मुस्ताङ:  झण्डै पाँच सय वर्षअघि यहाँको घरपझोङ–५ ठिनीमा राजा थर्कोचेनले शासन चलाएका थिए । मुस्ताङको पान्डाखोलादेखि तल्लो भूभाग चिमाङ र चोखोपानी खोलासम्म राजा थर्कोचेनको राज्य थियो । राजा थर्कोच...

रसुवा:  नेपाल–चीनबीच उत्तरी नाका रसुवागढीको मितेरी पुल पुनर्निर्माण सुरु भएको छ । गत असार २४ गते ल्हेन्दे खोलामा आएको अकल्पनीय बाढीले १० मिटर चौडाइ र एक सय मिटर लम्बाइको पुलमा क्षति पुर्‍याएको थियो । चीन सरकारले पुल पुनर्निर्माण थालिनी गरेको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिनभयो । उहाँका अनुसार नेपाल–चीनबीच आवतजावत र व्यापारिक कारोबार बन्द भएपछि प्रथम चरणअन्तर्गत चीन सरकारले बेलीब्रिज निर्माण गर्न पनि थालनी गरेको छ । यसका लागि भुइँ सतह मिलाउने सुरु भइसकेको छ । पक्की पुल निर्माणका लागि साविकको स्थानलाई यथावत छाडी दुई मिटर पूर्वतर्फ सारेर पुरातात्विक संरचनालाई कुनै असर नपार्ने गरी बेलीब्रिज निर्माण सुरु भइसकेको प्रजिअ पौडेलले जानकारी दिनुभयो । पुलका लागि चाहिने आवश्यक औजार चिनियाँ पक्षले रसुवागढी ल्याइसकेको जनाइएको छ । चार स्काभेटर उपकरणको सहायताले पुल बनाउने स्थान ल्हेन्देखोलाको भुइँ सतहमा अनियन्त्रित पानीलाई साविक सतहमा लाने काम अगाडि बढाइसकेको छ । बेलीब्रिज निर्माण आगामी भदौ ३० गतेभित्र सम्पन्न गर्ने चिनियाँ समकक्षीबाट जानकारी पाएको पनि प्रजिअ पौडेलले जानकारी दिनुभयो । रसुवागढीमा निर्माणाधीन एकीकृत भन्सार भवनको निर्माण रोकिएको छ ।

म्याग्दी:   म्याग्दी-म्याग्दीको उत्तरी क्षेत्र हुँदै पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा रहेको घोप्टेभिरमा खसेको सुक्खा पहिरोका कारण आइतबार बिहानदेखि आवतजावत अवरुद्ध भएको हो । पहिरो खसेपछि अवरुद्ध बनेको सडक खुलाउन सडक विभागको उपकरण परिचालन गरेको सप्मा प्रहरी चौकी घाँसाका प्रमुख प्रहरी सहायक निरीक्षक तेजबहादुर कुमालले जानकारी दिए । सडक अवरुद्ध हुँदा मुस्ताङको सिधा यातायात सम्पर्क टुटेको छ । प्रतिकूल मौसमका कारण पोखरा–जोमसोम हवाई सेवा बन्द छ । बाटो अवरुद्ध हुँदा स्थानीयवासीका साथै मुस्ताङ घुम्न जाने र फर्कने पर्यटक प्रभावित भएका छन् । मुस्ताङतर्फ जानेहरू म्याग्दीको काभ्रे र मुस्ताङ हुँदै म्याग्दीतर्फ आउनेहरू घाँसामा रोकिएका छन् ।

पोखरा:  गण्डकी प्रदेशमा जलवायु परिवर्तनका कारण पशुपालन क्षेत्रमा देखिएको प्रभाव र किसानहरूले अपनाएका अनुकुलन रणनीतिसम्बन्धी सहकार्यात्मक अनुसन्धान प्रतिवेदन शनिबार पोखरामा सार्वजनिक गरिएको छ ।  त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरस्थित अनुसन्धान समन्वय तथा विकास परिषदअन्तर्गतको अनुसन्धान विभागले वित्तीय सहयोग गरेको परियोजनाको नतिजा सार्वजनिक गोष्ठीमा प्रस्तुत गरिएको हो ।  अनुसन्धान गण्डकीका पाँच जिल्लाका १ हजार १ सय ५८ घरधुरी र ११ वटा समूहगत छलफलबाट संकलित तथ्यमा आधारित थियो । अनुसन्धान परियोजनाका प्रमुख अनुसन्धानकर्ता (प्रिन्सिपल इन्भेस्टिगेटर) प्राडा विकासकुमार केसीले प्रतिवेदन प्रस्तुत गर्दै गण्डकी प्रदेशमा तापक्रम बृद्धि र वर्षा घट्दो क्रममा रहेको तथ्य प्रस्तुत गरे ।  गोष्ठीमा जनाइएअनुसार जलवायु परिवर्तनका प्रतिकूल प्रभाव पशुपालनमा प्रत्यक्ष देखिन थालेका छन् । पशु स्वास्थ्य, प्रजनन क्षमता, उत्पादन र आहारको अभाव जस्ता समस्या तीव्र भएको बताइएको छ । कार्यक्रममा त्रिभुवन विश्वविद्यालय अनुसन्धान विभागका निर्देशक प्राडा किशोर कोइरालाले विश्वविद्यालयमा अनुसन्धानको संस्कृतिको विकास हुँदै गएको उल्लेख गर्दै आज सहकार्यात्मक अनुसन्धानका लागि पर्याप्त बजेट भएकोले प्राध्यापकहरूले ज्ञान निर्माणतर्फ गम्भीर हुनुपर्ने बताए ।  अनुसन्धान विभागका प्रमुख प्राडा नरेन्द्र खनालले बारम्बारको प्रस्तुति र संशोधनपछि तयार भएको यो प्रतिवेदन नीति निर्माण र कार्यान्वयनमा मार्गदर्शक बन्न सक्ने बताए । गण्डकी विश्वविद्यालयका उपकुलपति प्राडा नवराज देवकोटाले यो अनुसन्धान क्यु वान जर्नल र अन्य ८ वटा प्रतिष्ठित जर्नलहरूमा प्रकाशन भएको जनाउँदै यसको अन्तर्राष्ट्रिय महत्व रहेको बताए । उनले कृषि विकासमा पशुपालनको अनिवार्यता औंल्याउँदै शोधले किसानका समस्यालाई समेटेकोमा प्रशंसा गरे । अनुसन्धान प्रतिवेदनमाथि प्राडा लेखनाथ भट्टराई, प्राडा शोभाकान्त लामिछाने, डा. लिला पुरी, डा. श्रीकान्त शर्मा खतिवडा, डा. कृष्ण पौडेल, डा. शान्त खत्री, डा. रामजी पोखरेल, डा. खगेन्द्र शर्मा, भानु पराजुली, सुरेश रानाभाट लगायतले धारणा राखेका थिए ।  सहभागीहरूको जिज्ञासालाई जवाफ दिँदै टिम लिडर प्राडा विकासकुमार केसीले आगामी दिनमा थप अनुसन्धान गर्ने प्रतिबद्धता जनाए । परियोजनामा प्राडा विकासकुमार केसीसँगै डा. अनन्तराज ढुंगाना र डा. पूर्णबहादुर खाँडको सक्रिय सहभागिता रहेको थियो ।

रुपन्देही:  रुपन्देहीको भैरहवास्थित डण्डा खोलामा डुबेर दुई किशोरको मृत्यु भएको छ । शनिवार साँझ पौडी खेल्न गएका सिद्धार्थनगर–९, भट्टटोल बस्ने चण्डिप्रसाद अर्यालका छोरा १४ वर्षीया प्रज्वल अर्याल र नवलपरासीको बिनय त्रीबेणी गाउँपालिका–६ घर भई हाल सिद्धार्थनगर–७ बस्ने लीलाधर न्यौपानेका छोरा १५ वर्षीया दिनेश न्यौपानेको डुबेर मृत्यु भएको हो । मृतक दुबै किशोर रुपन्देहीको तिलोत्तमा-५ मणिग्रामस्थित शान्ति नमुना मावि मणिग्रामका बिद्यार्थी हुन् । उनीहरुले शान्ति नमुना माविको कक्षा ९ मा अध्ययनरत थिए । भैरहवास्थित पक्लिहवा क्याम्पस पछाडीको डण्डा खोलामा साथीहरुसँगै पौडी खेल्न गएका पाँच जनामध्ये शान्ति नमुना माविको कक्षा ९ मा अध्ययनरत न्यौपाने र अर्यालको डुबेर मृत्यु भएको प्रहरीले पुष्टी गरेको हो । जिल्ला प्रहरी कार्यलय रुपन्देहीका अनुसार बालकहरु पौडी खेल्ने क्रममा हराएको भन्ने सूचनापछि नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयुक्त टोलीले खोजी गर्दै जाँदा डण्डा खोलाको पानीमा डुबेर मृत अवस्थामा उनीहरु फेला परेका थियो । दुवै जनाको शव पोष्टमार्टमका लागी अहिले भैरहवास्थित भीम अस्पतालमा राखिएको र पोष्टमार्टम गरिने रुपन्देही प्रहरी प्रवक्ता डीएसपी गणेश सापकोटाले बताउनुभयो । प्रहरीले मृतक दिनेश र प्रज्जवलसँगै पौडी खेल्न गएका अन्य तीन जनासँग पनि सोधपुछ गरेको जनाएको छ । गहिरो र दलदलयुक्त गहिरो रहमा एकाएक डुवेका दुवै जनालाई सँगै गएका साथीले उद्धार गर्न खोजे पनि नसकेपछि आफूहरु फर्केको प्रहरी अनुसन्धानका क्रममा ती बालकहरुले बताएका थिए ।

कञ्चनपुर:   भीमदत्त नगरपालिका–२ स्थित उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको सात वर्ष बितिसक्दा पनि प्रहरीले अपराधी पत्ता लगाउन सकेको छैन । विसं २०७५ साउन १० गते साथीको घरमा गृहकार्य गर्न गएकी बालिका पन्तको शव साउन ११ गते घरनजिकैको उखुबारीमा भेटिएको थियो । घटनापछि दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन मुलुकभर आन्दोलनसमेत भयो । सरकारले पनि घटनाको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समितिका साथै राष्ट्रिय मानवअधिकार आयोग र प्रहरीले विभिन्न छुट्टाछुट्टै छानबिन समिति गठन भए । प्रहरीको सबैभन्दा बढी स्रोत साधनको खर्च यसै प्रकरणमा भए पनि हालसम्म प्रहरीले उपलब्धि हात पार्न सकेको छैन । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सागर बोहराले अहिले पनि प्रहरीले निर्मला पन्तको घटना प्राथमिकतामा राखेर अनुसन्धान गरिरहेको जानकारी दिनुभयो ।  “अनुसन्धानका क्रममा अहिलेसम्म एक सय २४ जनाको डिएन परीक्षण भएको छ भने छ सय ५५ जनालाई कार्यालयमा बोलाएर सोधपुछ भइसकेको छ”, उहाँले भन्नुभयो, “सिआइबीबाट १० टोलीले अनुसन्धान गरिसकेको छ अहिले पनि सिआइबी र प्रहरीले अनुसन्धान जारी राखेको छ ।” घटना भएको एक महिनापछि २०७५ भदौ ४ गते जिल्ला प्रहरी कार्यालयले भीमदत्त नगरपालिका–१९ बागफाटाका दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । अभियुक्त भनिएका विष्ट मानसिक रोगी भएको र प्रहरीले फसाउन खोजेको भन्दै यहाँ आन्दोलनले उग्ररुप लिएको थियो । पछि विष्ट सरकारी वकिलको कार्यालयबाट रिहा भएका थिए ।

पोखरा:  गण्डकी प्रदेशका पूर्व प्रमुख पृथ्वीमान गुरुङको ७६ वर्षको उमेरमा निधन भएको छ । क्यान्सर रोगबाट लामो समयदेखि ग्रसित रहनुभएको गुरुङको शनिबार बिहान निधन भएको हो । गण्डकी प्रदेशका पूर्व प्रमुख गुरुङको उनको निवास भरतपुरको दिब्यनगरमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।  तत्कालीन कास्कीको माछापुच्छ्रे गाउँपालिकाको ल्वाङघलेलमा २००६ सालमा जन्मिएका गुरुङलाई २०७८ साउन १२ गते  तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखमा नियुक्ति गरेका थिए ।  गुरुङ नेपाली कांग्रेस विभाजन रहँदा कांग्रेस प्रजातान्त्रिकको सभापति, सुकुम्वासी समस्या आयोग नवल परासीको अध्यक्ष भएका थिए ।  गुरुङ २०१८ सालमा चितवन आन्दोलनका क्रममा शाहदत प्राप्त गरेका हरिप्रसाद गुरुङका भान्जा हुन् ।  गुरुङका छोरा हाल क्यानडा भएका कारण उनी फर्किएपछि अन्तिम संस्कार गरिने बताइएको छ । छोरा आइतबार बिहान नेपाल आइपुग्ने र त्यसपछि दिउँसो  चितवनकै देवघाटमा अन्त्येष्ठि गरिने भएको छ । ।गुरुङका श्रीमती र एक छोरा छन् । 

सोलुखुम्बु:   हिमाली जिल्ला सोलुखुम्बुस्थित ८२ मेगावाट क्षमताको तल्लो सोलु जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारणमा आबद्ध भएको छ ।  जिल्लाको सोलुखोलामा निर्माणसम्पन्न उक्त आयोजनाको सोलु करिडोरको १३२ केभी डबल सर्किट प्रसारण लाइनमार्फत तिङ्ला सबस्टेसन हुँदै राष्ट्रिय ग्रिडमा जोडिएको हो । निजी लगानीमा निर्माण भएको यो आयोजना उत्पादन र प्रवाहको दृष्टिले एक महत्त्वपूर्ण काशेढुङ्गा बनेको छ । सोलु हाइड्रोपावर लिमिटेडद्वारा प्रवद्र्धित उक्त आयोजनाले गत साउन ४ गतेदेखि पहिलो युनिटको विद्युत् उत्पादन सुरु गरी परीक्षणसहित ग्रिडमा जोडिएको आयोजनाका सहायक प्रबन्धक कृष्णबहादुर चौधरीले जानकारी दिनुभयो ।  उहाँका अनुसार सोलुदूधकुण्ड नगरपालिका–७ र ११ को सिमानामा पर्ने साल्मेमा बाँध निर्माण गरी, करिब छ किलोमिटर तल तिङ्लाको भदौरेस्थित भूमिगत पावरहाउसमा पानी झारेर विद्युत् उत्पादन गरिएको हो । पाँच किलोमिटर लामो सुरुङमार्ग निर्माण गरी खोलाको बहावलाई नियन्त्रण गर्दै ऊर्जा उत्पादन गर्ने संरचना निर्माण गरिएको छ ।  सहायक प्रबन्धक चौधरीले भन्नुभयो, “४१/४१ मेगावाट क्षमताका दुईवटा पेल्टन टरबाइन जडान गरिएको छ । दुवै युनिटको ग्रिडमा सफल परीक्षण सम्पन्न भइसकेको छ । अब नेपाल विद्युत् प्राधिकरणले आगामी १५ दिनसम्म उत्पादन परीक्षण गर्नेछ ।” परीक्षणपछि विद्युत् प्राधिकरणको स्वीकृति प्राप्त गरेपछि आयोजनाले व्यावसायिक रूपमा नियमित विद्युत् प्रवाह सुरु गर्ने जनाइएको छ । सन् २०१६ मा सुरु गरिएको यस विद्युत् निर्माणको सुरुआतदेखि नै आयोजनालाई भौगोलिक कठिनाइ, प्राविधिक जटिलता र जलवायुजन्य अवरोध आएको थियो ।  निर्माण अन्तिम चरणमा पुगेका बेला, पहिरोले पेनस्टकसहितको संरचनामा ठूलो क्षति पु¥याएको थियो । जसका कारण सबै संरचना पुनर्निर्माण गर्नु परेको आयोजना सहायक प्रबन्धक चौधरीले बताउनुभयो । यो फेरबदलले लागतमा केही वृद्धि गरेको भए पनि दीर्घकालीन टिकाउपनामा फाइदा पुग्ने अपेक्षा गरिएको छ । एफएमओसहितका विभिन्न युरोपियन बैङ्कहरूको रु १६ अर्ब लगानीमा निर्माण भएको यो आयोजना, निजी क्षेत्र र अन्तर्राष्ट्रिय सहकार्यको नमूना बन्न पुगेको छ ।  यति ठूलो परिमाणको लगानी, जोखिम व्यवस्थापन तथा समयभन्दा अगावै निर्माणसम्पन्न हुनु आफैँमा एक सकारात्मक भएको आयोजनाका जानकारहरु बताउँछन् ।  निर्माण कम्पनीले आयोजनालाई सेप्टेम्बर २०२५ भित्र सम्पन्न गर्ने लक्ष्य राखेको भए पनि निर्माण कार्य दुई महिनाअघि नै सम्पन्न गरी विद्युत् उत्पादन प्रारम्भ गरेको बताइएको छ । यस तल्लो सोलु आयोजनाबाट हिउँदमा न्यूनतम २३ मेगावाट र वर्षायाममा अधिकतम ८२ मेगावाट विद्युत् उत्पादन हुने लक्ष्य राखिएको छ । उत्पादन भएको विद्युत् १३२ केभी डबल सर्किट प्रसारण लाइनमार्फत तिङ्ला सबस्टेसन हुँदै राष्ट्रिय ग्रिडमा प्रवाह भइरहेको छ ।  यो आयोजना सरकारको ‘सुपर सिक्स’ परियोजनाको हिस्सा हो, जसअन्तर्गत निजी लगानीमा निर्माण भइरहेका ६ वटा प्रमुख जलविद्युत् आयोजना समावेश छन् । नेपालमा निजी क्षेत्रबाट अहिलेसम्म निर्माण भएको सबैभन्दा ठूलो आयोजना भने ८६ मेगावाटको सोलु दूधकोशी हो । जुन यसअघि नै सञ्चालनमा आइसकेको छ । तल्लो सोलु आयोजनाले निजी लगानीको दोस्रो ठूलो जलविद्युत् आयोजना हो । विद्युत् उत्पादनसँगै यस आयोजनाले सोलुखुम्बु जिल्लामा रोजगार, पूर्वाधार, व्यावसायिक गतिशीलता र आर्थिक क्रियाकलापमा उल्लेखनीय योगदान दिएको छ ।  सुरुङ खन्नेदेखि पेनस्टक राख्ने, टरबाइन जडानदेखि पावर हाउस सञ्चालनसम्म दर्जनौँ स्थानीय युवा प्राविधिक र अप्राविधिक क्षेत्रमा संलग्न भएका थिए ।  स्थानीय जनप्रतिनिधिहरूले यो आयोजना सोलुखुम्बुको समृद्धिको मूल आधार बन्ने विश्वास व्यक्त गर्दै आएका छन् । विद्युत् उत्पादनसँगै पर्यटन, उद्योग, सेवा र पूर्वाधार विकासमा थप गति आउने अपेक्षा गरिएको छ ।

गण्डकी:  पोखरा–मुग्लिन सडकको पश्चिम खण्ड (पोखरा–जामुने)को भौतिक प्रगति ५५.१० र वित्तीय प्रगति ४२.५० प्रतिशत पुगेको छ ।  कुल ३८.८८ किमी दूरीको उक्त खण्डमा हालसम्म ३७.७० किमीमा एकतर्फी पहिलो तहको कालोपत्र भइसकेको आयोजना कार्यालयले जनाएको छ । उक्त खण्डका प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरका अनुसार २६.३८ किमीमा दुईतर्फी (चार लेन) र १०.३२ किमी सडकमा एकतर्फी (दुई लेन) कालोपत्र भइसकेको छ । विसं २०७८ भदौदेखि निर्माण सुरु गरिएको उक्त खण्डको ठेक्का म्याद आगामी पुससम्म रहेको छ । निर्माण कम्पनीले समयमा काम नगरेपछि यसअघि दुईपटकसम्म म्याद थप भएको इन्जिनियर कुँवरले बताए । चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले उक्त खण्डमा सडक विस्तार एवम स्तरोन्नतिको काम गरिरहेको हो । तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको आधा सडक छ लेन र आधाजति चार लेनको बन्ने इन्जिनियर कुँवरले बताउनुभयो । पश्चिम खण्डमा पर्ने १३ वटा पुलमध्ये ११ पुल बनिसकेको र दुई पुल निर्माणाधीन अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो । १०५ वटा कल्भर्टमध्ये १०३ वटा निर्माण भइसकेका छन् ।   तनहुँको म्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला–१, फेदीखोला–२, रुदीखोला, हलेदीखोला, कालीखोला र कास्कीको कोत्रेखोलामा पुल निर्माण सकिएको हो ।  सडक ठेक्काअन्तर्गत कास्कीको विजयपुर र पुल ठेक्काअन्तर्गत सेती पुल निर्माणको चरणमा छ । विजयपुर खोला पुलको भौतिक प्रगति ६० प्रतिशत पुगेको छभने सेती पुलको भौतिक प्रगति ४८ प्रतिशत पुगेको छ । विजयपुर पुल बन्न अझै पाँचदेखि छ महिनासम्म लाग्ने इन्जिनियर कुँवरले बताउनुभयो । आगामी भदौमा तीनवर्षे ठेक्का अवधि सकिन लागेको सेती पुलको भौतिक प्रगति पनि न्यून देखिएको छ । विसं २०७९ साउनमा निर्माण कम्पनी रसुवा कन्स्ट्रक्सनले पुल निर्माणको जिम्मा लिएको थियो । पुलको डिजाइन स्वीकृतदेखि मापदण्डभित्रका संरचना हटाउनेसम्मका काममा ढिलाइ भएकाले पुल समयमा बन्न नसकेको इन्जिनियर कुँवरले बताउनुभयो । केवल–स्टेड प्रविधिको उक्त पुलमा सब–स्ट्रक्चरको काम सकिएको र अहिले डाउनस्ट्रिम पुलमा सुपर–स्ट्रक्चरको काम भइरहेको उहाँको भनाइ छ । आकर्षक डिजाइनमा बन्ने उक्त सिग्नेचर पुलको जग निर्माणमा बढी समय लागे पनि टावरलगायत माथिल्लो संरचनाको काम छिटो हुने निर्माण कम्पनीले जनाएको छ । छ लेनको उक्त सडकमा अहिले रहेको चाइना पुलको तल र माथि गरी आकर्षक बनावटका दुईवटा सिग्नेचर पुल बन्ने भएका हुन् ।   भ्याटबाहेक रु ९४ करोडको ठेक्कामा पुल निर्माणको काम भइरहेको हो । पुलमा कङ्क्रिट र फलामको प्रयोग गरिएको छ । ५० वर्षअघि बनेको पृथ्वी राजमार्गअन्तर्गतको उक्त सडक एसियाली विकास बैङ्कको ऋण सहयोगमा विस्तार तथा स्तरोन्नतिको काम भइरहेको हो । निर्माणमा कुनै अवरोध नआएमा आगामी हिउँदसम्ममा सडक स्तरोन्नतिको काम सकिने आयोजना कार्यालयले जनाएको छ । गण्डकी प्रदेशको ‘लाइफलाइन’का रुपमा रहेको उक्त सडकको पूर्वी खण्ड (जामुने–मुग्लिन)मा भने हालसम्म भौतिक प्रगति ८६ प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको छ ।

काठमाडौं:  हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । हाल देशभर पहाडी भू–भागमा साधारणतया बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । शनिबार दिउँसो देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने पूर्वानुमान महाशाखाले जनाएको छ ।  बागमती, गणडकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन रचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थानहरूमा हावाहुरी चल्ने सम्भावना रहेको छ । पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका तराई तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा पछिल्लो मौसमी सूचनाको जानकारी लिनुहुन महाशाखाले अनुरोध छ ।