बागलुङ: हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएको छ । लोकमार्गको बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमाना पातीहाल्नेमा हिमपात हुँदा अवरुद्ध भएको थियो । लोकमार्गमा बाक्ल...

झापा:  गौरादह नगरपालिका–९, सिस्नेखोलामा माछा मार्ने क्रममा डुबेर आज दिउँसो तीन बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा स्थानीय अञ्जु मगरका दुई छोरी सात वर्षीया सुष्मा, नौ वर्षीया स्वीकृति र निर्मला परियारकी ११ वर्षीया छोरी रोश्नी छन्। उनीहरूको माछा मार्ने क्रममा खोला डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  प्रहरीले घटनास्थल पुगिसकेको र थप अनुसन्धान भइरहेको जनाएको छ।

पोखरा:  कास्की जिल्ला प्रशासन कार्यालयले कुनै पनि कार्यक्रम सञ्चालन गर्नुपूर्व सम्बन्धित स्थानीय तहको स्वीकृति लिन सम्बद्ध सबैमा आग्रह गरेको छ । प्रशासनले सूचना जारी गर्दै स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ३ अन्तर्गत स्थानीयस्तरमा हुने कार्यक्रम सञ्चालनको स्वीकृति/अनुमति सम्बन्धित स्थानीय तहबाट लिनुपर्नेमा कतिपय कार्यक्रम पूर्वस्वीकृति नलिई र स्थानीय प्रशासनलाई समेत पूर्व जानकारी नदिई सञ्चालन गरिएको पाइएको भन्दै अनुमति लिएर मात्र गर्न आग्रह गरेको हो । कास्की जिल्लाभित्र कुनै पनि सभा, समारोह, प्रदर्शन, परम्परागत तथा व्यावसायिक मेला, जात्रा, कन्सर्ट, सांस्कृतिक कार्यक्रम आदिको आयोजना पूर्व अनिवार्य रूपमा सम्बन्धित स्थानीय तहबाट कार्यक्रम सञ्चालनको स्वीकृतिरअनुमति लिएर मात्र आवश्यक शान्ति सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन अनुरोध गरेको छ । निवेदन दिँदा कार्यक्रम अवधिभर आवश्यक शान्ति, सुरक्षाको व्यवस्थापनका लागि  आयोजकको नाम र सम्पर्क नम्बर, कार्यक्रम सञ्चालन हुने मिति, स्थान, सुरु हुने तथा समापन हुने समय, सहभागी सङ्ख्यासमेत स्पष्ट खुलाउनुपर्ने प्रशासनले जनाएको छ । त्यस्तै निवेदनमा सम्बन्धित स्थानीय तहबाट कार्यक्रम सञ्चालनको स्वीकृति/अनुमति, संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपिलगायतका कागजात पेस गर्न पनि प्रशासनले आग्रह गरेको छ ।   

ढोरपाटन:  बागलुङमा ताल सुक्दै गएपछि संरक्षणमा चुनौती बढेको छ । ढोरपाटन नगरपालिका–९ स्थित रुद्रताल, तमानखोला–२ स्थित बराहताल, जैमिनी–३ स्थित गाजा दह (ताल), काठेखोला–४ को खोरताल र बागलुङ–१० स्थित बराहतालमा पानी सुक्दै गएपछि संरक्षणमा चुनौती बढेको हो । गाउँ तथा नगरपालिकाले संरक्षण गर्नका लागि डोजर चलाएपछि तालमा पानीको सहत घटेर सुक्न थालेका हुन् । एक दशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रमा सडक पुगेका थिएनन् । जब गाउँगाउँमा मोटरबाटो पुगे त्यसपछि तालमा पानी कम हुँदै गएको ढोरपाटन नगरपालिका–९ का धनबहादुर पुनले बताउनुभयो । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन जाने सडक छेउमै रहेको तालले पर्यटकलाई आकर्षित गर्दै आएको थियो । तर सात वर्ष अगाडि नगरपालिकाले ताल वरपर डोजर लगाएपछि करिब ९० प्रतिशत पानी सुकेको उहाँको भनाइ छ । पुनले भन्नुभयो, “पहिले रुद्राताल ठूलो थियो, धार्मिक आस्थाका हिसाबले यहाँ पूजाआजा गर्दा मनोकाङ्क्षा पूरा हुन्छ भन्ने मान्यता थियो, यहाँको जलले स्नान गर्दा शरीरमा कुनै पनि रोग लाग्दैन भन्थे, अहिले त पानी सुकेर हिलोमात्र छ, जब यहाँ डोजर लगाएर सम्याउने काम भयो, त्यसपछि तालको पानी सुक्यो, अहिले त नामको मात्र ताल छ, तालमा पानी छैन ।” जैमिनीको गाजा दहमा पनि डोजर लगाएपछि झण्डै ४० प्रतिशत पानी घटेको स्थानीयको दाबी छ । चार वर्ष अगाडि डोजर लगाएर तालको क्षेत्रफल विस्तार गरिएको थियो । काठेखोला गाउँपालिका–४ तङ्ग्रामस्थित खोरताल ६ वर्ष अगाडिसम्म पानीले भरिभराउ थियो । तालको बीचमा जमेको पानी बाह्रै महिना रहन्थ्यो । तर अहिले तालमा पानी होइन कमिला डुल्छन् ।  आर्थिक वर्ष २०७९/८० काठेखोला गाउँपालिकाले डोजर लगाएर कङ्क्रिटको पर्खाल लगाएपछि ताल सुकेको स्थानीय गङ्गाबहादुर किसानको भनाइ छ । गाउँमा जथाभावी सडक निर्माण र तालमा डोजर लगाएपछि पानी रित्तिएको उहाँ बताउनुहुन्छ । तालमा एकाएक पानी सुक्न थालेपछि आफूहरू अचम्मित भएको किसानले बताउनुभयो ।  “पाँच–छ वर्ष अगाडि पानीले भरिभराउ ताल अहिले पूरै रित्तै छ, ताल ठूलो थियो, सफा पानी हुन्थ्यो, हामी सानो हुँदा यही पानी भरेर खान्थ्र्यौँ”, उहाँले भन्नुभयो, “तालमा डोजर लगाउनु हुँदोरैनछ, पानी रोक्नलाई गाउँपालिकाले सिमेन्टको पर्खाल लगायो, तर तालको पानी सबै सकियो ।” तमानखोला गाउँपालिकाले पनि ताललाई व्यवस्थित गर्न रु ३० लाख लगानी गरेर संरक्षण थालेको थियो । तर अहिले संरक्षण गर्दा उल्टै ताल नै सुक्न थालेको छ । गाउँपालिकाले ताल संरक्षणका लागि तारबार लगाउनुका साथै त्यसवरपर थुप्रै पर्यटन पूर्वधार निर्माण गरेको छ ।  गाउँपालिका अध्यक्ष जोकलाल बुढामगरले पानीको स्रोत भएको ठाउँमा डोजर प्रयोग गर्दा मुहान नै सुक्ने बताउनुभयो । पालिकाले व्यवस्थित गर्न डोजर चलाउँदा विभिन्न ठाउँमा पानीको मुहान सुकेपछि अहिले त्यस्ता ठाउँमा मेसिन प्रयोग गर्न छाडेको बताउनुभयो ।  त्यसैगरी, बागलुङ नगरपालिका–१० स्थित भकुण्डेको बराहतलमा पनि पानी केही कम भएको पाइएको छ । बागलुङ बजार नजिकै रहेको यो ताल पर्यटकीय गन्तव्य बनेको छ । अन्य तालका तुलनामा यसमा पानी अलि बढी छ । यहाँ बिदाको समय धेरै पर्यटक पुग्ने गरेका स्थानीय बताउँछन् । बागलुङ र रुकुमपूर्वको सिमानामा रहेको रिगतालमा पनि निसीखोला गाउँपालिकाले डोजर चलाएपछि पानी घटेको स्थानीयको भनाइ छ । मध्यपहाडी लोकमार्गमा पर्ने पातीहाल्नेभन्दा केही माथिपट्टि पर्ने यस तालमा दैनिक पर्यटक पुग्ने गर्छन् । तर पानीको मात्रा घट्दै गएपछि ताल संरक्षणमा चुनौती बढेको छ ।

गण्डकी:   पोखरा–मुग्लिन सडक आयोजनाअन्तर्गत पोखराको सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको भौतिक प्रगति न्यून देखिएको छ । गत भदौमा तीन वर्षे ठेक्का अवधि सकिएको उक्त पुलमा हालसम्म जम्मा ५० प्रतिशत काम भएको छ ।  पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम खण्ड (पोखरा–जामुने) का प्रमुख कृष्णबहादुर कुँवरका अनुसार आगामी वैशाखसम्म उक्त पुलको ठेक्का म्याद थपिएको छ । “अहिलेकै गतिमा काम भए वैशाखभित्र पनि पुल बन्न मुस्किल देखिन्छ”, उहाँले भन्नुभयो, “निर्माण कम्पनीले पुलका लागि चाहिने केवललगायत सामग्री समयमा ल्याउन नसक्दा काममा ढिलाइ भएको हो ।”  तीन वर्षको सम्झौता अवधि भए पनि पुलको डिजाइन स्वीकृत गर्न र मापदण्डभित्रका संरचना हटाउन एक वर्ष लागेको प्रमुख कुँवरले बताउनुभयो । पछिल्लो दुई वर्षमा पुल निर्माणले गति लिए पनि अपेक्षित प्रगति हुन नसकेको उहाँको भनाइ छ ।  विक्रम संवत् २०७९ साउनमा निर्माण कम्पनी रसुवा कन्स्ट्रक्सनले पुल निर्माणको जिम्मा लिएको थियो । चीनबाट पुलको केवल ल्याउन उक्त कम्पनीले प्रतीतपत्र ९एलसी० खोल्ने तयारी गरेको प्रमुख कुँवरले बताउनुभयो । ‘केबल–स्टेड’ प्रविधिको उक्त पुलमा चार जगको काम पूरा भइसकेको छ । चार टावर निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ ।  आकर्षक डिजाइनमा बन्ने उक्त ‘सिग्नेचर’ पुलको जग निर्माणमा बढी समय लागे पनि टावरलगायत माथिल्लो संरचनाको काम चाँडो हुने निर्माण कम्पनीले जनाएको छ ।  छ लेनको उक्त सडकका अहिले रहेको पुलको तल र माथि गरी आकर्षक बनावटका दुई ‘सिग्नेचर’ पुल बन्नेछन् । एसियाली विकास बैँकको ऋण सहयोगमा सडक विभागमार्फत उक्त पुल निर्माण भइरहेको हो । भ्याटबाहेक ९४ करोडको ठेक्कामा पुल निर्माण हुन लागेको हो ।  ‘सिग्नेचर’ पुल बनेपछि पर्यटकीय राजधानी पोखराको आकर्षण बढ्नेछ । पुरानो प्रविधिको भन्दा अहिले निर्माणाधीन पुल डिजाइनका हिसाबले आकर्षक रहेको आयोजना प्रमुख कुँवरले बताउनुभयो । एक सय ९० मिटर लामो उक्त पुल निर्माणमा कङ्क्रिट र फलामको प्रयोग गरिएको छ । पुल निर्माणपूर्व विदेशी प्राविधिकसहितको टोलीले पुलको डिजाइन गरेको थियो ।  पोखरा–मुग्लिन सडक चार लेनमा विस्तार तथा स्तरोन्नति आयोजनाअन्तर्गत पोखराको सेती र तनहुँको मादी नदीमा ‘सिग्नेचर’ पुल निर्माणाधीन अवस्थामा छन् । पचास वर्षअघि बनेको पृथ्वी राजमार्गअन्तर्गतको पोखरा–मुग्लिन सडक २०७८ वैशाखदेखि विस्तार तथा स्तरोन्नतिको काम सुरु गरिएको थियो । सडक स्तरोन्नतिसँगै विभिन्न ठाउँमा पुल निर्माण भइरहेका छन् । आयोजनाको पश्चिम खण्ड ९पोखरा–जामुने० मा ११ पुल बनिसकेका र दुई पुल निर्माणाधीन अवस्थामा छन् ।  तनहुँको म्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला–१, फेदीखोला–२, रुदीखोला, हलेदीखोला, कालीखोला र कास्कीको कोत्रेखोलामा पुल निर्माण सम्पन्न भएको छ । पोखराको विजयपुर खोला र सेती नदीमा पुल निर्माणको चरणमा रहेको आयोजना प्रमुख कुँवरले बताउनुभयो । 

काठमाडौं:  नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा। शम्भुप्रसाद ढकालले राससलाई जानकारी दिनुभयो ।  कात्तिक ६ गते बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित् योग तथा विजय मुहूर्तको शुभ साइत दिइएको समितिका सदस्य प्रा। देवमणि भट्टराईले जानकारी दिनुभयो । “राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ । सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या छैन”, उहाँले भन्नुभयो । यस वर्ष यमपञ्चक कात्तिक १ गते शनिबारदेखि सुरु हुन्छ । त्यस दिनदेखि यमदीप दान सुरु गरिन्छ । धन त्रयोदशी र धनतेरस पर्व पनि यसै दिन परेको समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ । कात्तिक २ गते आइतबार काग तिहार परेको छ । यसै दिन धन्वन्तरी जयन्ती पर्व पनि मनाइन्छ ।  कात्तिक ३ गते सोमबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ । यसै दिन साँझ दीपमालिका गरिन्छ । कात्तिक ३ गते सोमबार दिउँसो ०२ः५२ बजेसम्म कात्तिक कृष्ण चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले शास्त्रसम्मत रूपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिले जनाएको छ । सायंकालमा औँसी तिथि परेका दिन लक्ष्मीपूजा गर्नुपर्ने शास्त्रीय वचन छ । औँसी तिथिमा गरिने स्नान, दान भने कात्तिक ४ गते मङ्गलबार बिहान गर्नुपर्नेछ । कात्तिक ४ गते दिउँसो ०४ः२९ बजेसम्म औँसी तिथि रहेको समितिले जनाएको छ । गाई, गोरु र आत्म (म्ह) पूजा भने कात्तिक ५ गते बुधबार गर्नुपर्ने शास्त्रीय वचन छ । कात्तिक शुक्ल प्रतिपदाको सायंकालमा आत्म ९म्ह० पूजा गर्नुपर्ने ‘कृत्यवाटिका’ नामक ग्रन्थमा उल्लेख गरिएको छ । आत्म (म्ह) पूजा विशेषगरी नेवार समुदायले गर्ने परम्परा छ । समितिले स्वीकृति दिने तीन पात्रो (पञ्चाङ्ग) नेवार समुदायका पञ्चाङ्गकारले प्रकाशन गर्ने गरेका छन् । सिद्धिलक्ष्मी व्यञ्जनकार, कीर्तिकिरण जोशी र शशिधर जोशी नेवार समुदायकै पञ्चाङ्गकारले पनि कात्तिक ५ गते नै आत्म (म्ह) पूजा गर्ने विषय आफ्ना पञ्चाङ्ग (पात्रो) मा उल्लेख गर्नुभएको छ ।  यसै दिन यस वर्ष नेपाल संवत् अनुसार नयाँ वर्ष मनाउनुपर्ने समितिले जनाएको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचन अनुसार यस्तो निर्णय गरिएको अध्यक्ष ढकालले बताउनुभयो । यसै दिनदेखि नेपाल संवत् ११४६ सुरु हुन्छ ।  शास्त्रीय विधिअनुसार भाइपूजा र नेवारी भाषामा भनिने किजापूजा पनि कात्तिक ६ गते बिहीबार मनाइनेछ । मङ्सिर २ गते बिहान ७ः०४ बजेसम्म मात्र द्वितीया तिथि छ । शास्त्रीय वचन अनुसार मध्याह्नकालमा नै भाइटीका लगाइन्छ ।   शास्त्रीय ग्रन्थमा भ्रातृपूजा भन्ने शब्द उल्लेख गरिएको र त्यस शब्दले दाजुभाइ दुवैलाई बुझाउँछ । भाइटीका भनिए पनि ज्येष्ठको क्रमानुसार नै दाजुभाइलाई टीकाटाला गर्नु शास्त्रसम्मत हुने समितिले जनाएको छ । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमपञ्चक भनिने तिहार पर्व मनाइन्छ । यस पर्वमा कात्तिक कृष्ण त्रयोदशीको साँझदेखि कात्तिक शुक्ल द्वितीयाको साँझसम्म यमदीपदान गरिन्छ । यमदीपदान परिवारको सङ्ख्याका आधारमा नाम उच्चारण गरेर गरिन्छ । यस अवसरमा यमदीपदान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । काग र कुकुरलाई पनि यमदूतका रूपमा मीठा परिकार खान दिएर खुसी बनाउने वैदिक परम्परा छ । जसले यमलोकमा सहयोग गर्ने विश्वास गरिन्छ ।

म्याग्दी:   जिल्लाको पश्चिमी क्षेत्रमा रहेका तीनवटा स्थानीय तहलाई सदरमुकाम बेनीबजारसँग जोड्ने बेनी–दरवाङ सडक मर्मत भएको छ । बर्खा रोकिएपछि सडकमा खसेको पहिरो पन्छाएर फराकिलो बनाएपछि बेनी–दरवाङ सडकमा यात्रुवाहक बस र मालवाहक सवारीसाधन सञ्चालन हुन थालेका छन् ।  पूर्वाधार विकास कार्यालयले फापरखेत, लाम्पाटा, पानाबगर र बाङ्गेपहिरोमा सडक मर्मत गरेको जनाएको छ । कार्यालयका सुपरभाइजर राम्जी आचार्यले बर्खा रोकिएपछि सडक मर्मत गरेर ठूला सवारीसाधन सञ्चालन गर्न मिल्ने बनाएको बताउनुभयो ।  सडकमा पहिरो खसेर साँघुरिएको थियो । पहिरो पन्छाएर सडकलाई फराकिलो बनाएर दुईतर्फी सवारीसाधन सञ्चालन हुने बनाइएको सुपरभाइजर आचार्यले बताउनुभयो । धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई सदरमुकाम बेनी बजारसँग जोड्ने २४ किलोमिटर दूरीको बेनी–दरवाङ सडकमा गत असारदेखि ठूला सवारीसाधन सञ्चालन हुनसकेका थिएनन् । यो सडक बागलुङको तमानखोलाका बासिन्दाले पनि प्रयोग गर्छन् । पहिरो खसिरहने भएकाले बेनी–दरवाङ सडकको यात्रा कष्टपूर्ण र जोखिमयुक्त बनेको थियो । बर्खायाममा जीप, ट्याक्सी, माइक्रोबस, मोटरसाइकल र ट्रयाक्टर चलेका सडकमा मर्मत भएपछि बस तथा ट्रक सञ्चालन हुन थालेका छन् ।  म्याग्दी मालिका यातायात प्रालिका सञ्चालक अर्जुन आचार्यले सडक सुधार भएपछि दरवाङदेखि काठमाडाँै र काठमाडौँदेखि दरवाङ रात्रिबस सञ्चालन गर्न थालिएको बताउनुभयो । म्याग्दी नदीमा निर्माणाधीन चारवटा जलविद्युत् आयोजना, सडक, भवन, खानेपानी, पुल, प्रसारण लाइन, सबस्टेशन आयोजनाका निर्माण सामग्री ढुवानी गर्न पनि सहज भएको छ ।  पूर्वाधार विकास कार्यालयमार्फत स्तरोन्नतिको अन्तिम चरणमा रहेको बेनी–दरवाङ सडकको विभिन्न ठाउँमा रहेका पहिरोको दीर्घकालीन रोकथाम नहुँदा बर्खायाममा पश्चिम म्याग्दीको यातायात सेवा प्रभावित हुने गरेको छ ।

काठमाडौं: नेपाली विद्यार्थी विपिन जोशीको निधन भएको पुष्टि भएको छ। हमासले ७३८ दिनदेखि आफ्नो नियन्त्रणमा रहेका जोशीको शव इजरायललाई बुझाउने भएको हो।   इजरायलको अखबार (जेरुसेलम पोस्ट)ले यसअघि अज्ञात रहेका भनिएका जोशीको निधन भएको र शव आजै बुझाउने तयारी भएको उल्लेख गरेको हो।   हमासले विपिनसँगै बगाय इलुज, योसी शाराबी र ड्यानियल पेरेजको शव बुझाउन लागेको समाचारमा उल्लेख छ।    इजरायलसँग युद्धबिराम भएसँगै हमासले सोमबार आफ्नो नियन्त्रणमा रहेका २० जीवित बन्धक पनि बुझाएको थियो।  

रौतहट: रौतहट जिल्लाको गौर नगरपालिका–१, कानुपट्टीस्थित भित्री सडक खण्डमा पानी जमेको खाल्डोमा परी बेपत्ता भएका तीन जनाको शव सशस्त्र प्रहरीले असोज २७ गते फेला पारेको छ । सोही जिल्लाको राजदेवी नगरपालिका–८, लक्ष्मीपुरबाट घाँस काट्न गौरतर्फ आउँदै गरेका सोही ठाउँ बस्ने १३ वर्षीया आस्थाकुमारी बैठा, १५ वर्षीया राधनीकुमारी यादव र १५ वर्षीया मौसमीकुमारी बैठा बाढीको पानी जमेको खाल्डोमा परी बेपत्ता भएका थिए ।  सशस्त्रका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार, घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा गुल्म गौरबाट खटिएको रबरबोर्टसहितको टोली र नेपाल प्रहरीको संयुक्त टोलीले स्थानीय बासिन्दाहरूको सहयोगमा उनीहरूको शव खाल्डोबाट बाहिर निकालेको हो । उनीहरूसँगै घाँस काट्न गएका सोही ठाउँ बस्ने १५ वर्षीया मुस्कानकुमारी राम, १३ वर्षीया मुस्कानकुमारी बैठा, १० वर्षीया चन्द्रमुखी राम र १५ वर्षीया सुनिताकुमारी बैठालाई भने स्थानीय बासिन्दाहरूले सकुशल उद्धार गरेका छन् ।

पोखरा:   दक्षिण कोरियाको छाङवोन शहरमा अक्टोबर २४, २५ र २६ गते २०औं बहुसांस्कृतिक कार्यक्रम भव्य रूपमा आयोजना हुने भएको छ।  ख्यानाम इजुमिन सेन्टर छाङवनद्वारा आयोजित यस कार्यक्रममा १६ देशका प्रतिनिधिहरूले आ–आफ्नो मौलिक संस्कृति, भेषभूषा र कलाको झल्को दिनेछन्। नेपालतर्फबाट यसपटक विशेष रूपमा नेवारी समुदायको कुमारी जात्रा (इन्द्र जात्रा) प्रस्तुत गरिनेछ। परेड तथा स्टेज कार्यक्रममार्फत यो सांस्कृतिक सम्पदाको अन्तर्राष्ट्रिय प्रदर्शन गरिने तयारी भइरहेको छ। कार्यक्रममा विशेष अतिथि कलाकारका रूपमा नेपालकी चर्चित गायिका मिलन नेवार सहभागी हुँदैछिन्। उहाँले सांगीतिक प्रस्तुतीमार्फत नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउनेछिन्।