मुस्ताङ:  झण्डै पाँच सय वर्षअघि यहाँको घरपझोङ–५ ठिनीमा राजा थर्कोचेनले शासन चलाएका थिए । मुस्ताङको पान्डाखोलादेखि तल्लो भूभाग चिमाङ र चोखोपानी खोलासम्म राजा थर्कोचेनको राज्य थियो । राजा थर्कोच...

काठमाडौं:  हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बिहीबार कोशी, बागमती, गण्डकी,  कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ ।  कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थान तथा देशका बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यसैगरी, आज राति कोशी, मधेश र बागमती प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।  महाशाखाद्वारा प्रकाशित बुलेटिनअनुसार कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  कोशी प्रदेशका पहाड र तराईका साथै मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

काठमाडौं:  रूकुमपूर्वमा जङ्गली च्याउ खाएर बिरामी परेका दिदी भाइको मृत्यु भएको छ भने आमा र छोरी बिरामी परेका छन्। ​ भूमे गाउँपालिका–५ सेराबाङमा जङ्गली च्याउ खाएर बिरामी परेका ३ वर्षीय योजन बिक र ७ वर्षीया भाग्यरेखा विकको मृत्यु भएको रूकुम पूर्व प्रहरीले जनाएको छ।  प्रहरीका अनुसार योजनको सल्यान जिल्ला अस्पतालमा मङ्गलबार दिउँसो र भाग्य रेखाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मङ्गलबार राति पौने १२ बजे उपचारका क्रममा मृत्यु भएको हो । च्याउ खाएर गम्भीर बिरामी भएकी ९ वर्षीया आयुषा विकको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ ।     बिरामी परेकी उनीहरूकी आमा ३५ वर्षीया राजकुमारी विकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको अवस्था मध्यम रहेको प्रहरीको भनाइ छ ।

काठमाडौं:   नेपाल–चीन सिमानामा रहेको ल्हेन्दे खोलामा गत असार २४ गते आएको बाढीबाट चीनमा फसेका नेपालीलाई आज स्वदेश फर्काइने भएको छ । बाढीका कारण नेपाल–चीन मितेरी पुल बगाएपछि स्वदेश फर्कन नपाएका नेपालीलाई आज सिन्धुपाचोकको तातोपानी नाका हुँदै नेपाल फर्काउन लागिएको हो ।  चीनमा फसेका नेपालीलाई स्वदेश फर्काउनका लागि गत सोमबार रसुवाका प्रतिनिधिसभा सदस्य इञ्जिनियर मोहन आचार्यले परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई भेटेर कूटनीतिक पहलका लागि आग्रह गर्नुभएको थियो । भेटमा सांसद आचार्यले केरुङमा रहेका नेपालीलाई नेपाल ल्याउन भइरहेको ढिलाइ, नेपाल–चीन जोड्ने अस्थायी पुल निर्माण, दुई देश जोड्ने मितेरी पुलको पुनर्निर्माण, मौसम पूर्वानुमानसम्बन्धी सूचना आदानप्रदानलगायत विषयमा परराष्ट्रमन्त्री डा राणाको ध्यानाकर्षण गराउनुभएको थियो ।  उक्त ध्यानाकर्षणसँगै चीनमा फसेका नेपालीलाई आज सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै स्वदेश फर्काउन लागिएको हो । चीनमा फसेकालाई रसुवामा पुल नबनेका कारण तातोपानी नाका हुँदै नेपाल ल्याउन लागिएको हो । तातोपानी नाकाबाट नेपाल आउने नेपालीहरूका लागि काठमाडौँसम्मको यातायातको व्यवस्था सरकारले गरेको छ भने चिनियाँ भूमिमा चीन सरकारले गरेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिनुभयो ।  प्रमुख जिल्ला अधिकारी पौडेलले नेपाल फर्काउन लागिएकामा सवारी चालक तथा बिरामी परेका, नियमित औषधि सेवन गरिरहेका र औषधि सकिएका गरी २०३ नेपाली रहेको जानकारी दिनुभयो ।  बाढीका कारण अवरुद्ध भएको स्याफु्रबेँसी–रसुवागढी सडकखण्ड सञ्चालनमा आए पनि मितेरी पुल सञ्चालनमा नआएका कारण तातोपानी नाकाबाट उनीहरूलाई नेपाल फर्काउन लागिएको उहाँले बताउनुभयो ।

काठमाडौं: मन्त्रिपरिषद् बैठकका १० वटा निर्णय सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नियमित पत्रकार सम्मेलन गर्दै साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकका १० वटा निर्णय बुधबार सार्वजनिक गर्नुभएको हो । सञ्चारमन्त्री गुरुङले नायबमहान्यायाधिवक्ता डा. टेकबहादुर घिमिरेले २०८२/४/२ देखि लागू हुने गरी पेश गर्नुभएको स्वैच्छिक अवकाश स्वीकृत गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको जानकारी दिनुभयो । यसैगरी, विश्व बैंकबाट विकास प्रभावकारिताका लागि सार्वजनिक वित्त परियोजनाका लागि प्रस्ताव गरिएको १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने सम्बन्धमा विश्व बैंकसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय पनि बैठकले गरेको छ । यसैसँगै बैठकले अन्य १० वटा निर्णय गरेको छ ।   

खोटाङ:   वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका हरिप्रसाद राई पाँच दिनदेखि सम्पर्कविहीन भएका छन् ।  तीन वर्षअघि मलेसिया पुगेर केएलस्थित रकन इख्लास सर्भिसेस कम्पनीमा कार्यरत २६ वर्षीय हरिप्रसाद साउन–२ गतेदेखि सम्पर्कविहीन भएका हुन्।  सम्पर्कविहीन हुनुअघि साउन–१ गते मलेसियामै रहेका हरिप्रसादका साहिला दाजु हिमाल राईलाई आफू अप्ठ्यारोमा रहेको र बचाउन अनुरोध गरेको फेसबुक म्यासेज प्राप्त भएको छ ।  “मलाई सिध्याउने षड्यन्त्र गरेका छन् । बोस (मालिक) लाई नभन्नु । उसले थाहा पायो भने मलाई सिध्याउँछ । अब मलाई घर पठाउँदैन । घर जानका लागि म भाग्नुपर्छ । तपाईहरू सल्लाह गर्नुस् । दुई दिनको छुट्टी लिएर मलाई निकाल्नुस् ।” भनेर दाजु हिमाललाई म्यासेज लेखेको भोलिपल्ट अर्थात् साउन–२ गतेदेखि हरिप्रसाद सम्पर्कविहीन भएको जनाइएको छ ।  काठमाडौँको सिनामङ्गलस्थित फाजल इन्टरनेश्नल प्रालिबाट विसं २०७९ साउन–२८ गते मलेसिया पुग्नुभएका हरिप्रसाद मलेसियाको केएलस्थित स्यारोटन होटलमा सहयोगीको रूपमा काम गर्दै  आएका थिए ।  कम्पनीमा आफूले कुनै गल्ती नगरे पनि अरुहरूले गरेको गल्तीलाई आफूमाथि थुपारेर दोष लगाउँदै मार्ने षड्यन्त्र गरेको दाजु हिमाललाई हरिप्रसादले पठाएको म्यसेजमा उल्लेख छ ।  रोजगारीको सिलसिलामा मलेसियामा रहेका भाइ हरिप्रसाद सम्पर्कविहीन भएपछि खोजिकार्यलाई तीव्रता दिइएको दाजु हिमालले बताए ।  “मलाई साउन–१ गते राति म्यासेज गरेको थियो । फोनमा कुरा गरौँ भन्दा अरुले सुन्छ । म्यासेन्जरमै कुरा गरौँ भन्थ्यो ! ”, उहाँले भन्नुभयो, “केही समय म्यसेन्जरमा कुरा गर्दा–गर्दै सम्पर्कविहीन भयो । अहिले फोन पनि लाग्दैन । कम्पनीमा गएर सम्पर्क गर्दा त्यहाँ पनि छैन । केगरी खोज्ने अन्यौलमा परेको छु ।” म्यासेन्जरमा बोल्दा–बोल्दै भाइ सम्पर्कविहीन भएपछि मलेसियास्थित नेपाली राजदूतावास र भाइ कार्यरत कम्पनीलाई खोजिगरी दिन आग्रह गरिएको हिमालले बताए ।  “सम्पर्कविहीन भएको भोलिपल्टै राजदूतावास पुगेर आवश्यक कागजातसहित निवेदन दिएका थियौँ । अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । भाइको म्यासेज हेर्दा षड्यन्त्रगरी उनको हत्या गरेको हुन सक्ने देखिन्छ !”, उनले भने, “नेपाली दूतावासले चासो दिएको छैन । जुन अवस्थामा भए पनि मलाई भाइ चाहियो ।” हरिप्रसाद सम्पर्कविहीन भएको जानकारी प्राप्त भएलगत्तै मेनपावर कम्पनी र नेपालस्थित परराष्ट्र मन्त्रालयमा जानकारी गराइएको नेपालस्थित मेनपावर कम्पनीका प्रतिनिधि निरज दाहालले जानकारी दिए ।  “हरिप्रसाद कम्पनी छाडेर भागेको देखिन्छ । कम्पनीमै भएको खण्डमा कम्पनी सञ्चालकलाई भनेर केही गर्न सकिन्थ्यो”, उनले भने, “कम्पनी छाडेर भाग्नु हरिप्रसादको गल्ती देखिन्छ । अहिले म त्यो मेनपावर कम्पनीमा काम गर्दिन । यद्यपि, ममार्फत गएको हुनाले मेनपावर कम्पनी र नेपालस्थित परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको छु ।”  काठमाडौँमा रहेर वैदेशिक रोजगारसम्बन्धी एजेन्टको काम गर्दै आउनुभएका निरजमार्फत हरिप्रसादसँगै खोटाङस्थित खार्मीका छ युवा मलेसिया गएका थिए । एजेन्टलाई रु दुई लाख ५० हजार धरौटी बुझाएर मलेसिया पुगेका हरिप्रसाद सम्पर्कविहीन भएपछि घरपरिवार चिन्तित भएका छन् ।

सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार अपराह्न १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ ।   आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले सोध्नुभएको प्रश्नको जवाफ दिनुहुने कार्यसूची छ ।   यस्तै, सभामुख देवराज घिमिरेले ‘राष्ट्रियसभामा उत्पति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नुहुनेछ ।   त्यस्तै, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्भौतामाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।   त्यस्तै, आजै तीन वटा संसदीय समितिको बैठक बस्दैछ । सार्वजनिक लेखा समिति, विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।   लेखा समितिमा ‘जगदुल्ला जलविद्युत् आयोजनाको निर्माणसम्बन्धी उजुरीउपर छलफल’ हुनेछ । यस्तै, नेपाल सरकारका सचिवसँग गर्ने संयुक्त बैठकको मिति निर्धारण गर्ने प्रस्ताव छ ।   विधायन व्यवस्थापन समितिमा ‘जलस्रोत विधेयक, २०८१ माथि दफावार’ छलफल गर्ने कार्यसूची छ ।   सङ्घीयता सबलीकरण समितिमा ‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानका लागि भएका प्रयास र समितिसँगको अपेक्षाका बारेमा छलफल हुनेछ । रासस

रुकुम पश्चिममा भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता भएका छन् ।    जाजरकोटको नलगाड नगरपालिकाको दल्लीबाट जाजरकोटकै रिम्नातर्फ आउँदै गरेको रा१क १५०१ नम्बरको टिपर रुकुमपश्चिमको आठबीसकोट नगरपालिका-१४ पिपलचौरस्थित मंगलबार राति  भेरी नदीमा खसेको टिपर भेरी नदीमा खसेको हो ।   टिपरमा चालकसहित तीन जना सवार रहेका थिए । उनीहरुको अवस्था अज्ञात रहेको छ ।

काठमाडौं:  प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना २ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जनवादी गणतन्त्र चीनको ६ दिने औपचारिक भ्रमणमा जानुभएको छ । मङ्गलबार राति उहाँ चाइना साउर्दन एयरलाइन्सको उडानबाट चीनको हेनान प्रान्ततर्फ प्रस्थान गर्नुभएको सङ्घीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो । उपसभामुख राना नेतृत्वको प्रतिनिधिमण्डलमा सङ्घीय संसद् सचिवालयका उपसचिव जगदिश न्यौपाने सम्मिलित हुनुहुन्छ । चीनको हेनान प्रान्तमा साउन ७ गतेदेखि ११ गतेसम्म आयोजना हुने साङ्घाई कोअपरेशन फोरम मिडिया एण्ड थिङ्क ट्यांक समिटमा सहभागी हुन उपसभामुख राना त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।  सो कार्यक्रममा उहाँले सम्बोधन गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा उपसभामुख रानाले हेनान प्रान्तका अधिकारीसँग भेटघाट गर्नुका साथै सोही प्रान्तमा अवस्थित झेङ्झाउ सहरलगायत विभिन्न स्थानको अवलोकन भ्रमणसमेत गर्नुहुनेछ । उपसभामुख राना यही साउन ११ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

गलकोट:   अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ ।  राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको करिडोरको बागलुङ खण्डस्थित बागलुङ नगरपालिका–१० दब्ल्याङमा गए राति पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वसन्त पाण्डेले जानकारी दिनुभयो । उक्त खण्डमा आज बिहानदेखि यातयात सञ्चालन ठप्प भएको छ ।  वर्षाका कारण कालीगण्डकी करिडोरको बलेवा खण्डको छहरेमा सडक अवरुद्ध भएको छ ।  अवरुद्ध सडक खुलाउन कालीगण्डकी करिडोर आयोजनासँग समन्वय भइरहेको सूचना अधिकारीले पाण्डेले बताउनुभयो । करिडोरसँगै बलेवा–कुशिमसेरा सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।