काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चार जना नवनियुक्त मन्त्रीहरुले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपतिको कार्यालय शीतल निवासमा दिउँसो ३ बजे आयोजित विशेष कार्यक्रममा उहाँहरुले शपथ ग्रहण गर्नुभएको हो । नवनियुक्त मन्त्रीहरुमा महावीर पुन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, अनिलकुमार सिन्हाले उद्योग वाणिज्य, आपूर्ति तथा भूमिसुधार, मदन परियार कृषि तथा पशुपन्छी विकास, जगदीश खरेलले सञ्चार तथा सूचना प्रविधिमन्त्रीको शपथ लिनुभयो । प्रधानमन्त्री सुशीला कार्कीले चार जना मन्त्रीको नाम राष्ट्रपति कार्यालयमा सिफारिस गर्नुभएको थियो । स्वास्थ्यमन्त्रीमा डा। सङ्गीता कौशल मिश्राको नाम यसअघि सिफारिस भए पनि अन्तिममा आएर उहाँको नाम रोकिएको छ । उहाँले आज शपथ खान पाउनुभएन । शपथ कार्यक्रममा उपराष्ट्रपति रामसहायक प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतसहित सरकारका उच्च पदस्थ कर्मचारी, सुरक्षाकर्मी तथा व्यक्तित्वहरुको सहभागिता थियो । कानुन व्यवसायी पृष्ठभूमि रहेका मन्त्री सिन्हा सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुनुहुन्छ । त्यस्तै दुर्गम क्षेत्रमा ताररहित इन्टरनेट सेवा विस्तार गरी विश्वमै ख्याति कमाउनुभएका मन्त्री पुन राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख हुनुहुन्छ । यसैगरी मन्त्री परियार कृषि विज्ञ हुनुहुन्छ । मन्त्री खरेल वरिष्ठ पत्रकार हुनुहुन्छ । वर्तमान मन्त्रिपरिषद्मा यसअघि गत भदौ ३० गते रामेश्वर खनाल अर्थ, कुलमान घिसिङ ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास, ओमप्रकाश अर्याल गृह मन्त्रालयको जिम्मेवारीमा हुनुहुन्छ । बाँकी मन्त्रालयको कार्यभार प्रधानमन्त्री कार्कीले नै सम्हाल्नुभएको छ । ‘जेनजी’ समूहको आन्दोलन र त्यसपछि उत्पन्न विषम परिस्थितिकाबिच राष्ट्रपति पौडेलले पूर्व प्रधानन्यायाधीश कार्कीलाई भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।
चितवन: मुग्लिन-नारायणगढ सडक खण्ड आज दिउँसो दुई घण्टा बन्द हुने भएको छ। चितवनको इच्छाकामनास्थित तुइनखोला पुल नजिकै पहिरो खसेर अवरुद्ध भएको सडकलाई दुईतर्फी गर्ने उद्देश्यले सोमबार दिउँसो एक बजेदेखि तीन बजेसम्म सवारी आवागमन रोक्न लागिएको हो। सडक डिभिजन कार्यालय भरतपुरले केहीबेरअघि सूचना जारी गर्दै हाल एकतर्फी गाडी गुडिरहेको सडकमा दुईतर्फी नै गाडी सञ्चालन गर्ने उद्देश्यले दुई घण्टा सवारी रोक्न लागिएको जनाएको छ। ‘मुग्लिन नारायणगढ सडक खण्डको तुइन खोला पुल नजिकै हाल सडक एकतर्फी संचालनमा रहेको छ। पहिरो पूर्ण रूपमा हटाएर उक्त सडक दुईतर्फि संचालनमा ल्याउनको लागि जिल्ला प्रशासन कार्यालय चितवनको निर्णय अनुसार आज दिउँसो १ बजेदेखि ३ बजेसम्म सवारीसाधनहरू रोकि बाँकी रहेको पहिरो हटाउने कार्य सुचारू गरिने व्यहोरा सम्पूर्णलाई जानकारी गराइन्छ। उक्त अवधिभर रोकिने सवारीसाधनहरू आफ्नो लेन अनुशासनमा रहनुहुन अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ। दुई दिनसम्म पूर्णरुपमा अवरुद्ध रहेको नारायणगढ(मुग्लिन सडकको पहिरो हटाएपछि आइतबार साँझदेखि एकतर्फी गाडी चलेका थिए। तर, तुइन खोलामा गएराति पुनःपहिरो खस्दा सडक अवरुद्ध भएको थियो। त्यो पहिरो पनि हटाएपछि आज बिहानबाट फेरि यो सडकमा एकतर्फी गाडी चलेका थिए। अब दुईतर्फी नै गाडी चलाउने उद्देश्यले सडकको सबै पहिरो हटाउन लागिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।
पर्वत: गत शनिबार रातिको भीषण वर्षाका कारण बस्तीभन्दा तलदेखि पहिरो जाँदा यहाँको फलेवास नगरपालिका–८ ठानामौला खाल्टेका छ घर पूर्ण रूपमा भत्किएका छन् । त्यसैगरी १० घर उच्च जोखिममा छन् । स्थानीय मीनबहादुर नेपाली, नन्दकुमारी भण्डारी, डिलबहादुर गुरुङ, अस्मिता सार्की, लक्ष्मी परियार र अर्को एक रित्तो घर र गोठ पूर्ण रूपमा भत्किएको सो वडाका वडा अध्यक्ष मनबहादुर कुँवरले जानकारी दिनुभयो । कुनै मानविय तथा पशुचौपायाको क्षति भने भएको छैन । जमिन चिरा पर्न थालेपछि र पशुचौपायासहित पहिल्यै सुरक्षित ठाउँमा सर्न भ्याएकाले क्षति हुन नपाएको हो । बस्तीभन्दा तल रहेको खोल्साबाट केही वर्षदेखि पहिरो बग्दै गाउँसम्म पुगेको हो । विस्थापित घरपरिवारलाई नजिकैको जनज्योति माध्यमिक विद्यालयको खेल मैदानमा टेन्ट टाँगेर राखिएको जिल्ला प्रहरीका प्रहरी नायब उपरिक्षक रबिन विष्टले जानकारी दिनुभयो । जिल्ला स्थित विपद् व्यवस्थापन समितिका टोली, फलेवास नगरपालिकाका नगरप्रमुख गङ्गाधार तिवारी, उपप्रमुख शोभा क्षेत्रीलगायतका स्थानीय जनप्रतिनिधिले सो स्थानको स्थलगत निरीक्षण गरेका छन् । उनीहरुले विस्थापित परिवारलाई अस्थाई वसोवासका लागि पाँचवटा टेन्ट उपलब्ध गराएको सो नगरका नगरप्रमुख गङ्गाधर तिवारीले जानकारी दिनुभयो । विस्थापित परिवारलाई पुनःस्थापना गर्न र सुरक्षित स्थानमा आवास निर्माणका लागि जिल्ला विपद् व्यवस्थापन समितिमार्फत पहल गरिने उहाँले बताउनुभयो ।
चितवन: गएरातभर बन्द गरिएको मुग्लिन–नारायणगढ सडकको यातायात सोमबार बिहान ५ बजेदेखि एकतर्फी सञ्चालन हुन थालेको छ । इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा पहिरो खस्ने क्रम नरोकिएकाले गएराति ९ बजेदेखि आज बिहान ५ बजेसम्म गाडी चलाउन रोक लगाइएको थियो । पहिरोका कारण शुक्रबार साँझदेखि बन्द रहेको सडक आइतबार दिउँसो मात्रै एकतर्फी सञ्चालनमा आएको थियो । आइतबार साँझ ८ बजे पुनः पहिरो खसेपछि अवरुद्ध भएको सडक सोमबार बिहानबाट सञ्चालन भएको हो । राति झरेको पहिरो पन्छ्याएपछि सडक सञ्चालन भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतिक सिंहले जानकारी दिए। यो सडकखण्डमा सवारीसाधनको धेरै चाप रहेका कारण आफ्नो लेन प्रयोग गरेर मात्र यात्रा गर्न प्रहरी निरीक्षक सिंहले अनुरोध गरेका छन् । दुई दिनदेखि सडकमा अलपत्र परेका यात्रु गन्तव्यमा जान थालेका छन् । यो सडकमा दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत हुने गर्दछन् । सडक दुईतर्फी सञ्चालन नहुञ्जेलसम्म यो सडक भएर यात्रा गर्नेहरूलाई वैकल्पिक बाटोको प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । तुइन खेला नजिक सुख्खा पहिरो खसेपछि लामो समयसम्म सडक अवरुद्ध भएको हो ।
काठमाडौं: प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडा दसैँ आज (सोमबार)देखि प्रारम्भ भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ । यस अवसरमा सोमबार काठमाडौंको हनुमानढोकास्थित दसैँ घरमा विधिवत् रुपमा जमरा राखिएको छ । आज बिहान ९ः१३ मिनेटको शुभसाइतमा दसैँ घरमा जमरा राखिएको हो । सो अवसरमा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मङ्गल धून बजाएका थिए भने बन्दुक पड्काएर बढाइँ गरिएको छ । दसैँको पहिलो दिन घटस्थापनको अवसरमा घरघरमा जमरा राख्ने प्रचलन छ । सोमबार बिहानै नित्यकर्म गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याएर गाईको गोबरले लिपपोत गरिएको कोठामा जमरा छर्ने गरिन्छ । घटस्थापना गर्दा पूजाकोठा वा दसैँ घरमा विधिपूर्वक दीप, कलश र गणेशको स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजाअर्चना गरिन्छ ।
काठमाडौं: प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडा दसैँ आज (सोमबार)देखि प्रारम्भ भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ । बडा दसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा पनि ग्रहण गरिन्छ । जमरामा जौ बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ । कुल परम्परा अनुसार कसैले अन्य अन्न पनि जौसितै रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिक औषधीका रूपमा समेत प्रयोग गरिन्छ । घटस्थापनाको साइत ९ः१३ बजे आजैका दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ । आज घटस्थापनाको साइत बिहान ९ः१३ बजे रहेको समितिले जनाएको छ । सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता अनुसार नै समितिले आजको दिनलाई घटस्थापना भनी निर्णय गरेको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले राससलाई जानकारी दिनुभयो । दुर्गा देवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक र महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकको रूपमा पूजा आराधना गर्ने वैदिककालदेखिको परम्परा छ । दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई वध गर्न लिएका नौवटा रुपको दुर्गा पक्षका अवसरमा बिशेष पूजा, आजा र आराधना गर्ने गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष पनि भनिन्छ । नौ दिन नौ दुर्गाको पूजा यो पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ । यिनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा भन्ने गरिन्छ । आसुरी एवम् राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रीय नियम छ । दुर्गा पूजा र दसैँ पर्व कुनै जात एवम् धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । दसैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ । दुर्गाको प्रतीकका रूपमा आजको दिनदेखि महानवमीसम्म प्रत्येक दिन छुट्टाछुुट्टै गरी नौवटी कन्याको पूजा समेत गर्ने गरिन्छ । यसरी पूजा गरिने कन्या दुई वर्ष ।माथिका हुनुपर्ने शास्त्रीय विधान छ । बडादसैँको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरूले दसैँ घर, कोत र शक्तिपीठमा बलिसहित विशष पूजा गर्छन् । नवरात्रभर दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवं स्तुतिको पाठ पारायण पनि गर्ने गरिन्छ । यस अवसरमा गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती, नाला भगवती र पलाञ्चोक भगवती लगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो समेत हुनेगर्छ । विजयादशमीको साइत असोज १६ गते बिहान ११ः५३ बजे नवरात्र भनेरसमेत चिनिने दसैँ नौ रात र दश दिनको हुने गरेकामा यस वर्ष १० रात र ११ दिनको हुन पुगेको छ । तिथिको घटबढका कारण यस्तो परेकाले यस्तो अवस्थामा खापेर पूजा र पाठ गरी देवीको आराधना गर्नुपर्ने तन्त्र विषयका पुस्तकमा लेखिएको समितिका पूर्वअध्यक्ष प्राश्रीकृष्ण अधिकारीले बताउनुभयो । आज विधिपूर्वक घर घरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई असोज १६ गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र फूललप्रसाद ग्रहण गर्ने गरिन्छ । असोज १६ गते देवी विसर्जनको साइत बिहान ९ः२३ बजे रहेको समितिले जनाएको छ । टीकाप्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने ११स्५३ बजेको साइत उत्तम छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमामा अखिल बलि पूर्ति नभएसम्म देवीको प्रसाद लगाउने शास्त्रीय विधि छ । विजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ । पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बसी रात्रीमा जाग्राम रहेर पूजा लगाइ धन ऐश्वर्य प्राप्तिको कामना गर्ने गरिन्छ । यस दिन जाग्राम बस्ने मानिसलाई लक्ष्मीले धन धान्य दिई सम्पन्न बनाइदिने धार्मिक विश्वास छ । आजको दिन घटस्थापना गरेर राखेको जमरा कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा लगी विसर्जन गरिन्छ । हनुमानढोकाको दसैँ घरमा विशेष पूजा परम्पराअनुसार काठमाडौँको हनुमानढोका दरबारमा रहेको दसैँ घरमा आजैदेखि वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरुपा दुर्गा देवीको पूजा आराधना सुरु हुन्छ । आज बिहान वैदिक विधिपूर्वक समितिले दिएको साइतमा घटस्थापना गरिने हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख काजीमान प्याकुरेलले बताउनुभयो । दसैँघरमा घटस्थापनापछि दैनिक बलि दिई विधिपूर्वक पूजा आराधना गरिन्छ । महानवमीका दिन हनुमानढोकाको कोतमा ५४ बोका र ५४ राँगासहितको बलि दिइन्छ । रोजगारी, अध्ययन एवं अन्य काम विशेषले आफ्नो घर बाहिर रहेका मानिस दसैँको अवसर पारेर घर फर्कने र परिवारका साथ बसेर महान् पर्व मनाउँछन् । यसैले बडादसैँलाई पारिवारिक पुनर्मिलनको पर्वका रूपमा समेत लिइन्छ । धेरैजसो शैक्षिक संस्थाले दसैँका अवसरमा आजैदेखि बिदा दिने गरेका छन् ।
पोखरा: पोखरा पर्यटन परिषद्ले पर्यटन पुनउत्थानका लागि पहल गरिदिन गर्भनर डा.विश्वनाथ पौडेलसँग आग्रह गरेको छ । परिषद्का अध्यक्ष तारानाथ पहारी नेतृत्वको सात सदस्यीय टोलीले आज काठमाडौंमा गभर्नर पौडेललाई ध्यानाकर्षणपत्र बुझाउँदै पर्यटन पुनउत्थनानका लागि आवश्यक पहल गरिदिन आग्रह गरेको हो । टोलीमा अध्यक्ष पहारी सहित परिषद्का पूर्व अध्यक्ष टिकाराम सापकोटा, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने, रेवान पोखराका अध्यक्ष विश्वराज पौडेल, रेवान पोखराका पूर्व अध्यक्ष नरेशबहादुर भट्टराई, होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी र नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहाल सहभागी हुनुहुन्थ्यो । देशका युवाहरू विदेशिने क्रम बढिरहेको अवस्थामा स्वदेशमै केही गर्नुपर्छ भन्ने मुख्य उद्देश्यका साथ देशमा नयाँ पुस्ताले गरेको आन्दोलन, ल्याएको परिवर्तन र अठोटको उच्च सम्मान गर्दै ध्यानाकर्षणपत्रमा आन्दोलनका क्रममा अवान्छित व्यक्ति तथा स्वार्थ प्रेरित समुहको कारण भएको सरकारी तथा निजी सम्पती माथिको तोडफोड, आगजनी तथा लुटपाटका घटना प्रति दुःख व्यक्त गरिएको छ । “पर्यटन व्यवसायको मुख्य सिजनको शुरूवात हुनै लाग्दा भएको यस घटनावाट सबैभन्दा वढी असर यहाँका पर्यटन व्यवसायी तथा उद्योगीहरू माथी परेको छ”, ध्यानाकर्षणपत्रमा भनिएको छ, “राज्यको आर्थिक विकासको प्रमुख आधारको रूपमा रहेको पर्यटन उद्योगमा हालै भएको घटनाबाट हरेक दिन पर्यटकहरूले आफ्ना भ्रमण प्याकेजकहरू तथा बुकिङहरू क्यान्सिल गरिरहेको अवस्था छ ।” करिब सात खर्व भन्दा बढि लगानी भईसकेको नेपालको पर्यटकीय राजधानी शहर पोखराको पर्यटन उद्योग देशको वर्तमान परिस्थितीको कारण यतिवेला सुनसान जस्तै भएको परिषद्ले जानकारी गराएको छ । विगतका भुकम्प, कोभिड–१९ जस्ता महामारीको अवस्थामा पनि पर्यटन उद्योगको पुनउत्थानको लागी सबै तहका सरकारबाट विभिन्न प्याकेजहरू घोषणा गरिएको उल्लेख गर्दै परिषद्ले हालको बदलिदो परिस्थितीमा पनि पर्यटन उद्योगलाई पुनउत्थान गर्न आग्रह गरेको छ । आन्दोलनको क्रममा व्यवसायिक प्रतिष्ठानहरू माथी गरिएको तोडफोड, आगजनी तथा लुटपाटका क्रममा पर्यटन व्यवसायीहरूमा परेको क्षतिको समुचित क्षतिपूर्तिको व्यवस्था गरिदिन परिषद्ले अनुरोध गरेको छ । पर्यटन सिजनको शुरूवातमै भएको बुकिङ रद्दले शुन्यमै झरेको पर्यटन उद्योग हालको परिस्थिती एवम् आगामी पर्यटकीय याम फागुनमा घोषणा गरिएको निर्वाचनका कारण तथा विधमान राजनैतिक अस्थिरताले लामो समयसम्म पर्यटक आउने सम्भावना न्यून हुने निश्चित जस्तै भएको भन्दै परिषद्ले व्यावसायीहरूले लिएको बैंक कर्जा एवम् कर्जाको व्याज तथा किस्ता भुक्तानी गर्न आश्विन मसान्त, पौष मसान्त र चैत मसान्तसम्म पनि असम्भव नै भएकोले सो किस्ता व्याज तिर्ने म्याद कुनै शुल्क वा जरिवाना विना थप गरिनुपर्ने माग गरेको छ । आगामी ६ महिनासम्म पर्यटन आगमन हुने नदेखिएकोले व्यावसाय संचालनमा लागत अपरेटिङ कस्ट(Operating Cost) आवश्यक हुने हुदा छोटो समयको लागी भएपनि थप व्यवसाय सञ्चालन कर्जा उपलव्ध गराईदिनुपर्ने, पर्यटन उद्योेगलाई दिईने कर्जाको किस्ता तिर्ने अवधी कम्तीमा २५ बर्षको हुने गरि कर्जाको पुनसंरचना र पुनर्तालीकीकरण गरिनुपर्ने परिषदले माग गरेको छ । पर्यटन उद्योगको लागी लिएको कर्जामा रि फाइनान्सिङ(Re–financing) सुविधा उपलब्ध गराईदिनु पर्ने, साना तथा मझौला पर्यटन व्यवसायलाई पुनउत्थान गर्नका लागी बिगतमा व्यवस्था भए जस्तो पन्ध्रलाख रुपैयाँसम्म कम्तिमा पाँच बर्ष सम्मको लागी शुन्य व्याजदरमा व्यवसाय जीवनरक्षा कर्जा प्रदान गर्नुपर्ने आग्रह गरिएको छ । पर्यटन उद्योगमा प्रदान गरिएको कर्जाको व्याजदरलाई अझ न्यून सहुलियत दरमा प्रदान गरिनुपर्ने, पर्यटन उद्योग पनि अन्य उद्योग सरह मान्यता दिने व्यवस्थालाई प्रभावकारी कार्यान्वयन सम्बन्धमा चालु आर्थिक बर्षको बजेटमा घोषणा गरिएको तर पर्यटन व्यवसायलाई उद्योग सरहको सुविधा प्रदान गर्ने काम हालसम्म पनि कार्यान्वयनमा नआएको भन्दै यथाशीघ्र सोको कार्यान्वयन गरिनुपर्ने माग गरिएको छ । नेपालले उचित वातावरण वनाएमा विश्वमै प्रतिस्पर्धा गर्न सक्ने एकमात्र पर्यटन उद्योग भएको र यसले रोजगारी सिर्जना र बिदेशी मुद्रा आर्जन गरी समग्र आर्थिक विकास तथा सम्वृद्धि हासिल गर्न सवैभन्दा बढि योगदान पुु¥याएको उल्लेख गर्दै परिषद्ले यसको पुनउत्थान एवम् पुर्र्नजागरणका अपरिहार्य भएको जनाएको छ । टोलीले आजै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीसँग पनि भेट गरी पर्यटन क्षेत्रको पुनउत्थान लगायतका विषयमा छलफल गरेको परिषद्का अध्यक्ष पहारीले जानकारी दिनुुभयो ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । संघीय संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणको लागि पेश भएको उक्त विधेयक पौडेलले आज प्रमाणीकरण गरेको शीतल निवासले जनाएको छ ।
बैतडी: बैतडीमा अरिंगालले टोक्दा एक जनाको मृत्यु भएको छ। शिवनाथ गाउँपालिका-५ बिनपत्याका ४० वर्षीय लक्ष्मण दयालको अरिंगालको टोकाइबाट मृत्यु भएको हो। गएको भदौ २२ गते अरिंगालको टोकाइबाट गम्भीर घाइते भएका दयाललाई उपचारका लागि भदौ २३ गते सेती प्रादेशिक अस्पताल लगिएको थियो। अस्पतालमा उपचार सम्भव नभएपछि भदौ २७ गते उनलाई परिवारका सदस्यले घर लगेका थिए। उनको शनिबार मृत्यु भएको हो।

