बागलुङ: हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएको छ । लोकमार्गको बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमाना पातीहाल्नेमा हिमपात हुँदा अवरुद्ध भएको थियो । लोकमार्गमा बाक्ल...

काठमाडौं:  भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको नेतृत्वमा उक्त मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसीसहितको टोलीले हालैको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गका विभिन्न खण्डको आज अनुगमन गरेको छ । बाढीले क्षतिग्रस्त उक्त राजमार्गको करिब चार किलोमिटर खण्डमा अस्थायी ‘डाइभर्सन’ बनाएर सडक सञ्चालनको तयारीका क्रममा मन्त्री घिसिङ नेतृत्वको टोली अनुगमनमा निस्केको हो ।  मन्त्री घिसिङले कार्यक्षेत्रमा खटिका सडक विभागका इञ्जिनियर र निर्माण व्यवसायीलाई सङ्घीय राजधानी काठमाडौँसँग वाग्मती, मधेस र कोशी प्रदेशका जिल्लाहरुलाई जोड्ने ‘लाइफ लाइन’ का रुपमा रहेको यो सडकलाई जतिसक्दो चाँडो सञ्चालन हुनेगरी काम गर्न आग्रह गर्नुभएको छ । गत वर्षको बाढीले उक्त राजमार्गको भकुण्डे(नेपालथोक खण्डमा क्षति भएको थियो । उक्त खण्डमा अस्थायी डाइभर्सन निर्माण गरी सञ्चालन गरिएकामा हालैको बाढीले करिब चार किलोमिटर पुनः बगाएको छ । गत वर्षको बाढीबाट क्षतिग्रस्त सडक स्थायी रुपमा निर्माण गर्न केही खण्डको ठेक्का लागिसकेको छभने कही खण्डको ठेक्का प्रक्रिया अन्तिम चरणमा रहेको मन्त्री घिसिङको निजी सचिवालयले जनाएको छ 

तनहुँ: तनहुँका स्थानीय तहले एक वर्षमा १५ किलोमिटर सडक कालोपत्र गरेका छन् । गत आर्थिक वर्षमा जिल्लाका छ गाउँपालिकाले १५ दशमलव ६२ किलोमिटर सडक कालोपत्र गरेका हुन् । त्यस्तै ती पालिकाले ३८ दशमलव ५५ किलोमिटर सडकको नयाँ ट्रयाक खोलेका छन् । म्याग्दे गाउँपालिकाले एक वर्षको अवधिमा एक दशमलव पाँच किलोमिटर सडक कालोपत्र गरेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।  त्यस्तै दुई दशमलव ५५ किलोमिटर सडकको नयाँ ट्रयाक खोलिएको छ भने तीन दशमलव एक किलोमिटर ग्राभेल गरिएको छ । सोही अवधिमा चार पक्की पुल निर्माण गरिएको अधिकारीले बताउनुभयो । व्यास नगरपालिकामा नौ किलोमिटर सडकको ट्रयाक खोलिएको छ । प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार पाँच दशमलव दुई किलोमिटर ग्राभेल, तीन दशमलव ९४ किलोमिटर कालोपत्र गरिएको छ एउटा पक्की पुल निर्माण गरिएको छ । ऋषिङ गाउँपालिकामा पाँच किलोमिटर सडकको ट्रयाक खोल्ने काम गरिएको प्रमुख प्रशासकीय अधिकृत अनिल अम्गाईले जानकारी दिए । उनका अनुसार १२ किलोमिटर सडक ग्राभेल गरिएको छ भने एक किलोमिटर कालोपत्र गरिएको छ । त्यस्तै एउटा पक्की पुल निर्माण भएको उनले बताए । बन्दीपुर गाउँपालिकामा १८ किलोमिटर सडकको ट्रयाक खोलिएको प्रमुख प्रशासकीय अधिकृत कमलबहादुर केसीले जानकारी दिए । तेह्र किलोमिटर सडक ‘ग्राभेल’ गरिएको बन्दीपुरमा चार किलोमिटर सडक कालोपत्र गरिएको उनले बताए । घिरिङ गाउँपालिकामा एक दशमलव दुई किलोमिटर सडकको ट्रयाक खोलिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार दुई दशमलव पाँच किलोमिटर सडकको ग्राभेल गरिएको छ भने एक किलोमिटर सडक कालापत्रे गरिएको छ । आँबुखैरेनी गाउँपालिकामा चार दशमलव ६३ किलोमिटर सडक कालोपत्र गरिएको छ भने दुई दशमलव आठ किलोमिटर ट्रयाक खोलिएको प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त तिमिल्सिनाले जानकारी दिए ।

काठमाडौं:  जल तथा मौसम विज्ञान विभागले बिहीबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पश्चिमी भागका धेरै र गण्डकी प्रदेशका पश्चिमी भेगका केही स्थानमा पश्चिमी वायुको प्रभाव रहेको तथा बाँकी भूभागमा मनसुनी एवम् स्थानीय वायुको प्रभाव कमजोर रहेको जनाएको छ । आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । देशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । विभागका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । साथै यी प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । 

नेपाल प्रहरीका १८ जना प्रहरी कर्मचारी असारयता आफूखुशी गैरहाजिर रहेका छन्।   प्रहरी प्रधान कार्यालयले मंगलबार सूचना जारी गर्दै आफूखुशी गैरहाजिर रहेका प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ।   आफूखुशी गैरहाजिर हुने प्रहरी कर्मचारीहरूमा २ जना प्रहरी सहायक हवलदार, १५ जना प्रहरी जवान र एक जना प्रहरी कार्यालय सहयोगी रहेका छन्।   मधेस प्रदेश प्रहरी गण जनकपुरधाममा कार्यरत प्रहरी सहायक हवलदार निजामुद्दिन पठान साउन १ गतेदेखि गैरहाजिर छन्।   अर्का सहायक हवलदार देवराम लावड साउन ११ गतेदेखि गैरहाजिर छन्। उनी इलाका प्रहरी कार्यालय चिसापानी कैलालीमा कार्यरत थिए।   इलाका प्रहरी कार्यालय यदुकुवा, धनुषामा कार्यरत प्रहरी जवान रोहल्ला राय भाट असार २ गतेदेखि सम्पर्कविहीन छन्।   अरू प्रहरी जवानहरू साउनको विभिन्न मितियता गैरहाजिर छन्।   प्रहरी प्रधान कार्यालयले उनीहरुको खोजतलास गर्दा र प्रक्रियाअनुसार सूचना टाँस गराउँदा पनि सम्पर्कमा नआएको जनाएको छ।   उनीहरूलाई गैरहाजिर हुनुको कारण खुल्नेगरी स्पष्टिकरण जबाफसहित बाटोको म्यादबाहेक सात दिन भित्र सम्पर्कमा आउन निर्देशन दिइएको छ।   अन्यथा प्रहरी नियमावालीअनुसार सेवाबाट हटाउने चेतावनी कार्यालयले दिएको छ।

काठमाडौँ:    निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ ।    स्वीकृत कार्यतालिकाअनुसार आगामी मङ्सिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनको लागि राजनीतिक दल दर्ताको कार्यक्रम तय गरिएको आयोगले जनाएको छ ।   आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा आज जारी प्रेस विज्ञप्तिमा पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि आगामी माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने जनाइएको छ ।   यस्तै, फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार हुने र तत्पश्चात् प्रचारप्रसार निषेधको अवधि रहने छ ।   फागुन २१ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान हुने र दुवै निर्वाचन प्रणालीतर्फको मतपेटिका सङ्कलन भएपछि मतगणना प्रारम्भ गरिने छ ।   समानुपातिक निर्वाचन प्रणालीका लागि मङ्सिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने, पुस १८ र १९ गते बन्दसूची पेस गर्ने कार्यक्रम रहेको रहेको आयोगका विज्ञप्तिमा उल्लेख छ ।    निर्वाचनमा राजनीतिक दल एवं सरोकार भएकाहरूसँगको समन्वय र सहकार्यका लागि स्वीकृत निर्वाचन कार्यतालिकाअनुसार आयोगले समय समयमा परामर्श तथा छलफल गर्ने जनाइएको छ ।    आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले मात्र निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न पाउने कानूनी व्यवस्था रहेको हुँदा निर्वाचनमा भाग लिन चाहने सरोकारवालाले आगामी कात्तिक ३० गतेभित्र राजनीतिक दल दर्ताको प्रमाणपत्र लिइसक्नु पर्ने आयोगले जनाएको छ । रासस 

काठमाडौँ:  नेपाल प्रहरीका दुईजना एआईजीको विभाग हेरफेर भएको छ ।   अपराध अनुसन्धान विभागमा कार्यरत प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजन अधिकारीलाई मानवश्रोत विकास विभागमा सरुवा गरिएको छ ।   कार्य विभागका प्रमुखको रूपमा कार्यरत अर्का एआईजी सिद्धी विक्रम शाहलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको हाे ।     जेनजी प्रदर्शन नियन्त्रण बाहिर जानसक्ने आकलन गरेर मानवश्रोत विकास विभागका तत्कालीन एआईजी दान बहादुर कार्कीलाई उपत्यका प्रहरी कार्यालयमा सरुवा गरिएको थियो ।   भदौ २४ मा कार्की रानपोखरीस्थित उपत्यका प्रहरी कार्यालयमा हाजिर भएका थिए । 

काठमाडौं:  अनलाइन न्यूज पोर्टल दर्ता तथा नवीकरण अब पुरानै व्यवस्थाअनुसार सूचना तथा प्रसारण विभागबाट गर्ने व्यवस्था सरकारले गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आजको मन्त्रिपरिषद बैठकबाट सो निर्णय भएको जानकारी दिनुभयो ।  प्रधानमन्त्री सुशीला कार्कीको सम्बोधन लगत्तै पत्रकारमाझ निर्णय सार्वजनिक गर्नुहुँदै मन्त्री खरेलले सो जानकारी गराउनुभएको हो ।  त्यसैगरी सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई तोक्ने निर्णय पनि मन्त्रिपरिषदबाट भएको उहाँले जानकारी दिनुभयो । सरकारले सुरक्षण मुद्रण नियमावली २०८२ लाई स्वीकृत गर्ने निर्णय भएको छ । मन्त्री खरेलले मन्त्रिपरिषदको बाँकी निर्णय शुक्रबार ३ बजे मन्त्रालयमा पत्रकार सम्मेलन गरी जानकारी गराउने बताउनुभयो । प्रधानमन्त्रीको सम्बोधनअघि सिंहदरबारमा मन्त्रिपरिषद बैठक बसेको थियो । 

चितवन:  नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत तुईन खोलामा पहिरोमा फसेका यात्रुहलाई लक्षित गर्दै निःशुल्क बस सेवा थालिएको छ । नेपाल प्रहरीले विगत दुई दिनदेखि पहिरोबाट रोकिएका यात्रुहलाई लक्षित गर्दै निःशुल्क बस सेवा सुरु गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार मङ्गलबारदेखि पहिरोले रोकिएका यात्रुहरुलाई  बस सेवा सुरु गरिएको हो । प्रहरी स्कुल शान्तिपुरका दुईवटा बसले निःशुल्क सेवा दिइरहेको उहाँले जानकारी दिनुभयो । तनहुँतर्फको बाटो हुँदै पाँच किलोको पुलसम्म आएका यात्रुहरुलाई लक्षित गरेर बससेवा सञ्चालनमा ल्याइएको हो । उहाँले भन्नुभयो,“पहिरोका कारण हिँड्दै आएका यात्रुलाई भरतपुरसम्मका लागि निःशुल्क बससेवा सञ्चालनमा ल्याएका हौँ।”  पहिरोका कारण लामो समयसम्म सडक खुल्ने सम्भावना नभएपछि अलपत्र परेका वा हिँड्दै आएका यात्रुलाई निःशुल्क बसको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । पाँच किलोमा यात्रु जम्मा भएपछि प्रहरीले खबर गरेर बस पठाउने गरेको छ । सुरुको दिन पहिरो खसेको स्थानबाटै यात्रुहरु ल्याइएको भए पनि आजदेखि पाँचकिलोबाट यात्रुलाई ल्याउन थालिएको हो। सडक अवरुद्ध भएपछि यात्रुहरूले पैदल हिँडेर वैकल्पिक मार्ग अपनाउनुपरेको छ ।  पहिरो समय समयमा खसेकाले पन्छाउन कठिन भएको हो । शुक्रबारसम्ममा पहिरो पन्छ्याइ सक्ने अनुमान गरिएको छ । गत शुक्रबार खसेको पहिरो पन्छ्याएर सडक सञ्चालनमा ल्याइएको भए पनि पुन मङ्गलबार पहिरो खसेर सडक अवरुद्ध भएको छ । आज पनि बिहानैदेखि पहिरो पन्छ्याउने काम भइरहेको छ ।