काठमाडौं: नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा। शम्भुप्रसाद ढकालले राससलाई जानकारी दिनुभयो । कात्तिक ६ गते बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित् योग तथा विजय मुहूर्तको शुभ साइत दिइएको समितिका सदस्य प्रा। देवमणि भट्टराईले जानकारी दिनुभयो । “राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ । सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या छैन”, उहाँले भन्नुभयो । यस वर्ष यमपञ्चक कात्तिक १ गते शनिबारदेखि सुरु हुन्छ । त्यस दिनदेखि यमदीप दान सुरु गरिन्छ । धन त्रयोदशी र धनतेरस पर्व पनि यसै दिन परेको समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ । कात्तिक २ गते आइतबार काग तिहार परेको छ । यसै दिन धन्वन्तरी जयन्ती पर्व पनि मनाइन्छ । कात्तिक ३ गते सोमबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ । यसै दिन साँझ दीपमालिका गरिन्छ । कात्तिक ३ गते सोमबार दिउँसो ०२ः५२ बजेसम्म कात्तिक कृष्ण चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले शास्त्रसम्मत रूपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिले जनाएको छ । सायंकालमा औँसी तिथि परेका दिन लक्ष्मीपूजा गर्नुपर्ने शास्त्रीय वचन छ । औँसी तिथिमा गरिने स्नान, दान भने कात्तिक ४ गते मङ्गलबार बिहान गर्नुपर्नेछ । कात्तिक ४ गते दिउँसो ०४ः२९ बजेसम्म औँसी तिथि रहेको समितिले जनाएको छ । गाई, गोरु र आत्म (म्ह) पूजा भने कात्तिक ५ गते बुधबार गर्नुपर्ने शास्त्रीय वचन छ । कात्तिक शुक्ल प्रतिपदाको सायंकालमा आत्म ९म्ह० पूजा गर्नुपर्ने ‘कृत्यवाटिका’ नामक ग्रन्थमा उल्लेख गरिएको छ । आत्म (म्ह) पूजा विशेषगरी नेवार समुदायले गर्ने परम्परा छ । समितिले स्वीकृति दिने तीन पात्रो (पञ्चाङ्ग) नेवार समुदायका पञ्चाङ्गकारले प्रकाशन गर्ने गरेका छन् । सिद्धिलक्ष्मी व्यञ्जनकार, कीर्तिकिरण जोशी र शशिधर जोशी नेवार समुदायकै पञ्चाङ्गकारले पनि कात्तिक ५ गते नै आत्म (म्ह) पूजा गर्ने विषय आफ्ना पञ्चाङ्ग (पात्रो) मा उल्लेख गर्नुभएको छ । यसै दिन यस वर्ष नेपाल संवत् अनुसार नयाँ वर्ष मनाउनुपर्ने समितिले जनाएको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचन अनुसार यस्तो निर्णय गरिएको अध्यक्ष ढकालले बताउनुभयो । यसै दिनदेखि नेपाल संवत् ११४६ सुरु हुन्छ । शास्त्रीय विधिअनुसार भाइपूजा र नेवारी भाषामा भनिने किजापूजा पनि कात्तिक ६ गते बिहीबार मनाइनेछ । मङ्सिर २ गते बिहान ७ः०४ बजेसम्म मात्र द्वितीया तिथि छ । शास्त्रीय वचन अनुसार मध्याह्नकालमा नै भाइटीका लगाइन्छ । शास्त्रीय ग्रन्थमा भ्रातृपूजा भन्ने शब्द उल्लेख गरिएको र त्यस शब्दले दाजुभाइ दुवैलाई बुझाउँछ । भाइटीका भनिए पनि ज्येष्ठको क्रमानुसार नै दाजुभाइलाई टीकाटाला गर्नु शास्त्रसम्मत हुने समितिले जनाएको छ । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमपञ्चक भनिने तिहार पर्व मनाइन्छ । यस पर्वमा कात्तिक कृष्ण त्रयोदशीको साँझदेखि कात्तिक शुक्ल द्वितीयाको साँझसम्म यमदीपदान गरिन्छ । यमदीपदान परिवारको सङ्ख्याका आधारमा नाम उच्चारण गरेर गरिन्छ । यस अवसरमा यमदीपदान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । काग र कुकुरलाई पनि यमदूतका रूपमा मीठा परिकार खान दिएर खुसी बनाउने वैदिक परम्परा छ । जसले यमलोकमा सहयोग गर्ने विश्वास गरिन्छ ।
म्याग्दी: जिल्लाको पश्चिमी क्षेत्रमा रहेका तीनवटा स्थानीय तहलाई सदरमुकाम बेनीबजारसँग जोड्ने बेनी–दरवाङ सडक मर्मत भएको छ । बर्खा रोकिएपछि सडकमा खसेको पहिरो पन्छाएर फराकिलो बनाएपछि बेनी–दरवाङ सडकमा यात्रुवाहक बस र मालवाहक सवारीसाधन सञ्चालन हुन थालेका छन् । पूर्वाधार विकास कार्यालयले फापरखेत, लाम्पाटा, पानाबगर र बाङ्गेपहिरोमा सडक मर्मत गरेको जनाएको छ । कार्यालयका सुपरभाइजर राम्जी आचार्यले बर्खा रोकिएपछि सडक मर्मत गरेर ठूला सवारीसाधन सञ्चालन गर्न मिल्ने बनाएको बताउनुभयो । सडकमा पहिरो खसेर साँघुरिएको थियो । पहिरो पन्छाएर सडकलाई फराकिलो बनाएर दुईतर्फी सवारीसाधन सञ्चालन हुने बनाइएको सुपरभाइजर आचार्यले बताउनुभयो । धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई सदरमुकाम बेनी बजारसँग जोड्ने २४ किलोमिटर दूरीको बेनी–दरवाङ सडकमा गत असारदेखि ठूला सवारीसाधन सञ्चालन हुनसकेका थिएनन् । यो सडक बागलुङको तमानखोलाका बासिन्दाले पनि प्रयोग गर्छन् । पहिरो खसिरहने भएकाले बेनी–दरवाङ सडकको यात्रा कष्टपूर्ण र जोखिमयुक्त बनेको थियो । बर्खायाममा जीप, ट्याक्सी, माइक्रोबस, मोटरसाइकल र ट्रयाक्टर चलेका सडकमा मर्मत भएपछि बस तथा ट्रक सञ्चालन हुन थालेका छन् । म्याग्दी मालिका यातायात प्रालिका सञ्चालक अर्जुन आचार्यले सडक सुधार भएपछि दरवाङदेखि काठमाडाँै र काठमाडौँदेखि दरवाङ रात्रिबस सञ्चालन गर्न थालिएको बताउनुभयो । म्याग्दी नदीमा निर्माणाधीन चारवटा जलविद्युत् आयोजना, सडक, भवन, खानेपानी, पुल, प्रसारण लाइन, सबस्टेशन आयोजनाका निर्माण सामग्री ढुवानी गर्न पनि सहज भएको छ । पूर्वाधार विकास कार्यालयमार्फत स्तरोन्नतिको अन्तिम चरणमा रहेको बेनी–दरवाङ सडकको विभिन्न ठाउँमा रहेका पहिरोको दीर्घकालीन रोकथाम नहुँदा बर्खायाममा पश्चिम म्याग्दीको यातायात सेवा प्रभावित हुने गरेको छ ।
काठमाडौं: नेपाली विद्यार्थी विपिन जोशीको निधन भएको पुष्टि भएको छ। हमासले ७३८ दिनदेखि आफ्नो नियन्त्रणमा रहेका जोशीको शव इजरायललाई बुझाउने भएको हो। इजरायलको अखबार (जेरुसेलम पोस्ट)ले यसअघि अज्ञात रहेका भनिएका जोशीको निधन भएको र शव आजै बुझाउने तयारी भएको उल्लेख गरेको हो। हमासले विपिनसँगै बगाय इलुज, योसी शाराबी र ड्यानियल पेरेजको शव बुझाउन लागेको समाचारमा उल्लेख छ। इजरायलसँग युद्धबिराम भएसँगै हमासले सोमबार आफ्नो नियन्त्रणमा रहेका २० जीवित बन्धक पनि बुझाएको थियो।
रौतहट: रौतहट जिल्लाको गौर नगरपालिका–१, कानुपट्टीस्थित भित्री सडक खण्डमा पानी जमेको खाल्डोमा परी बेपत्ता भएका तीन जनाको शव सशस्त्र प्रहरीले असोज २७ गते फेला पारेको छ । सोही जिल्लाको राजदेवी नगरपालिका–८, लक्ष्मीपुरबाट घाँस काट्न गौरतर्फ आउँदै गरेका सोही ठाउँ बस्ने १३ वर्षीया आस्थाकुमारी बैठा, १५ वर्षीया राधनीकुमारी यादव र १५ वर्षीया मौसमीकुमारी बैठा बाढीको पानी जमेको खाल्डोमा परी बेपत्ता भएका थिए । सशस्त्रका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार, घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा गुल्म गौरबाट खटिएको रबरबोर्टसहितको टोली र नेपाल प्रहरीको संयुक्त टोलीले स्थानीय बासिन्दाहरूको सहयोगमा उनीहरूको शव खाल्डोबाट बाहिर निकालेको हो । उनीहरूसँगै घाँस काट्न गएका सोही ठाउँ बस्ने १५ वर्षीया मुस्कानकुमारी राम, १३ वर्षीया मुस्कानकुमारी बैठा, १० वर्षीया चन्द्रमुखी राम र १५ वर्षीया सुनिताकुमारी बैठालाई भने स्थानीय बासिन्दाहरूले सकुशल उद्धार गरेका छन् ।
पोखरा: दक्षिण कोरियाको छाङवोन शहरमा अक्टोबर २४, २५ र २६ गते २०औं बहुसांस्कृतिक कार्यक्रम भव्य रूपमा आयोजना हुने भएको छ। ख्यानाम इजुमिन सेन्टर छाङवनद्वारा आयोजित यस कार्यक्रममा १६ देशका प्रतिनिधिहरूले आ–आफ्नो मौलिक संस्कृति, भेषभूषा र कलाको झल्को दिनेछन्। नेपालतर्फबाट यसपटक विशेष रूपमा नेवारी समुदायको कुमारी जात्रा (इन्द्र जात्रा) प्रस्तुत गरिनेछ। परेड तथा स्टेज कार्यक्रममार्फत यो सांस्कृतिक सम्पदाको अन्तर्राष्ट्रिय प्रदर्शन गरिने तयारी भइरहेको छ। कार्यक्रममा विशेष अतिथि कलाकारका रूपमा नेपालकी चर्चित गायिका मिलन नेवार सहभागी हुँदैछिन्। उहाँले सांगीतिक प्रस्तुतीमार्फत नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउनेछिन्।
काठमाडौं: इजरायलले अझै जीवित रहेको विश्वास गर्ने २२ जना बन्धकमध्ये एकमात्र गैर–इजरायली नेपाली नागरिक विपीन जोशी पनि रहनुभएको छ । उहाँको कथा अहिले पनि इजरायल र नेपाल दुवै देशमा पीडा र आशाको प्रतीक बनेको छ । सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा इजरायलमा गरिएको विनाशकारी आक्रमणपछि दुई वर्ष लामो युद्ध सुरु भएको थियो । हमासको उक्त आक्रमणमा करिब एक हजार दुई सय जनाको मृत्यु भयो र २५१ जना अपहरणमा परे । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार सो लडाइँले हालसम्म ६७ हजारभन्दा बढी प्यालेस्टिनीहरूको ज्यान लिइसकेको छ । त्यसमा झण्डै आधा महिला र बालबालिका रहेका छन् । हाल गाजाको जनसङ्ख्याको करिब ९० प्रतिशत विस्थापित भइसकेको अनुमान गरिएको छ । गाजामा हाल ४८ जना बन्धकहरू रहेका छन् । तिनमा अघिल्ला युद्धका एक सैनिकको शव पनि समावेश छ । इजरायली अधिकारीहरूले कम्तीमा २५ जना बन्धक मरेको पुष्टि गरेका छन्, तर बाँकी २० जनामध्ये कति जीवित छन् भन्ने अझै स्पष्ट छैन । तिनै बन्धकमध्ये एक जना नेपाली विद्यार्थी विपिन जोशी पनि हुनुहुन्छ । उहाँलाई जीवित रहेको विश्वास गरिएको छ । चौबिस वर्षीय नेपाली युवा विपीन जोशी आक्रमण हुनुभन्दा एक महिनाअघि मात्र आफ्नो जन्मस्थान नेपालबाट इजरायल पुग्नुभएको थियो । उहाँ कृषि अध्ययनका लागि विद्यार्थी आदानप्रदान कार्यक्रममा सहभागी हुन गाजाको सीमामा रहेको किबुट्ज अलुमिममा कार्यरत हुनुहुन्थ्यो । कार्यक्रमका १७ जना नेपाली विद्यार्थीमध्ये १० जनाको हमासको आक्रमणका क्रममा मृत्यु भएको थियो । उनीहरू बम आश्रयमा लुकेका थिए र हमलाको क्रममा फ्याँकिएका जीवित ग्रेनेडहरूबाट बाँच्न सफल भए पनि विपीन जोशी घाइते भएर अपहरणमा पर्नुभएको थियो । विपीनका परिवारका अनुसार उहाँ गाजामा जीवित रहनुभएको हुनसक्छ भन्ने विश्वास अझै बलियो छ । उहाँकी १७ वर्षीया बहिनी पुष्पा जोशीले आफ्ना दाजुको रिहाइका लागि अहोरात्र प्रयास गरिरहनुभएको छ । अधिकारीहरू र कूटनीतिक निकायहरूसँग भेट गरी दाजुको रिहाइका लागि आवाज उठाउन सकियोस् भनेर उहाँ पश्चिम नेपालको आफ्नो गाउँबाट प्रत्येक हप्ता काठमाडौँ आउन आठ–आठ घण्टाको बस यात्रा गर्नुभयो । गत अगस्टमा जोशी परिवारले राष्ट्रपति आइज्याक हर्जोगलाई भेट्न र तेल अभिवको ‘होस्टेज स्क्वायर’ मा बन्धक परिवारहरूले आयोजना गर्ने प्रदर्शनमा सहभागी हुन इजरायल यात्रा पनि गरेको थियो । उनीहरूले नेपाल सरकार र अन्तर्राष्ट्रिय समुदायसँग पनि जोशीको उद्धारका लागि सक्रिय भूमिका खेल्न आग्रह गर्दै आएका छन् । विपीन जोशी अहिले पनि गाजामा जीवित रहेको विश्वास इजरायली अधिकारीहरूले राखेका छन् । उहाँका साथीहरूले विपीन अध्ययनशील, मिलनसार र सहयोगी स्वभावका युवा रहेको बताएका छन् । विपीनले आफ्नो भविष्य कृषि विकासमा योगदान गर्ने सपनासँग इजरायल यात्रा गर्नुभएको थियो । इजरायलले युद्धविराम सुरु भएपछि बाँकी रहेका बन्धकहरूलाई ७२ घण्टाभित्र रिहा गरिने आशा व्यक्त गरेको छ । यसको बदलामा करिब दुई हजार प्यालेस्टिनी कैदीलाई रिहा गर्ने तयारी भइरहेको छ । विपीनको परिवार भने आशाको झिल्को निभ्न नदिई, दाजु–छोरा फर्किने दिनको प्रतीक्षा गर्दै अझै पनि प्रतीक्षामा छ । परिवारका अनुसार ‘विपिन फर्किनुभयो भने त्यो केवल हाम्रो परिवारको जित होइन, यो नेपाल र मानवताकै जित हुनेछ ।’ इजरायलले अझै जीवित रहेको विश्वास गर्ने २२ जना बन्धकहरूको नामावली यस्तो छ ? मातान एङ्ग्रेस्ट (२२), गली बर्मन (२८), जिव बर्मन (२८), एल्काना बोबोट (३६), रोम ब्रास्लावस्की (२१), निम्रोद कोहेन (२१), अरिएल कुनियो (२८), डेविड कुनियो (३५), एव्यातार डेविड (२४), गाइ गिलबोआ–दलाल (२४), मक्सिम हार्किन (३७), इटन होर्न (३८), विपीन जोशी (२४), सेगेव काल्फोन (२७), बार कुपरस्टीन (२३), ओमरी मिरान (४८), एटान मोर (२५), तामिर निमरोदी (२०), योसेफ–चेइम ओहाना (२५), एलोन ओहेल (२४), अविनातन ओर (३२) र मातान जाङ्गाउकर (२५) । रासस/एपी
काठमाडौं: नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् पूर्व सभामुख कृष्णबहादुर महरालाई पक्राउ गरेको छ । महरालाई आइतबार प्रहरीले ललितपुरस्थित निवासबाटै पक्राउ गरिएको नेपाल प्रहरीका सूचना अधिकारी शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो । विज्ञप्तिमा विसं २०७९ पुष १० गते दुबईबाट नेपाल आएका चिनियाँ नागरिक ली हानसोङ्गले दुईवटा सुटकेसभित्र ७३ बट्टामा रहेको ७३० इलेक्टिक सिगरेट अवैध रूपमा त्रिभुवन विमानस्थल हुँदै नेपाल ल्याउँदै गरेको अवस्थामा जफत भएकामा त्यसलाई बेचबिखन गरी महराले लाभ लिएको आरोप छ । “उक्त सुन त्रिभुवन अन्तरराष्ट्रिय भन्सारको स्टोरमा राखिएकामा उक्त कार्यालयका नायब सुब्बा रेवन्त खड्कासमेतले आफ्नो जिम्मा र संरक्षण रहेको नेपाल सरकारको गोदामबाट उक्त सुनसहितको सिगरेटमा रहेको रु आठ करोड ५५ लाख २८ हजार ३७४ बराबरको सुन बेचबिखन गरी आपराधिक समूह बनाई सङ्ठित रूपमा लाभ लिएको देखिएकाले भन्सार ऐन, २०६४ तथा आपराधिक लाभ र सङ्गठित अपराधमा संलग्न महरालाई पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको छ”, विज्ञप्तिमा भनिएको छ ।” चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोप महरामाथि लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान अगाडि बढाएपछि प्रहरीले महरालाई नियन्त्रणमा लिएको हो । विद्युतीय चुरोट (भेप)मा लुकाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ल्याउने गिरोहलाई सहयोग गरेको आरोप महरामाथि छ । महरालाई सुन तस्करी प्रकरणमा बिहीबार मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएको थियो । भेपमा लुकाएर सुन तस्करी गराएको आरोपमा महरा २०७९ मै अनुसन्धानमा तानिएका थिए ।
काठमाडौं: नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको मूल्य तोलामा तीन हजार रुपैयाँले बढेको जनाएको छ । महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुनको मूल्यको मूल्य २ लाख ३५ हजार रुपैयाँ कायम थियो । यस्तै, आज चाँदीको मूल्य पनि ४० रुपैयाँले बढेको छ । महासंघले आज चाँदी प्रतितोला तीन हजार १२५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।
झापा: झापाको दमक नगरपालिका–५ धनेश्वर मन्दिरको पूर्वपट्टि गेटनजिक बेवारिसे अवस्थामा ३०३ वटा राइफल फेला परेको छ। स्थानीयवासीले आज बिहान राइफल फेलापरेको जानकारी इलाका प्रहरी कार्यालय दमकमा गराएका हुन्। स्थानीयको खबरपछि प्रहरी निरीक्षक नवीन राईको कमाण्डमा खटिएको टोली घटनास्थल पुगेको थियो। झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार फेला परेका ती हतियार गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा कार्यालयबाट लुटिएका ३०३ थान राइफल म्यागजिनसहित भएको पुष्टि गरे। उक्त हतियार आवश्यक कानुनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ।

