पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । घान्द्रुकमा सोमबार भएको घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रु...

गलकोट:  निर्माण व्यवसायीको लापरबाहीका कारण बागलुङको मध्यपहाडी पुष्पलाल लोकमार्गको बिहुँखण्ड अलपत्र परेपछि स्थानीयले शीघ्र काम गर्नुपर्ने भन्दै सरोकार भएका निकायलाई ध्यानाकर्षण गराएका छन् ।  निमार्णाधीन सडक अलपत्र हुँदा आसपासका क्षेत्रमा ढुङ्गा, कङ्क्रिटका कारण खेतीपाती हुन छोडेको, सुन्तलाखेती नभएको र धुलोका कारण स्वास्थ्य बिग्रिएको बताउँदै स्थानीयले आज बागलुङका प्रमुख जिल्ला अधिकारीसमक्ष ध्यानाकर्षण पत्र बुझाएका हुन् ।  ध्यानाकर्षण पत्र बुझाउँदै उनीहरूले ठेकेदारले तत्कालै काम नगरे आगामी मङ्सिर १ गतेदेखि सडक बन्द गर्ने चेतावनी दिएका छन् । दुई वर्षमा कालोपत्र भइसक्ने लोकमार्गको बागलुङ खण्डअन्तर्गत २६ किलोमिटर नौ वर्षसम्म पनि १२ कालोपत्र हुन सकेको छैन । लोकमार्गको बागलुङ बजारबाट घोडाबाँधे खण्डको २६ किमी सडक कालोपत्रका लागि ठेक्का सम्झौता गरेको नौ वर्षसम्म पनि अलपत्र बनेको छ ।  बिहुँ खण्डको १३ किमी सडक पाँच पटक म्याद थप्दा कालोपत्र नभएपछि ठेक्का रद्द गरेर नयाँ सम्झौता गरिएको थियो । नयाँ ठेक्का सम्झौता गरेको एक वर्ष बित्दा भौतिक प्रगति १२ प्रतिशत मात्रै भएपछि स्थानीयले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएका हुन् ।  बागलुङको काठेखोला गाउँपालिका–५ र ६ का स्थानीयले आज प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई ध्यानाकर्षण गराउँदै तत्काल काम अघि बढाउन आग्रह गरिएको गराइएको स्थानीय भरतप्रसाद सापकोटाले बताए ।  लोकमार्ग आयोजना कार्यालय पर्वत र निर्माण व्यवसायीले स्थानीयको माग अटेर गरेका भन्दै समस्या समाधानका लागि आग्रह गरिएको उनको भनाइ छ । काठेखोला गाउँपालिका–५ का वडाध्यक्ष ज्ञामनाथ कँडेल र ६ का वडाध्यक्ष बृहस्पति कँडेलको नेतृत्वमा जिल्ला प्रशासन पुगेको स्थानीयको टोलीले मध्यपहाडी लोकमार्गको तत्कालै काम सुरु नभए आगामी मङ्सिर १ गतेदेखि बागलुङको बिहुँ खण्ड पूर्ण रूपमा बन्द गर्ने चेतावनी दिएका छन् ।  स्थानीयसहित पुगेको टोलीले सडक बन्दको चेतावनीसहित जिल्ला प्रशासन कार्यालयमा चारबुँदे ध्यानाकर्षण पत्र बुझाएको वडाध्यक्ष कँडेलले बताए । मङ्सिरसम्म जिल्ला प्रशासन कार्यालय, मध्यपहाडी लोकमार्ग र निर्माण व्यवसायीबीच बैठक बसेर काम अघि बढाउन पहल गर्ने प्रजिअ गुरुङले प्रतिबद्धता जनाए । मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड १४० किमीमध्ये सबै सडक कालोपत्र सकिँदा बिहुँ खण्डको १२ किमी अलपत्र बनेको हो ।  बिहुँ–घोडाबाँधे खण्डको १३ किमी सडक आठ वर्षमा पनि कालोपत्र नभएपछि ठेक्का तोडेर विसं २०८१ असार २१ गते दुई वर्षमा काम सक्नेगरी तामाङररिजाल भगवती जेभीसँग २१ करोड ४९ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । उक्त खण्डको हालसम्मको भौतिक प्रगति १२ प्रतिशत मात्रै भएकाले बिहुँवासीले चेतावनी दिएका खिमानन्द कँडेलले उल्लेख गरे ।

रुकुम पूर्व:  रुकुम पूर्वको भुमे गाउँपालिका १ लुगुमको पञ्चासेमा अटो दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । हिजो बेलुका भुमे १ स्यावालस्थित मध्यपहाडी लोक मार्गको लुगुम(पाटी हाल्ने सडक खण्डमा लुगुमबाट बराहातालतर्फ जादै गरेको रा १ ह ६७९७ नम्बरको अटो अनियन्त्रित भई सडकदेखि करिब तीन सय मिटर तल खस्दा भुमे १ लुगुमकी ३० वर्षीया रेजिना घर्ती मगर, २५ वर्षीया फिसोल्टी घर्ती मगरको मृत्यु भएको हो । मृतक दुबै जना एकै घरका जेठानी÷देउरानी हुन् । अन्य ५ जना घाइते भएका छन । घाइते हुनेमा लुगुमकै वर्ष २६ कि प्रतीक्षा बुढामगर, उहाँको ११ महिनाको छोरा सुभम बुढामगर, २५ वर्षकी ब्युटी पुन मगर, उनकी छोरी २३ महिनाकी समृद्धि पुन मगर, लुगुमकै वर्ष ३ का सक्षम घर्ती मगर छन । घाइतेहरु सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वले जानकारी दिएको छ । अटो चालक भुमे १ का करिब २९ वर्षका जोते घर्ती मथर भने सम्पर्कमा नरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वका प्रहरी नायब उपरीक्षक उमाशंकर प्रसाद यादवले बताउनुभयो ।

मुस्ताङ:  यहाँस्थित कागबेनी–कोरला सडक अन्तर्गत विभिन्न १० स्थानमा पहिरोले सडक अवरुद्ध भएको छ । बिहीबार रातिदेखि परेको निरन्तर वर्षाका कारण सो  सडकका विभिन्न स्थानमा लेदोसहितको बाढीले सडक संरचनामा क्षति पुगेको हो ।  कोरला सडकको कागबेनीदेखि छुसाङ खण्डसम्मको सडकमार्गका प्रत्येक खोल्लाखोल्सीमा लेदोसहितको बाढीले सडक संरचना क्षतविक्षत भएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिनुभयो ।  उहाँले उपकरण प्रयोग गरी सडक खुलाउन पहल सुरु भए पनि तत्काल सडक सञ्चालन नहुने बताउनुभयो । उहाँका अनुसार ती स्थानमा सडक संरचना सहित वर्षाले सञ्चार सेवा समेत प्रभावित बनेको छ ।   कागबेनीदेखि वारागुङ मुक्तिक्षेत्र–३ स्थित चैलेसम्मको दूरीमा पर्ने दर्जनौैँ स्थानमा सडक माथिबाट लेदोसहितको पहिरो खसेर शुक्रबार बिहानदेखि नै सडक अवरुद्ध भएको थियो ।  राष्ट्रिय गौरवको कागबेनी–कोरला सडकखण्डअन्तर्गत कागबेनीदेखि ताङ्वेसम्मको दूरीमा लेदोसहितको बाढीले झन्डै ५० मिटर सडक भासिएर सडक संरचना पूरै ध्वस्त हुन पुगेको वारागुङ मुक्तिक्षेत्रका वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार कागबेनी–ताङ्वे सडकखण्डमा चार स्थानभन्दा बढी सडक अवरुद्ध छ ।  त्यसैगरी, कोरला सडकको ताङ्वेदेखि छुसाङखण्डमा विभिन्न स्थानमा अविरल वर्षाले सडक संरचनामा क्षति पुगेको बताइएको छ । ताङ्वेदेखि छुसाङ खण्डको ताङ्वे खोलामा लेदोसहितको बाढीले सडक संरचना पूरै बगाएको छ । यस्तै, वर्षाका कारण वारागुङ मुक्तिक्षेत्रस्थित मुस्ताङ गेडमाथिको चैलै सडकमा करिब ३५ मिटर बढी सडक पहिरोका कारण ध्वस्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिनुभयो । उहाँले उक्त सडकमा पर्खाल निर्माण गरी फिलिङ गरिएकामा पहिरोका कारण सडक भासिएर क्षति भएको बताउनुभयो । यसैबीच शनिबार प्रजिअ भुसालसहित सुरक्षाकर्मीको टोलीले वर्षाले अवरुद्ध कागबेनी–छुसाङ सडकखण्डको स्थलगत अवलोकन गरेको छ । यहाँको सडकलाई आवश्यक मर्मत गरी सडक खुलाउन तीनवटा उपकरण परिचालित गरिएको छ ।  यसैगरी , कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाले सडक सञ्चालनमा ल्याउन भएका स्रोतसाधन परिचालन गरिने बताएको छ । आयोजनाका अनुसार स्थानीय व्यक्तिको दुईवटा उपकरण र म्याग्दी खण्डमा एक लोडर सम्बन्धित स्थानमा पुगिसकेको जनाएको छ । कागबेनी–छुसाङ सडकखण्डको ठाउँठाउँमा सडक संरचना ध्वस्त भएका कारण तत्काल सडक सञ्चालन हुने अवस्था नरहेको वारागुङ–४ का वडाध्यक्ष कर्मा घ्याचो गुरुङले जानकारी दिनुभयो ।  शनिबारदेखि कोरला सडक मर्मत सुरु भए पनि धेरै ठाउँका सडकमा बाढीपहिरोले क्षति भएकाले सडक खुलाउन केही दिन लाग्ने उहाँले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय मुस्ताङले कागबेनी–कोरला सडक अवरुद्ध रहेकाले तत्काल त्यसतर्फ यात्रा नगर्न अनुरोध गरेको छ ।  यसअघि बिहीबार रातिको अविरल वर्षाका कारण तीन स्थानमा सडक क्षति हुँदा जोमसोम–कागबेनी सडक अवरुद्ध भएको थियो ।  यहाँ शनिबार बिहानै स्थानीय प्रशासनको पहलमा डोजर परिचालन गरी पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको थियो । जोमसोम–कागबेनी सडक २४ घण्टापछि सञ्चालनमा आएसँगै मुक्तिनाथ दर्शन गर्ने दर्शनार्थीहरूका लागि सहज भएको जनाइएको छ ।

काठमाडौं:   सरकार र उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत नर्सबीच सहमति भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शनिबार ९कात्तिक १५० भएको वार्तामा मन्त्रालय र नर्सिङ पक्षका प्रतिनिधिबीच सहमति जुटेको हो । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले आइतबार (कात्तिक १६)देखि नर्सहरूको आन्दोलनका कार्यक्रम फिर्ता लिइने बताए । सरकार आन्दोलनका क्रममा उठाइएका माग कार्यान्वयनका निम्ति सहमत भएको उनले जानकारी दिए । उनले भने, “निजी मेडिकल कलेज तथा ठूला निजी अस्पतालले कात्तिक महिनादेखि नै पूर्ण रूपमा सरकारी पाँचौँ तह ३४ हजार ७३० रुपैयाँ न्यूनतम पारिश्रमिक तलब दिने सहमति भएको छ । यसैगरी, निजी अस्पतालले क्षमताअनुसार हाललाई ८० प्रतिशत तलब दिनुपर्ने र एक महिनामा अस्पतालको वर्गीकरण गरेर सरकारीसरह तलब पुर्‍याउने सहमति भएको छ ।” डा। बुढाथोकीका अनुसार, यो विषयमा अध्ययन र आवश्यक सिफारिस गर्न गठित कार्यदलले एक महिनाभित्र प्रतिवेदन पेस गरेपछि बाँकी अस्पतालले पनि सरकारी मापदण्डअनुसार पूर्ण तलब दिनुपर्नेछ । सरकारले यसअघि नर्सका माग सम्बोधन गर्न १४ सदस्यीय समिति गठन गरेको थियो । शनिबारको वार्तामा स्वास्थ्यमन्त्री डा। सुधा शर्मा गौतमसहित मन्त्रालयका सचिव डा। विकास देवकोटा, प्रवक्ता बुढाथोकी तथा नर्सिङ संघ र निजी मेडिकल कलेजका पदाधिकारीको उपस्थिति थियो ।

म्याग्दी:  म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीबजारसँग जोड्ने बेनी–दरवाङ सडक तीन दिनदेखि अवरुद्ध छ । बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेत (घुमाउने)मा खसेको पहिरोका कारण मङ्गला, मालिका र धौलागिरि गाउँपालिका बिहीबारदेखि सदरमुकाम बेनी बजारसँग सीधा यातायात सम्पर्कविच्छेद भएको हो । सडक अवरुद्ध हुँदा स्थानीयवासीलाई गन्तव्यमा पुग्न समस्या भएको छ । जलविद्युत्, सडक, भवन, प्रसारण लाइन, सवस्टेशन आयोजनाका निर्माण सामग्री ढुवानी रोकिएको छ । दैनिक उपभोग्य सामग्रीको ढुवानी र ग्रामीण क्षेत्रमा उत्पादन भएको कृषि तथा पशुजन्य वस्तु बजारीकरणमा समस्या भएको छ । यातायात ब्यवसायी यज्ञबहादुर थापाले सडकमा पहिरो थुप्रिनुका साथै माथिबाट निरन्तर पहिरो खसिरहने भएकाले दुर्घटनाको जोखिम रहेको बताउनुभयो । उक्त स्थानमा विसं २०६१ मा सडकको मार्ग खोलेदेखिनै पहिरोको समस्या रहेको छ । बेनी–दरवाङ सडक स्तरोन्नतिको योजना कार्यान्वयन गरिरहेको पूर्वाधार विकास कार्यालय, म्याग्दीले आज बिहानदेखि वर्षा रोकिएकाले पहिरो पन्छाउन उपकरण परिचालन गरेर सडक खुलाउने जनाएको छ । 

काठमाडौं:  बङ्गालको खाडीमा विकसित भएको चक्रवात “मोन्था” हाल भारतको छत्तिसगढ आसपासमा न्यूनचापीय क्षेत्रका रूपमा रही नेपालको मौसम प्रभावित भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले नेपालमा हाल पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार कोशी प्रदेशमा पूर्ण बदली र बाँकी भूभागमा साधरणतयादेखि अधिकांश बदली रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने छ । कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।  कोशी प्रदेश उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति कोशी र मधेश प्रदेश साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

काठमाडौं:   आज हरिबोधिनी एकादशी । वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको व्रत र पूजा गरी मनाउँदै छन् । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधिनी एकादशी पर्व आज तुलसी र दामोदरको विवाह गरी मनाइन्छ । असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँतिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् । विष्णु क्षिर सागरमा सुतेकाले यी चार महिना विवाह ब्रतवन्धजस्ता माङ्गलिककार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदी नालामा बाढी पहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ । हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ । कात्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ । हरिशयनी एकादशीदेखि पूजा गरिएको तुलसीको उद्यापन अग्निस्थापना विधिबाट विशेष पूजा र हवनसहित गरिन्छ । आजदेखि मार्गशीर्ष कृष्ण पञ्चमीसम्म अग्निस्थापना नजुरेका दिनपनि अग्निस्थापना विधिबाट विशेष पूजा र हवन गर्न सकिने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् प्रा. तोयराज नेपालले बताए । आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिकरूपमा पनि लाभदायक प्रमाणित भएको छ । यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् । तुलसीको पात, डाँठ, वा फूलको रस रुघाखोकी र औलो लगायत रोगका लागि औषधि हुन्छ । यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन । तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैन । मठको वरपर वहने हावाले विषालु कीटाणुलाई नष्ट गर्दछ । शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महा औषधि मानिन्छ । तुलसीबाट बनेको चिया मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न उपयुक्त मानिन्छ । कात्तिक महिनामा तुलसीको माला लगाउँदा र एक लाख तुलसीपत्र विष्णुलाई अर्पण गर्दा मनोकांक्षा पूरा हुन्छ भन्ने विश्वास छ । गरुड पुराणमा उल्लेख भएअनुसार यस महिनामा एउटा तुलसीपत्र भगवान् विष्णुलाई अर्पण गर्दा १० हजार गाई दान गरे बराबरको फल मिल्दछ । आजका दिन भगवान् विष्णुको मूर्तिलाई रथमा राखी यात्रा गराउने प्रचलन पनि छ । आजको दिन अन्न खान नहुने भएकाले सखरखन्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार गरिन्छ । यसरी व्रत गरेमा पापको नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ । ठूलो एकादशी पनि भनिने आजको एकादशी व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ । कात्तिक महिनामा भगवान् विष्णुलाई भक्तिपूर्वक सम्झी गरिएको स्नान, दान, जप र होमले फल पाइने एवम् सय जन्मका पापबाट मुक्ति मिल्ने प्रसङ्ग विभिन्न ग्रन्थमा वर्णन गरिएको छ । आजका दिन काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौँका शेष नारायण र इचँगुनारायण स्थानमा विशेष मेला लाग्दछ । यहाँ जान नसक्नेले काठमाडौँको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ । यसैगरी नारायणहिटस्थित नारायणस्थानमा गई पूजा, आराधना एवं दर्शन गर्नाले पनि काठमाडौँ उपत्यकाका चारै नारायणस्थानमा पुगे बराबरको फल पाइने शास्त्रीय मान्यता रहेको मन्दिरका मठाधीश डा. राजेश्वरानन्दले जानकारी दिए । उता, धादिङको नीलकण्ठ नगरपालिका वडा ४ स्थित ऐतिहासिक कालिका मन्दिरमा विशेष मेला लाग्ने गर्दछ ।

मुस्ताङ:  मुस्ताङको लोघेकर दामोदरकुण्ड–४ याराबाट दामोदरकुण्ड हुँदै सरेबुङ पास क्षेत्रका लागि निस्किएका १४ जना पर्यटक तथा पदयात्री केहीबेर अघि जिल्ला प्रशासन कार्यालय मुस्ताङको सम्पर्कमा आएका छन् ।  मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले सरेबुङ पास प्रस्थान गरेका तीन अष्ट्रियन नागरिकसहित १४ जना पदयात्री केहीबेर अघि सम्पर्कमा आएका जनाउँदै सबै सुरक्षित रहेका बताए । दुई साताअघि हिमालयन एडभेन्चर ट्राभल्समार्फत काठमाडौंबाट सरेबुङ हुँदै मनाङको फु गाउँको पदयात्राका लागि निस्किएका थिए । उ नीहरू अक्टोबर २६ तारिखमा लोघेकर–४ याराबाट सरेबुङ यात्राका लागि दामोदरकुण्डतर्फ प्रस्थान गरेका थिए । त्यसपछि तीनदिनदेखि सम्पर्कविहीन भएका हिमालयन एडभेन्चरले जनाएको थियो ।  जिल्ला प्रशासन कार्यालयलाई बिहीबार साँझ उनीहरू सम्पर्कविहीन भएकाबारे जानकारी गराइएको हिमालयन एडभेन्चरका व्यवस्थापक दीपक मैनालीले बताए । आज बिहान पथप्रर्दशकमध्ये एक जनाले टेलिफोन सम्पर्क गरे पनि स्पष्ट कुराकानी हुन नसकेको उनले बताएका थिए । समुन्द्री सतहदेखि छ हजार मिटर उचाइमा पर्ने सरेबुङ पास छिचोल्दै मनाङको फु गाउँ निस्किने योजनासहित लोघेकर दामोदरकुण्ड–४ याराबाट दामोदरकुण्ड प्रस्थान गरेको उक्त टोली मङ्गलबारदेखि सम्पर्कविहीन भएको थियो । मङ्गलबारदेखि परेको भारी हिमपात र प्रतिकूल मौसमका पदयात्री सम्पर्कविहीन भएका व्यवस्थापक मैनालीले बताए । भुसालका अनुसार सरेबुङ पदयात्रामा निस्किएका सबै पदयात्री भारी हिमपातका कारण तीन दिनसम्म दामोदरकुण्ड धर्मशालामा सुरक्षित बसेका जानकारी प्राप्त भएको छ । सबै पदयात्री सम्पर्कमा आएसँगै आज साँझ दामोदरकुण्डबाट अगाडि बढ्न नसकेपछि पैदल यात्रामार्फत सुरक्षित रूपमा यारा गाउँमा आइपुगेका उनले जानकारी दिए ।  प्रजिअ भुसालले उच्च स्थानमा अवस्थित दामोदरकुण्डमा रहेको धर्मशालामा खाने, बस्नेलगायत अत्यावश्यक सुविधा भएकाले सम्पर्कविहीन पदयात्रीलाई सुरक्षित रहन सहज भएको बताए । 

मुस्ताङ:   मुस्ताङ र मनाङ जोड्ने पर्यटकीय पदमार्ग सरिबुङ पास गएका १४ जना पदयात्री तीन दिनदेखि सम्पर्कविहीन भएका छन् ।  यहाँको लोघेकर दामोदरकुण्ड–४ याराबाट दामोदरकुण्ड हुँदै सरिबुङ पास हुँदै मनाङको फु गाउँ निस्किने क्रममा हिमपातका कारण मङ्गलबारदेखि तीन जना अष्ट्रियन नागरिकसहित ११ जना नेपाली पथप्रदर्शक सम्पर्कविहीन भएका हुन् । मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले उनीहरू बिहीबार साँझ सम्पर्कविहीन भएको सूचना प्राप्त भएको बताए ।  चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको सीमावर्ती दामोदरकुण्ड क्षेत्रको मुस्ताङ–मनाङ सरिबुङ पास समुन्द्री सतहदेखि ६ हजार मिटर उचाइमा पर्दछ । त्यहाँ भारी हिमपात भएकाले विदेशी पदयात्रीसहित १४ जनाको टोली सम्पर्कविहीन भएको उनले उल्लेख गरे । यसैबिच जिल्ला प्रशासन कार्यालय मुस्ताङले सम्पर्कविहीन रहेका पदयात्रीहरू दामोदरकुण्डस्थित तीर्थयात्री धर्मशालामा सुरक्षित हुनसक्ने अनुमान गरेको छ । सो धर्मशालामा खाने, बस्नेसहित अत्यावश्यक सामान व्यवस्थित रहेकाले सम्पर्कविहीन टोली त्यहाँ हुनसक्ने भन्दै प्रजिअ भुसालले धर्मशालामा उनीहरूलाई कुनै समस्या नपर्ने बताए । हिमालय एडभेन्चर ट्राभल कम्पनीमार्फत सरिबुङ पासको पदयात्रामा निस्किएका सबै दुई साताअघि काठमाडौँबाट त्यसतर्फ प्रस्थान गरेका हिमालयन एडभेन्चरका व्यवस्थापक दीपक मैनालीले जानकारी दिए । मुस्ताङको दामोदरकुण्ड हुँदै सरिबुङ पास निस्किएका तीन अष्ट्रियन पर्यटकसहित नेपाली पथप्रदर्शकको टोली गत मङ्गलबारदेखि सम्पर्कमा नरहेको उनको भनाइ छ । आज बिहान मात्रै फोन सम्पर्कमा आएका जनाउँदै मैनालीले स्पष्ट कुराकानी भने हुन नसकेको बताए । अक्टोबर २६ तारिखमा दामोदरकुण्डबाट सरिबुङ पासतर्फ हिँडेको जानकारी प्राप्त भएको बताउँदै उनले त्यसयता कुनै सम्पर्क नभएको उल्लेख गरे । “हामीलाई आज मात्रै पथप्रदर्शकले फोन सम्पर्क गरेका थिए, तर प्रतिकूल मौसम र सञ्चार अवरोधका कारण राम्ररी कुराकानी हुन सकेन”, व्यवस्थापक मैनालीले भने, “हामीले फोनको ‘ट्रयाकिङ’ गरेर स्थान पत्ता लगाउन गृह मन्त्रालयसँग अनुरोध गरेका छौँ ।” सम्पर्कविहीन भएका पदयात्री रहेको स्थान पत्ता लगाउन सकेमा उद्धारका लागि हेलिकप्टर पठाउने तरी तयारी भएकोबारे गृहमन्त्रालयमा जानकारी गराइएको उनले उल्लेख गरे ।  सम्पर्कविहीन पदयात्री सरिबुङबाट मनाङको फु गाउँ हुँदै चाँमे निस्किने योजनामा रहेका व्यवस्थापक मैनालीले बताए ।