मुस्ताङ:  झण्डै पाँच सय वर्षअघि यहाँको घरपझोङ–५ ठिनीमा राजा थर्कोचेनले शासन चलाएका थिए । मुस्ताङको पान्डाखोलादेखि तल्लो भूभाग चिमाङ र चोखोपानी खोलासम्म राजा थर्कोचेनको राज्य थियो । राजा थर्कोच...

पर्वत: पर्वतको मोदी गाउँपालिका–३ देउरालीको लाङ्दी पहिरोमा पुरिएका दम्पतीको शव भेटिएको छ। छविलाल विश्वकर्मा र उनकी ७६ वर्षीया श्रीमती विष्णुमतिको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गएरातिको पहिरोमा विक दम्पती परेका थिए। गएराति देखि पर्वतलगायत आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ। यस क्षेत्रका मोदी, पाती, सेती, मल्याङ्दी, लमाए खोला र कालीगण्डकी जलसतह बढेको छ। स्थानीय प्रशासनले नदी तथा खोला किनारका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ।     यो पनि पढ्नुहोस   पर्वतको लाङ्दी पहिरो: पुरिएका दम्पतीमध्ये श्रीमान् मृत फेला, श्रीमतीको खोजी जारी

पर्वत:   पर्वतको मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा पहिरोमा घर पुरिँदा  बेपत्ता भएका दम्पतीमध्ये श्रीमानको शव भेटिएको छ ।  स्थानीयवासी र सुरक्षाकर्मीले पुरिएको अवस्थामा ७८ वर्षीय छविलाल विश्वकर्माको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिनुभयो ।  उहाँले पहिरोमा बेपत्ता भएकी छविलालकी श्रीमती विष्णुमतीको खोजी जारी छ । डिमुवा र कुश्माबाट गएको प्रहरी र स्थानीयवासीको सक्रियतामा पहिरो पन्छाएर बेपत्ताको  खोजी जारी राखेको प्रहरी प्रमुख विष्टले जानकारी दिनुभयो । अत्यधिक वर्षा भएकाले उद्धारमा समेत कठिनाइ भइरहेको उहाँको भनाइ छ । गए रातिदेखि परेको भारी वर्षाका कारण आज बिहान घरमाथि कान्लोबारी खस्दा दम्पती पुरिएका थिए भने उनीहरुकी २८ वर्षीया बुहारी पवित्रा  हामफालेर ज्यान जोगाउन सफल भएकी थिइन्  ।    यो पनि पढ्नुहोस   पर्वतको लाङ्दीमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता

काठमाडौं:   हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको हुँदा कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार ती प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ ।  यसैगरी देशको उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी विभागका अनुसार आज राति देशभर साधारणतया बदली रहनेछ ।  गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि विभागद्वारा जारी मौसम बुलेटिनमा उल्लेख  छ ।

पर्वत: मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा पहिरामा घर पुरिँदा वृद्ध दम्पती बेपत्ता भएका छन् ।  आज विहान गएको पहिरामा एकतले घर पुरिँदा ७६ वर्षीय छविलाल विश्वकर्मा र उहाँकी श्रीमती ७६ वर्षीया विष्णुमती बेपत्ता हुनुभएको हो ।  उहाँकी बुहारी ३२ वर्षीया पवित्रा भने पहिरो खस्नासाथ  हम्फालेर बच्न सफल हुनुभएको मोदी –३ का वडा सदस्य सन्तोष विकले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीयले उद्धारकार्य जारी राखेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले घटनास्थलतर्फ प्रहरी जाँदै गरेको र पुगिसकेपछि यथार्थ विवरण आउने जानकारी दिनुभयो ।  गएरातिदेखि पर्वतलगायत आसपासका क्षेत्रमा भीषण वर्षा भइरहेको छ । यस क्षेत्रका खोला तथा नदीहरूमा समेत बहाव उच्च भइरहेको छ । 

काठमाडौं:   बङ्गलादेशमा जारी साफ यु–२० महिला च्याम्पियनसिपमा नेपालले भुटानमाथि अर्को सानदार जित निकालेको छ ।  ढाकास्थित बसुन्धरा किङ्ग्स एरिनामा शनिबार भएको खेलमा नेपालले भुटानलाई ८–० गोलले हरायो । एकपक्षीय खेलमा नेपालले पहिलो हाफमा ६ र दोस्रो हाफमा दुई गोल गरेको थियो ।  नेपालको जितमा प्रर्णिमा राई र मीना देउवाले ह्याट्रिक पूरा गर्नुभयो । यस्तै समीक्षा घिमिरे र कुसुम खतिवडाले एक एक गोल गर्नुभयो । यसअघिको खेलमा नेपालले भुटानलाई ६–१ गोलले हराएको थियो । यस्तै चार टोली सहभागी च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई दुवै खेलमा समान ७–० गोलले हराएको थियो । नेपाल जारी च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा भने घरेलु टोली बङ्गलादेशसँग ३–२ गोलले पराजित भएको थियो ।  यस च्याम्पियनसिपको पाँच खेलमा चौथो जित निकालेको नेपालले १२ अङ्क बनाएको छ । नेपाललाई च्याम्पियन बन्न अब घरेलु टोली बङ्गलादेशविरुद्ध सोमबार हुने अन्तिम खेल जित्नुपर्ने छ ।  च्याम्पियनसिपमा सहभागी चार टोलीले एक आपसमा दुई पटक खेलेपछि शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्ने छ । 

काठमाडौं:   गएको एक वर्षमा आठ लाख ३९ हजार २६६ जनाले श्रम स्वीकृति लिएका छन् । वैैदेशिक रोजगार विभागका अनुसार श्रम स्वीकृति लिनेमा सात लाख ४४ हजार ८११ पुरुष छन् भने ९४ हजार ४५५ महिला रहेका छन् । विभागले आज यहाँ पत्रकार सम्मेलन गरी उक्त विवरण सार्वजनिक गरेको हो । अघिल्लो आर्थिक वर्ष भन्दा यसपटक एक लाख बढीले श्रम स्वीकृति लिएका विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँले श्रम स्वीकृतिको भार ६० दशमलव २८ प्रतिशत नयाँ र ३९ दशमलव ७२ प्रतिशत पुनः श्रम स्वीकृतिका रहेका छन् । उहाँका अनुसार वैैदेशिक रोजगारीका लागि गत आवमा श्रम स्वीकृति लिने प्रमुख १० गन्तव्य मुलुकमा युएई, साउदी अरेबिया, कतार, कुवेत, मलेसिया, रोमानिया, जापान, दक्षिण कोरिया र बहराइन रहेका छन् । व्यक्तिगत श्रम स्वीकृति लिने प्रमुख गन्तव्य मुलुकमा युएई, रोमानिया, जापान, कतार, क्रोएसिया, माल्दिभ्स, कुवेत, मौरिसस, सर्बिया र माल्टा रहेका पनि उहाँले जानकारी दिनुभयो । विगत पाँच वर्षमा कुल ३५ लाख बढीले श्रम स्वीकृति लिएका र त्यसमा ३१ लाख ८१ हजार पुरुष रहेका पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । वैदेशिक रोजगारीका लागि विदेशमा श्रमिक पठाउने संस्थाहरू कुल एक हजार ६८७ रहेकामा हाल सक्रिय इजाजत प्राप्त संस्थाको सङ्ख्या जम्मा ७२४ रहेको विभागले जनाएको छ । विसं २०८२ असारसम्ममा भने २१२ संस्थाले नवीकरण गरेका छन् । वैदेशिक रोजगारीमा अहिलेसम्म सात करोड २० लाख बढी क्षतिपूर्ति भराइएको पनि विभागले जनाएको छ । विभागका महानिर्देशक भट्टराईले श्रम स्वीकृति जारी गर्ने कार्यलाई डिजिटलाइज गरी आवेदन दिएकै दिनमा जारी गर्ने प्रतिबद्धता पूरा गरेको बताउँदै आगामी दिनमा अन्य सुधारका प्रयास जारी राख्ने बताउनुभयो । उहाँले विगत डेढ महिनादेखि भने आवेदन दिएको दुई मिनेटमा श्रमस्वीकृति प्रदान गरिएको पनि जानकारी दिनुभयो । अनुसन्धान तथा मुद्दा शाखामा रहेका करिब ३६ हजार फाइलको व्यवस्थापन गरी सेवाग्राहीमैत्री बनाउने लक्ष्यअनुसार दुईतिहाइ काम सम्पन्न भएको उहाँले बताउनुभयो । सुधारका लागि पहिचान गरिएका विषयको सन्दर्भमा विद्यमान कानुनी व्यवस्था संसोधन गरी अघि बढ्न्पर्ने आवश्यकता देखिएको पनि उहाँले बताउनुभयो । उहाँले वैैदेशिक रोजगारीको सूचना व्यवस्थापन प्रणालीको स्तरोन्नतिका लागि प्राविधिक अध्ययन भइरहेको पनि जानकारी दिनुभयो । यस्तै वैैदेशिक रोजगारीमा जानुअघि गरिने स्वास्थ्य परीक्षणलाई थप प्रभावकारी गराउन अनुगमन प्रणालीमा सुधार गरिएको र त्यसको विवरण वैैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा आबद्ध गर्न डिजिटल प्रणालीको निर्माण सम्पन्न भएको जनाइएको छ । यस्तै विभागले सेवा प्रवाहको गुणात्मक र रचनात्मक सुधार गर्न प्रयत्नशील रहेको पनि जानकारी गराएको छ ।

काठमाडौं:  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मौसमको अवस्था हाल देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भू–भागहरूमा आंशिक बदली रहेको छ । कोशी, बागमती र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा–हिमपातको सम्भावना रहेको छ । महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी प्रदेशका धेरै स्थानहरूमा, मधेश प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा÷हिमपातको सम्भावना रहेको छ । सम्भावित वर्षाको कारणले भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठुला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन–जीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने तथा हावाहुरीले समेत आंशिक असर पुर्‍याउन सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

पोखरा:  खेल पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले पोखरामा आयोजना हुने दोस्रो पर्वतीय दौड प्रतियोगितालाई पुम्दी–भुम्दीकै उत्सवको रुपमा मनाउन स्थानीयले सुझाव दिएका छन् ।  पोखरा क्लिक प्रालीको आयोजनामा आउँदो असोज ४ गते पोखरामा हुने उक्त प्रतियोगितालाई पोखरा २२ पुम्दी भुम्दीका स्थानीयले गाउँकै उत्सवको रुपमा उक्त प्रतियोगिता बनाउन सुझाव दिएका हुन् । मिति घोषणा सहित स्थानीय क्लब,टोल विकास संस्था, जनप्रतिनिधि लगायतका विभिन्न संघ संस्था एवं स्थानीयसँग भएको छलफल क्रममा सहभागिहरूले अघिल्लो बर्षमा भएका कमीकमजोरी सुधार गर्दै उत्कृष्ट व्यवस्थापनमा जुट्न समेत आग्रह गरे ।  पोखराका तीनवटा पर्यटकीय क्षेत्र विश्व शान्ति स्तुप, पुम्दीकोट र बुद्ध पार्कलाई जोडिएको उक्त खेलकुद प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्न आ–आफ्नो क्षेत्रबाट भरपूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।  कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नम्बर २२ का वडाध्यक्ष हिमलाल बरालले भुम्दी भुम्दीको नयाँ पर्यटकीय गन्तव्य कालाबाङ घरेडी बुद्ध पार्कलाई प्रचारप्रसार गर्न उक्त प्रतियोगिता कोशेढुङ्गा सावित हुने बताए ।  वडामा रहेका २४ वटा टोल विकास संस्था त्यसैगरी विभिन्न क्लब, आमा समूह लगायतकाको उल्लेख्य सहभागिता गराउन आफूहरूले विशेष पहल गर्ने उहाँले जनाउनु भयो । पोखरामा पर्यटकको बसाइ अवधि लम्बाउनको लागि पुम्दीभूम्दीमा २७ किलोमिटरको पदमार्ग निर्माण कार्य जारी रहेको उहाँले बताउनुभयो। गतवर्ष स्थानीय ठाकुर बरालको विशेष पहलमा ९० लाख र यस वर्ष पद मार्गको लागि करिब ३ करोड बजेट विनियोजन भएको अध्यक्ष बरालले उल्लेख गरे ।  विश्व शान्ति स्तुप समितिका सचिव एवं पूर्व प्रधानपञ्च दुर्गा बहादुर गुरुङले उक्त प्रतियोगिता पुम्दी–भुम्दीको छुट्टै ब्रान्ड बनेको हुँदा उक्त प्रतियोगितालाई उत्सवको रुपमा मनाउन सुझाव दिनुभयो। पुम्दी भुम्दीमा पर्यटकीय सम्भावना रहेका तारेभिर, फिलिङ्गघारी त्यसैगरी थाप्लेडाँडा लगायतका क्षेत्रको पनि पर्यटन प्रवद्र्धन गर्न आवश्यक भएको बताए ।  पुम्दीकोट कोट विकास समितिका उपाध्यक्ष नरहरी बरालले उक्त प्रतियोगिता गाउँको पहिचानसँग जोडिएको हुँदा आफूहरुले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो। कालाबाङ घरेडी बुद्धपाक समितिका अध्यक्ष लाल गुरुङ (राज) ले पहिलो संस्करणमा नौ वर्षदेखि ६१ वर्ष उमेर समूहका व्यक्तिहरू समेत सहभागी भएको स्मरण गर्दै आवश्यक मेडिकल टिम सहित स्वयंसेवकहरू पर्याप्त मात्रामा आगामी दिनमा खटाउनु पर्नेमा जोड दिए ।  भूतपूर्व खेलाडी मञ्चका सदस्य एवं प्राविधिक ओम गुरुङले पुम्दी भुम्दी पर्वतीय दौड प्रतियोगिता अरु प्रतियोगिताहरू भन्दा भिन्न खालको जस्तै अन्नपूर्ण माछापुच्छ्रे र पर्यटकीय गन्तव्य शान्ति स्तुप, पुम्दीकोट र बुद्ध पार्क जोडिएको दौड भएको हुँदा निकै आकर्षण भएको बताए ।  पोखराका पर्यटन व्यवसायी एवं पत्रकार राजु क्षेत्रीले हाम्रो संस्कारमा पर्यटकीय कल्चर कम भएको हुँदा पर्यटकसँग जोडेर गरिने पर्यटकीय क्रियाकलापहरू मेगा इभेन्टको रुपमा आयोजना गर्नुपर्नेमा जोड दिए ।  प्रतियोगिताका संयोजक एवं प्रालीका अध्यक्ष दिननाथ बरालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पुम्दीकोट टोल विकास संस्थाका अध्यक्ष राजेन्द्रप्रसाद क्षेत्री, कालिमाटी शान्ति स्तुप टोल विकास संस्थाका अध्यक्ष सुदीप बिक, महेश्वरी माविका शिक्षक सञ्जय बराल लगायतले वोल्दै उक्त कार्यक्रम सफल पार्न सहयोग गर्ने बताए ।  विश्व पर्यटन दिवसको अवसरमा असोजको ४ गते उक्त प्रतियोगिता हुने भएको पोखरा क्लिक प्रालीका वरिष्ठ संवाददाता असफल गौतमले बताए ।  प्रतियोगिता सम्पन्न गर्न करिब ८ लाख ८० हजार खर्च हुने व्यवस्थापक सागर सुनारले बताए । प्रतियोगितामा प्रथम हुने विजेता धावकलाई रु ३० हजार दोस्रो हुनेलाई १५ हजार तेस्रो हुनेलाई ७ हजार त्यसैगरी पोखरा २२ वडा स्तरिय खुलातर्फ विजेता एकजना महिलातर्फ पुरूष विजेता अर्को १६ वर्ष मुनि उमेर समूहको एकजना र भेट्रान्स ४० वर्षमाथि उमेर समूहका एक एक जनालाई प्रोत्साहन स्वरूप जनही ७ हजार रूपैयाँ प्रदान गरिने भएको संयोजक बरालले बताउनुभयो। उक्त प्रतियोगितालाई प्रदेश खेलकुद परिषद गण्डकीबाट समन्वय, पोखरा महानगरपालिका वडा नम्बर २२ को सहकार्य, नेपाल पर्यटन बोर्डको प्रवद्र्धन र त्यसैगरी सिटीवान टेलिभिजन मिडिया पार्टनरको रुपमा जोडिएको छ ।  आफ्नो जन्म गाउँ पुम्दी भुम्दीमा गाउँ पर्यटन प्रबद्र्धन गर्न विश्व पर्यटन दिवसको अवसरमा आयोजना हुने उक्त प्रतियोगितामा सहभागि हुने धावकहरुको अनलाइन फारम दर्ता केही हप्ता पछि खुल्ला गरिने भएको छ ।

पोखरा:  चीनको पश्चिम सिचुवान प्रान्तमा पर्ने गान्जी तिब्बतीयन अटोनोमस प्रिफेक्चरको सौन्दर्य पोखरामा हेर्न पाइने भएको छ ।  अनुपम प्राकृतिक दृश्य, तिब्बतीयन संस्कृति भएको गान्जीमा उच्च स्थानमा रहेका उपत्यका, हिउँले ढाकिएका पर्वत, ठूला घाँसे मैदान र घना जंगलहरु छन् । गान्जी तिब्बतीयन अटोनोमस प्रिफेक्चर माउन्उटेन टुरिजम प्रमोसन प्वाइन्ट कार्यक्रम अन्तर्गत गान्जीका तस्बिरहरु बिहीबारबाट पोखराको रातोपहिरोमा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा राखिएका छन् ।  नेपाल नेसनल पभेलियन (चाइना)को सहयोगमा राखिएका गान्जीका तस्बिरहरु अबको छ महिनासम्म प्रदर्शनीमा राखिनेछन् । पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले बिहीबार प्रदर्शनी सुरुआत गरिन् । उनले नेपाल र चीनको सम्बन्धलाई यस्ता कार्यक्रमले थप मजबुत पार्ने उल्लेख गरिन् ।  गान्जी प्रिफेक्चर कमिटी अफ द कम्युनिस्ट पार्टी अफ चाइनाको सेक्रेटरी चेन बोताउले नेपालीहरुलाई गान्जी भ्रमण गर्न निम्तो दिए । उनले भने, ‘नेपाल जस्तै हिमाल, ताल, झरना भएको गान्जी भ्रमणका लागि यहाँहरुलाई निम्तो छ ।’ संग्रहालयकी कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले यथासक्य संसारभरीका हिमाल, पर्वत र पर्वतारोहणबारे जानकारी दिन सक्ने गरी संग्रहालयलाई समृद्ध बनाउँदै लगिने बताइन् ।  पोखराको प्रमुख पर्यटकीय गन्तव्यमा पर्ने यो संग्रहालय वर्षमा दुई लाखभन्दा बढीले भ्रमण गर्ने गरेका छन् । कार्यक्रममा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय समितिका सदस्य शेषकान्त शर्मा र धर्मराज पन्थीले पनि बोलेका थिए ।