तनहुँ:  मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ ।  दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार ले...

काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज चीनको तियान्जिनतर्फ प्रस्थान गर्नुभएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा तथा मुख्यसचिव एकनारायण अर्यालले बिदाइ गर्नुभयो । प्रधानमन्त्रीको बिदाइका लागि नेपाल सरकारका उच्चपदस्थ अधिकृत, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा नेपालस्थित चिनियाँ राजदूतावासका प्रतिनिधि विमानस्थल पुग्नुभएको थियो ।  त्यसअघि नेपाली सेनाको एक टुकडीले उहाँको सम्मानमा सम्मान गारत अर्पण गरेको थियो । प्रधानमन्त्री ओलीले सेप्टेम्बर ३ मा बेइजिङमा आयोजना हुने ८०औँ वार्षिकोत्सवका स्मृति कार्यक्रममा सहभागिता जनाउनुहुने भ्रमणको कार्यतालिकामा उल्लेख छ । प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग तियान्जिनमा भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँले सेप्टेम्बर १ मा तियान्जिनमा आयोजना हुने शिखर सम्मेलनलाई सम्बोधन गर्नुहुनेछ । नेपाल सन् २०१६ देखि सो सङ्गठनको संवाद साझेदार रहँदै आएको छ । सन् २००१ मा स्थापना गरिएको एससिओ सङ्गठन विश्वकै सबैभन्दा ठूलो क्षेत्रीय सङ्गठनमध्ये एकका रूपमा विकसित भइसकेको छ । चीन, रूस, भारत, पाकिस्तान, काजकिस्तान, कीर्गिस्तान, ताजिकिस्तान, उज्वेकिस्तान, इरान र बेलारुस यसका पूर्ण सदस्य राष्ट्रहरू हुन् । अफगानिस्तान र मङ्गोलिया पर्यवेक्षक राष्ट्रहरू हुन् । नेपालसहित टर्की, श्रीलङ्का, अजरवैजान, आर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेबिया, कुवेत, मालदिभ्स, म्यानमार, बहराइन र संयुक्त अरब इमिरेट्स सङ्गठनका संवाद साझेदारहरू (डायलग पार्टनर) हुन् । सो अवसरमा प्रधानमन्त्री ओलीले शिखर सम्मेलनमा सहभागी केही विश्व नेताहरूसँग समेत भेटवार्ता गर्नुहुनेछ । त्यसैगरी, प्रधानमन्त्री ओलीले सेप्टेम्बर २ मा बेइजिङमा चीनका उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गर्नुहुनेछ । शिखर सम्मेलनका क्रममा विभिन्न मित्रराष्ट्रहरूका राष्ट्र तथा सरकार प्रमुखहरूसँग प्रधानमन्त्री ओलीले द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । ती भेटघाटमा नेपाल र ती मुलुकबीचका द्विपक्षीय एवं अन्य प्राथमिकताका विषयमा छलफल हुनेछ । हालसम्म रूसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिन, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जु, कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोन तथा समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग छुट्टाछुट्टै भेटवार्ता तय भएको प्रधानमन्त्री ओलीले हिजै सदनलाई जानकारी गराई सक्नुभएको छ । प्रधानमन्त्री ओलीसँग उहाँका धर्मपत्नी श्रीमती राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, नेकपा (एमाले) का सांसद छविलाल विश्वकर्मा र उच्चस्तरीय सरकारी अधिकारीहरू रहने मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओली भदौ १८ गते स्वदेश फर्कनुहुनेछ ।

पोखरा:  गण्डकीका प्रदेश प्र्रमुख डिल्लीराज भट्टले जलवायु परिवर्तनबाट नेपालजस्ता विकासोन्मुख मुलुक बढी प्रभावित भएको बताउनुभएको छ । मौसम तथा जलवायु परिवर्तन र विश्व उष्णीकरणको मारमा दक्षिण एशियाली राष्ट्र परेको उहाँको भनाई छ । कानुनी युवा मञ्च (फ्लाई) ले आयोजना गरेको ‘दक्षिण एशियाली जलवायु न्याय फेलोशिप तथा क्याम्प २०२५’ मा बोल्दै उहाँले जलवायु परिवर्तनका असरहरुबारे विभिन्न कार्यक्रम गरेर विश्व समुदायलाई सचेत गराएपनि सोचेअनुसारको प्रगति गर्न नसकिरहेको उल्लेख गर्नुभयो । ‘जलवायु परिवर्तनको मूल कारक नेपाल जस्ता विकासोन्मुख मुलुक होइनन् तर खासगरी जलवायु परिवर्तनको प्रभाव बढी पर्ने हाम्रोजस्तै विकासोन्मुख मुलुकमा हो ।’ उहाँले भन्नुभयो – ‘हाम्रा हिमालहरुमाथि सोझो चोट परेको छ । हिमताल जोखिममा छन् । वर्षा अनियमित मात्रामा भइदिनाले पहाडमा बाढी पहिरोबाट ठूलो मात्रामा जनधनको क्षति व्यहोर्नुपरेको छ । तराई डुब्दा खाद्य सङ्कट उत्पन्न भइरहेको छ ।’ अब ढिला नगरी जलवायु परिवर्तनबाट प्रमुख मार खेप्नुपरेका विकासोन्मुख मुलुकहरुले न्यूनीकरणका लागि पहल कदमीहरु चाल्नु जरुरी भइसकेको उहाँको भनाई छ । वातावरणीय प्रभाव मूल्यांकनको सीमामा रहेर दीगो विकासको अवधारणा अवलम्वन गर्न आवश्यक रहेको उहाँको भनाई छ । ‘हामी विकास र समृद्धिको युगमा छौँ । औद्योगिक विकासका कारण हरितगृह ग्यॉस उत्सर्जन बढ्न गई पृथ्वीको औषत तापक्रम वृद्धि भएर वातावरणीय अवस्थामा असन्तुलन परिवर्तन आएको छ ।’ उहाँले थप्नुभयो – ‘सन् २०३० सम्म नेपालको तापक्रम १।७ डिग्री सेल्सियले बढ्ने अनुमान गरिएको छ । हामीले समयमै सजगता नअपनाउने हो भने ठूलो वातावरणीय समस्या निम्तिन सक्छ ।’ यो क्याम्प नेपालका लागि मात्र नभई दक्षिण एशियामा नै जलवायु परिवर्तनका कारण र असर र समाधानका लागि फलदायी बन्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । जलवायु न्यायको अवधारणा अन्वेषण, क्षेत्रीय असमानता र संवेदनशीलता, सीमा–पार जलवायु प्रभाव र साझा चुनौती, न्याय प्रवद्र्धनमा युवाको भूमिका, न्यायपूर्ण जलवायु रुपान्तरण र वित्तीय पारदर्शिता लगायतका विषय निकै महत्वपूर्ण रहेको उहाँको भनाई छ ।   कार्यक्रममा दक्षिण एशियाका ७ राष्ट्रका ४५ जना युवाहरुलाई जलवायु न्यायको पक्षमा सशक्त बनाउन विशेष छलफल र गतिविधिहरू सञ्चालन हुने भएकाले युवाहरुलाई उप्रेरित गर्न आफू उपस्थित भएको प्रदेश प्र्रमुख भट्टको भनाई छ । यस्ता क्याम्पहरु छलफल गर्ने मञ्च मात्र होइन, नीति निर्माण गर्ने र यसलाई आकार दिने अवसर पनि रहेको उहाँले बताउनुभयो । यो क्याम्पमा दक्षिण एसियाका युवाहरुबीच जलवायु न्यायका लागि सीमा–पार युवा एकता, आदिवासी तथा उपेक्षित आवाजलाई जलवायु शासनमा समावेश गर्ने गरी राष्ट्रिय नीति संवादमा एकीकृत गर्ने, जलवायु सम्बन्धी समसामयिक चुनौती र दक्षिण एसियाली विकल्पहरुमा युवाको ज्ञान बलियो लिने लक्ष्य लिइएको आयोजक संस्थाका चेतन जेठाराले जानकारी दिनुभयो । 

पोखरा:   नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको सातौं साधारण सभा भदौ २६ गते हुने भएको छ । मञ्चको बिहीबार बसेको २१ औं बैठकले साधारण सभा सम्बन्धी निर्णय गरेको मञ्चका अध्यक्ष मानबहादुर घर्ती (एमबि आस्था) ले जानकारी दिए । सोही कार्यक्रममा मञ्चले आयोजना गरेको नवौं पोखरा स्पोर्ट्स अवार्डको समीक्षा र आयव्यय सार्वजनिक गरिने अध्यक्ष आस्थाले खुलाए । यसका अलावा खेल पत्रकारको क्षमता अभिवृद्धिका  लागि भदौ २७ गते तालिम समेत आयोजना हुँनेछ । गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्थाको रुपमा रहेको  मञ्चमा  हाल ७४ जना पत्रकार आवद्ध छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी २०७५ सालमा केशव पाठक नेतृत्वको तदर्थ समितिले दर्ता गरी प्रदेश संरचनामा लगेको थियो ।  २०५८ सालमा पोखराका खेल पत्रकारहरु संगठित भई रामकृष्ण ज्ञवाली संस्थापक अध्यक्ष रहेको मञ्च कास्कीको विस्तारित रुपमा यहाँसम्म आइपुगेको हो ।

काठमाडौं:   नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) मा एआईजी चन्द्रकुवेर खापुङ नियुक्त भएका छन् ।  मन्त्रिपरिषदको शुक्रबार बसेको बैंठकले खापुङलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको हो । उनी नेपाल प्रहरीका ३२औँ आईजीपी बनेका छन् । हालका आईजीपी दिपक थापा एक सातापछि भदौ १९ बाट प्रहरीको ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जाने भएपछि खापुङलाई १९ गतेबाट नै कमान्ड सम्हाल्ने गरी आईजीपी नियुक्त गर्ने निर्णय गरेको हो । खापुङ हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख छन् । 

अछाम:  अछाममा छाउगोठमा सुतेका दुई जनाको भीरबाट खसेको ढुङ्गाले किचेर मृत्यु भएको छभने अन्य एक जना घाइते भएकी छन् । प्रहरीका अनुसार उनीहरूको घटनास्थलमा नै मृत्यु भएको हो । पञ्चदेवल विनायक नगरपालिका–८ सेलापानीस्थित चुरखोली टोलकी ३५ वर्षीया निम खनाल र मङ्गलसेन नगरपालिका–६ का गोरे भण्डारीकी सात वर्षकी छोरी कविताको छाउगोठमा सुतेका बेला ढुङ्गाले किचेर आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख ओमप्रकाश खनालले जानकारी दिनुभयो । घटनामा घाइते हुनुभएकी कविताकी आमालाई उपचारको लागि स्थानीय स्वास्थ्यचौकी पठाइएको छ । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक टेकबहादुर देउवा नेतृत्वको टोली घटनास्थलतर्फ प्रस्थान गरेको प्रहरी नायब उपरीक्षक खनालले बताउनुभयो ।

पोखरा:  गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट समक्ष गण्डकीका मुख्य न्यायाधिवक्ताको कार्यालयले प्रतिवेदन पेश गरेको छ  ।   मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेलले कार्यालयको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन बिहीबार एक कार्यक्रमका बीच हस्तान्तरण गर्नुभएको हो ।   प्रदेश प्रमुख भट्टले मुख्य न्यायाधिवक्ता मुख्यमन्त्रीका कानुनी सल्लाहकार रहेकाले प्रदेश सरकारको न्यायिक कामकारबाही नै मुख्य न्यायाधिवक्ताको प्रमुख दायित्व रहने उल्लेख गर्नुभयो ।   ‘प्रदेश सरकारलाई कानुनी सल्लाहका साथै न्यायिक कामकारबाहीमा सहायता प्रदान गर्ने जिम्मेवारी मुख्य न्याधिवक्ताको हो ।’ भट्टले भन्नुभयो ।   संवैधानिक व्यवस्था अनुरुप प्राप्त जिम्मेवारीअनुसार कार्यालयले आफ्ना कार्य सम्पादन गर्दै आएको विश्वास व्यक्त गर्नुहुँदै उहाँले कार्यालयले संघीयताका तहगत स्पष्टताका विषयमा नागरिक छलफल चलाउने, स्थानीय न्यायिक समितिको क्षमता अभिवृद्धिका लागि तालिम प्रशिक्षण लगायतमा जोड दिन ध्यानाकर्षण गराउनुभयो ।   कार्यक्रममा मुख्य न्यायाधिवक्ता शर्माले वार्षिक रुपमा प्रतिवेदन पेश गर्नुपर्ने कानुनी प्रावधान अनुसार गत आर्थिक वर्षमा सम्पादन गरिएका कार्यहरुको संक्षिप्त विवरण पनि प्रस्तुत गर्नुभयो ।   मुख्य न्यायाधिवक्ताको कार्यालयबाट प्रदेश सरकारको प्रतिनिधि भई प्रतिरक्षा गरिएका मुद्दा, लिखित रुपमा राय माग भई आएका विषय, राय सुझावसहित पठाइएका नीति, ऐन नियम आदि विषय प्रतिवेदनमा समेटिएको उहाँले जानकारी गराउनुभयो ।   मुख्य न्यायाधिवक्ता शर्माले कार्यालयले प्रदेश सरकारलाई विभिन्न विधेयकहरुमा निर्माणमा सहयोग गरेको र कार्यालय शुन्य बेरुजुको प्रयासमा रहेको उल्लेख गर्नुभयो ।   नेपालको संविधानको धारा १६० मा प्रत्येक प्रदेशमा एक मुख्य न्यायाधिवक्ता रहने संवैधानिक व्यवस्था रहेको छ ।   मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्त सम्बन्धी ऐन, २०७५ को दफा ११ ले मुख्य न्यायधिवक्ताले प्रत्येक वर्ष आफूले सम्पादन गरेको कामको वार्षिक प्रतिवेदन तयार गरी प्रदेश प्रमुख समक्ष पेश गर्नुपर्ने व्यवस्था गरेको छ ।   उक्त प्रतिवेदन प्रदेश सभा समक्ष पेश गर्न प्रदेश प्रमुख कार्यालयबाट मुख्यमन्त्री कार्यालयलाई पठाउनेछ ।   कार्यालयले वर्ष भरिमा संवैधानिक एवं कानूनी विषयमा दिएको राय सल्लाहको संक्षिप्त विवरण, प्रदेश सरकार बादी वा प्रतिवादी भई दायर भएका मुद्दा मामिलामा प्रतिरक्षा गरिएको संक्षिप्त विवरण, मुद्दा मामिलामा गरिनुपर्ने सुधारको विवरण लगायत प्रतिवेदनमा उल्लेख गर्दछ ।

डडेल्धुरा:  डडेल्धुराको दुर्गम क्षेत्र नवदुर्गा गाउँपालिका ५ को चौडमा जीप दुर्घटना हुँदा मृत्यु  भएका चारै जनाको सनाखत भएको छ । दुर्घटनामा परी एकै वडाका चार जनाको मृत्यु हुनुका साथै अन्य ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा नवदुर्गा गाउँपालिका ५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीय तारा अवस्थी र ७२ वर्षीय कलावती साउद रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ । यसैगरी घाइते हुनेहरुमा वडा नं. ५ कै १८ वर्षीय सुशीला विक, ४४ वर्षीय प्रकाश विक, ४८ वर्षीय चन्द्रबहादुर साउद, ३५ वर्षीय रामबहादुर साउद, ४२ वर्षीय गणेशबहादुर साउद र वर्ष ४ की प्रतिका पार्की छन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका इन्सपेक्टर डम्बर विष्टका अनुसार बिहीबार बिहान करिब ८ बजे से १ज ७३८ नं. को जीप दुर्घटना भएको थियो ।  ठाँटा बजारबाट जिल्ला सदरमुकाम डडेल्धुरा आउँदै गरेको जीप कच्ची सडकबाट करिब ५०० मिटर तल खसेको छ ।      यो पनि पढ्नुहोस   डडेल्धुरामा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु

डडेल्धुरा:  डडेल्धुरामा आज  बिहान जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। नवदुर्गा गाउँपालिका–५, चौडको कच्ची सडक खण्डमा डडेल्धुरा सदरमुकामतर्फ आउँदै गरेको से १ ज ७३८ नम्बरको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।  जीप सडकबाट करिब पाँच सय मिटर तल जंगलमा खसेको र ४ जनाको मृत्यु र ४ जना घाइते भएको जानकारी आएको प्रहरी निरीक्षक डम्बर विष्टले बताए। उनका अनुसार उद्धार जारी छ।  दुर्घटनाको सूचनापछि अस्थायी प्रहरी पोस्ट ठाँटा बजार र जिप्रकाको टोली घटनास्थल पुगेका छन्। घाइतेलाई उद्धार गरेर डडेल्धुरा अस्पतालमा ल्याउने तयारी भइरहेको छ।  मृतकको सनाखत र दुर्घटनाको कारण खुल्न बाँकी छ।   

पोखरा:  यहाँको पोखरा महानगर– १७ स्थित सेती नदीको डिलैमा छ एउटा टिनको टहरा । प्राय त्यही टहरा भित्र भेटिनुहुन्छ ५५ वर्षीया मनमाया थापा मगर र उहाँकी २३ वर्षीय छोरा पूर्णबहादुर । पूर्णबहादूर पूर्ण अपाङ्ग हुनुहुन्छ । न उहाँको दृष्टि छ न त शरीर चल्छ । बोली पनि छैन । टहरा बनाउने थोरै जग्गा पनि आफन्तले उपलव्ध गराएका हुन् । झरीको बेला भित्ताबाट रसाएको चिसोले पूर्णको ओछ्यानसम्मै भिज्छ । भूइँमा ओछ्याइएको म्याट्रेसमा काठको मुढोझैँ पल्टिरहेका हुन्छन् पूर्ण । जसरी चिसोले रसाइरहन्छ भित्तो । त्यसरी नै २३ वर्षदेखि मनमायाको आँखा रसाइरहेको छ । उहाँलाई थाहा पनि छैन कि उहाँका आँखा कहिले ओभाउने हुन् । “छोरा जन्मिँदै अपाङ्गता देखियो”, उहाँ भन्नुहुन्छ, “त्यसयताका कुनै दिन मेरा लागि चाडबाड, रमाइलो, साथीभाई आफन्त रहेन, यही छोराको स्याहार गर्दैमा जिन्दगी बित्दो छ ।” छोरालाई ओछ्यानमै ख्वाउनुपर्छ । छोराको उमेरसँगै तौल बढ्दै गएपछि मनमायाले दिसापिसाब गराउन सक्नुहुन्न । “आफँैले सोहोरेर फाल्ने गरेकी छु”, उहाँले सुनाउनुभयो । बिहान उठेदेखि रातिसम्म छोराको हेरचाह गर्नु उहाँको दैनिकी हो । हुन त कुन आमालाई सन्तानप्रतिको माया नहोला र रु तर छोराप्रति आमाको माया बुझ्न मनमायाको वास्तविकता हेरे पुग्छ । उहाँहरुलाई देख्ने जोकोहीको आँखा रसाउँछ । “छोरो सानो हुँदा त दिसापिसाब गर्न बोकेर शौचालय लैजान्थेँ । अब त छोरो ठूलो भयो, मेरो पनि उमेर ढल्कँदो छ । बोक्नै सक्दिन”, उहाँले भन्नुभयो, “विस्तारामै फोहर गर्छ । जति सफा गरेपनि पुग्दैन । हिजोआज त कोठा नै गन्हाउन थालेको छ ।”  जब छोरालाई भोक लाग्छ अनि घुरे जस्तो आवाज निस्किन्छ । त्यसपछि खाना ख्वाउनुहुन्छ मनमाया । छोराले कमाएर दिने अवस्थामा उसैको स्याहारसुसार गर्नुपर्दा दुःख लाग्ने उहाँ बताउनुहुन्छ । तर आप्mनै कर्मलाई दोष दिँदै चित्त बुझाउनुहुन्छ मनमाया । पूर्णका बुवा लक्षु थापा मगर एक निजी विद्यालयको बस चालक हुनुहुन्छ । श्रीमानको कमाइकै भरमा घर चलेको छ । तर त्यो पर्याप्त अवश्य छैन । त्यसो त पूर्णबहादुर मनमाया र लक्षुको पहिलो सन्तान हैन । पाँच छोरामध्ये कान्छो हुन् पूर्ण । जन्मजातनै अपाङ्गता देखिएपछि एक महिनासम्म गण्डकी अस्पतालमा उपचारका लागि राख्दा पनि कुनै सुधार भएन । टहरादेखि बाहिर निकाल्दा उकालो उक्लनुपर्दछ । छोरोलाई एक संस्थाले दिएको ह्विलचेयरसमेत काम लागेन । आर्थिक अभावका कारण उपचारमा ‘फलोअप’का लागि कतै लैजान नसकेको पनि वर्षौँ बितिसकेको छ । पूर्णको नाममा ९क० श्रेणीको अपाङ्गताबापत्को सुरक्षा भत्ता प्राप्त हुन्छ । सो भत्ताले केही हदसम्म  पालनपोषणमा सहयोग पुगेको पूर्णका बाबु लक्षु थापामगरले बताउनुभयो । घरमा आउने कतिपयले परिवारको दुःख देखेर खानेकुरा र नगदसमेत दिने गर्छन् । उहाँले भन्नुभयो, “पोखरामा कतिपय वडामा सुकुम्वासी र अव्यवस्थित बसोबासी भए पनि हाम्रो जस्तो परिवारको त्यसमासमेत पहुँच छैन ।”  जग्गा पाउने होभने जेनतेन एउटा सानो भए पनि आप्mनै घर बनाएर अपाङ्गता भएका छोरालाई सजिलोसँग सुरक्षित छानामुनी राख्ने धोको मगर दम्पत्तिको थियो ।  अब त त्यो धोको पनि पुरा नभइ नै जिन्दगी बित्छ भन्नेमा ढुक्क हुनुहुन्छ उहाँहरु ।  उहाँहरुको जेठो कृष्णले रङरोगन सम्बन्धी काम गर्नुहुन्छ । माइला कर्णले धातुसम्बन्धी र साहिँलो सुरजले रेष्टुरेण्टमा काम गर्नुहुन्छ । अर्को विष्णु वैदेशिक रोजगारीमा साउदी हुनुहुन्छ । तर उनीहरु सबै आ–आफ्नै जहान परिवार पाल्नमै ठिक्क छन् ।   आफू काठमाडाँैको थानकोटमा जन्मिएको बताउनुहुन्छ लक्षु । “आमाबाबाले छ महिनाको हुँदा बोकेर पोखरा ल्याउनुभएको भन्ने सुनेको हुँ”, उहाँले भन्नुभयो, “म १४ वर्षको हुँदा बाबु आमा गुमाएँ । मेरा आफन्त को हुन्, कहाँ छन् मलाई केही थाहा छैन ।” उमेरले ५८ वर्ष पुग्नुभएका लक्षुका आफ्नै दुःख छन् । लामो समय पोखराको बजारमा हाते ट्याक्टर चलाउनुभएका उहाँले टोली आउँदा पोखरा महानगरपालिका–ं ८ बाट नागरिकता  बनाउनुभयो  ।  विसं २०७८ को जनगणनाअनुसार कूल जनसङ्ख्याको २।२ प्रतिशत जनसङ्ख्यामा कुनै न कुनै प्रकारको अपाङ्गता देखिन्छ । सो अनुसार मुलुकमा पूर्ण अपाङ्गताको सङ्ख्या ५७ हजार ४८६ रहेको छ । नेपाल जनसङ्ख्या तथा स्वास्थ्य सर्वेक्षण सन् २०२२ मा कूल जनसङ्ख्याको ६।७ प्रतिशतमा कुनै न कुनै प्रकारको अपाङ्गता रहेको उल्लेख छ ।  जैविक संरचना वा ‘जीन’मा देखिने खोट, गर्भमा रहँदा पर्याप्त पोषण तत्वको अभाव, विभिन्न दुर्घटना आदि जस्ता कारणले बच्चा अपाङ्गता भएको जन्मन सक्ने विज्ञहरु बताउँछन् । कतिपय लुला लङ्गडा वा विकलाङ्ग हुन सक्नदछन् भने कोही आँखा नदेख्ने, कोही कान नसुन्ने, बोल्न नसक्ने विभिन्न कारणले अपाङ्गता देखिएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान बाल विभाग प्रमुख डा रामचन्द्र बास्तोला बताउनुहुन्छ ।  विपन्न, असहाय परिवारमा अहिले पनि कतिपय अपाङ्गता भएका व्यक्ति सुविधायुक्त आवास, खानपान, सरसफाइ, उपचारको व्यवस्था नहुँदा कष्टकर जीवनयापन गर्न बाध्य भएको अपाङ्गता स्वावलम्बन सङ्घ नेपाल कास्कीका संस्थापक अध्यक्ष गिरधारी सुवेदीले बताउनुभयो  । कास्कीमा ९क० श्रेणीका पूर्ण अपाङ्गता भएका एक हजार ४०० भन्दा बढी छन् । अध्यक्ष सुवेदीका अनुसार अपाङ्गता भएकालाई सहयोग र मायाको खाँचो पर्दछ । जसका लागि घरपरिवार, समाज र राज्य संयन्त्र सहयोगी बन्नु अपरिहार्य छ । यस्ता अपाङ्गता भएका व्यक्तिको पालनपोषण र सुरक्षाको जिम्मा सरकारले लिन सकेमा कम्तिमा त्यस्ता कैयौँ मनमाया र लक्षु जस्ता दम्पत्तिको जिन्दगीका दुःखमा थोरै भएपनि मल्हम पट्टी लाग्ने थियो ।