म्याग्दी: बेनी–जोमसोम–कोरला सडकमा आज बिहानदेखि यातायात पुनः सञ्चालनमा आएको छ । म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा पर्ने काभ्रेभिरमा खसेको पहिरोका कारण ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा आइतबार बिहानदेखि सिधा यातायात अवरुद्ध भएको थियो । नेपाली सेनाको सहयोगमा विस्फोटक पदार्थको प्रयोग गरेर सडकमा थुपिएका ठूला ढुङ्गा फुटाउने र डोजरको सहायताले पहिरो पन्छाएर गए राति १० बजे सडक खुलाएको घाँसा प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक मीनबहादुर खत्रीले बताए । ‘बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालयका प्राविधिक कर्मचारी, नेपाली सेनासहित सुरक्षाकर्मीको टोलीले रातिसम्म काम गरेर सडक खुलाएका हौँ’, उनले भने, ‘सडक खुलेसँगै मुस्ताङको घाँसा र म्याग्दीको काभ्रेमा रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।’ सडक अवरुद्ध हुँदा कोरलानाकाबाट सामान लिएर आएका कन्टेनर, मुस्ताङको स्याउ र आलु बोकेर बजार हिँडेका मालबाहक ट्रक घाँसामै रोकिएका थिए । सोह्रश्राद्धमा मुस्ताङको कागबेनीमा पितृ तर्पण दिन देशका विभिन्न ठाउँ र भारतबाट आएका तीर्थयात्री, स्थानीयवासी र पर्यटक गन्तव्यतर्फ लागेका छन् । सिन्धुपाल्चोकको तातोपानी र रसुवाको नाका बन्द भएपछि दसैँका लागि नेपाली बजारमा आवश्यक सामान मुस्ताङको कोरलानाकाबाट ल्याउन थालिएकाले बेनी–जोमसोम सडकमा सवारीसाधनको चाप बढेको छ ।
काभ्रेपलाञ्चोक: यसवर्षको मनसुन सुरु भएसँगै जोखिमका कारण रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउँदै आइएको बिपी राजमार्ग आगामी असोज १ गतेदेखि २४सै घण्टा सञ्चालनमा ल्याइने भएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा सोमबार बसेको सुरक्षा समितिको बैठकले मनसुन बाहिरिने क्रममा रहनुका साथै दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षित गरी सडक २४सै घण्टा सञ्चालन गर्ने निर्णय गरेको हो । यात्रुको सहजताका लागि सडक सुरक्षामा सजगता अपनाइ स्वीकृत सडक सुरक्षा कार्ययोजनाबमोजिम निर्णय गरिएको समितिले जनाएको छ । कार्यालयद्वारा सोमबार जारी सार्वजनिक सूचनाअनुसार गत असार पहिलो सातादेखि रातिको समयमा सवारीसाधन आवतजावतमा पूर्ण रूपमा रोक लगाइएको थियो । मनसुनमा बाढीपहिरोको जोखिमका कारण बिपी राजमार्गअन्तर्गत प्रथान बिन्दु काभ्रेपलाञ्चोकको धुलिखेलबाट सिन्धुलीको सिमाना नेपालथोकसम्म रातिको समयमा १२ घण्टासम्म यातायात सञ्चालनमा रोक लगाइएको थियो । यसअघि पछिल्लो पटक यही भदौ १६ गतेदेखि थप १५ दिन सवारी सञ्चालनमा रोक लगाइएको थियो । जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारी सञ्चालनमा रोक लगाउँदै आइएकामा भदौ मसान्तसम्म रातको समयमा १२ घण्टा रोक लगाइएको थियो । कार्यालयले पटकपटक सूचनामार्फत मनसुन सक्रिय रहेको अवस्थामा बिपी राजमार्गमा बाढीपहिरोको सम्भावित जोखिम रहेकाले विपद्जन्य घटना हुनसक्ने भन्दै जोखिम न्यूनीकरणका लागि राजमार्गको उल्लेखित क्षेत्रमा सवारी सञ्चालनमा रोक लगाउँदै सतर्कता अपनाउन सार्वजनिक आह्वान गर्दै आइएको सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जानकारी दिनुभयो । मनसुनको समयमा बिपी राजमार्गमा यात्रा गर्नु उच्च जोखिम देखिएकाले राति निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो । आगामी असोज १ गतेदेखि पूर्ण रूपमा राजमार्ग खोल्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार काभ्रेपलाञ्चोकको काभ्रेभञ्ज्याङबाट सिन्धुलीको खुर्कोट खण्डका विभिन्न स्थानमा जोखिम भएकाले यसअघि यातायात सञ्चालनमा रोक लगाइएको हो । काठमाडौँबाट जाने सवारीलाई जिल्लाको काभ्रेभञ्ज्याङ र काठमाडौँतर्फ आउने सवारीलाई सिन्धुलीको सिमाना नेपालथोकमा रोकिएको थियो । यसअघि काभे्रपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लाको सुरक्षा समितिका पदाधिकारीको अन्तरजिल्ला समन्वय समितिको बैठकले गत असार ७ गतेदेखि बिपी राजमार्गमा साँझ ६ः३० बजेदेखि बिहान ५ः०० बजेसम्म तथा साउन महिनाभर साँझ ५ः०० देखि बिहान ५ः०० बजेसम्म सडक सञ्चालनमा रोक लगाइएको थियो । गत वर्ष असोजको बाढीपहिरोले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडाबाट सिन्धुलीको वर्षेखोलासम्मको आठ किलोमिटर सडक बगाएपछि अस्थायी रूपमा सवारी सञ्चालनको व्यवस्था गरिएको थियो । बाढीपहिरोले राजमार्गको कूल १६० किमीमध्ये तेस्रो खण्डअन्तर्गत सिन्धुलीको खुर्कोटबाट नेपालथोकसम्म ३४ किमी र चौथोखण्ड नेपालथोकबाट काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमीका विभिन्न स्थानमा बढीले क्षति पुर्याएको थियो । कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामा घि बढाइरहेको छ । पूर्वी नेपाल जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ सवारीसाधन आवतजावत गर्छन् ।
काठमाडौं: नेपाल प्रहरी प्रधान कार्यालयले ‘जेनजी’ आन्दोलनमा ज्यान गुमाएका प्रहरीका परिवारजनलाई जनही दश लाख रुपियाँ उपलब्ध गराउने निर्णय गरेको छ। प्रहरी प्रधान कार्यालयका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेका अनुसार भदौ २३ र २४ गते आन्दोलनको क्रममा कर्तव्य पालनाको सिलसिलामा मृत्युवरण गरेका प्रहरी परिवारजनलाई सो राहत रकम उपलब्ध गराउने निर्णय गरेको जानकारी दिनुभयो। उहाँका अनुसार प्रहरी निरीक्षकसम्मको तलब कट्टा गरी सो रकम उपलब्ध गराउने निर्णय भएको हो।
काठमाडौं: मन्त्रिपरिषद्को बैठकले असोज १ गते शोक दिवस मनाउने भएको छ । जेनजी आन्दोलनकाक्रममा साहदत प्राप्त गरेका सहिदको सम्झनामा शोक दिवस मनाउने निर्णय भएको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो ।असोज १ गते बुधबार सार्वजनिक बिदा दिएर सरकारले शोक दिवस मनाउने भएको हो । मन्त्रिपरिषद् विस्तारपछि सोमबार प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले अन्य केही महत्त्वपूर्ण निर्णय गरेको छ। आन्दोलनमा साहदत प्राप्त गर्नेलाई सहिद घोषणा र राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय सरकारले गरेको गृहमन्त्री अर्यालले जानकारी दिनुभयो। उहाँका अनुसार सरकारले आन्दोलनमा परिवारको सदस्य गुमाउनेलाई १० लाख क्षतिपूर्ति र अन्य खर्च बापत पाँच लाख रकम दिने भएको छ। घाइतेको निःशुल्क उपचार गर्ने र शव व्यवस्थापनका लागि निःशुल्क सवारी साधन र दुर्गमको हकमा हेलिकप्टरको व्यवस्था गर्ने निर्णयसमेत सरकारले गरेको छ। सरकारले आन्दोलनमा भएको जनधनको क्षति, ज्यादती र घुसपैठको सम्बन्धमा अनुसन्धान गर्न जाँचबुझ आयोग गठन गर्ने भएको छ। सरकारले आयोगको प्रतिवेदनको आधारमा थप काम गर्ने गृहमन्त्री अर्यालको भनाइ छ। भदौ २३ र २४ भएको आन्दोलनमा साहदत प्राप्त गर्नेको नाममा जेनजी जागरण स्मारक पार्क स्थापना गर्ने निर्णय भएको गृहमन्त्री अर्यालले बताउनुभयो।
काठमाडौं: संघीय संसद् सचिवालयले जेन–जी आन्दोलनका क्रममा भदौ २४ गतेको प्रदर्शनका क्रममा लगिएका मालसामान फिर्ता गर्न आग्रह गरेको छ । सचिवालयले सोमबार सूचना जारी गरेर प्रदर्शनका क्रममा नयाँ बानेश्वरस्थित संघीय संसद् भवन आगजनीका क्रममा लगिएका मालसामान फिर्ता गर्न आग्रह गरेको हो । ‘मालसामानहरू कुनै पनि अवस्थामा आफूसँग रहेको भएमा फिर्ता गरिदिनुहुन एवम् ती मालसामन रहेको स्थान तथा व्यक्तिको वतन जानकारी भएमा संघीय संसद सचिवालयमा सूचना दिनुहुन अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ । संसद् सचिवालयले मालसामानहरू लगेको भिडिओ भएमा उपलब्ध गराई सहयोग गरिदिन पनि आह्वान गरेको छ । भिडिओ–सूचना दिने व्यक्तिको परिचय गोप्य राखिने सूचनामा उल्लेख छ । भवन परिसरमा भएको आगजनी, तोडफोड एवम् लुटपाटका घटनापश्चात् गरिएको स्थलगत अनुगमन, निरीक्षण तथा विभिन्न माध्यमबाट प्राप्त जानकारीअनुसार संघीय संसद सचिवालयको स्वामित्वमा रहेका टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टर, स्क्यानर, क्यामेरा, टेलिभिजन, मोनिटर, माइक, मिक्स्चर, स्पिकर, फोटोकपी मेसिन, विद्युतीय उपकरणलगायतका मालसामानहरू अनधिकृत व्यक्तिले लगेको सूचनामा उल्लेख छ ।
काठमाडौं: ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका फिल्म हल सोमबारदेखि खुल्ने भएका छन्। आइतबार बसेको चलचित्र भवन सञ्चालक तथा चलचित्र वितरकको छाता संस्था नेपाल चलचित्र सङ्घको बैठकले दर्शक र चलचित्र भवनको सुरक्षामा ध्यान दिँदै सञ्चालनमा ल्याउने निर्णय गरेको हो। चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जनले तोडफोड र आगजानीबाट ध्वस्त विराटनगरमा रहेको क्युएफएक्सको चलचित्र भवनबाहेक अन्य चलचित्र भवन सोमबारदेखि नियमित रुपमा सञ्चालन हुने जानकारी दिए। उनले भने, “सुरक्षालाई उच्च प्राथमिकता दिँदै हामीले चलचित्र भवन सञ्चालनमा ल्याउन लागेका हौँ। अवस्था सामान्य भएसँगै हामी पनि सामान्य अवस्थमा फर्किन लागेका हौँ।” अध्यक्ष महर्जनले रात्रिकालीन सोलाई सञ्चालन गरे पनि राति १० बजेभित्र चलचित्र भवन बन्द गर्नेगरी सञ्चालन गर्न लागिएको बताए। चलचित्र ‘रिमै’, ‘मोहर’ लगायतका नेपालीसँगै केही विदेशी चलचित्र दर्शकले हेर्न पाउनेछन्। दसैँको अवसर पारेर फूलपातीदेखि भने तीन नेपाली चलचित्र प्रदर्शन हुनेछन्। भ्रष्टाचार र बेथितिविरुद्ध जेनजीले २३ भदौमा सुरु गरेको आन्दोलनका क्रममा यही भदौ २४ गते भएको प्रदर्शनमा विराटनगरस्थित क्युएफएक्स, बुटवलस्थित क्युएफएक्स, गोङ्गबुस्थित आइएनआईको ल्होत्से मल र भक्तपुरको क्युएफएक्समा क्षति पुगेको सङ्घले जनाएको छ।
काठमाडौं: आजदेखि देशभर मौसम बदली सुरु भई ठाउँठाउँमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आउँदो तीन दिन नै वर्षा हुने र यो खण्डित वर्षा हुने जनाएको छ । महाशाखाका मौसमविद् गोविन्द झाले लगातारको झरी नभए पनि बदली भने देशभर हुने तर भारी वर्षा भने खण्डित हुने जानकारी दिनुभयो । उहाँले मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको भए पनि जलवाष्पयुक्त हावा अरब सागरबाट र बङ्गालको खाजीबाडीबाट आइरहेकाले वर्षा गराउने प्रणाली विकास भएको बताउनुभयो । त्यसका साथै कतैकतै स्थानीय प्रणालीसमेत विकास भएका छन् । आज साँझ चितवन र नवलपुर जिल्ला आसपासको क्षेत्रमा मौसमी प्रणाली विकसित भई नारायणघाट र डण्डामा भारी वर्षा भएको महाशाखाले जनाएको छ । उक्त प्रणाली पूर्वदिशामा सर्ने क्रममा रहेको छ । पछिल्लो तीन घण्टामा चितवन, नवलपरासी, बारा, गुल्मी र गोरखा कास्कीमा वर्षा भएको छ । अहिले देशभर साधारणतया बदली रहेको छ । वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा साथै कोशी प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेश एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । सोमबार देशभर बदली रही लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका धेरै तथा तराई भू–भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् झाले बताउनुभयो । यही भदौ ३० गते राति कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले ‘जेनजी पुस्ता’को आन्दोलनमा सहभागी भई तोडफोड तथा आगजनीमा संलग्न भएको पुष्टि भएमा आफ्ना नेता तथा कार्यकर्तालाई कारबाही गर्ने भएको छ । पार्टीका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले आज विज्ञप्ति जारी गरी तोडफोड तथा आगजनीजस्ता गतिविधिमा आफ्नो पार्टीसँग सम्बन्धित कोही कसैको संलग्नता देखिए कारबाही गर्ने जनाएको छ । माओवादी केन्द्रले तथ्य र प्रमाण फेला परे सरकारले सख्त कारबाही गर्न पनि आग्रह गरेको छ । “हाम्रो पार्टीको कार्यालयहरु, दर्जनौँ नेता, कार्यकर्ता र परिवारका घर तथा अन्य सम्पत्तिमा आगजनी, तोडफोड गर्ने कार्य भएका छन्, त्यो तथ्य जनतासामु प्रस्ट छ, यो तथ्य जनतासामु प्रस्ट हुँदाहुँदै केही व्यक्ति वा समूहले यस्ता ध्वंसात्मक क्रियाकलापमा माओवादी कार्यकर्ताको संलग्नता भन गरिएको प्रचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ”, विज्ञप्तिमा उल्लेख छ । यस्ता आधारहीन हल्ला फैलाएर हाम्रो पार्टी तथा आन्दोलनलाई कमजोर बनाउनेप्रति सचेत रहँदै त्यस प्रकारका दुष्प्रचारबाट भ्रममा नपर्न पनि पार्टीले आम जनसमुदायलाई अपिल गरेको छ । ‘जेनजी पुस्ता’ले उठाएका माग जायज भएको उल्लेख गर्दै पार्टीले आन्दोलनभित्र प्रतिगामी, लोकतन्त्र र गणतन्त्र विरोधी तत्व घुसेर जुन खालको विध्वंस र वितण्ड मच्चाएको भन्दै भत्र्सना गरेको छ ।

