले अहिलेसम्म गर्नुभएको सहयोगका लागि धन्यवाद दिनुभयो । उहाँले धन्यवाद ज्ञापन गर्दै आगामी जीवन सुखमय रहोस् भनी कामना गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
काठमाडौं: सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मंगलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् । मन्त्री खरेलले मन्त्रिपरिषद्का १४ निर्णय एकसाथ सार्वजनिक गरेका हुन् ।

