म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन र १७३ दशमलव १४ मेगावाटका दुई वटा आयोजना निर्माणको प्रक्रियामा छन् । अन्नपूर्ण–४ का वडाध्यक्ष लोकबहादुुर पुनका अनुुसार पाँच मेगावाट क्षमताको घलेम्दी खोला, ४२ मेगावाट क्षमताको म्रिस्तीखोला, ३८ मेगावाट क्षमताको नीलगिरि–१, ७१ मेगावाट क्षमताको नीलगिरि–२ र छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना निर्माण सञ्चालनमा आइसकेका छन् । नारच्याङको सिमाना भएर बग्ने कालीगण्डकीमा ६६ दशमलव तीन मेगावाट क्षमतामध्य कालीगण्डकी जलविद्युुत् आयोजना निर्माणाधीन छ । नौ दशमलव १४ मेगावाट क्षमताको सुपर घलेम्दी जलविद्युत् आयोजना निर्माण सुरु गर्ने तयारी गरेको छ । कालीगण्डकी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको १६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको विद्युत्गृह नारच्याङमा बनाउन प्रस्ताव गरिएको वडाध्यक्ष पुनले जानकारी दिनुभयो । निर्माण भएका र निर्माणका क्रममा रहेका जलविद्युत् आयोजनाले नारच्याङको कायापलट भएको छ । भौतिक पूर्वाधार, सामाजिक, आर्थिक, कृषिलगायत समग्र विकासमा जलविद्युत् आयोजनाबाट महत्वपूर्ण योगदान भएको वडाध्यक्ष पुनले बताउनुभयो । “हामीले कल्पनासम्म नगरेको अक्करे भिर छिचोलेर गाडी गुडेका मात्र छैनन् घरघरमा रोजगारी र आम्दानीको अवसर सिर्जना भएको छ”, उहाँले भन्नुभयो, “अवसर र रोजगार खोज्दै सहरबजार, पसेका र विदेशिएकाहरु गाउँ फर्किन थालेका छन् । बसाइँसराइ रोकिएको छ ।” गाउँमै प्राविधिक विषयको विद्यालय सञ्चालन, स्वास्थ्य संस्थाको भवन बनेका छन् । जलविद्युत् आयोजनाले निर्माण गरेको सडक, बेलिब्रिज र भवनलगायत पूर्वाधारले स्थानीयवासीलाई सुविधा पुगेको छ । जग्गाको मुआब्जा, व्यापार, कृषि, पशुपालन, होटल, रेष्टुरेन्ट, ठेक्कापट्टा, ढुवानी, यातायात व्यवसाय, शेयर लगानी र ज्याला मजदुरीबाट गाउँलेको आर्थिक हैसियत फेरिएको स्थानीय अगुवा तेज गुरुङले बताउनुभयो । जलविद्युत् आयोजनाले सरकारलाई तिर्ने रोयल्टी ९सलामी दस्तुर०मध्ये सङ्घीयले ५०, प्रदेश र पालिकालाई २५र२५ प्रतिशतका दरले बाँडफाँट हुने संवैधानिक व्यवस्था छ । नारच्याङमा रहेको प्रभा मावीले हाइड्रो इञ्जिनियरिङ विषयको पठनपाठन सञ्चालन गरेको छ । म्रिस्तीखोला जलविद्युत् आयोजनाले विसं २०७१ कालीगण्डकी नदीमाथि बेलिब्रिज राखेपछि नारच्याङ सडक सञ्जालमा जोडिएको थियो । बेँसी र पटारको सिमानास्थित म्रिस्तीखोला र बाँधदेखि सुरुङमा जाने थप दुई वटा बेलिब्रिज बनाएको म्रिस्तीखोलाले फेदीसम्म १४ किलोमिटर सडक निर्माण गरेको छ । नीलगिरि खोला जलविद्युत् आयोजनाले छोटेपा हुुँदै हुुमखोलासम्म पहुँचमार्ग बनाएपछि सहज यातायात पहुँच भएपछि अन्नपूूर्ण आधार शिविर नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ । रेलेखोला जलविद्युत् आयोजना निर्माणस्थल जाने सडक निर्माण भएपछि नारच्याङको बेंसीदेखि लेकगाउँ सडक सञ्जालमा जोडिएको वडा सदस्य श्याम पुर्जाले बताउनुभयो । घलेम्दी र म्रिस्तीखोला जलविद्युत् आयोजनामा स्थानीयवासीले प्रभावित क्षेत्रको बासिन्दाका हिसाबले संस्थापक शेयर लगानी गरेका छन् । नीलगिरि पहिलो, दोस्रो र रेलेखोला जलविद्युत् आयोजनाको प्रवद्र्धकले शेयर निष्काशनको प्रक्रियामा छन् । कालीगण्डकी र आसपासका नदीमा निर्माण भएका र निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न नेपाल विद्युत् प्राधिकरणले नारच्याङको छिमेकी वडा दानामा सबस्टेशन बनाएको छ । विसं २०७७ मा निर्माण सकिएको २२० केभी क्षमताको सबस्टेशनबाट हाल घलेम्दी, म्रिस्ती र थापाखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय लाइनमा जोडिएका छन् । म्याग्दीको अन्नपूर्ण–३ दाना र पर्वतको कुश्मा–२ खुर्कोटमा सबस्टेशन र प्रसारण लाइन बनाएपछि कालीगण्डकी र आसपासका क्षेत्रमा जलविद्युत् आयोजना निर्माणमा लगानीकर्ताको सक्रियता बढेको नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वउपाध्यक्षसमेत रहनुभएका घलेम्दीखोलाका सञ्चालक प्रमोद श्रेष्ठले बताउनुभयो
गण्डकी: मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डमा ठाउँपिच्छे परेका खाल्डाखुल्डीका कारण यातायात सञ्चालनमा जोखिम बढेको छ । पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारीचालकलाई सास्ती भएको छ । कास्की र पर्वत खण्डको सडकमा खाल्डाखुल्डीको समस्या बढी रहेको पोखरा–बागलुङ चल्ने विद्युतीय माइक्रोका चालक डम्मर केसीले बताउनुभयो । “सहज र निर्वाध रूपले गाडी चलाउन सक्ने अवस्था अहिले छैन, ठाउँठाउँमा सडक भत्केको छ, कतै सडक नै भासिएको छ, कहीँ ठुल्ठूला खाल्डा परेका छन्”, उहाँले भन्नुभयो, “सवारीसधानको बढी चाप हुने मुख्य सडक नै बिग्रँदा दुर्घटनाको जोखिम पनि उत्तिकै छ ।” शीघ्र सडक मर्मत नगरे हिउँदमा धुलोको समस्या निम्तने केसीले बताउनुभयो । वर्षायाम सकिएलगत्तै सडक मर्मत गर्नुपर्नेमा अझै कामको सुरसार नदेखिएको उहाँको भनाइ छ । गत वर्षायाममा धेरै ठाउँमा सडक भत्केको र खाल्डाखुल्डी परेको सडक डिभिजन कार्यालय, पोखराका सबइन्जिनियर लोकेश पौडेलले बताउनुभयो । “यसपालि धेरै ठाउँमा सडक बिग्रेको छ, नियमित मर्मतसम्भारका लागि ठेक्का प्रक्रिया पनि टुङ्गिसकेको छ”, उहाँले भन्नुभयो, “कास्कीको फेदीदेखि नयाँपुल र नयाँपुलदेखि पर्वतको मालढुङ्गासम्म गरी दुई खण्डमा मर्मतसम्भारको काम हुन्छ ।” शिवालय निर्माण सेवाले मर्मतको ठेक्का पाएको उहाँले बताउनुभयो । निर्माण कम्पनीले दसैँ, तिहारअघि नै मर्मतसम्भारको काम सुरु गर्ने तयारी गरे पनि बीचमा भएको वर्षात्, चाडबाडको बिदा आदि कारणले केही ढिलाइ भएको सबइन्जिनियर पौडेलले बताउनुभयो । तत्काल मर्मतसम्भारको कामलाई गति दिनेगरी कार्यालययले आवश्यक पहल लिने उहाँको भनाइ छ । “मर्मतसम्भारका लागि बजेट कम हुने हुँदा सबै ठाउँको सडक बनाउन असम्भव देखिएको छ”, उहाँले भन्नुभयो, “बजेटले भ्याएसम्मको काम सयममै हुन्छ ।”
काठमाडौं: सरकारले जेन–जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमा आज बसेको बैठकले जेन(जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको हो । जेनजी आन्दोलनका क्रममा ७६ जनाको मृत्यु भएकामा ४५ जनालाई गृहमन्त्रालय र विभिन्न जिल्ला प्रसासन कार्यालयले छानविन र अनुसन्धान गरी पठाएको सिफारिसका आधारमा शहीद घोषणा गरिएको र थप अरु पनि अनुसन्धान र छानविनपछि निर्णय हुने सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री जगादीश खरेलले जानकारी दिनुभयो । त्यसैगरी, बैठकले बैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्याधिवक्ता घनश्याम ओझालाई तोक्ने निर्णय गरेको छ । त्यस्तै वेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप कोष सञ्चालन नियमावली २०८२ स्वीकृत गरेको छ । त्यसैगरी मन्त्रिपरिषदको बैठकले विपद् संकट ग्रस्त क्षेत्र घोषणा भएको इलाम जिल्ला प्रभावित स्थानीय तहहरुलाई सहयोग उपलब्ध गराउन आवश्यक रकम ५ करोड ३० लाख विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको मन्त्री खरेलले जानकारी दिनुभयो।
म्याग्दी: म्याग्दीको धवलागिरि गाउँपालिकाको वडा नं-२ र ३ का जलजला, मुना र मरेनी क्षेत्रमा थप सङ्कटापन्न रेडपाण्डा ९हाब्रे० भेटिएका छन्। यसका लागि सो क्षेत्रमा तीन ‘क्यामेरा’ जडान गरिएकामा दुईमा रेडपाण्डा भेटिएको हो। ‘एक महिनासम्म स्थलगत अध्ययनका क्रममा रेडपाण्डाको दिसा भेटिएपछि क्यामेरा ट्यापिङ गरिएको थियो’, जैविक विविधता संरक्षण समाज नेपालका कार्यक्रम अधिकृत पवन राईले उनले भने, ‘सो क्षेत्रमा छ देखि २५ वटासम्म रेडपाण्डाको बसोबास भएको हाम्रो अध्ययनबाट पुष्टि भएको छ।’ स्थानीयवासीसहित अनुसन्धानकर्ताको टोलीले धवलागिरिको खिवाङ, मुदी, अर्चे, दर, ताकम, बगर, सिम्कोश, इटली आधार शिविर, मरेनी, लुलाङ, गुर्जाखानी, गुर्जा देउराली क्षेत्रमा समेत रेडपाण्डा भएर नभएको स्थलगत अध्ययन गरेका थिए। स्थानीयवासीले विसं २०८० को असोजमा ढोरपाटन सिकार आरक्षको गुर्जाघाट र २०८१ को मङ्सिरमा मुनाको दहपातल सामुदायिक वनको बञ्चरेडाँडा क्षेत्रमा हाब्रे भेटिएको तस्बिर भिडियो सार्वजनिक गरेका थिए। विसं २०७३ मा विश्व वन्यजन्तु कोषको र हरियो वन कार्यक्रमको आर्थिक सहयोगमार्फत रेडपाण्डा नेटवर्क र हिमाली संरक्षण मञ्चका अनुसन्धानकर्ताले जलजला क्षेत्रमा पर्ने मरेनीमा रेडपाण्डाको दिसा भेट्टाएका थिए । अनुसन्धानकर्ता लरिसा गौतमले यस क्षेत्रमा रेडपाण्डा देखाउन पर्यटक भित्र्याएर समुदायमा आम्दानी र रोजगारीको अवसर सिर्जना गर्न सकिने जानकारी दिए। ‘पर्यटकीय राजधानी पोखरादेखि नजिकै पर्ने जलजला क्षेत्रमा रेडपाण्डासँगै हिमाल, मनमोहक पहाडी भूगोलको अवलोकन गर्न पाउनु रेडपाण्डा पाइने अन्य ठाउँको भन्दा फरक विशेषता छ’, उनले भने, ‘रेडपाण्डासँग जोडेर खेलकुद प्रतियोगिता , घरवास र पदमार्ग सञ्चालन गर्न सकिन्छ।’ डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद अधिकारीले गुर्जा, लुलाङ र मुनाको जङ्गलमा रहेका रेडपाण्डाको एकीन गणना नभए पनि प्रशस्तै रहेको अनुमान गरिएको जानकारी दिनुभयो । रातका समयमा रूखको टोड्कामा बास लिने र दिउँसोमा रूखका हाँगा बसी आराम गर्ने रेडपाण्डा भोक लागेको बेला निगालोको टुसालगायत झारपात खान भुईंमा झर्ने बताइएको छ। रेडपाण्डाका लागि आवश्यक आहारा निगालो तथा पालिङ्गो र टोट्का परेका रुख गूर्जा, लुलाङ र मुनाको जङ्गलमा पर्याप्त छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत रेडपाण्डालाई संरक्षितको सूचीमा राखिएको छ। रेडपाण्डाको चोरी सिकारमा संलग्नलाई एक वर्षदेखि १० वर्ष कैद र रु एक लाखदेखि पाँच लाखसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ । पछिल्लो अध्ययन अनुसार हाब्रेको सङ्ख्या नेपालमा पाँच सयदेखि एक हजार वटा रहेको अनुमान गरिएको छ । विश्वमा नेपाल, चीन, भारत, भुटान र म्यानमारमा मात्र हाब्रेको बासस्थान छ । अनुुसन्धानकर्ताका अनुसार नेपालमा एलुरेन्स फ्युजन्स जातको हाब्रे रहेको बताइएको छ। यसैबीच दातृ निकाय टोलेडोजुका आर्थिक सहयोगमा जैविक विविधता संरक्षण समाज नेपाल ९वायोकस० नेपालले रेडपाण्डाको बसोबास भएको धवलागिरि –२ र ३ मा पर्ने जलजला, मुना र मरेनी क्षेत्रमा संरक्षण कार्यक्रम लागू गरेको छ। समुद्री सतहबाट दुई हजार दुई सयदेखि चार हजार पाँच सय मिटरको उचाइमा बसोबास गर्ने रेडपाण्डालाई सरकारले सङ्टापन्न वन्यजन्तुको सूचीमा राखेको छ। जैविक विविधता संरक्षण समाज नेपालका अध्यक्ष लक्ष्मणप्रसाद पौडेलले डिभिजन वन कार्यालय, ढोरपाटन सिकार आरक्ष र सम्बद्ध स्थानीय तहसँग समन्वय गरेर समुदायस्तरमा रेडपाण्डा संरक्षणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जानकारी दिए। ‘चोरीसिकारी, डढेलो, सडक विस्तार र मानवीय गतिविधिका कारण रेडपाण्डाको सङ्ख्या वृद्धि र संरक्षणमा चुनौती देखिएको छ’, उनले भने, ‘समुदायस्तरमा रेडपाण्डाको महत्व बुझाएर संरक्षणको प्रयास गरेका हौं।’ जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, युवा क्लब, आमा समूह, सामुदायिक वन उपभोक्ता समूह, किसानलाई रेडपाण्डा संरक्षणमा परिचालन गरिने अध्यक्ष पौडेलले जानकारी दिए। ‘हेर्दा आकर्षक देखिने लज्जालु र अल्छी स्वभावको रेडपाण्डाको महत्व नबुझेर अनायासै मार्ने गरेको पाइन्छ’, उनले भने, ‘रेडपाण्डाको छाला महँगोमा बिक्री हुने भ्रमका कारण अनायासै चोरीशिकार गर्ने समस्या हटाउन सकेमा मात्रै पनि यसलाई जोगाउन सकिन्छ।’
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही १८ देखि २० गतेसम्म आयोजना हुने सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो । राष्ट्रपति पौडेललाई त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले बिदाई गर्नुभएको थियो । सो अवसरमा सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित विदेशी कूटनीतिक निकायका प्रतिनिधिलगायत उपस्थित हुनुहुन्थ्यो । राष्ट्रपति पौडेलको सम्मानमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो । राष्ट्रपति पौडेलले कात्तिक १८ गते सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्नुहुने कार्यसुची रहेको छ । सम्मेलनका क्रममा राष्ट्रपति पौडेलसँग कतारका अमिर र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलगायत विभिन्न विशिष्ट व्यक्तिहरूको भेटवार्ता हुनेछ । संयुक्त राष्ट्रसङ्घको निर्णयअनुसार यो दोस्रो सम्मेलन ३० वर्षपछि हुन लागेको हो । यसअघि पहिलो सम्मेलन सन् १९९५ मा डेनमार्कको कोपनहेगनमा भएको थियो । यसपटक कतारले सम्मेलन आयोजना गरेको हो । सम्मेलनमा वर्तमान विश्वले सामना गर्नुपरेका विकास असमानता, जनसङ्ख्यामा आएको असन्तुलन र प्रविधिका कारण समाजमा परेको प्रभावलगायत विषयमा विभिन्न कोणबाट गहन छलफल हुने बताइएको छ । सम्मेलनले सामाजिक विकासका लागि सहकार्य र सहयोगका विषयमा साझा प्रतिबद्धतासमेत जाहेर गर्नेछ । । राष्ट्रपति पौडेलसँग उहाँका धर्मपत्नी सविता पौडेल, सञ्चारविज्ञ किरणकुमार पोखरेल, राष्ट्रपति कार्यालयका सचिव तथा नेपाल सरकारका अन्य विशिष्ठ अधिकारी सहभागी हुनुहुन्छ । राष्ट्रपति पौडेल भ्रमण पूरा गरी यही कात्तिक २० गते स्वदेश फर्कनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
पोखरा: होटेल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आजदेखि पश्चिम नेपालमा तीन दिने जाउँ है बेगनास पोखरा कार्यक्रम आजदेखि सुरु भएको छ । पश्चिम नेपालका बुटबल, बर्दीया, सुर्खेत लगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध ३७ सदस्यीय प्रतिनिधिमण्डल प्रवद्धनात्मक टोलीलाई नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानले विदाइ गर्नुभएको थियो । टोलीले आजै बुटबलमा त्यहाँका पर्यटन व्यवसायीसँग छलफल एवम् अन्तरक्रिया गरेको छ । कार्यक्रममा होटेल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथका अध्यक्ष बीरभद्र कंडेलले आन्तरिक पर्यटनको प्रवद्र्धनसँगै पर्यटकीय साझेदारी बढाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । होटेल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथका सल्लाहकार एवम् पोखरा भ्रमण वर्ष २०२५ का सह संयोजक दामोदरभक्त थापाले लेखनाथ क्षेत्रमा रहेका रामसार सूचिमा सूचिकृत बेगनासताल, रुपाताल लगायतका सात ताल आँर्फैमा धेरै पर्यटकीय सम्भावना बोकेको बताउनुभयो । पोखरा सहित लेखनाथ क्षेत्रका पर्यटकीय गन्तव्यमा आउन उहाँले बुटबलका पर्यटन व्यवसायीसँग आग्रह गर्नुुभयो । पर्यटकीय साझेदारीका लागि आँफूहरू तयार रहेको उहाँको भनाइ छ । उक्त अवसरमा उहाँले बेगनास ताल सहित लेखनाथका तालहरूको परिचयात्मक भिडियो प्रस्तुत गर्नुभएको थियो । होटेल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथका अध्यक्ष कंडेलले पोखरा आएका पर्यटकलाई बुटबल पठाउने र बुटबल आएका पर्यटकलाई पोखरा पठाएर दुबै क्षेत्र लाभान्वित बन्ने धारणा राख्नुभयो । होटेल तथा रेष्टुरेन्ट एशोसिएसन रुपन्देहीका अध्यक्ष माधवकुमार खनालले पोखरासँग रुपन्देही पर्यटकीय साझेदारीका लागि तयार रहेको बताउँदै आँफूहरूले बुटवलमा आएका पर्यटकलाई पोखरा पठाउने गरेको बताउनुभयो । रुपन्देही गौतमबुद्धको जन्मस्थलसँगै धेरै ऐतिहासिक महत्वका स्थलहरूरहको उहाँले जानकारी दिनुभयो । पोखरा महानगरपालिकाका लेखा अधिकृत छविलाल शर्माले आपसी भाइचारासँगै साझेदारीमा जोड दिदै यसबाट दुबै गन्तव्यहरू लाभान्वित हुने बताउनुभयो । होटेल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथका महासचिव सुरेश लामिछानले तीन दिने प्रवद्र्धनात्मक कार्यक्रमका साथ आँफूहरू बर्दीया हुँदै सुर्खेतसम्म पुगी पर्यटन सम्बद्ध व्यवसायीसँग छलफल एवम् अन्तरक्रिया गरी पोखरा फर्कने कार्यक्रम रहेको जानकारी दिनुभयो । कार्यक्रममा बुटबल क्षेत्रमा कृयाशिल पर्यटन सम्बद्ध संघसंस्थाका प्रतिनिधि एवम् सञ्चारकर्मीको उपस्थिति थियो ।
गलकोट: निर्माण व्यवसायीको लापरबाहीका कारण बागलुङको मध्यपहाडी पुष्पलाल लोकमार्गको बिहुँखण्ड अलपत्र परेपछि स्थानीयले शीघ्र काम गर्नुपर्ने भन्दै सरोकार भएका निकायलाई ध्यानाकर्षण गराएका छन् । निमार्णाधीन सडक अलपत्र हुँदा आसपासका क्षेत्रमा ढुङ्गा, कङ्क्रिटका कारण खेतीपाती हुन छोडेको, सुन्तलाखेती नभएको र धुलोका कारण स्वास्थ्य बिग्रिएको बताउँदै स्थानीयले आज बागलुङका प्रमुख जिल्ला अधिकारीसमक्ष ध्यानाकर्षण पत्र बुझाएका हुन् । ध्यानाकर्षण पत्र बुझाउँदै उनीहरूले ठेकेदारले तत्कालै काम नगरे आगामी मङ्सिर १ गतेदेखि सडक बन्द गर्ने चेतावनी दिएका छन् । दुई वर्षमा कालोपत्र भइसक्ने लोकमार्गको बागलुङ खण्डअन्तर्गत २६ किलोमिटर नौ वर्षसम्म पनि १२ कालोपत्र हुन सकेको छैन । लोकमार्गको बागलुङ बजारबाट घोडाबाँधे खण्डको २६ किमी सडक कालोपत्रका लागि ठेक्का सम्झौता गरेको नौ वर्षसम्म पनि अलपत्र बनेको छ । बिहुँ खण्डको १३ किमी सडक पाँच पटक म्याद थप्दा कालोपत्र नभएपछि ठेक्का रद्द गरेर नयाँ सम्झौता गरिएको थियो । नयाँ ठेक्का सम्झौता गरेको एक वर्ष बित्दा भौतिक प्रगति १२ प्रतिशत मात्रै भएपछि स्थानीयले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएका हुन् । बागलुङको काठेखोला गाउँपालिका–५ र ६ का स्थानीयले आज प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई ध्यानाकर्षण गराउँदै तत्काल काम अघि बढाउन आग्रह गरिएको गराइएको स्थानीय भरतप्रसाद सापकोटाले बताए । लोकमार्ग आयोजना कार्यालय पर्वत र निर्माण व्यवसायीले स्थानीयको माग अटेर गरेका भन्दै समस्या समाधानका लागि आग्रह गरिएको उनको भनाइ छ । काठेखोला गाउँपालिका–५ का वडाध्यक्ष ज्ञामनाथ कँडेल र ६ का वडाध्यक्ष बृहस्पति कँडेलको नेतृत्वमा जिल्ला प्रशासन पुगेको स्थानीयको टोलीले मध्यपहाडी लोकमार्गको तत्कालै काम सुरु नभए आगामी मङ्सिर १ गतेदेखि बागलुङको बिहुँ खण्ड पूर्ण रूपमा बन्द गर्ने चेतावनी दिएका छन् । स्थानीयसहित पुगेको टोलीले सडक बन्दको चेतावनीसहित जिल्ला प्रशासन कार्यालयमा चारबुँदे ध्यानाकर्षण पत्र बुझाएको वडाध्यक्ष कँडेलले बताए । मङ्सिरसम्म जिल्ला प्रशासन कार्यालय, मध्यपहाडी लोकमार्ग र निर्माण व्यवसायीबीच बैठक बसेर काम अघि बढाउन पहल गर्ने प्रजिअ गुरुङले प्रतिबद्धता जनाए । मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड १४० किमीमध्ये सबै सडक कालोपत्र सकिँदा बिहुँ खण्डको १२ किमी अलपत्र बनेको हो । बिहुँ–घोडाबाँधे खण्डको १३ किमी सडक आठ वर्षमा पनि कालोपत्र नभएपछि ठेक्का तोडेर विसं २०८१ असार २१ गते दुई वर्षमा काम सक्नेगरी तामाङररिजाल भगवती जेभीसँग २१ करोड ४९ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । उक्त खण्डको हालसम्मको भौतिक प्रगति १२ प्रतिशत मात्रै भएकाले बिहुँवासीले चेतावनी दिएका खिमानन्द कँडेलले उल्लेख गरे ।
रुकुम पूर्व: रुकुम पूर्वको भुमे गाउँपालिका १ लुगुमको पञ्चासेमा अटो दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । हिजो बेलुका भुमे १ स्यावालस्थित मध्यपहाडी लोक मार्गको लुगुम(पाटी हाल्ने सडक खण्डमा लुगुमबाट बराहातालतर्फ जादै गरेको रा १ ह ६७९७ नम्बरको अटो अनियन्त्रित भई सडकदेखि करिब तीन सय मिटर तल खस्दा भुमे १ लुगुमकी ३० वर्षीया रेजिना घर्ती मगर, २५ वर्षीया फिसोल्टी घर्ती मगरको मृत्यु भएको हो । मृतक दुबै जना एकै घरका जेठानी÷देउरानी हुन् । अन्य ५ जना घाइते भएका छन । घाइते हुनेमा लुगुमकै वर्ष २६ कि प्रतीक्षा बुढामगर, उहाँको ११ महिनाको छोरा सुभम बुढामगर, २५ वर्षकी ब्युटी पुन मगर, उनकी छोरी २३ महिनाकी समृद्धि पुन मगर, लुगुमकै वर्ष ३ का सक्षम घर्ती मगर छन । घाइतेहरु सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वले जानकारी दिएको छ । अटो चालक भुमे १ का करिब २९ वर्षका जोते घर्ती मथर भने सम्पर्कमा नरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वका प्रहरी नायब उपरीक्षक उमाशंकर प्रसाद यादवले बताउनुभयो ।
मुस्ताङ: यहाँस्थित कागबेनी–कोरला सडक अन्तर्गत विभिन्न १० स्थानमा पहिरोले सडक अवरुद्ध भएको छ । बिहीबार रातिदेखि परेको निरन्तर वर्षाका कारण सो सडकका विभिन्न स्थानमा लेदोसहितको बाढीले सडक संरचनामा क्षति पुगेको हो । कोरला सडकको कागबेनीदेखि छुसाङ खण्डसम्मको सडकमार्गका प्रत्येक खोल्लाखोल्सीमा लेदोसहितको बाढीले सडक संरचना क्षतविक्षत भएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिनुभयो । उहाँले उपकरण प्रयोग गरी सडक खुलाउन पहल सुरु भए पनि तत्काल सडक सञ्चालन नहुने बताउनुभयो । उहाँका अनुसार ती स्थानमा सडक संरचना सहित वर्षाले सञ्चार सेवा समेत प्रभावित बनेको छ । कागबेनीदेखि वारागुङ मुक्तिक्षेत्र–३ स्थित चैलेसम्मको दूरीमा पर्ने दर्जनौैँ स्थानमा सडक माथिबाट लेदोसहितको पहिरो खसेर शुक्रबार बिहानदेखि नै सडक अवरुद्ध भएको थियो । राष्ट्रिय गौरवको कागबेनी–कोरला सडकखण्डअन्तर्गत कागबेनीदेखि ताङ्वेसम्मको दूरीमा लेदोसहितको बाढीले झन्डै ५० मिटर सडक भासिएर सडक संरचना पूरै ध्वस्त हुन पुगेको वारागुङ मुक्तिक्षेत्रका वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार कागबेनी–ताङ्वे सडकखण्डमा चार स्थानभन्दा बढी सडक अवरुद्ध छ । त्यसैगरी, कोरला सडकको ताङ्वेदेखि छुसाङखण्डमा विभिन्न स्थानमा अविरल वर्षाले सडक संरचनामा क्षति पुगेको बताइएको छ । ताङ्वेदेखि छुसाङ खण्डको ताङ्वे खोलामा लेदोसहितको बाढीले सडक संरचना पूरै बगाएको छ । यस्तै, वर्षाका कारण वारागुङ मुक्तिक्षेत्रस्थित मुस्ताङ गेडमाथिको चैलै सडकमा करिब ३५ मिटर बढी सडक पहिरोका कारण ध्वस्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिनुभयो । उहाँले उक्त सडकमा पर्खाल निर्माण गरी फिलिङ गरिएकामा पहिरोका कारण सडक भासिएर क्षति भएको बताउनुभयो । यसैबीच शनिबार प्रजिअ भुसालसहित सुरक्षाकर्मीको टोलीले वर्षाले अवरुद्ध कागबेनी–छुसाङ सडकखण्डको स्थलगत अवलोकन गरेको छ । यहाँको सडकलाई आवश्यक मर्मत गरी सडक खुलाउन तीनवटा उपकरण परिचालित गरिएको छ । यसैगरी , कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाले सडक सञ्चालनमा ल्याउन भएका स्रोतसाधन परिचालन गरिने बताएको छ । आयोजनाका अनुसार स्थानीय व्यक्तिको दुईवटा उपकरण र म्याग्दी खण्डमा एक लोडर सम्बन्धित स्थानमा पुगिसकेको जनाएको छ । कागबेनी–छुसाङ सडकखण्डको ठाउँठाउँमा सडक संरचना ध्वस्त भएका कारण तत्काल सडक सञ्चालन हुने अवस्था नरहेको वारागुङ–४ का वडाध्यक्ष कर्मा घ्याचो गुरुङले जानकारी दिनुभयो । शनिबारदेखि कोरला सडक मर्मत सुरु भए पनि धेरै ठाउँका सडकमा बाढीपहिरोले क्षति भएकाले सडक खुलाउन केही दिन लाग्ने उहाँले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय मुस्ताङले कागबेनी–कोरला सडक अवरुद्ध रहेकाले तत्काल त्यसतर्फ यात्रा नगर्न अनुरोध गरेको छ । यसअघि बिहीबार रातिको अविरल वर्षाका कारण तीन स्थानमा सडक क्षति हुँदा जोमसोम–कागबेनी सडक अवरुद्ध भएको थियो । यहाँ शनिबार बिहानै स्थानीय प्रशासनको पहलमा डोजर परिचालन गरी पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको थियो । जोमसोम–कागबेनी सडक २४ घण्टापछि सञ्चालनमा आएसँगै मुक्तिनाथ दर्शन गर्ने दर्शनार्थीहरूका लागि सहज भएको जनाइएको छ ।

