काठमाडौं: हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने छ । आज राति देशभर मौसम मुख्यतया सफा रहने छ ।
काठमाडौं: उज्यालोको पर्वका रूपमा लिइने चाड तिहारको यमपञ्चक आजदेखि विधिवत् आरम्भ हुँदैछ। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ। आज दिउँसो १:२३ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व सुरु भएको हो। दिउँसो १:२३ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख छ। यमदीपदान पनि आजैदेखि सुरु हुने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए। काग तिहार भने आइतबार परेको उनले बताए। बेलुकी त्रयोदशी तिथि परेका दिन धनत्रयोदशी एवं यमदीपदान पर्व मनाउने शास्त्रीय मान्यता छ। सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान सुरु गर्नुपर्ने र प्रात: अर्थात् सूर्योदयकालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय मान्यता अनुसार यस्तो निर्णय गरिएको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिए। यमपञ्चकका अवसरमा यमदीपदान गरे यमयातनाबाट मुक्ति पाइने विश्वास छ। धनवन्तरी जयन्ती भने आइतबार परेको छ। तिथिको घटबढका कारण सोमबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको पनि समितिले जनाएको छ। यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ। यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धर्मशास्त्रविद् प्रा तोयराज नेपाल बताउँछन्। कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गरिन्छ। कात्तिक २ गते आइतबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार मनाइने र बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिका अध्यक्ष ढकालले बताए। सोमबार बिहान अरुणोदयकालअघि अपामार्गसहित स्नान गरिन्छ। यसलाई नरक स्नान भनिन्छ। यस दिन बिहान विधिपूर्वक स्नान गरी बत्ती बालेर नदीमा बगाउनाले नरकको यातना सहनु नपर्ने मान्यता छ। कात्तिक ३ गते दिउँसो २:५२ बजेसम्म चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले लक्ष्मीपूजा पनि यसै दिन गर्नुपरेको हो। रातमा औँसी तिथि परेका दिन लक्ष्मीपूजा गर्ने शास्त्रीय विधि रहेको छ। यस वर्ष कात्तिक ४ गते मङ्गलबार औँसी तिथि दिउँसो ४स्२९ बजेसम्म परेको छ। यस दिन तिहारका कुनै पनि पर्व परेको छैन। कात्तिक ४ गते यमपञ्चक अर्थात् तिहारको मध्य समय परेपनि शास्त्रले तोके अनुसार कुनै कर्म परेको छैन। गाईगोरु एवं गोवर्द्धन पूजा कात्तिक ५ गते बुधबार परेको छ। हलितिहार, बलीपूजा र आत्म (म्ह) पूजा र नेपाल संवत् ११४६ आरम्भ यसै दिन परेको छ। कार्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवद्र्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन छ। प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचन अनुसार नेपाल संवत् ११४५ यसै दिनदेखि सुरु हुन्छ। कात्तिक ६ गते बिहीबार भाइटीका लगाउनुपर्ने समितिले जनाएको छ। यस दिन बिहान ११ः३९ बजे भाइटीकाको शुभ साइत रहेको समितिका सदस्य लक्ष्मण पन्थीले राससलाई जानकारी दिए। भाइटीका पश्चिम मोहडा गरेर गर्नुपर्ने समितिले जनाएको छ। भाइटीका लगाइमाग्ने दाजुभाइ पश्चिम फर्केर बस्नुपर्छ। लगाइदिने दिदीबहिनी भने पूर्व फर्कनुपर्ने जनाइएको छ। सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् नै हुने उनले सुनाए। राज्य सञ्चालकले भने साइतमा टीका लगाउनुपर्छ। भाइपूजा र नेवारी भाषामा किजापूजा भनिने पर्व कात्तिक ६ गते गरिन्छ। बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ। झिलीमिलीको चाड भनिने तिहारका अवसरमा एक हप्ता अघिदेखि राजधानीलगायत प्रमुख शहरमा थरी थरीका बत्ती बाल्न सुरु भइसकेको छ। बत्तीको उज्यालोले शहरमा घुम्दा समेत मन आनन्दित हुन्छ। केहीले आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाकै दिनदेखि दीपावलीलाई निरन्तरता दिन्छन्। कोजाग्रत पूर्णिमामा लक्ष्मीको पूजा गरी त्यसै दिनदेखि दीपावलीलाई निरन्तरता दिने क्रम पनि शहरी क्षेत्रमा बढ्न थालेको छ। बडादशैँमा सुनसान प्रायः हुने काठमाडौँ उपत्यका तिहारमा झिलीमिलीले उत्सवमय बन्छ। लक्ष्मीपूजाका दिन भलो होस् भनी भैलो र गोवर्द्धन पूजाका दिन देउसी खेल्ने गरिन्छ। विशेषगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा भने कोजाग्रत पूर्णिमाका दिनदेखि देउसी भैलो खेल्ने परम्परा पनि छ। कौडा, लंगुरबुर्जा, तासलगायत विभिन्न स्वरुपका जुवा तिहारका अवसरमा खेल्ने गरिन्छ। नेपाल प्रहरीले पटाका नपड्काई सभ्य रूपमा पर्व मनाउन आह्वान गरेको छ। तिहारअघि ठूलो सङ्ख्यामा पटाका बरामद हुने गरेपनि पड्काउन भने छाडिएको छैन।
मुस्ताङ: झण्डै पाँच सय वर्षअघि यहाँको घरपझोङ–५ ठिनीमा राजा थर्कोचेनले शासन चलाएका थिए । मुस्ताङको पान्डाखोलादेखि तल्लो भूभाग चिमाङ र चोखोपानी खोलासम्म राजा थर्कोचेनको राज्य थियो । राजा थर्कोचेनको राज्य सुरक्षाका लागि बसाइलिएको बस्ती हो मुस्ताङको घरपझोङ–१ चिमाङ गाउँ । राजा थर्कोचेनले त्यस समय ठिनी गाउँमा रहेको तीन गाउँले थकाली समुदायमध्येको एक ध्याकल फोपे समूहलाई आफ्नो राज्यको सिमाना कुर्न र त्यहाँको रेखदेखका लागि बस्ती बसालेका थिए भन्ने भनाइ छ । समुद्री सतहको करिब तीन हजार मिटरभन्दा माथि उचाइको भिरालो स्थान चाखोपानी खोलाको भिरको थुम्कोमा सिमाना कुर्न बस्ती बसालेको चिमाङ गाउँका अगुवा इन्द्रप्रसाद थकाली बताउनुहुन्छ । सुरुआती चरणमा यहाँ सिमाना रक्षाका लागि ठिनी गाउँबाट ध्याकल फोपे समूहलाई बस्ती बसालेर स्थानान्तरण गरेको अगुवा उहाँको भनाइ छ । त्यस समय यहाँ बस्ती बसालेर सिमाना रक्षाका खटिएका समूहलाई दुःख, बिरामी हुँदा झारफुक गर्ने र दैवी तथा प्राकृतिक प्रकोपबाट मुक्त गराउन पूजापाठका लागि ठिनीका राजाले त्यहीका झाँक्री फोपे समूहलाई पनि चिमाङ गाउँमै स्थानान्तरण गरेका अगुवा थकालीको भनाइ छ । त्यसपछि यहाँ ठिनीका राजाको सिमाना कुर्न ध्याकल र झाँक्री फोपेको संयुक्त बस्ती बसेको बताइन्छ । यहाँको चिमाङ गाउँ राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकबाट कालीगण्डकीपारि अग्लो स्थानमा अवस्थित रहेको कृषि गाउँका रूपमा परिचित छ । यहाँ सुरुआती चरणमा ३५ घरपरिवारको बसोबास रहेकामा पछिल्लो समय यो बस्ती मिश्रित बस्तीका रूपमा परिणत भएको छ । सीमारक्षाका लागि त्यस समय बसेको चिमाङ बस्तीका एकतिहाइ घरपरिवारले बस्ती छाडिसकेको चिमाङका अगुवा इन्द्रप्रसाद थकाली बताउनुहुन्छ । उहाँका अनुसार यहाँका कतिपय घरपरिवार वैकल्पिक व्यापार व्यवसाय र रोजगारीका लागि पोखरा–काठमाडौँलगायत सहरमा पलायन भएका छन् । गाउँमा कृषिबाहेक अन्य सम्भावना नरहेको र भौगोलिक रूपले समेत विकट स्थानमा रहेकाले बस्तीमा पुराना मानिसको सङ्ख्या घट्दै गएको छ । त्यसो त यहाँको पुरानो बस्ती चिमाङमा स्थानीय घरपरिवारले बस्ती त्यागे पनि रुकुम, धादिङ र म्याग्दीबाट मानिस यहाँ आएर बस्न थालेका छन् । यहाँ स्थानीय दलित समुदायको पनि करिब पाँच–छ घर रहेको उहाँको भनाइ छ । तीन गाउँले थकाली समुदायका रूपमा यहाँको घरपझोङ गाउँपालिकाको ठिनी, स्याङ र चिमाङ गाउँ रहेका छन् । यहाँको चोखोपानी खोला नजिकै भिरालो पाखोमा बसेको चिमाङ गाउँमा परम्परागत पुराना सांस्कृतिक घरहरूको बनावट निकै लोभलाग्दो र आकर्षक देखिन्छन् । निलगिरि हिमालको फेदैमा अवस्थित घना जङ्गलको मुनि चिमाङ गाउँ अवस्थित छ । यो गाउँ थकाली समुदायको सांस्कृतिक गाउँका रूपमा समेत परिचित छ । भौगोलिक जटिलता भएको स्थानमा त्यस समय ठिनीका राजाले बस्ती बसालेका भए पनि त्यहाँ बसोबास गर्नेहरूको दैनिकी निकै कष्टकर नै थियो । नागरिकको आधारभूत सेवा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी र प्रशासनिकलगायतका सेवा निकै असहज थियो । गाउँसम्म पुग्ने सडक, सञ्चार, विद्युत् र कालीगण्डकी नदीमा पुल नहुँदा यहाँका नागरिक विभिन्न प्रकार सास्ती भोग्न बाध्य थिए । पछिल्लो समय यस गाउँको स्वरूपमा पहिलेको भन्दा निकै परिवर्तन आइसकेको छ । गाउँमा आधारभूत तह ९१–५० सम्मको शिक्षा उपलब्ध गराउन विद्यालय खुल्यो । तर यहाँ बस्ती विस्थापित हुने क्रम, जन्मदर घट्दो हुनु र केही हुनेखानेले सुगम विद्यालयमा पढाउनेलगायत कारण यहाँका विद्यालयमा विद्यार्थी सङ्ख्या निकै कम छ । त्यसैगरी, यहाँको चिमाङ गाउँमा स्थानीय नागरिकको स्वास्थ्य सेवाका लागि आधारभूत स्वास्थ्य केन्द्र स्थापना भइसकेको छ । सेवाबाट चिमाङका नागरिकले साधारण उपचार गाउँमै पाएको अगुवा इन्द्रबहादुर थकालीको भनाइ छ । उहाँका अनुसार गाउँमा विद्युत्, सञ्चार, सडकलगायत सेवाको पहुँच विस्तार भएकाले चिमाङमा सम्भावना ढोका खुलेको उहाँले बताउनुभयो । हालै कालीगण्डकी नदीमा पक्की पुल बनेको र गाउँसम्म जाने कच्ची सडक विस्तार भएकाले गाउँसम्म मोटर पुग्न थालेको छ । जलवायु परिवर्तन र वन्यजन्तुको आतङ्कले चिमाङ गाउँका स्थानीयलाई निकै हैरानी बनाएको छ । पछिल्लो समय जलवायु परिवर्तनका कारण स्याउ बगैँचा व्यवस्थापन गर्ने समयमा हिउँ नपर्दा कृषि उत्पादनमा प्रतिकूल असर पुगेको अगुवा थकाली बताउनुहुन्छ । यहाँ स्याउलगायत अन्नबालीलाई पर्याप्त चिस्यान चाहिने र अनुकूल समयमा हिउँ नपर्दा उत्पादन कम हुने अन्नबालीमा विभिन्न रोगकीराको सङ्क्रमण देखिएको उहाँले बताउनुभयो । त्यसैगरी, चिमाङका किसानले मेहेनतले गरेको खेती पनि संरक्षित वन्यजन्तु हिमाली कालो भालुले रातिको समयमा खेतबारीमा पसेर सखाप पारिदिने गरेको छ । यहाँका किसानले स्याउ र अन्य अन्नबाली जोगाउन रातिको समय थाल, टिन र ढ्याङ्गो ठटाएर भालु धपाउने काम गर्दै आइरहेका छन् । यहाँ किसानले उत्पादन गरेको अन्नबाली जोगाउन वैज्ञानिक रणनीति अख्तियार गर्नुपर्ने अगुवा थकालीले सुझाउनुभयो । यहाँ केही वर्षअघि भालु धपाउने यन्त्र प्रयोग गरिएको भए पनि त्यो सफल नभएको उहाँले जनाउनुभयो । एक्यापले यहाँको खेतीयोग्य जमिनमा तारबार लगाएको भए पनि भालुको आतङ्क नरोकिएको उहाँको भनाइ छ । यहाँको प्राचीन बस्ती चिमाङ पर्यटकीय गन्तव्यका रूपमा पनि निकै सम्भावना बोकेको गाउँका रूपमा लिने गरिएको छ । चिमाङ गाउँबाट धवलागिरि हिमाल, धवलागिरि आधार शिविर, मानापाथी हिमाल र निलगिरि हिमाल निकै मनमोहक र आकर्षक देखिन्छ । त्यसैगरी यहाँबाट कालीगण्डकी करिडोर, स्याउ बगानदेखि स्याङ, मार्फा, छैरो, टुकुचे, कोवाङ र नाउरीकोटलगायत आधा दर्जन गाउँ सुन्दर देखिन्छ । चिमाङ गाउँ जङ्गल सफारीका लागि प्रचुर सम्भावना भएको क्षेत्र हो । गाउँबाट केही माथिसम्म जङ्गल सफारीका लागि पदमार्ग निर्माण भएको छ । गाउँमाथिको जङ्गलमा गुफा अवस्थित छ । यहाँ राउण्ड अन्नपूर्ण चक्रीय पदमार्ग रहे पनि पछिल्लो समय पदमार्गमा पर्यटक हिँड्न छाडिसकेका र पदमार्ग पनि जीर्ण बन्दै जान थालेको छ । गाउँमा रहेका पुराना घरहरू अहिले जोखिममा छन् । जलवायु परिवर्तका कारण वर्षा धेरै हुन थालेपछि भिरालो सतहमा अवस्थित यहाँको चिमाङ गाउँ जोखिममा रहेको अगुवा थकालीले बताउनुभयो । “पहिलापहिला त ठिकै थियो, अहिले त बढी पानी पर्न थालेको छ, वर्षाले भिर नै भासियो भने त बस्ती नै नरहने पो हो कि भन्ने चिन्ता छ”, उहाँले भन्नुभयो । गाउँका पुराना परम्परागत गुजमुज्ज घर पनि वर्षौँवर्षदेखिको घामपानीका असरले जीर्ण बन्दै जान थालेका छन् । परम्परागत घरको संरक्षण गर्न चासो नपुगेकै कारण कतिपय घरको अवस्था दयनीय रहेको उहाँले बताउनुभयो । सरकारले सांस्कृतिक मौलिकता झल्काउने यस प्रकारका पुराना घर जोगाउन अनुदानका कार्यक्रम ल्याउन सकेमा राम्रो हुने उहाँले बताउनुभयो ।
काठमाडौं: चालु आर्थिक वर्षको तीन महिना बित्न लाग्दासमेत ४३ वटा स्थानीय तहले बजेट प्रस्तुत गरेका छैनन् । देशभरका कुल सात सय ५३ स्थानीय तहले हरेक वर्षको असार १० गते नै वार्षिक बजेट सार्वजनिक गर्ने गरेका छन् । संविधानमा नै हरेक वर्षको जेठ १५ गते अर्थात् गणतन्त्र दिवसको दिन सङ्घीय सरकारको बजेट प्रस्तुत गर्ने व्यवस्था गरेको छ । नेपालको संविधान जारी भएपछि सोहीअनुसार नै बजेट प्रस्तुत हुँदै आएको छ । यस्तै, प्रदेश सरकारले असार १ गते बजेट प्रस्तुत गर्ने गरेका छन् । तोकिएको समयभन्दा धेरै ढिला भइसक्दा पनि बजेट प्रस्तुत नगरेर स्थानीय तहले जिम्मेवारी पूरा नगरेको भन्दै आलोचना समेत हुने गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार कोशी प्रदेशका एक सय ३७ स्थानीय तहमध्ये एक सय १३५ वटाले बजेट प्रस्तुत गरेका छन् । सो प्रदेशको इटहरी उपमहानगरपालिका र धरान उपमहानगरपालिको बजेट प्रस्तुत नभएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मधेश प्रदेशका कुल एक सय ३६ स्थानीय तहमध्ये एक सय दुई वटा स्थानीय तहले बजेट प्रस्तुत गरेका छन् । सो प्रदेशका ३४ वटा स्थानीय तहले हालसम्म बजेट प्रस्तुत गरेका छैनन् । मन्त्रालयका अनुसार सप्तरीका डाक्नेश्वरी नगरपालिका, राजविराज नगरपालिका, अग्निसाइर कृष्णासवरन गाउँपालिका, छिन्न्मस्ता गाउँपालिका, बलान बिहुल गाउँपालिकाले बजेट प्रस्तुत गर्न सकेका छैनन् । सिराहाको कल्याणपुर, धनगढीमाई नगरपालिका, सुखीपुर नगरपालिका, धनुषाको जनकपुर उपमहानगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका, धनुषाधाम नगरपालिका, नगराइन नगरपालिका, मिथिला नगरपालिका, औरही गाउँपालिका, कमला नगरपालिका, जनकनन्दिनी गाउँपालिका, हंपसुर नगरपालिका र धनौजी गाउँपालिकाले चालु आवको बजेट सार्वजनिक गरेका छैनन् । महोत्तरीको सोनमा गाउँपालिका, मलङ्गवा नगरपालिका, सर्लाहीको हरिवन नगरपालिका, चन्द्रनगर गाउँपालिका, रामनगर गाउँपालिका, रौतहटको कटहरिया, देवाही गोनाही नगरपालिका, फतुवा विजयपुर नगरपालिका, यमुनामाई गाउँपालिकाले बजेट सार्वजनिक गरेका छैनन् । यस्तै, बाराको महागढीमाई नगरपालिका, सुवर्ण गाउँपालिका, विश्रामपुर गाउँपालिका, पर्साको पोखरिया, पकाहा मैनपुर गाउँपालिका, सखुवा प्रसौनी गाउँपालिका र कालिकामाई गाउँपालिकाले चालु आवको बजेट प्रस्तुत नगरेको मन्त्रालयको विवरणमा उल्लेख छ । बागमती प्रदेशको धादिङको खनियाबास गाउँपालिकाले बजेट प्रस्तुत गरेको छैन । गण्डकी प्रदेशका सबै स्थानीय तहले बजेट प्रस्तुत गरेका छन् । लुम्बिनी प्रदेशअन्तर्गत नवलपरासीको पाल्हीनन्दन गाउँपालिका, रूपन्देहीको कोटहीमाई गाउँपालिका, कपिलवस्तुको शुद्धोधन गाउँपालिका, दाङको तुल्सीपुर उपमहानगरपालिकाले चालु आवको बजेट प्रस्ुतत नगरेको मन्त्रालयको विवरणमा समावेश छ । कर्णाली प्रदेशअन्तर्गत सल्यानको छत्रेश्वरी गाउँपालिकाले बजेट प्रस्तुत गरेको छैन । सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहले बजेट प्रस्तुत गरेका छन् । मन्त्रालयको पोर्टलमार्फत सम्बन्धित स्थानीय तहले प्रविष्ट गरेको विवरणका आधारमा कुल ९४ दशमलव २९ प्रतिशत तहले बजेट प्रस्तुत गरेको पाइएको छ । यस्तै, पाँच दशमलव ७१ प्रतिशत स्थानीय तहले बजेट प्रस्तुत गरेका छैनन् । अधिकांश स्थानीय तहमा राजनीतिक सहमति हुन नसक्दा बजेट प्रस्तुत हुन नसकेको पाइएको छ ।
कास्की: गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा कास्की कारागारको बन्दीगृहबाट भागेका ८१ जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ । कारागार विभागले विभिन्न मुद्दाका कैदी तथा थुनुवालाई असोज २० गतेभित्र स्वःस्फूर्त कारागारमा फर्किन आग्रह गरेको थियो । उक्त मितिभित्र हाजिर नभई फरार रहेका कैदीबन्दीलाई विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिनुभयो । “गत भदौ २३ र २४ गतेको प्रदर्शन, तोडफोड तथा आगजनीपश्चात् कारागारबाट फरार रहेका विभिन्न मुद्दाका कैदी तथा थुनुवालाई स्वःस्फूर्त कारागारमा फर्किन आग्रह गरेका थियौँ । तर सो समयभित्र हाजिर नभएकालाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयबाट खोजतलास सुरु गरिएको हो”, उहाँले भन्नुभयो । पक्राउ परेकाहरूमा जबर्जस्ती करणी मुद्दा र लागुऔषध मुद्दाका १६–१६ जना छन् । चोरी मुद्दाका २५, कर्तव्य ज्यान मुद्दाका आठ, ज्यान मार्ने उद्योगका नौ, अभद्र व्यवहारका चार, सवारीसम्बन्धी, कुटपिट र मानव बेचबिखन मुद्दाका एक–एक जना रहेका प्रहरीले जनाएको छ । जिल्ला कारागारका प्रशासक राजेन्द्र शर्माले प्रदर्शनका क्रममा भागेका सात सय ७३ कैदीबन्दीमध्ये अझै दुई सय बढी फरार रहेका जानकारी दिनुभयो । कारागारबाट भागेका कैदीबन्दीलाई कार्यालयले असोज १२ गते सूचना जारी गरी यही असोज २० गतेसम्म फर्कन समय दिइएको थियो । तोकिएको समयमा पनि कारागार नफर्केका र सम्पर्क नगरेका कैदीबन्दीको खोजी कार्य प्रहरीले गरिरहेको हो । उनीहरूलाई प्रचलित कानुनअनुसार कारबाही हुने र फरार कैदीबन्दीलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई समेत कसुरदार ठानी कानुनअनुसार कारबाही हुने कारागारले जनाएको छ । प्रदर्शनकारीको आगजनीबाट कार्यालयका अभिलेखहरू जलेका थिए । कैदीबन्दीको विवरण कम्प्युटर अभिलेखमा भने सुरक्षित छ । त्यसैगरी केन्द्रीय विभागको नेटवर्कमा समेत दर्ता रहेकाले सबै विवरण सुरक्षित रहेको कारागार प्रशासक शर्माले बताउनुभयो ।
झापा: गौरादह नगरपालिका–९, सिस्नेखोलामा माछा मार्ने क्रममा डुबेर आज दिउँसो तीन बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा स्थानीय अञ्जु मगरका दुई छोरी सात वर्षीया सुष्मा, नौ वर्षीया स्वीकृति र निर्मला परियारकी ११ वर्षीया छोरी रोश्नी छन्। उनीहरूको माछा मार्ने क्रममा खोला डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले घटनास्थल पुगिसकेको र थप अनुसन्धान भइरहेको जनाएको छ।
पोखरा: कास्की जिल्ला प्रशासन कार्यालयले कुनै पनि कार्यक्रम सञ्चालन गर्नुपूर्व सम्बन्धित स्थानीय तहको स्वीकृति लिन सम्बद्ध सबैमा आग्रह गरेको छ । प्रशासनले सूचना जारी गर्दै स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ३ अन्तर्गत स्थानीयस्तरमा हुने कार्यक्रम सञ्चालनको स्वीकृति/अनुमति सम्बन्धित स्थानीय तहबाट लिनुपर्नेमा कतिपय कार्यक्रम पूर्वस्वीकृति नलिई र स्थानीय प्रशासनलाई समेत पूर्व जानकारी नदिई सञ्चालन गरिएको पाइएको भन्दै अनुमति लिएर मात्र गर्न आग्रह गरेको हो । कास्की जिल्लाभित्र कुनै पनि सभा, समारोह, प्रदर्शन, परम्परागत तथा व्यावसायिक मेला, जात्रा, कन्सर्ट, सांस्कृतिक कार्यक्रम आदिको आयोजना पूर्व अनिवार्य रूपमा सम्बन्धित स्थानीय तहबाट कार्यक्रम सञ्चालनको स्वीकृतिरअनुमति लिएर मात्र आवश्यक शान्ति सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन अनुरोध गरेको छ । निवेदन दिँदा कार्यक्रम अवधिभर आवश्यक शान्ति, सुरक्षाको व्यवस्थापनका लागि आयोजकको नाम र सम्पर्क नम्बर, कार्यक्रम सञ्चालन हुने मिति, स्थान, सुरु हुने तथा समापन हुने समय, सहभागी सङ्ख्यासमेत स्पष्ट खुलाउनुपर्ने प्रशासनले जनाएको छ । त्यस्तै निवेदनमा सम्बन्धित स्थानीय तहबाट कार्यक्रम सञ्चालनको स्वीकृति/अनुमति, संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपिलगायतका कागजात पेस गर्न पनि प्रशासनले आग्रह गरेको छ ।
ढोरपाटन: बागलुङमा ताल सुक्दै गएपछि संरक्षणमा चुनौती बढेको छ । ढोरपाटन नगरपालिका–९ स्थित रुद्रताल, तमानखोला–२ स्थित बराहताल, जैमिनी–३ स्थित गाजा दह (ताल), काठेखोला–४ को खोरताल र बागलुङ–१० स्थित बराहतालमा पानी सुक्दै गएपछि संरक्षणमा चुनौती बढेको हो । गाउँ तथा नगरपालिकाले संरक्षण गर्नका लागि डोजर चलाएपछि तालमा पानीको सहत घटेर सुक्न थालेका हुन् । एक दशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रमा सडक पुगेका थिएनन् । जब गाउँगाउँमा मोटरबाटो पुगे त्यसपछि तालमा पानी कम हुँदै गएको ढोरपाटन नगरपालिका–९ का धनबहादुर पुनले बताउनुभयो । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन जाने सडक छेउमै रहेको तालले पर्यटकलाई आकर्षित गर्दै आएको थियो । तर सात वर्ष अगाडि नगरपालिकाले ताल वरपर डोजर लगाएपछि करिब ९० प्रतिशत पानी सुकेको उहाँको भनाइ छ । पुनले भन्नुभयो, “पहिले रुद्राताल ठूलो थियो, धार्मिक आस्थाका हिसाबले यहाँ पूजाआजा गर्दा मनोकाङ्क्षा पूरा हुन्छ भन्ने मान्यता थियो, यहाँको जलले स्नान गर्दा शरीरमा कुनै पनि रोग लाग्दैन भन्थे, अहिले त पानी सुकेर हिलोमात्र छ, जब यहाँ डोजर लगाएर सम्याउने काम भयो, त्यसपछि तालको पानी सुक्यो, अहिले त नामको मात्र ताल छ, तालमा पानी छैन ।” जैमिनीको गाजा दहमा पनि डोजर लगाएपछि झण्डै ४० प्रतिशत पानी घटेको स्थानीयको दाबी छ । चार वर्ष अगाडि डोजर लगाएर तालको क्षेत्रफल विस्तार गरिएको थियो । काठेखोला गाउँपालिका–४ तङ्ग्रामस्थित खोरताल ६ वर्ष अगाडिसम्म पानीले भरिभराउ थियो । तालको बीचमा जमेको पानी बाह्रै महिना रहन्थ्यो । तर अहिले तालमा पानी होइन कमिला डुल्छन् । आर्थिक वर्ष २०७९/८० काठेखोला गाउँपालिकाले डोजर लगाएर कङ्क्रिटको पर्खाल लगाएपछि ताल सुकेको स्थानीय गङ्गाबहादुर किसानको भनाइ छ । गाउँमा जथाभावी सडक निर्माण र तालमा डोजर लगाएपछि पानी रित्तिएको उहाँ बताउनुहुन्छ । तालमा एकाएक पानी सुक्न थालेपछि आफूहरू अचम्मित भएको किसानले बताउनुभयो । “पाँच–छ वर्ष अगाडि पानीले भरिभराउ ताल अहिले पूरै रित्तै छ, ताल ठूलो थियो, सफा पानी हुन्थ्यो, हामी सानो हुँदा यही पानी भरेर खान्थ्र्यौँ”, उहाँले भन्नुभयो, “तालमा डोजर लगाउनु हुँदोरैनछ, पानी रोक्नलाई गाउँपालिकाले सिमेन्टको पर्खाल लगायो, तर तालको पानी सबै सकियो ।” तमानखोला गाउँपालिकाले पनि ताललाई व्यवस्थित गर्न रु ३० लाख लगानी गरेर संरक्षण थालेको थियो । तर अहिले संरक्षण गर्दा उल्टै ताल नै सुक्न थालेको छ । गाउँपालिकाले ताल संरक्षणका लागि तारबार लगाउनुका साथै त्यसवरपर थुप्रै पर्यटन पूर्वधार निर्माण गरेको छ । गाउँपालिका अध्यक्ष जोकलाल बुढामगरले पानीको स्रोत भएको ठाउँमा डोजर प्रयोग गर्दा मुहान नै सुक्ने बताउनुभयो । पालिकाले व्यवस्थित गर्न डोजर चलाउँदा विभिन्न ठाउँमा पानीको मुहान सुकेपछि अहिले त्यस्ता ठाउँमा मेसिन प्रयोग गर्न छाडेको बताउनुभयो । त्यसैगरी, बागलुङ नगरपालिका–१० स्थित भकुण्डेको बराहतलमा पनि पानी केही कम भएको पाइएको छ । बागलुङ बजार नजिकै रहेको यो ताल पर्यटकीय गन्तव्य बनेको छ । अन्य तालका तुलनामा यसमा पानी अलि बढी छ । यहाँ बिदाको समय धेरै पर्यटक पुग्ने गरेका स्थानीय बताउँछन् । बागलुङ र रुकुमपूर्वको सिमानामा रहेको रिगतालमा पनि निसीखोला गाउँपालिकाले डोजर चलाएपछि पानी घटेको स्थानीयको भनाइ छ । मध्यपहाडी लोकमार्गमा पर्ने पातीहाल्नेभन्दा केही माथिपट्टि पर्ने यस तालमा दैनिक पर्यटक पुग्ने गर्छन् । तर पानीको मात्रा घट्दै गएपछि ताल संरक्षणमा चुनौती बढेको छ ।
गण्डकी: पोखरा–मुग्लिन सडक आयोजनाअन्तर्गत पोखराको सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको भौतिक प्रगति न्यून देखिएको छ । गत भदौमा तीन वर्षे ठेक्का अवधि सकिएको उक्त पुलमा हालसम्म जम्मा ५० प्रतिशत काम भएको छ । पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम खण्ड (पोखरा–जामुने) का प्रमुख कृष्णबहादुर कुँवरका अनुसार आगामी वैशाखसम्म उक्त पुलको ठेक्का म्याद थपिएको छ । “अहिलेकै गतिमा काम भए वैशाखभित्र पनि पुल बन्न मुस्किल देखिन्छ”, उहाँले भन्नुभयो, “निर्माण कम्पनीले पुलका लागि चाहिने केवललगायत सामग्री समयमा ल्याउन नसक्दा काममा ढिलाइ भएको हो ।” तीन वर्षको सम्झौता अवधि भए पनि पुलको डिजाइन स्वीकृत गर्न र मापदण्डभित्रका संरचना हटाउन एक वर्ष लागेको प्रमुख कुँवरले बताउनुभयो । पछिल्लो दुई वर्षमा पुल निर्माणले गति लिए पनि अपेक्षित प्रगति हुन नसकेको उहाँको भनाइ छ । विक्रम संवत् २०७९ साउनमा निर्माण कम्पनी रसुवा कन्स्ट्रक्सनले पुल निर्माणको जिम्मा लिएको थियो । चीनबाट पुलको केवल ल्याउन उक्त कम्पनीले प्रतीतपत्र ९एलसी० खोल्ने तयारी गरेको प्रमुख कुँवरले बताउनुभयो । ‘केबल–स्टेड’ प्रविधिको उक्त पुलमा चार जगको काम पूरा भइसकेको छ । चार टावर निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ । आकर्षक डिजाइनमा बन्ने उक्त ‘सिग्नेचर’ पुलको जग निर्माणमा बढी समय लागे पनि टावरलगायत माथिल्लो संरचनाको काम चाँडो हुने निर्माण कम्पनीले जनाएको छ । छ लेनको उक्त सडकका अहिले रहेको पुलको तल र माथि गरी आकर्षक बनावटका दुई ‘सिग्नेचर’ पुल बन्नेछन् । एसियाली विकास बैँकको ऋण सहयोगमा सडक विभागमार्फत उक्त पुल निर्माण भइरहेको हो । भ्याटबाहेक ९४ करोडको ठेक्कामा पुल निर्माण हुन लागेको हो । ‘सिग्नेचर’ पुल बनेपछि पर्यटकीय राजधानी पोखराको आकर्षण बढ्नेछ । पुरानो प्रविधिको भन्दा अहिले निर्माणाधीन पुल डिजाइनका हिसाबले आकर्षक रहेको आयोजना प्रमुख कुँवरले बताउनुभयो । एक सय ९० मिटर लामो उक्त पुल निर्माणमा कङ्क्रिट र फलामको प्रयोग गरिएको छ । पुल निर्माणपूर्व विदेशी प्राविधिकसहितको टोलीले पुलको डिजाइन गरेको थियो । पोखरा–मुग्लिन सडक चार लेनमा विस्तार तथा स्तरोन्नति आयोजनाअन्तर्गत पोखराको सेती र तनहुँको मादी नदीमा ‘सिग्नेचर’ पुल निर्माणाधीन अवस्थामा छन् । पचास वर्षअघि बनेको पृथ्वी राजमार्गअन्तर्गतको पोखरा–मुग्लिन सडक २०७८ वैशाखदेखि विस्तार तथा स्तरोन्नतिको काम सुरु गरिएको थियो । सडक स्तरोन्नतिसँगै विभिन्न ठाउँमा पुल निर्माण भइरहेका छन् । आयोजनाको पश्चिम खण्ड ९पोखरा–जामुने० मा ११ पुल बनिसकेका र दुई पुल निर्माणाधीन अवस्थामा छन् । तनहुँको म्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला–१, फेदीखोला–२, रुदीखोला, हलेदीखोला, कालीखोला र कास्कीको कोत्रेखोलामा पुल निर्माण सम्पन्न भएको छ । पोखराको विजयपुर खोला र सेती नदीमा पुल निर्माणको चरणमा रहेको आयोजना प्रमुख कुँवरले बताउनुभयो ।

