म्याग्दी: बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले एक दशकको प्रतीक्षापछि आमाको नामबाट नागरिकता प्राप्त गर्नुभएको छ । जिल्ला प्रशासन कार्यालयले मङ्गलबार समिर र यास्मिनलाई आमा मनिरजा बेगमका नामबाट नागरिकता उपलब्ध गराएको हो । नागरिकताका लागि समीरले ११ वर्ष र यास्मिनले आठ वर्षअघि प्रशासनदेखि गृह मन्त्रालयसम्म सबै प्रक्रिया पूरा गरेर आवेदन पेस गर्नुभएको थियो । नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन तथा नियमावलीको चौथो संशोधनपछि समीर र यास्मिनलाई आमाका नामबाट नागरिकता प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताउनुभयो । समीर र यास्मिनका आमा मनिरजा नेपाली हुनुहुन्छ भने उहाँका श्रीमान् सलिम खान भारतको कलकत्ताका हुनुहुन्छ । ३४ वर्षअघि विवाह भए पनि मनिरजाले बेनीमा शृङ्गार व्यवसाय गर्दै आउनुभएको छ । श्रीमान् सलिमले भारतको नागरिकता त्यागिसक्नुभएको छ । उहाँले विसं २०५२ र २०६४ मा नेपालमा भएका निर्वाचनमा मतदानसमेत गरिसकेको बताउनुभयो । समीर र यास्मिनको साबिक अर्थुङ्गे गाविसमा जन्मदर्ता छ । दुवैले उच्च शिक्षा हासिल गरे पनि नागरिकता नपाएका कारण पेसा, व्यवसाय गर्न र जागिर खान तथा वैदेशिक रोजगारीमा जानबाट वञ्चित हुनुपरेको थियो । नागरिकता प्राप्त भएपछि बल्ल नागरिक भएको महसुस गरेको समीर र यास्मिनको प्रतिक्रिया छ । नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ राजपत्रमा प्रकाशन गरेसँगै नागरिकता ऐन २०६३ को व्यवस्था कार्यान्वयनमा आएको हो । यसअघि पुस २९ गते मालिका गाउँपालिका–५ देविस्थानकी २२ वर्षीया सीमा पुनलाई जिल्लामै पहिलोपटक आमाका नामबाट नागरिकता प्रदान गरिएको थियो ।
काठमाडौं: प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको नामावली आज प्रकाशन हुँदै छ । निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा हिजो उजुरी दिने कार्यतालिका थियो । उक्त उजुरीउपर जाँचबुझ एवं आवश्यक निर्णय गरी बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । उम्मेदवारी दिएका पाँच उम्मेदवारविरुद्ध उजुरी परेको छ । निर्वाचन आयोगका अनुसार, भक्तपुर, सुनसरी, रौतहट, कैलालीबाट उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध उजुरी परेको छ । माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको जनाइएको छ । आयोगमा अहिलेसम्म प्राप्त जानकारीअनुसार पुरुष ३०८९, महिला ३९६ र तेस्रो लिङ्गी एक गरी ३४८६ को उम्मेदवारी दर्ता भएको छ ।
काठमाडौं: अमेरिकाबाट ९० जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको अध्यागमन विभागले जनाएको छ । विभागका महानिर्देशक रामचन्द्र तिवारीले डिपोर्ट भएका ९० जना काठमाडौँ आइपुगिसकेको जानकारी दिए । अमेरिकाले चाटर्ड विमानमार्फत उनीहरुलाई काठमाडौँ ल्याएर छाडेको हो । विभागका महानिर्देशक तिवारीले यसरी अहिलेसम्म ४०० भन्दाबढी नेपाली अमेरिकाबाट डिपोर्ट भइसकेका बताए। डिपोर्ट हुनेहरु कागजात नभेटिएका, गैरकानुनी बसेका, अध्यागमन कानुन उल्लङ्घन गरेकालगायत रहेको विभागले जनाएको छ । उनीहरुमाथि अहिले प्रहरीको मानव बेचबिखन ब्युरोले अनुसन्धान गरिरहेको र बेचबिखनमा परेको भए उजुरी दिन ब्युरोले अनुरोध गरेको छ । आवश्यक अनुसन्धान पछि ब्युरोले परिवारको जिम्मा लगाउने जनाएको छ ।
काठमाडौं: प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा बसुधबार उजुरी दिन सकिने व्यवस्था गरिएको छ । निर्वाचन आयोगले तय गरेको समयसीमा अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ । उक्त उजुरीपछि यही माघ ८ गते बेलुका पाँच बजेसम्म मनोनयपत्र र उजुरी उपर जाँचबुझ एवम् आवश्यक निर्णय गरी अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । आयोगले माघ ९ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सक्ने व्यवस्था गरेको छ । सोही दिन दिउँसो १ देखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ देखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयन पत्र दर्ता कार्यक्रम सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक तथा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । आयोगका अनुसार हालसम्म दुई हजार ९२५ जनाको उम्मेदवारी परेको छ । उत्साहजनक र शान्तिपूर्ण रुपमा मनोनयन सम्पन्न भएकामा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले धन्यवाद व्यक्त गर्नुभएको छ । निर्वाचनका बाँकी कार्यक्रममा पनि राजनीतिक दल र सरोकारवाला सबैको सहयोग पाउनेमा उहाँले अपेक्षा व्यक्त गर्नुभएको आयोगले जनाएको छ । निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले दुई हजार ९२५ उम्मेदवारी परेको जानकारी दिनुभयो । उहाँका अनुसार त्यसमा महिला उम्मेदवार तीन सय ३६ र पुरुष दुई हजार पाँच सय ८९ जना रहेका छन् । यस्तै अपाङ्गता भएका व्यक्ति ८५ र पिछडिएको क्षेत्रका एक सय ३८ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।
पोखरा: फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी तय गरेका कास्कीमा क्रियाशील राजनीतिक दलहरू आज हुने प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ताका लागि तयारी गरेका छन् । तीनवटा निर्वाचन क्षेत्र रहेका जिल्लामा स्थापित निर्वाचन अधिकृतका कार्यालयहरूमा मनोनयनका लागि जम्मा भएर जान दलहरूले सार्वजनिक सूचना जारी गर्दै त्यसको तयारीमा जुटेका हुन् । उम्मेदवार छनोटका लागि सोमबार दिनभर नै आन्तरिक छलफल गरी दलहरूले उम्मेदवारी तय गरेका हुन् । दलहरूले कास्की क्षेत्र नं १ मा पशुपन्छी अनुसन्धान, विकास तथा परीक्षण केन्द्र रामघाटमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गर्नेछन् भने क्षेत्र नं २ का लागि सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाको कार्यालय ड्यामसाइडमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्नेछन् । त्यस्तै क्षेत्र नं ३ का लागि कृषि, भूमि व्यवस्था तथा सहकारी विकास मन्त्रालयमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता हुनेछ । उम्मेदवारी मनोनयन दर्ताका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । उनका अनुुसार दलहरूले उम्मेदवारी दर्ता गर्न आउने समयबारे पनि जानकारी गराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले आज १०.०० देखि ११.०० बजेसम्म, राष्ट्रिय प्रजातन्त्र पार्टीले दिउँसो १.०० बजे उम्मेदवारी दर्ता गर्न आउने जानकारी गराएको उनले बताए । नेकपा (एमाले)ले १.०० देखि २.०० बजेसम्म उम्मेदवारी दर्ताका लागि आउने जानकारी गराएको र अन्य दलबाट जानकारी आउने क्रममा रहेको उनले बताए । जिल्लामा निर्वाचनका लागि एक सय ५३ मतदानस्थल र तीन सय ६३ मतदान केन्द्र निर्धारण गरिएको छ । कास्कीका तीन निर्वाचन क्षेत्रमा कुल तीन लाख आठ हजार ५७२ जना मतदाता रहेका छन् । कास्की क्षेत्र नं १ मा एक लाख १६ हजार ८७८, क्षेत्र नं २ मा ८४ हजार १३४ मतदाता रहेका छन् । त्यस्तै, क्षेत्र नं ३ मा एक लाख सात हजार ५६० मतदाता रहेको सूचना अधिकारी न्यौपानेले जानकारी दिए ।
काठमाडौं: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ । निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवार दर्ताका लागि आवश्यक तयारी पूरा भइसकेको जनाएको हो । आयोगले उम्मेदवारी दर्ता गर्न जाँदा कुनै पनि तडकभडक नगर्न, शान्तपूर्वक र मर्यादित भएर निर्वाचन कार्यालय पुग्न सबै राजनीतिक दल तथा सम्बद्ध उम्मेदवारहरूलाई आग्रह गरेको छ । उम्मेदवार मनोनयन दर्ताका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि अनिवार्य रहेको छ । यस्तै, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पनि जरुरी छ । उम्मेदवारी दिँदा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहमा तथा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थाबाट पारिश्रमिक पाउने गरी बहाल रहेको भए त्यस्तो पदबाट राजीनामा दिएको निस्सा पनि आवश्यक पर्दछ । सम्बन्धित अनुसूचीबमोजिमका प्रतिनिधि मुकरर गरेको फाराम पनि आवश्यक पर्नेछ । प्रचलित कानुनबमोजिम योग्यता पुगेको व्यक्तिले मनोनयनपत्र दर्ता गर्दा वा गराउँदा प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम ८ बमोजिम सोही निर्वाचन क्षेत्रको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका एक जना प्रस्तावक र अर्को एक जना समर्थक भई विवरण भरी सहिछाप गरेको मनोनयन पत्र आवश्यक पर्नेछ । दलको तर्फबाट उम्मेदवारी दिएको भए उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्न अधिकार पाएको त्यस्तो दलको केन्द्रीय कार्यकारिणी समिति वा सोसरहको समितिको पदाधिकारीले प्रदान गरेको प्रतिनिधिसभा सदस्य उम्मेदवार मनोनयनको औपचारिक पत्र आवश्यक पर्नेछ । यस्तै, एकल चुनाव चिह्न लिई संयुक्त रूपमा निर्वाचनमा सहभागी दलहरूको हकमा प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को बमोजिमको उम्मेदवार मनोनयनको औपचारिक पत्र पनि उपलब्ध गराउनुपर्नेछ । प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारका लागि रु १० हजार सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा धरौटी जम्मा गरेको रसिद वा भौचर पनि आवश्यक पर्नेछ । महिला र दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुने व्यवस्था गरिएको छ । आर्थिक विपन्न भएकाको हकमा सम्बन्धित स्थानीय तहले आर्थिक रूपमा विपन्न भनी सिफारिस गरेको पत्र पनि जरुरी पर्ने आयोगले जनाएको छ । उम्मेदवार हुने व्यक्तिले प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ बमोजिमको स्वघोषणा पत्र पनि उपलब्ध गराउनुपर्नेछ । यस्तै, आफ्नो चल, अचल सम्पत्ति, बैंक तथा वित्तीय संस्थामा रहेको खाता, धितोपत्र सेयर, ऋणपत्र, कसैलाई ऋण दिएको वा लिएको भए त्यसको सम्पूर्ण विवरण उल्लेख गरी सिलबन्दी रूपमा पेस गरेको सम्पत्ति विवरण पनि उपलब्ध गराउनुपर्नेछ । वैयक्तिक विवरण फाराम भर्नुपर्नेछ । उम्मेदवार हुने व्यक्तिले आफू निर्वाचित, मनोनीत वा नियुक्त भएको निकायबाट कुनै पनि प्रकारको पेस्की लिएको भए सो पेस्की फर्छ्योट भएको ब्यहोराको निस्सा पनि उपलब्ध गराउनुपर्नेछ । लेखा परीक्षणबाट कुनै पनि उम्मेदवारका नाममा किटानी साथ असुल उपर गर्नुपर्ने भनी कायम भएको बेरुजु भए सो बेरुजु फर्छ्योट गरेको निस्सा पनि जरुरी पर्ने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले तामाङ समुदायको महान् पर्व ‘२८६२ औं सोनाम ल्होसार’ का अवसरमा शुभकामना प्रदान गर्नुभएको छ । सोमबार शुभकामना सन्देश जारी गर्दै भट्टले आपसी सद्भाव, प्रेम, भातृत्व, सहिष्णुता र एकताको पर्वको रुपमा लिइने सोनाम ल्होसारले नेपालको मौलिक संस्कृतिको संरक्षण तथा सम्बर्द्धनमा योगदान पुर्याएको उल्लेख गर्नुभएको छ । सोनाम ल्होसार पर्वले नेपाली–नेपालीबीच आपसी बन्धुत्वको भावना विकास गर्दै सामाजिक–सांस्कृतिक ऐक्यबद्धता, आर्थिक रुपले समृद्ध मुलुक निर्माण गर्नका लागि अघि बढ्न सबैलाई उर्जा प्रदान गरोस् भन्ने कामना पनि गर्नुभएको छ । सोनाम ल्होसार पर्व प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइन्छ । आजबाट सर्प वर्ष पूरा भई घोडा वर्ष सुरु भएको छ । ल्होसारका १२ वटै वर्ष पशुपन्छीका नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धानदाताको भनाई छ । मुलुकका विभिन्न स्थानमा बसोबास गर्ने तामाङका साथै ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिहरूले पनि आ–आफ्नै शैली र परम्परा अनुसार यस पर्व मनाउँदै आएको पाइन्छ । यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नुका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गर्ने गर्दछन् ।
पोखरा: तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम गरी मनाउँदै छन् । मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष सुरु भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ । पर्वका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी मनाउने जनाएको छ । यसैगरी नेपाल तामाङ घेदुङले यस पर्वका अवसरमा टुँडिखेलमा शनिबारदेखि तीन दिनसम्म विविध कार्यक्रम सुरु गरेको छ । यसैगरी राजधानीको स्वयम्भू क्षेत्रमा पनि विविध कार्यक्रम गरी सोनाम ल्होसार मनाउन लागिएको जनाइएको छ । करिब चार हजार ७०० वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ । नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्दछन् । यस अवसरमा आइतबारदेखि नै राजधानीको टुँडिखेलमा ल्होसार महोत्सव आयोजना गरिएको छ । महोत्सवअन्तर्गत तामाङ समुदायका ताम्बा, बोन्बो र लामाहरूको विशेष सांस्कृतिक झाँकी, परम्परागत गीत तथा नृत्य प्रस्तुत गरिनेछ । साथै राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा ख्याती प्राप्त कलाकारहरूको प्रस्तुति रहने मूल समारोह समितिले जनाएको छ ।
काठमाडौं: निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची सार्वजनिक गरेको छ । आइतबार आयोगले समानुपातिक उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरेको हो । सार्वजनिक भएको विवरणमा ५७ निर्वाचन चिह्नमा ६३ राजनीतिक दलबाट पेस भएका ३ हजार २१३ जना उम्मेदवारको बन्दसूची प्रकाशन गरिएको आयोगका प्रवक्ता रामप्रसाद भट्टराईले बताए ।

