काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवस आज देशभर मनाइँदै छ । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत कम्युनिष्ट पार्टीले विविध कार्यक्रम गरी दिवस मनाउन लागेका छन् । विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मिनुभएका पुष्पलाल श्रेष्ठले नै कार्लमाक्र्स र फेडरिक एङ्गेल्सद्वारा लिखित ‘कम्युनिष्ट मेनिफेस्टो’ (कम्युनिष्ट पार्टीको घोषणापत्र, सन् १८४८) को पहिलो पटक नेपाली भाषामा अनुवाद गर्नुका साथै पहिलो पटक विभिन्न कृति र लेखमार्फत नेपाली समाजको वर्ग विश्लेषण गरेर नौलो जनवाद स्थापनाका लागि आह्वान गर्नुभएको थियो । त्यसैले पुष्पलाललाई नेपालका कम्युनिष्ट पार्टीले नेपालको कम्युनिष्ट आन्दोलनको पिताको रुपमा मान्ने गर्दछ । पार्टीको घोषणापत्रमा पुष्पलालले नेपाली क्रान्ति, नौलो जनवादको बाटोबाट अघि बढ्नुपर्ने कुरा अघि सार्नुभएको थियो । कम्युनिष्ट घोषणापत्र लेखेपछि उहाँकै नेतृत्वमा २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापना भएको हो । भारत, कलकत्तास्थित श्यामबजारको एक बङ्गालीको घरमा नेकपा पार्टी स्थापनाको घोषणा भएको थियो । नेकपाको पुष्पलाल संस्थापक महासचिव हुनुहुन्थ्यो । नेकपाको स्थापना कालमा पुष्पलाल, नरबहादुर कर्माचार्य, नीरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठ रहनुभएको थियो । एमालेका स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानले पुष्पलालले नेपालको कम्युनिष्टलाई एकीकृत गरेर नेपालमा कम्युनिष्टको विजारोषण गरेको बताउनुभयो । उहाँले पुष्पलालले विसं २०२७ मा अगाडि सारेको विचारलाई २० वर्षपछि नेपालका राजनीतिक दलले अनुशरण गरेको बताउनुभयो । “पुष्पलालले विसं २०२७ मा नेपालमा प्रजातन्त्र पुनःबहालीका लागि नेपाली कांग्रेससँग कार्यगत एकता गरेर जानुपर्दछ भन्नुभएको थियो, हामी उग्रपन्थी थियौँ, कांग्रेससँग मिल्ने भनेर हामीले पुष्पलाल दक्षिणपन्थी भनेर आलोचित गरेका थियौँ”, नेता न्यौपानेले भन्नुभयो, “जनमत सङ्ग्रहपछि हामीभित्र पनि उग्रपन्थ कम हुँदै भयो, २०४५ सालमा पुष्पलालले अगाडि सारेको कुरालाई नेपालमा रहेको प्रजातान्त्रिक पार्टीले मोर्चा नबनाइकन राजालाई ठाउँमा पनि ल्याउने सकिदैन र पञ्चायतको पनि अन्त्य गर्न सकिदैन भन्नेमा हामी पनि पुग्यौँ ।” सोही निर्णयका आधारमा २०४६ सालमा नेपाली कांग्रेससँग मोर्चा बनाउने निर्णय भएको उहाँको भनाइ छ । सोही मोर्चाकै कारण नेपालमा प्रजातन्त्रको पुनःबहाली भएको उहाँले उल्लेख गर्नुभयो । माओवादी केन्द्रका सचिव राम कार्कीले पुष्पलालले कम्युनिष्ट आन्दोलनलाई नेपालभित्र सुरुवात गर्ने नेताको रुपमा रहनुभएको बताउनुभयो । पुष्पलालले नेपालको कम्युनिष्ट पार्टीको घोषणापत्रमा नेपाली समाजको विशेषतालाई उजागरण गर्नमा प्रयास गरेको भन्दै उहाँ सैद्धान्तिक र वैचारिक रुपमा नेपाललाई बाटो देखाउने काम गरेको बताउनुभयो । “पुष्पलालले कम्युनिष्ट र कांग्रेस मिलेर प्रजातन्त्र ल्याउनुपर्छ भन्नुहुन्थ्यो, उहाँकै नीतिअनुसार नै मुलुकमा कम्युनिष्ट र कांग्रेस मिलेर प्रजातन्त्र आएको हो”, उहाँले भन्नुभयो । नेकपा ९एकिकृत समाजवादी० का नेता डा बेदुराम भुसालले पुष्पलालले नै नेपालको कम्युनिष्ट आन्दोलनलाई एकीकृत गरेको बताउनुभयो । पुष्पलालले गठन गरेको कम्युनिष्ट आन्दोलनलाई एकता गर्न सकेमात्र उहाँप्रति सच्चा श्रद्धासुमन हुने उहाँको भनाइ छ । “कम्युनिष्ट पार्टीबीच एकता विभाजन भए पनि अब फेरि पनि एकताबद्ध बनाउन आवश्यक छ”, उहाँले भन्नुभयो । पुष्पलालको स्मृति दिवसको अवसरमा नेकपा (एकीकृत समाजवादी) ले कीर्तिपुर नगरपालिका–४ चम्पादेवीस्थित पुष्पलाल उद्यानमा श्रद्धाञ्जलीसभा, अन्तरक्रिया, ग्रन्थ विमोचनलगायत कार्यक्रम गर्ने जनाएको छ । पार्टीले मातहतका सबै जिल्ला कमिटीलाई स्मृति दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाउन निर्देशन दिएको छ । पुष्पलालको २०३५ साउन ७ गते भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
सुर्खेत: गएराति भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता भएका छन् । जाजरकोटको नलगाड नगरपालिकाको दल्लीबाट जाजरकोटकै रिम्नातर्फ आउँदै गरेको भेरी करिडोरको काम गर्दै आएको यती विल्डर्सको रा१क १५०१ नम्बरको टिपर रुकुमपश्चिमको आठबीसकोट–१४ पिपलचौरस्थित भेरी नदीमा खसेको हो । इलाका प्रहरी कार्यालय रिम्नाका प्रहरी नायब निरीक्षक शिउकुमार चौधरीका अनुसार टिपरमा चालकसहित तीन जना सवार रहेका थिए । उनीहरुको अवस्था अज्ञात रहेको छ । बेपत्ताको खोजीमा रुकुमपश्चिम र जाजरकोटको प्रहरी टोली परिचालन गरिएको प्रहरी नायब निरीक्षक चौधरीले बताउनुभयो । भेरी नदीमा पानीको मात्रा अत्यधिक भएकाले बेपत्ताको खोजी गर्न कठिनाइ भइरहेको उहाँले बताउनुभयो । बेपत्ता भएकाहरुको नाम ठेगाना केही खुल्न नसकेको प्रहरीले जनाएको छ ।
पोखरा: राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ (निफ)को आयोजनामा पोखरामा आदिवासी जनजाति महिला तथा किशोरीका अधिकार सम्बन्धी आधारभूत सिफारिस संख्या (जिआर)–३९ सम्बन्धी दुईदिने तालिम सुरु भएको छ । भोलिसम्म सञ्चालन हुने तालिम राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ (निफ) केन्द्रिय समितिको आयोजना र गण्डकी प्रदेश प्रदेश समन्वय परिषद्को समन्वयमा तालिम सुरु भएको हो । दुईदिन सम्म सञ्चालन हुने तालिममा गण्डकी प्रदेशका ५५ जना महिलाहरुको सहभागिता रहेको छ । तालिमको उद्घाटनपछि बोल्दै गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङले समाजमा मिलेर प्रगति गरेको देख्न नसक्ने तत्व बाहेकले अहिलेको संविधानको गलत व्याख्या गर्न नसक्ने बताए । ‘हिजो जसले अरुको अधिकार छिनेर खोसेर शासन व्यवस्थामा रमाएका मान्छे वा समाज भित्र सबै खाले जातजाति, सबै खाले उत्पीडनमा परेका समुदायले अधिकार प्राप्त गरेको देख्न नसक्ने र समाजमा मिलेर प्रगति गरेको देख्न नसक्ने दुइटा तत्व बाहेकले अहिलेको संविधानको बारेमा गलत ब्याख्या गर्न सक्दैन ।’, अर्थमन्त्री गुरुङले भने । अर्थमन्त्री गुरुङले मुलुकभित्र रहेका सबैलाई राज्य मेरो हो, राज्यप्रति अपनत्व कायम गर्न संविधानको गलत व्याख्या गर्न नहुने समेत बताए । ‘आज जुन तीनतहको सरकार छ, संविधानले परिकल्पना गरको छ मुलुक भित्र रहेका सबै खाले जातजाति, भाषालाई राज्य मेरो हो, राज्यप्रति अपनत्व कायम गर्न पर्छ समर्ग मुलुक निर्माण सबैको सहभागिता, सबैको समावेशिता सबैले समानुपातिक हिसावले प्रतिनिधित्व गर्न पर्छ भन्ने यो उत्कृष्ट संविधानको नकारात्मक व्याख्या गर्नतीर लाग्न हुँदैन ।’ उनले भने । गण्डकी प्रदेशमा मगर र गुरुङ भाषाालाई सरकारी कामकाजमा प्रयोग गर्न सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक २०८१ सर्वसम्मत पारित भएकाले छिटै कार्यान्वयनमा लैजान प्रदेश सरकार प्रतिवद्ध रहेको समेत बताए । गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले गण्डकी प्रदेश सभामा मगर र गुरुङ भाषालाई सरकारी कामकाजका लागि बनेको विद्येयक पास भइसकेकाले गण्डकी प्रदेशमा घरेलु मदिरा व्यवस्थापन गर्न बनेको विद्येयक पनि छिटै पास हुने बताईन् । उनले महिला विरुद्ध हुने सबै प्रकारको भेदभाव उन्मुलन सम्बन्धी महासन्धीको सिफारिस नम्बर ३९ गण्डकी प्रदेश सभामा समेत उठाउने बताईन् । तालिमकी प्रशिक्षक एवम् त्रिभुवन विश्वविद्यालयका उपप्रध्यापक प्रतिमा गुरुङले यो तालिम आदिवासी जनजाति महिला मात्र नभएर सबै लागि महत्वपूर्ण रहेको बताईन् । ‘हामी आदिवासी जनजाति भन्दै गर्दा हामी आदिवासी जनजाति भित्रपनि आदिवासी महिला छौं, आदिवासी महिलासँग जोडिएको उसको भाषा, धर्म, संस्कृति पहिचान, पहिचानसँग जोडिएको शैक्षिक, राजनैतिक, आर्थिक यो सबै अधिकार नेपालको संविधानले चाहि बोल्दैन नेपालको संविधानले बोल्न नसकेको आवाज चाँहि महिला विरुद्ध हुने सबै प्रकारको भेदभाव उन्मुलन सम्बन्धी महासन्धीको सिफारिस नम्बर ३९ ले आदिवासी र किशोरी भनेर बोल्छ यसकारण पनि यो कार्यक्रम महत्वपूर्ण छ ।’ कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य रेखा गुरुङ, राजकुमारी भुजेल, तमु ह्युल छोंज धीं का केन्द्रिय उपमहासचिव विष्णु गुरुङ, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ गण्डकीका सल्लाहकार पूर्ण लामा, सल्लाहकार श्याममाया पुन मगर, आदिवासी जनजाति महासंघका केन्द्रिय उपाध्यक्ष स्रुति कुमाल, राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चको प्रदेश संयोजक माया गुरुङ भुजेल, नेपाल तामाङ घेदुङ कास्कीका अध्यक्ष भक्त तामाङ लगायतले बोल्नु भएको थियो । कार्यक्रम राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ (निफ) केन्द्रिय समितिका उपाध्यक्ष कल्पना भट्टचनको अध्यक्षता, कोषाध्यक्ष देउ छन्त्यालको स्वागत र निफ गण्डकी प्रदेश समन्वय परिषद्का सचिव मिलन भुजेलको सञ्चालनमा सम्पन्न भएको थियो । कोशी प्रदेशमा सम्पन्न भइसकेको तालिम गण्डकी पछि मधेश प्रदेशमा सञ्चालन हुनेछ ।
झापाः राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा। महावीर पुनको आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ पुस्तक दुई लाख १८ हजार प्रति बिक्री भएको छ । केन्द्रको सहयोगार्थ पुस्तक बिक्रीका लागि विर्तामोड आउनुभएका डा पुनले उक्त जानकारी दिनुभएको हो । उहाँले पुस्तक बिक्रीबाट १२ करोड रुपैयाँ राष्ट्रिय आविष्कार केन्द्रको खातामा जम्मा भइसकेको बताउनुभयो । उहाँको पुस्तकको मूल्य सात सय ५० रुपैयाँ छ । उक्त रकमलाई उहाँले केन्द्रले सञ्चालन गर्दै आएको वीरगञ्ज औजार कारखाना र आविष्कार गतिविधिमा खर्च गरिने जानकारी दिनुभयो । पुस्तक बिक्रीका लागि एक सातादेखि झापामा रहनुभएका उहाँलाई संस्थागत र व्यक्तिगत रूपमा आमन्त्रण गरेर पुस्तक किन्ने क्रम बढिरहेको छ । विर्तामोड नगरपालिकाले सोमबार एक कार्यक्रम आयोजना गरी केन्द्रको सहयोगार्थ ५० हजार रुपैयाँ मूल्य बराबरको पुस्तक खरिद गरेको छ । नगरउपप्रमुख पवित्रा महतरा प्रसाईँले मुलुकलाई आत्मनिर्भर बनाउन पुनको अभियान प्रशंसनीय भएकाले उहाँको पुस्तक किनेर सहयोग गर्न पाउँदा गर्व लागेको बताउनुभयो । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेन्द्र गिरीले वैज्ञानिक महावीर पुनको देशप्रेम र लगनशीलता अनुकरणीय रहेको चर्चा गर्दै उहाँको पुस्तक किनेर मुलुकलाई आत्मनिर्भर बनाउन योगदान पुर्याउनुपर्ने बताउनुभयो । विर्तामोड, दमक, बाह्रदशी, विर्तामोड, बुद्धशान्तिलगायतका पालिकामा स्थानीय सामाजिक संस्था र युवाहरूको अगुवाइमा उहाँको किताब किन्ने अभियान सञ्चालन भइरहेको छ । विर्तामोडमा सोमबार आयोजित कार्यक्रममा डा पुनले सामाजिक सञ्जालमा नेताहरूलाई गाली गरेर मात्र नबस्न युवाहरूलाई आग्रह गर्नुभयो । “देशका लागि आ-आफ्नोतर्फबाट सानो भए पनि योगदान गर्नुपर्छ”, उहाँको भनाइ थियो, “सामाजिक सञ्जालमा नेताहरूलाई गाली गरेर मात्र हुँदैन ।” उहाँले राष्ट्रिय आविष्कार केन्द्रमा हाल १५ प्रकारका कृषि औजार उत्पादन भइरहेको जानकारी दिनुभयो । ती उपकरण भविष्यमा पालिकाका साना किसानका लागि लाभदायक हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
काठमाडौं: प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४३औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उहाँले नेपाली साहित्यका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्याउनुभएको छ । कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते भएको हो । विसं २०१५ को संसदीय निर्वाचनपछि विसं २०१६ जेठमा उहाँ पहिलो निर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । उहाँका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाई’ र ‘बाबु, आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित भएका छन् । उहाँका दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’ प्रकाशित छन् । वरिष्ठ अधिवक्ता स्व गणेशराज शर्मासँगको वार्तामा आधारित ‘आत्मवृत्तान्त, सुन्दरीजल बन्दी गृहमा बस्दाको दैनिकीमा आधारित ‘जेल जर्नल’, विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिइ स्वदेश फर्केपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सिधैँ सुन्दरीजल बन्दीगृहमा लगिएपछि लेखिएको दैनिकी ‘फेरि सुन्दरीजल’ नेपालको तत्कालीन राजनीतिक अवस्थाको यथार्थ चित्रण गरेको छ । ज्ञाननिष्ठ ज्ञवालीको सम्पादनमा प्रकाशित सिसार पत्रिकामा ‘साहित्यमा प्रगतिशीलता’ विषयक कोइरालाको निबन्धलगायत रचना पनि प्रकाशित छन् । जीवनको लामो समयसम्म कांग्रेसको नेतृत्व गरी २०१५ सालको आमनिर्वाचनमा पार्टीले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभएका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गर्नुभयो । प्रधानमन्त्रीत्वकालमा उहाँले बिर्ता उन्मूलन र ‘जग्गा जोत्नेको हुनुपर्छ’भन्ने भूमिसुधार कार्यक्रम अगाडि बढाउनुभयो । विसं २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्त गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो । एक महिनापछि सेनाको सुन्दरीजल आर्सनलका प्रमुखको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर नेता कोइराला, संसद्का प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्रीलाई सुन्दरीजल बन्दीगृहमा बन्दी बनाइएको थियो । विसं २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेलमुक्त हुनुभएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताउनुभएको थियो । भारतमा निर्वासित भएर प्रजातन्त्र पुनःस्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठ वटा ज्यान मुद्दाको प्रर्वाह नगरी २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ उहाँ स्वदेश फर्कनुभएको थियो । उहाँले अपनाएको मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक छ । प्रजातान्त्रिक समाजवादका चिन्तक एवं प्रयोक्ता कोइरालाले स्वतन्त्र रूपमा चिन्तन, आयाम, परम्परा र शैली दिएर साहित्यका माध्यमबाट नेपाली वाङ्मयलाई शिखरमा पुर्याउन योगदान दिनुभयो । प्रथम जननिर्वाचित सरकारका प्रधानमन्त्री, संसद्का सभामुख एवं मन्त्रीहरूलाई बन्दी बनाइएको सुन्दरीजल बन्दी गृहलाई विसं २०६१ भदौ २४ गते बिपी सङ्ग्रहालयका रुपमा उद्घाटन गरियो । बिपीको जीवनका महत्वपूर्ण चीजबीजको सङ्कलन गरी दर्शनीय बनाइएको सङ्ग्रहालय २०७२ साल वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भई हाल पुनःनिर्माण गरिएको छ । सङ्ग्रहालयमा बिपीको जीवनका महत्वपूर्ण सामग्रीका साथै २००७ सालको क्रान्तिमा प्रयोग गरिएको ट्याङ्कर, कांग्रेसले २०२९ सालमा क्रान्तिलाई खर्च जुटाउन अपहरण गरेको नेपाल वायुसेवा निगमको विमान पनि राखिएको छ । बिपी स्मृति दिवसका अवसरमा कांग्रेस, भ्रातृ संस्था र बिपी सङ्ग्रहालय समितिले मुलुकभर विभिन्न कार्यक्रम गर्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । यस अवसरमा आज संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बिपी कोइराला राष्ट्रिय पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको पुरातत्व अधिकृत भीष्म बाँस्कोटाले जानकारी दिनुभयो ।
नवलपरासी: चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको म्याद एक वर्ष थपिने भएको छ । सडक विभाग आयोजना निर्देशनालय (एडिबी)का आयोजना निर्देशक इञ्जिनियर चुडाराज ढकालले निर्माण कम्पनीले म्याद धेरै मागेको भए पनि एक वर्ष थप्दा काम सक्ने सहमति गरेपछि म्याद थप्ने तयारी गरिएको जानकारी दिनुभयो । “निर्माण कम्पनी र आयोजनाको कन्सल्टेन्टसँग कुरा गर्दा एक वर्षमा फिनिसिङबाहेकका काम सकाउने सहमति भएको कारण म्याद थप्ने तयारी गरेका छौँ”, उहाँले भन्नुभयो, “निर्माण कम्पनीले ९० प्रतिशत काम सकाउने सहमति भएपछि हामी एक वर्ष म्याद थप गर्ने निष्कर्षमा पुगेका छौँ ।” आयोजना निर्देशक ढकालका अनुसार सडक योजनाको तेस्रोपटक थप भएको म्याद यही साउन ८ गते सकिँदैछ । हालसम्म आयोजनाको भौतिक प्रगति ६९ दशमलव तीन प्रतिशत सकिएको उहाँले जानकारी दिनुभयो । नारायणघाट–बुटवल सडक योजना (पूर्वी खण्ड)का सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार अहिले निर्माण कम्पनीले दाउन्ने खण्डमा काम गरिरहेको छ । दाउन्नेमा सडकका कारण यात्रीलाई समस्या परेकाले त्यहाँ ढलान गर्न जनशक्ति केन्द्रित भएका छन् । दाउन्नेमा सडक ढलानसहित चोरमारामा कालोपत्र, पुल निर्माण, दुई लेन सडक भएको ठाउँमा चार लेन बनाउने, डिभाइडर बनाउने काम भइरहेको छ । सडक विस्तारका लागि अहिले दुई सय ७२ जना श्रमिक काम गरिरहेका छन् । यस खण्डमा पर्ने साना पुल निर्माण सम्पन्न भएर सवारीसाधन सञ्चालनमा रहेको भए पनि ठूला पुल बन्ने क्रम जारी रहेको सूचना अधिकारी खनालको भनाइ छ । डण्डाको सुक्खा खोलामा ठूलो पुल निर्माण भएर पनि एप्रोच रोड (पहुँच मार्ग) बनाउन बाँकी रहेका कारण सो पुल सञ्चालनमा आउन नसकेको उहाँले बताउनुभयो । “अहिले चोरमाराको पुलमा काम भइरहेको छ, बेल्डिहा खोलाको पुल दुईतीन दिनमा सञ्चालनमा आउँछ, त्यस्तै जयश्री खोलाको पुलमा ढलानको काम चाँडै गर्दैछौँ, अहिले पूर्वी खण्डको काम धमाधम अगाडि बढिरहेको छ ।” गैँडाकोटको पुलचोकमा एक सय मिटर सडक कालोपत्र गर्न बाँकी रहे पनि अबको एक महिनाभित्र कालोपत्र गरिने उल्लेख गर्दै खनालले यस खण्डमा पुल भएको ठाउँमा, चोरमारामा र दुम्कीबासबाट दाउन्नेसम्म करिब सात किलोमिटर कालोपत्र गर्न बाँकी रहेको बताउनुभयो । नारायणघाट– बुटवल सडकको एक सय १४ किलोमिटरमध्ये पूर्वी खण्डमा करिब ६५ किलोमिटर छ । पूर्वी खण्डमा पर्ने सडकमध्ये डेढ किलोमिटर जति क्षेत्रफल पुलले ओगटेको छ बाँकी रहेको करिब सात किलोमिटर सडक पनि चाँडै कालोपत्र हुन्छ । अहिले दाउन्नेबाहेकको खण्डमा यात्रा सहज भएको उहाँले बताउनुभो । एक वर्षमा यस खण्डको भौतिक प्रगति करिब २० किलोमिटर थपिएको उहाँले बताउनुभयो । “दोस्रापटक थप गरिएको म्याद सकिँदा यस खण्डमा कालोपत्र सडक २९ किलोमिटरमात्र थियो”, उहाँले भन्नुभयो, “असार मसान्तसम्म अहिले पूर्वी खण्डमा ५६ किलोमिटर सडक कालोपत्र भएको छ ।” चिनियाँ निर्माण कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसन लिमिटेडले सडक विस्तारको काम गरिरहेको छ । निर्माण कम्पनीले नेपाल सरकारसँग २०७५ साल माघ २४ गतेदेखि काम सुरु गरी ४२ महिनामा सक्नेगरी ठेक्का सम्झौता गरेको थियो । निर्धारित समयमा काम नसकिएपछि निर्माण कम्पनीले विभिन्न कारण देखाउँदै सडक विस्तारको म्याद थप गर्दै आएको छ । अब थप हुने म्याद अन्तिम भएको सडक विभाग आयोजना निर्देशनालय एडिबीका आयोजना निर्देशक इञ्जिनियर चुडाराज ढकालले बताउनुभयो । दुई खण्डमा विभाजन गरी काम भइरहेको नारायणघाट–बुटवल सडक विस्तार योजनाको कुल लागत १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ छ । नारायणघाट–बुटवल सडक योजना पूर्वी खण्ड (गैँडाकोट–दाउन्ने) ६५ किलोमिटरको लागत नौ अर्ब १३ करोड १८ लाख ९५ हजार रुपैयाँ एवं पश्चिम खण्ड (दाउन्ने–बुटवल) ४९ किलोमिटरको लागत सात अर्ब ८६ करोड ३४ लाख रुपैयाँ छ । एसियाली विकास बैंक ९एडिबी०को ८५ प्रतिशत ऋण सहयोगमा अघि बढाइएको आयोजनामा बाँकी रकम सरकारको छ ।
पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ७ दिने औपचारिक भ्रमणका लागि मंगलबार चीनतर्फ प्रस्थान गरेका छन्। नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री पाण्डेको नेतृत्वमा ५ सदस्यीय प्रतिनिधिमण्डल चीन गएको हो। भ्रमण टोलीमा मुख्यमन्त्रीकी पत्नी बिना पाण्डे, नेपाली कांग्रेसका प्रमुख सचेतक नन्दप्रसाद न्यौपाने, एमालेका प्रमुख सचेतक गोविन्दबहादुर नेपाली तथा मुख्यमन्त्रीका प्रेस संयोजक नरहरि सापकोटा छन्। आफ्नो अनुपस्थितिमा उनले प्रदेश सरकारको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठलाई सुम्पेका छन्। भ्रमणका क्रममा मुख्यमन्त्री पाण्डेले चिनियाँ कम्युनिष्ट पार्टीका उच्च पदस्थ नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। उनले ल्हासामा तिब्बत स्वायत्त क्षेत्रीय कमिटीका पार्टी सचिव वाङ जुनझेङसँग र लिन्झीमा नगर कमिटीका पार्टी सचिव आओ लिउछ्वान तथा उपसचिव एवं नगर प्रमुख बातासँग द्विपक्षीय भेटघाट गर्नेछन्। मंगलबार बिहान चीन प्रस्थान गर्नुअघि मुख्यमन्त्रीसहितको भ्रमण टोलीलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यवाहक मुख्यमन्त्री जिसी, प्रदेशका मन्त्रीहरू तथा प्रदेश सभा सदस्यहरूले बिदाइ गरेका थिए। पोखराबाटै चीन प्रस्थान गरेको टोली साउन १२ गते स्वदेश फर्कने कार्यक्रम छ। मुख्यमन्त्री पाण्डेको यो भ्रमणलाई संघीय मन्त्रिपरिषद्को असार २३ गते बसेको बैठकले स्वीकृति प्रदान गरेको थियो।
काठमाडौं: हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानका आसपासमा अवस्थित रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मङ्गलबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थान तथा अन्य भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि पूर्वानुमान रहेको छ । त्यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थान तथा अन्य भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
ढोरपाटन: बागलुङमा हरेक वर्ष वर्षातको समयमा बाढी पहिरोले धनजनको क्षति हुने गरेको छ । यस वर्ष पनि वर्षात सुरु भएकाले जिल्ला विपद् व्यवस्थापन समितिले जोखिम क्षेत्रको पहिचान गरी नागरिकलाई सचेत गराउँदै आएको हो । यस वर्षको मनसुनमा जिल्लाभर पाँच हजार ८७२ घर बाढी पहिरोको जोखिममा छन् । जोखिममा रहेका बस्ती तथा घरमा बस्दा सहजकता अपनाउन विपद् व्यवस्थापन समितिले सुझाव दिएको छ । यहाँका अधिकांश बस्ती खोला किनार र भिरालो जमिनमा रहेकाले वर्षातको समयमा बाढी पहिरोको जोखिममा पर्ने गरेका छन् । जिल्लामा सबैभन्दा बढी निसीखोला गाउँपालिकाका जोखिममा छन् । यस पालिकामा दुई हजार ४३८ घर बाढी पहिरोको जोखिममा रहेका समितिले जनाएको छ । सबैभन्दा कम जोखिमयुक्त घर जैमिनी नगरपालिकामा छन् । जैमिनीमा १६ घर जोखिममा रहेका जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलका अनुसार बागलुङ नगरपालिकामा एक हजार ५५४, ढोरपाटन नगरपालिकामा ३९०, गलकोट नगरपालिकामा १२५, बरेङ गाउँपालिकामा २१०, बडिगाड गाउँपालिकामा १६०, तमानखोला गाउँपालिकामा ११५, ताराखोला गाउँपालिकामा १४४ र काठेखोला गाउँपालिकामा ७२० घर बाढी पहिरोको जोखिममा परेका हुन् । घरसँगै विद्यालय, सिँचाइ, कुलो, विद्युत् गृह, सयौँ रोपनी खेतीयोग्य जमिन जोखिममा रहेका उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षातको समय छ, जोखिम रहेका घर तथा बस्तीमा जतिबेला पनि बाढी पहिरोले बगाउन सक्छ, सबै नागरिक सचेत हुन जरुरी छ, हामीले पनि सबै नागरिकलाई सचेत हुनका लागि आग्रह गरेका छौँ, जोखिम मोलेर बस्नु हुँदैन भनेका छौँ, वर्षा हुँदा सुरक्षित स्थानमा गएर बस्नुको विकल्प हुँदैन, विगतमा बाढी पहिरोबाट धेरैले ज्यान गुमाउनुभएको छ ।” निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन पुन मगरले वडा नं १ को हुल्दी क्षेत्रमा सबैभन्दा बढी घर पहिरोको जोखिममा रहेका जनाउँदै बस्ती अन्यत्र सार्नुपर्ने अवस्था रहेको बताउनुभयो । एकीकृत बस्ती निर्माण गरेर स्थानीयलाई पुनःस्थापित गर्न केन्द्र र प्रदेश सरकारसँग सहकार्य गर्ने उहाँको भनाइ छ । विपद् व्यवस्थापनका लागि पूर्वतयारीका गरिरहेको भन्दै राहत र उद्धारका लागि ‘विपद् व्यवस्थापन कोष’ बनाइएको पुनमगरले जानकारी दिनुभयो । “निसीखोलाको अधिकांश ठाउँ र सयौँ घर जोखिममा छन् । पालिकाको सीमित स्रोतसाधनले बस्ती स्थानान्तरण नभ्याउने हुँदा माथिल्लो तहका सरकारसँग सहकार्य गर्नुपर्छ”, उहाँले भन्नुभयो, “अहिले विपद्बाट नागरिकलाई जोगाउन सचेतना फैलाउने काम भइरहेको छ । त्योबाहेक विपद्मा परेकालाई राहत तथा पुनःस्थापनाका लागि रु ३० लाखको कोष बनाएका छौँ, उद्धारलाई प्रभावकारी बनाउन निसीखोलाका तीनवटै चौकीलाई उद्धार सामग्री हस्तान्तरण गरेका छौँ ।”