पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । घान्द्रुकमा सोमबार भएको घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रु...

मुस्ताङ:  मुस्ताङ-डोल्पा सडक विगत १० दिनदेखि अवरुद्ध बनेको छ । भारी हिमपातका कारण उक्त सडक अवरुद्ध भएको हो ।  सडक डिभिजन कार्यालय मुस्ताङले मुस्ताङ-डोल्पा सडक अन्तर्गत मुस्ताङको पाक्लिङदेखि साङ्ता गाउँ हुँदै डोल्पा जाने सडक छुकसम्वसम्म विस्तार भइसकेको छ ।  उपल्लो डोल्पाका नागरिकलाई मुस्ताङको जोमसोम आएर मालसामान ढुवानी गर्न तथा पोखरा-काठमाडौँ आउजाउ गर्न डोल्पा सदरमुकाम दुनैभन्दा छोटो मार्गका रुपमा लैजान सडक डिभिजन कार्यालय बाग्लुङले मुस्ताङ-डोल्पा सडक स्तरोन्नति तथा नयाँ ट्रयाक खोलेको हो ।  यसैगरी, मुस्ताङबाट मालसामान उपल्लो डोल्पा पुर्‍याउन तथा मुस्ताङीलाई भेडाच्याङ्ग्रा र याकचौँरी ल्याउनसमेत मुस्ताङ(डोल्पा सडक विस्तार गरिएको थियो । समुद्री सतहको चार हजार मिटर उचाइबाट विस्तार गरिएको मुस्ताङ-डोल्पा सडक भारी हिमपातका कारण सडक अवरुद्ध भएको वारागुङ मुक्तिक्षेत्र-५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिनुभयो ।  सडक अवरुद्धका कारण जोमसोमदेखि छुकसम्वसम्म मालवाहक तथा सवारीसाधन लैजान सकिएको छैन । मुस्ताङ-डोल्पा सडकको हिउँ पन्छाएर सडक सञ्चालन गर्न सडक डिभिजन कार्यालय बागलुङसँग माग गरिएको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो । यसैगरी एक साताअघि परेको भारी हिमपातका कारण मुस्ताङ र डोल्पाको सीमावर्ती गाउँ साङ्तामा एक सातादेखि विद्युत् र इन्टरनेट सेवाका साथै मोबाइल फोन सेवा अवरुद्ध भएको त्यहाँका वडा सदस्य छिरिङपाल्साङ गुरुङले जानकारी दिनुभयो ।  साङ्ता गाउँमा एक वर्षअघि गाउँपालिकाको समन्वयमा त्यहाँ रहेका १३ घरधुरीलाई  वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले सोलार जडान गरी विद्युतीकरण गरेको थियो ।  कृषि र पशुपालन व्यवसायमा आश्रित त्यहाँका नागरिक बर्खाको आठ महिना गाउँमै बस्छन् भने हिउँदको चार महिना फल्याक, जोमसोमलगायतका स्थानमा जाडो छल्ने गर्छन् ।

काठमाडौं:  आगामी मङ्सिर १ गतेदेखि सर्वोच्च अदालत पूर्णरुपमा सञ्चालनमा आउने भएको छ । गत भदौ २४ गतेको जेन(जी आन्दोलनमा आगजनी भएपछि सर्वोच्चले आंशिक रूपमा मात्रै सेवा प्रवाह गर्दै आएको छ ।    सर्वोच्च अदालतको बिहीबार बसेको पूर्ण बैठकलेले आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाट समेतका घटनाबाट बचेका मुद्दाहरू, अवरुद्ध सबै सेवाहरूको नियमित रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।   ‘मुद्दाका मिसिलहरू नष्ट हुनबाट बचेको हुँदा पेसी तारेखको मिति आउन बाँकी रहेका उक्त मुद्दाहरूको २०८२ मङ्सिर १ गते उप्रान्त पूर्ववत् रूपमा तोकिएको पेसी तारेखको दिन नियमित सुनुवाइ हुनेछ,’ अदालतको सूचनामा भनिएको छ, ‘अन्य पेसी नचढेका मुद्दाहरूको कानुनबमोजिम अङ्ग पुर्‍याई सुनुवाइ गरिने बेहोरा सम्बन्धित मुद्दाका पक्ष र अन्य सरोकारवालाहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’   बैठकले सेवा अवरुद्ध भएका सुरु मुद्दा, पुनरावेदन पत्र, दोहोर्‍याई पाउँ भन्ने निवेदन एवं पुनरावलोकन निवेदन समेतका सबै प्रकारका मुद्दा तथा निवेदनहरू, दर्ता एवं सुनुवाइ गर्ने निर्णय गरेको हो । 

काठमाडौं:   राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी भएर स्वदेश फर्किनुभएको छ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्कीले स्वागत गर्नुभएको हो । सो अवसरमा नेपाली सेनाले राष्ट्रपति पौडेलको सम्मानमा सलामी अर्पण गरेको थियो । राष्ट्रपति पौडेलले उक्त सम्मेलनको मुख्य सत्रलाई गत मङ्गलबार सम्बोधन गर्नुभएको थियो । सम्मेलनका क्रममा आयोजित सामाजिक विकासका तीन स्तम्भको सुदृढीकरणः गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवं सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाई पनि सम्बोधन गर्नुभएको थियो । उहाँले संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार दोहामा भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ को मुख्य सत्रलाई मङ्गलबार सम्बोधन गर्नुभयो । साथै उहाँले सम्मेलन अन्तर्गत आयोजित सामाजिक विकासका तीन स्तम्भहरूको सुदृढीकरणः गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवम् सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाईसमेत सम्बोधन गर्नुभएको थियो । राष्ट्रपति पौडेलले मङ्गलबारनै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेट गर्नुभएको थियो । पौडेलले बुधबार कतार राष्ट्रिय सङ्ग्रहालयको पनि अवलोकन गर्नुभएको थियो ।  यसअघि ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन १९९५ मा डेनमार्कको कोपनहेगनमा भएको थियो । सम्मेलनमा वर्तमान विश्वले सामना गर्नुपरेको विकासको असमानता, जनसङख्यामा आएको असन्तुलन र प्रविधिका कारण समाजमा परेको प्रभावलगायत विषयमा छलफल भएको थियो ।  संयुक्त राष्ट्रसङ्घको सदस्य भएपछि नेपाल शान्ति र स्थायित्वका लागि सधैँ सक्रिय र प्रतिबद्ध सदस्य रही आएको छ । राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्को हाल नेपाल अध्यक्ष रहेको छ । सो सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार दोहा प्रस्थान गर्नुभएको थियो । 

म्याग्दी:  सुख्खा पहाडको टुप्पोमा टाढैदेखि देखिने गोलो आकारको प्वाल । झट्ट हेर्दा मानव निर्मित प्रवेशद्वार जस्तै देखिने यो प्वाल प्राकृतिक हो ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको यो दृष्य अनौठो र सुन्दर देखिन्छ । पहाडको फेदीबाट हेर्दा आकाश देखिने भएकाले स्थानीयद्वारा ‘स्काई केभ’ (आकाशे गुफा) नामाकरण गरिएको छ ।  नारच्याङबाट अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गमा पर्ने यो गुफा अनौठो र आकर्षक भएको स्थानीय माइकल पुनले बताउनुभयो । “अन्नपूर्ण आधार शिविर आउने जाने पर्यटकले पदमार्गबाट अनौठो मानेर पहाडको टुप्पोमा रहेको गुफा हेर्ने गरेका छन्”, उहाँले भन्नुभयो, “गुफासम्म पुग्ने पदमार्ग नभएकाले पर्यटक यहाँ पुग्न सकेका छैनन् ।”  मुख्यबाट ३० मिनेट हिँडेपछि समुद्री सतहदेखि तीन हजार ९०० मिटर उचाइमा रहेको आकाशे गुफामा पुग्न सकिन्छ । करिब १५ मिटर लामो गुफा सुरुङ जस्तै रहेको पुनले बताउनुभयो । गुफासम्म पुग्ने व्यवस्थित पदमार्ग नभएकाले पैदालयात्रा जोखिम मानिएको उहाँको भनाइ छ ।   पुनका अनुसार गुफाभित्रैबाट निलगिरि र अन्नपूर्ण हिमशृङ्खला तथा वरपरका पहाडी भूगोलको दृष्य अवलोकन गर्न सकिन्छ । काठमाडौँबाट अन्नपूर्ण आधार शिविर घुम्न आएका सुजित भट्टले पहाडको टुप्पोमा कडा चट्टानले बनेको स्काई केभ अनौठो लागेको प्रतिक्रिया दिनुभयो । “टाढैबाट हेर्दा पनि गुफाका विषयमा धेरै उत्सुकता जाग्यो”, उहाँले भन्नुभयो, “सम्बन्धित ठाउँमै पुगेर अवलोकन गर्ने सुविधा भएमा कौतूहलता मेटिने थियो ।”  नयाँ पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भएको मौरिस हर्जोग पदमार्गका अभियान्ता तेज गुरुङले स्काई केभ पदमार्गको एक आकर्षण भएको बताउनुभयो । “विसं २०६८ मा मौरिस हर्जोग पदमार्गको अध्ययनका क्रममा स्काई केभ पनि पहिचान भएको थियो”, उहाँले भन्नुभयो, “पदमार्गसँगै रहेका अन्य स्थानमा आधारभूत पूर्वाधार बनाएर पर्यटक आउने वातावरण बनाइएको छ ।”  स्काई केभसम्म पुग्ने पदमार्ग बनाएर भ्रमणमा आउने पर्यटकको बसाइ लम्बाउने र सहायक गन्तव्यका रूपमा विकास गर्ने योजना रहेको गुरुङले जानकारी दिनुभयो । अन्नपूर्ण हिमालका प्रथम आरोहण टोलीका अगुवा फ्रान्सका मौरिस हर्जोगको सम्मानमा अन्नपूर्ण गाउँपालिकाले विसं २०७७ मा पदमार्ग घोषणा गरेको थियो ।  नारच्याङबाट हुमखोलासम्म २० किलोमिटर कच्ची सडकमा दुई घण्टा गाडी र हुमखोलाबाट फुतफुते झरना, साँधीखर्क, गुफाँफाँट हुदै भुसकेत जाने पदमार्गको बिचभागमा स्काई केभ पर्दछ । हुमखोलाबाट तीन घण्टाको पैदलयात्रामा स्काई केभ भएको पहाडको फेदीमा पुगिन्छ ।  मौरिस हर्जोग पदमार्ग भएर अन्नपूर्ण आधार शिविर पुगेर आउनुभएका म्याग्दीबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले स्काई केभसम्म पुग्ने पदमार्ग, आवश्यक पूर्वाधारलगायत संरचना निर्माण गरी पर्यटन प्रवर्धनका लागि गाउँपालिका, प्रदेश सरकार र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)सँग समन्वय गर्ने बताउनुभयो ।

काठमाडौं:  अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले तीन वर्षदेखि शहिद स्मारक ‘ए’ डिभिलन लिग नगरेपछि खेलबिहीन बनेका फुटबल खेलाडीले बिहीबार एन्फा मुख्यालयमा धर्ना दिएका छन् ।  राष्ट्रिय टोलीका खेलाडीहरुले एन्फा मुख्यालयमा पुगेर धर्नासहित आन्दालन गरेका हुन् । खेलाडीहरुले एन्फाले यसवर्ष पनि ‘ए’ डिभिजन लिग गर्छु भनेर छलछाम गरेको बताएका छन् । खेलाडीहरुले विरोध स्वरुफ आफुले विभिन्न समयमा पाएको मेडल समेत एन्फा गेटमा झुन्ड्याएका थिए ।  एन्फाले हालै मात्र यस वर्ष पुसमा राष्ट्रिय लिग गरेर अर्को वर्षको पुसमा मात्र शहिद स्मारक ‘ए’ डिभिजन लिग होम एन्ड अवेका आधारमा गर्ने निर्णय गरेको थियो । खेलाडीले भने पहिले लिग सकेर मात्र राष्ट्रिय लिग गर्नुपर्ने माग राखेका छन् ।  एन्फाले तत्काल यसमा ध्यान नदिए कडा आन्दोलन गर्ने पनि जनाएका छन् । फुटबल खेलाडी सङ्घका अध्यक्ष विक्रम लामाले खेलाीहरुले दुई वर्षअघि देखि पटक पटक लिग गर्न एन्फालाई विज्ञप्ती र छलफलमार्फत आग्रह गर्दे आएपनि नसुनेको बताउनुभयो । लिग नहुँदा खेलाडी वेरोजगार भएको र विभिन्न देशमा पलायन हुनु परेको पनि लामाले बताउनुभयो ।  खेलाडीको आन्दोलनपछि एन्फा मुख्यालय सातदोवाटोमा बिहानैदेखि सुरक्षा ब्यवस्था कडा पारिएको छ । खेलाडीले एन्फाका पदाधिकारीलाई भेड्न चाहेपछि प्रहरीले एन्फा भित्र पस्न दिएको थिएन । एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचि किरण राईलगायत पदाधिकारी काठमाडौँ बाहिर रहेको भन्दै प्रवक्ता सुरेश शाहले खेलाडीलाई थामपुर पार्ने प्रयत्न गर्नुभएको थियो । खेलाडीको धर्ना र आन्दोलनलाई पूर्व खेलाडी, प्रशिक्षक, जेनजी युवालगायतले साथ दिएका छन् । एन्फाले पछिल्लो पटक २०७९ सालमा ‘ए’ डिभिलन लिग गरेको थियो । एन्फाको आन्तरिक राजनीतिका कारण ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन लिग नियमित हुन सकेको छैन । 

काठमाडौं:  अब स्थानीय तहबाटै स्थायी लेखा नम्बर लिन सकिने भएको छ । आन्तरिक राजस्व विभागले अब स्थायी लेखा नम्बर प्रमाणपत्र स्थानीय तहबाटै जारी गर्न सकिने व्यवस्था मिलाइएको जनाएको हो । अहिलेसम्म करदाता सेवा कार्यालयबाट जारी हुँदै आएको स्थायी लेखा नम्बर ती कार्यालयहरू खारेज भएकोले अब सो सेवा स्थानीय तहबाटै जारी गर्ने व्यवस्था मिलाईको विभागले जनाएको छ । तर, स्थानीय तहबाट सेवा सुचारू हुन समय लाग्न अवस्थासम्म भने ती सेवा सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यालयबाटै प्रवाह गर्ने व्यवस्था मिलाइएको पनि विभागले जनाएको छ ।  

मुस्ताङ:   मुस्ताङ र डोल्पाको सिमाना छार्का भेरोलको हिउँमा फसेका दुई जना नेपाली पर्यटकको आज बिहान हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा इन्द्रबक्स गणको नेपाली सेनाको सहयोगमा एयर डाइनोष्टिक हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको हो । पर्वतका मनिष जिसी र म्याग्दीका सन्तोष कुँवर भारी हिमपातका कारण मुस्ताङ र डोल्पाको सिमानामा फसेका जानकारी पाएपछि सेनासँगको समन्वयमा सकुशल उद्धार गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिनुभयो । यही कात्तिक ९ गते उपल्लो डोल्पाको भ्रमणमा निस्किएका दुवै जना पहिलो दिन मुस्ताङ वारागुङ मुक्तिक्षेत्र–५ साङ्ता गाउँमा बास बसेका थिए । त्यसपछि त्यहाँको साङ्ता गाउँ हुँदै उपल्लो डोल्पाको भ्रमणका लागि उपल्लो डोल्पाको छार्का पुगेका थिए । प्रतिकूल मौसम र भारी हिमपातका कारण उपल्लो डोल्पाको छार्कामा रोकिएका जिसी र कुँवर छ दिनसम्म छार्कामा रोकिएका उहाँले बताउनुभयो ।  हिमपात रोकिएर मुस्ताङ फर्किने पर्खाइमा रहेका जिसी र कुँवर कात्तिक १६ गते हिमापात रोकिएपछि त्यहाँबाट स्थानीय निर्माण व्यवसायी विकास रोकायासँगै छार्का हुँदै मुस्ताङ प्रस्थान गरेका थिए । दुई जना पर्यटकसँगै आएका रोकाया छार्का ब्यारेलबाट छुट्टिएका थिए ।  रोकाया स्थानीय नागरिक भएकाले मुस्ताङको साङ्ता गाउँ पुगेपनि पर्यटकद्वय समुद्री सतहको पाँच हजार मिटर उचाइमा पर्ने छार्का ब्यारेलबाट पदमार्ग पहिचान गर्न नसक्दा चार दिनसम्म अलपत्र परेका प्रजिअ भुसालले उल्लेख गर्नुभयो । उहाँका अनुसार रोकायाले सेटलाइट फोनमार्फत छार्का ब्यारेलमा दुई पर्यटक अलपत्र परेका स्थानीय प्रशासनलाई जानकारी गराएका थिए । मुस्ताङका प्रमुख जिल्ला अधिकारी भुसालले नेपाली सेनाको इन्द्रबक्स गणबाट दुई जना सेनाको टोली पुगेर हिमपातमा फसेका पर्यटकको हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको जानकारी दिनुभयो । पर्यटक जिसीले उपल्लो डोल्पामा भारी हिमपात भएकाले आफूहरू चार दिनसम्म मुस्ताङ र डोल्पाको सिमानामा अलपत्र परेको बताउनुभयो । उहाँका अनुसार रोकायाले दिनुभएको जानकारी पश्चात् स्थानीय प्रशासन र सेनाले उद्धार गरेको हो ।

तनहुँ:  तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको कुटपिटबाट मृत्यु भएको हो । मादक पदार्थ सेवन गरेका सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले खुसीमानको टाउकोमा चिर्पट प्रहार गर्दा गम्भीर घाइते भएका उनको उपचारका क्रममा गए राति मृत्यु भएको हो । कुटपिटमा संलग्न खिमबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौं:  काठमाडौं उपत्यकाका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ इन्टरनेट उपलब्ध हुने भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा विभिन्न अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र परिसर, विमानस्थलका साथै संवेदनशिल, महत्वपूर्ण र सार्वजनिक सेवा प्रवाह हुने क्षेत्रमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा विस्तार भएको हो। मन्त्रालयका अनुसार यसअघि नै वाइफाइ इन्टरनेट सेवा उपलब्ध भएका स्थानमा मर्मतसम्भार, गुणस्तर वृद्धि र क्षमता विस्तार गरिएको छ भने तीन निर्माणाधीनसहित आठ स्थानमा नयाँ जडान गरिएको हो। मन्त्रालयका अनुसार अब काठमाडौंको नयाँ बसपार्क, भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, कीर्तिपुर अस्पताल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ स्थापना र क्षमता विस्तारसहित सञ्चालनमा वाइफाइ सेवा उपलब्ध हुनेछ। साथै काठमाडौंको ठूलोभर्‍याङ यातायात व्यवस्था कार्यालय र ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा स्थापना र क्षमता अभिवृद्धिको काम भइरहेको छ। भक्तपुरको राधेराधेस्थित यातायात व्यवस्था कार्यालयमा नयाँस्थापनाको क्रममा रहेको मन्त्रालयको भनाइ छ। निःशुल्क वाइफाइको निरन्तरता र दिगोपनाका लागि सम्बन्धित संस्थाले सेवाप्रदायक कम्पनीसँग सम्झौता भइसकेको छ। नेपाल टेलिकम, वल्र्डलिङ्क र भायनेट कम्पनीले निःशुल्क वाइफाइ इन्टरनेट स्थापनाका लागि सहकार्य गरेका छन्। सञ्चारमन्त्री खरेलको विशेष सक्रियतमा नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सेवाप्रदायक कम्पनीसँगको समन्वयमा निःशुल्क वाइफाइ इन्टरनेटको पहुँच विस्तार गरेको हो। प्राधिकरणका अनुसार यसअघि वीर अस्पताल, परोपकार प्रसुति गृह तथा स्त्री रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, टेकु अस्पताल, कान्ति बाल अस्पताल, सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, सिभिल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, पाटन अस्पताल, सहिद धर्मभक्त माथेमा राष्ट्रिय उपचार केन्द्र र पशुपति मन्दिर परिसरमा १० एमबिपिएस ब्याण्डविथलाई बढाएर १५० एमबिपिएस बनाइएको छ। ती क्षेत्रमा प्रत्येक डिभाइसका लागि १०० एमबीबाट बढाएर ५०० एमबी बनाइएको छ। त्यसैगरी नेपाल टेलिकमले काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित ३५ विमानस्थलमा निःशुल्क वाइफाइ विस्तार गर्ने कार्ययोजना बनाएको छ। भक्तपुर क्यान्सर अस्पतालमा छ वटा एक्सेस प्वाइन्ट र कीर्तिपुर अस्पतालमा पाँच वटा एक्सेस प्वाइन्टसहित नयाँ वाइफाइ सेवा उपलब्ध गराइएको छ। गत असोज ६ गते सूचना तथा सञ्चार प्रविधिमन्त्रीमा नियुक्त भएपछि मन्त्री खरेलले मन्त्रालयमा पदभार ग्रहणका क्रममा आफ्नो पहिलो निर्णयमा हस्ताक्षर गर्दै दुई महिनाभित्र काठमाडौँ उपत्यकाका महत्वपूर्ण सार्वजनिक स्थलमा निःशुल्क वाइफाइको पहुँच पुर्याउने निर्णय गरेका थिए। मन्त्रालयका अनुसार उपत्यका बाहिरका महत्वपूर्ण दस वटा सहरमा पनि निःशुल्क वाइफाइ इन्टरनेटको पहुँच पुर्याउने काम अघि बढेको छ। निःशुल्क वाइफाइ इन्टरनेट सेवा सञ्चालनको अनुगमनका लागि सञ्चारमन्त्री खरेलसहितको टोली आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म नयाँ बसपार्क, त्रिवि शिक्षण अस्पताल, पशुपति क्षेत्र र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने कार्यक्रम छ।