काठमाडौं: सर्वोच्च अदालतले ‘आयोडिनयुक्त नुन (उत्पादन तथा विक्री वितरण) ऐन २०५५’ कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ। न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको संयुक्त इजलासले गत असार ३० गते अन्तरिम आदेश गर्दै आयोडिनयुक्त नुन ऐन २०५५ यही साउन १ गतेदखि कार्यान्वयन नगर्न भनेको हो। आदेशमा ऐन निर्माण भई जारी भएको हाल करिब २५ वर्ष व्यतित भइसकेको अवस्था रहेको र हालसम्म ऐन कार्यान्वयनका लागि आवश्यक पूर्वशर्तको रुपमा रहेको नियमावली बनाउने काम पनि हुन नसकेको देखिएको उल्लेख छ। साथै विना आवश्यक पूर्वतयारी ऐन लागू गर्दा यस अदालतबाट यसअघि परेका मुद्दामा चिन्ता व्यक्त गरिएजस्तै आम जनताको स्वास्थ्य र जनजीविकासँग प्रत्यक्ष सरोकार रहने आयोडिनयुक्त नुनको आपूर्ति र बिक्री वितरण नै प्रभावित हुनसक्ने अवस्था देखिएको आदेशमा उल्लेख छ। आदेशमा भनिएको छ, “तत्काल ऐन लागू नगर्दा कसैलाई अपूरणीय क्षति पुग्नसक्ने अवस्था नदेखिएको र प्रस्तुत विषयवस्तुको प्रकृतिबाट रिट निवेदनको अन्तिम किनारा लाग्दाका बखत नै निरुपण हुन मनासिब हुँदा प्रस्तुत रिट निवेदनमा अन्तिम किनारा लाग्दाका बखत ठहरे बमोजिम हुने गरी हाललाई नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मिति २०८२ साउन १ गतेदेखि आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री वितरण ऐन, २०५५ प्रारम्भ हुने गरी नेपाल राजपत्रमा प्रकाशित सूचना कार्यान्वयन नगर्नु नगराउनु।” आदेशमा आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री वितरण ऐन २०५५ को व्यवस्था कार्यान्वयन गर्नका लागि नियमावली जारी नगरेकाले उक्त ऐन कार्यान्वयनमा रोक लगाइएको उल्लेख छ। अधिवक्ता शिलत महर्जनले २५ वर्षअघि बनेको ‘आयोडियनयुक्त नुन उत्पादन तथा बिक्री वितरण ऐन, २०५५’ लाई जगाई आम जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको आयोडिनसम्बन्धी नुनलाई निजी क्षेत्रबाट आयात र वितरण गर्ने योजना प्रत्यक्ष देखिएकाले उक्त ऐन लागू हुँदा मानव स्वास्थ्यमा दीर्घकालीनरुपमा गम्भीर असर पर्ने उक्त ऐन बदर गर्न माग गर्नुभएको थियो।
दार्चुला: नेपाल–भारत सीमा भएर बग्ने महाकाली नदीमाथि व्याँस गाउँपालिकाका युवाले चट्टान फुटाएर अहिले मानिस हिँड्न घोरेटो बाटो बनाएका छन् । व्याँसको वडा नम्बर १ र २ जोड्ने पैदल बाटो नभएपछि स्थानीयले चट्टान फोडेर बाटो बनाएका हुन् । महाकाली नदीको छेउको ठाडो चट्टान फोडेर आफ्नै भूमिमा पाइला टेक्न सकिने बाटो व्याँसका युवाले ज्यानको बाजी राखेर बनाएका छन् । व्याँस–२ का युवा जनकसिंह धामीको नेतृत्वमा यो काम भएको हो । व्याँस–१ को छाङ्गरु र तिंकर तथा वडा नम्बर २ को दुम्लीङ कल्जु गाउँ जोड्न स्थानीयले घोरेटो बाटो बनाएका हुन् । गाउँ जानुपर्दा जहिल्यै भारतको बाटो हिँड्नुपर्ने र भारतीय प्रहरीको अनुमति विना गाउँ जान नसकिने भएपछि यहाँका स्थानीय यो अवस्थाको अन्त्यका लागि यस्तो जोखिम उठाएर बाटो बनाएको धामी सुनाउँछन्। ‘यो बाटोले दुई वडामात्र होइन्, देशको भूगोल समेत जोडेको छ, यो बाटोमा जोखिमपूर्ण काम गरेबापत मजदुरले दैनिक एक हजारदेखि रु एक हजार ५०० ज्याला लिए’, उनले भने। व्याँसका दुई वडा जोड्ने परम्परागत घोरेटो बाटो भत्किएका कारण यो क्षेत्रमा आवतजावत ठप्प थियो । महाकाली नदी किनारैकिनार पैदल बाटो रहेकामा भारतले निर्माण गरेको सडकका कारण पूरै नदीको धार नेपालतर्फ आउँदा बाटो भत्किएपछि नेपालका दुई गाउँ जान बाटो थिएन । बाटो भत्किएपछि सुदूरपश्चिम प्रदेश सरकारले २०७७ सालमा नेपाली सेनाको सहयोगमा ४५० मिटर घोरेटो बाटो खोलेको थियो । त्यो बाटो एक वर्ष पनि टिकेन । सबैभन्दा कठिन भूगाले रहेको ‘थी भीर’ क्षेत्रको पैदल बाटो बनाउने जिम्मेवारी पाएका धामीसँग गाउँका ४३ युवाको साथ थियो । उनले भने, ‘ज्यानको मायाभन्दा मातृभूमि र राष्ट्रको माया बढी भएरै बाटो बनाएका छौं, सबैले सहयोग नगरेको भए यस वर्ष पनि बाटो बन्न सम्भव थिएन ।’ घोरेटो बाटोमा काम गरेका उज्जवलसिह महता बाँदर नचढ्ने भीरमा डोरी लगाएर काम गर्दा पनि अप्ठ्यारो महशुस नभएको बताउँछन्। ‘एकातिर कडा चट्टान थियो, तल हेर्दा पूरै महाकाली नदीले हानिरहेको, थोरै गल्ती भएको भए सक्कियो, काम गर्ने बेलाको समय सम्झिँदा अहिले पनि आङ जिरिङ हुन्छ’, उनले भने । सडक पहुँच नभएकाले दार्चुलाको छाङ्गरु र तिंकर गाउँ पुग्न भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको तीन दशक भएको थियो । अहिले सबै क्षेत्रमा बाटो निर्माण भइरहेको छ । थोरै भए पनि राहत महशुस भएको बाटो निर्माणमा खटिएका डम्मरसिंह धामीको भनाइ छ । ‘परम्परागत बाटोको नाम निसाना मेटिएको थियो, पूरै कडा चट्टान डोरीमा अड्किएर काम गरियो’, धामीले भने, ‘यो बाटो खुलेपछि व्याँसको वडा नम्बर १ को छाङ्गरु तथा तिंकर र वडा नम्बर २ को दुम्लीङ गाउँ घोरेटो बाटोले जोडेको छ’, उनले भने। गाउँपालिकाले बोलपत्र आबहान गरेर बाटो बनाएको हो । बाटो निर्माणको जिम्मा मिसन–देवहरी जेभी निर्माण कम्पनीले गरेको हो । कुल पाँच करोड छ लाख नौ हजार ९९४ लागतमा घोरेटो बाटो निर्माणको ठेक्का पाएकामा असार मसान्तसम्म ८५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको निर्माण व्यवसायी केशवबहादुर पालले बताए । ‘निकै जोखिमपूर्ण क्षेत्रमा काम थियो”, निर्माण व्यवसायी पालले भने, “तै पनि मजदुरले रातदिन काम गरेर यत्ति प्रगति भयो ।’ निर्माण कार्य नसकिएको भन्दै आगामी मङ्सिर १५ गतेसम्म म्याद थप गरिएको छ । अहिले अपि खोला लगायतका क्षेत्रमा पुल निर्माण र बाटो मर्मतको काम चलिरहेको निर्माण व्यवसायी पालले बताए। मजदुर लगाएर अहिले पनि थी भीरभन्दा माथिल्लो क्षेत्रमा काम चलिरहेको छ । व्याँसवासीलाई आफ्नै बाटो हिँडाउने गरी बाटोको काम भइरहेको उनको भनाइ छ । गाउँपालिकाका सबइन्जिनियर जगतसिंह डडालका अनुसार हालसम्म घोरेटो बाटो निर्माणमा चार करोड १३ लाख ३३ हजार २०१ खर्च भइसकेको छ । निर्माण कम्पनीले व्याँसको वडा नम्बर २ र १ मा पर्ने तम्बाकु, माल्पा, घाटीबगड, बयाली, दोपखे, पोला, गिरकिस्से, बुदी अपिखोला र कुन्तीसाउसम्म २० किलोमिटर बाटो निर्माण तथा मर्मत गरेको छ । त्यसअनुसार घोरेटो बाटोमा ६५० घनमिटर मेसनरी वाल, ५७७ घनमिटर ड्राइ वाल, ७२ घनमिटर स्टोन वाल, ५०० घनमिटर पलम कङ्कृट र २० घनमिटर (८५ मिटर) आरसिसि ढलान गरिएको छ । दोपाखे, अपिखोला र कुन्तीसाउमा छ मिटर लम्बाइ स्पानका तीन वटा आरसीसी पुल निर्माण गरिएको डडालले बताए।
काठमाडौं: नेपाल आयल निगमको सिनामंगल स्थिति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, हवाई इन्धन डिपोलाई गुह्येश्वरी स्थित नेपाली सेनाको गल्फ कोर्समा स्थानान्तरण गर्नेसम्बन्धी परियोजनाको डिपिआर तयार भएको छ । यस योजना अन्तर्गत निगमले गत मङ्सिर ५, २०८१ मा स्थानीय कन्सल्टेन्टको रूपमा पुलचोक इन्जिनियरिङ संस्थान, पुलचोकलाई डिपिआरको जिम्मा दिएको थियो । सम्झौता अनुसार इन्जिनियरिङ संस्थानले ७ महिनामा परियोजनाको डिपिआर तयार गरी निगमलाई बुझाएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा इन्जिनियरिङ संस्थाले गुह्येश्वरीमा निर्माण गरिने हवाई इन्धन डिपो निर्माणको डिपिआर बुझाएको हो । प्रस्तावित निर्माण हुने डिपो अत्याधुनिक तथा पूर्ण रूपमा स्वचालित एल ३ लेबल अटोमेसनयुक्त हुनेछ । यस डिपोमा इन्धन भण्डारणको लागि हाल ३००० किलोमिटर क्षमताका ५ वटा भर्टिकल ट्याङ्कीको निर्माण हुनेछ भने भविष्यमा भण्डारण क्षमता बढाउनको लागि समेत खाली स्थान निर्माण हुने निगमले जनाएको छ । यसै परियोजना अन्तरगत इन्धन लोडिङरअनलोडिङका लागि क्रमश: ६ र ८ वटा बेहरु निर्माण हुने, अन्तर्राष्ट्रिय उडानका जहाजमा इन्धन भर्नको लागि ७ पिट हाइड्रान्ट रिफ्यूलिङ सिस्टम तथा २ वटा रिफ्यूलिङ डिस्पेन्सर पनि रहने निगमले जनाएको छ । डिपोमा अग्नि सुरक्षाका लागि २१०० किलोमिटर क्षमताका २ वटा स्ट्याटिस वाटर ट्याङ्की र पूर्ण स्वचालित फाइटिङ सिस्टम समेत जडान हुनेछ । यसै गरी प्रस्तावित निर्माण हुने डिपोमा प्रशासनिक भवन, प्रयोगशाला भवन, मर्मत संभार यार्ड, लगायत डिपोको सुरक्षार्थ खटिने नेपाली सेनाको लागि अलग्गै भवनको समेत व्यवस्था रहने छ। अन्तर्राष्ट्रिय स्तरका मापदण्डहरू एपीआई ओआईएसडीको पूर्ण रूपमा पालना गर्दै निर्माण हुन लागेको यस डिपोको निर्माण लागत ६ अर्ब ५४ करोड २९ लाख ५ हजार अनुमान गरिएको छ । हाल निगमले डिपो निर्माण गर्ने स्थानमा जग्गा चार किल्ला छुट्याई नागरिक उड्डयन प्राधिकरणले साइट क्लियरेन्सको काम अगाडि बढाएको र निगमले यो विस्तृत परियोजना प्रतिवेदन अध्ययन पश्चात् आर्थिक वर्ष २०८२/८३ मा बजेट विनियोजन गरी भाद्र महिनामा सार्वजनिक खरिद ऐन तथा नियमावली अनुसार बोलपत्र आह्वान गर्ने जनाएको छ । २ महिनाभित्रमा बोलपत्र मूल्याङ्कन लगायतका प्रक्रियाहरू टुङ्ग्याइ यसै आर्थिक वर्षको मङ्सिर महिनामा निर्माण कार्य सुरु गरी दुई वर्ष भित्रमा ९२०८४ मङ्सिर सम्ममा० निर्माण सम्पन्न गरी डिपो सञ्चालन गर्ने निगमको योजना रहेको छ । नेपाल आयल निगम लिमिटेडले साबिकमा रहेको सिनामंगल स्थित हवाई इन्धन डिपो नेपाल सरकार मन्त्रीपरिषद्को मिति २०८१/०४/२८ को निर्णय अनुसार स्थानान्तरण गर्ने निर्णय गरेको थियो ।
बाजुरा: बाजुराको हिमाली गाउँपालिकामा बिहीबार बिहान जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–५ क्युडीका ७६ वर्षीया विजा रोकाया र ७५ वर्षीया वाचा रोकाया रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक देवबहादुर चौधरीले जानकारी दिए । चौधरीका जानकारीअनुसार क्युडी गाउँबाट वडा नम्बर ५ को वडा कार्यालयतर्फ आउँदै गरेको बा प्र ०३–००१ ज ०३३८ नम्बरको जीप टुनीगडामा दुर्घटना भएको हो । सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न आउने यात्रु बोकेर आएको जीप यात्रु बढी भएर कच्ची सडकमा अनियन्त्रित भइ दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । जीपमा सवारमध्ये १५ जना घाइते भएका छन् । घाइतेको उद्धारका लागि हिमाली गाउँपालिकाले एम्बुलेन्ससहित स्वास्थ्यकर्मी घटनास्थल पठाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापाले बताए । घटनाबारे थप विवरण आउन बाँकी रहेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कास्कीको माछापुच्छ्रे गाउँपालिका धितालमा प्रस्तावित एन्फा टेक्निकल सेन्टर निर्माणको काम अगाडि बढ्नुपर्नेमा आफ्नो जोड रहेको बताएका छन् । धितालस्थित भेडाबारीका स्थानीय जग्गादाता, विभिन्न राजनीतिक दलका प्रतिनिधि र जनप्रतिनिधिहरूको टोलीले बिहीबार प्रचण्ड निवास खुमलटार पुगेर एन्फा टेक्निकल सेन्टर निर्माण प्रक्रिया अघि नबढेको भन्दै पहल गरिदिन अनुरोध गरेका थिए । प्रतिनिधिहरूले सो क्षेत्रमा सर्वेक्षण, वातावरणीय प्रभाव मूल्याङ्कन, माटो परीक्षण लगायतका प्रारम्भिक काम सम्पन्न भइसकेको र पालिकाको पहलमा जग्गा समेत हस्तान्तरण भइसकेको जानकारी गराए । प्रारम्भिक चरणमा बजेट विनियोजन, टेन्डर प्रक्रिया जस्ता कामहरू सम्पन्न भए पनि पछिल्लो समय योजना अलपत्र परेको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका थिए । अध्यक्ष प्रचण्डले पार्टीका प्रतिनिधि, जग्गादाता र स्थानीय जनप्रतिनिधिहरू सबैलाई माओवादी केन्द्रको तर्फबाट यो योजना अगाडि बढ्नुपर्छ भन्नेमा पहल गरिने विषयमा ढुक्क हुन आग्रह गरे । टोलीसँगको छलफलपछि प्रचण्डले भने, ‘यो प्रक्रिया अघि बढेको योजना हो र अब यो बन्नै पर्छ । कास्कीमै बन्नुपर्छ, धितालमै बन्नुपर्छ भन्ने हो ।’ उनले योजना कार्यान्वयनका लागि आफूबाट सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
भक्तपुर: भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ सिन्टीटारमा डेरा गरी बस्ने दुई किशोरी आज बिहान मृतावस्थामा फेला परेका छन् । स्थानीय निरज चक्रधरको दुईतले घरको भुइँ तलामा डेरा गरी बस्ने सुर्खेत पञ्चपुरी नगरपालिका–८ की १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सिर्जना कँडेल सोही घरको प्यासेजमा एउटै डोरीले झुन्डिएर मृतावस्थामा फेला परेका हुन् । मेनुका र सिर्जना दिदीबहिनी भएको प्रहरी वृत्त थिमिका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानाले बताउनुभयो । घरधनीका अनुसार दुई साताअघिमात्र ती किशोरीहरु डेरामा बस्न आएका थिए । प्रहरीका अनुसार मृतक दिदीबहिनी घरबाट भागेर आएको खुल्न आएको छ । मृतकको आफन्त सम्पर्कमा आइनसकेकाले उनीहरु आएपछि घटनास्थलको मुचुल्का हुने प्रनाउ ढुङ्गानाले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सप्तरी: सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–६ मोहनपुरमा बिहीबार सर्पदंशबाट एक महिलाको मृत्यु भएको छ । स्थानीय इन्द्रबहादुर राईकी ५० वर्षीया श्रीमती सङ्गीता राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । तराईमा अत्यधिक गर्मीका कारण विषालु सर्पको बिगबिगी बढेको छ ।
रौतहट: रौतहटमा एक सातामै खेतमा धान रोप्न पानी लगाउने क्रममा करेन्ट लागेर तीन किसानको मृत्यु भएको छ । बुधबार मात्रै धान रोप्न पानी लगाउने क्रममा मोटर चलाउँदा करेन्ट लागेर दुई जनाको ज्यान गएको हो । बुधबार बिहान माधव नारायण–४ बिसनपुर्वा मानपुर बस्ने तुल्सी मुखियाको छोरा ४० वर्षीय रामबाबु मुखियाको खेतमा सिँचाइका लागि विद्युतीय मोटरबाट पानी पटाउने क्रममा करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिनुभयो । सिँचाइ गर्न जडान गरिएको मोटरको तारबाट करेन्ट लागि घाइते भएका मुखियाको उपचारको क्रममा प्रादेशिक अस्पताल गौरमा मृत्यु भएको प्रहरीले जनाएको हो । त्यसैगरी कटहरीया–२ जमुनिया टोलका लालमहमद देवानको ५२ वर्षीय छोरा मोक्तार देवानको पनि खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर मृत्यु भएको उहाँले जानकारी दिनुभयो । करेन्ट लागि घाइते भएका देवानको उपचारको क्रममा गरुडास्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । यसअघि गत असार ३१ गते मौलापुर–८ सोनरनियाका सुधन राउतका १४ वर्षीय छोरा गोलु भन्ने नरेन्द्र पटेलको पनि खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर मृत्यु भएको थियो । यसवर्ष तराईमा खडेरी परेको कारण रोपाईँ गर्न नसके पछि किसानहरुले मोटरबाट पानी तानेर रोपाईँ गर्नुपर्ने बाध्यता भएको हो ।
काठमाडौं: प्रहरी प्रधान कार्यालयले कुनै पनि घटना तथा अपराधमा पक्राउ परेका व्यक्तिको फोटो तथा भिडियो सार्वजनिक नगर्न देशभरका प्रहरी कार्यालयहरूमा परिपत्र गरेको छ । पत्रकार सम्मेलनमा वा कुनै पनि सूचना दिँदा पक्राउ परेका व्यक्तिको तस्बिर तथा भिडियो सार्वजनिक नगर्न र नपठाउन भन्दै प्रहरी प्रधान कार्यालयले देशैभरका प्रहरी युनिटमा परिपत्र जारी गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । महान्यायाधिवक्ताको कार्यालयले तस्बिर, भिडियोहरू सार्वजनिक नगर्न प्रहरी प्रधान कार्यालयलाई दिएको निर्देशनका आधारमा यसरी मातहतका सबै युनिटमा परिपत्र जारी गरिएको प्रवक्ता घिमिरेले जानकारी दिनुभयो । गएको असारमै महान्यायाधिवक्ताको कार्यालयले उक्त निर्णय गरिसकेको छ । सोही निर्णयको जानकारी प्रहरी प्रधान कार्यालयमा पठाएपछि प्रहरीले तत्काल कार्यान्वयन गर्न परिपत्र जारी गरेको हो । प्रवक्ता घिमिरेले जघन्य अपराधका घटना वा त्यस्ता तस्बिर र भिडियो सार्वजनिक नगर्दा राज्य तथा सामाजिक असर पर्ने अवस्था रहेको खण्डमा सम्बद्ध निकायको अनुमतिमा सार्वजनिक गर्न सकिने जनाइएको छ ।