पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । घान्द्रुकमा सोमबार भएको घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रु...

पोखरा:  तमु धिं नेपालले पोखरामा तमु ल्होछार महोत्सव गर्ने भएको छ। तमु जातिको महान चाड एवम नयाँबर्ष आगमनको अवसरमा आउदो पुस १४, १५ र १६ गते पोखरा १ बगरस्थित पुरानो टुँडिखेलमा तमु ल्होछार महोत्सव २०८२ गर्ने निर्णय गरेको हो।  तमु धिं नेपाल मुख्य आयोजक र क्षेत्रिय तमु समाजहरु आयोजक रहने तमु ल्होछार महोत्सव भव्यताका साथ आयोजना गर्न तमु र्धि नेपालका अध्यक्ष हुमबहादुर गुरुङ अध्यक्षतामा २०१ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ।  मुल आयोजक समितिमा तमु धिं नेपाल, जिल्ला समिति, क्षेत्रिय तमु समाजहरु, केन्द्रिय युवा समिति, केन्द्रिय आमा समिति, पालिका समितिका अध्यक्षहरु रहेकाछन्।  ल्होछार महोत्सवमा र्याली एवम झाँकी प्रतियोगिता, सामुहिक नृत्य प्रतियोगिता, पोशाक तथा तमु भाषा प्रतियोगिता, भलिबल प्रतियोगिता, परम्परागत छेलो प्रतियोगिता, रोधिं, लोकदोहोरी  विविध साँस्कृतिक प्रस्तुतिसहित विशेष आकर्षक सांगितिक कार्यक्रमहरु समावेश हुने भएको छ। महोत्सवमा साँस्कृतिक, पर्यटन,परम्परागत खाना, कृषि, सुचनाप्रविधी, बैकिंग, व्यवसायिक लगायतका स्टलहरु राखिने तमु धिंले जनाएको छ।   यसवर्षदेखि ल्होछारलाई महोत्सवको रुपमा प्रारम्भ गरी आगामीवर्षहरुमा थप व्यवस्थित गर्दै पोखरामा पर्यटन आकर्षणको महोत्सवको रुपमा विकास गर्ने योजना रहेको बताइएको छ।

काठमाडौं:  आज बालाचतुर्दशीको दिन पितृउद्धारको कामना गर्दै देशभरका शिवालय र शिवमन्दिरहरुमा शतबीज छर्नेहरुको घुइँचो लागेको छ। काठमाडौँको पवित्र पाशुपत क्षेत्रमा हिजो साँझदेखि नै जाग्राम बसेर आज विहान शतबीज छर्नेहरुको घुइँचो लागेको हो । यसैगरी, देवघाटमा पनि शतबीज छर्नेको घुइँचो लागेको छ । मङ्गलबार राति पितृका नाममा बत्ती बालेर आज बिहान उनीहरूले शतबीज छरेका हुन् । देवघाटमा गोरखा, लमजुङ, नवलपुर, चितवन, बुटवल, काठमाडौँलगायत स्थानबाट छतबीज छर्न आएका हुन् । शतबीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वास रहेकाले देवघाटधाम आएको बन्दीपुर गाउँपालिका–४ निवासी टिकाराम पनेरुले बताउनुभयो । हरेक वर्ष मङ्सिर कृष्ण चतुर्दशीका दिन जौ, धान, कालो तिल, गहुँ, तोरी, मास, केराउ, लावा, मुला, ज्यामिर, सखरखण्ड, पिँडालु र हलेदोका टुक्रा शतबीजका रूपमा छर्ने गरिन्छ ।

पोखरा: पोखरा–मुग्लिन सडकमा दैनिक चार घण्टा सवारी आवागमन बन्द भएको छ ।  मुग्लिङ–पोखरा सडक योजना (पश्चिम खण्ड) ले एक सूचना जारी गर्दै विजयपुर खोलामा निर्माणाधीन पुलमा ‘गर्डर लन्चिङ’ गर्नुपर्ने भएकाले आज (मंगलबार)देखि मंसिर ११ गतेसम्म सडक बन्द गर्न सुरु गरिएको जनाएको छ । उक्त अवधिमा हरेक दिन बिहान ६ बजेदेखि ८ बजेसम्म र दिउँसो १२ बजेदेखि २ बजेसम्म पोखरा–विजयपुर खण्डमा सवारी साधन सञ्चालनमा पूर्णरआंशिक रोक लगाइनेछ ।आयोजनाका अनुसार एसियाली विकास बैंकको ऋण सहयोगमा निर्माणाधीन २ लेनको प्रिस्ट्रेस कंक्रिट पुलमा गर्डर राख्ने तयारी भएको छ ।  यो काम अति संवेदनशील भएकाले सुरक्षालाई ध्यानमा राख्दै रातको समयमा गर्न नसकिने हुँदा दिउँसोमा सवारी आवागमन रोकेर काम गर्नुपर्ने बाध्यता रहेको पश्चिम खण्डले जारी गरेको सूचनामा उल्लेख छ । सडक बन्द हुँदा यात्रुलाई पर्न जाने असुविधालाई मध्यनजर गर्दै वैकल्पिक मार्गको व्यवस्था गरिएको छ । जसअनुसार दुईपाङ्ग्रे तथा साना सवारीसाधनका लागि बुढीबजारबाट बेलचौतारा हुँदै चाउथे निस्कने र सोही रुट हुँदै फर्कने व्यवस्था मिलाइएको छ ।  ठूला तथा मालबाहक सवारीसाधनका लागि पावरहाउसचोकदेखि भौमारा हुँदै बिरौटा निस्कने र सोही मार्ग हुँदै फर्कने वैकल्पिक रुट तोकिएको छ । साथै आयोजनाले तोकिएको समयमा ट्राफिक व्यवस्थापनमा सहजीकरण गरिदिन जिल्ला प्रशासन कार्यालय, कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई अनुरोध गरेको छ । 

नवलपरासी:   गत भदौ २४ मा भएको जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट बन्द भएको मौलाकाली केबलकार पुनः सञ्चालनमा आएको छ । जेनजी आन्दोलनबाट क्षति पुगेर बन्द भएको केबलकारको दुई महिनापछि परीक्षण सञ्चालन सफल भएको हो । मौलाकाली केबलकार लिमिटेडका स्टेशन म्यानेजर सुरज पौडेलले आइतबार साँझ गरिएको प्राविधिक परीक्षण सफल भएपछि चाँडै नै केबलकार नियमित सञ्चालन गर्ने तयारी गरिएको बताए । केबलकारको अझै केही दिन प्राविधिक परीक्षण गर्ने कुनै समस्या नआएमा केही दिनभित्रै सर्वसाधारणका लागि खुला गरिने पौडेलको भनाइ छ । गैँडाकोट–१ मा रहेको ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिरलाई लक्षित गरी गत वर्षको वैशाखबाट सञ्चालनमा आएको केबलकार जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडपछि बन्द भएको थियो । ‘आगजनी र तोडफोडका क्रममा केबलकारको तल्लो स्टेशनमा क्षति पुगेको थियो’, उनले भने, ‘क्षतिग्रस्त उपकरणको विस्तृत परीक्षण तथा मर्मतका लागि केबलकार जडान गरिएको अष्ट्रियाको संस्थाबाट विशेष प्राविधिक टोली आएर एक सातासम्म परीक्षण गरेको थियो ।’ प्राविधिक परीक्षणपछि क्षतिग्रस्त उपकरणको कमजोरी पहिचान गरी आवश्यक मर्मतसम्भार गरेपछि केबलकार सञ्चालन गरिएको पौडेलले बताए । केबलकारको आन्तरिक परीक्षणपश्चात सबै ‘सिस्टम’ले स्थिर रूपमा काम गरिरहेको पुष्टि भएसँगै अब केही दिनभित्रै सर्वसाधारणका लागि औपचारिक सञ्चालन गर्ने तयारी गरिएको पौडेलको भनाइ छ । मौलाकालिका मन्दिरका दर्शनार्थी तथा अपर स्टेसनमा रहेको होटलमा जाने यात्रुहरू ढुक्क भएर यात्रा गर्नसक्ने अवस्था भएपछि केबलकार नियमित सञ्चालनमा ल्याइने पौडेलले बताए । मौलाकाली केबलकार लिमिटेडका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेनजी आन्दोलनका क्रममा केबलकारमा भएको आगजनी र तोडफोडका कारण ठूलो क्षति पुगेको बताए । उनले आगजनी र तोडफोडबाट केबलकार संरचना तथा उपकरणमा करोडौँ रुपैयाँ बराबरको क्षति पुगेको बताए । धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाका अनुसार पछिल्लो समय मन्दिरमा भक्तजनको उपस्थिति न्यून रहेको छ । उनले अब केबलकार नियमित रुपमा सञ्चालनमा आएपछि मन्दिरमा दर्शन गर्न आउने भक्तजन बढ्ने अपेक्षा गरिएको बताए । समुद्री सतहबाट ५६१ मिटर उचाइमा रहेको मौलाकालिका मन्दिर नारायणघाट बजारबाट पाँच किलोमिटर पश्चिम उत्तरमा पर्छ ।

काठमाडौं:  भड्काउ अभिव्यक्ति दिएर शान्ति सुरक्षामा असर पारेको अभियोगमा प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा निमित्त प्रमुख प्रहरी नायब महानिरीक्षक ओमप्रकाश अधिकारीका अनुसार प्रसाई समाजलाई भड्काउने अभिव्यक्ति दिएको त्यस विषयमा सोधपुछ गर्नका लागि पक्राउ गरिएको हो । प्रसाईलाई पक्राउ गरेर काठमाडौँ प्रहरी परिषद् भद्रकालीमा राखिएको छ । प्रसाई विवादास्पद अभिव्यक्ति दिएकै कारण पटक पटक पक्राउ पर्दै आएका छन् । 

म्याग्दी:  म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडकको लस्ती–बेनी खण्डमा कालोपत्र गर्न सुरु भएको छ ।  भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयमार्फत सोमबारदेखि छ किलोमिटर ५०० दूरीको सडकमा कालोपत्र गर्न थालिएको हो ।  कार्यालयका सूचना अधिकारी इञ्जिनियर विष्णु चापागार्इंले दुई लेनमा अक्सफाल्ट प्रविधिको कालोपत्र गरिने जानकारी दिनुभयो । “गत वर्ष पाँच दशमलव पाँच किलोमिटर दूरीको मालढुङ्गा–फर्से खण्डमा कालोपत्र भएको थियो”, उहाँले भन्नुभयो, “बाँकी रहेको फर्से–बेनी खण्डमा यही महिनाभित्र कालोपत्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कम्पनीले उपकरण र मजदुर परिचालन गरेको छ ।”  कूल १३ किलोमिटर दूरीको मालढुङ्गा–बेनी सडकको पहिरो प्रभावित र पर्वत बेनीको बजार क्षेत्रको एक किलोमिटरलाई ठेक्काबाट हटाइएको छ । दुई किलोमिटर २०० मिटर ढलान भएको छ । लस्ती बजारको ५६० मिटर र लस्ती पुलदेखि केराबारीको पहिरोसम्म २५० मिटरमा सोमबार एकतर्फी कालोपत्र भएको छ ।  मङ्गलबार उक्त खण्डमा दुईतर्फी कालोपत्र सकेर केराबारीदेखि मिलनचोकतर्फ कालोपत्र सुरु गर्ने निर्माण कम्पनी एपेक्स–खड्का–कृष्ण जेभीका इञ्जिनियर जीवन चौधरीले बताउनुभयो ।  कालोपत्रलाई तीव्रता दिनका लागि स्थानीय प्रशासनको समन्वयमा म्याग्दी र मुस्ताङ जाने आउने सवारीसाधनलाई मालढुङ्गा–बागलुङ–रत्नेचौर– बेनी जोड्ने वैकल्पिक सडकबाट आवतजावत गर्ने व्यवस्था मिलाइएको छ ।  मङ्सिर २० गतेसम्मका लागि मालढुङ्गा–बेनी सडक स्तरोन्नतिका लागि बिहान १० देखि साँझ ५ः०० बजेसम्म बन्द गरिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले बताउनुभयो ।  एपेक्स–खड्का–कृष्ण जेभीले विसं २०७७ चैतमा रु ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको थियो । विसं २०७९ मा सम्पन्न हुनुपर्ने सडक निर्माण कार्यले लक्ष्यभन्दा तीन वर्षपछि पूर्णता पाउन लागेको हो । कोरोना महामारी, बाढीपहिरो, नदीजन्य निर्माण सामग्रीको अभावका कारण देखाएर सहायक ठेकेदार ओमकारेश्वरले अलपत्र बनाएको योजनालाई पूर्णता दिन एक वर्षअघि मुख्य ठेकेदार कार्यक्षेत्रमा आएका थिए ।  जलजला गाउँपालिका–७ मिलनचोकका बासिन्दा बाबुराम कार्कीले सडक कालोपत्र भएपछि यात्रा अवधि छोटिने, ढुवानी र सार्वजनिक यातायातको भाडादर घट्ने, धुलो र हिलोमा जोखिम तथा कष्टपूर्ण यात्रा गर्नुपर्ने अवस्थाको अन्त्य हुने बताउनुभयो ।  सडक निर्माणलाई गति दिन जनप्रतिनिधि, उद्योगी व्यवसायी र सरोकारवालाहरुले दबाब दिँदै आएका छन् । यो सडकमा म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका स्थानीय बासिन्दाका साथै पर्यटक र तीर्थयात्री आवतजावत गर्छन् । ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत २०५२ सालमा मार्ग खुलेको मालढुङ्गा–बेनी सडक बेनी सडक २०६८ सालमा कालोपत्र गरिएको थियो । चालु आर्थिक वर्षभित्र सडक कालोपत्र सम्पन्न हुने आयोजनाले जनाएको छ ।

ढोरपाटन:  दरमखोला हाइड्रोपावरले व्यावसायिक उत्पादन थालेको छ । विसं २०७७ देखि निर्माण सुरु भएको हाइड्रोपावरबाट आइतबारदेखि व्यवसायी उत्पादन सुरु गरिएको हो ।  दरमखोला हाइड्रो इनर्जी लिमिटेडमार्फत सञ्चालनमा आएको हाइड्रोपावर गत असोज ३० गते केन्द्रीय प्रसारण लाइनमा जडान गरिएको थियो । विसं २०६५ मा हाइड्रोपावर निर्माण गर्ने भनिए पनि विसं २०७७ देखि मात्रै काम सुरु भएको हाइड्रोपावरको उत्पादन क्षमता ९ दशमलव ६ मेगावाट छ ।  सुरुमा गोर्खा हाइड्रोपावर कम्पनीले निर्माण गर्ने भने पनि अहिले दरमखोला हाइड्रो इनर्जी प्रालीले जिम्मा लिएको छ । गलकोट नगरपालिका–८ काँडेबासमा ड्याम निर्माण गरी साढे चार किलोमिटर पश्चिम मनेवापाटामा विद्युत्गृह निर्माण गरी विद्युत् उत्पादन सुरु गरिएको हाइड्रोपावरका इञ्जिनियर मिथिलेस चौधरीले जानकारी दिनुभयो । बर्खामा ९ दशमलव ६ मेगावाट विद्युत् उत्पादन गर्न सकिने भए पनि हिउँद याममा ६ दशमलव ६ मेगावाट मात्रै उत्पादन भइरहेको इञ्जिनियर चौधरीले बताउनुभयो ।  इञ्जिनियर चौधरीले भन्नुभयो, “दरमखोला हाइड्रोपावरलाई नेपाल विद्युत् प्राधिकरणको प्रसारण लाइनमा जोडिएको छ, विद्युत्गृहभन्दा १४ किलोमिटर पूर्वमा रहेको हरिचौर सवस्टेशनमा जोडिएको छ, प्रसारण लाइनमा एक महिना अगाडि नै जोडे पनि व्यावसायिक उत्पादन भने अहिले बल्ल नियमित हुन थालेको छ, बर्खामा ९ दशमलव ६ मेगावाट उत्पादन गर्न सकिने भए पनि अहिले सकिदैन ।” हाइड्रोपावर निर्माणको जिम्मा रामेछाप शेर्पा कन्स्ट्रक्सन र क्रिमहाइडल लिमिटेड पाएका थिए । हाइड्रोपावर निर्माण गर्दा विभिन्न अवरोध हुँदा निर्माण सम्पन्न गर्न समय लागेको दरमखोला हाइड्रो इनर्जीका अध्यक्ष नरबहादुर पुनले बताउनुभयो । सुरुमा गोर्खा हाइड्रोपावर कम्पनीले बनाउने गरी इजाजत पाए पनि उक्त कम्पनीले काम नगरेपछि आफूले सुरु गरेको उहाँको भनाइ छ ।  निर्माण सम्पन्न गर्न रु दुई अर्ब बढी लगानी भएको अध्यक्ष पुन बताउनुहुन्छ । हाइड्रोपावरबाट विद्युत् उत्पादन हुन थालेपछि बागलुङका विकट गाउँ बस्तीमा विद्युत् पुग्ने अपेक्षा लिएको उहाँको भनाइ छ ।  “दरमखोला हाइड्रोपावर बागलुङमा अहिलेसम्म बनेकामध्ये सबैभन्दा ठूलो हाइड्रोपावर हो, यसको सर्भे धेरै वर्ष अगाडि भए पनि विभिन्न समस्याका कारण अलि ढिला काम थाल्यौँ, यद्यपि अहिले उत्पादन गर्ने स्थितिमा आएको छ”, अध्यक्ष पुनले भन्नुभयो, “१७ वर्ष अगाडि गोर्खा हाइड्रोपार कम्पनीले इजाजत पाएको थियो, त्यसलाई रद्द गरेर हामीहरुले नयाँ कम्पनी बनाएर काम ग¥यौँ, अहिले सम्पन्न भएर सकियो ।” 

उदयपुर:  सबै मानिसको आ–आफ्ना सपना लक्ष्यहरु रहेका हुन्छन्, कसैको लक्ष्य सङ्घर्षका क्रममा पूरा हुन्छ भने कसैले लक्ष्य प्राप्तिका लागि सङ्घर्षरत रहँदै गर्दा अचानक बीचमा जीवनलीला नै अन्त्य भएर यो संसारबाट सधैँका लागि छाडेर जानुपर्ने हुन्छ । जीवनमा कसको लेखान्तर कस्तो हुन्छ भन्ने कसैलाई थाहा छैन । उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका–३ बसाहास्थित आमसालमा जन्मी हुर्किएर कान्छी छोरीलाई डाक्टर बनाउने सपनासहित काठमाडौँको कपनमा मजदुर काम गर्दै आएका सारकुमार राईको कान्छी छोरीलाई डाक्टर बनाउने सपना पनि गत भदौ २३ को जेनजी आन्दोलनका क्रममा गोली लागेर ढलेपछि सदाका लागि राईको सपना अन्त्य भएको छ । जीवनमा आफूले ठुलो प्रगति गर्न नसके पनि सन्तानलाई ठुलो मान्छे बनाउने उत्कट चाहना हरेक बाबुआमालाई हुने गर्दछ तर सबैका चाहना पूरा हुन सक्दैनन् । यही अधुरो चाहनामै जीवन गुमाउनुपर्‍यो सारकुमारले पनि । विसं २०५६  देखि २०५८ सम्म सर्लाही र चितवनतिर रोजगारी गर्दै हिँडेको स्व। राईले २०५८ सालमा सर्लाही बरहथवाकी सुनिता मगरसँग भेट भएपछि दुवैको प्रेम विवाह भएको स्व। राईका श्रीमती सुनिता बताउनुहुन्छ । दुवैको जेठी छोरीका रुपमा २०६३ सालमा ठुली छोरी अनुसाको जन्म भएको र २०६८ सालमा कान्छी छोरी आकृतिको जन्म भएको स्व राईका श्रीमती सुनीता बताउनुहुन्छ । दुवै छोरीको जन्म भए पनि दुःख र बेरोजगारीका कारण ठुली छोरीलाई कक्षा ८ भन्दा बढी पढाउन नसकिएको पनि सुनीता बताउनुहुन्छ । सानैदेखि कान्छी छोरीको पढाइ राम्रो रहेका कारण पनि चितवनमा रोजगार गर्दै आएका सारकुमार राईले आफू काठमाडौँमा गएर रोजगारी गरेर भए पनि कान्छी छोरीलाई डाक्टर बनाउने भन्दै चितवनबाट काठमाडौँको कपनमा गएर घर रङरोगन गर्ने मजदुर काम गर्दै आउनुभएको थियो । गत भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा काम छाडेर जेनजी मजदुरहरुसहित सडकमा हिँडिरहेका राईलाई देब्रेपट्टिको कञ्चटमा गोली लागेपछि त्यहीँ ढल्नुभयो । त्यस दिनको घटना स्मरण गर्दै सुनीता भन्नुहुन्छ, “तत्काल उहाँलाई फोन गरेँ उठेन, तर रातको ९ बजे उहाँकै साथीले मलाई फोन गरेर दाई त गोली लागेर अस्पतालमा गम्भीर बिरामी हुनुहुन्छ भनेपछि म त बेहोस भएँछु ।” जीवनमा यस्तो घटना सुन्नुपर्ला भन्ने उहाँले कहिल्यै सोच्नुभएको थिएन । दुई दिनपछि चितवनबाट काठमाडौँ पुग्दा श्रीमानको मृत्यु भइसकेको थियो ।  सुनीताका अनुसार श्रीमानको मृत्युपश्चात् आफू उदयपुरको चौनपा–३ बसाहा फर्केर आएको र त्यसको १० दिनपछि श्रीमानको शवलाई घरमा सेनाले काठमाडौँबाट ल्याइदिएका कारण घरको आफैँ कर्ता भएर किराँती राईको अन्तिम संस्कार गराउनुभयो । कान्छी छोरी र आफू किरिया पुत्री बसेर काजकिरिया सम्पन्न गरेको श्रीमती राई बताउनुहुन्छ । स्व। सारकुमार राईको दिदी कुमारी राईका अनुसार सारकुमार राईको घरपरिवारमा पाँच दाजुभाईमध्ये सारकुमार साइला छोरा रहेको र उहाँले गाउँको स्कुलमा सामान्य ६ कक्षासम्म मात्र अध्ययन गरेका थिए । विसं २०७२ मा आमा नेपी मायाको निधन भएको र २०८० सालमा बुबा गजब सिं राईको निधन भएको स्व। राईकी दिदी कुमारी बताउनुहुन्छ । स्व। राई सात वर्षदेखि काठमाडौँको कपन क्षेत्रमा घरको रङ्गरोग गर्ने मजदुरका रुपमा काम गर्दै आउनुभएको थियो भने श्रीमती सुनीता चितवन भरतपुर महानगरपालिका–११ स्थित मनशिला बोर्डिङ स्कुलको होस्टेलमा काम गर्ने गर्नुहुन्छ । उहाँले सोही स्कुलमा कान्छी छोरी आकृतिलाई पढाउँदै आउनुभएको छ ।  अहिले उनी कक्षा १० मा अध्ययनरत छिन् । सुनीताका अनुसार ठुली छोरी अनुसालाई पढाउन नसकिएका कारण हाल भारतको हिमाञ्चल प्रदेशमा आफ्नी दिदीसँग बस्दै आएकी छिन् । श्रीमती सुनीता श्रीमानबारे यसो भन्नुहुन्छ, “चौदण्डीको बसाहामा सबै दाजुभाइको संयुक्त १५ कट्ठा सुक्खा बारी जग्गा रहेको र एउटा काठको घरसमेत रहेकामा हाल दाजुहरु र उहाँहरुको परिवारहरु बस्दै आएका छन् ।” सुनीताका अनुसार श्रीमानले मजदुर गरेर नै बसाहामा एउटा घर पनि बनाउने र कान्छी छोरीलाई पनि डाक्टर पढाउने अठोट गरेर चितवनबाट आफूसहित छोरीलाई यहाँ राखेर काठमाडौँ जानुभएको थियो । छोरीलाई डाक्टर पढाउनका लागि धेरै खर्च लाग्ने भनेर केही खर्च पनि जुटाउँदै कृषि विकास बैंकमा जम्मा गर्ने गरेको सुनीता बताउनुहुन्छ ।  उहाँ भन्नुहुन्छ, “श्रीमान् काठमाडौँमा हुँदा दुई–तीन महिनामा एकपटक भेट्न चितवन आइरहनुहुन्थ्यो, हिजोआज त म एक्लै छु तर छोरीलाई हेरेर मन बुझाएर बसेकी छु ।” छोरी डाक्टर पढ्न थालेपछि मात्र श्रीमतीसहित बसाहा गएर घर बनाउने र बस्न भन्दै काठमाडौँबाट घर फर्कने अठोट लिएर काठमाडौँ कपनमा मजदुरी गर्दै आएका सारकुमार भदौ २३ को जेनजी आन्दोलनका क्रममा गोली लागेर सहिद हुन पुग्नुभयो । श्रीमान्को अधुरो सपना आफूले पूरा गर्ने भन्दै श्रीमती सुनीता भन्नुहुन्छ, “श्रीमान्ले अधुरो छाडेर गएको सपना छोरीलाई डाक्टर बनाउने सपना मैले पूरा गर्ने अठोट लिएकी छु ।”  सारकुमारलाई जेनजी सहिद घोषणा गरेपछि सरकारबाट सहयोग भएको रु। १५ लाखमध्ये पाँच लाख श्रीमान्को काजकिरियामा खर्च भएको र र बाँकी १० लाख कृषि विकास बैंकमा जम्मा गरेर राखेको उहाँको भनाइ छ । श्रीमान्ले मजदुर गरेर कमाएको केही रकम पनि बैंकमा रहेको र पछि सोही खर्चबाट र सरकारले केही सहयोग गरे आफूले घर नबनाएर भए पनि छोरीलाई डाक्टर बनाएरै छाड्ने सुनिताको अठोट रहेको छ ।   स्व सारकुमारका छिमेकी चौनपा–३ बसाहाका रामबहादुर राईका अनुसार सारकुमार सानैदेखि सोझो र इमानदार र परिश्रमी रहेका थिए । घरमा धेरै भाइछोराहरु रहेको र आर्थिक कमजोर भएका कारण गाउँमा ६ कक्षासम्म मात्र अध्ययन गर्नुभएका सारकुमार मजदुरी गर्नकै लागि सर्लाहीबाट चितवन हुँदै काठमाडौँको कपनमा काम गर्दै आउनुभएको थियो । आफू दुःखले पढ्न नपाए पनि कान्छी छोरीलाई डाक्टर बनाउने सपना बोकेका राईको गत भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा गोली लागेर सहिद हुन पुगेपछि उनको सपना अधुरै अन्त्य भएको बसाहा आमसालका कृपाराज राईले बताउनुहुन्छ । उदयपुर बेलका नगरपालिका–४ का सन्तोष विक पनि जेनजी आन्दोलनका क्रममा राईसँगै गोली लागेर सहिद हुनुभएको छ ।

काठमाडौं:  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ।  निगमले भारतबाट मूूल्य धेरै बढेर आएको भए पनि उपभोक्ता हितलाई ध्यानमा राख्दै पेट्रोलमा २ रुपैयाँ र डिजेलमा ३ रुपैयाँ मात्र बढाउने निर्णय गरेको उल्लेख गरेको छ।  बढाएको मूल्य शनिबार रातिबाट लागू हुनेछ।