काठमाडौं: हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा दक्षिणमा तथा पूर्वमा सरदर स्थानको आसपास अवस्थित रहेको छ । शनिबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी तराई भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र बागमती प्रदेशका केही स्थानहरूमा, मधेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा देशको बाँकी भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
काठमाडौं: गत वैशाखदेखि हालसम्म देशभर कूल तीन हजार ६८१ विपदका घटना भएका छन् । यसबाट छ हजार ५९० घर परिवार प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । सो अवधिमा विपदमा परेर २४३ जनाको ज्यान गएको छ भने ८६९ जना घाइते भएका छन् । यस्तै, २४ जना बेपत्ता भएका छन् । प्राधिकरणका अनुसार छ महिनाको अवधिमा सबैभन्दा बढी आगलागीमा घटना भएका छन् । एक हजार २९५ वटा आगलागीका घटना हुँदा २३ जानको मृत्यु भएको छ भने एक सय ७७ जना घाइते भएका छन् । आगलागीमा परेर एक हजार ४११ घरपरिवार प्रभावित भएका छन् । बाढीको २६३ घटना हुँदा २९ को मुत्यु भएको छ । बाढीमा परेर २३ बेपत्ता, १४ घाइते हुँदा एक हजार ८६१ परिवार प्रभावित भएको प्राधिकरणको विवरणमा उल्लेख छ । यस्तै, ४६३ वटा पहिरोका घटना यसबीचमा भएका छन् । पहिरोमा परेर २४ जनाको मृत्यु भएको छ भने ४१ घाइते भएका छन् । यसैगरी भारी वर्षाका मात्रै ३४० घटना यसबीचमा भएका छन् । त्यसमा परेर छ जनाको ज्यान जाँदा १४ घाइते भएका छन् भने ८११ परिवार प्रभावित भएका छन् । सो अवधिमा २९० वटा चट्याङका घटना दर्ता भएका छन् । चट्याङमा परेर ३८ जनाको ज्यान गएको छ भने २१२ जना घाइते भएका छन् । यस्तै, ३५१ परिवार प्रभावित भएका छन् । सर्पदंशका ३०४ घटना भएका छन् । सर्पको डसाईबाट ७७ जनाको ज्यान गएको भने २३३ जना घाइते भएका छन् । प्राधिकरणका अनुसार, वन डढेलोका १८५ घटनामा परेर दुई जना घाइते भएका छन् भने २७ परिवार प्रभावित भएका छन् । त्यस्तै, हावाहुरीमा २८४ घटना हुँदा आठ जनाको निधन भएको छ भने ४४ घाइते भएका छन् । हावाहुरीमा परेर ५४१ परिवार प्रभावित भएका छन् । जनावर आक्रमणका २१७ घटना घटदा २० जानको निधन भएको छ । यस्तै, ८८ जना घाइते हुँदा ३६६ परिवार प्रभावित भएका छन् । विपदबाट जोगिन पूर्वसावधानी, सचेतना अभियान सञ्चालन गरिएको, पूर्वसूचना प्रणालीलाई थप व्यवस्थित बनाइएको प्राधिकरणले जनाएको छ ।
काठमाडौं: गत भदौ २४ गते जेन-जी आन्दोलनकारीका नाममा निजी निवास बूढानीलकण्ठमा कुटिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको टाउको पछाडिको भागमा १२ टाँका लगाएर सिलाउनुपरेको खुलेको छ। हाल सैनिक अस्पतालमा उपचाररत देउवालाई निवासभित्र छिरेका आन्दोलनकारीले लछारपछार पार्दै आक्रमण गरेका थिए । आक्रमणका क्रममा देउवालाई पछाडिबाट धारिलो हतियारले हानिएको खुलेको छ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबार सानेपामा बसेको बैठकपछि पार्टी प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले यसबारे जानकारी दिएका हुन् । ‘आजको बैठक पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणामाथिको अमानवीय र बर्बर भौतिक आक्रमणको कडा निन्दा गरेको छ’, उनले भने, ‘साथै उहाँहरूको घरमा गरिएको आगजनीको पनि भर्त्सना गरेको छ। बैठक सुरू हुनुअघि नै उपसभापति पूर्णबहादुर खड्काले दुवैको स्वास्थ्य सुधार भइरहेको ब्रिफिङ गर्नु भयो ।’ देउवाको गर्धनभन्दामाथि र तल लागेको चोट गहिरो भएकाले सुरूमा आत्तिनपुरेको विश्वकर्माले बताए । ‘हामी सुरूमा अत्तालिएका छौँ । तर अहिले दुवैजनाको सुधार भएको छ’, विश्वकर्माले भने । उनका अनुसार देउवाको टाउकोको पछाडि गर्धनभन्दा माथि गहिरो चोट लागेको छ । उक्त घाउमा १२ वटा टाँका लगाएर सिलाउनुपरेको विश्वकर्माले बताए । विश्वकर्माका अनुसार जेन(जीका नाममा छिरेका अराजक समूहले देउवा दम्पतीलाई कुटपिटसहित लछारपछार पनि गरेका थिए । ‘गर्धनमुनि पनि चोट लागेको छ । उपचार जारी छ । सभापति देउवा अहिले हिँडडुल गर्ने, फोन गर्ने गर्दै हुनुहुन्छ । पार्टीसँग सम्पर्कमै हुनुहुन्छ’, उनले भने, ‘तर डाक्टरको परामर्शले उहाँलाई अस्पतालमै राखिएको छ। उठ्दा चक्कर लाग्ने समस्या छ । बोल्दा गाह्रो भएको छ। डाक्टरले अझै केही दिन राखौँ भन्नु भएको छ।’ विश्वकर्माकाअनुसार देउवालाई डाक्टरले धारिलो हतियारले हानेको बताएका छन् । ‘सभापतिमाथि आक्रमणका क्रममा रेन्च, मार्तल र ह्यामरहरू प्रयोग गरिएको देखिएका छन्’, उनले भने, ‘चोट गहिरो भएकाले सिलाउनुपरेको हो । अहिले सैनिक अस्पतालमा उपचाररत हुनु हुन्छ । चाँडै निको हुने विश्वास हामीलाई छ।’
पर्वत: उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी लोकमार्ग भासिएको छ । लोकमार्गअन्तर्गत फलेबास नगरपालिका–११ पाङ्राङमा बिहीबार सडक भासिएको हो । सडक भाँसिएपछि मर्मतमा समस्या देखिएको छ । कालोपत्र भइसकेको स्थानमा भासिने, उप्किने र खाल्डाखुल्डी पर्ने समस्याले सडक जीर्ण बन्दै गएको छ । कालीगण्डकी लोकमार्गको पर्वत खण्डमा पर्ने झण्डै ७० किलोमिटरमध्ये कालोपत्र भइसकेको सेतीवेणी–फलेबास खण्डमा बिग्रिएको सडक मर्मत हुन नसक्दा यातायातका साधन सञ्चालन गर्न समस्या भएको छ । करिडोरको पाङ्राङ खण्डको सडक अविरल वर्षात्का कारण भासिएको हो । लोकमार्ग निर्माणको काम सम्पन्न भएको स्थानमा सडक भासिने तथा भत्कने क्रम वर्षात्का क्रममा रोकिएको छैन । सडक भासिएपछि यातायातका साधन सञ्चालन गर्न समस्या भएको छ । अहिले एकतर्फी रुपमा सवारीसाधन सञ्चालन भइरहेका कालीगण्डकी करिडोर आयोजना कार्यालय, पाल्पाका इञ्जिनियर पिपुल गौतमले जानकारी दिनुभयो । सडक नियमित रुपमा मर्मतको काम नभएको भन्दै स्थानीयले गुनासो गर्ने गरेका छन् । सडकखण्डको सेतीवेणीदेखि कुर्घासम्मको सडक निर्माण कार्य अधिकांश सम्पन्न भए पनि केही भागको काम भने अझै अलपत्र छ । कुर्घादेखि पाङ्राङ जोड्ने स्थानमा सडक जीर्ण अवस्थामा छ । काम सम्पन्न भए जिम्मा लिने निकाय नहुँदा मर्मत तथा रेखदेखमा समस्या आएको इञ्जिनियर गौतमले बताउनुभयो । राष्ट्रिय सडक सञ्जालमा सूचीकरण हुन नसक्दा सडक विभागले मर्मतलगायतको काम गर्न नपाएको उहाँको भनाइ छ । पर्वत खण्डको २९ किलोमिटर सडकमा कालोपत्र सम्पन्न भएको दुई वर्ष बितिसकेको छ । कुन निकायले रेखदेख गर्ने भन्ने स्पष्ट नहुँदा सडक मर्मत तथा रेखदेखमा समस्या भएको इञ्जिनियर गौतमले बताउनुभयो । पर्वत खण्डको सेतीबेनीदेखि फलेबास ढिकसम्मको सबै खण्ड कालोपत्र भइसकेको छ । कालोपत्र भइसकेको खण्डलाई राष्ट्रिय राजमार्गमा सूचीकरण नगर्दा कुन निकायले मर्मत र रेखदेख गर्ने भन्ने समस्या भएको उहाँले बताउनुभयो । सम्पन्न भइसकेको खण्डमा वर्षायाममा खसेको पहिरोसमेत पन्छाउन समस्या भएको कार्यालयले जनाएको छ । लोकमार्गअन्तर्गत पर्वतको सेतीवेणीदेखि अर्मादीसम्म ४३ किलोमिटर सडकको काम धमाधम भइरहेको छ । त्यसैगरी फलेबास–अर्मादी सडकखण्डको १४ किलोमिटर भने निर्माण कम्पनीको लापरबाही कारण समयसमा काम नहुँदा कालोपत्रको काम अगाडि बढाउन सकिएको छैन । उक्त खण्डमा समयमा काम नहुँदा कालोपत्रको कामको टेन्डर आह्वानसमेत हुन नसकेको र चालु आर्थिक वर्षमा बजेट सुनिश्चितता नभएको कार्यालयले जनाएको छ । स्याङ्जाको मिर्मीदेखि पर्वतको सेतीबेनीसम्मको १० किलोमिटर सडक पनि कालोपत्र हुँदै छ भने पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनीसम्मको १३ किलोमिटर सडकसमेत चालु आर्थिक वर्षभित्रै कालोपत्र गरिसक्ने लक्ष्य छ ।
काठमाडौं: ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङले सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन जसरी पनि आगामी पुसभित्रै सम्पन्न गर्नुपर्ने बताउनुभएको छ । सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, विशेष भवन निर्माण आयोजना तथा समन्वय कार्यालय, आयोजनाका परामर्शदाता र निर्माण व्यवसायीसँग आज भवन निर्माणबारे छलफल गर्दै उहाँले पुसमै निर्माणसम्पन्न गर्नेगरी काम अगाडि बढाउन निर्देशन दिनुभएको हो । “जेनजी आन्दोलनका क्रममा बानेश्वरस्थित संसद् भवनमा ठूलो क्षति पुर्याइएपछि हाल संसद् भवन नै छैन । त्यसैले अब यो या त्यो बहानामा काममा ढिलाइ गर्नुहुँदैन, यसमा सबै पक्ष गम्भीर भएर परिचालित भई समय अगावै कार्यसम्पन्न गर्नुपर्छ”, मन्त्री घिसिङले भन्नुभयो । संसद् भवन तीन वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी विसं २०७६ असोजमा ठेक्का सम्झौता भएको थियो । पाँचौंपल्ट थपिएको ठेक्का सम्झौताको म्याद आगामी पुसमा सकिँदैछ । हालसम्म आयोजनाको भौतिक प्रगति ८६ प्रतिशत पुगेको छ । राष्ट्रिय र प्रतिनिधिसभा हलमा ‘फल्स सिलिङ’का लागि थप ट्रस तथा दुवै भवनको पहिलो तलामा रहेको ‘मल्टिपरपज’ हलमा ‘फल्स सिलिङ’का लागि थप ट्रस निर्माण, इलेक्ट्रिकलअन्तर्गत मुख्य ‘एलटी प्यानल’, सहायक ‘एलटी प्यानल’, इलेक्ट्रिकल फायर फाइटिङ राख्नेलगायत काम बाँकी छन् । अनियमितता फेला परे तुरुन्तै कारबाही मन्त्री घिसिङले आफ्नो कार्यलयअन्तर्गतका निकायमा हुने अनियमिता रोक्न निर्देशन दिनुभएको छ । उहाँले अनियमितता फेला परेमा त्यसमा संलग्नलाई तुरुन्तै कारबाही गर्ने चेतावनी दिनुभयो । “विगतमा कसिमन खाएर बजेट नै बेच्यो भन्ने आरोप सुन्ने गरिएको छ, जेनजी आन्दोलनको मुख्य एजेन्डा नै भ्रष्टाचार नियन्त्रण थियो । भ्रष्टाचार नियन्त्रण गर्न सकिएन भने ठूलो निराशा उत्पन्न हुन्छ । त्यसैले अनियमिता हुने छिद्र पहिचान गरी त्यसलाई बन्द गर्नुहोस् । एक रुपैयाँ पनि अनियमिता गरेको फेला परेमा संलग्नलाई छाडिने छैन । सेवा प्रवाहमा पनि सुधार गर्नुस्”, उहाँले निर्देशन दिनुभयो ।
काठमाडौं: संविधान सभाबाट नयाँ संविधान जारी भएको १० वर्ष पूरा भएको छ । सार्वभौम संविधान सभाबाट २०७२ असोज ३ गते संघीयतासहितको संविधान जारी भएको थियो । त्यसैले हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रूपमा मनाइन्छ । संविधान दिवसको अवसरमा संविधान दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरेको थियो । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभालगायत सहभागी भएका थिए । समारोहमा नेपाली सेना, सशस्त्र प्रहरी लगायतले मार्सपास गरेका थिए भने शान्तिका प्रतीक परेवासमेत उडाइएको थियो । अहिलेको विशेष परिस्थितिका कारण दिवसका अवसरमा झाँकीलगायत कार्यक्रम भने स्थगन गरिएको थियो । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए ।
काठमाडौं: संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको टुँडिखेलमा विशेष कार्यक्रम हुँदै छ । समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नेछिन् । अहिलेको विशेष राजनीतिक परिस्थितिमा दिवसका अवसरमा झाँकीलगायत कार्यक्रम भने स्थगन भएका छन् । नेपाली जनताको बलिदानीपूर्ण र लामो सङ्घर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो । मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहेनत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो । विसं २०७२ असोज ३ गते राति नयाँ बानेश्वरस्थित तत्कालीन संविधानसभा बैठकस्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट तत्कालीन राष्ट्रपति डा। रामवरण यादवले यो संविधानलाई जारी भएको घोषणा गरेका थिए।
मुस्ताङ: मुस्ताङ भन्सार कार्यालय न्हेचुङमा तीन दिनको अवधिमा नौ करोड ७० लाख ६४ हजार राजस्व सङ्कलन भएको छ । नेपाल–चीन उत्तरी कोरला नाकाबाट आयात गरिएका मालवस्तुबाट भन्सारले उक्त राजस्व सङ्कलन गरेको हो । कोरलानाका ११ दिन अघि पूर्ण रुपमा सञ्चालनमा आएको थियो । तर, कार्यालयको आन्तरिक तयारी तथा व्यवस्थापन गर्नुपर्ने भएकाले कार्यसम्पादन सोमबारदेखि सुरु गरिएको थियो । चीनतर्फ भन्सार जाँचपास गरी कोराला नाकाबाट हालसम्म १६१ विद्युतीय कारसहित ८५ मालवाहक मझौला कन्टेनर कोरला नाकाको चिनियाँ भन्सारबाट मालवस्तु लोड गरी भन्सार कार्यालय न्हेचुङमा जाँचपासका लागि रोकिएका मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले जानकारी दिए । चिनियाँ भन्सारबाट जाँचपास भई मुस्ताङ भन्सारमा जाँचपासका लागि रोकिएका ८५ कन्टेनरमध्ये हालसम्म ४५ कन्टेनरको भन्सार जाँचपास भइसकेको उनको भनाइ छ । यहाँबाट जाँचपास भईसकेका ४५ मालवाहक कन्टेनरबाट उल्लेखित भन्सार राजस्व सङ्कलन भएको हो । मुस्ताङ भन्सारबाट नेपाली मालवस्तु चीनतर्फ निकासका लागि दुई गाडीको भन्सार जाँचपास भइसकेको भन्सार प्रमुख खड्काले बताए । चीनतर्फ निकासी भएका सामान हस्तकलाका सामग्री हुन् । चीनबाट आयात गरिएका दसैँ लक्षित मालवस्तु लोड गरिएका कन्टेनरमध्ये जाँचपास भइसकेका ४५ कन्टेनर गन्तव्यतर्फ प्रस्थान गरिसकेको र जाँचपास हुन बाँकी ४० कन्टेनरको भन्सार जाँचपास हुन बाँकी रहेको भन्सार प्रमुख खड्काको भनाइ छ । यसैगरी चीनबाट आयात गरिएका १६० विद्युतीय गाडीको पनि भन्सार जाँचपास हुन बाँकी रहेको उनले बताए । चीनबाट आयात गरी मुस्ताङ भन्सारमा जम्मा भएका कुनै पनि विद्युतीय गाडीको हालसम्म जाँचपास भइनसकेको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए । भन्सार कार्यालयमा सीमित कर्मचारी हुँदा भन्सार जाँचपासमा ढिलाइ भएको उनको भनाइ छ । बैंक तथा वित्तिय संस्थाले चीनबाट आयात हुने मालवस्तुको मुस्ताङ भन्सारमा जाँचपास तथा आयात वस्तुका लागि प्रतितपत्र ९एससी० खोल्न पर्ने व्यवस्था गरिएको छ ।
सुनसरी: सप्तकोशी नदीमा जलसतह बढ्दै गएपछि कोशी ब्यारेजका २७ ढोका खोलिएका छन्। आज बिहान ११ बजे गरिएको जल सतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड दुई लाख सात हजार ३० क्युसेक पुगेपछि २७ ढोका खोलिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिनुभयो। मङ्गलबार बेलुका १० बजे पानीको प्रवाह मापन गर्दा एक लाख ८२ हजार २८७ प्रतिसेकेण्ड पाइएपछि २४ ढोका खोलिएको थियो। गत भदौ १७ गते नदीमा पानीको बहाव उच्च हुँदै जाँदा कोशी ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको थियो। त्यसपछि लगातार पानीको बहाव घटेको थियो भने आज बिहानदेखि सप्तकोशीमा पानीको बहाव बढ्दै गएको प्रवक्ता खतिवडाले बताउनुभयो। कोशी ब्यारेजमा पानीको प्रवाह एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको सङ्केत स्वरूप रातो बत्ती बाल्ने गरिन्छ। सोहीअनुसार अहिले कोशी ब्यारेजमा रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ। पहाडी भेगमा भइरहेको वर्षाका कारण जलसतह बढ्दै गएको हो।

