पोखरा: गण्डकी प्रदेशसभाको बैठक आज बस्दैछ । जेन–जी आन्दोलनका क्रममा प्रदेश सभा भवन जलेपछि स्थगित भएको प्रदेश सभा बैठक दिउँसो १ बजे कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको हलमा बस्ने सभामुख कृष्ण धितालले जानकारी दिए । यसअघि प्रदेशसभाको अन्तिम बैठक भदौ १६ गते बसेको थियो । त्यसपछि भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा प्रदेशसभा भवनमा आगजनी भएपछि बैठक बस्न सकेको थिएन । यसअघि असोज २२ गतेका लागि बैठक बोलाइएको भए पनि सांसदहरुले असुरक्षा महसुस गरेपछि बैठक स्थगित गरिएको थियो ।
काठमाडौं: शिक्षामन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न सङ्ग सङ्गठनलाई मन्त्रालयले मान्यता नदिने निर्णय गरेको जानकारी गराउनुभएको छ। आइतबार ‘जानकारी तथा ध्यानाकर्षण गराइएको बारे’ विर्षकको एक विज्ञप्ति सार्वजनिक गर्नुहुँदै शिक्षामन्त्री पुनले यस्तो जानकारी गराउनुभएको हो। शिक्षामन्त्री पुनले हस्ताक्षर गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न राजनीतिक दलका नियमावलीमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भातृसंगठन वा शुभेच्छुक संस्थाका रुपमा उल्लेख गरिएका शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न संघ संगठनलाई मन्त्रालयले मान्यता नदिने निर्णय गरेको जानकारी गराउँदछु।’ उहाँले शिक्षक महासंघ, प्राध्यापक संघलगायत शिक्षा क्षेत्रमा क्रियाशील संघ संगठनलाई गैरराजनीतिक चरित्रको, स्वतन्त्र र व्यवसायिक प्रकृतिको बनाउने प्रयोजनार्थ सोही बमोजिमको कानुनी प्रबन्धसहित पुनर्गठन गर्न आह्वान गर्नुभएको छ।
मनाङ: यही कात्तिक ३ गतेदेखि सम्पर्कविहीन भएका दुई भारतीय नागरिक ५२ वर्षका जिग्नेस कुमार लल्लुभाई पटेल र १७ वर्षकी प्रियन्सा कुमारी पटेलको शव सशस्त्र प्रहरीले आइतबार दिउँसो करिब २ बजे फेला पारेको छ । मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका–४ स्थित ग्याल्सेन होटलबाट कात्तिक ३ गते सोही गाउँपालिका–५ स्थित मलेरिपा गुम्बा घुम्न जान्छु भनी हिंडेका उनीहरु सम्पर्क विहीन भएका थिए । उनीहरु सम्पर्कविहीन भएपछि उक्त होटलले खोजीकार्यका लागि सशस्त्र प्रहरी बल, नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङलाई जानकारी गराएको थियो । सम्पर्कविहीन भएका उनीहरुको तालिम शिक्षालय मनाङले खोजीकार्य गरिरहेकोमा नभेटिएपछि पुनः कार्तिक २३ गते सशस्त्र प्रहरी नायब उपरीक्षक हीराबहादुर जिसीको कमाण्डमा उद्धार सामग्रीसहित खटिएको माउण्टेन रेस्क्यु तालिमप्राप्त टोलीले उनीहरुको शव उक्त गुम्बाबाट करिब सय मिटर माथि हिउँले पुरिएको अवस्थामा फेला पारेको हो । सशस्त्र प्रहरीका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार, शवलाई घटनास्थलबाट तल झार्ने कार्य भइरहेको छ । मृतकद्वय बाबु र छोरी रहेको बुझिएको छ ।
काठमाडौं: आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन जारी छ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो समयमा नागरिकको उत्साहजनक रुपमा मतदाता नामावली संकलन अगाडि बढिरहेको छ। यही कात्तिक ३० गतेसम्म मतदाता नामावली संकलन हुनेछ। आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ। सो निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता भएकामध्ये फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने मतदाताले मात्र मतदान गर्न पाउने छन्। आयोगका अनुसार सो मितिसम्म अठार वर्ष उमेर पूरा हुने र नागरिकताको प्रमाणपत्र प्राप्त गरेका सबै नेपाली नागरिकले यही कार्तिक ३० गते भित्र मतदाता नामावलीमा नाम दर्ता गराउन पुनः अनुरोध गरिएको छ। मतदाता नामावली दर्तामा अधिक सहभागिताका कारण मतदाता नामावली दर्ता सर्भरमा अत्यधिक चाप पर्न गई सेवाग्राहीलाई सेवा लिन असहज भएको गुनासो आउने गरेको आयोगले जनाएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भए पश्चात विगतमा जस्तै १६ वर्ष उमेर पूरा भई नागरिकताको प्रमाणपत्र प्राप्त गरेका सबै नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने छन्।
काठमाडौं: नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको मृत्युु भएको छ कात्तिक दोस्रो सातादेखि उपचारका लागि काठमाडौँ मेडिकल कलेज (केएमसी)मा रहेका उनको गयराति २ बजेर ५८ मिनेटमा निधन भएको हो । कांग्रेसका निवर्तमान सांसद देवप्रसाद तिमल्सिनाले ६३ वर्षीय आलमको उपचारका क्रममा मृत्यु भएको जानकारी दिएका छन् उनलाई केएमसिमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। मुटुमा समस्या देखिएपछि आलमलाई अस्पताल भर्ना गरिएको थियो। गत जेठमा नक्खु कारागारबाट छुटेलगतै पनि उनलाई ब्रेन स्ट्रोक भएको थियो। त्यतिबेला माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराइएको थियो। २०६४ सालको निर्वाचनको तयारी गरिरहँदा बम विस्फोट भएका घाइतेलाई जिउँदै इँटाभट्टामा जलाएको आरोप आलममाथि थियो। उक्त अभियोगमा जिल्ला अदालत रौतहटले दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो।
पोखरा: अनलाइन ठगीका घटना बढेको भन्दै कास्की जिल्ला प्रहरी कार्यालयले सावधानी अपनाउन सर्वसाधारणलाई सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ । कार्यालयले अनलाइनबाट सामान खरिद गर्दा सामान प्राप्त गरिसकेपछि मात्र भुक्तानी गर्न, भरपर्दो विक्रेतासँग मात्र कारोबार गर्न, महँगो सामान अपत्यारिलो सस्तो मूल्यमा पाइएमा उक्त सामान चोरीको हुनसक्ने हुँदा सचेत रहन भनेको हो । अनलाइनमा सस्तो दरमा सामान देखाइ अग्रिम रकम भुक्तानी गर्न लगाउने र पैसा आएको छैन भनी स्क्रिन शेयर गर्न लगाई ‘ओटिपी’ लिई खाता ह्याक गरी ठगी हुनसक्ने हुँदा कसैलाई पनि आफ्नो मोबाइलको स्क्रिन सेयर नगर्न प्रहरीले अनुरोध गरेको छ । प्रहरीले साथीभाइ र आफन्तका नामबाट विभिन्न समस्या देखाइ सामाजिक सञ्जालमा आर्थिक सहयोग माग गरेमा प्रत्यक्ष सम्पर्क गरेर यकिन गरेर मात्र सहयोग गर्न भनेको हो । अपरिचित व्यक्तिले विदेशबाट उपहार वा बहुमूल्य सामान पठाएको कुरालाई विश्वास नगर्न र सामाजिक सञ्जालमा अनलाइन रोजगारीको अवसर देखाएर लगानी गर्न लगाइ ठगी हुने हुँदा सावधानी अपनाउन आग्रह गरिएको हो । वैदेशिक रोजगारीमा जाँदा भरपर्दो माध्यम रोज्न र पैसा दिँदा स्पष्ट रूपमा वैदेशिक रोजगारीको कारण खुलाई बैंकमार्फत कारोबार गर्न भनिएको छ । सामाजिक सञ्जाल तथा बैंकिङ एपहरूमा कठिन पासवर्ड राख्न, अपरिचित व्यक्तिहरूसँग साथी नबन्न, आफ्नो व्यक्तिगत विवरण सार्वजनिक नगर्न, आर्थिक सहयोगलगायत कुनै पनि बहानामा नफस्न र सामाजिक सञ्जालमा आएका अपरिचित लिङ्कहरू नखोल्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको हो ।
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले भिडियो सन्देश सार्वजनिक गर्नुहुँदै नयाँ मतदातालाई आगामी निर्वाचनमा भाग लिन आग्रह गर्नुभएको छ। शुक्रबार साँझ भिडियो सन्देशमार्फत् उहाँले जेनजी युवालाई नागरिकको विवेकलाई प्रयोग गर्ने आधिकारिक साधन मतदाता परिचयपत्र भएको भन्दै उहाँले मतदातापत्र बनाएर चुनावमा भाग लिन आग्रह गर्नुभएको हो। प्रधानमन्त्री कार्कीले भन्नुभएको छ, विद्यमान बेथितिसँग लड्न र देश विकासमा सँगै अगाडि बढ्न हरेक योग्य नागिरकले आफ्नो मताधिकारको सदुपयोग गरौं। मताधिकारको सदुपयोग गर्न नजिकैको निर्वाचन कार्यालय गएर आजै मतदाता परिचय बनाऔं।’
लमजुङ: लमजुङमा जिपको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ । क्व्होलासोथार गाउँपालिका– ३ घलेगाउँबाट बेँसीसहर आउँदै गरेको ग१ज ६३०६ नम्बरको बोलेरो जिपले ठक्कर दिँदा सोही पालिका–१ बागलुङपानीमा कृति तामाङको छोरी दुई वर्षीय नेरिमा तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्र क्षेत्रीले भने, ‘सो जिपको ठक्करबाट गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि बेंसीसहर नगरपालिका–८ स्थित प्रदेश अस्पताल बेँसीसहरमा ल्याएको र उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको हो ।’ प्रहरीले जिप चालक बेँसीसहर–९ का २९ वर्षीय मदन दुलाललाई नियन्त्रणमा लिई अनुसन्धान थालेको जनाएको छ । बालिकाको शव परीक्षण भइरहेको र परीक्षणपश्चात् परिवारलाई बुझाउने प्रहरीले जनाएको छ ।
काभ्रपेलाञ्चोक: सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आफ्नै मुद्रण मेसिनबाट छाप्न सुरु गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले आजदेखि लाइसेन्स छाप्न सुरु गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले काभ्रेको बनेपास्थित केन्द्रमा रहेको मेसिनबाट छपाइ शुभारम्भ गरे। सञ्चारमन्त्री जगदीश खरेलले कानुनी उल्झन र विविध कठिनाइका बाबजुद पनि अत्यावश्यक प्रबन्ध मिलाएर लाइसेन्स छपाइ सुरु गरिएको बताए। उनले भने,ुवर्षौँदेखि सुरक्षण मुद्रण केन्द्र अन्तर्गतका मेसिन यत्तिकै थन्किएका थिए । मेसिन र पार्टपूर्जा सबै धुलाम्मे थिए । ठाउँ नै खण्डहर जस्तो बनेको थियो । धुलो टकटक्याएर छपाइ थालेका छौँ।ु उनका अनुसार केन्द्रका मेसिनबाट राष्ट्रिय परिचयपत्र, राहदानी, लालपूर्जा, विभिन्न स्टिकर, हुलाक टिकटलगायत थुप्रै काम गर्न सकिने छ । सञ्चारमन्त्री खरेलले भने, ु२८ लाख ड्राइभिङ लाइसेन्स छाप्नुपर्ने अवस्था छ ।ु लाइसेन्स, राहदानी, राष्ट्रिय परिचयपत्रलगायतका छपाइ सधैँ विदेशी कम्पनीलाई ठेक्का दिएर छाप्ने गरिएको थियो । सञ्चारमन्त्री खरेलले पूर्वाधार र स्रोत साधन भए पनि छपाइ गर्न नसकिएको अवस्थामा नीतिगत सुधार गरेर छपाइ सुरु गरिएको बताए। सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले विभिन्न कानुनी उल्झन र प्राविधिक जटिलता समाधान गरेर छपाइ सुरु गरिएको जानकारी दिए। पहिलो चरणमा १२ लाख प्रति छपाइको सम्झौता भएअनुरुप आजबाट काम सुरु गरिएको हो । सुरुमा दैनिक पाँच सय छाप्ने र यसको मात्रा बढाउँदै लगिने केन्द्रले जनाएको छ । कार्यकारी निर्देशक ढुङ्गानाका अनुसार आजैदेखि नागरिकता, अन्तशुल्क स्टिकर, हुलाक टिकट, लालपुर्जा र भिसा स्टिकर छपाइ गर्न सकिनेछ । सुरक्षण मुद्रण केन्द्रमा हालसम्म झण्डै रु तीन अर्ब लगानी भएको छ ।

