तनहुँ:  मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ ।  दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार ले...

पोखरा:   पोखरा महानगरपालिकासँगको सहकार्यमा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को आर्थिक सहयोग तथा संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) को प्राविधिक सहयोगमा पोखरामा सञ्चालित रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना (GCRU) अन्तरगत आरयु फेष्ट (RU FEST-2025) सुरु भएको छ ।  शनिबारसम्म सञ्चालन हुने आरयु फेष्टमा फोहोरलाई खजना (मोहोर)  बनाउने मुलमन्त्र सहित यो फेस्टिभल आयोजना गरिएको छ ।  पोखरा लगायत सिङ्गो मुलुकको हरित विकासका लागि एक नवीनतम प्रयासका रूपमा फेस्टिभल स्थापित हुने अपेक्षा  गरिएको छ ।  फोहोरमैलाको उचित व्यवस्थापन मार्फत हरित रोजगारी सृजना र चक्रीय अर्थतन्त्रको सृजनशील उपयोग आम समुदायका लागि निकै महत्त्वपूर्ण हुने विश्वास गरिएको छ ।  हरित अर्थतन्त्रमा योगदान पुर्‍याउने आरयू उद्यमहरूलाई बढवा दिन दिगो नीतिको सुनिश्चितता सहित महानगरपालिकाले परियोजनाको स्वामित्वमा लिनेछ । परियोजना मार्फत आगामी २ वर्षमा  ३  हजार रोजगारी सृजना गर्ने लक्ष्य राखिएको छ । हाल रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना अन्तरगत कोइकाको ९.८ मिलियन अमेरिकी डलर र युएनडिपीले ०.८७ मिलियन अमेरिकी डलर आर्थिक सहयोगमा पोखरामा जिभिजेड सेन्टर निर्माण भइसेको छ ।   

पोखरा:   पोखरा महानगरपालिका क्षेत्रमा रहेका तालहरूलाई जोड्ने गरी निर्माण गर्न लागिएको लेक टु लेक साइकल ट्र्याकको गुरुयोजना तयार भएको छ। विकास साझेदार एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा निर्माण हुने उक्त ट्र्याकको रुटहरू सहितको गुरुयोजना  तयार भएको हो  ।  छलफलमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले ११७ कि.मी लम्बाइको लेक टु लेक साइकल ट्र्याक पोखराका लागि महत्त्वपूर्ण पर्यटकीय पूर्वाधार बन्ने विश्वास व्यक्त गर्नुभयो ।  ‘यसले संसार भरीका साइकल प्रेमीहरूलाई पोखरामा आकर्षण गर्नेछ, पर्यटकहरूलाई हिमाल हेर्दै तालको किनारमा गरिने साइक्लिङको आनन्द प्रदान गर्नेछ, उहाँले भन्नुभयो, पोखराको पर्यटन विकासमा यो महत्त्वपूर्ण कोषे ढुङ्गा साबित हुनेछ ।’  पोखरा महानगरपालिका वातावरणीय हिसाबले पनि स्वच्छ, सुन्दर र आकर्षक रहेकाले यहाँ बन्ने साइकल ट्र्याक मानव स्वास्थ्य र पर्यावरणको संरक्षण प्रति समर्पित एक दिगो पूर्वाधार बन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । विकास साझेदार एसियाली विकास बैङ्कको करिब १ अरब रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुने उक्त ट्र्याकले पोखरामा रहेका सबै तालहरूलाई एक आपसमा जोड्ने छ । पोखराको दिगो पर्यटन विकास अन्तरगत यो परियोजना सञ्चालनका लागि गुरुयोजना निर्माण भएको हो ।  गुरुयोजना  तयार भइसकेपछि एडिबी मिसन र सरोकारवालाहरूसँग शुक्रवार छलफल समेत गरिएको छ । एडिबी मिसनले यसको स्थलगत अवलोकन समेत गरेको आयोजना व्यवस्थापक कविता  पौडेलले बताउनुभयो ।  पोखरामा रहेका तालहरूलाई एक आपसमा (भित्र र तालहरू बाहिर पर्ने गरी) जोड्ने गरी इनर र आउटर दुई वटा रुटहरू सहित विभिन्न स्थानहरूमा कनेक्टिङ रुटहरू समेत निर्माण गर्दा करिब ११७ कि।मी लम्बाइको साइकल ट्र्याक निर्माण हुनेछ ।

काठमाडौं:    सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले अबका युवाले सूचना प्रविधिको क्षेत्रमा अब्बल भई सिर्जनात्मक भविष्य बनाउनमा जोड दिनुपर्ने बताउनुभएको छ । काठमाडौँमा आज कान्तिपुर सिटी कलेजमा आयोजित ‘केसिसी एक्जिविसन–२०२५’ को उद्घाटन गर्दै सञ्चारमन्त्री गुरुङले देशलाई सूचना प्रविधिमा दक्ष जनशक्तिको आवश्यकता रहेको उल्लेख गर्दै सूचना प्रविधिमा रोजगारको प्रशस्त सम्भावना रहेको बताउनुभयो । सूचना प्रविधिको क्षेत्रमा भएको विकासले विभिन्न देश धेरै अगाडि पुगेका उहाँको भनाइ थियो । “नेपालमा सूचना प्रविधिका विकासका थुप्रै सम्भावना छन् तर, प्रशस्त जनशक्तिको अभाव, प्रभावकारी नीतिको अभाव र सूचना प्रविधिको संरचनाको कमीका कारण व्यवहारमा उतार्न चुनौती खेप्नुपरेको छ”, सञ्चारमन्त्री गुरुङले भन्नुभयो ।  सूचना प्रविधिको क्षेत्रमै भविष्यको लक्ष्य निर्धारण गरेर अब्बल बन्छु भन्ने सिर्जनशील युवाका लागि नेपालमै रोजगार पाउने अवसर विस्तारै राज्यले निर्माण गर्ने उहाँले विश्वास दिलाउनुभयो । “यो वर्ष हामी सूचना प्रविधि सम्बन्धी संरचना निर्माण गर्नेदेखि फोर जी घर घर पु¥याउने र फाइभ जी लञ्च गर्ने भएका छौँ”, नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले भन्नुभयो, “अबको विकास भनेको सूचना प्रविधिको समृद्धि नै हो ।” कार्यक्रममा क्यानका अध्यक्ष सुनैना घिमिरेले युवाले सूचना प्रविधिका माध्यमबाट नवीन कार्य सुरु गरेर स्वदेशमै रोजगारका प्रशस्तै अवसर प्राप्त गरिरहेका उदाहरण दिनुभयो ।  “मेहनत गर्ने र सूचना प्रविधि सम्बन्धी ज्ञान राख्नेलाई आयआर्जन गर्न दुःख छैन”, उहाँले भन्नुभयो, “क्यानले यस्ता युवालाई सहयोग र प्रोत्साहनसमेत गर्दै आएको छ ।” नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट) का सचिव डा रविन्द्रप्रसाद ढकालका अनुसार देशमा इञ्जिनियरको खाँचो छ । “यहाँ पढेर विदेश जाने युवा बढ्दै गर्दा मुलुक कसले समृद्धितर्फ लैजान्छ ? भन्ने चिन्ताको विषय बन्दै छ”, उहाँले भन्नुभयो ।  सचिव डा ढकालले युवा विदेश पलायन हुनु राज्यले सही वातावरण स्वदेशमा दिन नसक्नुको परिणाम रहेको बताउनुभयो । यद्यपि सूचना प्रविधिको विकासले पछिल्लो समय स्वदेशमै बसेर सिर्जनात्मक कार्य गर्ने आशा लाग्दा युवा पनि रहेको उहाँले सुनाउनुभयो । “सूचना प्रविधिमार्फत युवा स्वदेशमै टिकाउन सकिने आधारहरु छन्, तर त्यसका लागि उपयुक्त काम गर्ने वातावरण राज्यले महसुस गराउन सक्नुपर्छ”, सचिव डा ढाकालले भन्नुभयो । दुई दिनसम्म चल्ने उक्त प्रदर्शनीमा युवाले बनाएका सूचना प्रविधि सम्बन्धी विभिन्न नवीन कामका नमुना प्रदर्शन गरिएका छन् ।

काठमाडौं:  प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कोदो हाम्रो परम्परागत खाद्यान्न बाली मात्र नभई यसको पोषणीय महत्व रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले कोदो दिवसका अवसरमा आज सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै कोदोको उत्पादन बढाउन र परिकारहरू उपभोग गर्न सबैसँग आग्रह गरेका हुन् ।  ‘कोदोको उत्पादन बढाऔँ, कोदोका परिकारहरू उपभोग गरौँ १ कोदो दिवसको शुभकामना !’ प्रधानमन्त्री ओलीले  भनेका छन् ।   ‘ग्लाइसेमिक इन्डेक्स कम हुने भएकाले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न, यसमा हुने फाइबरले हृदय स्वास्थ्य मजबुत बनाउन मद्दत गर्छ । सिँचाइबिना नै उत्पादन हुनसक्ने यस्तो गुणकारी खाद्यान्नलाई प्रवर्द्धन गर्न सरकारले यस वर्षदेखि साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउने निर्णय गरेको छ,’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत स्पष्ट पारे ।

काठमाडौं:  निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रूपन्देही निर्वाचन क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न सबै राजनीतिक दललाई आह्वान गरेको छ ।  आयोगले आज एक सूचना जारी गर्दै यही साउन २१ देखि २७ गतेसम्म आयोगका केन्द्रीय कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सकिने जनाएको हो । आयोगले यसअघि उपनिर्वाचनका लागि निर्वाचन कार्यतालिका स्वीकृत गरिसकेको छ । आगामी असोज २१ गते बिहान १० देखि ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने र सोही दिन साँझ उम्मेदवारको सूची प्रकाशन हुनेछ । असोज २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । कात्तिक १७ गते बिहान ७ देखि अपराह्‍न ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।   प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएको व्यक्ति उम्मेदवार हुन नपाउने आयोगले जनाएको छ ।

काठमाडौं:   जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर साधारणतया बदली रहने जनाएको छ ।  महाशाखाका अनुसार शुक्रबार  दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका धेरै तथा  तराई भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, मधेश, बागमती, गण्डकी प्रदेशलगायत देशका पहाडी भागका धेरै र तराईका केही भागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । वाग्मती प्रदेशका पहाडी भेगका केही स्थानमा भारी वर्षाको सम्भावना छ । सम्भावित वर्षाका कारण भूक्षय, बाढी तथा गेग्रान बहाबको जोखिम रहेको, सहरी तथा तराई क्षेत्रमा डुबान हुनसक्ने, ठुला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्ने भएकाले सचेत रहन महाशाखाले सम्बद्ध सबैलाई अनुरोध गरेको छ । साथै अधिक वर्षाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, निर्माण, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सतर्कता तथा पूर्वतयारी अपनाउन सर्वसाधारण तथा सरोकार भएका सबै निकायमा अनुरोध गरिएको छ ।

पोखरा:  पोखरा महानगरपालिका–१४ मा सयौँ वर्ष पुराना ऐतिहासिक रुखहरू गैरकानुनी रूपमा काटेको आरोपमा ७ जनाविरुद्ध डिभिजन वन कार्यालय काीकीले कास्की जिल्ला अदालतमा मुद्धा दायर गरेको छ ।  पोखरा महानगरपालिकाका विभिन्न वडामा रहेका पुराना चौतारीका बर, पीपललगायतका रुखहरू काटिएको घटनामा संलग्न भएको आरोपमा उनीहरूविरुद्ध अभियोगपत्र दर्ता गरिएको हो ।  मानवसेवा फाउण्डेसन नेपालका प्रबन्धक विष्णुराज गिरी, पोखरा–१४ शुभमार्ग टोलका ताराप्रसाद तिवारी र योगमाया बराल, राधाकृष्ण टोलका अर्जुनबहादुर कार्की र रामकृष्ण अधिकारी, तथा साधना मार्गका ज्ञानेन्द्र सार्की र रमेश पौडेललाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो । वन कार्यालयका अनुसार, गत फागुनमा मानवसेवा फाउण्डेसनले आयोजना गर्ने कोटीहोम महायज्ञका लागि दाउरा (समिधा) संकलन गर्ने भन्दै पोखराका विभिन्न ठाउँमा रहेका ३३ वटा पुराना रुखहरू काटिएको थियो ।  अनुसन्धानका क्रममा रुख कटान गर्दा प्रचलित वन ऐन, २०७६ र वन नियमावली, २०७९ मा तोकिएको प्रक्रिया पूरा नगरिएको वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए । उनका अनुसार, रुखका हाँगाहरू प्रक्रिया नपुर्याई काट्ने र बेच्ने कामसमेत भएको अनुसन्धानबाट खुलेको छ । रुख काट्नेलाई बिगो असुल गरी दश हजार रुपैयाँसम्म जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुन सक्ने कानुनी प्रावधान छ । सोही प्रावधान अनुसार मुद्दा दायर गरिएको काफ्लेले बताए ।  घटना सार्वजनिक भएपछि पोखरामा नागरिक स्तरबाट व्यापक विरोध भएको थियो । पोखरा पंक्षी समाज, मेरो नेपाल युवा क्लब, वातावरण संरक्षणका लागि महाअभियान कास्की, नागरिक समाज कास्की लगायतका संघसंस्थाहरूले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै वन कार्यालयमा निवेदन दिएका थिए । यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरास्थित कार्यालयमा समेत उजुरी परेको थियो । यसअघि पोखरा महानगरपालिकाले काटिएका रुखका दाउरा जफत गरेको थियो । महिनौँको अनुसन्धानपछि वन कार्यालयले अन्ततः अदालतमा मुद्दा दायर गरेको हो ।

काठमाडौं:  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाएको छ । यस्तै, डिजल र मट्टितेलमा भने प्रतिलिटर दुई रुपैयाँले बढाइएको छ । यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर तीन रुपैयाँ र हवाई इन्धन अन्तरराष्ट्रियतर्फ अमेरिकी डलर २१ ले बढाइएको छ । नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर एक सय ५९, डिजल र मट्टितेल प्रतिलिटर एक सय ५०, हवाई इन्धन प्रतिलिटर एक सय २८ रुपैयाँ तय गरिएको निगमले बिहिबार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत रहेको छ । नयाँ मूल्यसूची गएराती १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।

काठमाडौं:  सरकारले कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले पहिलोपटक शुक्रबार राष्ट्रिय कोदो दिवस मनाउने भएको छ ।  कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण सुरक्षाका लागि आज साउन १६ गते दिवस मनाउन लागिएको हो । कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलको अध्यक्षतामा प्रथम राष्ट्रिय कोदो दिवस मूल आयोजक समिति गठन गरी ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारा तय गरिएको हो । देशको दिगो विकास लक्ष्य हासिल गर्न, जलवायु परिवर्तनवाट हुने असर कम गर्न र जैविक विविधता जोगाउँदै खाद्य प्रणालीको रुपान्तरण गर्न दिवस महत्त्वपूर्ण हुने विभागका महानिर्देशक सन्जेलले जानकारी दिनुभयो ।  कृषि विभागले आर्थिक वर्ष २०८१/८२ मा रु ७६ करोड ६३ लाख ८६ हजारबराबरको करिब १८ हजार ३१६ मेट्रिक टन कोदोजन्य उत्पादनको आयात भएको जनाएको छ । दिवसका अवसरका चाँगुनारायण नगरपालिकास्थित ताथलीमा कोदो रोपाइँ तथा कृषक, राष्ट्रिय कृषक समूह महासङ्घ, पत्रकारलगायतका विभिन्न विधामा पुरस्कार तथा कदरपत्र वितरणको कार्यक्रम छ । प्रदेश र स्थानीय तहहरूबाट पनि उक्त अवसरमा विविध कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । कोदो दिवस मूल आयोजक समितिका अध्यक्ष सञ्जेलले रासायनिक मलखाद र विषादीको प्रयोग नगरी वा कम गरेर पनि औसत उत्पादन लिन सकिने बताउँदै हानिकारक हरित ग्यास उत्सर्जन कम गर्नमा सघाउ पुर्‍याइ जलवायु परिवर्तन न्यूनीकरणमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । विभागले दिवसको सबै तयारी पूरा भएको जनाएको छ ।