काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्न चाहेको स्पष्ट गर्नुभएको छ। सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित समारोहमा ‘पर्यटनीति २०८२’ सार्वजनिक गर्दै मन्त्री पाण्डेले भन्नुभयो, “निजी क्षेत्र आत्मविश्वासका साथ अघि बढ्नुस्, सरकार समन्वयका लागि तयार छ। निजी क्षेत्र अघि बढेपछि मात्र सकारात्मक परिणाम हासिल गर्न सकिन्छ। हामी निजी क्षेत्रसँग मिलेर काम गर्न चाहन्छौँ।” उहाँले संविधानसभा मार्फत २०७२ सालमा जारी भएको नयाँ संविधानसँगै सङ्घीयता कार्यान्वयन गर्न मन्त्रालय नीतिगत रूपमा अघि बढेको जानकारी दिनुभयो। उहाँले संस्कृति नीति र हवाई नीति हाल मन्त्रिपरिषद्को विधेयक शाखामा छलफलको चरणमा रहेको र मन्त्रालयमार्फत १३ वटा विधेयकहरू समेत अघि बढिसकेको उल्लेख गर्नुभयो। मन्त्री पाण्डेले २०६५ सालको पर्यटन नीतिलाई प्रतिस्थापन गर्दै तयार पारिएको नयाँ ‘पर्यटनीति २०८२’ मा ‘अद्वितीय पर्यटकीय गन्तव्य स् नेपाल’ भन्ने शब्दावली नीति संरचनाकै दृष्टिकोणको रूपमा समावेश गरिएको जानकारी गराउनुभयो। उहाँले भन्नुभयो, “नेपाललाई ‘आकर्षक जीवनपर्यन्त अनुभव, सुरक्षित, भरपर्दो र दिगो गन्तव्य’ का रूपमा विकास गर्न पर्यटन नीति ल्याइएको हो। यसले मुलुकको राष्ट्रिय अर्थतन्त्रमा समेत सकारात्मक टेवा पुर्याउनेछ।”
सिन्धुली: सिन्धुलीको गोलन्जोर गाउँपालिकामा पर्ने एकै घरका १६ जना सम्पर्क विहीन भएका छन्। सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ छेत्पा नजिकको एक हायु परिवार नै सम्पर्क विहीन भएको स्थानीयले जनाएका छन्। गोलान्जोर गाउँ पालिका वडा नस् ६ को छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने स्थानमा बसोबास गर्ने उर्मिला हायुको १६ जना परिवार सम्पर्क विहीन भएको वडा अध्यक्ष रबिन श्रेष्ठले बताए । घरमा केही हल्का क्षति भएको छ । बाख्रा ,कुखुरा,भैसि अलपत्र अवस्थामा रहेको र सम्पूर्ण परिवार हराएको हुँदा खोजी कार्य जारी राखेका वडाध्यक्ष क्षेत्रीले बताए । वडा अध्यक्ष श्रेष्ठका अनुसार उक्त्त घरबाट अरू घर पुग्न १५ मिनेट बढीको दुरीमा छ एकान्तमा भएकाले कहिले देखि घर अलपत्र छाडेर कहाँ गए केही पत्तो छैन । घर भन्दा केही माथि गोठ छ त्यो गोठमा बाधेको भैसिलाइ घाँस हाल्न घरका नगएको नै ३ दिन भएको बताए । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक लाल ध्वज सुबेदीका अनुसार १६ जना सम्पर्क विहीन भएको प्रहरीलाई जानकारी आएपछि प्रहरी पुगेको छ । केही दिन अगाडि हायुको भत्ता लिएका रहेछन् कतै घुम्न गएका पनि हुन सक्छन् हामी मोबाइलको लोकेसन हेर्दै हेर्दै गरेको उनले बताए । घरका सबै जना सम्पर्क विहीन हुँदा पशु चौपायाको बिजोग भएको स्थानीयले जनाएका छन् । उक्त्त घरमा १८ जना रहेको र १ जना काठमाडौँ र १ जना विदेशमा रहेको स्थानीयले बताएका छन् ।
रसुवा: पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्ने क्रममा आइतबार साँझ बेपत्ता भएका दुईजनाको शव सोमबार बिहान फेला परेको छ । नेपाली सेनाको उद्धार टोलीले आज बिहान मोरङ वेलबारी घर भएका मनोज न्यौपाने र विराटनगर घर भएका सुजन ढकालको शव निकालेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख हेम बहादुर शाहीले जानकारी दिए । सेनाले आइतबार राति नै गोसाइँकुण्ड पुगेर नाइट हल्ट गरेको थियो ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिरभित्र सम्पन्न गर्ने गरी चुस्त र प्रभावकारी तयारी गर्न युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को नेतृत्वलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफल प्रधानमन्त्री ओलीले आगामी सन् २०२६ मा जापानमा हुने एसियन गेमको पूर्व सन्ध्यामा राष्ट्रिय प्रतियोगिता देशकै इज्जतको सवाल भएकाले राष्ट्रिय खेलकुदको भव्य तयारी गर्न निर्देशन दिनुभएको हो । उहाँले प्रतियोगिताको मिति र स्थान राम्रो अध्ययन गरेर निर्णय गर्न र निर्णय गरेपछि परिवर्तन नगर्न पनि आग्रह गर्नुभयो । परिषद्का संरक्षकसमेत रहनुभएका प्रधानमन्त्री ओली र मन्त्रालय र परिषद्को नेतृत्वबिच उचित समन्वय हुनुपर्नेमा पनि जोड दिनुभएको थियो । छलफलमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, मन्त्रालयका सचिव डा हरिप्रसाद लम्साल, परिषद्का उपाध्यक्ष ध्रुर्व आचार्य, सदस्यसचिव टङ्कलाल घिसिङलगायत सहभागी हुनुन्थ्यो ।
काठमाडौं: मुलुकभर परेकोे अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका आठ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार गएरातिदेखि परेको अविरल वर्षाका कारण देशभरका आठ मुख्य राजमार्ग अवरुद्ध भएका हुन् । अवरोध हुनेमा सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी राजमार्ग, रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित नेपाल चीन नाका जोड्ने पुल, रसुवाकै पासाङ ल्हामु राजमार्ग, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्ग र नुवाकोटको शिवपुरी गाउँपालिकास्थित मध्यपहाडी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । यस्तै, रुकुम पश्चिमको आठबिसकोट नगरपालिकास्थित जाजरकोट डोल्पा भेरी करिडोर सडक, हुम्लाको सिमकोट गाउँपालिकास्थित कर्णाली करिडोर र जाजरकोटको छेडगाड नगरपालिकास्थित मध्यपहाडी राजमार्ग पूर्णरूपमा अवरोध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यसैगरी, काठमाडौँको टोखाबाट नुवाकोट जाने सडकखण्ड, बाग्लुङको बाग्लुङ नगरपालिकास्थित कालिगण्डकी करिडोर, नवलपरासी पूर्वको गैँडाकोट नगरपालिकास्थित कालिगण्डकी करिडोर, मुस्ताङको थासाङ गाउँपालिकास्थित बेनी–जोमसोम सडक र रोल्पाको परिवर्तन गाउँपालिकास्थित सहिद राजमार्ग एकतर्फी सञ्चालन भएको प्रहरीले जनाएको छ ।
पोखरा: पोखराको पालिखे चोकमा एक ट्राफिक प्रहरी जवानले मोटरसाइकल साइकल चालकलाई कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ । सामाजिक सञ्जालमा आज सार्वजनिक भएको उक्त भिडियो हिजो (आइतबार) रहेको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख प्रहरी निरिक्षक शोभा पाण्डेले सुनगाभा न्यूजलाई जानकारी दिईन् । ‘उक्त भिडियो पोखरा पालिखे चोकको हो, हिजो (आइतबार)को हो, ट्राफिक प्रहरी प्रमुख पाण्डेले भनिन्, ‘सामाजिक सञ्जालमा आज सार्वजनिक भएको उक्त भिडियोपछि डिउटीमा खटिएका ट्राफिक प्रहरी जवानले चोकमा डिउटीको क्रममा रोक्न खोज्दा नरोकी गइ पालिखे चोकबाट नदीपुरतर्फ गई पुनः फर्किएर आएर ट्राफिक प्रहरीसँग झगडा गरेको हो ,उक्त विषयमा थप बुझ्दै छौं ।’ उक्त भिडियोमा ट्राफिक प्रहरी जवानले मोटरसाइकल चालकलाई हातपात गरेपछि मोटरसाइकल चालकले समेत हेल्मेटले हानेको देखिन्छ । ट्राफिक प्रहरी र मोटसाइकल चालकबीच झगडा भएको भिडियो सामाजिक सञ्जालमा राख्दै रविन प्रजो लेख्छन् ‘एउटा अभिभावक जो आफ्नो बच्चालाई स्कुल छोड्न जाने क्रम एउटा ट्राफिक प्रहरीबिच को यो झगडाको कारण के हुन सक्छ ?, यहाँहरुको कमेन्टको अपेक्षा राख्दछु ।’
काठमाडौं: काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित सुन्दरीमाई मन्दिर नजिक नुहाउने क्रममा खोलामा फसेका तीर्थयात्रीलाई नेपाली सेनाले उद्धार गरेको छ । सोमबार राति करिब २ः३० बजे सुन्दरीमाई मन्दिर नजिक चार भारतीय र एक नेपाली तीर्थयात्री खोेलामा नुहाउने क्रममा एक्कासी खोलाको बहाव बढ्दा उनीहरु त्यहाँ फसेका थिए । उनीहरुलाई श्री चन्दननाथ गणबाट खटिएको उद्धार टोली, अन्य सुरक्षा निकाय र स्थानीयको सहयोगमा सकुशल उद्धार गरेको नेपाली सेनाले जनाएको छ ।
काठमाडौं: उपसभामुख इन्दिरा राना जनवादी गणतन्त्र चीनको ६ दिने औपचारिक भ्रमण सम्पन्न गरी हिजो राति स्वदेश फर्कनुभएको छ । चीनको हेनान प्रान्तमा आयोजित कार्यक्रममा सहभागी भएर उपसभामुख राना आइतबार राति ११ः३० बजे स्वदेश फर्कनुभएको हो । उपसभामुख राना साउन ७ गतेदेखि ११ गतेसम्म आयोजित साङ्घाई सहयोगमञ्च, मिडिया र ‘थिङ्क ट्याङ’ शिखर सम्मेलनमा सहभागी हुनुभएको थियो । सो कार्यक्रममा उहाँले “विकासको लागि शान्तिपूर्ण र स्थिर वातावरणको सुरक्षामा नेपालको दृष्टिकोण” विषयमा सम्बोधन गर्नुभएको थियो, भने हेनान प्रान्तका अधिकारीहरूसँग भेटघाट गर्नुका साथै सोही प्रान्तमा अवस्थित झेङझोउ सहरलगायत विभिन्न स्थानको अवलोकन भ्रमणसमेत गर्नुभएको थियो । उपसभामुख राना नेतृत्वको प्रतिनिधि मण्डलमा सङ्घीय संसद् सचिवालयका उपसचिव जगदिश न्यौपानेसमेत सम्मिलित हुनुहुन्छ । उहाँ दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गदै साउन ६ गते त्यस तर्फ प्रस्थान गर्नुभएको थियो ।
गण्डकी: सडक निर्माणका लागि बजेट अपुग भएपछि बागलुङको ताराखोला गाउँपालिका–३ का बासिन्दाले आर्थिक सहयोग अभियान सुरु गरेका छन् । डोप्टा–बराहखोला जोड्ने सडकमा पर्ने चेवटको भिर काटेर मार्ग खोल्न सरकारी बजेटले नपुगेपछि उपभोक्ताले रकम जुटाउन सुरु गरेका हुन् । सडक निर्माणका लागि गत आर्थिक वर्षमा गाउँपालिकाको ३० लाख र गण्डकी प्रदेश सरकारले २० लाख रुपैयाँ बजेट विनियोजन गरेका थिए । समितिले ७५ लाख रुपैयाँमा सडक निर्माणको ठेक्का लगाएको थियो । अपुग रकम जुटाउन सहयोग अभियान सञ्चालन गरिएको सडक निर्माण समितिका अध्यक्ष एवं आर्थिक सङ्कलन समितिका संयोजक खड्गबहादुर नाउसाले बताए । सडक निर्माणमा स्थानीयवासीले श्रमदानसमेत गरेका थिए । ‘३६ लाख रुपैयाँ समितिलाई व्ययभार थपिएपछि आर्थिक सङ्कलन अभियान सुरु गरिएको हो, अहिलेसम्म १५ लाख रुपैयाँ उठिसकेको छ’, उनले भने, ‘सडक निर्माणमा गाउँपालिका र प्रदेश सरकारले पनि सहयोग गर्यो, उपभोक्ताको पनि लगानी परेको छ ।’ अप्ठ्यारो भूगोलका कारण गाउँपालिका र प्रदेश सरकारले दिएको बजेटले मात्र काम सम्पन्न हुन नसकेको उनले बताए । ताराखोलाबाट विदेशमा गएकाहरूबाट पनि सहयोगको प्रतिबद्धता आएको अध्यक्ष नाउसाले बताए । विभिन्न आमा समूह, सङ्घसंस्थालगायतबाट पनि सहयोग प्राप्त भइरहेको उनको भनाइ छ । ग्रामीण सडक निर्माणमा स्थानीय उपभोक्ताहरूबाट श्रमदान र आर्थिक सहयोग जुट्नु सुखद पक्ष रहेको अध्यक्ष नाउसाले बताए ।